साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला ३३

ratna book ads

भीड बढ्दै गयो । पाभेलले झण्डा उठायो । झण्डा फरफराउँदै थियो । त्यो झण्डा सूर्यको प्रकाशमा चम्कँदै थियो र त्यसको लहरमा एक मुस्कुराहट फैलिँदै थियो … ।

फ्योदोर माजिनले गाउन सुरु ग¥यो –
“पुरानो विश्व डढाइदिन्छौं … ।”

अरु दर्जनौं स्वरहरुको मन्द प्रवल प्रवाह त्यो स्वरसँग मिसियो –
“खरानी बनाइछाड्छौं … ।”

आमा माजिनको पछाडिपछाडि जाँदै थिइन् । उनका ओठमा मीठो मुस्कुराहट फैलिएका थियो । उनी फ्योदोरको अघिल्तिर फरफराइरहेका रातो झण्डा समाएर अगाडि बढिरहेको आफ्नो छोरालाई एकटकले हेर्दै थिइन् । उनको चारैतिर प्रफुल्ल अनुहारहरु थिए । विभिन्न रङका आँखाहरु थिए । सबैभन्दा अगाडि पाभेल र आन्द्रेइ जाँदै थिए । उनी तिनीहरुले गाएको आवाज सुन्दै थिइन् । आन्द्रेइको सुरिलो आवाज पाभेलको बाक्लो आवाजसँग मिसिँदै थियो ।

“जाग लौ उठ ए मजदुरगण
भोका र नाङ्गा सबै अघि बढ !”

मान्छेहरु दौड्दै उनीहरुतिर आउँदै थिए । चारैतिर मान्छेहरु चिल्लाउँदै थिए, तर उनीहरुको चिच्याहट गीतको आवाजमा बिलाउँदै थियो – त्यही गीतको आवाजमा, जुन घरमा गाउँदा अरु गानाहरुभन्दा सानो स्वरले गाउने गर्थे । यहाँ सडकमा त्यो गीत विनाकुनै रोकटोक गुञ्जिँदै थियो, अझ जोडले ! त्यस गीतमा अदम्य साहसको भावना गुत्तिजँदै थियो, भविष्यतर्फ जाने लामो बाटोतिर लम्कने आह्वान गरिएको थियो र इमानदारीपूर्वक बताइएको थियो – यो बाटो कति कठिन छ । त्यसको अखण्ड ज्योतिले अतीतको अन्धकारलाई निलिदिएको थियो, परम्परागत भावनाहरुका समस्त फोहोरमैला सफा गरिदिएको थियो र नुतनप्रति जुन त्रास थियो, त्यसलाई यस ज्योतिले जलाएर खरानी बनाइदिएको थियो ।

कसैको भयभीत तर प्रफुल्ल अनुहार आमाको छेउमा देखा प¥यो अनि कम्पित रुन्चे स्वर सुनियो –
“दिमित्री ! तिमी कता ?

“जान देऊ उसलाई ।” – आमाले हिँड्दै भनिन् – “पीर नगर ! सुरुमा म पनि तर्सेकी थिएँ । मेरो छोरो अगाडि जाँदैछ ! ऊ त्यो झण्डा बोकेर गइरहेको मेरो छोरो हो !”

“उल्लूहरु ! कता लाग्दैछौ ? त्यहाँ सिपाहीहरु पर्खेर बसेका छन् !”

ती अग्ली, दुबली पातली आइमाईले अकस्मात् बेस्सरी आमाको हात समाइन् र चिल्लाइन् –
“हेर्नोस् न, कति मजाले गाउँदैछन्, ऊ मेरो दिमीत्री पनि गाउँदैछ … !”

“नडराऊ !” – आमाले भनिन् – “उनीहरु पवित्र काममा लागेका छन् … एकपल्ट सोचेर हेर त, के ईसामसीहको अस्तित्व हुन्थ्यो होला यदि उनका लागि मानिसहरुले जीवनअर्पण नगरेका भए ?”

अकस्मात् आमाको दिमागमा यो विचार बिजुलीजस्तो चम्कियो र यस भावनाको सीधासादा सत्यले उनलार्य चकित तुल्यायो । आमाले त्यस आइमाईको अनुहारमा हेरिन् जसले उनको हात समाएकी थिइन् ।

“यदि मानिसहरुले ईश्वरका लागि आफ्नो जीवनअर्पण नगरेका भए अहिले हामीलाई ईसामसीहको नामसम्म पनि थाहा हुँदैनथ्यो होला !” – आमाले विष्मयपूर्ण मुस्कुराहटसहित यी शब्दहरु दोहो¥ायाइन् ।

सिजोभ आमाको छेउमा आएर उभियो ।
त्यसो भए खुलेआम निस्कन थालेछन्, हँ आमा ?” – उसले टोपी फुकाल्यो र गीतको तालमा टोपी हल्लाउँदै भन्यो – “गाना पनि बनाएछन् । अनि गाना पनि कस्तो त हँ, भन न आमा ?”

