
त्यस दिन अशोकलाई मैले इम्पेरियल होटेल पुर्याएपछि उनले भने, “बलराम, म बीस मिनेटमा फर्किन्छु ।”
कार पार्किङ गरेर राख्नु साटो म पहाडगन्ज रेल स्टेसनतिर गएँ जुन ठाउँ होटेलबाट नजिकै छ !
मानिसहरू स्टेसनको- भुइँमै पल्टिरहेका थिए । कुकुरहरू फोहर सुँघ्दै थिए । हावामा ओस थियो | मैले सोचेँ यो “यस्तै होला ।” कालो पाटीमा रेलहरूको गन्तव्य लेखिएको थियो |
बनारस
जम्यु
अमृतसर
मुम्बई
राँची
म त्यो रातो झोला लिएर यहाँ आएँ भने मेरो गन्तव्य कहाँ होला ?
लाग्थ्यो मेरो प्रश्नको उत्तर चम्किला पाङ्ग्रा र उज्यालो रेलको बत्तीले अन्धकारबाट झिलिक्क दिइरहेको थियो ।
तपाईं रेल पर्खेर भारतको कुनै पनि स्टेसनमा बस्नुभयो भने लामबद्ध रातो बत्ती भएको, केलिडोरकोप जस्तो चक्का र घुमिरहने पहेँला वृत्तहरू भएको अनौठोखाले मसिन देख्नुहुने छ । यी भनेका प्रत्येक रेल स्टेसनमा पाइने एक रूपियाँ खसालेपछि तपाईंको तौल र भाग्य बताइदिने मेसिन हुन् ।
यसले काम कसरी गर्छ, सुन्नोस् । तपाईंले छेउमा आफ्नो झोला राख्नुपर्छ । अनि त्यसमाथि उभिनुपर्छ । अनि एउटा प्वालमा एक रूपियाँ खसाल्नुपर्छ ।
मेसिन चालु हुन्छ । टङ्ग्रयाङ्गटुङ्ग्रुङ आवाज आउँछ र मेसिनका लिभरहरू चल्न थाल्छन् । झपाकझिपिक बत्ती बल्छ । अनि घ्वार्र गरेको आवाज सुनिन्छ र यौटा हरियो वा पहेँलो रङ्गको कार्डबोर्डको चिट फुत्त निस्कन्छ । आवाज कम हुन्छ र बत्ती निभ्छ । यै चिटमा तपाईंको भाग्य र तौल लेखिएको हुन्छ ।
यो मसिनको प्रयोग दुई खाले मानिसले गर्छन- धनीमनीका छोराछोरीले वा गरिबका वयस्क छोराछोरीहरू जो जीवनभर सधैं बच्चा सरह नै बस्छन् ।
म एकछिन बौलाहाले जस्तै त्यो मेसिन हेरिरहेँ । मेरो अगाडि छ वटा त्यस्ता मेसिनहरू थिए. | पहेलो, हरियो बत्ती अनि कालो र सुनौलो क्यालिडोस्कोपिक बत्तीहरू घुमिरहेका थिए ।
म यौटा मसिनमाथि उभिएँ । एक रूपियाँ चढाएँ । त्यसले सिक्का निल्यो, स्वाइँअँ करायो, उज्यालो भयो अनि एउटा चिट बाहिर फ्याँक्यो जसमा लेखिएको थियो ।
लुना स्केलरस कं.
