१०

झण्डै दुई हप्ता बित्यो । मार्यिनोको जीवन आफ्नै स्वाभाविक ढङ्गले चलिरहेको थियो । आर्कादी ऐशआरामको जीवन बिताउँदै थियो त बाजारोभ काम गर्दथ्यो । घरमा उसप्रति सबै अभ्यस्त भइसकेका थिए र उसको बेवास्तापूर्ण व्यवहार, छोटाछरिता तथा अधूरा वाक्यहरू पनि सबैले पचाइसकेका थिए । खास गरी फेनेच्का त कतिसम्म उससित अभ्यस्त भइसकेकी थिई भने एकपल्ट मीत्यालाई एेठन हुँदा उसलाई राति नै ब्युँझाउन पठाइएको थियो । ऊ आयो, सधैं जस्तै केही ठट्टा गर्दै त केही हाई काढ्दै झण्डै दुई घण्टा जति उसैको कोठामा बसेर बच्चालाई चङ्गा तुल्याइदियो । परन्तु पाभेल पेत्रोभिच भित्री हृदयदेखि नै बाजारोभलाई घृणा गर्दथे र उसलाई दम्भी, नकच्चरो, पाखे र अनाडी ठान्दथे । बाजारोभ उनको कदर गर्दैन, कहाँसम्म भने उनको अर्थात्‌ पाभेल किर्सानोभलाई घृणासमेत गर्दछ भन्ने उनलाई लाग्दथ्यो । निकोलाई पेत्रोभिचलाई चाहिं यो युवा “नकारवादी” केही भयावह लाग्दथ्यो र आर्कादीउपर उसको गाढा प्रभावको बारेमा पनि उनी सन्देहशील थिए । जे भए तापनि उनी खुशीसाथ उसको कुरा सुन्थे र ध्यानपूर्वक उसका भौतिक एवं रासायनिक प्रयोगहरूको अवलोकन गर्दथे । बाजारोभले आफ्नो साथमा एउटा सूक्ष्मदर्शकयन्त्र ल्याएको थियो र घण्टौंसम्म त्यसमै हस्याङफस्याङ गरिरहन्थ्यो । नौकरचाकरहरु पनि उसित लहसिइसकेका थिए, यद्यपि तिनलाई चिढाउनमा नै उ मजा मान्दथ्यो । उनीहरूलाई के लाग्दथ्यो भने ऊ पनि उँनीहरूसरह नै छ, बाबुसाहेबजस्तो छैन । दुन्याशा रमाउँदै उससित खुलस्त हाँसो हाँस्थी र हस्याङफस्याङ गर्दै नजिकैबाट गुज्रेर जाँदा समेत रहस्यमय तरिकाले उसउपर कर्के आँखा लगाउँथी | प्योत्र, जो असाध्य नै घमण्डी र मूर्ख थियो, जो सदैव विचारमग्न भई निधार गाँठो पारेर बस्दथ्यो, जो कनीकुथी केही पढ्नवर्न सक्दथ्यो र अक्सर आफ्नो कोटमा बुरूस लगाउँथ्यो, त्यो प्योत्र समेत बाजारोभले आफूतर्फ ध्यान दिएको देखेर खुशीले गद्‌गद हुन्थ्यो र उसका बत्तीसै दाँत झलमल्ल भएर टल्केका देखिन्थे । उसको एक मात्र खूबी के थियो भने उ विनग्नता प्रदर्शन गर्न जान्दथ्यो । अनि नोकरचाकरका केटाकेटीहरू त कुकुरका छाउराझैँ “डाक्टरसाप” को पछिपछि दगुरिरहेका हुन्थे । केवल बूढा प्रोकोफियच उसलाई मन पराउँदैनथ्यो, नियास्रो मुख लगाएर उसलाई खाना थपिदिन्थ्यो, उसलाई “बगरे” र “लुच्चा” भन्दथ्यो र उसका गालेजुँगातर्फ संकेत गर्दै ऊ झ्याङपछिल्तिर लुकेको सुँगुर नै हो भनेर विश्वास दिलाउँथ्यो । प्रोकोफि्यच आफ्नै पाराले हूबहू रईस थियो र कुनै कुरामा पनि पाभेल पेत्रोभिचभन्दा कम थिएन ।

वर्षका सबभन्दा रमाइला दिनहरू आए -जून महिनाका प्रारम्भिक दिनहरु । मौसम ज्यादै राम्रो। थियो । सत्य हो, हैजाको महामारी फेरि चम्कने केही खतरा अवश्य थियो परन्तु _ गुबेर्नियाका बासिन्दाहरूलाई त्यसको आगमनको बानी परिसकेको थियो । बाजारोभ एकाबिहानै उठ्थ्यो र दुई-तीन भेर्स्तासम्म पैदल यात्रा गर्दथ्यो – घुम्न भनेर होइन, बरू जरीबूटी र कीराफटेङ्ग्रा बटुल्न, किनकि निरूद्देश्य घुमफिर गर्नु उसलाई असह्य हुन्थ्यो ! यदाकदा आर्कादीलाई पनि ऊ साथमा लान्थ्यो । फर्कदाखेरि प्रायः कुनै न कुनै बहस छिड्थ्यो र आर्कादीले नै प्रायः पराजीत हुनुपर्दथ्यो, यद्यपि आफ्नो मित्रको तुलनामा उ नै बढी बोल्दथ्यो ।

एकपल्ट उनीहरू धेरै बेरसम्म पनि फर्केनन्‌ । निकोलाइ पेत्रोभिच उनीहरूलाई बोलाउन भनी बगैंचातिर गए र निकुञ्जनेर पुग्दा नपुग्दै एकाएक छिटोछिटो हिंडेको पदचाप र दुवै युवकहरूको स्वर पनि उनले सुने । उनीहरू निकुञ्जको अर्को पट्टि हिडिरहेका थिए र निकोलाइ पेत्रोमिचलाई देख्न सक्तैनथे ।

“मेरा पिताजीलाई तिमीले राम्ररी चिनिसकेकै छैनौ ।” -आर्कादी भन्दै थियो । निकोलाइ पेत्रोमिच लुकिहाले ।

