“छोडपत्रको कागज अब छिट्टै आउँछ रे | वकिलले यही भन्थ्यो ।”

“ठीक छ ।”

“के अब हामी अर्को खोज्न थालौँ त ?”

“के ? वकिल ?”

“होइन । केटी खोज्ने भनेको ।”

“अझै बेला भाछैन मुकेश | उनले छोडेर गएको जम्मा तीन महिना भएको छ ।”

“म अशोकलाई लिएर रेल स्टेसन गएको थिएँ | न्याउरी धनबादबाट फेरि सहर आएछ । अहिले म दुवैलाई लिएर लिएर घर जाँदै थिएँ ।

“ठीकै छ । बिस्तारै सोच, तर अर्को बिहे चाहिँ गर्नुपर्छ । छोडपत्र गरेर एक्लै बस्यो भने मान्छेले तिमीलाई गन्दैनन्‌ । हामीलाई पनि गन्दैनन्‌ । हाम्रो समाज यस्तै छ | मेरो कुरा

सुन । पहिला तिमीले हाम्रो कुरै नसुनेर जात बाहिरको, धर्म पनि नमिल्ने केटीसँग बिहे गर्यौ । दाइजो पनि लिन इनकार गर्यौ । यसपालि केटी हामी खोज्छौं ।” मैले केही सुनिनँ, तर म भन्न सक्छु कि अशोक दाह्रा किट्दै थिए ।

“बिहेको कुरा सुनेर तिमी उत्तेजित भयौ ।” न्याउरीले भन्यो । “यसको बारेमा हामी पछि कुरा गरौंला । अहिले यो लिइहाल ।” उसले धनबादबाट ल्याएको रातो झोला दाइलाई दिँदै भन्यो । अशोकले झोला खोलेर हेरे, तर तुरून्तै न्याउरीले ड्याम्म बन्द गरिदियो र भन्यो, “बौलाछौ कि क्या हो ? कारभित्र नखोल | यो मुकेशका लागि हो । त्यो मोटे क्या । मन्त्रीको सहायक । तिमीले उसलाई चिनेको छौ, छैनौ र ?”

“औँ म चिन्दछु ।” कुम हल्लाउँदै अशोकले भने । “ती रन्डीका छोराहरुलाई पहिल्यै पैसा बुझाइसकेको होइन र ?”

मन्त्रीलाई अझै पुगेन रे । चुनावको बेला छ | प्रत्येक चुनावमा हामीले पैसा दिएकै छौँ । प्रायःजसो सरकारमा जाने र प्रतिपक्षमा बस्ने दुवै पक्षलाई नजराना दिने हो, तर यसपालि सरकारमा भएको पार्टीले पक्कै चुनाव जित्छ । प्रतिपक्ष त पूरै समस्यामा छ । त्यसैले हामीले सरकारी पक्षलाई पैसा बुझाउन पर्छ अनि हाम्रा लागि राम्रो हुन्छ । पैलो पालि म तिमीसँगै जाउँला, तर पैसा चाहिँ धेरै छ । तिमी दोस्रो तेस्रो पालि पनि जानुपर्ने हुनसक्छ र चिल्लो घस्न पर्ने दुईवटा हाकिम पनि छन्‌ ! कुरा बुझ्यौ ।”

“मैले दिल्लीमा गर्नुपर्ने काम यही यौटा छ जस्तो देखिन्छ- बैकबाट पैसा निकाल अनि घुस ख्वाऊ । म भारत फर्केको यही गर्नलाई हो ?”

“अनावश्यक छेड हान्न पर्दैन । याद राख्नू, प्रत्येक पटक ब्याग फिर्ता माग्न नबिर्सनू । यो बडा राम्रो झोला छ । इटालीमा बनेको । तिनीहरूलाई पैसा बाहेक अरू केही उपहार सुपहार दिन पर्दैन । बुझ्यौ मेरो कूरा ? छ्या ! अर्को ठ्याँस्ने जाममा नपरे हुन्थ्यो ।”

“बलराम स्टिङको गीत बजा त । जाममा पर्दा सबैभन्दा राम्रो यही गीत हुन्छ ।”

“स्टिङ भन्ने गायक यो ड्राइभरले चिनेको छ ?”

