
केही दिनदेखि फूलकुमारीमा आएको परिवर्तनले म छक्क परेको थिएँ । दुई चार दिन अघिसम्म उनी चञ्चले थिइन् । बालसुलभ व्रफिडामा पछि हट्दैनथिन् । कक्षामा कक्षाकार्य होस् कि गृहकार्य होस् बनाउन र देखाउन अघि अघि हुन्थिन् ।
अहिले आएर उनी एक्कासी ओइलिएको सागजस्तो बनेकी छन् । बाहिरीरूपमा त्यस्तो कुनै कारण देखिन्न । उनको मनभित्र चलेको आँधी छिचोल्न नसकेर हामी शिक्षकहरू भने बिलखबन्दमा परेका थियौँ ।
उनी स्कूल सधैँ आउँथिन् । पढाएको कुरा ध्यान दिएर सुन्थिन् । गर्न लगाएको काम गर्थिन् । भन्न लगाए जानेको कुरा भन्थिन् । तर; पहिलाको जस्तो न प्रश्न गर्थिन् । न जिज्ञासु मन बनाएर सव्रिmय सिकाइमा नै सामेल हुन्थिन् ।
उनमा आएको अकस्मात् परिवर्तनले मेरो मनमा चिसो पसेको थियो । प्रश्न गर्दा उनी नबोलीकन जीत हात पार्न थालिन् । धेरै कर गर्दा बल्लतल्ल ‘केही भा’को छैन’ भनी छोटो जवाफ फर्काएर टार्थिन् ।

नन्दलाल आचार्य
पक्कै पनि कसैले सम्झायो होला । चञ्चलेपन त्याग्न अह्रायो होला । भद्रपन अंगाल्न सिकायो होला । यस्तैयस्तै कुराहरू मनमा खेल्दै आउँथे र सत्यताको कसीमा घोटिन नपाउँदै त्यत्तिकै विलाएर जान्थे ।
म नर्सरीदेखि नै उनलाई नेपाली विषय पढाउँदै आएको थिएँ । उनको आनिबानी र सिकाइ क्षमताको पूर्ण ज्ञानी थिएँ । उनमा पहिले कहिल्यै यस्तो परिवर्तन भएको अनुभव गरेको थिइनँ । अनपेक्षित परिवर्तन मेरा लागि अपाच्य भइरहेको थियो ।
एकपल्ट नजिकका शिक्षक मित्र अभित चौधरीसँग मन बिसाएँ । उनले पनि आफूले त्यस्तै अनुभूत गरेको सुनाउँदै मेरा कुरामा सही थापेका थिए । र; भनेका थिए; ‘फूलकुमारी बेग्लै प्रकारको मानसिक पीडा भोगिरहेकी छिन् । उनको बालमनोविज्ञान बुझेर हामीले व्यवहार गर्नु जरुरी छ ।’
‘हो; सुझ न बुझ आफ्नो अहङ्कार लादिराखेमा परिणाम अनिष्ट पनि हुन सक्छ । एक त यस समाजमा समस्या पत्ता लगाउनै गाह्रो, लागेमा पनि समाधान गर्नै साह्रो छ । जसलाई पनि इज्जतको बखान गर्नुछ । इज्जत गुम्ने भयले सत्यको मुहारमा मोसो दलिन्छ । यहाँ यस्तै छ ।’
मैले पनि मनको उकुसमुकुसलाई ध्वनिमा रूपान्तरण गरेको थिएँ । मेरा कुरालाई अभित सरले मुन्टो हल्लाएरै सहमति जनाएका थिए ।
त्यसबेला आपसमा अनेक थरीका भलाकुसारी हुन्थे । केहीबेरमै चर्चापरिचर्र्चा त्यत्तिकै सेलाएर जान्थ्यो । यद्यपि फूलकुमारीलाई देख्नासाथ एकाएक मेरो मनमा भने विविध शंका–आशंकाका बादलहरू मडारिन थालिहाल्थे ।
एकदिन स्टाफ रुममा बसेर कापी जाँच गरिरहेको थिएँ । नजिकैको कक्षाबाट आउने सामान्य खैलाबैला बाहेक बाहिरी वातावरण प्रायः शान्त थियो । कापीमा मन एकोहोरिएकोले मानसिक रूपमा पनि मन शान्तै थियो ।
