पराई रगत
सन्त फिलिपको उत्सवपछि पहिलो हिउँ पर्ने थालिहाल्यो । राति दोन: नदीको किनारातर्फबाट बतास चल्दथ्यो र स्तपी-मैदानमा ओइलाएर मुर्झाएको खैरो-रातो घाँस सुरसुराउन लाग्दथ्यो, अनि नालीहरूमा हिउँको ढिस्को जम्दथ्यो भने बाटोका उबडखबड ठाउँहरू नांगिएका हुन्थे ।
रातको घुम्टोभित्र गाउँ फिका हरियो गोधूलीको सुनसान वातावरणमा स्तब्ध थियो। आगन पल्तिर नै पटबाँझो असीम स्तपीमैदान लम्पसार परेर उँघिरहेको थियो ।
मध्य रातमा निकै पर कन्दरामा एउटा ब्बाँसो कराएको सुनियो । गाउँबाट कुक्कुरहरूले पनि भुकेर यसको जवाफ दिए। र बूढा गाभ्रिला पनि निद्राबाट ब्युँझिए । उनी आतश-खान माथिको खोप्रोबाट गोडा तलतिर तुलुग झारेर बसे, अनि धुवाँकसको ढकनीलाई हातले समातेर निकै बेरसम्म खोक्दै रहे । त्यसपछि उनले खकार फ्याँके र आफ्नो कमरमा बाँधिएको थैली छामे।
हरेक रातको प्रथम प्रहरमा नै पहिलो पल्ट कुखुरा बास्ना साथै बुढा गाभ्रीला ब्युँझन्थे र ओछ्यानमै टुक्रुक्क बसेर चुरोटको सर्को तान्दथे, खोक्न थाल्दथे, भित्न कलेजोमा टाँसिएको कफ जोडले खोक्दै निकाल्दथे र दमले गर्दा बढ्ने प्रयेक श्वासरोधको बीचको समयमा उनको मथिंगलमा पुरानै तरीकाले विचारहरू चक्कराउन थाल्दथे । उनी जहिले पनि उही आफ्नो छोराको बिचारमा मग्न हुन्थे जो युद्धको बेला लापत्ता भएको थियो।
उनको एक मात्र छोरो जन्मेको थियो र त्यही नै पहिलो र अन्तिम पनि थियो। त्यसै छोराको निम्ति गाभ्रिलाले दश नंग्री खियाएका थिए। आखिर उसलाई लाल सेना विरुद्ध लड्नको लागि मोर्चामा पठाउने समय पनि आयो । गाभ्रिलाले एक जोडा गोरू बजारमा बेच्न लिएर गए । त्यसबाट पाइएको पैसाले एक जना काल्मिकसंग उनले एउटा रिसल्ला घोडा किने । त्यो घोडा घोडै मात्र थिएन, ब् पटमैदानमा चक्कर काट्ने आँधीबेरी पो त थियो ! बूढाले पुरानो सन्दुस खोलेर त्यसबाट एउटा काँठी र बाजेका पालाको लगाम पनि झिके जसमा चाँदीको साजबाज पनि थियो। अनि छोरालाई बिदा गर्दै उनले भनेका थिए-
“ल, पेत्रो ! तँलाई मैले राम्रैसंग सिंगारेँ ! यस्तो टाठबाठको साथ हिंड्न त अफिसरले समेत धक मान्नु पर्दैन… । जा, तँ पनि आफ्नो बाबुले जस्तै काजाक फौजमा सेवा गर् ! हेर् , प्रशान्त दोनको इज्जत राख् ! तेरा जिज्यूबाजे र च्यापू-बाजेहरूले जारको सेवा गरेका थिए । तँ पनि आफ्नो निमकको साझो गर् ! …”
बुढा गाभ्रिला अक्सर गरी जहिले पनि जूनको प्रकाशले गर्दा छिरबिरे र टाटेपाटे हरियो छाया परेको झ्यालबाट बाहिर हेर्देथे र बाहिर आगनमा हावाले कुनाकाप्चा चहारिरहेको आवाज सुन्दथे । प्रति निमग्न भएर ती दिनहरूको सम्झना गर्दथे जुन अब कहिल्यै फर्केर आउनेवाला थिएनन् र सदाको लागि नै बितेर गैसकेका थिए।
बिदीइको बेला छवालीले छाना छाएको गाभ्रीलाको घरको दलिन नै हल्लिने गरी काजाकहरूले एउटा पुरानो काजाक गीत गाएका थिए।
हामी लड्छौं पंक्तिबद्ध भै:
केवल आडर पर्खिन्छौं। :
सेनापतिको आज्ञा पाई-
लड्छौं, काट्छौं, मादिन्छौं ! !
पेत्रो टेबुलको छेउमा बसिरहेको थियो। उसलाई मात लागिसकेको थियो र उसको अनुहार धुस्रोफुस्रो र झण्डै झण्डै कालोनीलो भैसकेको थियो। जब उसले अन्तिम पल्ट सवारलाई बिदाइ गर्दा दिइने रक्सीको प्याला पनि घुटुक्कै पिइ- दियो, उसले थकाइले लस्त आँखा चिम्ल्यो। तर फूर्तिसाथ घोडा चढ्यो र काँठीमा टाठिएर बस्यो । अनि उसले तरवार मिलायो र काँठीबाट झुकेर आफू जन्मेको घरको भुइँबाट एक मुठी माटो आफ्नो साथमा लियो। उ अहिले कहाँ होला ? र बिरानो देशको कुन माटोले उसको छातीलाई न्यानो पारिरहेको होला ?
बूढा गाभ्रिला लामो लहरे खोकी खोक्दछन् , स्याँस्याँ र फ्याँफ्याँ गर्दै सास फेरेको आवाज सुनिन्छ र उनको छातीका करङहरूले कहिले तल झैं त कहिले माथि उठ्दै खलाँती चलाइरहेका हुन्छन् । अनि घाँटीमा अड्किएको खकार साफ भएपछि जब एक छिन उनी धुँवाकसको भित्तामा आफ्नो कुप्रो पीठ अड्याएर आराम लिन्छन्, उनको मथिंगलमा फेरि उही पुरानै विचार पुरानै तरीकाले मड्उन थाल्दछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।