कवि प्रज्वल अधिकारीको कविता लेखनको यात्रा २०७२ सालबाट सुरु भएको थियो । ठ्याक्कै यकिनका साथ भन्न त सक्दिनँ तर उहाँको कविता लेखनको सुरुवातबाटै हामी एक अर्कासँग सामाजिक सञ्जालमा जोडिएका हौँ । उहाँका कविताहरुले बामे सर्न थालेदेखि नै म उहाँलाई चिन्दछु । यस अर्थमा खुसी पनि लाग्छ कि उहाँको कविता यात्राले जसरी एकपछि अर्को प्रगति गरिरहेका छन्, ती सबैको साक्षी एउटा म पनि हो । रोल्पामा भएको कविता महोत्सवमा विजेता बन्दाको क्षण होस् अथवा प्रज्ञा प्रतिष्ठानमा कविता पठाएर नछानिएको घटना होस् अथवा पछि त्यही प्रज्ञाको कविता महोत्सवमा दोस्रो र तेस्रो हुँदाका पल हुन् । यी सबै कुराको साक्षी बनेर सामाजिक सञ्जालमार्फत म नियालिरहेको छु कवि अधिकारीलाई ।
विभिन्न समयमा आयोजना भएका कविता प्रतियोगिताहरुले कवि अधिकारीलाई उठाउँदै लगेको हो भन्दा पनि खास फरक नपर्ला । किनभने उहाँ प्राय: कविता प्रतियोगितामा भाग लिइरहनु हुन्छ । त्यसमध्ये थुप्रै प्रतियोगितामा उहाँ विजेता समेत बन्नु भएको छ । प्रतियोगिता सम्बन्धि थुप्रै किसिमका धारणाहरु सुन्न पाइन्छन् । साँच्चै कवितामा केही गर्न चाहनेहरुका लागि प्रतियोगिताले एउटा ठाउँ प्रदान गर्नुका साथै आफ्नो पहिचानलाई फराकिलो बनाउने काम गर्छ नै । तर केवल प्रतियोगिताका लागि मात्र कविता लेख्नेहरुका लागि भने त्यसले खास अर्थ नराख्ला । किनभने अपवादलाई छोडेर हेर्ने हो भने प्रतियोगितामा विजेता बनेका थुप्रै कविहरु बिस्तारै हराएका घटना धेरै छन् नेपाली साहित्यमा । तर कवि अधिकारीको हकमा अहिलेसम्म त्यस्तो भएको छैन । उहाँ त झन् सक्रिय र सशक्त हुँदै आउनु भएको छ । यसैकारण आज आएर उहाँका कविताले युएईसम्मको यात्रा तय गरे । यो खुसीको कुरा हो उहाँका लागि पनि र कवितामा कलम चलाउनेहरुका लागि पनि ।
यसर्थ अधिकारीका लागि प्रतियोगिता फलदायी नै सावित हुँदै आएका छन् । अहिले पनि उहाँ कविता प्रतियोगितामा बेलाबखत भाग लिइरहनु हुन्छ । अहिले चर्चाको विषय बनिरहेको द पोइट आइडलमा पनि उहाँ सहभागी हुनु भएको थियो । तर प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिनु भयो । यसमा दुखेसो चाहिँ छैन उहाँलाई ।
नेपालका विभिन्न स्थानमा भएका एकल र सामूहिक कविता वाचनमा बलियो उपस्थिति जनाउँदै आउनु भएका कवि अधिकारी आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रस्तुतिका लागि युएई आउनु भएको हो । युएईमै रहेको सगरमाथा साहित्य प्रतिष्ठानले कवि अधिकारीलाई यहाँ निमन्त्रणा गरेको हो । उहाँ युएई आउँदै हुनुहुन्छ भन्ने समाचार औपचारिक रुपमा बाहिर आउनु पहिल्यै त्यसको जानकारी मलाई प्राप्त भएको थियो । त्यतिबेलै बहुत खुसी लागेको थियो उहाँ युएई आउने खबर सुनेर । वर्षौंदेखि सामाजिक सञ्जालमा जोडिएको भए पनि हाम्रो प्रत्यक्ष भेट हुने अवसर प्राप्त भएको थिएन । यो पटक पूरा हुँदै थियो र पूरा भयो पनि ।
