१०

“अँ, यसै गरेर मलाई पनि फसाइहाले ! म त्यतिखेर बडो ‘प्रेमी’ बन्न पुगोको थिएँ । आफू वर भइटोपलेको वखत त्यो केटीलाई म सम्पूर्णताकी देवी नै ठान्न पुगेको थिएँ । यति मात्र होइन, स्वयं आफूलाई पनि म सर्वगुणसम्पन्न सम्झन्थें । संसारमा कुनै अति अधम मान्छे भएकै खण्डमा पनि उसले यस्तो मान्छे नभेट्टाउन सक्तैन जो उसभन्दा कता हो कता महाधम देखिनेछ । यसले गर्दा नै उसले आफूप्रति गर्व र आत्मसन्तोषको भावना राख्ने कारण नपाउन सक्दैन । मेरो पनि स्थिति यस्तै थियो । धनसम्पत्तिको लोभले मैले बिहे गरेको थिइनँ, नत कुनै स्वार्थवश नै, जस्तो कि मेरो जान-पहिचानका अधिकांश मान्छेहरूले गरेका थिए । उनीहरूकि त पैसाको लागि, कि त उच्च कुलघरानामा नाता जोड्नको लागि बिहे गर्थे । म चाहिँ धनी थिएँ, तर ऊ गरीब थिई । पहिलो कुरो यो थियो । अनि दोस्रो चाहिँ के त भने अन्य व्यक्तिहरू विवाहपश्चात पनि त्यस्तै गरी बहुपत्नी जीवन बिताउने मनसाय राख्छन्‌ जस्तो विवाहपूर्व बिताइरहेका हुन्छन्‌, परन्तु मेरो चाहना चाहिँ यस किसिमको छँदै थिएन । बिहेपछि सिर्फ एकपत्नीव्रती रहने नै मैले अठोट गरेको थिएँ । यसै कारणले गर्दा आफूप्रति अकथनीय गर्वको भावनाले मेरो मन नै दङ्ग थियो । हो, हुन त म नरपशु नै थिएँ, परन्तु आफूलाई देवदूत झै ठान्नेगर्थें ।

मैले लामो समयसम्म वरको भूमिका निर्वाह गर्नुपरेन । प्रेमाभिलाषी वर भइटोपलेको त्यस बेलाको सम्झना भएर आउँदा मलाई लाज लाग्नेगर्छ । कस्तो घिनलाग्दो बेला थियो त्यो आध्यात्मिक प्रेमको समय हो, शारीरिक प्रेमको होइन भन्ने हामी विचार गछौँ । यदि यो आध्यात्मिक मिलन नै हुँदो हो त हाम्रो कुराकानी, हाम्रो गतिविधि र हाम्रो वार्तालापमा त्यसको झलक पाइनपर्ने हो ! तर यस्तो कुनै झलक पाइएको थिएन । जतिखेर हामी एक्लै हुन्थ्यौं, त्यसबेला कुरा गर्न समेत ज्यादै मुशिकल पर्थ्यो । यो त सिसिफसको(ग्रीक पुराणको एक पात्र जसले पहाडमाथि चट्टान धकेल्दै पुर्याउने श्राप पाएको थियो] तर चट्टान पहाडको टाकुरामा बल्नतल्ल पु्र्याइपछि त्यो फेरि फेदीमा नै गुडेर खस्तथ्यो र उसले फेरि त्यसलाइ धकेल्दै टाकुरातर्फ लग्नुपर्थ्यो । ) कामभन्दा पनि गाह्रो काम बन्न पुगेको थियो । के भन्ने भनेर निकैबेर सोचविचार गरिसकेपछि बल्ल बक्‌ फुट्थ्यो, तर फेरि चूप लाग्नुपरिहाल्थ्यो र अब अगाडि के भन्ने भनेर विचार गर्नुपर्थ्यो । भन्ने कुरा नै मगजमा सुझ्दैनथ्यो । आफ्नो भावी जीवन, आफ्ना योजना तथा घरव्यवस्थाबारे जे जति भन्नुपर्ने कुराहरू थिए त्यो सब हामीले भनिसकेका थियौं । बाँकी नै पो के थियो र ? यदि हामी पशु हुँदा हौं त कुरा गर्नु हाम्रो काम नै होइन भन्ने हामीलाई थाहा भैहाल्नेथियो । परन्तु मान्छे भएको नाताले हामीले कुरा गर्नुपर्थ्यो । कुरा गर्नको लागि चाहिं कुनै विषय नै थिएन, किनभने मनमा जुन कुरा आउँथ्यो त्यसलाई मुखबाट बाहिर निकाल्न त अवश्य नै हुँदैनथ्यो । यो सबै हुँदाहुँदै पनि केही भद्दा रीतिरिवाजहरू समेत थिए: चक्लेट बाँड ! मिठाईंहरू खाउ ! अनि विवाहको झर्कोलाग्दो तैयारी- घरको सर-सफाई, सुत्ने कोठा, बिछ्यौना, उपर्ना, भित्री लुगा, श्रृङ्गार-सामग्री, दराज ! तपाईं के बुझिहाल्नुहुन्छ भने त्यस बूढाले भने झैँ पित्तृसत्तात्मक समाजको पुरानो चलन अनुसार बिहेबारी गर्दा दाइजो, पलङ, सिरक-डसना इत्यादिको जुन कुरा हुन्थ्यो ती सबैको पछिल्तिर एक विशेष रहस्य लुकिरहेको हुन्थ्यो । तर अचेल हामीकहाँ त बिहेको लागि ठिक्क परेका दस जनामध्ये एक जना पनि यस्तो भेट्टाउन धौ धौ पर्नेछ जो यस्तो रहस्यमा विश्वास गर्नु त परै रहोस्‌, अझ जुन काम गर्न र तम्सिएको छ त्यसमा कुनै उत्तरदायित्व पनि जोडिएको हुन्छ भन्ने समेत मान्न तैयार होस्‌ ! सयकडा एक मात्रै बल्लतल्ल यस्तो मान्छे भेट्टाइएला जसले बिहे हुनुभन्दा पहिले नै बिहेको अनुभव नगरेको होस्‌ ! अनि पचास जनामध्ये शायदै एक जना यस्ता निस्केला जसले विवाहपश्चात्‌ जुनसुकै अनुकूल मौकामा पनि आफ्नी पत्नीप्रति विश्वासघात नगरोस्‌ ! अधिकांश मानिसहरू त यस्ता हुन्छन्‌ जो गिर्जाघरमा गएर लगनगाँठो जोर्नु त एउटा यस्तो विशेष शर्त मात्र ठान्नेगर्छन्‌ जसअनुसार कुनै एउटी आइमाई सहजै पुरुषको हातमा परिहाल्छे । यी सब कुराहरूबारे विचार गर्नेबित्तिकै बिहेको तैयारीको भयानक महत्व छर्लङ्ग भइहाल्नेछ । मूल कुरो त यही नै हो भन्ने स्पष्ट नै छ । यस्तो बिहेबारी त एउटा यस्तो व्यापार मात्रै न हो जहाँ एउटी सूधी कन्याकेटीलाई एकजना भ्रष्ट पुरुषको हातमा बेचेर पठाइनेछ र यस सुक्रीबिक्रीलाई रीत पुर्याएर पक्का गरिन्छ ।”