११
“यसै रीतले सबका सब नै विवाह गर्छन् । यसरी मैले पनि विवाह गरेँ । अनि हाम्रो त्यो मधुमास शुरु भयो जसको मानिसहरू गुणगान गर्नेगर्छन् । यो नाम नै पनि कस्तो घिनलाग्दो छ !”-जडङ्ग रिसाउँदै ऊ फतफतायो । – “एकपल्ट म पेरिसमा एउटा प्रदर्शनी हेर्न गएको थिएँ। त्यहाँ मैले नाना थरीका तमाशाहरू देखेँ । एउटी स्वास्नीमान्छे पनि देखियो जसले दाह्री पालेकी थिई । अनि एउटा कुकुर पनि देखियो जसको आधा आङ चाहिं माछाको थियो । पछि के थाहा पाइयो भने त्यो दाह्रीबाली आइमाई त वास्तवमा एक लोग्नेमान्छे नै थियो जसले आइमाईलुगा मात्र लगाइराखेको थियो । अनि कुकुरलाई चाहिँ एउटा सीलमाछाको छालामा हालेर नुहाउने टबमा छोडिराखेको रहेछ जहाँ त्यो पानीमा तैरिरहेको थियो । त्यहाँ खास रमाइलो कुरा त केही पनि थिएन,परन्तु म बाहिर निस्कन लागिरहेको बेला पालेले मलाई खूब मानमनितो गरेर ढोकैसम्म पुर्याइदियो र मलाई देखाउँदै त्यहाँ झूम्मिरहेका तमाशेहरूलाई सम्बोधन गर्दै भन्यो: “लौ, प्रदर्शनी कस्तो छ भनेर यिनै सज्जनसित सोध्नोस् ! हेर्न लायक छ कि छैन ? आउनोस् ! आउनोस् ! सिर्फ एक फ्रेन्कमा तमाशा हेर्नोस् !” प्रदर्शनीमा हेर्न लायक केही पनि छँदैछैन भनेर मैले लाज पचाएर भन्नै सकिनँ । पालेले पनि मबाट सके यसै कुराको आशा राखेको थियो होला ! मलाई के लाग्छ भने सके ती मान्छेहरूको हालत पनि यस्तै हुन्छ जसले मधुमासको सारा छुद्रताको अनुभव गरिसकेका हुन्छन् । उनीहरूलाई पनि अरुको भ्रम निवारण गर्न लाज लाग्छ । मलाई पन्नि यस्तो गर्न संकोच लाग्नेगर्थ्यो,तर अब चाहिं यस्तो हुँदैन । सत्य कुरा खुलस्त पार्न पनि लज्जाउनुपर्ने किन र ? अझ म त के ठान्छु भने सत्य कुरा अवश्य नै बताइदिनु आवश्यक छ । मेरो मधुमास पनि त लज्जा, घृणा, दया र मुख्य कुरा उराठले भरिएको थियो ! त्यो कति नीरस थियो त्यसको त बयान गरेरै साध्य हुँदैन ! त्यो यस्तै किसिमको अनुभव थियो जस्तो शुरु-शुरुमा चुरोट खान थाल्दा हुनेगर्छ जतिखेर मुख नै तीतो भएर आउँछ, वाक्क-वाक्क लाग्छ, मुखभरि राल र थुक भरिन्छ, तर म त्यो थुक निलेर के देखाउने कोशिश गर्छु भने चुरोट खाएर मलाई असाध्य मजा लागिरहेको छ ! चुरोट खानमा कुनै मजा आउँछ भने त्यो केही समयपछि मात्र आउँछ होला । मधुमासको बारेमा पनि यही कुरा भन्न सकिन्छ । जोईपोईले पनि यस व्यसनको बानी बसाल्नुपर्छ, अनि मात्र त्यसबाट केही मजा पाउन सकिन्छ ।”
“कस्तो व्यसन ?”- मैले सोधेँ । – “तपाईं यसलाई व्यसन भन्नुहुँदो रहेछ, तर यो त मानव मात्रको स्वाभाविक क्रिया हो ।”
