११

आधा घण्टापछि निकोलाइ पेत्रोभिच बगैंचातर्फ गए – आफ्नो मन परेकी निकुञ्जमा । उनी उदास विचारहरूमा रूमल्लिरहेका थिए । पहिलोपल्ट उनले छोरा आफ्नो बीचमा खाल्डो रहेको स्पष्ट अनुभव गरे । दिनानुदिन त्यो खाल्डा झन्झन्‌ फराकिलो हुँदै जानेछ भन्ने उनले पूर्वानुभव गरे | यसको तात्पर्य के थियो भने हिउँदमा उनी पेतेरबुर्गमा दिनरात नयाँ पुस्तकहरूउपर व्यर्थैमा घोत्लिएका थिए, युवाहरूको कुराकानी पनि उनले खूब ध्यान दिएर बिनासित्तै सुनेका थिए र तिनको चर्को बहसमा आफ्नो तर्फबाट एकाध शब्द थप्ने मौका पाइँदा समेत नाहकमा उनी रमाएका थिए । ‘हामी सही छौं भनेर दाजु भन्दछन्‌ ।’ -उनी सोच्दैथिए । -अनि मिथ्याभिमानलाई एकातिर पन्छाएर हेर्दा स्वयं मलाई के लाग्छ भने यी नवयुवकहरू सत्यबाट हामीभन्दा पनि निकै टाढा छन्‌ | तैपनि मलाई के अनुभव हुन्छ भने उनीहरूसित कुनै यस्तो वस्तु छ जुन हामीसित छैन | हामीहरू भन्दा उनीहरू केही न केही कुरामा उत्कृष्ट छन्‌ _ यौवनता हो कि ? अहँ, यौवनमा मात्र होइन । हामीमा भन्दा उनीहरूमा कारनडारो लक्षण कम छ । के यसैमा त उनीहरूको उत्कृष्टता सन्निहित छैन ?”

निकोलाइ पेत्रोभिचले टाउको झुकाएर हातले अनुहार मुसारे |

‘तर काव्यको बहिष्कार गर्नु ? -उनी फेरि विचारमग्न भए । -कला र प्रकृतिप्रति अनुभूति नजाग्नु ? -‘