“एकदम । यो मेरो मनपर्ने सिडी हो भनेर उसलाई थाहा छ । ए बलराम, हामीलाई स्टिङको सीडी देखा त । लौ हेर, उसले चिनेन त ?”

मैले प्लेयरमा सिडी राखेँ ।

दस मिनेट हुँदा पनि कार एक इन्च अघि बढेको थिएन | मैले स्टिङपछि ऐन्या, अनि ऐन्या पछि एमिनेम बजाएँ । फुटपाथ पसलेहरू सुन्तलाको टोकरी, प्लास्टिकको डिब्बामा स्ट्रबवेरी र अङ्ग्रेजीका उपन्यास लिँदै कारछेउ झुम्मिए । मगन्तेहरू पनि आक्रमणगै थिए । एउटा मगन्ते अर्को मगन्तेलाई बोकेर कार चहार्दै थियो । उसले बोकेको मान्छेको घुँडाभन्दा मुनि खुट्टै थिएन । तिनीहरू कार चहार्दै हिँडे । काँध्मा बस्ने रूँदै नाक बजाउने र बोक्ने चाहिँ कारको झ्यालमा टकटक गर्ने वा कोतार्ने गरिरह्यो ।

केही नसोचीकनै, मैले अन्डालाई खोले । सिसा तल झारेर एक रूपियाँ निकालेर दिएँ । त्यो खुट्टा नभएको चाहिँले लियो र मलाई सलाम गर्यो । झ्यालको सिसामाथि सारेर फेरि अन्डालाई बन्द गरेँ । पछाडि सिटमा एक्कासि कुराकानी रोकियो |

“ए तँलाई त्यसो गर्न कसले भन्यो हँ ?”

“माफी होस्‌ हजूर ।” मैले भनेँ ।

“तैले त्यो मगन्तेलाई एक रूपियाँ किन दिएको भन्‌ त ? के नटेरेको । सिडी बन्द गर्‌ त ।”

त्यो साँझ साँच्चै उनीहरूले मेरो घैँटोमा घाम लगाइदिए ।.सामान्यतया दाजुभाइ हिन्दी र अङ्ग्रेजी मिसाएर बोल्थे, आज मेरो फाइदाको लागि शुद्ध हिन्दीमा बोल्न थाले ।

“हामीले प्रत्येक पटक मन्दिर जाँदा पैसा चढाएका छैनौँ, भन्‌ त ?” जेठो ठगले भन्यो | हामी क्यान्सर संस्थालाई प्रत्येक वर्ष चन्दा दिन्छौं । म त्यो कार्ड पनि स्कुले नानीहरूले बेच्न ल्याएको नै किन्छु ”

“अस्ति म हाम्रो लेखापालसँग बोल्दै थिएँ ।” ऊ भन्दै थियो, “हजुर तपाईंको पैसा अब बैङ्कमा छैन । सबै सिद्धियो ।” “देशमा कर कति लाग्छ तँलाई थाहा छ ? कान्छो ठगले सोध्यो । अब हामीले अलिकति पनि पैसा दियौँ भने के खाने ?”

त्यतिबेला मलाई लाग्यो कि यी दुई दाजुभाइको बीचमा केही फरक छैन । तिनीहरू दुवै एउटै बाबुका बीउ नै थिए, फरक कसरी हुनु ?

