९. यासदी सहर र यहाँका उत्पादनहरू

पर्सियामा पर्ने एक महत्वपूर्ण सहर यासदी यहाँको व्यापारिक र ऐतिहासिक हिसाबले एक उल्लेखनीय सहरको रूपमा रहेको छ ।  यहाँ मानिसहरूको आवतजावत निक्कै बाक्लो छ ।  यहाँ उत्पादन हुने रेसमको कपडालाई उक्त सहरकै नामले चिनिन्छ । उक्त रेसम कपडा व्यापारीहरूले संसारका विभिन्न स्थानहरूसम्म पुर्‍याउँछन् । यहाँका बासिन्दाहरू महोमेतन धर्म मान्दछन् ।

यस सहरबाट यात्रा गर्नेहरू सम्म मैदानमा आठ दिन यात्रा गरेपछि मात्र अन्यत्र सुरक्षित आवास पाउन सम्भव हुन्छ । खजुरको घना  जङ्गलको बिचैबिच बाटो जान्छ, जहाँ अनेकौं शिकार, जीवजन्तू, एवं च्याखुरा र बट्टाइ लगायतका चराचुरुङ्गीहरू समेत प्रचुर देख्न सकिन्छ । वन्यजतु र पशुपक्षीहरू हेरेर आनन्द लिने यात्रीहरूका लागि यो निकै रमणीय र महत्वपूर्ण गन्तव्य हो ।  जङ्गली गधा लगायतका जन्तु बाटोमा असङ्ख्य भेट्न सकिन्छ ।

यसरी यासदीबाट उक्त बाटो लगातार हिंड्नुभयो भने तपाईं आठौँ दिनमा कियर्मन (Kierman) अधिराज्यमा आइपुग्नुहुन्छ ।

१०. कियर्मन अधिराज्य (प्राचीन नाम: कर्मानिया)

कियर्मन पूर्वी पर्सियामा पर्ने एक अधिराज्य हो, जुन वंशक्रम अनुसारले यहाँकै राजारानीबाट शासित हुन्थ्यो । तर जबदेखि तार्तारहरूले उक्त अधिराज्य आफ्नो नियन्त्रणमा ल्याए, तबदेखि उक्त अधिराज्यमा तार्तारहरूकै इच्छाबमोजिम शासक नियुक्त हुन्छन् । कियर्मनको हिमाली भागहरूमा बहुमूल्य पत्थरहरू पाइन्छन् जसलाई turquoises भन्ने गरिन्छ । साथै त्यहाँ, स्टील र निलोथुतोको पनि खानी रहेको छ । यहाँका उत्पादनहरूमा घोडाको काठी, लगाम, झ्यालढोकाको पर्दा लगायत युद्धसामग्रीहरू- तरबार, भालाहरू, धनुष, ठोक्रा र अन्य हातहतियारहरू पनि निर्मित हुन्छन् । महिला र बालबालिका सियोको काम गर्दछन् । रङहरू प्रयोग गरी बुट्टा भर्ने कामहरू लगायत चरा र जनावरहरूको चित्रांकित गहनाहरू बनाउने काममा यहाँका मानिसहरू व्यस्त हुने गर्दछन् । खासगरी कपडाका बुट्टाहरू पर्दा, तन्ना र तकियाको लागि डिजाइन गर्ने गरिन्छ । यी कलाकृतिहरू वास्तवमै मोहक र प्रशंसनीय छन् ।

चिन्तन नेपाल

हिमाली भागमा पाइने बाजहरू जहाँकहीँ उड्न सक्छन् । यी बाजहरू पेरेग्रिन बाजभन्दा साना हुन्छन् । यिनीहरूको छाती, पेट र पुच्छर रातो रङको हुन्छ । यी बाजहरू यति तेजले उड्छन् कि यिनीहरूबाट उम्किन अन्य पंक्षीहरूको लागि असम्भवप्राय हुन्छ ।