“तिम्रा पिताजी ज्यादै सज्जन छन्‌ ।” -बाजारोभले भन्यो । -तर उनी अवकासप्राप्त मान्छे हुन्‌ । उनको समय बितिसक्यो ।”

निकोलाइ पेत्रोभिचले कान ठाडो पारे _ आर्कादी मौन थियो ।

“अवकासप्राप्त मान्छे” अर्थात्‌ निकोलाइ पेत्रोमिच दुई मिनेट जति निश्चल भई उभिरहे अनि बिस्तारै घरतिर लागे ।

“अस्तिको कुरो हो । पुश्किन पो पढिरहेका थिए उनी !” -बाजारोभले कुरा जारी राख्यो । -“यो काम लाग्ने कुरा होइन भनेर तिमी उनलाई सम्झाऊ ! आखिर उनी ठिटा त हैनन्‌ नि ! अब त उनले यस्ता वाहियात कुराहरु त्याग्नुपर्छ । हाम्रो समयमा पनि यस्तो रोमान्टिक बन्ने चाहना ! उनलाई केही गहकिलो कुरा पढ्न दे न !”

“के दिने ?” -आर्कादीले सोध्यो ।

“मलाई लाग्छ, शुरूमा ब्युखनरकै “stoff und kraft” पदार्थ र शक्ति ठीक हुन्छ होला !”

“मलाई पनि यस्तै लाग्छ ।” -आर्कादीले सहमति जनायो । -“stoff und kraft”सुबोध शैलीमा लेखिएको छ ।”

“थाहा छ, अब हामी के बन्यौ ?” -त्यसै दिन खाना खाइसकेपछि आफ्नो दाजुको अध्ययनकक्षमा बसेर उनलाई निकोलाइ पेत्रोभिचले भने । -“अवकासप्राप्त मान्छे । हाम्रो समय बितिसक्यो रे ! कुन्नि ? हुन सक्छ, बाजारोभ नै सही होला । तर एउटा कुराको मलाई ठूलो दुःख छ: अब आर्कादीसित घनिष्ठ रुपले, हेलमेल बढाउँला भन्ने आशा थियो तर आफू त पछाडि परिसकेको पो रहेछु । ऊ निकै अगाडि बढिसक्यो र हामी एक दोस्रोलाई राम्रोसँग बुझ्न समेत नसक्ने भइसकेछौं ।”

“ऊ अगाडि बढिसक्यो भन्ने किन सोच्यौ ?” कुन कुरामा उ हामीभन्दा ज्यादा फरक छ र ?” -पाभेल पेत्रोभिचले अधीर हुँदै सोधे । -उसको मथिङ्गलमा यो सब बकबास त्यही महानुभावले कोचिदिएको हो -त्यही नकारवादीले ! त्यस डाक्टरलाई त म फुटेको आँखाले पनि हेर्न सक्तिनँ । मलाई लाग्छ, त्यो एक नम्बरको ठग हो | मलाई पूरा विश्वास छ, भ्यागुताहरूको चिरफार जतिसुकै गरे तापनि भौतिकशास्त्रमा उसले कुनै पारङ्गति पाउन सकेको छैन ।”

“अहँ, दाजु ! त्यसो नभन्नोस्‌ ! बाजारोभ चलाख र पढैया छ ।”

“घृणास्पद रूपमा अहङ्कारी पनि !”. -पाभेल पेत्रोभिचले बीचैमा कुरा काटेर भने ।

“हो !” निकोलार्इ पेत्रोभिचले सहमति जनाए । “अलि घमण्डि त छ । परन्तु यो आवश्यक शायद ! तैपनि एउटो कुरो म बुझ्नै सकिरहेको छैन । लाग्छ, समयसित तालमेल मिलाउन भनेर मैले गर्न बाँकी केही राखेको छैन : भुदासहरूलाई अमलेख गरिदिएँ, कृषिफार्म पनि खोलें, कहाँसम्म भने सारा गुर्बेनियाभरि नै मलाई उग्र भन्ने विशेषण दिइएको छ | म पढ्छु, अध्ययन गर्छु, समष्टिमा वर्तमान जीवनका मागहरूको स्तरमा रहने प्रयत्न गर्दछु तर मेरो समय ढल्किसक्यो भनेर उनीहरू भन्दछन्‌ । सत्य, दाजु ! मैले स्वयं पनि यस्तै सोच्न थालेको छु ।”

“यस्तो किन नि ?”

“यो किन रे ! आज म बसेर पुश्किनको काव्यकृति पढ्दै थिए । जहाँसम्म मलाई सम्झना छ, जिप्सी मेरो हातमा थियो _ त्यसै बखत अचानक आर्कादी मनेर आयो र अनुहारमा स्नेहपूर्ण दुःखको भाव झल्काउँदै मानौँ एक निरीह बालकको हातबाट झैं चूपचाप मेरो हातको किताब बिस्तारै थुत्यो र मेरो अगिल्तिर अर्को, जर्मन भाषाको किताब थपक्क राखेर मुस्कुरायो र हिंड्यो । पुश्किनको किताब पनि उसले साथैमा लिएर गयो ।”

“यस्तो पो ! कुनचाहिँ किताब दियो नि उसले ?”

“यो चाहिं !”

“निकोलाइ पेत्रोमिचले आफ्नो पछिल्तिरको गोजीबाट ब्यूखनरको कुख्यात पुस्तिकाको नवम संकरण झिकेर अगिल्तिर सारे ।

पाभेल पेत्रोभिचले त्यसलाई हातमा लिएर वल्टाईपल्टाई हेरे ।

“म्ह !” -उनी गुनगुनाए । -“आर्कादी निकोलायेभिचले तिम्रो शिक्षादीक्षामा ध्यान दिन थालेको छाँट छ । के त, तिमीले यसलाई पढ्ने कोशिश गर्यौ ?”

“गरेँ !”

“कस्तो लाग्यो ?”

“कि त म मूर्ख हुँ, कि त यो सब बकबास हो । सके म नै मूर्ख हुँ क्यारे !”