एक्कासी कापीको थुप्रो टेबलबाट तल खस्न पुग्यो । होमवर्क उल्टाएका पानाहरू तितरबितर भए । उठाएर टेबलमा राखेँ ।
असरल्ल अवस्थाकै कापीहरू जाँच गर्दो थिएँ । एउटा कापीका अक्षरमा गएर आँखा टक्क अडिए । ती अक्षर फूलकुमारीका थिए । कापी पनि उनकै थियो । तिनै अक्षरमा हेर्दाहेर्दै आँखाहरू हट्नै मानेनन् । कलम पनि चल्न छाड्यो । मन समेत फ्रिज भयो । लेखिएको थियो–
श्रद्धेय बाबामामू,
मन नपरेकी छोरीको नमस्कार स्वीकार्नुहोला ।
म चिठी लेख्न योग्य छोरी हैन । तपाईंहरूलाई ठूलो पीडा दिएर बाँच्नु न मर्नु पारिरहेकी छु । हर्दम तपाईंहरूको मुखबाट मात्रै हैन व्यवहारबाट पनि मैले तपाईंहरूलाई दुःख दिएको भनाइ सुन्छु ।मेरो बोर्डिङ स्कुलको पढाइमा ठूलो धनरासी त्यत्तिकै खर्च भइरहेको गुनासो सुनेर थकित हुन्छु । थरिथरीका आरोपप्रत्यारोप र गुनासाहरूले मेरा कान पाकिसके । मन पनि वाक्कदिक्क भइसक्यो ।
मेरो विचार, भावना र अवस्था बुझ्ने चेष्टा कहिल्यै गर्नुभएन । सधैँ–सधैँ सरस्वती यादवजस्ती भइन्; कल्पना मण्डलजस्ती रहिन भनेर अरूसँग तुलना गरिरहनुभयो । मलाई मजस्तो हुन दिनुभएन । म पनि मौलिक आनिबानी लिएर जन्मेकी थिएँ । मलाई बाध्य पारेर अरूको बानी र व्यहोरा अवलम्बन गर्न लगाउनुभयो । अरूको जस्तै दक्षता हासिल गर् भनेर अह्राउनुभयो । मैले आफ्नो लय र शैलीमा हिँड्न पाइनँ । र; अन्ततोगत्वा म सफल भइनँ । मेरो असफलता हजुरहरूलाई पच्दै पचेन ।
मैले परीक्षामा पास हुन नसक्दा दुबै जना रिसले फन्किनुभयो । बरु म नजन्मीकनै गर्भमै तुहेको भए बेस हुने बाणी फलाक्नुभयो । मेरो घाँटी बेस्कन दबाउन खोज्नुभयो । छोरी हत्याको भयले गाँज्यो क्यारे ! तुरुन्तै छाडिदिनुभयो । बोली र बचनले भने पलपल घाँटी दबाइरहनुभएको छ ।
म हजुरहरूसँग बोलेर आफ्नो मन खोल्न सक्दिनँ । त्यसैले लेखेरै मनको गोप्य रहस्य सार्वजनिक गर्दै छु । कृपया यसलाई एक पाखण्डी छोरीको पाखण्डपन सम्झेर पढिदिनुहोला । र; कृपया मसँगजस्तै अरू बहिनीहरूको जीवनसँग खेलबाड नगर्नुहोला ।
म अङ्ग्रेजीमा कमजोर थिएँ । र; छु पनि । नेपाली विषयमा भने उत्तम छु । अरू विषयमा मध्यम छु । यत्ति कुरा जान्दाजान्दै र मैले नमान्दा नमान्दै पनि बोर्डिङ स्कूलमा हालिदिनुभयो । सरकारीमा पढ्छु भन्दा खान्दानको इज्जत नालीमा जान्छ भन्नुभयो ।
हाम्रा दाजुहरूले त बोर्डिङ स्कूल पढे । नजानेको सिक्ने वातावरण पाए । अग्रज घरपरिवार जन र साथीभाइहरूबाट सक्तो उत्प्रेरणा भेटे । उनीहरूले जसोतसो प्रगति गरे । मैले हजुरहरूको सोचअनुसार गर्न सकिनँ । यसमा मेरो मात्र दोष छैन । एक पटक आफैँ गम्भीर भएर सोच्नुहोला ।