“भिजा नलागेसम्म कतै हल्ला नगर्नु है” भन्ने कवि अधिकारीकै अनुरोधलाई मनन गर्दै त्यो कुरा मैसँग सीमित राखेँ । केही दिनमा कार्यक्रमको ब्यानर सार्वजनिक भयो । ब्यानर बाहिर आएसँगै उहाँको चर्चा चुलिन थाल्यो सामाजिक सञ्जालमा । एउटा कवि कविता सुनाउनकै लागि अर्को देश पुग्नु अन्य कविहरुका लागि पनि गर्वको विषय हो भन्ने मलाई लाग्छ । त्यसकारण पनि होला थुप्रै सर्जकहरुले कवि अधिकारीलाई बधाई दिँदै ब्यानर सार्वजनिक गरिरहे कार्यक्रम हुने दिनसम्म पनि ।
पछिल्लो समय कवितामा शसक्त रुपमा कलम चलाउने कविहरुमध्ये कवि अधिकारी पनि एक हुनुहुन्छ । तिनै कविताहरुले उहाँलाई युएईसम्म ल्याइपुर्यायो । यसले उहाँको भोलिको कविता लेखनमा पक्कै पनि महत्त्वपूर्ण भूमिका खेल्ने नै छ ।
यसअघि युएईमै रहेको अर्को साहित्यिक संस्था सिर्जना वाचन डबलीले गजलकार डा. कृष्णहरि बराल, कवि नवराज पराजुली, गीतकार बादल घिमिरे, गीतकार विष्णु बाबु देवकोटा, गायक राज सिग्देल, सञ्चारकर्मी अच्युत घिमिरे, गजलकार प्रदीप रोदन लगायतलाई युएईमा निमन्त्रणा गरिसकेको छ । यस हिसाबले हेर्दा युएईको नेपाली साहित्यिक सक्रियता प्रसंशायोग्य नै छ ।
सगरमाथा साहित्य प्रतिष्ठानको आयोजना तथा सिर्जना वाचन डबली र अन्तर्राष्ट्रिय नेपाली समाज (ईन्स) युएईको सह-आयोजनामा युएईको दुबईस्थित नशा दोहोरी क्लबमा गत जनवरी ८ तारिख आइतबार “कविता समारोह युएई-२०२३” सम्पन्न भयो । सोही कविता समारोहका लागि कवि अधिकारीलाई नेपालबाट प्रमुख अतिथि कविको रुपमा निमन्त्रणा गरिएको थियो । साथमा युएईमा रहनु भएका कवि गजलकारहरुको पनि विशेष प्रस्तुति थियो ।
यसअघि स्थानीय सर्जकहरुको साथमा कार्यक्रम आयोजना गर्दै आएको भए पनि प्रतिष्ठानले पहिलो पटक नेपालबाट पाहुना बोलाएर कार्यक्रम गरेको हो । यसले प्रतिष्ठानलाई पनि थप फराकिलो बनाउन पक्कै सहयोग गर्नेछ । प्रवासमा साहित्यिक संस्थाले यस किसिमको कार्यक्रम आयोजना गर्नु त्यति सजिलो पक्कै छैन । चाहे त्यो आर्थिक हिसाबले होस् अथवा व्यवस्थापनका हिसाबले । थुप्रै अप्ठ्याराहरुका बाबजुद पनि युएईमा फेरि एउटा राम्रो साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । यसले युएईको नेपाली साहित्यमा एउटा बलियो इँटा थप्ने काम गरेको छ ।
यसका लागि प्रतिष्ठानका अध्यक्ष तथा कवि अजित उत्सव, उपाध्यक्ष सरु शीतल राई, महासचिव तथा कवि डि एल् घिमिरे, प्रतिष्ठानका कला तथा संस्कृति विभाग प्रमुख तथा कार्यक्रम संयोजक डिके किराँतीसहित सिङ्गो प्रतिष्ठानप्रति कृतज्ञता व्यक्त गर्नै पर्छ । त्यसैगरी कविता समारोहको सह-आयोजकको रुपमा रहेको डबलीका संयोजक तथा गजलकार जे सागर, सदस्य तथा गजलकार श्री भवानी नेपाल, विष्णु प्याकुरेल, ईन्स युएईका अध्यक्ष मेघप्रसाद धमला लगायत टिमको खटाइ र मेहनतलाई पनि सम्झिनै पर्छ ।