“जर्मन भाषा त तिमीले बिर्सेका छैनौ के ?”

“अहँ ! जर्मन भाषा बुझ्दछु !”

पाभेल पेत्रोभिचले फेरि किताब हातमा लिएर वल्टाईपल्टाई हेरेर भाइतर्फ कर्के नजर दिए | दुवै मौन रहे |

“अँ, सम्झना भयो ।” -निकोलाइ पेत्रोभिचले सके विषय फर्ने उद्देश्यले भन्न शुरू गरे । “मैले कोल्याजिनको पत्र पाएको छु ,।”
“मात्भेइ इल्यीचबाट ?”

“हो । गुबेर्नियाको निरीक्षण गर्न ऊ _ मा आएको छ । अब उ एक ठूलै मान्छे बनिसक्यो । नातेदारको हैसियतले हामीसित भेटघाट गर्न चाहन्छु भनी उसले लेखेको छ । उसले हामी दुवै जनालाई र आर्कादीलाई पनि शहरमै निम्त्याएको छ ।”

“तिमी जाँदैछौ त ?” -पाभेल पेत्रोमिचले सोधे ।

“अहँ ! तपाईं नि ?”

“मपनि जान्नँ । के बितेको छ र पचास भेर्स्तासम्मको धूलो निल्नु बिनसित्तै ! Mathieu हामीलाई आफ्नो सारा रोबरवाफ देखाउन चाहन्छ भर्सेलोमै परोस्‌ ऊ ! हामी नभए पनि उसको जी-हजूरी गर्नेहरूको त्यहाँ कमी हुनेछैन | कति नै ठूलो पद हो र, स्वकीय परामर्शदाता ! मैले जागिर नछाडेर त्यही मूर्खतापूर्ण जुआमा नारिएर बसेको भए अहिलेसम्म म ऐटन-जर्नेल बनिसक्थें । जे जसो भए पनि अब हामी अवकासप्राप्त मान्छे भइहाल्यौं !”

“हो, दाजु ! लाग्छ, अब आफ्नो लागि शवपात्रको बन्दोबस्त गर्नुपर्ला र छातीमा हातको क्रस बनाएर पल्टिनुपर्ला !” -निकोलाइ पेत्रोभिचले लामो सुस्केरा हाल्दै भने ।

“अहँ ! म यति सजिलैसित घुँडा टेक्न राजी हुनेछैन ।” -उनका दाजु गुनगुनाउँदै बोले ।- “त्यस डाक्टरसित मेरो भिडन्त नै पर्ने होला ! यस्तै लागिरहेछ मलाई त ।”

त्यसै दिन साँझ चियापानका बखत भिडन्त भइहाल्यो । पाभेल पेत्रोमिच भिडन्तको लागि तयार भएर बैठककोठामा पसे – उत्तेजित हुँदै तर दृढनिश्चयसाथ ! शत्रुमाथि जाई लाग्न उनलाई कुनै एउटा निहुँमात्र चाहिएको थियो तर निहुँ भेट्टाउन निकै समय लाग्यो | “बूढा किर्सानोभहरू” (दुवै दाजुभाइलाई उसले यस्तो नाम दिएको थियो) उपस्थित रहँदा बाजारोभ सामान्यतया ज्यादा बोल्दैनथ्यो । त्यस साँझ उसको मन केही खिन्न थियो र ऊ चुपचाप एकपछि अर्को प्याला चिया पिउँदैथियो । पाभेल पेत्रोमिच अधीर भएर भित्रभित्रै मुर्मुरिइरहेका थिए । अन्त्यमा उनको चाहना पूरा भयो ।

छिमेककै एक बिर्तावालको चर्चा-चल्यो । बाजारोभले उसलाई पेतेरबुर्गमा भेटेको थियो | हेलचक्याइँका साथ उसले टिप्पणी गर्यो :

“कसिङर, ढोंगी रईस !”

“एउटा प्रश्न सोध्ने अनुमति दिनोस्‌ !” -पाभेल पेत्रोभिचले ओठ कपाउँदै भन्न शुरू गरे । “तपाईंको धारणाअनुसार ‘कसिङ्गर’ र ‘रईस’ पर्यायवाची शब्द हुन्‌ कि ?”

“मैले ‘ढोगी रईस’ भनेको हुँ ।” -आलस्य भावले चियाको चुस्की लिंदै बाजारोभले जवाफ दियो |

“ठीक हो ! तर मलाई लाग्छ, रईसहरूको बारेमा पनि तपाईंको धारणा यस्तै छ जस्तो ढाँगी रईसहरूको बारेमा छ | तपाईंलाई कुन कुरा बताउनु म आफ्नो कर्तव्य ठान्छु भने यस्तो धारणासित म सहमत छैन | के पनि भन्ने धृष्टता गर्छु भने मलाई सबैले, उदार र प्रगतिप्रेमी मान्छेको रूपमा चिनेका छन्‌ । खास यसै कारण म र्‌ईसहरूको कदर गर्छु, सच्चा रईसहरूको । सम्झनोस्‌, महाशय !”-

(यी शब्दहरू सुन्नेबित्तिकै पाभेल पेत्रोभिचतर्फ बाजारोभले आफनो नजर दियो), “अँ, सम्झनोस्‌, महाशय,” -उनले कटुतापूर्वक दोहोर्याए -“अंग्रेज रईसहरूलाई ! उनीहरू रत्तिभर पनि आफ्नो, अधिकार छाड्दैनन्‌ र त्यसैले गर्दा अरूको अधिकारको पनि कदर गर्दछन्‌ । आफूप्रति दायित्वको उनीहरू अरूबाट माग गर्दछन्‌ र त्यसैले गर्दा अरू प्रति आफ्नो दायित्वको पनि पालना गर्दछन्‌ । रईसहरूले नै बेलायतलाई स्वतन्त्रता दिए र उनीहरू नै त्यसको रक्षा पनि गर्दछन्‌ ।”

“यो राग हामीले कैयौंपल्ट सुनिसकेका छौं ।” -बजारोभले असहमति प्रकट गर्यो । -तर यसबाट तपाईं के सिद्ध गर्न चाहनुहुन्छ ?”

