१२
जुन नगरतर्फ हाम्रा मित्रहरूले प्रस्थान गरे त्यो एक युवा गभर्नरको मातहतमा थियो । त्यो गभर्नर प्रगतिशील र निरंकुश पनि थियो, जस्तो कि रूसमा प्राय; यत्रतत्र देखिन्छ | गुर्बो्नियाको प्रशासन आफ्नो हातमा लिएको पहिलो एक वर्षभित्र नै गुर्बो्नियाका कुलीन नेता, घोडचढी गारद सेनाका अवकाशप्राप्त कप्तान, अश्वप्रजननशालाका प्रबन्धक तथा आतिथ्यसत्कारी व्यक्तिसित मात्र होइन, बरू आफ्नै अधिनस्थ अधिकृतहरूसित समेत उसको झगडा परिसकेको थियो । यसप्रकार उत्पन्न वैमनस्य कतिसम्म बढ्यो भने अन्ततोगत्वा पेतेरबुर्गस्थित मन्त्रालयले यथास्थान जाँचबूझका लागि एक आयोग लिनुपर्यो। आयुक्तको रूपमा मात्भेइ इल्यीच कोल्याजि चुनिए । ती उनै कोल्याजिनका सुपुत्र थिए जो कुनै समय किर्सानोभ-बन्धुका अभिभावक रहेका थिए । मात्भेइ इल्यीच कोल्याजिन पनि “युवावर्ग” कै प्रतिनिधि थिए अर्थात् हालै उनी चालीस वर्ष पुगेका थिए । जे होस्, राजकाजी व्यक्ति बन्ने उनले लक्ष्य बनाइसकेका थिए र आफ्नो छातीको दुवैतर्फ एकेकवटा तारा जारकालीन रूसको स्वर्ण वा रजत तक्मा झुण्ड्याउँथे । वास्तवमा तीमध्ये एउटाचाहिँ विदेशी पदक थियो र त्यसको कुनै विशेष महत्व पनि थिएन । जसको मामिलाको फैसला गर्ने काम आफूलाई सुम्पिएको थियो त्यही गभर्नरझै उनी पनि प्रगतिशील मानिन्थे र ठूलाबडा नै भए तापनि अधिकांशत उनी यस्ता ठूलाबडाबाट भिन्न थिए । आफ्नो बारेमा उनको राय ज्यादै उच्च थियो । उनको अहङ्कारको पनि कुनै सीमा थिएन तर उनको ठाँटबाँट सामान्य नै थियो भने दृष्टि कृपापूर्ण । उनी विनम्र भएर अरूको कुरा सुन्दथे र यस्तो दयाभावले हाँस्दथे जसलाई देखेर जोकोही पनि पहिलो उद्गार यसरी प्रकट गर्दथ्यो “क्या असल मान्छे !” परन्तु आवश्यकता पर्दाखेरी उनी धाकरवाफ देखाउन पनि जान्दथे । “शक्ति नै मूलमन्त्र हो ।” -यस्तो मौकामा उनी भन्दथे । -“L’enegrgie est la premiere qualite d;un home d’etat” शक्ति नै राजकाजी व्यक्तिको मुख्य गुण हो) यति हुँदाहुँदै पनि उनी प्रायः उल्लू बन्न पुग्दथे र अलिकति पनि अनुभवी जुनसुकै अधिकृतले उनलाई नाकका चालले हिंडाउन सक्दथ्यो । गीजोप्रति उनी गहिरो श्रद्धा प्रकट गर्दथे र ठूला र साना सबै मानिसहरूमा यस्तो छाप पार्ने चेष्टा गर्दथे, मानौं लकीरका फकीरहरू तथा पिछडिएका नोकरशाहहरूसित उनको कुनै नातासम्बन्ध छैन र सामाजिक जीवनका सबै महत्वपूर्ण पक्षहरूलाई उनी बेवास्ता गर्दैनन् _- साँचोमा ढालिएका यसप्रकारका सबै कथनहरूबाट उनी सुपरिचित थिए । आधुनिक साहित्यको विकासक्रमबाट