परिच्छेद- १३
युद्धमन्त्रीसँग बिदा भएपछि त्यही रात बोल्कोन्स्की आफ्नो बटालियनमा समाहित हुन प्रस्थान गर्यो । आफ्नो सेना कहाँ भेटिने हो उसलाई थाहा थिएन र क्रेम्सको बाटो लाग्दा फ्रान्सेलीहरूले फेला पारेर पक्राउ गर्ने हुन् कि भन्ने उसलाई डर पनि लागिरहेको थियो ।
बुनमा सबैले आफ्नो-आफ्नो सामान पोका पार्दै थिए । ठूल्ठूला सामानहरू पहिले नै ओल्मुज पठाइसकिएको थियो । हेजेल्स्डोर्फ नजिक राजकुमार आन्द्रेइ त्यही सडकमा पुग्यो, जहाँ रसियाली सेना असाध्य तेज गतिमा तर अव्यवस्थित अवस्थामा अगाडि बढिरहेको थियो । सडकमा घौडागाडीहरूले यस्तो अवरोध पुर्याइरहेका थिए कि राजकुमार आइन्द्रेइलार्इ बग्गीमा यात्रा कायम राख्नज पनि असम्भवजस्तै भयो । राजकुमारले एउटा घोडा र एउटा कोजाक कमाणडरसँग मागेर एक जना कोजाक आर्दली लियो । अनि भोक र प्यासले लखतरान भएको हुँदा घोडागाडीहरूको बीचबाट बाटो बनाउँदै प्रधान सेनापति र आफ्नो सामान लादेको घोडागाडी खोज्न लाग्यो । बाटोमा उसले आफ्नो सेनाको बारेमा धेरै नराम्रा कुरा सुन्नु पर्यो र कुनै राम्रो व्यवस्थाविना नै ऊ यसरी हुत्तिएको दृश्यले यस्तो हल्लाको पुष्टि पनि गर्थ्यो ।
“यो रसियाली सेना, जसलाई अङ्ग्रेजहरूको सुनले पृथ्वीको कुनै कुनाबाट यहाँसम्म ल्याइपुर्याएको छ, लाई हामीले त्यसरी नै फल चखाउने छौँ, जसरी हामीले उल्ममा अस्ट्रियाली सेनालाई फल चाख्न वाध्य तुल्याएका थियौँ,” राजकुमार आन्द्रेइलाई यस युद्ध अभियानको सुरुमा बोनापार्टले आफ्ना सैनिकहरूलाई उक्साएका यिनी शब्दहरू एकेक गरेर सम्झना भइरहेथ्यो । र, यिनै शब्दहरूका प्रभावले उस्तको हृदयमा उक्त प्रतिभाशाली नायकप्रति आश्चर्य प्रकट गर्दै समयोचित ख्याति आर्जन गर्ने आकाङ्क्षा जागेर आएको थियो । “के रहेछ यहाँ, जो मृत्युभन्दा ठूलो रहेछ,” उसले सोच्यो । “यदि मनै पर्छ भने म अरूको भन्दा धेरै मूल्यवान् मृत्यु मर्छु ।”
राजकुमार आन्द्रेइले यी अव्यवस्थित सैनिक टुकडी, घोडागाडी, फौजी सरसामान, तोप र बन्दुक, फेरि घोडा गाडी र यिनै घोडागाडीहरूको अन्तहीन लस्करहरूलाई तिरस्कारपूर्वक हेरिरहेथ्यो, जसले एउटाको अगाडि अर्को गर्दै एउटै लाममा तीन तीन चार चारको सङ्ख्यामा एक-आपसमा टाँसिएर अगाडि बढ्दै यो फोहोर बाटोमा अप्ठ्यारो पारिरहेका थिए । कानले सुनेसम्म, घोडागाडीका चक्का, तोपगाडीका स्वर, घोडाका टाप, घोडालाई हिर्काएका छडीबाट निस्केका ध्वनि, गाडी चालकहरूको चिच्याहट सैनिक अर्दली र अफिसरहरूको गालीगलौजका स्वरहरू स्पष्टसँग सुनिन्थे । सडकका दुवै किनारामा मरेका घोडाहरूको लाश देखिन्थे । कुनै