“स्वाभाविक ?”- ऊ बोल्दैगयो । – “स्वाभाविक रे ? अहँ, हुँदै होइन म त यसको एकदमै उल्टो निष्कर्षमा पुगेको छु । यो बिल्कुलै अस्वाभाविक छ … प्रकृतिको नै विरुद्ध छ ! हो, हो ! एकदमै अस्वाभाविक ! केटाकेटीहरूसँग सोधिहेर्नोस् ! नबिग्रेका शीलवती युवतीसँग सोध्नोस् ! मेरी बहिनीको विवाह यस्तो व्यक्तिसँग भयो जसको उमेर दोब्बर बढी थियो र उ ज्यादै भ्रष्ट र व्यभिचारी पनि थियो । मलाई सम्झना छ, सुहागरातमा नै मेरी बहिनी कोठाबाट भागेर आएकी थिई । हामी अकमक्क परेका थियौं । उसको अनुहार फुङ्ग उडेको थियो, आँखाबाट बलिन्द्र धारा आँसु बगिरहेको थियो, उसको सम्पूर्ण जिउ नै थर्थर कामिरहेको थियो, ऊ चिच्याइरहेकी थिई र के भन्दैथिई भने उसबाट यस्तो कर्म कहिल्यै पनि कदापि हुनेछैन । त्यो मान्छेले उससँग कस्तो कर्म गर्न खोजेको थियो त्यसको चाहिं उसले बयान समेत गर्न सकेकी थिइन ।
तपाईं भने यसलाई स्वाभाविक भन्नुहुन्छ ! स्वाभाविक कुराहरू पनि नहुने होइनन् ! शुरुदेखि नै ती प्रिय र आनन्ददायक हुन्छन् र प्रकृतिको अनुकूल हुन्छन् । ती कुराहरू गर्नमा लज्जाको पनि अनुभव हुँदैन । तर यहाँ त यी कुराहरू पटक्कै छैनन् । योत लज्जास्पद, घृणास्पद, र क्लेशदायक पो कुरा हो । यो किमार्थ पनि स्वाभाविक कुरा हुँदै होइन । मलाई पच्चीसै आना विश्वास छ, शीलवती युवतीहरू सदैव नै यस कुरालाई घृणा गर्छन् ।”
“भन्नोस्, मनुष्य-जातिको अस्तित्व नै कसरी सम्भव होला ?”- मैले प्रश्न गरेँ ।
“मनुष्य-जातिको अस्तित्व ?” -उसले व्यङ्गपूर्वक यस किसिमबाट भन्न शुरुगर्यो, मानौं मैले यस्तै थोत्रो र लाजमर्दो प्रश्न तेर्स्याउनेछु भन्ने उसलाई पहिलेबाटै थाहा भएको होस्। “सन्तति-निरोधको उपदेश दिनु सम्भव छ, किनभने यसले गर्दा बेलायतका लार्डहरू सदैव नै अजीर्णा हुने गरी कोचीकोचीकन खान सक्छन् । सन्तति-निरोधको उपदेश दिँदैजानोस्, जसले गर्दा मान्छेले कुनै अप्रिय परिणामको सम्भावनाबेगर मजा लुट्न सक्छ । परन्तु सदाचारको नाममा एकपल्ट पनि सन्नति निरोधको उपदेश दिन चुइँक्क मात्रै गर्यो भने त अरे बाबा खैलाबैला नै मच्चिइहाल्छु ! दश बाह्र जनाले पशुहरूको जस्तो जीवन बिताउन छोडेर मान्छेको जस्तो जीवन व्यतित गर्ने निधो गरे कि त मनुष्य जातिकै अस्तित्व खतरामा पर्न गएको जस्तो ठान्नेगरिन्छ । माफ गर्नोस । यस उज्यालोले आँखा तिर्मिर्याइरहेकको छ । त्यसलार्इ कुनै चीजले ढाकिदिने अनुमति दिनुहुन्छ कि ?” उसले बत्तीतर्फ संकेत गर्दै भन्यो ।
मलार्इ कुनै आपत्ति छैन भनेर मैले जवाफ दिएँ । अनि हतारिदै र हस्याङफस्याङ गर्दै ऊ सीटमाथि उक्लियो र बत्तीको अगिल्तिर पर्दा पनि हालिदियो ।
“जे होस् यदि सबै मान्छेहरूले तपाईंको विचारको नै अनुसरण गर्न थाले भने त मनुष्य- अस्तित्व नै नामेट भएर जानसक्छ !” – मैले भनें ।
उसले यसको जवाफ तुरुन्तै दिएन ।
“मनुष्य-जातिको वंशबृद्धि कसरी हुन्छ भन्ने चिन्ता छ तपाईंलाई, हैन त ?”- उसले भन्यो । अनि उसले फेरि मेरो सामुन्नेको सीटमा गोडा फैलाएर घुँडामा आफ्ना कुहिनाले टेकेर अलि झुकेर अगाडि थप्यो – “मनुष्य-जातिको वंशबृद्धिकै पो के खाँचो छ र ?”
“के खाँचो रे ? यस्तो नहुँदो हो त तपाईं हाम्रो पनि त अस्तित्व मेटिनेथियो !”
“हाम्रो अस्तित्वकै पनि के खाँचो र?”
“कस्तो कुरा ? बाँच्नको लागि !”