आइतबार कार्यक्रम सकिएपछि सोही दिन राती ११ बजेतिर मैले साहित्यपोस्टका लागि कवि अधिकारीसँग कुराकानी गरेको थिएँ । राती ११ बजे नै किन ? भन्नुहोला । कार्यक्रम सफल रुपमा सम्पन्न भएको खुसीमा आयोजक प्रतिष्ठानका महासचिव डि एल घिमिरेको कोठामा रात्री भोजको व्यवस्था गरिएको थियो । भोज खाँदा-खाँदै कवि अधिकारीसँग अन्तर्वार्ता लिन ढिलो भयो । भोजमा के के थियो ? भनेर नसोध्नु होला । तपाईंले जे जे सोच्नु भयो, ती सबै थिए । यो अन्तर्वार्ता लिनको लागि सहजीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने महासचिव घिमिरे, उहाँका कोठाका सम्पूर्ण साथीहरू, कवि/गजलकार प्रकाश निरौला लगायत सम्पूर्णमा धन्यवाद भन्छु । जनवरी ६ तारिख शुक्रबार साँझ युएई टेक्नु भएका कवि अधिकारी कविता समारोहमा भाग लिएर जनवरी १० तारिख मङ्गलबार नेपाल फर्किसक्नु भएको छ । कार्यक्रमका लागि युएई आएदेखि नै कवि अधिकारी यहाँका केही स्थानको भ्रमणमा पनि व्यस्त रहनु भयो ।
पछिल्लो झण्डै अढाई वर्षदेखि फेसबुकको अनलाइन कार्यक्रममार्फत थुप्रै स्रष्टाहरूसँग अन्तर्वार्ता लिँदै आएको भए पनि कुनै स्रष्टालाई यसरी प्रत्यक्ष भेटेर लिएको यो पहिलो अन्तरवार्ता बन्न पुग्यो मेरा लागि पनि । यसले मेरा लागि पनि पक्कै केही खास अर्थ राख्नेछ ।
अब लागौँ साहित्यपोस्टका लागि कवि अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंशतर्फः
युएई आउने पक्का भइसकेपछि कवि/गजलकार श्री भवानी नेपालले मलाई म्यासेज गर्नु भएको थियो कि “भाइ कार्यक्रममा मान्छे त धेरै जना हुँदैनन् जस्तो छ । यहाँ त्यही दिन अन्य कार्यक्रम पनि हुने भएकोले कार्यक्रम जुध्ने भयो । त्यसमा चाहिँ चित्त नदुखाउनु होला है” भन्नु भएको थियो । तर मलाई चाहिँ के लागेको थियो भने सुन्ने मान्छे भनेको ५ जना भए पनि हुन्छ । आफूले लेखेको कविता अर्को कसैले मन पराइरहेको छ र मेरो विचारसँग अर्को कसैको विचार मिलिरहेको छ भने त्यो कविता बाँच्छ जस्तो लाग्छ । किन भने हाम्रो विचारमा धेरै विविधता छ । त्यति हुँदाहुँदै पनि मेरो विचारलाई कसैले मन पराइरहन्छ भने त्यो ठुलो कुरा हो एक जना कविको लागि । त्यसकारण मैले श्री भवानी दाइलाई जति जना भए पनि केही फरक पर्दैन भनेर भनेको थिएँ । तर आज कार्यक्रमको माहोल देख्दा बडो खुसी लाग्यो । हामीले कार्यक्रमका लागि बुकिङ गरेको हल टनाटन भरिनु र सबै मान्छे पिनड्रप साइलेन्समा बसेर कविता सुन्नु भनेको चानचुने कुरा होइन । त्यसकारण आजको कार्यक्रम मेरो तर्फबाट भन्नुपर्दा, आफ्नो कार्यक्रम आफैले मूल्यांकन गर्नुपर्दा पूर्णरुपमा सफल भएको हो । यो मेरा लागि भव्य कार्यक्रम हो ।
तपाईंको यो पहिलो अन्तर्राष्ट्रिय कविता प्रस्तुति थियो । यो कार्यक्रमपछि अब तपाईंको कविता लेखनमा यसले कस्तो प्रभाव पर्ला अथवा अबको तपाईंको कविता लेखनमा यसले कस्तो भूमिका खेल्ला ?