कियर्मन छोडेपछि तपाईं समथर भूमिमा सात दिनको रमाइलो यात्रा गर्नुहुन्छ । बाटोमा बारम्बार सहर र दरबारहरू भेटिन्छन् । अझैँ यात्रा गरेपछि तपाईं एउटा हिमालको नजिकमा आइपुग्नुहुन्छ । उक्त हिमाल आरोहण गर्ने हो भने झन्डै दुई दिन लाग्दछ । फलफूलका वृक्षहरू भारी सङ्ख्यामा भेटाउन सकिन्छ । केही समयअघिसम्म मानिसहरूको बसोबास रहेको भएता पनि हाल यी ठाउँमा मानिसहरूको बसोबास छैन । केही एक्ला गोठालाहरू आ-आफ्ना वस्तुहरू चराउन आएका भने देखिन्छन् ।

कियर्मन अधिराज्यको यस भागबाट अगाडि बढेपछि तपाईं अझैँ अग्लो भूभागतिर पुग्नुहुन्छ, जहाँको अतिशय ठण्डी टार्न मान्निसहरूलाई भरपूर कपडा लाउँदा पनि मुस्किल पर्छ ।

११. केमण्डु सहर

उक्त हिमालको उचाइ पार गरेपछि तपाईं एउटा फराकिलो र समथर भूमिमा आइपुग्नुहुन्छ, जुन भूमिमा पाँच दिन यात्रा गरेपछि तपाईं केमण्डु नामक सहरमा प्रवेश गर्नुहुन्छ । केमण्डु केही समयअघि एकदमै विशाल र महत्वपूर्ण सहरको रूपमा थियो । तर तार्तारहरूको बारबारको ध्वंशले अहिले केमण्डु पनि भताभुङ्ग भएर गयो । केमण्डुको छिमेकी जिल्लाको रूपमा रियोबेर्ल रहेको छ ।

यस समथर भूमिमा हावापानी निकै गरम छ । यहाँ गहुँ, धान, लगायत अन्य अन्नहरूको प्रचुर उत्पादन हुन्छ । केमण्डु सहरको नजिकैको पहाडी भेगमा खजुर, अनार, बेल लगायतका विभिन्न फलफूलहरू पाइन्छन् । तीमध्ये एकलाई एडम्स एप्पल (Adam’s Apple) भनिन्छ, जुन अन्यत्र कहीँ पाइँदैन ।

परेवाहरू यहाँ विशाल सङ्ख्यामा उडिरहेका देख्न सकिन्छ । यी परेवाहरू त्यहाँ उपलब्ध फलफूलहरूको प्रचुरताले गर्दा जम्मा हुने गर्दछन् । तर यहाँका महोमेतनहरू परेवालाई अत्यन्तै घृणा गर्ने हुनाले परेवाको मासु खाँदैनन् । यस्तै किसिमले यहाँ मुनाल र francolins पनि देख्न सकिन्छ । francolin चाहिँ (जो सेतो र कालो मिश्रित सङमा हुन्छन्, साथै खुट्टा र चुच्चोको रङ रातो हुन्छ) अन्य देशहरूमा पाइँदैनन् ।

चौपाया पनि यहाँ अन्यत्रका भन्दा फरक प्रकारका छन् । यहाँका भेडाहरू आकारमा लगभग गधाजत्तिकै ठूला हुने गर्दछन् । लामो पुच्छरयुक्त यी भेडाहरू तीस पाउण्डभन्दा बढी वजनका हुने गर्दछन् । उक्त भेडाहरू मासुको लागि अन्यभन्दा उपयुक्त मानिन्छन् ।

यस प्रान्तमा Karaunas (जो विभिन्न देशहरूमा लुटपाट गर्दै हिंड्ने एक सम्प्रदाय) हरूको हमलाबाट बच्नको लागि बनाइएका अग्ला अग्ला पर्खालहरूबाट घेरिएका थुप्रै सहरहरू रहेका छन् ।

को हुन् आखिर Karaunas हरू ?

