प्रतिभा चौहान : कवि

कविता, कथा, लेख, निबन्ध  लेख्नमा सिद्धहस्त प्रतिभा चौहान भारतका बिहारबाट हिन्दी साहित्यलाई प्रतिनिधित्व गर्दछन्। ‘जंगलों में पगडंडियाँ’ (आदिवासी अनि जङ्गलप्रति समर्पित कविता सङ्ग्रह), ‘बारहखड़ी से बाहर’, पेड़ों पर मछलियाँ’ उनका कविता सङ्ग्रहहरू  हुन्। भारतभरिका विभिन्न पत्र-पत्रिकाहरूमा उनका रचनाहरू निरन्तर प्रकाशित हुने गर्छन् एवम् उनी लक्ष्मीकान्त मिश्र स्मृति सम्मान, रामप्रसाद बिस्मिल सम्मान, तिलकामांझी राष्ट्रिय सम्मानसहित विभिन्न साहित्यिक पुरस्कारले सम्मानित भइसकेका छन् । देशका विभिन्न भाषाहरूमा उनका कविताहरू अनुवाद भएका छन् । पेशागतरूपले चौहान बिहार न्यायिक सेवाअन्तर्गत न्यायाधीश हुन्।

(आदिवासी अनि जङ्गलप्रति समर्पित कविताहरू)

१. ऊ आदिवासी हो

आकाशमा

सूर्यजस्तै चम्कन्छौँ

तिम्रो काखमा हुर्कन्छ

धरतीको आदिम सभ्यता

 

कसले मेटाउँछ उसलाई

जो समस्त समुद्र, भूमि अनि

आकासमा अवस्थित छ

सृष्टिको पहिलो हस्ताक्षर

 

हाँगाहरूमा तैरण्छन् हजारौँ सम्झनाहरू

जो आदरसहित

शिर झुकाएर बस्ने गर्छन्

हरियालीका कथाहरू बोकेर

जसको आत्मामा सिर्जित छ जङ्गल

अनि जङ्गलमा सिर्जित छ जसको अस्तित्व

 

शान्त, बलियो, पूर्णरूपले प्राचीन

आदिम सृष्टिको सतहमा

कहिले न अस्ताउने अविनाशी हो

 

सुन्नु होस्,

ऊ आदिवासी हो।

****

२. संसारको सबैभन्दा सुन्दर मान्छे

संसारको सबैभन्दा सुन्दर मान्छे

जङ्गलका बिचमा बस्ने गर्छन्

जहाँ बग्छन् प्रेमका नदीहरू

जसका रङ्गहरू हरियो

अनि किनारहरू आसमानी हुन्छन्…

 

जरादेखि माथि टुप्पोसम्म

फैलिएको छ आकास

आफ्नो फैलावटलाई कहिले समेट्दैन जङ्गल

नदीहरू सङ्वाद गर्छन्

एउटा हरियोझैँ सुगन्ध

महकिरहन्छ

वरिपरि…

 

एउटा मौन सङगीत

गुनगुनाउँछ प्रत्येक रुख

प्रकृति शृङ्गार गर्छे

परमेश्वर हो प्रकृति

झोला भरेर

दिन्छिन् आशीर्वाद

पार्दिनन् निराश

 

युगौँदेखि

मुट्ठीमा समेटेकी छे एउटा पूरा ब्रह्माण्ड।

****

३. उनीहरू धेर माग्दैनन्

उनीहरू धेर माग्दैनन्

हामीबाट केवल

यति नै चाहान्छन्

आगो

हावा

पानी

अनि आकास

जहाँ फैलाउन सकून् आफ्नो हात

 

फेर्न सकून् प्रशस्त श्वास

मनाउन सकून् आफ्नो प्रिय चाड

सुन्न सकून् आफ्नो सङ्गीत

जिउन सकून् मनभरिका खुसीहरू

देख्न सकून् आँखामा सपनाहरू

बोल्न सकून् आफ्नो भाषा

 

हजुर

उनीहरू धेर माग्दैनन्

केवल तीहरूका चाहना भने राख्छन्

जसमाथि कसैको पूर्ण अधिकार छैन

 

अनि तपाईँ भने

आफूलाई सबैको मालिक ठानिरहनु भएको छ।

****

बिलोक शर्माः अनुवादक

अनुवाद : बिलोक शर्मा (डुवर्स)

बिलोक शर्मा कवि अनि अनुवादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बङ्गला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुन्छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको लुधियाना सहरमा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।