घोडा छालारहित हुन्थे भने कुनै घोडा छालासहित हुन्थे । कहीँ बिग्रेका र भाँच्चिएका घोडागाडीहरू देखिन्थे भने कहीँ तिनै घोडागाडीनजिक केही चीज पर्खेर बसिरहेका सिपाहीहरू देखिन्थे । कहीँ यही फौजी दलबाट अलगिगएर केही फौजी या त नजिकका गाउँमा गएर कुखुरा, भेँडा या त्यस्तै केही खानेकुराका भारी बोकेर ल्याइरहेका हुन्थे । सडकको हरेक उकालो-ओरालोमा यो भीड झन् घनीभूत हुन्थ्यो र चिच्याएको र कराएको आवाज झन् तीव्र भएर जान्थ्यो । घुँडासम्म हिलोमा धस्सिएका सैनिकहरू तोप र घोडागाडीहरू अगाडि धकेल्थे, विचरा घोडाहरूमाथि छडी बर्षाउँथे, घोडाका खुर चिप्लिन्थे, बाटो छुट्टिन्थ्यो र चिच्याउँदा-चिच्याउँदा र कराउँदा-कराउँदै मान्छेहरूको फोक्सो नै फुट्न लागेजस्तो हुन्थ्यो । सेना सञ्चालन गर्ने अफिसरहरू घोडागाडीहरूका बीच आफ्ना घोडामा अगाडि-पछाडि गरिरहेका देखिन्थे । यो कोलाहलभित्र उनीहरूको आवाज त्यसै कता बिलाउँथ्यो र स्पष्ट रूपमा यो देखिन्थ्यो कि उनीहरू अब यो गडवडपूर्ण अव्यवस्था सम्भाल्न सक्ने स्थितिमा छैनन् । उनीहरूले हरेस खाइसकेका छन् ।
“त यही हो हाम्रो प्राचीन र प्यारो इसाई धर्मावलम्वी-रसियाली सेना,” बोल्कोन्स्की बिलिबिनका यी शब्दहरू सम्झदै थियो ।
यिनीहरूमध्ये कसैसँग प्रधान सेनापति कहाँ छन् भनेर सोध्ने विचारले क गाडीहरूको लाम भएतिर गयो । उसको ठीक अगाडि एउटा अचम्मखालको एक घोडेबग्गी गइरहेको थियो, जो स्पष्टत सैनिकहरूले त्यही सरसामानले बनाएका थिए, जो उनीहरूसँग उपलब्ध थियो र यो घोडागाडी र चारपाङ्ग्रे गाडीको बीचको कुनै चिजजस्तो देखिन्थ्यो । यसलाई एउटा सिपाहीले हाँकिरहेको थियो । र छालाको ढकनामुनि कटिप्रच्छदपछाडि दोसल्लामा गुटमुटिएर एउटी महिला बसिरहेकी थिई । राजकुमार आन्द्रेइले आफ्नो घोडा उक्त गाडी भएका ठाउँमा लग्यो र जसै उसले एउटा सैनिकसँग प्रधान सेनापतिका बारेमा सोध्न लागेको थियो, गाडीमा बसेकी उक्त महिलाको अति चीत्कारले गर्दा उसको ध्यान भङ्ग भयो । यो यातायातको सञ्चालक अफिसरले अरू गाडीहरूलाई उछिनेर अगाडि जान लागेको अभियोगमा यस गाडीको चालक सिपाहीलाई कोर्राले पिट्दै थियो । र उसका कोर्रा उक्त महिलाको कटिप्रच्छदमा पनि परिरहेको थियो । त्यसैले ऊ नराम्रोसँग चिहिरिइरहेकी थिई । राजकुमार आन्द्रेइलाई देखेर ऊ कटिप्रच्छुद पछाडिबाट अगाडितिर झुकी र उनीको दोसल्लाबाट हातहरू बाहिर निकालेर हल्लाउँदै चिच्याई ।
“सहायकज्यू, सहायकज्यू ! …………… भगवानका लागि मलाई बचाउनुस ! हाम्रो हाल के होला ? ……….. म सातौं निसानावाज रेजिमेन्टको डाक्टरकी श्रीमती हुँ । यिनीहरू हामीलाई अगाडि जान दिइरहेका छैनन् । हामी धेरै पछाडि परिसक्यौँ । हामीले आफ्ना मान्छेहरू हराइसक्यौँ ………..।”
