त्यसैदिन बाजारोभले पनि फेनेच्कासित चिनापर्ची गर्यो । आर्कादीको साथमा ऊ बगैंचामा टहल्दै थियो र केही बोटबिरूवाहरू, खास गरी बाँझका पोथ्राहरू किन हर्लक्क बढ्न सकिरहेका छैनन्‌ भनेर बुझाउँदै थियो ।

“यहाँ, सेता वनपिपल, तलेसल्ला र सम्भवतः खरीका रूखहरू बढी संख्यामा रोप्नु आवश्यक छ र तिनको जरामा कालो उर्वर माटो पनि हाल्नुपर्छ ! त्यो निकुञ्ज राम्ररी हर्छक्क बढेको छ ।” -उसले थप्यो । -“कारण के त भने बबूर र हसिना ज्यादै असल पोथ्रा हुन्‌ र तिनको हेरविचारको उति जरूरत पनि पर्दैन । एहे । यहाँ कोही छ क्यारे !”

निकुञ्जमा फेनेच्का, दून्याशा र मीत्या थिए । बाजारोभ टक्क अडियो भने आर्कादीले चिरपरिचितझैँ फेनेच्कातर्फ किञ्चित्‌ टाउको झुकाएर अभिवादन गर्यो ।

“को हो ?” -गुज्रेर गइसकेपछि उससित बाजारोभले सोध्यो । -“अहो ! कति हिसी परेकी !”

“कसको विषयमा कुरा गरेको ?”

“छर्लङ्गै छ नि ! एउटी मात्रै त त्यहाँ हिसी परेकी छे ।”

आर्कादीले अलि अकमक्क परेर फेनेच्का को हो भन्ने कुरा उसलार्इ छोटकरीमा बतायो ।

“एहे !” -बाजारोभले भन्यो । -तिम्रा पिताजीको रोजाइ राम्रो छैन है । मलाई औधि मन परेका छन्‌ तिम्रा पिताजी ! साँच्ची ! उनी ह्याउदार रहेछन । जे होस्‌, परिचित त हुनैपर्ला ! -उसले थप्यो र फर्केर निकुञ्जतर्फ नै लम्कियो ।

“येभ्गेनी !” -आर्कादीले हडबडाएर उसलाई बोलायो । -“उत्ताउलो नहुनु है भगवानको नाममा !”

“चिन्ता नगर !” -बाजारोभले उत्तर दियो । -“देश खाएर शेष भइसकेका छौं क्या हामी पनि !”

फेनेच्काको नजिक पुगेपछि उसले आफ्नो टोपी फुकाल्यो र शिष्टतापूर्वक झुकेर भन्यो :

“आफ्नो परिचय दिने अनुमति मिलोस्‌ ! म आर्कादी निकोलायेभिचको मित्र र ज्यादै निरीह मान्छे हुँ !”

फेनेच्का बेञ्चबाट उठी र चुपचाप उसतर्फ हेर्न लागी ।

“कति मनमोहक रहेछ बच्चा त !” -बाजारोभले अगाडि भन्यो । -चिन्ता नगर्नोस्‌, आजसम्म कसैलाई पनि मेरो आँखा लागेको छैन । अहो, किन यतिबिघ्न रातो भएको होला लौ यसको गाला ? कही दाँत त उम्रन थालेको होइन ?”

“हो, साहेब !” -फेनेच्काले गुनगुन गरी । -“चारवटा दाँत त उसका निस्कि पनि सके | अहिले फेरि गिजा सुनिएको छ ।”

“खै, देखाउनोस्‌ त ! _ डराउनुपर्दैन, म डाक्टर हुँ !”

