प्रसिद्ध लेखक तथा व्यङ्ग्यकार हरिशंकर परसाई (२२ अगस्त, १९२४ – १० अगस्त १९९५) को जन्म जमानी, होशंगाबाद , मध्य प्रदेशमा भएको थियो । उनको व्यंग्यात्मक रचनाले हाम्रो दिमाग मात्रै हल्लाउँदैन, सामाजिक यथार्थतासँग पनि आमनेसामने गराउँछ । उनको भाषाशैलीमा एक किसिमकोको आकर्षण छ जसले पाठकलाई लेखक आफ्नै अगाडी छ भन्ने महशुस गराउँछ ।

प्रस्तुत छ, साहित्य अकादमी पुरस्कारबाट सम्मानित परसाईको कृति ‘विकलांग श्रद्धाका दौर’बाट साभार गरिएको शीर्ष व्यङ्ग्य निबन्ध – ‘विकालांग श्रद्धाका समय’

भर्खरै एक सज्जनले मेरो चरण स्पर्श गरेर गए । म निकै तीव्रताको साथ श्रद्धेय बन्दै छु, जस्तैः कुनै चालू आइमाई विवाहपश्चात निकै फुर्तीको साथ पतिव्रता देखिन्छन् । यस किसिमको हरकत मेरो जीवनमा केही महिना देखि हुँदैछ। पहिला यस्तो हुन्थेन । अँ, एक चोटि भएको थियो, तर त्यो मामला त्यहीँ रफादफा भयो । धेरै वर्ष पहिले एउटा साहित्यिक समारोहमा मेरै उमेरको एक सज्जनले सबैको सामुन्ने मेरो चरण स्पर्श गरे । चरण स्पर्श अश्लील कृत्य जस्तै एकान्तमै गरिन्छ । तर त्यो सज्जनले सार्वजनिक स्थलमै चरण स्पर्श गर्‍यो । आसपास उभिएका मान्छेको अगाडि गर्वले हेरेँ -” हेर म श्रद्धेय भएँ ।” त्यतिबेलै त्यो श्रद्धालुले मेरो पसिना छुटायो । उसले भन्यो- ” मेरो त यही नियम छ, ब्राह्मण र कन्याको चरण अनिवार्य स्पर्श गर्छु ।” यसको मतलब उसले मलाई ठुलो लेखक ठानेको थिएन । ब्राह्मण भनेर ढोगेको थियो ।

श्रद्धेय बन्ने मेरो इच्छा उतिबेलै मरिसकेको थियो । त्यसपछि मैले श्रद्धेयहरूको दुर्गति पनि देखेँ । मेरो एउटा साथीले विद्यावारिधिको लागि रिसर्च गरिरहेको थियो । विद्यावारिधि अध्ययन र ज्ञानले नभई आचार्यको कृपाले प्राप्त हुन्छ । आचार्यको कृपाले यति धेरै डाक्टर भइसकेका छन् कि बच्चाबच्चीले खेल खेल्दा ढुङ्गा फाले भने कुनै न कुनै डाक्टरलाई गएर लाग्छ । एक चोटि चोकमा पत्थर हानाहानले पाँच जना हिन्दीको डाक्टर घाइते भए । पाँचै जना अस्पताल भर्ती भए । नर्सले आफ्नो अस्पतालको डाक्टरलाई बोलाइन- “डाक्टर साहेब ” पाँचै जना हिन्दीका डाक्टरले ‘हजुर’ भनेका थिए ।

म आफैले केही मान्छेको चरण स्पर्श गर्ने बहानामा खुट्टा तानेको छु । लँगोटी धुने बहानामा लँगोटी चोरेको छु । श्रद्धेय बन्ने भयावहता बुझिसकेको थिएँ । नत्र भने म पनि समर्थ छु । मेरै सहरको कलेजमा एउटा अध्यापक थिएँ । उनले आफ्नो नेम-प्लेटमा ‘आचार्य’ आफैले लेखाउन लगाएका थिए । मैले त्यति बेला नै बुझिसकेको थिएँ; यो मपाईँत्व पनि महानताको लक्षण हो । आचार्य बम्बईवासी भए र उनले आफूलाई’ भगवान् रजनीश´ बनाए । आजभोलि उनी मान्यता प्राप्त भगवान् हुन् । मैले पनि आफ्नो नाम अगाडि पण्डित लेखाएको भए उहिले पण्डित बनिसक्थेँ ।