“तँलाई मालपुवामा परिणत गर्ने छु,” रिसाएको अफिसरले सिपाहीलाई हक्ल्यायो । “तेरी ठिटीलाई लिएर पछाडि फर्की हाल ।”
“मलाई सहयोग गर्नुस्, हजूर,” यिनीहरूले के गर्न आँटे, डाक्टरकी श्रीमती रुन थाली ।”
“दया गरेर यिनलाई जान दे । यी बिचरी एउटी निरीह महिला हुन्, बुझेनौ ?” उक्त यातायात अफिसरसँग गएर राजकुमार आन्द्रेइले भन्यो ।
उक्त अफिसरले राजकुमारलाई हेर्दै भन्यो, तर उसको अनुरोधको वास्तै नगरेर फेरि गाडी चालक सिपाहीलाई हेर्यो । “तँ तुरुन्तै यहाँबाट पछाडि फर्किनस् भने देख्लास्, तँलाई म के गर्दो रहेछु ।”
“उनीहरूलाई जान दे, म भन्छु उनीहरूलाई जान देऊ,” ओँठ चपाउँदै राजकुमार आन्द्रेइले फेरि अनुरोध गर्यो ।
“तिमी को हौ ? रिसले चूर हुँदै राजकुमारतर्फ फर्केर अफिसरले पनि मुख फर्कायो ।” तिमी को हौ?” के तिमी यहाँको हाकिम हौ ? यहाँको हाकिम त म हुँ बुझ्यौ ? तर तिमी होइनौ । “ए, सिपाही तँ तुरुन्तै पछाडि फर्की । नत्र मैले भनेँ नि, तँलाई मालपुवा बनाइदिनेछु,” उसले पहिलेकै धम्कीपूर्ण आदेश दोहोर्यायो । सम्भवत: यी शब्दहरू उसलाई खूब मन पर्थ्यो होला ।
“खूब शेखी गर्थ्यो, सहायक बल्ल फेला पर्यो,” पछाडिबाट कसैले भनेको सुनियो ।
रिसको झोँकमा आगो भएको उक्त अफिसरले आफ्नो होस पनि गुमाइसकेझैँ लाग्यो राजकुमार आन्द्रेइलाई । आफूले के बोलिरहेछु भन्ने पनि उसलाई थाहा छैन अहिले,” राजकुमारलाई यस्तो लाग्यो । “बग्गीमा बसेकी डाक्टरकी श्रीमतीलाई बचाउ गर्दा मैले ठूलो खतरा मोलिरहेछु । तर संसारमा मेरो खिल्ली उडाउने योभन्दा अर्को कुरो केही हुन सक्तैन, जुन कुरासँग म सधैँ भयभीत हुन्छु,” राजकुमारले सोच्यो । तर राजकुमार आन्द्रेइ आफ्नो अडानमा दृढ थियो । यातायात अफिसरले आफ्नो वाक्य पूरा गर्न नपाउँदै राजकुमार आन्द्रेइ रिसले मुख बिगार्दै घोडा बढाएर ऊसँग पुग्यो र आफ्नो हातको कोर्रा उचाल्यो ।
“दया………………गर…र……उनीहरूलाई ……… जान देऊ,” उसले भन्यो ।
यातायात अफिसरले आफ्ना हात झट्कार्यो र हतारिँदै त्यहाँबाट आफ्नो घोडा कुदायो ।
“यो सारा गडबडी मुख्य सैनिक कार्यालयको कारण नै भएको हो,” राजकुमार आन्द्रेइ भुत्भुतायो । “ठीकै छ, जे गर्नु छ गर, मनपरि गर ।”
राजकुमार आन्द्रेइले आँखै नखोली, डाक्टरकी श्रीमती भएका ठाउँबाट हतारिँदै आफ्नो घोडा कुदायो, जसले उसलाई आफ्नो रक्षक मानिरहेकी थिई । उसले यो घृणास्पद घटना मनमा सम्झना गर्दै आफ्नो घोडा त्यो गाउँतिर सर्पट कुदायो, जहाँ उसलाई सूचना दिइएबमोजिम प्रधान सेनापति कुतुजोभ थिए ।
