Chovar Blues Mobile Size

बिहानको चमेना गर्नु अघि बूढा गाभ्रीलाले झ्याल बाहिर चियाएर हेरे।

“प्रोखोर आउँदै छन्‌ ! ””-उनले किन हो कुन्नि खासखुस गर्दै बिस्तार भने।

जुन मान्छे भित्र पस्यो त्यो काजाक जस्तो पटक्कै देखिदैनथ्यो । उसको रूपरंग पराईको जस्तै थियो। उसले गोडामा सुन्तली ठोकिएको बेलायती जुत्ता लगाइराखेको थियो जसबाट चुइँ-चुइँको, आवाज निस्कन्थ्यो। अनि उसले राम्रै सिलाइ भएको ओभरकोट पनि लगाइराखेको थियो जुन उसको आङमा धोक्रो जस्तै लाग्दथ्यो। सके त्यो अरू कसैको ओभरकोट थियो ।

“नमस्ते, गाभ्रीला भासिलिच ! ”

“भगवानले तिम्रो भलो गरून्, प्रोखोर ! भित्र आउ! बस! ”

प्रोखोरले टोपी फुकाल्यो, बुढियासंग पनि अभिवादनको शब्द आदान-प्रदान गर्यो र अगिल्तिर कुनामा रहेको बेन्चमा गएर बस्यो।

“मौसम पनि कस्तो ! .. स्याँठले हिउँ उडाएर ल्याए जस्तो छ। हावाको झोक्का पार गर्नु नै मुश्किल पर्दै छ।”

“ह्यो, यस पालि अलि चाँडै नै हिउँ पनि पर्यो ! ..

उहिले उहिले यस बेलासम्म त गाईवस्तुलाई हरियो घाँस काटेर ख्वाउन सकिन्थ्यो ! ”

अनि एक छिन उराठलाग्दो शान्ति छायो। बढा गाभ्रीलाले सकभर धैर्य धारण गर्दै स्वरमा गम्भीरता ल्याउँदै भने-

“परदेशमा तिमी त निकै पाको भएर आयौ नि!”

“पाको नभएर पनि के गर्ने र, गाभ्रीला भासिलिच ! ”प्रोखोरले मुस्कुराउँदै जवाफ दियो।

बुढियाको धैर्य टुट्यो र उसले भन्न शुरू गरी-

“हाम्रो पेत्रो….।”

“चूप लाग, बुढिया ! ..”-गाभ्रीलाले बीचैमा कुरा काटेर भने। “बाहिर ठिहिर्याउने जाडो खाएर गराएको मान्छेलाई अलि न्यानो त अनुभव गर्न दे! के हतारो छ र अहिल्यै सबै कुरा थाहा पाउन ! ..”

अनि उनी पाहुनातर्फ फर्किए र सोधे-

“कस्तो रह्यो त, प्रोखोर इग्नातिच , परदेशको जीवन ? ”

बताउन लायकको कुरै के छ र? पछिल्लो खुट्टाको गेडी नै फुस्केको कुक्कुर जस्तै दुम लुकाएर भए पनि घर पुग्न पाइयो। बस्‌, यही नै अहोभाग्य हो ! ”

“एहे ! .. तुर्कहरूकहाँ जीवन उतिसारो राम्ररी बितेन, हैन त? ”

“हात-मुख जोर्न नै धौ धौ पदैथ्यो ! ”_ प्रोखोरले टेबुलमा औँलाले टुक टुक गर्दै भन्यो। “तर तपाईं पनि त गाभ्रीला भासिलिच, अलि बूढो हुनु भएछ! तपाईंको कपाल पनि त , राम्रै फुलिसकेछ ! .. सोभियत :. सत्ताको जीवन कस्तो लाग्यो नि ?”

“छोरोलाई पखिरहेछु….. हामी बुढा-बुढीको सहारा नै उही हो..-।” -गाभ्रीला ओंठ लेब्य्राउँदै मुस्कुराए ।

प्रोखोरले झटपट नजर अर्कैतिर लगायो । गाभ्रीलाले चाल पाइहाले र कडा स्वरमा सोधे –

“पेत्रो कहाँ छ? बताऊ! ”

“के तपाईंहरूले सुन्नु भएन र ?”

“सुन्न त धेरै कुरा सुनियो ! ” – गाभ्रीलाले कड्केर जवाफ दिए।

प्रोखोर आफ्नो औंलामा लागेको टेबुलपोशको धागो फुकेर बढार्दै थियो। केही बेर चूप लागेर उसले भन्यो –

“शायद जनवरीतिर हो … र, पक्कै पनि जनवरीमा नै हो, हाम्रो पल्टन नोभोरसिंस्क शहर नजीकै छाउनी हालेर बसेको थियो…। त्यो शहर समुद्रको किनारामा पर्दछ … र हामी पनि सधैँ जस्तो पहरा दिइरहेका थियौं… । ”

“के मारिदिए त ? ” -गाभ्रीलाले केही अगाडि झुकेर सुस्त सुस्त फुसफुसाउँदै सोधे ।

प्रोखोर भुइँतर्फ हेर्दै चूप लागेर बसिरह्यो। मानौं उसले कुनै प्रश्न नै नसुनेको होस्‌ !