हो; हजुरहरू र काका–बडाउहरूले सरकारी नै पढ्नुभएको हो ! आफ्नो क्षमतानुसार सिक्न पाउनुभयो । भविष्य ठड्याउन भेट्नुभयो । मैले पनि सरकारी स्कूल पढ्न पाएको भए सहजै सिक्थेँ । घोकन्ते र रटन्ते बानी त्यागेर सिकाइ मैदानमा आफ्नो क्षमतानुसार दौडन पाउँथेँ । सबैभन्दा बढता त आफ्नोपन जान्न र स्वच्छ जलसँग स्वच्छन्दताका साथ लुकामारी खेल्दै जीवनलाई सलल बगाउन भेट्थेँ ।
अर्कातिर तपाईंहरूको पैसा पनि खर्च हुन्नथ्यो । मलाई पनि फेल हुँला; बात र लात भेटूँला भन्ने भय रहन्नथ्यो । हे भगवान्, मेरो मर्म र पीडा कसलाई सुनाऊँ ? मेरो पिरलो सुनिदिने र बुझिदिने बाबामामू मैले किन नभेटेकी ?
मलाई थाहा छ– मेरो नाममा हजुरहरूले धेरै खर्च गर्नुपरेको छ । दाजुहरूले जस्तो प्रतिफल मैले दिन सकेकी छैन । र; मेरो वैवाहिक कार्यक्रम सम्पन्न गर्न पनि मनग्यै दाइजो दिनुपर्ने तनावले पनि हजुरंहरू तर्सिराख्नुभएको छ ।
दाइजो लिनु र दिनुलाई प्रतिष्ठासँग गाँसेर हेर्ने यस समाजको अधोगति सोच मैले बनाएकी हैन । तपाईंहरू जस्तै अग्रजहरूले सुरुआत गरेको हो । मेरो अवनतिमा आफ्नो बेइज्जत सम्झनेले मेरो उन्नतिको सहज मार्ग पनि पत्ता लगाइदिनुपथ्र्यो । त्यो कमजोरी मेरो हैन हजुरहरूकै हो ।
बाबामामू, मेरा कमजोरी हटाउन सिकाउने–बुझाउने मान्छे चाहिन्थ्यो । मेरो प्रयत्न अपुग हुँदा हिम्मत दिने साथ चाहिन्थ्यो । न मलाई दाजुहरूले सिकाउँछन्; न मेरा लागि कोही टिउसन टिचरको व्यवस्था गरिदिएको छ । न त बाबाले नै मलाई सिकाइ मैदानमा डोहोर्याउनुहुन्छ ।
खालि पढ्; पढ् भनेर एकोहोरो रटान दिएको छ । कत्ति पढ्नू; कसरी पढ्नू ! नजान्दा कसलाई सोध्नू ! कक्षामा शिक्षकलाई नयाँ पाठ पढाउँदैमा फुर्सद हुँदैन । हामीले नजानेको कुरा सिक्ने मौकै पाउँदैनौँ ।
कतिपय शिक्षकको त हाकाहाकी आवाज सुनिन्छ– यसभन्दा बढता जान्न र सिक्न मन भए टिउसनमा आउनू । उतै सिकाउँछु । आफू कमजोर भएपछि शिक्षक अनुसार हिँड्नुपर्छ । शिक्षकलाई आफ्नो अनुकूल हिँडाउन मिल्दैन ।
एक हिसावले उनीहरूको कथन पनि जायज लाग्छ । पुस्तकमा अनेक कुरा छन् । समग्र कक्षालाई पढाउँदापढाउँदै समय तुरिन्छ । कमजोर विद्यार्थीलाई डोहोर्याउन लाग्दा कोर्स ज्युँकात्युँ बाँकी रहन्छ । त्यसपछि त शिक्षकले विद्यालय प्रशासनसामु स्पष्टीकरणको फेहरिस्त बुझाउनुपर्छ । कोर्स नसिद्धिएको अभिभावकको गुनासोले कान खान्छ ।
तपाईंहरू स्कूल मात्र पठाउने तर टिउसन नपढाउने कुरा गर्नुहुन्छ । जबरजस्ती लादेका कुरा सिक्न मलाई हम्मेहम्मे पर्छ । मेरो विवशता कसले बुझिदिने !