यो जटिल प्रश्न हो मेरा लागि । एउटा कुरा के लाग्छ भने कविता भनेको मैले चाहेर लेखिने कुरा हो जस्तो लाग्दैन । जस्तो मैले यो विषयमा अहिले कवित लेख्छु, भोलि लेख्छु, युएई आएँ अब युएईको बारेमा केही कविता लेख्छु भनेर कविता लेखिन्छ होला जस्तो मलाई लाग्दैन । तर मैले देखेका, भोगेका, अनुभव गरेका कुराहरू कुनै दिन मेरो मस्तिष्कमा तरङ्ग बनेर मलाई हिर्काउन सक्छन् । त्यतिबेला चाहिँ म त्यो विषयमा कविता लेख्न सक्छु । यतिबेला कवि/गीतकर श्रवण मुकारुङले भनेको कुरालाई जोड्न चाहन्छु । उहाँले के भन्नुहुन्छ भने, “कविहरुले किताब मात्र पढ्ने होइन । कविहरुले भ्रमण पनि गर्नु पर्छ ।” यो कुरा मैले पनि बुझेको छु । जस्तो हिजो म नेपालमा थिएँ र नेपालको पेरिफेरिका कुरा लेखिरहेको थिएँ । प्रवासको हकमा नेपालबाट आउनेहरुले यस्तो गर्छन्अरे, यस्तो हुन्छ अरे भनेर सुन्ने गरेको मात्र थिएँ । त्यो कुरा म आफैँले देखेको थिइनँ । परदेशका पीडाहरु होस् अथवा यसका खुसी, उमङ्गका बारेमा । अब मैले लेख्नु पर्यो भने अरुबाट सुनेको कुरा लेख्नु पर्दैन । आफैँले अनुभव गरेको कुरा लेख्न सक्नेछु । बुर्ज खलिफा, दुबई मलको बारेमा लेख्नु पर्यो भने अब मलाई सजिलो हुन्छ । किन भने मैले त्यो देखेको छु । त्यसैगरी यहाँका श्रमिकका पीडाहरु पनि मैले देखेँ । यहाँको बसाइ, यहाँको रहनसहन, यहाँको अवस्था, ती सबै कुराहरु अब म आफैँले अनुभुत गरेर आफ्नै तरिकाले लेख्न सक्छु र कुनै दिन लेख्नु पर्छ भन्ने पनि लागेको छ ।
तपाईं नेपालमै प्रस्तुति दिँदै हिँडेको कवि, आज युएई आउनु भएको छ । थोरै भए पनि केही प्रगति पक्कै भएको छ नै । त्यस हिसाबले हेर्दा तपाईंको लेखनको अबको जिम्मेवारी भनौँ अथवा अबको लेखन यात्रा कसरी अघि बढ्ला ? यसमा यो युएईको यात्राले कस्तो भूमिका खेल्ला ?
मैले आफैँले मेरो स्तर बढ्यो भन्न मिल्दैन । तर एउटा कवि सीमित घेरामा बाँधिएर बस्नु पर्छ भन्ने मलाई लाग्दैन । अबको कवि म नेपालको अथवा (लमजुङमा जन्मिएकाे म) लमजुङको घेरामा मात्र सीमित हुँदैन । जसरी आज म दुबई आएँ । त्यसैगरी भोलि अर्को कवि युएई आउला । अरु देश पनि जान सक्ला । विश्वको जुनसुकै भूमि गएर पनि उसले आफ्नो कविता निर्धक्कका साथ वाचन गर्ने अवसरहरु आउनेछन्। मैले मात्र यहाँ जान पाउनु पर्छ, त्यहाँ जान पाउनु पर्छ भन्ने होइन । कुनै पनि कवि आफ्नो कविता लिएर, आफ्नो शब्द लिएर कुनै पनि देश जान सकोस् र जान पाओस् जस्तो लाग्छ । त्यसरी कविता विस्तारित होस भन्ने मलाई लागेको छ ।
समग्रमा युएईमा नेपाली साहित्यको माहोल कस्तो पाउनु भयो ?