नयाँ दिल्ली, ११००५५
तपाईको तौल – ५९ किलो
“कानुनको पालना गर्नु भन्ने नै इश्वरको पहिलो हुकुम हो / मैले त्यो भाग्य बताउने चिटलाई हातबाट खस्न दिएँ र हाँसे ।
उनीहरूले रेल स्टेसनमा भेटिने जोख्ने मेसिनमा पनि हामीलाई ठग्न खोज्छन् । मात्र अब रेल चढेर नयाँ जीवन सुरू गर्ने स्वतन्त्रताको सँघारमा पुग्दा पनि यो मेसिनका झपाकझिपिक गर्ने बत्तीहरू कुखुराको खोरको चेतावनी घन्टी बजेजस्तै मेरो अगाडि तगारो बनेका छन् ।
खोरको साइरन बजिराखेको थियो, चक्काहरू घुम्दै थिए र राता बत्तीहरू झ्याप्पझुप्प गर्दै थिए ! एउटा भाले खोरबाट भाग्दै थियो ! एउटा हात लम्कियो, मेरो घाँटीमा समात्यो र धकेल्दै फेरि खोरमा हाल्यो ।
खसेको चिट टिपेर फेरि पढेँ ।
मुटु चिसो भयो । म भुइँमा थचक्क बसेँ । मेरो मन बोल्यो, “बलराम राम्रोसँग सोच है । भैँसीले त्यो आफ्नै नोकरको परिवारलाई के गर्यो ।”
मभन्दा माथि पखेटा फट्फटाएको आवाज आयो | परेवाहरू छानोमुनि दलिनमा स्टेसनको चारैतिर बसेका थिए | दुईवटा बिस्तारै घुमेर मेरै टाउकोमाथिबाट उडे । मैले तिनको छातीमा टाँसिएको दुईवटा राता नङ्ग्राहरू देखेँ ।
अलिकति पर एकजना टिपिक्क कसिएको ब्लाउजभित्र पुष्ट छाती भएकी महिला पल्टिरहेको देखेँ । त्यो मजाले घुर्दै थिई । दुई स्तनको बिचमा घुसारेर राखेको एक रूपियाँको नोटको रङ्ग र अक्षर पातलो हरियो ब्लाउज बाहिरैबाट प्रस्ट देखिन्थ्यो । उसको झोलासोला केही थिएन । एक रूपियाँभन्दा उसँग अरू केही थिएन । मात्र एक रूपियाँ, तर हेर त.संसारको केही पर्वाह नगरी कति आरामले निदाएर घुरेकी ।
मेरा लागि समय यति सहज नभएको किन होला ?
कुइँकुइँको मधुरो आवाजले म त्यतै फर्के । एउटा कालो कुकुर मेरो पछि फनफनी घुमिरहेको थियो | देब्रे फिलाको माथि रातो मासु देखिएको आलो घाउ रहेछ । कुकुर त्यो चिलाएको घाउलाई टोक्ने प्रयासमा बटारिँदै थियो । घाउसम्म मुख पुर्याउन सकिरहेको थिएन, तर घाउ दुखेर बौलाएको थियो । र्याले मुखले घाउ टोक्नलाई बौलाएर अर्थहीन
पारामा फनफनी घुमिरह्यो ।
मैले त्यै सुतिरहेकी आइमाईको तलमाथि गरिरहेको छाती हेरेँ । मेरो पछाडि कुकुर कुइँकिइरह्यो ।
त्यो आइतबार मैले अशोकसँग मन्दिर जान्छु भनेर अनुमति मागेँ र सहर गएँ । बस चढेर कुतुबसम्म गएँ र अनि ट्याक्सीमा जी.बी. रोड पुगेँ ।
महामहिम, दिल्लीको यो प्रसिद्ध ठाउँलाई अङ्ग्रेजीमा रेड लाइट एरिया भनिन्छ ।
एक घन्टा यहाँ बिताउन पाए त मेरो दिमागबाट सबै गलत विचारहरू पक्कै भाग्थे होलान् । जब शरीरको तल्लो भागमा वीर्य उत्पादन हुन थाल्छ, अनि शरीरको माथिल्ला अङ्गहरूमा तरल पदार्थहरू नराम्रोसँग चलायमान् हुन्छन् । हाम्रो अन्धकारमा यसलाई सर्वस्वीकार्य तथ्यको रूपमा लिइन्छ ।
बल्ल पाँच बजेको थियो र उज्यालै थियो, तर दिनभरि जसरी उनीहरूले अरू मानिसलाई कुर्छन् त्यसैगरी मलाई पनि कुरेर बसेका थिए |
मैले तपाईंसँग स्वीकार गरिसकेको छु कि यी गल्लीहरूमा म पहिले पनि आएको थिएँ, तर यसपटक यो अलि फरक थियो ! माथि वेश्यालयको झ्यालबाट आइमाईहरूले मलाई उडाउने, गिज्याउने, लोभ्याउने गरिरहेका थिए । तर यसपालि मैले माथि हेर्नै सकिनँ ।
एउटा भड्किलो निलो रङ्गको वेश्यालयको ढोका बाहिर काठको चौखटमा पानवाला बसेको थियो । बाटामा भिजाइराखेको पात निकालेर उसले चक्कुले मसला छर्कदै थियो । पान तयार गर्दा गर्नुपर्ने पहिलो स्टेप (काम) यही हो । उसको खाटमुन्तिर एकजना सानो मान्छेले ग्याँस ‘चुलोको निलो आगोमा दूध उमालिरहेको थियो ।
“के खोजेको भाइ ? माथि आइमाई हेर न कस्ता छन् ?”