कारौनसहरूको बारेमा पाठकहरूलाई प्रष्ट पार्नको लागि यहाँ नुगोडर नामक एक राजकुमारको प्रसंग उल्लेख गर्न आवश्यक हुन्छ । नुगोडर, जो Great Khan OktaY का भाइ ZagataT का भतिजा थिए र तुर्किस्तानमा शासन गर्दथे । आफ्ना काका ZagataT को दरबारमा रहँदा उनीमा आफैँ सम्राट बन्ने महत्वाकांक्षा जाग्यो र भारतमा मेलाबर नामक राज्य (जहाँ As-idin Sultan शासन गर्थे र जुन अझैँसम्म तार्तारहरूको अधिनमा आएको थिएन) रहेको कुरा सुनेर उनले गोप्यरूपमा दश हजार जति फौंज तयार गरे । यसरी आफ्ना काकालाई आफ्नो योजनाबारे कुनै जानकारी नगरी बेलाशन हुँदै केस्मुरको अधिराज्यतिर बढे । जहाँ जाँदैगर्दा  बाटोको कठिनाइको कारण उनले आफ्ना थुप्रै सैनिक र पशुहरू गुमाए । लामो यात्रापछि उनी फौंजसहित मेलाबर प्रवेश गरे । As-idin को कुनै पूर्वतयारी नभएको फाइदा उठाउँदै नुगोडरले तुरुन्तै Dely (हालको दिल्ली) सहर कब्जा गरे । यसका अतिरिक्त त्यहाँको नजिकका सबै क्षेत्रहरूमा कब्जा जमाए र त्यहाँ आफूले शासन गर्न सुरु गरे ।

ती तार्तारहरू, जसलाई नुगोडरले साथमा ल्याएको थियो, उनीहरूलाई ब्ल्याक इण्डियन महिलाहरूसँग मिसाउँदा एउटा नयाँ जातिको जन्म हुन गयो, जसलाई Karaunas नाम दिइयो । (त्यस देशको बोलिचालिमा मिश्रित जातिलाई Karaunas भनिने भनेकोले ती मानिसहरूलाई Karaunas भनिएको थियो ।)

त्यो त्यही जाति थियो, जो आफ्नो उत्पत्तिको सुरुदेखि नै लुटपाटमा संलग्न भयो । रियोबर्लमा मात्र होइन, जहाँसम्म उनीहरू पुग्न सक्थे, उनीहरू लुटपाट मच्चाउँथे ।

भारतमा उनीहरूले मायावी र राक्षसी कलासम्बन्धी विद्या सिके । जसको माध्यमबाट उनीहरू दिउँसै अँध्यारो बनाउन सक्षम हुन्थे ताकि अरू मान्छेहरूले एक अर्कोलाई नजिकैबाट समेत देख्न नसकून् ।

जब जब उनीहरू शिकारको लागि यात्रामा निस्कन्थे, उनीहरू यही तान्त्रिक कलाको उपयोग गर्थे । जसले गर्दा उनीहरूलाई लुटपाट र हत्या-हिंसा मच्चाउन सहज हुन्थ्यो ।

(अप्पर इण्डियाका यात्रीहरूले यस किसिमको आश्चर्यपूर्ण कलाको बारेमा अवलोकन गरेका छन् । र यस्तो अजीव घटनालाई उनीहरू Dry Fog कहन्छन् । उनीहरूको मान्यता छ कि- यस्तो विचित्र घटना घटाउन तान्त्रिक शक्तियुक्त व्यक्तिले धूलो र आँधीको संयोजन गर्दछन्, र दिउँसै अँध्यारो बनाउँछन् ।)

रियोबेर्ल तिनै Karaunas हरूको रंगमञ्च हो । जब व्यापारीहरू विभिन्न ठाउँहरूबाट Ormus मा आउँछन्, र आफ्ना घोडा तथा खच्चरहरू रियोबेर्लको समथर चरनक्षेत्रमा लिन्छन्, Karaunas हरू त्यहीबेला मौका छोप्छन् र आफ्नो जादूयी करामतबाट व्यापारीहरूलाई वशमा पार्छन् । व्यापारीहरूसँग फिरौति भए फिरौति लिएर छोड्छन्, अन्यथा व्यापारीहरूलाई आफ्नो दास बनाएर राख्दछन् ।

मार्को पोलो स्वयम् पनि एकपटक यिनै Karaunas हरूको फन्दामा परेको तर अन्त्यमा कोन्साल्मी दरबारबाट भाग्न सफल भएको कुरा उल्लेख गर्दछन् । मार्को पोलोसँगै गएका थुप्रै साथीहरू Karaunas हरूको दास भए, बाँकी मारिए । भनिन्छ, कारौनसहरूको साथमा Corobar नामको एक राजा पनि थियो ।