“इसबाट म के सिद्ध गर्न चाहन्छु भने, महाशय,” – (जतिखेर पाभेल पेत्रोभिच रिसाएका हुन्थे त्यस बखत जनाजानी नै ‘इसबाट’ र ‘इसले’ भन्न थाल्दथे, यद्यपि यसरी व्याकरणका नियमहरू भङ्ग हुन्छन्‌ भन्ने उनलाई राम्रै थाहा थियो । उनको यस्तो सनक सम्राट्‌ अलेक्सान्द्रका पालाको परम्पराकै अवशेष थियो । त्यसताका ठूलाबडाहरू जब विरलै अवसरहरूमा मातृभाषामा कुरा गर्न थाल्दथे त्यस बेला कोही ‘इसले’ त कोही ‘एफले’ जस्ता विकृत शब्दहरूको प्रयोग गर्दथे, मानौं भन्न खोजेका होउन्‌ : हामी झर्रा रूसी भए तापनि ठूलाबडा हौं जसलाई स्कुलमा पढाइने व्याकरणका नियमहरूको उल्लंघन गर्ने छूट छ), -“अँ, म इसबाट के सिद्ध गर्न चाहन्छु भने जबसम्म मान्छेमा आत्मसम्मान र आत्मगौरवको भावना हुँदैन – रईसहरूमा यी भावनाहरू विकसित छन्‌-तबसम्म सामाजिक bien public – – सामाजिक कल्याण) सामाजिक भवनको कुनै जब्बर जग हुन सक्दैन । व्यक्तित्व नै, महाशय, मुख्य कुरा हो । मनुष्यको व्यक्तित्व चट्टानझै जब्बर हुनुपर्छ, किनभने त्यो नै यस्तो जग हो जसमाथि सम्पूर्ण कुराको निर्माण हुन्छ । उदाहरणस्वरूप, मलाई राम्रो थाहा छ, मेरो बानीबेहोरा, मेरो पहिरन, मेरो सुध्घरसफाइसमेत तपाईंलाई हास्यास्पद लाग्छ । परन्तु यी सब आत्मसम्मानको भावना, कर्तव्यको भावना, हो-हो, साहेब, कर्तव्यबोधको द्योतक हो । म गाउँमा, अनकन्टार ठाउँमा, बस्दछु किन्तु म आफ्नो आत्मसम्मानमा ठेस लाग्न दिन्नँ । म आफूमा मानवको सम्मान गर्दछु ।”

“माफ गर्नोस्‌, पामेल पेत्रोभिच !” -बाजारोभ बोल्यो । “तपाईं आत्मसम्मानको गफ हाँक्नुहुन्छ तर हात बाँधेर बस्नुहुन्छ । यसबाट bein public लाई के काम ? आत्मसम्मानबेगर पनि त तपाई यो गर्न सक्नुहुन्छ ।”

पाभेल पेत्रेभिचको मुहार फुङ्ग भयो ।

“यो एकदमै अर्को कुरा हो । तपाईंले भन्नु भएझै म हात बाँधेर किन बसेको छु भन्ने अहिले तपाईंलाई बताउने चाहना छैन । म यति मात्र भन्न चाहन्छु, कुलीनता एउटा सिद्धान्तको कुरा हो र केवल अनैतिक अथवा खोक्रा मान्छेहरु मात्र अचेल सिद्धान्तबेगर पनि जिउन सक्दछन्‌ । आर्कादी यहाँ आइपुगेको भोलिपल्टै यो कुरा मैले उसलाई भनेको थिएँ र यही कुरा अहिले तपाईंलाई पनि भन्दैछु । कसो, ठीक हैन त, निकोलाइ ?”

निकोलाइ पेत्रोभिचले टाउको हल्लाएर सहमति जनाए |

उदारता, प्रगति, सिद्धान्त, -बीचैमा बाजारोभ भन्न लाग्यो,- “उहु ! कतिबिघ्न विदेशी बेकम्मा शब्दहरू ! रूसी मान्छेलाई सित्तैमा पनि तिनको आवश्यकता छैन !”

“त्यसो हो भने तपाईंको विचारमा, उसलाई कुन रोगको आवश्यकता छ ? तपाईंको भनइअनुसार त मानौं हामी मानवजातिबाट, उसको विधिविधानबाट बाहिर पर्दछौं । महाशय, इतिहासको तर्क कस्तो छ भने _”

“कसलाई चाहिया छ र तपाईंको तर्क ? त्यसबेगर पनि हाम्रो काम चलिराखेकै छ ।”

“त्यो कसरी ?”

“त्यसरी नै । मलाई विश्वास छ, भोक लागेको बेला मुखमा एक टुक्रा रोटी कोच्न तपाईंलाई कुनै तर्कको जरूरत पर्दैन | यस्ता फोस्रा तर्कहरूको हामीलाई के प्रयोजन र !”

पाभेल पेत्रोमिचले हात हल्लाए ।

“यसपछि त म तपाईंलाई बुझ्नै सक्तिनँ । तपाईं रुसी जनताको अपमान गर्नुहुन्छ । सिद्धान्तहरू र नियमहरू कसरी अमान्य हुन सक्छन्‌ ? यो कुरा बुझ्न म असमर्थ छु । आखिर कुन कुराबाट तपाईं प्रेरणा प्राप्त गर्नुहुन्छ ?”

“मैले हजूरलाई बताइसकें नि, ठूल्बा ! हामी आप्तवचनलाई प्रमाण मान्दैनौं ।” -आर्कादीले बहसमा हस्तक्षेप गर्यो |

“जुन कुरा उपयोगी ठान्दछौं त्यसैबाट प्रेरणा लिन्छौं ।” -बाजारोभले भन्यो । -“आजकाल खण्डन नै सबभन्दा उपयोगी छ र हामी खण्डन गर्दछौं ।”

“सब कुराको ?”