ठूलो नाकमा खस्रो रातो दाग भएको त्यो सानो वेश्याको दलालले मेरो नाडीमा समात्यो ।
“हेर्दा त तपाईं विदेशी केटीहरू पनि किन्न सक्नुहुन्छ जस्तो लाग्छ | नेपाली केटी लैजानुस् न । के तिनीहरू राम्रा छैनन् र ? छोरा यसो माथि हेर्नुस् त !”
हुनसक्छ उसले मलाई पहिलो पटक अनुभव गर्न आएको लजालु कुमार केटो ठानेछ क्यारे, मेरो च्यापु समातेर उचालेर माथि हेर्न बाध्य पार्यो ।
माथि झ्यालमा ग्रिलको पछाडि बसेका नेपाली केटीहरू साँच्चै राम्रा देखिन्थे । गोरो छाला र चिनियाँ आँखाले भारतीय पुरूषहरू पागल हुन्छन् । च्यापुबाट मैले दलालको हात हटाएँ ।
“जुन मन लाग्छ, लैजानुस् । सबै लाने भए पनि ठीकै छ । ए छोरा तपाईं मर्द होइन कि के हो ?”
सामान्यतया मलाई रक्तपिपासु बनेर चिच्च्याउँदै वेश्यालयभित्र छिर्नलाई यति कुरा काफी थियो ।
तर मानिसभित्रको पशुको व्यवहार पनि कहिलेकाहीँ साह्रै काम लाग्छ | मेरो कम्मरभन्दा मुनि कुनै अङ्गमा तरङ्ग आएन । मैले सोचेँ, “तिनीहरू सबै पिँजराको सुगा हुन् । यो काम यौटा जनावरले अर्को जनावरसँग यौनक्रिया गरे सहर नै हो, यो काम यौटा जनावर अर्को जनावरमाथि उक्ले सरह नै हो ।”
पान पसलेले आफ्नो पसलबाट चिच्च्याउँदै भन्यो, “उठेको छैन भने पान चबाउनुस् न, यसले उठाइदिन्छ ।” उसले चिसो पानको पात मतिर हल्लाउँदै देखायो र पानीको छिँटा मेरो मुखमा पर्यो ।
खाटको मुनि दूध उमालेर बसेको त्यो सानो चाउरेले भन्यो, “तातो दूध खानुस् न | यसले पनि उठाउनलाई सहयोग पुर्याउँछ ।”
मैले दूधको भाँडा हेरेँ । दूध उम्लेर स्टिलको कराहीको चारैतिर पोखियो । चाउरे मुसुक्क हाँसेर डाडुले दूध चलाउन थाल्यो । स्याँ गरेर भल्किँदै दूध झन्झन् बाक्लो हुन थाल्यो ।
बसिरहेको पानवाला मेरो थप्पडले उछिट्टियो । पानी पोखिएर पात सबै यताउता छरियो । सानो मानिसको मुखमा पनि झापड दिएँ । माथिबाट चिच्च्याएको आवाज आयो । दलालहरू ज्यान फालेर मतिर जाइलागे । मलाई घचेट्दै मुक्याउन थाले । म त्यहाँबाट कुलेलाम ठोके ।
जी.बी. रोड पुरानो दिल्लीमा छ जसको बारेमा मैले केही भन्नुपर्छ । महामहिम, याद राख्नुहोला कि दिल्ली एउटा होइन दुई देशको राजधानी हौ- दुईवटा भारतको । उज्यालो र अन्धकार दुवै ठाउँबाट मानिस यहाँ आउँछन् ।
गुरगाँउ जहाँ अशोकजी बस्थे त्यो उज्यालो र आघुनिक सहरको एक भाग हो भने पुरानो दिल्ली सहरको अर्को किनार ! यहाँ आधुनिक संसारले बिर्सिसकेको सबै चिजहरू पाइन्छ जस्तै- रिक्साहरू, पुराना ढुङ्गे घर र मुसलमानहरू ।
आइतबार त त्यो ठाउँ अझ हेर्नलायक देखिन्छ । यदि तपाईं भीड चिरेर अघि बढ्नुभयो भने खिया लागेको कनकर्नोले कान सफा गरिदिइराखेका मानिस, हरियो बोटलमा नुनपानीमा डुबाएर माछा बेचिरहेका मानिस, सस्तो जुत्ता पसल, सस्तो सर्ट पसल हुँदै तपाईं ठूलो सेकेन्ड ह्याण्ड किताबको बजार दरियागन्ज पुग्नुहुन्छ ।