“अँ, हामी त्यहाँ छाउनी हालेर बसिरहेका थियौं। लाल सैनिकहरू पहाडतरफ चढाइ गर्ने तरखरमा थिए र त्यहाँ हरिया हरूसंग( गृहयुद्धताका श्वेत प्रहरी बन्न नचाहेर बनतिर पसेका सशस्त्र दलहरू । अन ) मिल्न खोज्दै थिए। हाम्रो पल्टनका कम्याण्डरले तपाईँको पेत्रोलाई गस्ती टोलीको नायकमा नियुक्त गरेर गस्ती लगाउन पठाए… । हाम्रा कम्याण्डर थिए – जुनियर कप्तान सेनिन…। हो, त्यसै बेला यो: सबै घट्ना घट्यो…”

स्टोभनेर धातुको कसौंडी भुइँमा खसेको आवाज, आयो । बूढिया चाहिँ दुबै हात पसारेर बिछ्यौनातिर हुररिएर दौडिई ।

उसको घाँटीबाट चिच्याहटको कर्कस आवाज उकुसमुकुस गर्दै बाहिर निस्किरहेको थियो।

“चूप लाग्‌ भन्या ! ”- गाभ्रीलाले कड्केर हपारे ! अनि उनले कुहिनोले टेबुलमा जोडले आड लिँदै प्रोखोरको आँखामा सोझै हेरे र बिस्तारै थकित हुँदै भने-“लौ, टुंग्याऊ आफ्नो कुरा । ”

“उनीहरूले छपक्कै काटिदिए ! ”- प्रोखोरले कालोनीलो अनुहार बनाउँदै जोडले भन्यो । अनि जुरूक्क उठ्यो र बेन्चमा आफ्नो टोपी छाम्न थाल्यो । “पेत्रोलाई उनीहरूले काटिदिए… मारिदिए…। हामी घोडाहरूलाई केही बेर आराम दिन एउटा बनको छेउमा उभिइरहेका थियौं। उसले घोडाको काँठी होलो मात्न के पारेको हुँदो हो, बनतिरबाट लाल सैनिकहरूले हमला गरिहाले …। ” प्रोखोर पटापट बोलिरहेको थियो र कामिरहेको हातले आफ्नो टोपी गुचमुच्च पार्दै थियो ।

“पेत्रोले घोडाको काँठी समायो, तर काँठी खस्केर घोडाको टाँङ मुन्तिर छिर्यो…। घोडा चाहिँ बिजुली गतिले दौडि-हाल्यो… र उ त्यहीं छुट्यो ..-बस्‌, यत्ति हो !”

“तर म यस कुरामा कसरी विश्वास गर्छु ? ” – गाभ्रीलाले सुस्तरी लवज तौली तौली भने ।

प्रोखोर कतैतिर नहेरीकन फटाफट ढोकातिर लम्कियो ।

“तपाईंको जे बिचार, गाभ्रीला भासिलिच! यो साँचो हो ! मैले असत्य कुरा बोलेको छैन… आफ्नै आँखाले जे देखें त्यही बताएको छु ! ..”

“तर म यस कुरामा विश्वासै गर्न चाहन्न रे !”-

नियास्रिँदै बूढा गाभ्रीलाले धोत्रो स्वरमा भने । उनको अनुहार रातो भएर आयो। उनका आँखा पनि राता राता रक्तरंजित देखिए र गहभरि आँसु भरिएर आयो । उनले आफ्नो हरको कमीज च्यातिदिए र रौं झ्याप्प उम्रिरहेको खुला छाती देखाउँदै डराइरहेको प्रोखोरतर्फ लम्किए । उनी चिटचिट पसीना आइरहेको टाउको झुकाएर बिलौना गर्न थाले। “एउटा मात्र छोरोलाई मार्नु ? ! बुढेस कालको सहारा ? ! मेरो पेत्रो? ! तँ झूठ बोल्दै छस्‌, ए, सुंगुरनीको बच्चा! ए, सुनिस्‌ ? । तँ झूठो बोल्दै छस्‌ ! म विश्वासै गर्दिनँ! ..”

राति उनले भुवादार कुर्ताले आफ्नो कुम छोपे, आगनमा निस्किए र जमोठको बूटले हिउँमा चुइँ चुइँ गर्दै सरासर खलोतर्फ लागे । त्यहाँ उनी घाँसको कुन्यूनिर टक्क अडिए।

स्तपीतर्फबाट बतास चलिरहेको थियो। हावाले हिउँका कणहरू उडाएर ल्याइरहेको थियो । नांगा चेरीका बोटहरूमुनि कालो र अनिष्टकर अँध्यारो थप्रिरहेको थियो।

“छोरा ! ”-गाभ्रीलाले बिस्तारै बोलाए। उनी एक छिन पखिंरहे र टाउको नघुमाएरै र नचलाएरै फेरि उनले डाँके – “पेत्रो ….ए ! छोरा…!”

अनि उनी कुन्यूनेर कुल्चिएको हिउँमा घोप्टो परेर पल्टिए र शोकविह्वल भएर उनले आँखा बन्द गरे ।