सोच्छु , मान्छेहरू अहिले आएर मेरो चरण स्पर्श किन गर्छन् ? यो श्रद्धा एकाएक कसरी पलायो ? पछिल्लो महिना मैले त्यस्तो के गरेँ ? केही खास लेखेको छैन । कुनै साधना गरेको छैन । समाजको कुनै कल्याण पनि गरेको छैन । दारी पालेको पनि छैन । भगवान् पनि ओढेको छैन । खासै वृद्ध पनि होइन । मान्छेहरू भन्छन् – यो वयोवृद्ध हो । अनि चरण स्पर्श गर्छन् । उनीहरू फटाह हो भने, फट्याइँको उमेर पनि ६०-७० वर्ष भयो । मान्छेहरू वयोवृद्ध फट्याइँको पनि चरण स्पर्श गर्छन् । मेरो फट्याइँ अझै श्रद्धाको लायक भएको छैन । यो एक वर्षमा मेरो एउटै तपस्या छ; खुट्टा भाँचिएर अस्पतालमा असरल्ल छु । हड्डी जोडिए पछि पनि पीडाको कारण टाङ फुर्तीको साथ जोडिदैन् । मान्छेहरू मेरो यो मजबुरीको फाइदा उठाएर अचानक खुट्टा ढोग्छन् । म आरामको लागि राजसिंहासनमै पल्टिएको हुन्छु । राज सिंहासन एउटा यस्तो आसन हो कि ऊ सँगै पल्टिएको दुरात्माको पनि खुट्टा ढोग्ने प्रेरणा मिल्छ ।

के मेरो टाङबाट पीडा जस्तै श्रद्धा सिर्जना भएको हो ? यसो हो भने यो विकलांग श्रद्धा हो । मलाई थाहा छ; देशमा जुन मौसम चलिरहेको छ; त्यसमा श्रद्धाको टाङ भाँचिसकेको छ । मान्छेहरू सोच्दा हुन् – यसको टाङ भाँचिएको छ । यो असमर्थ भयो । आऊ यसलाई हामी श्रद्धा गरौँ ।

हो, बिरामीबाट कहिलेकाहीँ श्रद्धा बाहिरिन्छ । साहित्य र समाजको सेवकलाई भेट्न एउटा साथीसँग गएको थिएँ । जब त्यो उठ्यो , तब त्यो साथीले उसको चरण स्पर्श गरे । बाहिर आएर साथीलाई सोधेँ -” यार तिमीले उसको खुट्टा किन ढोगेको ?” साथीले भन्यो -” तिमीलाई थाहा छैन, उनलाई मधुमेह भएको छ ।” अब मधुमेहले श्रद्धा सिर्जना गर्न सक्छ भने भाँचिएको टाङले पनि सक्छ । यसमा खासै विवादास्पद रहेन । मान्छेहरू बिरामीपनको कस्तो कस्तो फाइदा उठाउँछन् । मेरो एउटा साथी बिरामी थिए – हस्पिटलमा एडमिट । जसै कुनै स्त्री उनलाई भेट्न आउँथे, टाउको समातेर रुन थाल्थ्यो । स्त्रीले सोध्थिन -” टाउको दुखेको छ हो ?” उसले भन्थ्यो – “हो, टाउको फुट्ला जस्तो भएको छ ।” स्त्रीले सहजताको साथ उनको टाउको दबाइदिन्थिन् । साथीको श्रीमतीले घुरेर हेर्थिन – ” के हो हजुर, कुनै स्त्री देखेपछि टाउको दुखिहाल्छ है ?” उसको जवाफ पनि बनावटी हुन्थ्यो -” प्रिय तिमीमा मेरो यति धेरै निष्ठा छ कि, परस्त्री देख्ने बित्तिकै मेरो टाउको दुख्छ । प्रीत-रस तिमी मात्रै हो प्रेयसी ।”

श्रद्धा ग्रहण गर्ने पनि विधि हुन्छ । मबाट सहज ढङ्गमा श्रद्धा ग्रहण हुँदैन । अहिले पार्ट टाइम श्रद्धेय हुँ । हिजो दुई जना मान्छे आए । उनीहरू कुराकानी सकेर जब उठे, एउटाले मेरो चरण स्पर्श गर्न हात बढायो । हामी दुवै सिकारु । उसलाई चरण स्पर्श गर्ने बानी थिएन; मेरो चरण स्पर्श गराउने बानी थिएन । जस्तो भयो उस्तै गरी उसले चरण स्पर्श गर्‍यो । ऊ थोरै झुक्यो । मेरो आशा जाग्यो । तर दोस्रो व्यक्ति दुबिधामा थियो । चरण स्पर्श गरु कि नगरु ! म भिखारी जस्तै हेरिरहेको थिएँ । ऊ अलिकति झुक्यो । मेरो मनमा आशा पलायो । तर ऊ फेरि सिधा भयो । मैलै बुझेँ ।उसले फेरि शरीर अरक्क पारेर कोसिस गर्‍यो । मेरो चरण हल्लिन थाल्यो । पुनः असफल भयो । अन्त्यमा नमस्कार गरेर गयो । उसले आफ्नो साथीसँग भन्यो होला – अरे ! यार तँ पनि कस्तो लम्फुको चरण स्पर्श गर्छस् । मेरो श्रद्धालुले जवाफ दियो होला – आफ्नो काम निकाल्न उल्लुहरूसँग यस्तै गर्न पर्छ । मलाई हीनताबोध भयो । उसले मलाई श्रद्धाको लायक सम्झेन । त्यो ग्लानि बेलुका तिर शान्त भयो जब एउटा कविले चरण स्पर्श गर्‍यो । त्यति बेला मेरो एउटा साथी बस्दै थियो। चरण स्पर्श गरेपछि मेरो साथीलाई उसले भन्यो – ” मैले साहित्यमा जे सिके प्ररसाईजी सँग सिकेको हुँ ।” मलाई थाहा थियो, ऊ कवि सम्मेलनमा होहल्ला मच्चाउने समूहमा पर्दछ । के मेरो सिकाइको यही नतिजा हो ? म लज्जित भएर आफैले आफैलाई जुत्ताले बजाउनुपर्ने हो । तर म खुसी थिएँ । उसले मेरो चरण स्पर्श गरेको थियो ।