समेत उनी अनभिज्ञ थिएनन्, यद्यपि घमण्डपूर्ण उपेक्षाको भावले त्यसको गतिविधि हेर्दथे, ठीक त्यसरी नै जसरी उमेरदार॒ मान्छे पनि सडकमा किशोरहरूको हूल देख्दा कहिलेकाहीं त्यसैमा सामेल भइदिन्छ । वास्तवमा भन्ने हो भने मात्भेइ इल्यीच सम्राट् अलेक्सान्द्रका पालाका ती राजकाजी व्यक्तिहरूभन्दा उति धेरै अगाडि बढ्न सकेका थिएनन् जो त्यसताका पेतेरबुर्गमा बसाइँ सरेकी श्रीमती स्वेचिनाको आयोजनामा हुने सन्ध्यासमारोहमा जाने तयारी गर्दै हरेक बिहान कोन्दिलाकका पानाहरू पल्टाउँथे मात्भेइ इल्यीचको तरिका मात्र उनीहरूको भन्दा बेग्लै र ज्यादा आधुनिक थियो । उनी खप्पीस दरबारिया थिए, ज्यादै चलाख थिए, बस्, यतिकै हो | कामकुराको उनलाई ज्ञान थिएन, न त बुद्धि नै कुशाग्र थियो तर आफ्नो निजी मामिलाहरू सुल्झाउन चतुर थिए : यस कुरामा उनलाई कसैले पनि ठग्न सक्तैनथ्यो र यही नै त मुख्य कुरा पनि हो ।
मात्भेइ इल्यीचछे अनुधवी पदाधिकारीको विशेषताअनुकूल बडो उदारताका साथ आर्कादीको स्वागत गरे | अझ के पनि थपौँ भने उनले निकै मिलनसारिताको पनि परिचय दिए | निमन्त्रित नातेदारहरू गाउँमा नै रहेको थाहा पाउँदा भने उनी अचम्म परे । “तिम्रा बुबा सधैँ यस्तै विचित्र प्राणी थिए ! -आफ्ना भडकिलो मखमली उपर्नाका फुर्काहरू हल्लाउँदै उनले टिप्पणी गरे । अनि झटपट एक युवा अधिकृततर्फ फर्केर चिन्तामग्न स्वरमा सोधे ‘क्या हा ?” सबै टाँक लगाइएको वर्दीमा युवा अधिकृत स्वमीभक्त मुद्रामा बसिरहेको थियो जसका ओँठहरू लामो समयसम्म मौनधारणाले गर्दा टाँसिएका थिए । र जुर्क्क उठ्यो र अकमक्क परेर आफ्ना हाकिमतर्फ उसले पुलुक्क हेर्यो । – आफ्नो अधिनस्थल अधिकृतलाई यसरी व्यग्र तुल्याएपछि मात्भेइ इल्यीचले उसतर्फ पटक्कै ध्यान दिएनन् । हाम्रा उच्च पदाधिकारीहरू सामान्यतः आफ्ना अधिनस्थ कर्माचारीहरूलार्इ व्यग्र तुल्याएर मजा लुट्छन् । यस उद्देश्यपूर्तिका लागि उनीहरू जेजस्ता तरिकाहरू अपनाउँछन् तिनमा निकै विविधता पाइन्छ । तीमध्ये एउटा तरिका ज्यादै प्रचलित छ । अंग्रेजहरूले भन्नेगरेझैँ उच्च “is quite a favorite” च्यादै प्रिय) । उच्च पदाधिकारी एक्कासि सरलभन्दा सरल शब्दहरू समेत बुझ्न अस्वीकार गर्दछ र यस्तो मुद्रा धारणा गर्दछ, मानौं ऊ लाटो हो कि बहिरो हो |
उदाहरणका लागि भनौं, ऊ सोध्छ : ‘आज के बार हो ?’
अति विनम्र बनेर उसलाई उत्तर दिन्छ : ‘आज शुक्र हो, हजूर !’
‘हँ ? के रे ? के भन्यौ ? के शुक्र ? कस्तो शुक्र ?’
‘शुक्रबार, हजूर ! हप्ताको एकदिन ।’
‘हुँ ! मलाई पाठ पढाउन खोजेको ?’