उक्त गाउँमा पुगेपछि राजकुमार आन्द्रेइ घोडाबाट ओर्ल्यो र सबभन्दा नजिकको एउटा घरमा गयो । त्यहाँ केही छिन विश्वाम गर्ने, केही खानपिन गर्ने र आफ्नो मनलाई यातना दिइरहेका अपमानजनक विचारधाराहरूबाट मुक्ति लिने उसको अभिप्राय थियो । “यो त मूर्खहरूको एउटा भीड मात्र रहेछ तर यो अनुशासित सैनिक परम्परा हुन सक्तैन,” ऊ गएको पहिलो घरको ढोकामा पुग्दा उसको मनमा यही कुरा खेलिरहेको थियो । त्यत्तिकैमा एउटा परिचित आवाजले उसलाई नामै काढेर बोलायो ।
उसले यसो टाउको घुमाएर हेर्यो । सानोसानो झ्यालबाट नेस्भित्स्कीको सुन्दर अनुहार बाहिरतिर हेर्दै थियो । केही चीज चपाइरहेका आफ्ना चिल्ला ओँठ चलाउँदै र हात हल्लाउँदै नेस्भित्स्कीले उसलाई भित्र आऊ भनेर बोलाइरहेको थियो ।
“बोल्कोन्स्की, बोल्कोन्स्की, भित्र आउ भन्या, सुनेनौ कि कसो ? ओहो, छिटो आऊ,” उसले भन्यो ।
घरभित्र पसेपछि राजकुमार आन्द्रेइले देख्यो कि नेस्भित्स्की र अर्को एक जना सहयोगी केही खानपिन गरिरहेका थिए ।, उनीहरूले हत्तपत्त केही नयाँ खबर छ कि भनेर राजकुमारलाई सोधे । उनीहरूको चीरपरिचित अनुहारमा राजकुमार आन्द्रेइले केही व्याकुलता र युद्धसम्बन्धी त्रासको लक्षण देख्यो । सधैँजसो हँसमुख नेस्भित्स्कीको अनुहारमा यो लक्षण स्पष्ट रूपमा गोचर थियो ।
“प्रधान सेनापति कहाँ छन्,” बोलकोन्स्कीले सोध्यो ।
“यहीँ, ऊ त्यो घरमा छन्,” सहयोगीले उत्तर दियो ।
“शान्तिसन्धि हुन लागिरहेछ र हामीले पराजय स्वीकार गरिसक्यौँ रे भन्छन्, के यो साँचो कुरा हो ?” नेस्भित्स्कीले सोध्यो ।
“म पनि तिमीहरूसँग त्यही प्रश्न सोध्न लागिरहेथेँ । मलाई त यत्ति कुरा मात्र थाहा छ कि म जसोतसो तिमीहरू भए ठाउँसम्म आइपुगेँ ।”
“प्रिय भाइ, हाम्रो त कुरै नगर । हाम्रो अवस्था ज्यादै दयनीय छ । हामीले माकको खिल्ली उडाउनु ठूलो गल्ती रहेछ । हाम्रो अवस्था त्योभन्दा धेरै गुना खराब छ, नेस्भित्स्कीले भन्यो । “केही छिन बसेर आराम गर र केही खानपिन गर ।”
“राजकुमार, अब त तिमीले आफ्नो घोडागाडी र सरसामान पनि केही पाउने छैनौ । तिम्रो अर्दली पिटर पनि कहाँ छ, भगवानलाई नर थाहा होला,” अर्को सहयोगीले थप्यो ।
“मुख्य सैनिक सचिवालय कहाँ छ् ?”
“हामीले जनाइमपा रात काट्नु पर्नेछ ।”
“मसँग दुइटा घोडागाडीमा अटाउने सरसामान छ, पोको पारेको छु” नेस्भित्स्कीले भन्यो । उनीहरूले राम्रोसँग मिलाइदिएका छन् । त्यस्तै पर्यो भने मैले त बोहेमियाको पहाड पनि नाघ्न सक्छु । यहाँको अवस्था यस्तै छ यार, तिमी त सन्चो नभएझैँ काँपरहेका छौ, किन ?”