आफैँ पनि अवलोकन गरिहेर्नुस् त ! बोर्डिङ स्कुलका किताबको नाममा कति र कस्तो बौद्धिक दरिद्रता प्रदर्शन भइरहेको छ । मलाई त लाग्छ– बिनाप्रयोग र परीक्षण विषयवस्तुको ज्ञान भएका तर बालमनोविज्ञानको जानकारी नरहेकाहरूले तयार पारेका हुन्छन् नेपालका बोर्डिङ स्कुलका प्रायः किताबहरू ।
जसको किताब पढ्न–पढाउन, बुझ्न–बुझाउन गाह्रो भयो त्यही किताब त सबै बोर्डिङ स्कुलले हारालुछ गरेर लगाउँछन् । अरूका किताब लगाउनै परे कमिसनको खेलमा खरो उत्तीर्ण हुनसक्नेहरू मात्रै सफल हुन्छन् । शिक्षाका व्यापारीहरूको बिगबिगी बढेको कुरा नबुझी त्यही जाँतोमा पिसिन जानु कति ठीक; कति बेठीक आफैँ मूल्याङ्कन गर्नुहोला ।
अन्त्यमा; मलाई जबरजस्त लादेको अङ्ग्रेजी शिक्षाबाट मुक्त हुन दिनुस् । नेपाली माध्यममा पढेर पनि म जीवनरथ गुडाउन सक्छु । मलाई आफ्नो मनोकांक्षा विरुद्ध काम गर्न वाध्य नपार्नुस् । इज्जतको नाममा बच्चाहरूको मन कुल्चने आमाबाबु कहिल्यै असल कहलिँदैनन् भन्ने कुरा बुझ्नुस् ।
यो फुच्चीले यत्रो भित्री कुरा कसरी खोतल्न सकेकी होला भन्ठान्नुभयो होला । हाम्रा अक्षान्त सरले बेलाबेलामा हामीलाई यस्ता गहकिला कुरा बोध गराइरहनुहुन्छ ।
उहाँ भन्नुहुन्छ; ‘हामीले सबै कुरा हेर्नुपर्छ, बुझ्नुपर्छ । ज्ञान लिन कोढीको पाउ मोल्न परे पनि पछि पर्नुहुन्न । आफ्नो ज्ञानार्जन गर्न, स्वार्थको घैला भर्न सदा इमान्दार प्रयत्न गर्नैपर्छ । यद्यपि त्यो स्वार्थ तिमीहरूको स्वाभिमानसँग जोडिएकोे हुनुपर्छ । दुर्भाग्य; तिमीहरू शैक्षिक व्यापारिक युगका उपभोक्ता बनेका छौँ । कसरी मनको मैलो धुन्छौ र परिवर्तनको मुहार फेर्छौ; हामीले अनुभूत गर्न पाउँछौँ; पाउनौँ ! शङ्कै छ ।’
बोक्नै नसक्ने भारी जबरजस्त लादिरहने हो भने स्वयम् बोझमुक्तका बाटाहरू खोज्न वाध्य हुने छु । त्यसैले मजस्तो छु; त्यस्तै हुन दिनुस्; प्लिज बाबामामू । बस्; यत्ति नै !