मात्भेइ इल्यीच पनि त एक उच्च पदाधिकारी नै थिए, यद्यपि उदारवादी मानिन्थे ।
“मेरो सल्लाह तिमीलाई, भाइ !” -उनले आर्कादीलाई भने | -“गभर्नरसित भेटघाट गर ! तिमीले बुझेकै छौ, सत्ताधारीलाई सलाम टक्य्राउनुपर्छ भन्ने खालको पुरानो ढर्राले सोचविचार गर्ने मान्छे हुँदा मैले यस्तो सल्लाह दिएको हुँला भन्ने नठान ! खालि कुरा के हो भने गभर्नर ज्यादै बेस मान्छे छन् | फेरि तिमी पनि त सके यस भेगको उच्च समाजसित परिचित हुन चाहौला – म आशा राख्छु, तिमी भालु त अवश्य नै होइनौ होला ! पर्सि उनी एउटा ठूलो नुत्यसमारोहको आयोजना गर्दैछन् ।”
“तपाईं पनि नृत्यसमारोहमा जाँदै हुनुहुन्छ ?” -आर्कादीले सोध्यो ।
“मेरै सम्मानमा त्यसको आयोजना गरिदैछ ।” -मात्भेइ इल्यीचले किञ्चित् खेदभाव झल्काउँदै भने । -‘नाच्न त नाच्छौ के तिमी ?”
“नाच्छु तर राम्रो त होइन ।”
अपसोच ! यहाँ हिसीदार केटीहरू थुप्रै छन् । फेेरि नवयुवकले नाच्न नजान्नु त लाजमर्नु कुरा हो । हेर, पुरानो धारणाको वकालत गर्दै यो सब म भन्न लागिरहेको होइन । अहँ, मान्छेको अक्कलबुद्धि उसको गोडामा हुनुपर्छ भन्ने म एकदमै ठान्दिनँ । जे होस्, बायरनवाद एक हास्यास्पद कुरा हो, il a fait son temp. उसको जमाना गयो ।”
“वास्तवमा, काकाज्यू, कुरो बायरनवादको पटक्कै होइन …”
“यहाँका पुतलीहरूसित म तिम्रो चिनापर्ची गराउँला !” -मात्भेइ इल्यीचले बीचैमा कुरा काटेर आत्मसन्तोषको हाँसो ओकेल्दै भने । -‘म तिमीलाई आफ्नो छत्रछायाँमा लिन्छु । तिमीलाई खूब मजा लाग्नेछ, हैन त ?”
त्यत्तिकैमा नोकरले आएर प्रशासकीय विभागका अध्यक्षको आगमनबारे सूचना दियो । त्यो थियो-आँखामा मिठास र ओठमा चाउरी जडिएको बूढो जो असाध्य प्रकृतिप्रेमी थियो, खास गरी ग्रीष्मका रमाइला दिनहरूमा जतिखेर, उसैको शब्दमा, ‘हरेक माहुरीले हरेक फूलबाट केही न केही घूस अवश्य लिन्छ |
आर्कादी त्यहाँबाट बाहिर निस्कियो ।
उसले बाजारोभलाई त्यसै होटलमा भेट्टायो जहाँ उनीहरू दुवै बसेका थिए । गभर्नरकहाँ जानको निम्ति बाजारोभलाई मनाउन निकै समय लाग्यो । “हुन्छ, जानैपर्ला !” अन्त्यमा उसले भन्यो । -“के निहुँ पाउँ, कनिका बुकाऊँ ! हेरिहालौ न त यी धनीमानीहरूको चालामाला ! आखिर यसैको लागि त यहाँ आएका छौं !” गभर्नरले उत्साहपूर्वक नवयुवकहरूको स्वागत गरे तर न उनीहरूलाई बस्नको निमित आग्रह गरे, न त आफू नै बसे । जहिले पनि हतारिएर उनी दौडधूप गरिरहन्थे | बिहानै जीउमा कस्सिएको वर्दी लगाउँथे र बेस्सरी गाँठो पारिएको टाई बाँध्दथे । न