बाजारोभले बच्चालाई आफ्नो हातमा लियो । कत्ति पनि प्रतिरोध र डरको भाव नदेखाइकन बच्चा सहजै उसको हातमा गएको देखी फेनेच्का र दुन्याशा दुवै चकित भए

“देख्दैछु, देख्दैछु _ सब,कुरा ठीक छ, कुनै नराम्रो कुरा छैन । दाँत खूबै जब्बर हुनेछन । कुनै गडबडी भयो भने मलाई खबर दिनुहोला ! आफू त तपाईं स्वस्थ हुनुहुन्छ के ?”

“भगवान्‌को कृपाले स्वस्थ नै छु ।”

“भगवान्‌को अनुकम्पाभन्दा ठूलो कुरा अरू के नै छ र ! तपाईं नि ?” दुन्याशालाई सम्बोधन गर्दै बाजारोभले सोध्यो ।

घरभित्र ज्यादै गम्भीर तर घरबाहिर ज्यादै हँसिली दुन्याशा जवाफमा खितितिति हाँसीमात्र ।

“ठीक छ, बेस छ ! ल, आफ्नो पहलमानलाई लिनोस्‌ ।”

फेनेच्काले बच्चालाई हातमा लिई |

“तपाईंसित कति शान्त भएर बस्यो हगि ?” -मधुरो स्वरमा फेनेच्काले भनी ।

“मसित सबै बालबच्चाहरू यसरी नै शान्त भएर बस्छन्‌ ।” -बाजारोभले उत्तर फर्कायो । -“मसित यसको एक उपाय छ ।”

“कसले आफूलाई प्यारोगर्छ भन्ने बच्चाहरू चाल पाइहाल्छन्‌ ।” -दुन्याशले टिप्पणी गरी ।

“ठीक !” -फेनेच्काले समर्थन गरी । -“कसैकसैसित त मीत्या जान समेत मान्दैन ।”

“मसित त आउला ?” -आर्कादीले सोध्यो । ऊ केही बेर टाढै रहेको थियो भने अब उनीहरूको नजिक आएको थियो |

उसले मीत्यालाई हातमा लिन खोज्यो तर मीत्या टाउको पछिल्तिर हटाएर, चिच्यायो । यसले गर्दा फेनेच्का भुतुक्क भई ।

“मलाई राम्ररी चिन्न थालेपछि अर्कोबाजि अवश्य आउनेछ !” -आर्कादीले उदारता प्रकट गर्दै भन्यो । अनि दुवै मित्रहरू त्यहाँबाट हिंडे ।

“के नाम रे उसको ?” -बाजारोभले सोध्यो ।

“फेनेच्का -फेदोस्या !” -आर्कादीले जवाफ दियो ।

“पितृनाम नि? त्यो पनि त थाहा पाइराख्नुपर्यो !”

“निकोलायेभ्ना !”

“Bene ! राम्रो” उसमा कुन कुरा मलाई विशेष मन पर्यो भने उ कत्ति पनि अकमकाइन ! सके कसैकसैले यसैका लागि उसको भर्त्सना गर्लान्‌ ! कस्तो विडम्बना ? किन उसले अकमकाउनुपर्ने नि? ऊ आमा हो – र सब कुरा ठीकै छ ।”

“त्यो त हो ।” -आर्कादीले सही थाप्यो । -“तर मेरा पिताजी -”

“उनी पनि सही छन्‌ !” -बीचैमा कुरा काट्दै बाजारोभले भन्यो ।

“अहँ ! म यस्तो ठान्दिनँ ।”

“बुझें ! तिमीलाई अर्को एक हकदार मन परेन होला हगि ?”

“म यस्तो विचार गर्दो हुँ भन्ने सोच्न कस्तोलाज नलागेको तिमीलाई ?”- आर्कादीले अलि जङ्गिएर भन्यो । -आफ्ना पिताजीलाई मैले यस दृष्टिकोणबाट गलत ठानेको होइन । मलाई लाग्छ, उहाँले उससँग विवाह गर्नुपर्दथ्यो ।”

“ए हे-हे !” -बाजारोभले शान्त भावले भन्यो | -“अहो, हामी कति उदारह्दयी ! तिमी अझै पनि विवाहलाई यतिको महत्व दिंदारहेछौ ! तिमीबाट मैले आशा राखेको थिइनँ !”