घर फर्किदाँ बाँकी पूरै समय न्याउरीले ऐनामा हेरिरह्यो । ऊ केही अनौठो कुरा थाहा पाए जस्तो देखिन्थ्यो ।

बकिङ्घम ‘बी’ ब्लक पुगेपछि भन्यो, ‘बलराम, तँ माथि आइज त ।’

“हस्‌ हजूर ।”

हामी लिफटमा सँगै उभियौँ ! अपार्टमेन्टको ढोका खोलेर तल भुइँमा देखाउँदै भन्यो, “त्यहाँ सजिलोसँग बस्‌ ।”

म कुडल र पुडलको फोटो मुनि दुई हात घुँडा बिचमा राखेर टुक्रुक्क बसेँ ।

ऊ कुर्चीमा बसेर, एउटा हातमा टाउको टेकाएर मलाई हेर्न थाल्यो ।

उसको निधार खुम्चेको थियो । म प्रस्ट देख्दै थिएँ कि उसको दिमागमा कुनै नयाँ विचार फुरेको छ ।

ऊ उठेर मेरै छेउमा आएर एउटा घुँडाले टेकेर बस्यो । अनि हावाको गन्ध सुँघ्यो र भन्यो, “तेरो सासमा त जिराको गन्ध छ ।

“हो हजूर ।”

“मान्छेले रक्सीको गन्ध नआओस्‌ भनेर जिरा चपाउँछन्‌ । तँ आजभोलि पिउँछस कि के हो?”

“हैन हजूर । हाम्रो जातले नै रक्सी खाँदैन ।”

ऊ अझ नजिक आउँदै सुँघ्न थाल्यो ।

मैले लामो सास लिएँ र एकछिन भित्रै अँठ्याएर राखेँ । अनि जोडले उसको मुखमै ढ्याउ गरिदिएँ ।

“बलराम, यो त अति भो ! त्रसित मुद्रामा उसले भन्यो । ऊ उभिएर दुई कदम पछि सर्यो ।”

“माफ होस्‌ हजूर ।”

“बाहिर गई हाल्‌ त !”

म चिटचिट पसिना काढेर बाहिर निस्के ।

भोलिपल्ट मैले उसलाई र अशोकलाई लिएर दिल्लीमा कुनै मन्त्री हो कि हाकिमको घरमा पुर्याएँ । उनीहरू त्यो रातो झोला लिएर गए । त्यसपछि म उनीहरूलाई लिएर यौटा होटेलमा गएँ जहाँ उनीहरूले खाना खाए । मैले होटेलको कामदारलाई खानामा आलु नदिनु भनेर निर्देशन दिएँ । अनि न्याउरीलाई स्टेसन पुर्याउन गएँ ।

फेरि मैले उसको उही पुरानै निर्देशन सहनुपर्यो- एसी नचला, गीत नबजा, इन्धन बढी खर्च नगर्‌, यस्तै यस्तै के-के के-के । प्लेटफार्ममा उभिएर उसले खाजा खाएको हेरेँ । रेल छुटेपछि ताली पड्काएर फनफनी नाचे । दुईजना खातेले मलाई हेरिराखेका थिए | उनीहरू पनि हाँसे र ताली बजाए । एक जनाले त नयाँ हिन्दी गीत गाउन सुरू गर्यो र हामी सँगै नाच्यौँ ।

भोलिपल्ट बिहान टेलिफोनको घन्टी बज्दा म अपार्टमेन्टमै थिएँ र अशोक बाहिर जाने तयारीमा त्यो रातो झोला यताउता चलाउँदै थिएँ ।

“सर, म झोला लिएर तल जान्छु र तपाईंलाई कारमै पर्खिन्छु ।” मैले भनेँ । उनी अकमकाउँदै झोला मतिर बढाउँदै भने, “ठीक छ:म एक मिनेटमा आउँछु ।”

अपार्टमेन्टको ढोका बन्द गरेँ, लिफ्ट छेउ गएर बटन दबाएँ र पर्खिएँ । झोला गरूङ्गो थियो त्यसैले हात फेरिरहनुपर्ने ।

लिफ्‌ट चौथो तलामा आइपुगेको थियो ।

म पछि फलर्कएँ तेह्रौँ तलाको बालकोनीबाट बाहिरको दृश्य हेरे ।दिनको उज्यालोमा पनि गुरगाउँका मलहरूमा बत्ती झलमल्ल बलेको थियो | गत हप्ता मात्रै एउटा अर्को नयाँ मल खुलेको थियो । अर्कोको निर्माणको काम हुँदै थियो । सहर फैलिँदै थियो ।