अहिले काँचै छु । खोइरो खन्नेहरूले त पतिव्रतालाई पनि चरित्रहीन बनाइदिन्छन् । मेरा श्रद्धालुहरूले मलाई श्रद्धालु बनाउने पक्का छ । पक्का सिद्ध – श्रद्धेय मैले देखेको छु । सिद्ध मकर ध्वज हुन्छन् । उनीहरूको बनावट नै अलग हुन्छ । मुहार- आँखै खिच्ने जस्तो । पाउ यस्तो कि बारम्बार मान्छेहरू झुक्ने जस्तो । पुरै व्यक्तित्वमा श्रद्धेय लेखेको हुन्छ । मलाई यिनीहरू निकै ठुला लाग्छन् । तर पक्का श्रद्धेय हुन्छन् । यस्तै एकजनासँग भेट्न म र मेरो साथी गएका थियौ । मित्रले चरण स्पर्श गर्दा; त्यति उग्र जाडोमा पनि पछ्यौराबाट खुट्टा निकालेर चरण स्पर्श गर्न सुविधा बनाइदिएका थिए । मैले चरण स्पर्श गरिनँ । नमस्ते गरेर बसेँ । एउटा चमत्कार भयो । हुन यो पर्थ्यो कि मैले उनको चरण स्पर्श नगरेर हीनताबोध महसुस गरे । तर भयो उल्टा । उनले मलाई हेरे । हीनताबोध मलाई भयो – हाय म यति अधम निक्लिए कि उनको चरण स्पर्श गर्ने लायक भइन । सोच्छु, यस्तो बाध्य बनाउने धाक ममा तुच्छ श्रद्धेय कहिले आउला !

श्रद्धेय बन्ने यो हलुका इच्छाको साथमा डर पनि अवस्थित छ । श्रद्धेय बन्नुको मतलब हो ` नोन पर्सन´ -“अव्यक्ती ” बन्नु । श्रद्धेय त्यो बन्छ जसले हरकुरालाई हुन दिन्छन् । कुनै कुराको विरोध नगर्ने । जबकि व्यक्तिको, चरित्रको, पहिचान नै यही हो कि कुन कुराको विरोध गर्छ । मलाई लाग्दै छ, मान्छेहरू मलाई आभास दिउलाउँदै छन्; अब त कुना समातेर बस् । तँ दयनीय भइस् । तेरो लागि सबै कुरा हुनेछ । तँ कारण नबन् । माखा पनि हामी नै उडाउँछौँ ।

देशमा श्रद्धाको एक किसिमको समय छ । जस्तो वातावरण छ, त्यसमा कसैलाई पनि श्रद्धा गर्न सङ्कोच हुनेछ । श्रद्धा पुरानो अखबार जस्तै कवाडीमा बिकिरहेको छ । विश्वासको खेतीलाई तुसारोले खाइसक्यो । इतिहासमा सायदै कुनै पनि जातिलाई यसरी श्रद्धा र विश्वासले हीन महसुस बनाइएको थिएन । जुन नेतृत्वमा श्रद्धा थियो । त्यसलाई नाङ्गो बनाइँदै छ । नयाँ नेतृत्वहरू उत्ताउलो भएर आफ्नो कपडा आफै फुकाल्दै छन् । केही नेताहरू त अण्डरवेयरमा छन् । कानुन माथि विश्वास छैन । अदालतबाट विश्वास खोसिएको छ । बुद्धिजीवीको नसलमा नै शङ्का उत्पन्न छ । डाक्टरहरू बिरामी उत्पादन गर्ने कारखाना भएका छन् । कहिकतै श्रद्धा छैन, विश्वास छैन ।

मेरा श्रद्धालुहरूलाई भन्न चाहन्छु, “यो चरण स्पर्श गर्ने मौसम होइन, लात्ता हान्ने मौसम हो । एक लात हान अनि क्रान्तिकारी बन ।”

(भावानुवाद: कवि जनक कार्की)