– केही बेर दुवै मित्रहरूले चूपचाप पाइला सारे ।

“तिम्रा पिताजीको सारा कारोबारमा मैले नजर दिएँ ।” – फेरि बाजारोभले भन्न सुरू गर्यो । -“गाईवस्तु गतिला छैनन्‌, घोडाहरू पनि मरियल छन्‌ । गोठ र तबेला पनि फू गरे ढल्ला जस्ता छन्‌ । नोकरचाकरहरू पनि अल्सीका पिण्डझैँ लाग्छन्‌ । पटवारीचाहिं कि त एक नम्बरके धूर्त हुनुपर्छ, कि त पटमूर्ख ! मैले उसलाई अझै पूर्ण रूपले ठम्याउन सकेको छैन ।”

“आज तिमी ज्यादै कठोर छौ, योभ्गेनी भासील्येभिच !”

“अनि यी दयालु किसानहरूले तिम्रा पिताजीको आँखामा छारो हाल्ने कुरा निश्चित नै छ । उखान त तिमीलाई थाहा नै होला : ‘रूसी किसानले भगवानलाई समेत ठग्न बाँकी राख्तैन ।”

“ठूल्बाको भनाइसित अब म सहमत हुन थालेको छु ।” -आर्कादीले भन्यो । “रूसीहरूको बारेमा तिमी उति राम्रो धारणा राख्दैनौ ।”

“यसको के मतलब ? रूसी मान्छेको सबभन्दा राम्रो कुरा नै के हो भने आफ्नो बारेमा र उति राम्रो धारणा राख्दैन । दुई दुना चार हुन्छ भन्ने नै विशेष महत्वको कुरा हो | अरू सब बकबास हो ।”

“के त प्रकृति पनि बकबास हो ? -डुब्न थालेको सूर्यको मृदु र मनोहर, आलोकद्वारा प्रज्जवलित रङ्गीन खेतको असीमित फाँटतर्फ विचारमग्न दृष्टि फ्याँकेर आर्कादीले प्रश्न राख्यो ।

“प्रकृति पनि बकबास हो, त्यस रूपमा जुन अर्थमा तिमी त्यसलाई लिन्छौ । प्रकृति कुनै मन्दिर होइन, बरू आरन हो र मान्छेचाहिं त्यस आरनको एक कामदार हो ।”

ठीक त्यसैबखत घरतर्फबाट आइरहेको सुमधुर संगीत उनीहरूको कानमा पर्यो । कसैले भायोलिनमा शुबर्टको “प्रतीक्षा” धून बजाइरहेको थियो । बादकको हात उति अभ्यस्त नभए तापनि त्यसले हृदयमा प्रभाव पारिरहेको थियो, मानौं मधुमय संगीत हावामा लहराइरहेको होस्‌ ।

“यो के हो ?” -बाजारोभले अचम्म पर्दै सोध्यो ।

“पिताज्युको वाद्यवादन !”

“के तिम्रा पिताजी भायोलिन बजाउँछन्‌ ?”

“हो !”

“उमेर कति भयो उनको ?”

“चौवालीस वर्ष ।”

बाजारोभ एकाएक खित्का छाडेर हाँस्यो ।

“किन हाँस्दैछौ ?”

“ओ-हो-हो ! चौवालीस वर्षको उमेर, pater Familias,ग्रामीण जीवन – तर भायोलिनवादन !”

बाजारोभको हाँसो रोकिएन तर आर्कादी यसपल्ट मुस्कुराउनसम्म पनि मुस्कुराएन, भलै आफ्नो यस, गुरुप्रति उसमा जत्तिकै श्रद्धाभाव किन नहोस्‌ !