अनि उनले आफ्नो वारिपरि दृष्टि दिए, मानौं प्रकृतिप्रति कोही अनुभूतिशून्य कसरी हुन सक्छ भन्ने अनुबोध गर्नु खोजेका होन्‌ । झमक्क साँझ परिरहेको थियो । बगैंचाबाट आधा भेर्स्ता जति टाढा अवस्थित खरीका रूखहरूको सानो घारीपछिल्तिर सूर्य लुकिसकेको थियो । त्यसको छायाँ निश्चल खेतहरूमा फैलिदै अनन्ततर्फ तन्किरहेको थियो । घारीकै हाराहारीमा रहेको साँगुरो र अँध्यारो बाटोमा एकजना किसान आफ्नो सेतो घोडालाई दुल्की चालमा दगुराउँदै आइरहेको थियो । त्यो घोडचढी छायाँमा भए पनि उसको सम्पूर्ण रूपरङ्ग छर्लङ्ग देखिन्थ्यो, कहाँसम्म भने उसको काँधको टालोसमेत स्पष्ट थियो । घोडाका फूर्तिला टाङहरू उफ्रेको पनि मनमोहक लाग्दथ्यो । उता सूर्यका किरणहरू घारीभित्र वारपार हुँदै घुसिरहेका थिए र खरीको रूखका धडहरूलाई यस्तो न्यानो आभाद्वारा रङ्गाउँदै थिए जसले गर्दा ती सल्लाका बोटजस्ता प्रतीत हुन्थे भने तिनका हरिया पातहरू झण्डै नीला देखिन्थे । त्यसमाथि फिका निलो आकाश टाँगिएको थियो र सूर्यको आभाले गर्दा केही गुलाफी हुँदै थियो । निकै माथि गौंथलीहरू उडिरहेका थिए । बतास एकदमै चलेको थिएन । पछाडि परेका एकदुई मौरीहरू हसिनाका फूलहरूमा आलस्य र निद्रालु भावले भुनभुनाइरहेका थिए । निकै परसम्म तन्किएको एक्लो हाँगामा भुसुनाहरूको झुण्ड मडराइरहेको थियो । ‘हे, भगवान्‌ ! यो सब कति मनमोहक छ !’ -निकोलाइ पेत्रोभिचले विचार गरे र उनका प्रिय कविताहरू उनको ओठसमम नै ओइरिएर आए । फरन्तु उनलाई आर्कावी २ “stoff und kraft” को फल्याँस्स सम्झना भयो – र उनी स्तब्घ भइहाले तर उनी चूपचाप बसेको बस्यै एकान्त चिन्तनको उदासीन र आल्हादक तन्मयतामा डुबिरहे । कल्पनासागरमा डुबुल्की लगाउनु उनी राम्रो मान्दथेः ग्रामीण जीवनद्वारा उनमा यस क्षमताको विकास भएको थियो | केही दिनअघि मात्रै छोराको बाटो हेर्दै उनी रात्रिनिवासमा यस्तै कल्पनासागरमा गोता लगाउँदै थिए । परन्तु त्यसपछिको समयान्तरमा एउटा परिवर्तन आएको छ; त्यतिखेर अझै अस्पष्ट उनको सम्बन्ध अब सुनिश्चित भइसकेको छ | _ कुन रूपमा ! उनलाई फेरि आफ्नी दिवङ्गत पत्नीको सम्झना भयो तर सुशील गृहलक्ष्मीको रूपमा होइन, जुन रूपमा कैयौं वर्षसम्म उनी परिचित थिए, बरु बारूले कम्मर भएकी एक यस्ती युवतीको रूपमा जसका आँखामा निष्कपट कौतूहल झल्कन्थ्यो भने बालसुलभ सुकोमल गर्दनमा जसको कसिएको चुल्ठो फर्फर हल्लन्थ्यो । उनले पहिलोपल्ट उसलाई जुन रूखमा देखेका थिए, त्यसैको सम्झना भएको थियो । त्यतिखेर उनी विद्यार्थी नै थिए । जुन घरमा उनको डेरा थियो त्यसैको भरेङनेर उससित उनको जम्काभेट भएको थियो । अचानक उससित ठक्कर खान पुगेपछि क्षमायाचनाको लागि उनी फनक्क फर्केका थिए र उनको मुखबाट यति मात्र निस्केको थियो : “pardon, monisieur!” माफ गर्नुहोस्‌ महाशय उसले शिर निहुराई, व्यंग्यपूर्वक मुसुक्क हाँसी, र एकाएक उतर्सिएझैँ गरी भागिहाली । अनि भरेङको घुम्तीनेर अडिएर उसले निकोलाइ पेत्रोभिचतर्फ पुलुक्क हेरी, गम्भीर मुद्रा बनाई र लाजले रातै भई | त्यसपछि शुरूशुरुमा सलज्ज मिलन, अनि एकाध शब्दउच्चारण, संकोचपूर्ण मुस्कान, असमञ्जस्यता, उदासीनता, भावावेश र अन्त्यमा आत्मविस्मृतिमय-उल्लास यो सब कता विलुप्त भयो ? ऊ उनकी पत्नी बनी र उनले त्यस सुखको अनुभव गरे जस्तो संसारमा विरलाकोटीले मात्र अनुभव गर्दछन्‌ _ ‘तर’, -उनले सोचे । -सुखका ती आनन्ददायी प्रथम क्षणहरू किन शाश्वत र अमर हुन सकेनन्‌ ?