राजकुमारलाई निन्याउरो मुख लगाएर विकम्पित भएको देख्दा उसले थप्यो ।
“होइन, त्यस्तो केही भएको छैन,” राजकुमार आन्द्रेइले उत्तर दियो ।
“राजकुमारको मनमा डाक्टरकी श्रीमतीसँग भएको जम्काभेट र यातायात अफिसरले गरेको दुर्व्यवहारसम्बन्धी कुरा खेलिरहेको थियो ।
“प्रधान सेनापतिले यहाँ के गरिरहेछन् त ?” उसले प्रश्न गर्यो ।
“म यस विषयमा केही भन्न सक्तिनँ,” नेस्भित्स्कीले जवाफ दियो ।
“तर मलाई थाहा छ । मैले बुझेको छु । सबथोक घुणित छ । घृणित र घृणित छ सबथोक,” राजकुमार आन्द्रेइले भन्यो र ऊ प्रधान सेनापति बसेको घरतिर हान्नियो ।
कुतुजोभको बग्गी, उसको पृष्ठरक्षकदलको थकित सवारीका घोडा र आपसमा ठूल्ठूलो स्वरमा बात मारिरहेका कोजाकहरूबाट छिर्दै राजकुमार आन्द्रेइ ड्योढीमा प्रवेश गर्यो । राजकुमार आन्द्रेइलाई बताइएजस्तै कुतुजोभ राजकुमार बग्रातिओन र विरोदरसँग घरभित्रै थिए । विरोदर अष्ट्रियाली जर्नेल थियो, जो मारिएको जर्नेल स्मिथको ठाउँमा नियुक्त भएको थियो । ड्यौढीमा पुडके कोज्लोभ्स्की एउटा कारिन्दाअगाडि घुँडामा मुन्टो राखेर हगासनमा बसिरहेको थियो । कमिजका बाहुलामाथि सारेर कारिन्दाले एउटा टबलाई उल्टाएर त्यसैमाथि केही कुरा लेखिरहेको थियो । कोज्लोभ्स्कीका अनुहार पनि ऊ एकदम थकित देखिन्थ्यो – यो स्पष्ट थियो कि ऊ गत राती सुतेको थिएन । उसले राजकुमार आन्द्रेइतर्फ दृष्टि दियो तर अंभिवादन गर्ने क्रममा आफ्नो टाउकोसम्म निहुराएन ।
“दोस्रो पंत्ति लेख्यौ…….?” उसले कारिन्दालार्इ रिसाउँदै र अपमानजनक दृष्टिले कोज्लोभ्स्कीलाई हेर्दै भन्यो ।
“ढोकाबाट कुतुजोभको बोली सुनियो, जो उत्तेजित र असन्तुष्ट थिए साथै एउटा अर्को नचिनेको मान्छेको स्वरले उनका कुरा काटिरहेको थियो । यिनी आवाजहरूका साथै कोज्लोभ्स्कीले आफूलाई हेर्दा उसको चिन्तित दृष्टि, टबसँगै भुइँमा बसेका कोज्लोभ्स्की र कारिन्दा अनि घरको ढोंकासँगै घोडाहरूको नजिकै उभिइरहेका कोजाकहरूको अट्टहासले गर्दा राजकुमार आन्द्रेइलाई यो महसुस भयो कि कुनै महत्त्वपूर्ण तर दुर्भाग्यपूर्ण घटना घट्न गइरहेछ ।
राजकुमार आन्द्रेइ तत्काल कोज्लोभ्स्कीलाई फर्केर अत्यावश्यक प्रश्नहरू सोध्न लाग्यो ।
“तत्कालै, राजकुमार,” कोज्लोभ्स्कीले भन्यो । “बग्रातिओनलाई पठाउने तयारी गरिँदै छ ।” “के आत्मसमर्पण गर्न ?” “त्यस्तो होइन, लडाइँको लागि आदेश दिइसकिएको छ।”
राजकुमार आन्द्रेइ ती आवाजहरू आइरहेको ढोकातिर बढ्यो । उसले जसै ढोका खोल्न लागेको थियो, आवाजहरू बन्द भएं, ढोका खुल्यो अनि चिलको जस्तो नाक, सास फुलिरहेको अनुहार लिएर कुतुजोभ ढोकामा उपस्थित भए । राजकुमार आ्द्रेइ कुतुजोभको ठीक अगाडि उभियो । तर कुतुजोभको उपस्थितिले यस्तो प्रतीत हुन्थ्यो मानौँ उनले केही पनि देखिरहेका छैनन् । “उनी चिन्ताग्रस्त छन् र अत्यन्त गहन विचारमा लीन छन् ।” उनको दृष्टि आफ्नो सहायक राजकुमार आन्द्रेइतर्फ केन्द्रित थियो तर उनले उसलाई चिन्न सकिरहेका थिएनन् ।
“अब त लेखाएर सिद्धियो होला नि, होइन ?” उनले कोज्लोभ्स्कीलाई सोधे ।
“एकछिन है, महामहिम ।”