“हो, सब कुरा हो ।”
“के रे ? कला र काव्यको मात्र नभई _ अझ _ अहो ! भन्न समेत जिब्रो चल्दैन ।”

“हो सबका सब कुराको ।” -बाजारोभले अकथनीय तवरमा शान्त भएर दोहोर्यायो ।

पाभेल पेत्रोभिच उसलाई क्वारक्वार्ती हेरिरहेका थिए | उनले यस्तो कुराको प्रतीक्षा नै गरेका थिएनन्‌ । आर्कादीचाहिं हर्षले रक्तिम हुन पुग्यो ।

“तर या त बताउनोस्‌ !” -निकोलाइ पेत्रोभिचले भने । -“तपाईं सब कुराको खण्डन गर्नुहुन्छ, अथवा भनौं, सब कुराको विध्वंश गर्नुहुन्छ _ केही न केही निर्माण गर्नु पनि त जरूरी छ !”

“यो हाम्रो काम होइन – सर्वप्रथम ठाउँ सफा गर्नुपरेको छ ।”

“जनताको वर्तमान अवस्थाले यस्तै माग गर्दछ ।” -आर्कादीले महत्वपूर्ण पाराले थप्यो । -“हामीले यो माग पूरा गर्नुपरेको छ । आफ्नो निजी स्वार्थपूर्तिमा संलग्न रहने हामीलाई अधिकार छैन ।”

आर्कादीको अन्तिम वाक्य सके बाजारोभलाई मन परेन । त्यसमा दर्शन अर्थात्‌ रोमाण्टिकताको गन्ध थियो । बाजारोभ दर्शनलाई पनि रोमाण्टिकताकै संज्ञा दिन्थ्यो । तै पनि उसले आफ्नो युवा शिष्यको आलोचना गर्नु आवश्यक ठानेन ।

“अहँ, होइन !” -पाभेल पेत्रोभिच एकाएक उत्तेजित हुँदै कराए । -“तपाईं, महानुभाव, रूसी जनतालाई सही रूपमा बुझ्नुहुन्छ र उसका आवश्यकता तथा आकांक्षाको प्रतिनिधित्व गर्नुहुन्छ भन्ने म पत्याउन चाहन्नँ ! अहँ, रूसी जनता त्यस्तो छँदैछैन जस्तो तपाईं कल्पना गर्नुहुन्छ । ऊ परम्पराप्रति श्रद्धाभाव राख्छ, पितृसत्तात्मक छ र आस्थाबेगर जिउन समेत सक्दैन । ”

“म यस कुराको खण्डन गर्दिनँ ।” -बाजारोभले बीचैमा कुरा काटेर भन्यो । “तपाईंको यो कुरा सही हो भन्ने स्वीकार गर्न समेत म तयार छु ।”

“मेरो कुरा नै सही हो भने _”

“जे भए पनि यसबाट केही सिद्ध हुँदैन ।”

“हो, केही पनि सिद्ध हुँदैन | -आर्कादीले पनि त्यस्तै दृढताका साथ दोहोर्यायो जसरी बुद्धिचालको अनुभवी खेलाडी आफ्नो प्रतिद्वन्द्वीको सम्भवतः ज्यादै खतरनाक चालको पहिलेबाटै अनुमान लगाउन सक्षम हुँदा अलिकति पनि विचलित हुँदैन ।

“केही पनि कसरी सिद्ध हुँदैन ?” -पाभेल पेत्रोभिच अचम्म पर्दै गुनगुनाए । “मतलब, तपाईं आफ्नै जनताको विरोध गर्नुहुन्छ ?”

“यस्तै भए पनि के त ?” -बाजारोभले उल्टै प्रश्न गर्यो । -“मेघ गर्जेको सुन्दा पैगम्बर इल्याले आकाशमा आफ्नो रथ दगुराइरहेका छन्‌ भन्ने जनताले विश्वास गर्दछ । के त ? के मैले उनीहरूसित सहमत हुनैपर्छ र ? हो, उनीहरू रूसी हुन्‌ तर के म रूसी होइन र ?”

“अहँ, भर्खरै जे भन्नुभयो त्यसपछि रूसी रहनुभएनं ! तपाईंलाई म रूसी मान्न सक्तिनँ !”

“मेरा बाजे हलो जोत्थे ।” बाजारोभले अभिमानपूर्ण गर्वका साथ भन्यो ।

“आफ्नै खेतीवालहरूमध्ये जोसुकैसित सोधिहेर्नोस ! हामी मध्इ कसलार्इ ऊ आफ्नो देशवाशी मान्न तयार हुँदोरहेछ तपार्इँलार्इ कि मलार्इ ? उसीत कुरा गर्ने समेत तपार्इँको ढंग पुग्दैन ।”

“तर तपाईंचाहिं उससँग कुरा पनि गर्नुहुन्छ र यसको साथसाथै उसलार्इ घृणा पनि गर्नुहुन्छ ।”

“जरूर, यदि उ घृणा गर्न लायक छ भने ! मेरो दृष्टिकोणको तपाईं विरोध गर्नुहुन्छ तर मैले त्यसलाई संयोगवश मात्रै ग्रहण गरेको छु भनेर तपाईंलाई कसले भन्यो ? जसको तपाईं यति बिघ्न वकालत गर्नुहुन्छ त्यही लोकभावनाबाट नै त्यो प्रादुर्भाव भएको होइन र ?”

“हो त नि ! खूब खाँचो छ नकारवादीहरू को !”