तपाईंहरूकै मन नपरेकी छोरी
फूलकुमारी शर्मा ।
+++
चिठी पढिसकेपछि फूलकुमारीको स्वभाव परिवर्तनको रहस्य पत्ता लाग्यो । समस्या निदान सजिलो थिएन । झट्ट गम्दा पत्यारलाग्दो पनि रहेन । उनको मन पग्लेर चिठीका शब्दमा रूपान्तरण भएको ठहर गर्न पुगेँ । उनको जल्दोबल्दो समस्या सुल्झाउन मेरो एक्लो सामथ्र्य अपर्याप्त थियो ।
अरू कसैले पढे अनर्गल कुरा गर्लान् । छोरी बढेपछि आमाबालाई पिरलोमा पार्ने रहेछन् भन्लान् । यो चिठी एक कान दुई कान हुँदै मैदान होला । पढ्नेले एक थोक पढ्लान् । सुन्नेले अर्कै थोक सुन्लान् । सुनाउनेले अझ अर्कै पाराले सुनाउलान् । तसर्थ त्यस कापीको पाना च्यातेर गोजीमा राखेँ । र; सबै कापीहरू जाँचेर विद्यार्थीहरूलाई बुझाइदिएँ ।
छुट्टी भयो । फूलकुमारी मेरा आँखाबाट ओझेल भइन् । घर फर्कंदा पनि उनका गोडा गह्रौँ चालले चलिरहेको देखेको थिएँ । मेरो मन पनि उस्तै गह्रौँ बन्न गएको थियो ।
उनको चिठीका शब्दशब्द मेरो मनमा टाँसिएका थिए । म गुन्दै र सम्झँदै डेरामा पुगेँ । अभितजीसँग मनको गाँठो फुकाएँ । उनले समेत मन अमिलो बनाए । र; भने; ‘उनका बाबुआमासँग बातचित गरी सम्भावित प्रलयको बाढी रोक्नुपर्छ ।’
नभन्दै साँझमा हामी फूलकुमारीको घरमा पुग्यौँ । उनका पिता स्वयम् सरकारी शिक्षक थिए । आमाबुबा दुबैलाई राखेर मौखिकरूपमा वस्तुस्थिति बोध गरायौँ । सुरुआतमा उनीहरूले पत्याएनन् । पत्र पढ्न दिएपछि विश्वस्त भए । र; अनुहार रातोपिरो बनाए ।
आफ्नो पारिवारिक कुरा सडकमा छरिएको बोध भएर हुनुपर्छ; फूलकुमारी भएको कोठातिर हेरेर उनका बाबुले भने; ‘सन्तानले इज्जत कमाइदेलान् भन्ने आश पनि स्वर्गवासी भयो ।’
‘ई छौँडी त हमरा सभके नाक कटा देतै ।’ फूलकुमारीले इज्जत डुबाउन लागेको आशयले आमा चाहिँले भनिन् । हामी भने अलमलमा परिरह्यौँ ।
‘हजुर पाको शिक्षक, हामी आलाकाँचा सिकारु शिक्षक ! हजुरलाई केही बताउनु भनेको सूर्यलाई बत्ती देखाउनु सरह हो । परिस्थितिले हामीलाई केही न केही भन्न बाध्य पार्यो ।’
मैले भूमिका बाँध्नासाथ फूलकुमारीका बाबु चाहिँले मन खुलस्त पार्दै भनेँ, ‘तपैँहरू चिठी पढ्न दिएर के भन्न खोज्दै हुनुहुन्छ; मेरो समझमा त आइसक्यो । तपैँले आँ गर्दा मैले अलंकार बुझिसकेँ । हाम्री मेडमले पनि बुझ्छिन् । प्रष्ट भन्दा हुन्छ ।’