लिफ्‌ट तीव्र गतिमा माथि आउँदै थियो । यो एघारौं तला के पुग्नै लागेको थियो | म पछि फर्केर दौडेँ ।

ढोका डयाङ्ग खोलेर फटाफट अँध्यारो भर्याङबाट २ तला तल झरे र रातो झोला खोलें ।

अचानक अँध्यारो भर्याङ्गमा आँखै तिरमिर्याउने उज्यालो भरियो- यस्तो उज्यालो जुन पैसाले मात्र दिन सक्छ ।

पच्चल्स मिनेटपछि मोबाइलको बटन थिच्दै अशोक तल आउँदा झोलाले उनकै सिटमा कुरेर बसेको थियो । उनले ढोका लगाए र मैले सिडी चक्का देखाउँदै सोधेँ,

“स्टिङको गीत बजाउैँ हजूर ?”

कारमा हिँड्दा मैले त्यो झोला नदेखेजस्तो गर्न खोजेँ, किनकि पिङ्की मेडमले छोटो स्कर्ट लगाएर बस्दा मलाई जति औडाहा हुन्थ्यो, त्यो झोला देख्दा त्यस्तै गाह्रो भइरहेको थियो |

रातो बत्ती छेउ रोकिँदा मैले ऐनामा हेरेँ । मेरो बाक्लो जुँगा र बङ्गारा देखेँ । ऐना घुमाएर एकातिर फर्काएँ । लामो, सुन्दर आँखीभौं र खुम्चिएको मांसपेशी तल काला आँखाहरू टल्किरहेका थिए । आँखाहरू आफ्नो सिकार कुरेर बसेको बिरालाका आँखा जस्ता देखिन्थे ।

मन बोल्यो, “बलराम झोला हेर्‌ न । हेर्नु भनेको चोरी त होइन नि, होर ?”

मैले टाउको हल्लाएर ‘हुन्न’ भनेँ ।

फेरि मन बोल्यो, “बलराम तैँले चोरे पनि यो चोरी ठहर्दैन ।”

“कसरी ?” त्यो प्राणीलाई ऐनामा हेरेँ ।

“त्यो कसरी भने अशोकजीले त्यो सबै पैसा दिल्लीका राजनीतिज्ञलाई लगेर दिँदै छन्‌ ताकि कर छलेकोमा उनले सफाइ पाउँछन्‌ र अन्तिममा त्यस करको मालिक को हुन्छ ? को हुन्छ भने त्यो यो देशको तिमीजस्तै सर्वसाधारण मान्छे हुन्छ |” मनमनै भनेँ ।

“बलराम के हो ? तिमीले केही भनेको हो ?” अशोकले सोधे ।

ऐनामा प्याट्ट हिर्काएँ । ऐनामा फेरि मेरो जुँगामात्र देखियो र आँखा देखिन छोड्यो र अब मेरो अनुहार मलाई नै चियाउँदै थियो ।

“मेरो अगाडिको ड्राइभरले लापरवाही गरेर चलाउँदै छ हजूर । म त्यसैसँग भुत्भुताउँदै थिएँ ।”

“दिमाग ठन्डा राख बलराम । तिमी कुशल ड्राइभर हो त्यसैले अरूले के गर्छन, छोड ।”

सहरलाई मेरो गोप्य कुरा थाहा थियो ! एक बिहान राष्ट्रपतिको भवन धुवाँ र धुलोको कुहिरोले गर्दा सडकबाट देखिएन । त्यस दिन दिल्लीमा सरकार नै छैन कि भन्ने अनुभूति भयो | प्रधानमन्त्री, अरू मन्त्री र ढाकेको प्रदूषणले मलाई भन्यो, ‘म तँलाई आश्वस्त पार्छु कि तैँले गरेको कुनै पनि कुरा उनीहरूले देखे छैनन्‌ ।”