“बढाऊ सेना, जारले भन्छन्
सपुत हाम्रा भर्ती गरिन्छन् … ।”

“कस्ता निडरहरु त हँ !” – सिजोभले भन्यो – “मेरो बिचरो छोरो अहिले जिउँदै भइदिएको भए … ।”
आमाको मुटु बेस्सरी काँप्न थाल्यो र उनी पछि पर्न थालिन् । छिटै उनलाई एकातिर धकेले र उनले आफूलार्य पर्खालनेर उभिएको पाइन् । मान्छेहरुको भीड लहरजस्तो बग्दै थियो । भीड देखेर आमा दङ्ग परिन् ।

“जाग लौ उठ मजदुरगण … !”

कुनै बडेमाको पित्तलको बिगुलबाट गाना निस्केर हावामा गुस्जिँदैछ, मानिसहरुमा जागृति पैदा गर्दैछ जस्तो लाग्थ्यो – मानौं कसैलार्य सङ्घर्षको मैदानमा उात्रने आह्वान गर्दैछ, त कसैमा तीव्र उत्सुकता, कुनै नयाँ सुखको अस्पष्ट भावना पैदा गर्दैछ, कतै मधुरो आशा जागृत गर्दैछ त कतै वर्षौदेखि लुकेर रहेको क्रोधको ज्वाला भड्काउँदैछ । सबैका आँखा त्यतैतिर फर्केका थिए, जहाँ राती झण्डा हावामा फरफराउँदै थियो ।

“हेर, उनीहरु आउँदैछन् !” – कसैको आवेशपूर्ण स्वर सुनियो – “स्याबास, केटाहरु !”

उसको हृदय एक त्यस्तो तीव्र भावनाले ओतप्रोत थियो, जुन ऊ शब्दमा व्यक्त गर्न सक्दैनथयो, उसले एक भद्दा गाली ग¥यो । दास प्रवृत्तिले भरिपूर्ण त्यो घृणा, अन्ध र कुत्सित घृणाको भावना यसरी कोल्टे फेर्दै थियो, मानौं कुनै साँप हो, जुन प्रदीप्त किरणले तर्सिएर फुँकार्दै छ ।

“सम्राटको विरुद्ध, जारको विरुद्ध बगावत ? विद्रोह गर्दैछन् ?” – अगाडि अर्कातिरबाट कसैका चिच्याहट सुनिन् ।
मान्छेहरुको त्यस विशाल समूहमा, जुन एक प्रवल प्रवाहजस्तो अगाडि बढ्दै थियो, आमाले चिन्ताग्रस्त अनुहारहरु देखिन् । गानाले प्रेरित भएर त्यो जनसमूह कुनै ज्वालामुखीको लाभाजस्तो अगाडि बढ्दै थियो । यस्तो लाग्थ्यो, गीतको प्रवाहमा प्रत्येक कुरा बग्दैछ, बाटो सफा गर्दैछ । आमाले धेरै टाढा रातो झण्डा देखिन् र उनको कल्पनामा छोराको आकृति घुम्न थाल्यो – काँसमा बदलिएको जस्तो उसको निधार र दृढ विश्वासको ज्योतिले चम्किरहेका उसका आँखाहरु ।
आमा अब जुलुसमा सबैभन्दा पछाडि थिइन् । उनी अब त्यस्ता मान्छेहरुसँग जाँदै थिइन्, जो चारैतिर लापरबाहीको दृष्टिले हेर्दै थिए मानौं उनीहरु कुनै त्यस्तो नाटक हेर्दैछन्, जसको अन्त्य उनीहरुलाई अगावै थाहा भइसकेको छ । उनीहरु आवेशरहित स्वरमा तर दृढ विश्वाससहित कुरा गर्दै थिए –

“एक पल्टन स्कुलमा पालो दिएर बसेको छ, अर्कोचाहिँ फैक्ट्रीमा … ।”

“गभर्नरसाहेब पनि आइसकेछन् … ।”

“साँच्चै ?”

“आफ्नै आँखाले देखेको, भर्खरै आइपुगे ।”

“अब त हामीसँग पनि तर्सन थालेछन् ।” – कसैले सन्तोषको सास फेर्दै गाली ग¥यो – “हेर न, यत्रा सिपाहीहरु, गभर्नरसाहेब आफैं आइपुगछन्, ठट्टा हो र !”

