क्यालिग्राफीका शिक्षक सर्गेई क्यापितिनोभिच छोरीको विवाहोत्सव मनाइरहेको थियो । ड्रइङ रुममा नाचगान चलिरहेको थियो । कालो कोट र सेतो टाई लगाएका नोकरचाकरहरु अतिथि सेवाका लागि यताउता दौडिरहेका थिए । उनीहरुलाई नजिकैको एउटा क्लबबाट भाडामा सेवाका लागि बोलाइएको थियो । चारैतिर होहल्ला, मस्तीको वातावरण थियो । एउटा बेन्चमा बसिरहेका गणितका शिक्षक चेनितोलेभ हालै घटेको घटनाबारे मच्चिकन बहस गरिरहेका थिए । विषय आध्यात्म नै थियो । उनलाई आध्यात्ममा विश्वास त थिएन तर पृथ्वीमा कैयौँ रहस्यमय कुरा छन्, जसलाई मानिसले आफ्नो मस्तिष्कका बलले जान्न सक्तैन ।
अर्को कोठामा चाहिँ साहित्यका शिक्षक फ्रान्सेली पस्को कुओई गफमा मग्न थिए । उनले कस्तो अवस्थामा प्रहरीले गोली चलाउन सक्छ र चलाउनु पर्छ भनी बताइरहेका थिए । भित्र छिर्न मनाही गरिएका केही मानिसहरु भने बाहिर उभ्भिएरै झ्यालबाट घरभित्र चिहाइरहेका थिए ।
ठीक आधा रातका बेला सर्गेईले भोजको तयारीबारे जानकारी लिन भान्सामा छि¥यो । भान्साको चारैतिर कुखुरा, हाँस र माछाका विविध परिकारका सुगन्धयुक्त धुँवा रङमङिएको थियो । टेबुलभरि रक्सीका बोतलहरु सजाइएका थिए । रातो अनुहार र ठूलो तथा भद्दा पेट भएकी भान्से मार्फा आफ्नो काममा मनोयोगपूर्वक खटिरहेकी थिई र व्यस्त थिई ।
‘प्यारी मार्था मलाई माछा देखाऊ त,’ सर्गेईले हात मोल्दै आफ्नो मुखमा आएको पानीलाई नलुकाई मार्फातर्फ हेर्यो, ‘कति मीठो सुगन्ध र गज्जबका परिकार बनाइछौ । के–के तयार भए देखाऊ त !’
मार्फाले माछाको परिकार बनाइएको कराही छोपिएको कागज उठाइदिई । सर्गेईले मुग्ध भावले परिकार हेर्यो र आनन्दको अनौठो आवाज निकाल्यो, मानौँ ग्रिजबिनाको गाडीको चक्का धस्रिएर रोकिएको होस् । झन् उसले नजिकै जाँदा पुनः त्यस्तै आवाज निकाल्यो । ‘आहा !’ एउटा उत्तेजित चुम्बनको आवाज सुनियो ।
आवाजसँगै छेउको कोठाबाट ढोकामा सहायक अध्यापक वेनकिन देखियो । अध्यापकले भन्यो, ‘अँ, खुसीको कुरा हो सर्गेई क्यापितिनोभच, गज्जब भो !’
‘मैले कसैलाई पनि चुम्बन गरेको छैन,’ सर्गेईले दिक्क मान्दै भन्यो, ‘तैँले यो सोचिस् मात्रै कसरी मूर्ख ? मैले माछा देखेर जिब्रो फड्कारिरहेको थिएँ ।’
‘अरु नै कुरा गरे भइगो नि,’ वेनकिन रातो अनुहार पार्दै त्यहाँबाट अदृश्य भयो ।
‘उफ्, साह्रै नराम्रो भयो !’ सर्गेईले सोच्यो, ‘अब त्यस बदमासले सबैलाई कानेफुसी गर्दै सुनाउँछ र सारा टोलभरि बदनाम गरिदिन्छ ।’
ऊ डराउँदै ड्रइङ रुममा गयो र वेनकिन कहाँ होला भनी खोज्न थाल्यो । ऊ पियानोको छेउमा उभिएकी प्रहरी निरीक्षककी पत्नीसँग कानकै छेउमा केही फुस्फुसाइरहेको थियो । निरीक्षकपत्नी हाँसिरहेकी थिई ।
‘पक्कै पनि उसले मेरै बारेमा त्यो फुँडीलाई सुनाइरहेको होला,’ सर्गेईले सोच्यो, ‘हेर न, त्यो पनि कत्ति रुचि मानिकन सुनिरहेकी र हाँसिरहेकी छे ।’
सर्गेईले सोच्यो– अब निरीक्षकपत्नीलाई उसले वास्तविकता के हो भनी विश्वसनीय तरिकाले बताउनु पर्छ ताकि अरुले त्यो मूर्दार वेनकिनको विश्वास कसैले नगरोस् । सर्गेईले आफ्नो कम्मर सिधा ग¥यो र फ्रान्सिस पस्को कुओईछेउ पुग्यो ।
‘म भर्खरै भान्सामा के पाकिरहेको छ भनेर हेर्न गा’थेँ,’ सर्गेईले भन्यो, ‘मलाई थाहा छ, तिमी माछाको सोखिन हौ । मैले त माछाको गज्जबको परिकार बनाउन लगाएको थिएँ र परिकार देख्नेबित्तिकै मेरो मुखबाट पानी आयो…हि..हि..हि.. । खुसीले मैले जिब्रो पड्काएँ । त्यतिबेलै वेनकिन आइपुग्यो । मैले मार्फालाई चुम्बन गरेको आवाज आयो भनेर पो भन्छ है लफङ्गो त !’