यो एकदमै राम्रो प्रश्न गर्नुभयो । कस्तो हुँदो रैछ भने नेपालमा हामी काठमाडौँमा बस्छौँं अथवा कुनै ठाउँमा बस्छौँ, त्यहाँ हामीलाई कुनै पनि किसिमको दबाब हुँदैन । तपाईंहरुलाई यहाँ दबाब छ । तपाईंहरुलाई अहिले यहाँ हेर्दा नै थाहा हुन्छ । तपाईंहरु मध्ये यहाँ कत्तिको जनाको भोलि बिहान काममा जानु छ । कसैको बिहान ४ बजे जानु छ । कसैलाई ८ बजे जानु छ । कोही कार्यक्रम सकिन साथ काममा जानु भयो । मेरा लागि त ती सबै साथीहरू रातभर मैसँग बसिदिए हुन्थ्यो जस्तो लाग्छ । तर उहाँहरुले चाहेर पनि बस्न पाउनु हुन्न । यस्तो माहोलमा हुँदा पनि तपाईंहरुले साहित्य सिर्जना र साहित्यिक गतिविधि गरिरहनु भएको छ । फेरि तपाईंहरुले युएईको साहित्यको श्रीवृद्धि गरिरहेको त पक्कै होइन । नेपाली साहित्यकै सेवामा लागिरहनु भएको छ। नेपाली अक्षर नै लेखिरहनु भएको छ । काठमाडौँमा काम गरिरहेको मान्छेले म दुई दिन अफिस आउँदिन भन्यो भने पनि ऊ अप्ठ्यारो पर्दैन र उसलाई कामबाट निकाल्ने काम पनि हुँदैन । उसलाई दबाब पनि हुँदैन । तर यहाँ त दबाब छ नि ? यहाँ अहिले हामीसँग बसिरहनु भएका केही साथीहरू भोलि काममा जानु छ भन्दै एकछिन बसेर गइसक्नु भयो । त्यसरी हेर्दा कविता भनेको कसैले तपाईंलाई सुख सुविधा दिएर, ठुलो घर, गाडी दिएर लेख्न लगाएर लेखिने कुरा होइन रहेछ भन्ने मलाई महसुस भयो यहाँ आइसकेपछि । त्यसैले तपाईं जति दुखमा हुनुहुन्छ, जति दुखमा पर्नुहुन्छ, जति तपाईं थिचिनु हुन्छ, जति पीडा हुन्छ, त्यहाँ साहित्य हुँदो रैछ जस्तो मलाई युएई आएपछि महसुस भयो ।
युएईमा बसेर साहित्य सिर्जना गरिरहनु भएका थुप्रै सर्जकहरुसँग सामाजिक सञ्जालमार्फत तपाईं जोडिनु भएको छ र सञ्जालमार्फत नै उहाँहरुका सिर्जना सुन्दै/पढ्दै आइरहनु भएको थियो । आज उहाँहरुलाई प्रत्यक्ष सुन्नुभयो, कस्तो लाग्यो उहाँहरुका सिर्जना ?
भौतिक रुपमा मैले धेरैलाई भेटेको थिइनँ । तपाईंलाई पनि भेटेको थिइनँ । युएई आएपछि पनि अन्य थुप्रै स्रष्टासँग भेट हुन पाएन । उहाँहरु आफ्नै कामको व्यस्तताले गर्दा कार्यक्रममा आउन पाउनु भएन । उहाँहरुले आफू आउन नपाएकोमा दुख व्यक्त गर्दै म्यासेज गर्नुभएको थियो । अरु कसैको सिर्जना मैले पढ्दा मैले आफ्नो तरिकाले पढ्छु र मेरा सिर्जनाहरु पनि अरुले पढ्दा उहाँहरुले आफ्नै तरिकाले पढिरहेको हुन सक्छ । तर जुन सर्जक हो ऊ आफैँले आफ्नो सिर्जना पढ्दा म आफूले पढेको भन्दा गहिरो अनुभुति हुँदो रैछ । मैले मेरो कविता वाचन गरिरहँदा त्यो कविता लेख्दाखेरीको अनुभुतीलाई ल्याउन खोज्छु । तर त्यही कविता अरुले पढ्दा उसको अनुभुती अनुसार पढ्छ । आज सुनेका केही कविताहरु मैले पहिले पनि पढेको थिएँ । आज प्रत्यक्ष सुन्दा ती कविताहरु झन राम्रो लाग्यो ।
नेपालमा बसेर पनि तपाईंले युएईको नेपाली साहित्यलाई नियालिरहनु हुन्थ्यो । यहाँ आएर प्रत्यक्ष सहभागी हुनु भयो । देख्नु भयो । नेपाल हुँदा अनुमान गरेको र यहाँ आएर देखेकोमा केही फरक पाउनु भयो ?