प्रधान सेनापतिको पछिपछि, पूर्वेली ढङ्गको, शालीन अनुहारको धनी, दुब्लो-पातलो अर्धबैँसे बग्रातिओन बाहिर निस्कियो ।
“म तपाईंलाई सादर यो प्रतिवेदन प्रस्तुत गर्दैछु, म तपाईंको आदेशबमोजिम काम गरेर फर्की आएको छु,” मलाई यो काम गरेवापत् आफैलाई गर्व अनुभूति भइरहेछ, उसले ठूल्ठूलो स्वरमा चिच्याउँदै कुतुजोभलाई एउटा खामबन्दी चिठी दियो ।
“ओहो, भियनाबाट ?” धेरै राम्रो, धेरै………. पछि….. कुरा……. ।”
कुतुजोभ बग्रातिओनसँग घरबाट बाहिर निस्के ।
“लौ त तिमी जाऊ,” उनले राजकुमार बग्रातिओनलाई भने । तिमीमाथि प्रभु इशुको कृपादृष्टि रहोस् ! तिमीलाई निकै ठूलो कामको लागि यो आशीर्वाद दिइरहेको छु ।”
कुतुजोभको अनुहार अचानक द्रविभूत भएर आयो । उनका आँखामा आँसु टल्पलाए । उनले आफ्नो बायाँ हातले बग्रातिओनलाई आफूतिर ताने र औँठी लगाएको दाहिने हातले “क्रस”को निसाना बनाउँदै आफ्नो थलथले गाला तर्फ बढाए । तर के भयो भने राजकुमार बग्रातिओनले उनको गाला छोडेर गर्धनको चुम्बन गर्यो ।
“तिमीलाई भगवानले रक्षा गरुन् ।” कृतुजोभले फेरि त्यही कुरा दोहोर्याए र आफ्नो बग्गीतिर बढे । “तिमी मसँग बस,” उनले राजकुमार आन्द्रेइलाई भने ।
“हजूर, म यहाँ कुनै किसिमको कामको लागि भए पनि उपयोगीसिद्ध हुन चाहन्छु । मलाई कृपा गरेर राजकुमार बग्रातिओनको फौजमा सामेल हुने अवसर दिनुहोस् ।”
“पहिले मसँग बस न” राजकुमार आन्द्रेइले यताउति कुरा गर्न लागेजस्तो देखेर कुतुजोभले भने, “मलाई असल अफिसरहरूको नै खाँचो छ, तिमी जस्तै ।”
बग्गीमा चढेर बाटो लाग्दा दुवै जना एकछिन केही बोलेनन् ।
हेर बाबु, यहाँअगाडि के के हुँदै छ ” एउटा बुढो र खारिएको लडाकुको हैसियतमा उनले बोल्स्कोन्स्कीलार्इ भने मानौँ उनले बोलूकोकीको मनमा उठिरहेको समुद्री ज्वारभाटाको असली मूल्याङ्कन गरेका होऊन । “यदि उसको फौजको दसमध्ये एक भाग पनि सकुशल फिर्ता आउन सफल भयो भने मैले ईश्वरलाई धन्यवाद दिनै पर्दछ,” कुतुजोभ आफूले आफैलाई नै भनेजस्तो गरी कुरा थपे ।
राजकुमार आन्द्रेइले कृतुजोभको मुखमा हेर्यो । उसले उनको कन्चटमा लागेको घाउको टाटो देख्यो, जुन घाउ कुतुजोभलाई इस्माइलको लडाइँमा गोली लाग्दा लागेको थियो । राजकुमारको ध्यान कुतुजोभको एउटा कानो आँखामा पनि पर्यो । “हो बा, कुतुजोभलाई त उनीहरूद्वारा प्रक्षेपित मृत्युको मुखमा गएवापत यस्तो प्रतिक्रिया जनाउने अधिकार हुनै पर्दछ,” बोल्कोन्स्कीले सोच्यो ।
“त्यसै भएर हजूर, मैले मलाई यस लडाइँमा लड्न पठाइयोस् भनेर अनुरोध गरेको हुँ” बेल्कोन्स्कीले भन्यो ।
कुतुजोभले यसको कुनै उत्तर दिएनन् । सायद उनले यसअगि बोल्कोन्स्कीलाई भनेका कुरा बिर्सेका थिए र केही अन्य कुराहरूका विषयमा सोचिरहेका थिए । पाँच मिनेटपछि आफूहरू चढेको बग्गीको नरम लचकतामा बिस्तारै झुम्दै कृतुजोभले राजकुमार आन्द्रेइलाई भने । कृतुजोभको अनुहारमा यस बखत विह्वलताको लेस मात्र पनि सङ्केत थिएन । सामान्य व्यङ्ग्यका साथ उनले, राजकुमारको सम्राट्सँग भएको भेटघाट, क्रेम्सको लडाइँका सम्बन्धमा दरबारमा सुनिएका कुरा र आफूहरू दुवैले चिनेजानेका केही महिलाहरूका बारेमा मात्र सोधपुछ गरे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।