“खाँचो होस्‌ कि नहोस्‌ – हामीले निर्णय लिने कुरा होइन यो ! आफूलाई पनि त तपाईं उपयोगी नै ठान्नुहुन्छ ।”

“महानुभाव हो ! कृपया व्यक्तिगत आक्षेप नलगाउनुहोस्‌ !” -आफ्नो आसनबाट उठ्दै निकोलाइ पेत्रोभिचले ठूलो स्वरले भने ।

पाभेल पेत्रोभिच मुस्कुराए र भाइको काँधमा आफ्नो हात राख्दै उनलाई फेरि बस्न बाध्य गरे |

“चिन्ता नगर !” -उनले भाइलाई भने । -“जसको निर्मम हाँसो यी महाशय
_ श्रीमान्‌ डाक्टर उडाउँदैछन्‌ खास त्यही आत्मसम्मानको भावनाले गर्दा म आफ्नो संयम कदापि गुमाउने छैन । कृपया अनुमति दिनोस्‌ !” -बाजारोतर्फ फर्केर उनले आफ्नो भनाइ फेरि जारी राखे | -“सके तपाईं आफ्नो यस सिद्धान्तलाई नयाँ ठान्नुहुन्छ क्यारे ? व्यर्थमा तपाईं यस्तो सोच्नुहुन्छ । जुन भौतिकवादको तपाईं प्रचार गर्नुहुन्छ सो एकपल्ट होइन, अनेकपल्ट चलनचल्तीमा आएको थियो तर सधैं नै त्यो क्षणभङ्गुर रह्यो –

“फेरि पनि परचक्री शब्द !” -बाजारोभ बीचैमा बोल्यो । उसमा अब क्रोध उम्लन थालिसकेको थियो र उसको अनुहार पनि रन्केर एकतमासको ताम्ररङग देखिन थालेको थियो । -“पहिलो कुरा त के भने हामी कुनै प्रचार-स्रचार गर्दैनौ, यस्तो चलन हामीसित छैन -”

“त्यसो भए तपाईं के गर्नुहुन्छ त ?”

“ध्यानपूर्वक सुन्नु त होस्‌ ! पहिले, केही समयअघि मात्रै पनि हामी भन्दथ्यौः हाम्रा पदाधिकारीहरू घूस खान्छन्‌, हामीकहाँ न बाटोघाटो छ, न बन्दव्यापार, न न्यायनिसाफ -”

“हो, ठीक हो ! जरूर, तपाईंहरू, जहाँसम्म मलाई लाग्छ, लाञ्छनाकार, हुनुहुन्छ । तपाईंहरूका अधिकांश लाञ्छनाहरूसित म सहमत पनि छु तर-”

“तर पछि हामीले के चाल पायौं भने आफ्ना दोषहरूको बारेमा बकमफुस कुरामात्र गर्नु व्यर्थ छ र यसबाट फोस्रो मतवादिता र के कोरा सिद्धान्तवादसिवाय अरू केही पनि हात लाग्न सक्तैन । हामीले के देख्यौ भने हाम्रा बुज्रुगहरू, तथाकथित अग्रणीहरू र लाञ्छनाकारहरू कुनै कामका छैनन, कला अवचेतन सृजना, संसदवाद, वकालत र यस्तैउस्तै कैयौं कुराहरूको बारेमा फोस्रो गफ हाँकेर हामी व्यर्थै समय र शक्तिको अपव्यय गर्दैछौं, जब मुख्य प्रश्न एक टुक्रा रोटीको छ, जब घोर अन्धविश्वासले हाम्रो घाँटी निमोठिरहेको छ, जब इमान्दार मानिसहरूको अभावले गर्दा नै हाम्रा सबै संयुक्त पूँजी निकायहरूको टाट उल्टिरहेको छ, जब जुन स्वतन्त्रताको लागि सरकारले यतिबिघ्न प्रयत्न गरिरहेको छ त्यसद्वारा पनि हाम्रो भलो होला भन्ने कुनै यकीन छैन, किनभने भट्टीपसलमा गएर रक्सी घुट्क्याई नशामा मस्तसित डुब्नमात्र पाइने हो भने हाम्रो किसान खुशीसाथ आफ्नो घरबारसमेत होम्न तयार हुनेछ ।”

“अँ !” -पाभेल पेत्रोभिचले बीचैमा भने । -“अँ, यी सब कुराहरूमा विश्वास भएपछि तपाईंहरूले कुनै कुरामा पनि गम्भीरतापूर्वक हात नहाल्ने अठोट गर्नुभयो, हैन ?”

“हो, कुनै कुरामा पनि कदापि हात नहाल्ने निश्चय गर्यौ ।” -बाजारोभले खिन्न हुँदै दोहोर्यायो । :

यस साहेबको सामुन्ने किन यसरी अनियन्त्रित रूपमा कुरा फुस्काइयो भन्ने बुझेर उसलाई एकाएक आफूप्रति नै झसङ्ग रीस उठ्यो ।

“झपार्ने मात्र त ?”

“हो, झपार्ने !”

“के यसैलाई भन्दछन्‌ नकारवाद ?”

“हो, यसैलाई नकारवाद भन्दछन्‌ ।” -बाजारोभले यसपटक विशेष उद्दण्डतापूर्वक दोहोर्यायो ।

पाभेल पेत्रोभिचले आँखा केही खुम्च्याए ।

“कुरो यस्तो पो !” -उनले एकदमै शान्त स्वरमा भने । -नकारवाद नै सर्वदुःख निवारणकर्ता हो र तपाईं, तपाईंहरू हाम्रा मुक्तिदाता र वीर नायक हुनुहुन्छ । तर किन तपाईंहरू अरूको, भनौं, तिनै लाञ्छनाकारहरूको भर्त्सना गर्नुहुन्छ ? के तपाईंहरू पनि ती सबैले जस्तै बकबास गर्नुहुन्न र ?”

“हामीमा अरू दोष भलै होलान्‌ तर यो दोषचाहिँ छैन ।” -बाजारोभले अनिच्छापूर्वक भन्यो।

“के त ? तपाईंहरू केही गर्नु पनि हुन्छ कि ? केही गर्ने विचार छ कि ?”
बाजारोभले कुनै उत्तर दिएन । पाभेल पेत्रोभिच जुर्मुराए तर तत्कालै उनले आफूलाई काबूमा राखे ।

“हुँ ! भत्काउनु , भाँच्नु….।” उनी भन्दैथिए । “तरर यसो गर्नु किन आवश्यक छ भन्ने थाहा नै नभई भाँच्नु-भत्काउनु कसरी सम्भव हुन्छ ?”