‘हामीले भन्ने कुरा चिठीले नै भनिसकेको छ । फेरि भन्नु् मनासिव नहोला । यद्यपि यत्ति भन्छु– आफ्ना नानीबाबुको सही मनोभावनाका कदर गर्नाले नै असल आमाबाबु कहलिन सकिन्छ ।’
अभितजीका कुरा सकिन नपाउँदै मैले पनि थपथाप पार्दै भनेको थिएँ; ‘हुन त हामी संस्थागत हिसाबले यहाँ आएका हैनौँ । बोर्डिङ स्कुलको नातो लगाएर पनि केही भन्न चाहँदैनौँ । शिक्षक–विद्यार्थी प्रेम र कर्तव्य जताउन मात्रै आएका हौँ ।’
हाम्रा कुराले फूलकुमारीकी आमाले रिसाउँदै उनलाई सजाय दिने आशयले भनेकी थिइन्, ‘अहाँसभ चिन्ता नई करू । एकरा हमसभ ठिक करबै ।’
तत्कालै बाबुतिर फर्कंदै मैले स्पष्टताको साथ मुख खोलेको थिएँ, ‘चिठीमार्फत फूलकुमारीले पीडा पोखिन् भन्दैमा नरिसाउनुस् । पीडाबोधक शब्दहरू केलाउनुस् । र; ठानिदिनुस्– पढाइमा कमजोर ठानिएकी छोरी मनोभावना ओकल्न एक नम्बरमा रहिछ । सम्भावित अप्रिय घटनाबारे समयमै सूचित हुन पाइयो ।’
मेरो बोली सिद्धिनासाथ आमातिर फर्केर अभितजीले दण्ड नदिन आग्रह गर्दै थपेका थिए, ‘फूलकुमारीके माई, मारपिटके बात मोनमे नई लाबु । ओकरा बरु बेसी माया करू । हम हात जोइरके कहैछी ।’
दुबै दम्पती चुपचाप घोरिइरहेका थिए । त्यसैबेला फूलकुमारीकी जेठी भाउजू चिया लिएर आइन् । हामी सुरुपसुरुप पार्न थाल्यौँ । आमा उठेर जान लागेकी थिइन् । मेरो सांकेतिक आग्रहले ठाउँको ठाउँ थ्याच्चै बसिन् ।
गिलास रित्याएर राख्तै मैले थपेको थिएँ; ‘बस् यत्ति ठानिदिनुस्– हामी पनि यही समाजका चेतनशील युवा हौँ । बाटो अलमलिन लागेका, समस्यामा अल्झेका र कुनै अप्रिय कदम चाल्ने सम्भावना बोकेका बालबच्चाका समस्या बुझेपछि गोप्य रूपले अभिभावकलाई खबरदारी गर्नु कर्तव्य ठानी आएका हौँ । यसै गर्नुस् भन्दैनौँ; समस्याको जरो पहिल्याएर समाधानतिर लाग्नुस् । फूलकुमारीको ओठमा लालिगुराँस फक्रेको हेर्न पाइयोस् । बस्, हामीले तपैँहरूबाट खोजेको यत्ति नै हो ।’
बल्लतल्त आमाको मुहारमा मन्द मुस्कान आयो । चिठीको आशयलाई कदर गर्ने फूलकुमारीका बाबुको मुखबाट बचन लिएर हामी छरिता पाइलाका साथ डेरा फर्किएका थियौँ ।
भोलिपल्ट नै हामीले पढाउने स्कुलकी कार्यालय सहयोगी हिरा थापा मगर भन्दै थिइन्; ‘अब फूलकुमारीलाई सरकारी स्कूलमा भर्ना गर्ने रे । उनका बाबुले बाइकमा राखेर आफ्नो स्कूल लग्दै गरेको देखेथेँ ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