आज कार्यक्रममा जति पनि आउनु भएको थियो । त्यसमा अधिकांश सर्जकहरु नै हुनुहुन्थ्यो । उहाँहरूले पनि सिर्जना वाचन गर्नुभयो । यसमा अब मन पर्ने नपर्ने भन्ने कुरा मान्छेको व्यक्तिगत कुराहरू हुन । मेरो विचार र अर्कोको विचारका कुराहरूले त्यहाँ भूमिका खेल्छ । आज मैरै कविता पनि कतिलाई मन परेन होला । यो ग्यारेन्टीका साथ भन्न सकिन्छ । किनभने यस्तो हुन्छ नै । मेरो कविता सबैलाई मन पर्नुपर्छ भन्ने पनि छैन । अरुले वाचन गर्दै गर्दा मलाई पनि ती कविता मन नपरेको पनि हुन सक्छ । तर समग्रमा भन्नु पर्दा हामी जो जहाँ जस्तो अवस्थामा भए पनि नेपाली साहित्यका लागि केही न केही गरिरहेका रहेछौँ ।
हामीले नेपाली साहित्य सम्झेर त्यो साहित्यमा केही गर्न सकिन्छ कि भनेर काम गरिरहेका छौँ । फेरि लेख्ने भन्ने कुरा सबैले उत्तिकै स्तरमा लेख्छन भन्ने हुँदैन । लेख्ने कुरा यही हो भन्ने पनि हुँदैन । यदि त्यस्तो हुँदो हो त अग्रजहरुले लेखिसकेपछि अब हामीले नलेख्दा पनि हुन्थ्यो होला । लेखनका त धार परिवर्तन हुन्छ । विचारहरु परिवर्तन हुँदै जान्छन् । समय परिवर्तन हुँदै जान्छ । यी सब परिवर्तन हुँदै जाने कुराहरू हुन् । त्यो परिवर्तन अनुसार मान्छेले लेखिरहेको लेखाइमा उसको आफ्नो भावना, उसको आफ्नो गहिरो अनुभुती हुन्छ । क्राफ्टमा मिलाउनु पर्ने केही कुराहरू हुन सक्छन् । आजै सुनिएका कति कविताहरु पनि एकदमै राम्रो बनाउन सक्ने खालका थिए । भाव र विचारमा एकदम राम्रो । तर कविताको जुन क्राफ्ट हुन्छ, बन्नु पर्ने जुन घर हुन्छ त्यो अलिक नबनेको हो कि ? जस्तो लाग्यो ।
समग्रमा भन्नुपर्दा आज कविता सुनिरहँदा होस अथवा मैले कविता वाचन गरिरहँदा म युएईमा छु जस्तो लागेन । म नेपालमै छु, नेपालकै कुनै ठाउँमा कार्यक्रम भइरहेको छ र नेपालमै बसेर कविता सुनिरहेको छु, सुनाइरहेको छु भन्ने लागेको थियो र एकदम राम्रो अनुभव भयो मलाई ।
तपाईंको पहिलो अन्तर्राष्ट्रिय प्रस्तुति युएईबाट सुरु भयो । यसअघि अहिलेका चर्चित गजलकार प्रदीप रोदनको पनि पहिलो विदेश यात्रा यहीँबाट सुरु भएको थियो । यसअर्थमा हामी आफूलाई भाग्यमानी पनि सम्झिन्छौँ । भोलि तपाईं अन्य देशहरुमा पनि जानु होला । भोलिका दिनमा युएईलाई कसरी सम्झिनु हुन्छ होला ?
यस्तो हुँदो रैछ, कविता लेख्न थलेपछि मैले पहिलो पटक रेडियो र टेलिभिजनमा अन्तर्वार्ता दिएको बुटवलमा हो । बुटवलको रेडियो देवदह र बुद्ध टेलिभिजन । आज पनि कतै अन्तर्वार्ता दिँदै गर्दा म बुटवललाई सम्झिन्छु । त्यसैगरी २०७५ सालमा रोल्पामा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा भाग लिएर प्रथम भएपछि अलिक बेसीलाई थाहा भयो मैले पनि कविता लेख्छु भन्ने कुरा । त्यसलाई पनि म खुब सम्झिन्छु । अहिले म युएईको दुबईमा छु जहाँ मैले कविता प्रस्तुत गरेँ । यो पनि म जीवनभर बिर्सन सक्दिनँ । किन भने यो मेरो पहिलो अन्तराष्ट्रिय कविता यात्रा हो । भोलि म संसारको जुनसुकै कुनामा पुगे पनि अथवा नपुगे पनि मैले बोल्ने कुरामा युएई आउँछ नै । यदि म अन्त कहिँ पुगिन भने पनि युएई पुगेँ । अविस्मरणीय नै भयो । कतै पुगिहाले भने पनि मेरो पहिलो यात्रा कहाँ हो ? भन्दा मैले भन्ने युएई नै हो। यो मेरो कविता लेखनको अर्को कर्मभूमी हो । त्यसकारण यसलाई कहिल्यै पनि बिर्सन सक्दिनँ । अविस्मरणीय नै हुनेछ मेरा लागि ।
युएईमा रहनु भएका अधिकांश सर्जकसँग सामाजिक सञ्जालमा जोडिए पनि प्रत्यक्ष भेट हुन पाएको थिएन तपाईंको। भेटेपछि कस्तो पाउनु भयो उहाँहरुलाई ? अनुमान गरे भन्दा फरक पाउनु भयो अथवा कस्तो पाउनु भयो ?