“बाँच्ने नै किन ? यदि जीवनको कुनै लक्ष्य छैन र यदि बाँच्नको लागि मात्र जीवन पाइएको हो भने बाँचेर नै के फाइदा ? यदि यस्तै नै हो भने शोपनहावर, हार्टमैन र बौद्धहरूको भनाइ नै बिल्कुल सही हुन्छ । अनि यदि जीवनको कुनै लक्ष्य छ भने चाहिं त्यस लक्ष्यको पूर्तिपछि जीवन पनि समाप्त भैहाल्नुपर्छ भन्ने प्रष्टै छु । यसबाट त यही नै निष्कर्ष निस्कन्छ ।” – उसले उत्तेजित हुँदै भन्यो । ऊ सम्भवत: आफ्नो विचारलाई खूब महत्व दिन्छ भन्ने पनि छर्लङ्ग भैरहेको थियो । – “यसबाट त यही नै निष्कर्षमा पुगिन्छ । मनिलिनोस् ! यदि मानव-जीवनको लक्ष्य त्यही नै हो जसको उल्लेख सन्तहरूको वाणीमा पाइन्छ, यदि प्राणी मात्र नै एउटै प्रेमसूत्रमा बाँधिएको हुँदो हो, यदि भालाको सट्टा कुटोकोदालोको निर्माण गरिँदो हो इत्यादि, अर्थात् यदि जीवनको लक्ष्य संदाचार, कल्याण र प्रेम नै हुँदो हो त यस लक्ष्यप्राप्तिको बाटोमा बाधक बन्ने के हो ? त्यही वासनाहरू । सम्पूर्ण वासनाहरूमध्ये सबभन्दा तीव्र, सबभन्दा अनिष्टकर र सबभन्दा बलबती वासना हो – कामवासना अर्थात् शारीरिक सम्भोगको कामेच्छा । तसर्थ यदि वासनाहरूमाथि विजय पाउन सकिन्छ, खास गरी जुन सबभन्दा बढी बलवती छ त्यस कामवासनामाथि काबू जमाउन सकिन्छ भने सन्तहरूका सबै वाणीहरू साकार हुनेछन्, मनुष्यजाति नै एक सूत्रमा बाँधिनेछ, मानवजीवनको उद्देश्य पनि पूर्ति हुनेछ । अनि त जीवनको पनि कुनै अभिप्राय बाँकी रहनेछैन । मानवजीवनको अस्तित्व रहुञ्जेल उसको सामु एउटा आदर्श पनि रहन्छ । अनि अवश्यमेव यो आदर्श जति सकिन्छ त्यति नै बढी सन्तान उत्पादन गर्दैजाने खरायो वा सुंगुरको जस्तो होइन, न त शारीरिक भोगविलासबाट जति सकिन्छ त्यति नै बढी मजा लुद्दैजाने बाँदर वा पेरिसवासीहरूको जस्तो नै हो । यो त नैतिकताको उच्च आदर्श हो जुन सदाचार र इन्द्रिय दमनद्वारा प्राप्त हुनसक्छ । मानिसहरूले सदासर्वदा नै त्यसको प्राप्तिको लागि प्रयत्न गर्दैआएका छन् र गर्दै पनि रहनेछन् । तर हेर्नोस, यसको परिणाम कस्तो हुँदैछ !
शारीरिक प्रेम त एक सुरक्षा-साधन समान छ। गाना ऊ अहिले जीवित पुस्ताले उद्देश्यपूर्ति गर्न नसक्नाको एक मात्र कारण हो- कामवासना अस्तित्वमा छ भने त्यसले नयाँ पुस्तालाई पनि जन्म दिन्छ । अनि यो उद्देश्यपुर्तिको अवसर नयाँ पुस्तले पाउँछ । परन्तु नयाँ पुस्ताले पनि लक्ष्यप्राप्ति गर्न सकेन भने त्यो अवसर त्यभन्दा अगाडिको पुस्ताले पाउँछ । यो क्रम त्यस बेलासम्म चलि नै रहनेछ जबसम्म मानवजातिले वास्तवमा नै आफ्नो उद्देश्य पूर्ति गरिसक्नेछैन, जबसम्म सन्तहरूको वाणी अनुसारको आचरण हुँदैन, जबसम्म सम्पूर्ण मानवजाति नै एक सूत्रमा बाँधिदैन । यसको विपरीत हुनै पनि त के सक्छ र ? मानिलिनोस ईश्वरले मान्छेहरूलाई एक विशेष लक्ष्यप्राप्तिको निम्ति सृजना गर्यो तर उनीहरूलार्इ यात यस्तो मर्त्यजीव बनाइदियो जसमा कामवासनारहित बनाइदिएको भए कस्तो परिणाम निस्कँदो हो ? उनीहरू