“हामी भाँच्छौं-भत्काउँछौ, किनकि हामी एक शक्ति हौं ।” -अर्कादीले भन्यो |

पाभेल पेत्रोभिच आफ्नो भतिजातर्फ पुलुक्क हेर्दै फिसिक्क हाँसे ।

“हो, एक शक्ति – एक अगम शक्ति !” -आङ सोझ्याएर आर्कादीले दोहोर्यायो ।

“हे, अभागी ।” -पाभेल पेत्रोमिच जोडले कराए | संयम कायम राख्ने स्थितिमा-उनले आफूलाई पाएनन्‌ । -“अलिकति त सोच्‌ ! आफ्नो यस घिनलाग्दो सूक्तिद्वारा रूसमा तँ कुन कुराको समर्थन गर्दैछस्‌ !. हेर्‌ ! तेरो यस्तो कुराले त देवदूतको समेत धैर्य टुट्न सक्छ ! शक्ति ! जङ्गली काल्मीकहरूमा र मङ्गोलहरुमा पनि शक्ति छ तर कसलाई चाहिएको छ त्यो शक्ति ? हामीलाई सभ्यता प्यारो छ ! बुझ्नुभो, महाशय, हामीलाई सभ्यताको सुफल पनि प्यारो छ | यी फलहरु नगण्य छन्‌ भनेर मलाई नभन्नोस्‌ ! गएगुजरेको चित्रकार, un barbouilleur लेखनदास) र साँझभरिमा पाँच कोपेकमात्र पाउने पेनोवादकसमेत तपाईंहरूभन्दा ज्यादा उपयोगी छन्‌, किनभने उनीहरू सभ्यताका प्रतिनिधि हुन्‌, बर्बर मङ्गोल शक्तिका होइनन्‌ । तपाईंहरू आफूलाई प्रगतिशील मान्छे ठान्नुहुन्छ । शक्ति ! ए, शक्तिशाली महानुभाव हो, कुन कुरा पनि नबिर्सनुहोला भने तपाईंहरूलाई औंलामा गन्न सकिन्छ तर अर्कोतिर लाखौंलाख मानिस छन्‌ | उनीहरूले कहिल्यै पनि आफ्ना पवित्र आस्था र विश्वासहरूलाई तपाईंहरूका पैतालामुनि पर्न दिनेछैनन्‌, बरू तपाईंहरूलाई नै कुल्चेर धूलोपीठो पारिदिनेछन्‌ !”

“के रे ? के त तपाईंहरू सम्पूर्ण जनतालाई दबाउन सकिन्छ भन्ने पक्का विश्वास गर्नुहुन्छ ?” –

“तपाईंलाई थाहै छ, आगोको एक फिलिङ्गोद्वारा पूरै मास्को जलेको थियो ।” -बाजारोभले उत्तर दियो |

“बुझें, बुझे ! शुरूमा शैतानको जस्तै घमण्ड, त्यसपछि हरेक कुराको उछिततो ! यस्तो छ- युवावर्गको चाला ! यही हो -अनुभवशून्य ठिटाहरूको हृदय जित्ने साधन ! हेर्नोस्‌, तिनैमध्येको एक तपाईंकै बगलमा विराजमान छ । कृपया त्यसतर्फ दृष्टि दिनुहोस्‌ ! त्यो तपाईंको पाउमा परेर भक्तिभाव प्रदर्शन गर्न तयार छ | (आँखीभौ खुम्च्याउँदै आर्कादीले अर्कोतिर मुख फर्कायो |) “यो महामारी निकै टाढाटाढासम्म फैलिसकेको छ | रोममा हाम्रा चित्रकारहरु भ्याटिकानमा गोडै हाल्दैनन्‌ भन्ने मैले सुनेको छु । राफाएललाई उनीहरू पटमूर्ख ठान्दछन्‌, किनभने उ सुप्रतिष्ठित चित्रकार हो, तर आफू भने अत्यन्तै कमजार र नालायक छन्‌ । उनीहरूको कल्पना जतिसुकै माथापच्चिसी गरे पनि “फोहरानेर युवती” भन्दा टाढा पुग्नैसक्तैन ! युवतीको चित्रण पनि ज्यादै भद्दा छ । तपाईंको विचारमा ती प्रशंसनीय छन्‌, हैन त ?”

“मेरो विचारमा,” -बाजारोभले भन्यो” “राफाएल एक फुकादामको पनि छैन र अरू पनि उसभन्दा उत्कृष्ट हैनन्‌ !”

“वाह ! वाह ! सुन्यौ, आर्कादी आजका नवयुवकहरूले यसरी कुरा गर्नुपर्छ ! अनि उनीहरूले तिमीहरूको अनुकरण किन नगर्ने र ।? पहिले युवाहरूले पढ्नु-गुन्नुपर्दथ्योः कसैले आफूलाई अनाडी नठानोस्‌ भनेर उन्नीहरूले खूब मेहनत गर्नुपर्थ्यो । परन्तु अब त यत्तिकै भन्न जाने पुग्छ ; सब कुरा बकबास हो ! बस्‌, काम चलिहाल्छ । नवयुवकहरूको खुशीको ठेगाना छैन । साँच्चै भन्ने हो भने पहिले ती बुद्ध भनिन्थे भने अहिले एकाएक नकारवादी बन्न पुगेका छन्‌ ।”

“आत्मगौरवको जुन भावनाको तपाईं प्रशंसा गर्दै हुनुहुन्थ्यो त्यसले तपाईंलाई धोका दिएजस्तो छ ।” -बाजारोभले शान्त स्वरमा टिप्पणी गर्यो तर आर्कादी रनक्क रन्किइसकेको थियो र उसका आँखा टल्किरहेका थिए । “लाग्छ, हाम्रो बहस निकै पर पुगिसक्यो _ यसलाई रोक्नु नै राम्रो होला ! जे होस्‌ ।” – आसनबाट उठ्दै उसले अगाडि थप्यो । -“म त्यतिखेर तपाईंसित” सहमत हुन तयार छु जब हाम्रो वर्तमान जीवनको पारिवारिक अथवा सामाजिक क्षेत्रमा एउटामात्र पनि यस्तो संस्था तपाईंले देखाइदिनुहुनेछ जसको पूर्ण र निर्णायक रूपले नकार गर्ने आवश्यकता नहोस्‌ !”