म संसद भवनको रातो पर्खाललाई छोडेर अघि बढेँ । रातो पर्खालको सुरक्षा पोस्टबाट बन्दुक हातमा लिएको एउटा गार्डले मलाई हेर्यो र देख्ने बित्तिकै बन्दुक तल राख्यो । सायद उसको मनले भन्यो, “म तँलाई किन रोकूँ ? सक्ने भए म पनि त्यही गर्थे, सायद ।”

राति एउटी महिला प्लास्टिकको झोला लिएर हिँड्दै थिई । कारको बत्तीले झोला पारदर्शी देखियो । झोलामा चारवटा धमिला फलहरू देखेँ । प्रत्येक फलले भन्यो, “तैले यस्तो काम गरिसकेको छस्‌ ! तेरो मुटुभित्र यसले डेरा जमाएर बसेको छ ।” हेडलाइट त्यहाँ पर्न छोड्यो । झोला अपारदर्शी भयो र ती फलहरू अदृश्य भए |

दिल्लीका-ती चिल्ला, चम्किला, भारतभरिमै उत्कृष्ट ठानिने सडकहरूले पनि मेरो गोप्य योजना थाहा पाएका थिए ।

एक दिन ट्राफिक सङ्केतको छेउमा मेरो छेउको ड्राइभरले झ्यालको सिसा तल झार्यो र थुक्यो । उसले पान चबाईरहेको थियो | रातो थुक मध्यान्हको तातो पिच सडकमा प्याच्च गर्यो र कुनै जीवित प्राणीजस्तै स्याइँ गरेर फैलियो । एक सेकेन्डपछि उसले फेरि थुक्यो र सडकमा फेरि दोस्रो आहाल बन्यो । मैले ती दुईवटा फैलिँदै गरेका थुकका आहाल हेरेँ र मलाई लाग्यो :

देब्रेपट्टिको आहाल भन्दै थियो- तेरो बुबाको इ्च्छा थियो कि तँ एक इमानदार मान्छे बन ।

दाहिनेपट्टिको आहाल भन्दै थियो- तेरो बुबाको इच्छा थियो कि तँ मान्छे बन्‌ ।

देब्रेपट्टिको आहाल भन्दै थियो- तेरो बुबालाई अरू मान्छेले जस्तो गरे त्यसरी अशोकले तँलाई थुक्ने पिट्ने गर्दैनन्‌ ।

दाहिनेपट्टिको आहाल भन्दै थियो- आफ्नी श्रीमतीले सडक दुर्घटनामा बच्चा मारेको दोष अशोकले नै तँलाई लिन बाध्य पारेको हो ।

देब्रेपट्टिको आहाल भन्दै थियो- अशोकले तँलाई राम्रो पारिश्रमिक दिन्छन्‌ | महिनाको ४ हजार ।

दाहिनेपट्टिको आहाल भन्दै थियो- यो पैसा केही होइन । सहरमा बस्छस्‌ । अनि के बचत हुन्छ ? केही पनि बच्दैन ।

देब्रेपट्टिको आहाल भन्दै थियो- तैँले नभनीकनै उनले तलब बढाई दिइराखेका छन्‌ !

दाहिनेपट्टिको आहाल भन्दै थियो- छैन बढाएको !

देब्रेपट्टिको आहाल भन्दै थियो- सम्झी, भैसीले आफ्नो नोकरको परिवारलाई के गर्यो | भागिस्‌ भने अशोकले आफ्नो बाबुलाई भनेर तेरो परिवारलाई पनि त्यही गर्न लगाउँछन्‌ ।
!
दाहिनेपष्टिको आहाल भन्दै थियो- अशोकले तेरो परिवारलाई धम्क्याउँछ भन्ने कुराले तेरो रगत उम्लिन्छ ।

मैले थुकको आहालबाट नजर पर पूर्याएँ । होन्डा सिटीको ऐनाको बीचमा त्यो रातो ब्याग बसिरहेको देखेँ जुन हेर्दा होन्डा सिटीको मुटुजस्तै लाग्यो ।