लक्ष्यप्राप्ति नहुँदै मरेर गैहाल्नेथिए र लक्ष्यप्रातिको लागि र्इश्वरले नयाँ मान्छेहरू सृष्टि गर्नुपर्नेथियो । फेरि यदि उसले मान्छेहरूलाई अमर बनाइदिएको भए कैयौं हजार शताब्दी बितेर गैसकेपछि उनीहरूले आफ्नो लक्ष्यप्राप्ति गर्नेथिए होलान् । (यद्यपि एउटै पुस्ताका मानिसहरूको लागि आफ्नो भूल सुधार गर्नु कठिन हुन्छ, जब कि नयाँ पुस्ताका मान्छेहरूको लागि आफ्ना पितापुर्खाका भूलहरू सुधार गर्दै लगेर सम्पूर्णताको निकट पुग्नु ज्यादा सजिलो पर्छ ।) तर ती अमर मान्छेहरूको के प्रयोजन ? उनीहरूलाई कहाँ राख्ने ? बरु स्थिति जस्तो छ त्यो नै सबभन्दा उत्तम छ । … सके जुन किसिमबाट म यस कुराको अभिव्यक्ति गर्दैछु सो तपाईंलाई मन परेको छैन क्या रे? सके तपाईं क्रमिक विकाससम्बन्धी सिद्धान्तका पक्षसमर्थक हुनुहुन्छ क्या रे ? जे होस्, त्यसको परिणाम पनि उस्तै नै हुनेछ । प्राणीमात्रमा सबभन्दा श्रेष्ठतम जीव अर्थात् मनुष्य-जातिले अन्य, जीवजन्तुहरूको विरुद्ध संघर्षमा आफ्नो अस्तित्व कायम राख्न माहुरीको गोला झैँ एकगठ हुनुपर्नेछ उसले अनियमित तरीकाले सन्तान उत्पन्न गर्दैरहनुहुँदैन । माहुरीहरूले जस्तै गरेर वासनाशून्य व्यक्तिहरूको सृर्जना गर्नुपर्छ अर्थात् ब्रहमचर्यको लक्ष्य राख्नुपर्छ, न कि विषयवासनाको, जस्तो आजको हाम्रो समाजमा व्याप्त छ ।” – एक छिन मौनता धारण गरेर उसले फेरि भन्न शुरु गर्यो – “के मानवजातिको अन्त्य होला ? यो अनिवार्य छ । यसमा कसैलाई पनि कत्ति शङ्का हुन सक्तैन, चाहे उसको धारणा जस्तोसुकै किन नहोस् ! यो त्यत्तिकै पक्का छ जति मृत्यु पनि निश्चित छ । एक दिन विश्वको अन्त्य हुनेछ भन्ने कुरा केवल पवित्र धर्मग्रन्थहरूमा मात्र लेखिएको वैज्ञानिकहरूको समेत यस्तै भनाइ छ । यदि नैतिकतासम्बन्धी शिक्षाले समेत यसै अन्त्यतिर सङ्केत गर्छ भने यसमा आश्चर्य मान्नुपर्ने कुरै पो के छ र?”
यसपछि ऊ निकै बेरसम्म मौन रहयो । उसले फेरि चिया खायो , चुरोट पनि खाइसिध्यायो र आफ्नो थैलोबाट अरु चुरोटहरू झिकेर आफ्नो त्यही थोत्रो र फोहोर सिगरेटकेशमा हाल्न थाल्यो ।
“मैले तपाईंको भाव बुझें !” – मैले भनें । – “शेकेर सम्प्रदायका मताबलम्बीहरू पनि केही यस्तै-यस्तै किसिमको विश्वास गर्छन्?”
“हो, हो ! उनीहरूको मत सही हो !” – उसले भन्यो । – “कामवासना चाहे त्यो जस्तोसुकै रुपमा प्रकट भएको किन नहोस्, पाप हो, महापाप हो र त्यसको विरुद्ध संघर्ष गर्नु हाम्रो कर्तव्य हो । त्यसलाई प्रोत्साहित गर्नुहुँदैन, जस्तो कि अचेल हामीकहाँ भैरहेको छ । कामातुर नजरले जो कुनै आइमाईलाई हेर्छ, उसले पहिलेबाटै उसँग व्यभिचार गरिसकेको हुन्छ भन्ने एभान्गेलिएको शब्द केवल परस्त्रीको सन्दर्भमा मत्र लागू हुँदैन, बरु हाम्रा आफ्नै पत्नीहरूमा र विशेष गरी पत्नीमा लागु हुँदैन, बरू हाम्रा आफ्नै पत्नीहरूमा र विशेष गरी आफ्नै पत्नीमा लागु हुन्छ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।