उनले आफ्नो चिन्तनलाई स्पष्ट बुझने चेष्टा गरेनन्‌ तर कस्तो अनुभव गर्दैथिए भने उनी परमसुखको आफ्नो त्यस समयलाई कुनै यस्तो कुराले बाँधेर राख्न चाहन्थे जुन स्मृतिभन्दा बढी जब्बर हुन्छ । उनी फेरि एकपल्ट आफ्नी मारीयाको सन्निकटताको अनुभव गर्न चाहन्थे, उसको न्यानो स्पर्श र सासको अनुभूति गर्न चाहन्थे र उनलाई यस्तो भान्‌ पर्न थाल्यो, मानौ उनको माथि –

त्यतिकैमा कतै नजिकै फेनेच्काको स्वर गुञ्जियो :
“निकोलाइ पेत्रोभिच, कहाँ होइसिन्छ हँ ?”

उनी झसङ्ग झस्के । उनी न दुःखी भए,नत व्याकुल नै । आफ्नी पत्नी र सम्भावनाको कुरा त उनले सपनामा समेत सोचेका थिएनन तर फेन्च्काले उनको खोजखबर गर्ने विचार लिएकोमा चाहि उनलाई खेद भयो । उसको स्वरले उनलार्इ एकाएक वर्तमान ल्याइदियो फुलेका केश र बुढ्यौली उमेरको सम्झना गरायो

त्यो तिलस्मी जगत, जसमा उनले पदार्पण गरेका थिए, जुन अतीतको धुवाँसे लहरबाट प्रकट भएको थियो, चलमलायो र विलुप्त भयो ।

“यहीँ छु ।” -उनले जवाफ दिए | -“तिमी जाउ, म छिटै आउँला !”

अनि उनको मथिङ्गलमा झुलुक्क भयोः ‘यी, यही त हो नि कुलीनताको चिन्ह !’ चूपचाप निकुञ्जतर्फ चियाएर फेनेच्का तत्कालै लोप भई । अनि अचम्म मान्दै उनले कुन कुराको चाल पाए भने उनी चिन्तनप्रवाहमा बग्दाबग्दै धरतीमा रात परिसकेको रहेछ । चारैतिर अन्धकार र निस्तब्धता छाएको थियो र फेनेच्काको पहेंलो र सानो अनुहार झलक्क झुल्केर हराइसकेको थियो । घर फर्कन भनी उनी जुरूक्क उठे तर उनको मन कति आकुलव्याकुल र भावविह्वल थियो भने उनी बिस्तारै बगैंचामा टहल्न लागे । कहिले उनी चिन्तामग्न भई भुइँतर्फ हेर्दथे त कहिले आँखा उठाएर आकाशतर्फ ताक्दथे जहाँ ताराहरू उदाएर पिलपिल गर्दै थिए | उनी हिँड्दाहिँड्दै लखतरान परे तर उनको हृदयको व्यग्रता कम भएको थिएन र त्यस व्यग्रताले एक किसिमको बेचैनी, अनिश्चितता र उदासिनताको संचार गरिरहेको थियो । ओह ! त्यस बेला उनको अन्तरमनमा जुन हलचल मच्चिरहेको थियो त्यसको विषयमा बाजारोभले चाल पाउँदो हो त उसले कतिसम्म खिज्याउँदो हो ! स्वयं आर्कादीले पनि उनको भर्त्सना गर्दो हो । उनका आँखामा, चौवालीस वर्षका ती व्यक्ति, कृषिफार्मका स्वामी र नोकरचाकरका मालिकको आँखामा, आँसु छचल्कियो – अकारण आँसु ! यो त भायोलिन बजाउनुभन्दा पनि सय गुणा बढी घृणास्पद थियो ।

निकोलाइ पेत्रोभिच टहल्दै रहे र आफ्नो त्यस घरमा पस्ने कि नपस्ने भन्ने निधो गर्न सकिरहेका थिएनन्‌ जुन एक शान्त र सुखद गुँडसमान थियो र – आफ्ना सबै प्रज्जवलित झयालहरूद्वारा मुस्कुराउँदै उनैतर्फ हेर्दै थियो । आफूलाई उनी अँध्यारोबाट, बगैंचाबाट, अनुहारमा ताजा हावाको स्पर्शबाट, उदासिनता एव व्यग्रताबाट अलग्याउन असमर्थ भइरहेका थिए । _