“मेरा बच्चाहरु !” – आमा सोच्दै थिइन् ।

तर यहाँ उनी जुन शब्दहरु सुन्दै थिइन् ती उत्साहहीन र निष्प्राण थिए । यी मानिसहरुलाई उछिन्न उनी छिटोछिटो हिँड्न थालिन् । उनीहरुलाई उछिन्न गाह्रो थिएन किनभने एकदमै मन्द चालले अगाडि बढ्दै थिए ।

अकस्मात् जुलुसको अघिल्लो भाग कुनै कुरासँग गएर ठक्कर खाएजस्तो लाग्यो र एक भयभीत गर्जनसहित पूरा भीड पछि हट्न थाल्यो । गीत पनि एकपल्ट काँप्यो तर फेरि तुरुन्तै पहिलेभन्दा पनि अझ चर्को स्वरमा गुुञ्जिन थाल्यो । केही बेरपछि गानाको जोड घट्न थाल्यो । एकपछि अर्का मान्छेहरु गाउन बन्द गर्दै थिए । अलगअलग केही आवाजहरु सुनिँदै थिए, जो गानालाई पहिलेकै जस्तो गौरव प्रदान गर्न कोसिस गर्दै थिए –

“जाग लौ उठ ए मजदुरगण
भोका र नाङ्गा सबै अघि बढ … !”

तर अब यस प्रयासमा एकबद्ध शक्ति, सामूहिक आस्था अनुभव हुँदैनथ्यो । अब उनीहरुको स्वरमा आतङ्कको प्रतिध्वनि सुनिन्थ्यो ।

आमा जुलुसको अघिल्लो भाग देख्दैनथिन् र उनलाई थाहा थिएन अगाडि के हुँदैछ, त्यसैले उनी भीडलार्य घचेट्दै अगाडि बढ्न थालिन् । अगाडि बढ्दा उनी पछाडि हट्न थालेका मान्छेहरुसँग बारम्बार टकराउँथिन् । कोही निधार खुम्चाएर, टाउको झुकाउँदै गइरहेका थिए त कोही लज्जित भएर मुस्कुराउँदै थिए । कोही त्यस्ता पनि थिए, जो व्यङ्ग्यपूर्वक सिटी बजाउँदै थिए । आमाले ध्यानपूर्वक उनीहरुको अनुहारमा हेरिन्, उनीहरुका आँखामा जिज्ञासा, निवेदन, विनय सबै कुरा थियो … ।
“साथीहरु !” – पाभेलको स्वर सुनियो – “सिपाहीहरु पनि हामीजस्तै मान्छे हुन् । उनीहरुले हामीमाथि हात उठाउने छैनन् । किन हात उठाउने र ? मात्र यसनिमित्त कि हामी त्यो सच्चाइ लिएर जाँदैछौ, जसबारे सबैले थाहा पाउनुपर्छ । उनीहरुलाई पनि यही सच्चाइ आवश्यक छ । उनीहरुले अझ यो कुरा बुझिसकेका छैनन् तर त्यो समय छिटै आउनेछ, जब उनीहरु पनि हामीसँग एउटै पंक्तिमा खडा हुनेछन्, जब हतया र लुटको झण्डामुनि हाम्रो विरोध गर्नुको सट्टा स्वतन्त्रताको झण्डामुनि हामीसँग काँधमा काँध मिलाएर अगाडि बढ्नेछन् । उनीहरु यो सच्चाइ सकेसम्म छिटो बुझून् भन्नाखातिर हामीले निरन्तर अगाडि बढ्नुपर्छ । अगाडि बढ्नोस् साथीहरु ! एक पाइलो पनि पछाडि नहट्नोस् !”

पाभेलको स्वर दृढ थियो । उसका शब्दहरु उत्साहले भरिएका थिए । स्वर स्पष्ट थियो । तैपनि भीड तितरबितर हुँदै थियो । मान्छेहरु एकएक गरेर जुलुसबाट निस्कँदै थिए, कोही नजिकैका घरभित्र पस्तै थिए त कोही पर्खालनेर उभिँदै थिए । जुलुस अब अघिल्तिर पातलो र पछाडितिर चौडा हुँदै गइरहेका थियो । सबैभन्दा अगाडि पाभेल थियो, जसको टाउकोमाथि रातो झण्डा फरफराइरहेको थियो । त्यो जुलुस पखेटा फैलाएर उड्न तयार भएको कुनै कालो चराजस्तो देखिन्थ्यो, जसको टाउकोमा पाभेल उभिएको थियो … ।

प्रतिक्रिया
Loading...