सामाजिक सञ्जालको एउटा अचम्मको शक्ति हुँदो रैछ । किन भने यहाँ भेटिएका मान्छेहरू जोसँग म सामाजिक सञ्जालमा मात्र थिएँ उहाँहरुलाई धेरै पहिलेदेखि नै भेटिरहेको छु जस्तो भयो । आउनु भन्दा पहिले पनि तपाईंसँग म्यासेन्जरमा कुरा गरेरै अएको हो । आइपुग्यो , भेट भयो । हिजै त कुरा भएको हो नि भन्ने जस्तो भयो । मलाई कहीँ पनि त्यस्तो अर्कै महसुस नै भएन । यहाँ आएर बसिरहँदा साहित्य सिर्जना कर्मभन्दा बाहिरका साथीहरूसँग पनि भेट भयो । उहाँहरूलाई भेट्दा पनि आफ्नै दाजुभाइ भेटे जस्तै महसुस भयो । म मेरै घरमा छु । म दशैँ तिहार मनाउन घर आएको हुँ कि ? भन्ने भान भयो । मैले कहिँ पनि त्यस्तो फरकपन भेटिन । फेरि अर्को कुरा के हो भने म ग्रास रुटबाट आएको मान्छे हुँ । चुइने छाना भएको घरमा जन्मिएर आएको मान्छे हो । मलाई कहीँ कतै गएर म यो हो, त्यो हो भनेर देखाउनु छैन । मैले बोल्ने कुराहरु मेरा कविताहरुले बोल्छन् । म एउटा व्यक्ति हो । मैले कविता लेखिरहँदा र वाचन गरिरहँदा म कवि हो । मैले अनुभव र अनुभुत गरेका कुराहरु कवितामा लेख्ने हो । त्यसकारण मैले त्यो ग्रास रुटका मुद्दाका मार्जिनहरु, पिछडिएका मुद्दाहरू, कसैको कृषि क्रान्तिका कुराहरू लेखिरहेको छु भने मैले त्यो भन्दा माथि आफूलाई उठाउनु जरुरी पनि ठान्दिनँ । त्यसकारण मैले यहाँ जति जनालाई भेटेँ त्यो मेरो घर परिवारकै मान्छे जस्तो लाग्यो ।
युएईमा रहेर साहित्य सिर्जना गरिरहनु भएका सर्जकहरुलाई केही सुझाब सल्लाह ?
यो त एकदम जटिल कुरा हो । मैले त त्यस्तो सुझाब दिन सक्ने ठाउँ केही पनि छैन । कि भने तपाईं हामी भनेको एउटै यात्रामा छौँ । हामीले जानेको कुरा तपाईंहरुलाई सिकाउने भन्दा पनि यसो गरौँ भन्ने हो । तपाईंहरुले पनि हामीलाई त्यसै भन्ने हो । नेपालमा बस्नेहरुले म मात्रै कवि हो अथवा म मात्रै गजलकार हो भनेर नसोचे हुन्छ । विदेशमा बसेर पनि नेपाललाई माया गर्ने कवि/गजलकारहरु हुनुहुन्छ । यता विदेशमा बस्नेहरूले पनि हामीले दुख गरेर लेखिरहेका छौँ, हामीलाई सम्झिएनन् त्यो पनि नसोच्दा हुन्छ । किन भने पहिलो कुरा त हामीले नेपाली साहित्यलाई नै योगदान पुर्याउने हो। हामीले कुनै व्यक्तिलाई खुसी बनाएर, कुनै संस्थालाई खुसी बनाएर आफू चिनिनुको कुनै अर्थ हुन्छ होला जस्तो लाग्दैन । जस्तो म कविता लेख्छु, तर मैले दुनियाँलाई खुसी पार्न कविता लेखेको होइन । यो वास्तविकता हो । कहिलेकाहीँ मलाई यस्तो दबाब हुन्छ कि पसिना आउँछ, यसलाई कसरी लेख्ने होला भन्ने हुन्छ । त्यो कुरा लेखिसकेपछि म दबाबमुक्त हुन्छु । एक किसिमले भारी बिसाएको जस्तो हुन्छ । त्यही कविता बाहिर गएर अरुलाई सुनाउँदा दुई चार जना मान्छेलाई मन पर्छ ।
छोटो समयमा युएई जति देख्नुभयो, जति बुझ्नुभयो यो देश चाहिँ कस्तो लाग्यो ?