‘को लफङ्गो अरे ?’ तरतुलोभ छेउ आउँदै सोध्यो ।
‘बेकूप !’ रिसले तम्तमाउँदै सर्गेईले भन्यो, ‘मार्फालाई चुम्बन गर्नुभन्दा त म बरु कुकुरलाई चुम्नु श्रेयस्कर ठान्छु । त्यसैले हो सारा किस्सा सुनाएको । म भान्सामा माछा पकाएको हेर्दैथिएँ…।’ आधा घण्टाभित्रै निम्तालुहरु सबैले माछाको किस्साबारे अवगत भइसकेका थिए ।
‘अब जे सुकै होस्, कसैले पनि त्यो बेकूपको भनाइलाई विश्वास गर्ने छैनन्,’ हात मोल्दै सर्गेईले खुसीमा मग्न हुँदै गम्यो र छेउमै रहेको एक गिलास भोद्का घुटक्क निल्यो ।
बिहेपछि नयाँ जोडीलाई वेडिङ रुममा पठाएपछि ऊ आफ्नो कोठामा फर्कियो र एउटा निर्दोष बालकले झैँ सोच्न थाल्यो । बिहानसम्म उसले सारा घटना बिर्सिसकेको थियो तर भनिन्छ जे कुराको कामना मनुवाले गर्छ, ईश्वरले त्यसमाथि न्याय गर्छ ।
खराब बोलीवचनले काम गरिसकेको थियो । सर्गेईको सफाइले कुनै फाइदा दिलाएन । एक सातापछि सर्गेई आफ्नो कमन रुममा उभियो, उसको छेउमा व्याप्तिकिन नामक हेड मास्टर छेउमा आयो । उसलाई तानेर एक कुनामा पुर्यायो र भन्यो, ‘सर्गेई केपितिनोभिच मलाई माफ गर, मलाई यसबारे कुनै मतलब छैन । तिमीले भान्से मार्थालाई के गर्यौ भनी गाउँभरि हल्ला छ ! तिमीले आफू अध्यापक हौ भन्ने कसरी बिर्सियौ ?’
सर्गेई भयले जड र मूढ भयो र चुपचाप यसरी घर फर्कियो मानौँ उसमाथि उम्लिएको पानी कसैले खन्याइदिएको होस् । … घरमा एउटा नयाँ समस्या कुरिरहेको थियो ।
‘तिमीले खानपिन नै पो छाड्यौ नि,’ खाना खाने बेलामा पत्नीले सोधी, ‘मार्फाको यादले पीडित भएर सोचिरहेको हो कि क्यो हो ? मलाई सब कुरा थाहा छ, मानिसहरुले गाउँभरि कुरा काटिरहेका छन् । बल्ल पो मेरो आँखा खुल्यो !’
सर्गेईले पत्नीको गाला चडाम्म चड्काइदियो र केही नबोली खाना खाने टेबुलबाट उठ्यो । ऊ टोप वा कोट केही नलगाई वेनकिनको घर पुग्यो ।
‘तँ साह्रै ननिको लफङ्गो होस्… तैँले सबैलाई मेराबारे नभएको कुरा लगाउने हिम्मत कसरी गरिस् ?’
‘कस्तो नभएको कुरा लगाएँ ? कसलाई लगाएँ ?’ वेनकिनले सोध्यो ।
सबै कुरा विस्तारसँग बताएपछि सर्गेईले तम्तम्याइलो अनुहार बनाएर भन्यो, ‘यो तैँले नगरेको भए कसले गर्यो त ?’
वेनकिनले भन्यो, ‘माँ कस्सम साथी मैले कसैलाई केही भनेको छैन । म यो पवित्र धर्मग्रन्थ छोएर भन्छु । मैले तेराबारे कुनै झूटो कुरो फैलाएको भए मेरा आँखा फुटोस्, मलाई आजै पूँ पारेर लैजाऊन् ।’
वेनकिनले यसरी भन्यो कि उसमाथि शङ्का गर्नु बेकार थियो ।
‘कसले मेराबारे यस्तो नचाहिँदो कुरा फैलायो त ? कस्ले ?’ सर्गेईले छाती ठोकेर चिच्यायो । ऊ रुन पनि सकेन ।
‘कसले हल्ला फैलायो त ?’ म पनि पाठकसँग त्यही कुरा सोधिरहेको छु ।
अनुवादः अच्युत कोइराला
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।