भरपेट खान्थे, न त पिउँथे नै, जहिले पनि आदेश र निर्देशन दिइरहन्थे । गुबेर्नियाभरि उनलाई बुर्दालु भनिन्थ्यो । यस नामद्वारा उनलाई सुप्रसिद्ध फ्रान्सेली उपदेशकसित होइन, बरू पेयपदार्थ बुर्दा ट्वाट) सित – सम्बन्धित तुल्याइन्थ्यो । उनले किर्सानोभ र बाजारोभ दुवैजनालाई आफूकहाँ नृत्यसमारोहमा निम्त्याए र दुई मिनेटपछि नै दुवैलाई दाजुभाइ ठानेर कैसारोभ थरनामद्वारा सम्बोधन गर्दै फेरि निमन्त्रणा दोहोर्याए ।
उनीहरू गभर्नरकहाँबाट आफ्नो डेरातर्फ लागे । नजिकैबाट गइरहेको एउटा घोडागाडीबाट एक्कासि एकजना मान्छे उफ्रेर बाटोमा उत्रियो । होचो कदको त्यस मान्छेले स्लाभस्माजी ज्याकेट लगाइराखेको थियो । उ कराउँदै थियो : “येम्गेनी भासील्येभिच ! येभ्गेनी भासील्येभिच !” ऊ सरासर बाजारोभतर्फ लम्कियो ।
“अहो ! तपाईं पो, सीतनिकोभ !” -बाजारोभले पेटीमा पाइला सार्न नरोकीकनै भन्यो | -कताबाट आइपुग्नुभयो यहाँ ?”
“खै, के भनौं ? एकदमै संयोगवश ।” -उसले जवाफ दियो र गाडीवानतर्फ फर्केर पाँचपल्ट जति हात: हल्लाउँदै कराएर अह्रायो । -“हाम्रो पछिपछि हाँक ! आऊ !…” त्यसपछि उफ्रेर नाली पार गर्दै उसले अगाडि थप्यो । -“मेरा पिताज्यूको सानोतिनो काम छ यहाँ । अँ, काम मिलाउन उहाँले मलाई नै पठाउनुभयो । – तपाईं आउनुभएको आज मैले थाहा पाएँ र तपाईंको डेरामा समेत पुगेर आइसकें _” -आफ्नो कोठामा फर्केपछि वास्तवमा नै मित्रहरूले सब कुनाहरू थेप्चिएको एउटा परिचयपत्र भेट्टाएका थिए जसमा एकापट्टि फ्रान्सेलीमा त अर्कोपट्टि स्लाभ अक्षरमा “सीतनिकोभ” भन्ने नाउँ अङ्कित थियो ।) “आशा छ, तपाईंहरू गभर्नरकहाँबाट त आइरहनुभएको होइन ?”
“आशा नगर्नुस् ! हामी सोझै त्यहींबाट आउँदैछौं !”
“हुँ ! त्यसो हो भने म पनि उनकहाँ पुगिहालूँ ! _ येभ्गेनी भासील्येभिच, परिचय त गराइदिनोस् _ आफ्ना _ यहाँसित _”
“सीतनिधोम, किर्सानोभ !“ -रोकिँदै नरोकिएर बाजारोभले गुनगुन गर्यो |
“ज्यादै खुशी लाग्यो ।” -छड्के परेर हिंड्दै, हतारिदै आफ्नो हातमा लगाइराखेको ज्यादै मिहीन पञ्जा फुकाल्दै, फिसिक्क हाँस्दै सीतनिकोभले भन्न शुरू गर्यो । “मैले धेरै कुरा सुनेको छु तपाईंको बारेमा _ येभ्गेनी भासील्येभिचसित मेरो परिचय ज्यादै पुरानो छ, तर -म उहाँको शिष्य हुँ । आफ्नो कायाकल्पको लागि म उहाँप्रति नै आभारी छु । _”
आर्कादीले बाजारोभको शिष्यलाई गढेर हेर्यो । उसको चिल्लो अनुहारको सानो तर मोहक आकृतिमा चिन्ता र कठोर तनावको भाव झल्कन्थ्यो । उसका ससाना र भित्र धसिएका आँखाहरू व्यग्र थिए र एकटक लगाएर ताकिरहेझै देखिन्थे | उसको हाँसो पनि बेचैन थियो र एक किसिमको निर्जीव र कुण्ठित प्रतीत हुन्थ्यो ।