श्रीमान्, तपाईंले यो बजारको बारेमा पक्कै सुन्नुभएको छ होला, किनकि यो विश्वका आश्चर्यहरूमध्ये एक हो । दसौं हजार मैला, थोत्रा, काला, कुहिएका, दर्शन, प्रविधि, औषधि विज्ञान, शिक्षा र विभिन्न देशहरू लगायत अनिगन्ती विषयका किताबहरू दिल्ली गेटदेखि लालकिल्ला बजारसम्म सडक पेटीमा चाँगेर राखेको भेटिन्छ । कुनै कुनै किताब यति पुराना हुन्छन् कि छोयो भने धुजाधुजा हुन्छ । कुनै धमिराले खाएको छ भने कुनै बाढीबाट निकालेजस्तो भने कुनै आगोबाट । धेरैजसो सडक पटीका किताब पसलहरूको सटर तल झारिएको छ तर रेस्टुरेन्टहरू अझै खुल्लै छन् । खाने कुरा पकाएको बास्ना कुहिएको कागजको गन्धसँग मिसिन्छ | भेन्टिलेसनमा खिया लागेको एग्जस्ट पङ्खाका पाताहरू ठूला पुतलीका प्वाँखजस्तो हल्लिन्छन् ।
मैले किताबहरूको बिचमा गएर लामो सास तानेँ । मलाई वेश्यालयको दुर्गन्धपछि शुद्ध अक्सिजन पाए जस्तो लाग्यो ।
किताब किन्ने ठूलो भीड बिक्रेतासँग किताबको मोलमोलाई गर्दै थिए र मैले पनि आफू एउटा ग्राहक नै भएको जस्तो गरेँ । झम्टेर किताबतिर हामफालेँ र किताब हातमा लिएँ र बिक्रेताले, “ए भाइ, तपाईंले किन्ने हो कि सित्तै पढ्ने हो ?” नभनेसम्म सर्र पढ्दै गएँ ।”
“यो राम्रो छैन !” भन्दै म किताब राखिदिन्थेँ र अर्को बिक्रेताकोमा जान्थेँ र एउटा टिपेर फेरि सर्रर पढ्थे । एक रूपियाँ नतिरी सित्तैमा सर्र पढ्दै पूरै साँझभरि मैले एकपछि अर्को किताब बित्रेतालाई लुटेँ !
केही किताबहरू मुस्लिमको भाषा उर्दुमा लेखिएको थियो जुन हेर्दा कोतरकातर पारेर थोप्ला दिएजस्तो छ | हेर्दा लाग्छ कि एउटा कुनै गाईले कालो मसिमा खुट्टा चोपेर कागजको पानामा टेकेको हो | म एउटा यस्तै किताब पढ्दै थिएँ अनि पसलेले सोध्यो, “तपाईं उर्दू भाषा पढ्न सक्नुहुन्छ ?”
पसले एउटा बूढो मुसलमान थियो जसको लामो सेतो दाह्रि, अनि कालो अनुहार, पसिनाले निथुक्क भिजेर भर्खरै पानीले चुटेर लत्रिएको बेगोनिया (फूल) को पात जस्तै देखिन्थ्यो ।
“के तपाईं उर्दू पढ्न सक्नुहुन्छ ?” मैले प्रतिप्रश्न गरे ।
उसले किताब खोल्यो, खोकेर घाँटी सफा गर्यो र पढ्यो, “तिमी धेरै वर्षदेखि साँचो खोजिरहेको छौ ।” के भनेको बुझ्यौ ? उसले कालो निधार खुम्च्याएर मलाई हेर्यो ।
“बुझेँ, मियाँ, काका ।”
“चुप लाग, ढाँट । अनि सुन ।”
उसले फेरि घाँटी सफा गर्यो र भन्यो, “तिमी वर्षौंदेखि साँचो खोज्दै छौ, तर ढोका सधैँ खुल्लै थियो ।”
उसले किताब बन्द गर्यो र धम्काउँदै भन्यो, “कविता भनेको यही हो । लौ यहाँबाट गैहाल त ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ पुष २०८२, मंगलवार 