गोरेटोको घुम्तीनेर उनले पाभेल पेत्रोभिचलाई भेटे ।

“तिमीलाई के भयो ?” -उनले निकोलाइ पेत्रोभिचसित प्रश्न गरे । -“तिम्रो अनुहार फुङ्ग उडेको छ र छायाँझै प्रतीत हुन्छ । स्वास्थ्य ठीक छैन कि ? किन सुत्न जाँदैनौ ?”

निकोलाइ पेत्रोभिचले केही शब्दमा उनलाई आफनो मानसिक अवस्थाबारे बताए र हिंडिहाले । पाभेल पेत्रोभिच घुम्दै बगैंचाको पुछारसम्म पुगे र उनी पनि विचारमग्न भएर आँखा उचाली आकाशतर्फ ताक्न लागे । परन्तु उनका सुन्दर काला आँखाहरूमा ताराहरूको चमकसिवाय अरू केही प्रतिबिम्बित भएन । रोमान्चवादी बनेर उनी जन्मेका थिएनन्‌ र उनको ठाँटबाँटप्रिय तर नीरस, आवेशपूर्ण तर फ्रान्सेली पाराको मानवद्देषी आत्मालाई कल्पनासागरमा गोता लगाउने बानी नै थिएन –

त्यसै रात बाजारोभले आर्कादीलाई भन्यो :

“बुझ्यौ ? मेरो गिदीमा एउटा विचित्र विचार उम्रिरहेको छ | तिम्रा कुनै ठूलाबडा नातेदारको तर्फबाट निमन्त्रणा पाइएको कुरा आज तिम्रा बुबा भन्दै थिए । तिम्रा पिताजी त्यहाँ जाने छैनन्‌ । हामी दुवैले नगरको सफर गर्नु कसो होला ? ती महानुभावले तिमीलाई पनि निम्त्याइहालेकै छन्‌ । हेर न, मौसम पनि कस्तो छ ! हिंड, सफर गरौं र शहर पनि हेरौं । पाँच-छ दिन खूब घुमौ र मजासित समय बिताऔं ।”

“त्यहाँबाट तिमी फेरि यहाँ फर्कन्छौ त ?”

“अहँ ! मैले पिताजीकोमा जानुछ । तिमीलाई थाहै छ, उनी _ नगरबाट करिब तीस भेर्स्ता टाढा बस्छन्‌ । मैले उनलाई र आमालाई पनि नभेटेको धेरै भयो । बूढाबूढीहरूको मन पनि त राखिदिनैपर्यो । उनीहरू ज्यादै असल छन् खास गरी पिताजी । बूढा निकै ठटेउला छन्‌ | म उनीहरूको एक्लो छोरो हुँ ।”

“त्यहाँ धेरै दिन बस्छौ कि ?”

“यस्तो विचार छैन | फेरि त्यहाँ नियास्रो लाग्नेछ ।”

“फर्कदा फेरि हामीकहाँ आउँछौ त ?”

“थाहा छैन – हेरुँला । अँ, कसो त ? जाने होइन ?”

“जानैपर्ला !” -आर्कादीले आलस्य भावले जवाफ दियो ।

वास्तवमा आफ्ना मित्रको सुझावद्वारा ऊ औधि रमाएको थियो तर आफ्नो आन्तरिक भावनालाई लुकाउनु नै उसले श्रेयस्कर ठान्यो । आखिर ऊ पनि त नकारवादी न ठहरियो !

भोलिपल्ट बाजारोभको साथमा उसले नगरतर्फ प्रस्थान गर्यो । मार्यिनोका युवा जमात उनीहरूको प्रस्थानबाट उदास थियो | दुन्याशाको त गहभरि आँसु भरिएको थियो परन्तु बूढापाकाहरूले भने शान्तिको सास फेरे ।