हिजो म साथीहरूसँग यात्रामा जाँदै गर्दा पनि भनेको थिएँ कि कुनै पनि कुरा गर्नलाई पहिले सोच्नु पर्ने रैछ । सोच्यो भने त्यो काम बन्छ । मैले सोच्दै सोचिनँ भने त्यो काम हुँदो रहेनछ । युएईले सोचेको छ । म संसारको सबैभन्दा राम्रो होटल बनाउँछु । संसारको सबैभन्दा अग्लो भवन बनाउँछु । संसारको सबैभन्दा ठुलो अन्डरवाटर जू बनाउँछु । संसारको सबैभन्दा ठुलो र सुन्दर फूलबारी बनाउँछु । संसारको सबैभन्दा ठुलो सपिङ मल बनाउँछु । यी सबै पहिले उसले सोचेको हो नि ? उसले सोचेरै यी सब सम्भव भएका छन आज । त्यसकारण सबैभन्दा ठुलो कुरा सोच रहेछ । तपाईंले सोच्नु भयो भने त्यो काम बन्दो रहेछ भन्ने कुरा मैले यहाँ युएई आएर अनुभव गरेँ ।
विश्वको सबैभन्दा अग्लो मानव निर्मित भवन (बुर्ज खलिफा) भएको देशमा पाइला राखिरहँदा “म पनि सगरमाथाको देशको मान्छे पो हो त !” भन्ने भाव चाहिँ आयो कि आएन ?
हैन, त्यो त आयो । त्यो त एकदमै आयो । त्यही भाव आएकै कारण समुन्द्र किनार घुम्न गएको बेला त्यहाँको बालुवामा “I Love Nepal” लेखेर आएँ । त्यो किन लेखेको थाहा छ ? नेपाल भूपरिवेष्टित राष्ट्र हो । नेपालको नक्साले समुन्द्र छुन पाउँदैन । त्यही भएर मैले समुन्द्री किनारको बालुवामा “नेपाल” लेखेर नेपाललाई समुन्द्रसँग छुवाइदिएको हो । यसरी मैले नेपाललाई समुन्द्रसँग जोडिँदिएँ । मलाई के लाग्यो भने हाम्रो देशमा मान्छेले बनाएको हेर्न लायक कुराहरू केही पनि छैन । तर प्रकृतिले बनाएको हेर्न लायक कुराहरु त विश्वमा कहिँ पनि छैन जो हामीसँग छ । तर यहाँ युएईमा मान्छेले बनाएका कुराहरू मात्र हेर्न आउँछन मान्छेहरु । हाम्रोमा प्रकृतिले बनाएका कुराहरु हेर्न मान्छेहरु आउँछन् । तर सरकारी स्तरबाट, नीति नियमका कुराहरुबाट, कार्यान्वयनका हिसाबबाट हामी कमजोर छौँ । एकदमै कमजोर छौँ । हामीसँग कडा नियम कानुन, नीति नियमहरु छैनन् । जसरी यो युएईले तेल बेचेर कमायो भनिन्छ । त्यसैगरी हाम्रो देशले पनि पानी बेचेर कमाउन सक्छ । जलविद्युत बेचेर कमाउन सक्छ । हाम्रो सगरमाथा पर्यटकलाई जति देखाए पनि घट्ने कुरा होइन । त्यो देखाएर कमाउन सकिन्छ । तर हाम्रो देशमा गतिलो नीति नियम भएनन्, बनेका नीति नियमहरु पनि राम्रोसँग कार्यान्वयन भएनन् र हाम्रो देश पछि पर्यो ।
अन्त्यमा केही ?
कुनै बेला म कविता लेख्दै गर्दा के सोच्थेँ भने कुनै दिन, कुनै पल कविता लिएर विश्वको कुनै देशमा गएर मेरा कविताहरु सुनाउन सकूँ, त्यहाँ जान पाऊँ भन्ने मेरो एउटा इच्छा हुन्थ्यो । त्यो इच्छा आज आएर पुरा भएको छ । शब्द लेखेर, अक्षर लेखेर पनि मान्छे विदेश भ्रमण गर्न सक्दो रैछ भन्ने कुराले मलाई एकदमै धेरै गौरवान्वित बनाएको छ अहिले । किन भने मसँग अहिले शब्दबाहेक केही पनि छैन । म यहाँ मेरो सम्पत्ति देखाएर पनि आएको होइन । म यहाँ बिजिनेस गर्न पनि आएको होइन । म त यहाँ मेरा कविता सुनाउन आएको हो । मान्छेले कविको के छ र इज्जत ? भन्छन् । तर तपाईंहरू जस्तो साहित्यमा लागेको मान्छेले अर्को मान्छेलाई चिनेर यहाँ बोलाइदिनु भयो । यसका लागि मैले आफूले आफैँलाई एकदमै गर्व महसुस गरिरहेको छु यतिबेला । कविता लेखेर के हुन्छ र ? भन्नेहरूका लागि केही चाहिँ हुँदो रैछ भन्ने महसुस आफैँले गरिरहेको छु र मलाई एकदमै खुसी लागेको छ । यसका लागि तपाईंहरू सम्पूर्णमा एकमुष्ट रुपमा धन्यवाद भन्न चाहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।