“सके तपाईंलाई पत्यार नपर्ला !” -उसले अगाडि भन्यो । -“हामीले कसैलाई गुरू मानिरहनुपर्ने जरूरत छैन भनी येभ्गेनी भासील्येभिचले पहिलोपल्ट मलाई भन्नु हुँदा म ज्यादै हर्षविभोर भएको थिएँ _ र मेरो अन्तर्चक्कु, खुलेझैं मलार्य अनुभव भएको थियो ! मैले सोचें, ती व्यक्ति यिनै हुन् जसको म खोजी गर्दैथिएँ ! अँ, येभ्गेनी भासील्येभिच, यहाँकी एउटी महिलासित तपाईंले भेटघाट गर्नैपर्छ । उसले तपाईंको भनाइ एकदमै बुझ्न सक्छ र तपाईंसितको भेटघाट उसको लागि एक आनन्ददायी उत्सव हुनेछ । मलाई लाग्छ, तपाईंले उसको बारेमा सुनेको हुनुपर्छ ?”
“को महिला !”.-बाजारोभले बेवास्ताको स्वरमा सोध्यो
“कुक्शिना, येम्दोक्सीया कुक्शिना ! ऊ एक विचित्रकी प्राणी हो-सच्चा अर्थमा emancipee, पूर्वाग्रहमुक्त नारी) एक प्रगतिशील महिला । सुन्नोस् त ! हामी सबै अहिले नै सरासर उसैकहाँ जाऔं न ! के छ विचार ? यहाँबाट ऊ बस्दछे । हामी त्यहीँ नै बिहानको खाना खाऔंला ! तपाईंहरूले अझै खानुभएको त छैन होला नि ?”
“अझै खाएका छैनौ !”
“ठीक छ । तपाईंहरूलाई बताइलौं, आफ्नो पतिकहाँ ऊ बस्दिन । ऊ एकदमै स्वतन्त्र छे ।”
“राम्री त छे ऊ ?” -बाजारोभले सोध्यो ।
“अँ-हँ ! यस्तो त भन्न सकिदैन ।”
“त्यसो भए किन हामीलाई उसकहाँ घिसारेर लाँदैछौ त ?”
“अहो ! तपाईंलाई पनि ठट्टा गर्नुपर्दो रहेछ _ शैम्पेनको बोतल खोलेर उसले हाम्रो स्वागत गर्ली ।
“त्यसो पो ! अब भने व्यावहारिक मान्छे देखापर्यो । अँ, तपाईंका पिताजी अहिले पनि मालगुजारीको ठेक्कापट्टामा लागेकै छन् ?”
“हो !” -फिसिक्क हाँसेर सीतनिकोभले झटपट भन्यो । -‘के त, नजाने ?”
“खै, थाहा छैन ।”
“यहाँका मान्छेहरूको चालामाला बुझ्न चाहन्थ्यौ नि तिमी ! जाऊ न !” – आर्कादीले सुस्तरी भन्यो ।
“तपाईं किन नजाने नि, श्रीमान् किर्सानोभ ?” -सीतनिकोभले सोध्यो । – “तपाईं पनि हिंड्नोस् ! तपाईं पनि नगई हुँदैन ।”
“हामी सबै उसकहाँ एक्कैपल्ट कसरी जाने लौ ?”
“केही छैन । कुक्शिना विचित्रकी प्राणी हो ।”
“शैम्पेनको बोतल त खुल्ने हो के त्यहाँ ?” -बाजारोभले सोध्यो ।
“तीन बोतल !” -सीतनिकोभले घोषणा गर्यो । -“म यसको ग्यारेन्टी दिन्छु ।”
“कस्तो ग्यारेन्टी ?”
“आफ्नो गर्दन थापिदिनेछु ।”
“त्यो भन्दा त तपाईंका पिताजीको थैली राम्रो हुनेथियो । जे होस् जाऔं ल !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