“एउटा मात्र होइन, लाखौं यस्तो संस्था तपाईंलाई म देखाउन सक्छु ।” – पाभेल पेत्रोभिचले जोडदार स्वरमा भने | -“हो, लाखौं । उदाहरणको निम्ति ग्राम्यसमाज नै लिनोस्‌ !”

बाजारोभका ओठमा व्यंग्यको चिसो रेखा झल्कियो ।

“अँ, ग्राम्यसमाजको सम्बन्धमा त आफ्नै भाइसित तपाईंले कुरा गर्नु बेस होला ।” -उसले भन्यो । -“जहाँसम्म मलाई लाग्छ, ग्राम्यसमाज, आपसी दायित्व, मद्यनिषेध र यसै किसिमका अन्य कुराहरूको विषयमा कामको दौरानमा उहाँलाई अब निकै अनुभव भइसक्यो होला ।”

“अनि परिवार ! हाम्रा किसानहरूमा जुन रूपमा परिवारको अस्तित्व छ त्यसबारे के भन्न सक्नुहुन्छ नि ?” -पाभेल पत्रोभिच कराए |

“मलाई लाग्छ, यस प्रश्नमा विस्तृत रूपमा चर्चा नगर्नु नै स्वयं तपाईंकै लागि राम्रो हुनेछ । सके तपाईंले बुहारीप्रेमको बारेमा त सुन्नुभएकै होला ? मेरो कुरा सुन्नुहोस्‌, पाभेल पेत्रोभिच ! यस कुरामा एकदुई दिन लगाउनोस्‌, किनभने अहिलेको अहिल्यै तपाईंले केही भेट्टाउन सक्नुहुन्न । हाम्रा सम्पूर्ण सामाजिक वर्गहरूको छानवीन गर्नोस्‌ र हरेकको बारेमा राम्ररी सोचविचार गर्नोस्‌ !. त्यतिञ्जेल आर्कादी र म _”

“हरेक कुराको हाँसो उडाउने, हैन त ?” -पाभैल पत्रोभिचले वाक्य पूरा गरिदिए ।

“हैन । भ्यागुताहरूको चिरफार गर्नेछौं । हिंड, आर्कादी ! अहिले बिदा हुन्छौ नमस्ते !”

दुवै मित्रहरू बाहिर निस्किए । दाजुभाइ एकान्तमा रहेर केही बेरसम्म चूपचाप एक-दोस्रालाई हेर्न लागे ।

“देख्यौ त ।” -अन्त्यमा पाभेल पेत्रोभिचले भन्न शुरू गरे । -“यस्तो छ हाम्रो वर्तमान युवावर्ग ! यस्ता छन्‌ हाम्रा उत्तराधिकारीहरू !”

“उत्तराधिकारीहरू !” -निकोलाइ पेत्रोमिचले खिन्न भावले लामो निस्वास छोड्दै दोहोर्याए । वादविवाद जारी रहुञ्जेल उनी काँढाको चकटीमा बसेझैं हलचल नै नगरेर बसिरहेका थिए र दिक्दारीका साथ अरूको आँखा छल्लेर यदाकदा आर्कादीतर्फ दृष्टिपात गरिरहेका थिए । -“थाहा छ, दाजु, मलाई कुन कुराको सम्झना भएर आयो ? एकपटक स्वर्गीय मुमाज्यूसित मेरो झगडा नै भयो: उहाँ कराउँदै हुनुहुन्थ्यो र मेरो कुरा त सुन्नै चाहनु हुन्नथ्यो । – अन्त्यमा मैले उहाँलाई भनें: “तपाईं मेरो कुरा बुझ्नै सक्नुहुन्न, किनभने हामी दुई भिन्दाभिन्दै पुस्ताका प्राणी हौं ।” उहाँ निकै दुःखी हुनुभयो र मैल विचार गरें: “के गर्ने ? ओखती तीतो अवश्य छ तर त्यसलाई ननिली धर पाइँदैन ।” अब हाम्रो पालो आएको छ र हाम्रा उत्तराधिकारीहरू पनि हामीलाई भन्न सक्छन्‌: “तिमी हाम्रो: पुस्ताका होइनौं ! निल लौ, तीतो चक्का !”

“तिमी आवश्यकताभन्दा ज्यादा विनम्र र सीधासाधा छौ ।” -पाभेल पेत्रोमिचले प्रतिवाद गरे । -“यसको विपरीत म के विश्वास गर्छु भने यी नवयुवकहरूको तुलनामा तिमी र म निकै ज्यादा सही छौं, यद्यपि, हुन सक्छ, हामी आफूलाई केही पुरानो तरिकाले व्यक्त गर्दछौं, vielli, पुरातन) अनि हामीमा त्यस्तो धृष्ट अभिमान पनि छैन – आजकालको यो नयाँ पुस्ता कति घमण्डी छ ! कसैसित सोध : “कस्तो मदिरा पिउनुहुन्छ- रातो कि सेतो ?” उसले मानौं त्यस क्षण सम्पूर्ण धर्तिले नै उसकै मुख ताकिरहेको हो कि झैं गरेर गम्भीर मुखमुद्रा बनाउँदै कङ्केर उत्तर दिनेछ: “मलाई त रातो नै मन पराउने,बानी छ । _”

“अरू चिया ल्याकँ कि ?” -दैलोबाट चियाउँदै फेनेच्काले सोधी । बहसको आवाज गुञ्जिरहेसम्म उसले बैठककोंठामा पस्ने आँट गरिन ।

“अहँ ! तिमी यहाँबाट सामोभार लैजान भनी अह्काउन सक्छ्यौ ।” -निकोलाइ पेत्रोभिचले उत्तर दिए र उठेर उसतर्फ पाइला सारे । झटपट उनलाई bon soir शुभ सन्ध्या) भनेर पाभेल पेत्रोमिच आफ्नो अध्ययन-कक्षतर्फ लागे ।