परिच्छेद १०

ब्रुनमा राजकुमार आन्द्रेइ कूटनीतिक नियोगमा सेवारत एक जना परिचित रसियाली बिलिबिनकहाँ बस्यो ।

“ओहो, मेरो प्यारो राजकुमार ! तिमीभन्दा असल पाहुना मेरो अर्को कोही हुनै सक्तैन,” राजकुमारलाई स्वागत गर्न बाहिर आउँदै बिलिबिनले भन्यो । “फ्रान्ज, राजकुमारका सामान मेरो कोठामा लगेर राखिदेऊ,” उसले बोल्कोन्स्कीलाई लिएर आउने आफ्नो नोकरलाई भन्यो ।

“विजय समाचार ल्याउने दूत भएर आएका होइनौ त तिमी ? वाह ! तर म भने यहाँ थला परेर बसेको छु, हेर्‌ त ।”

हात, मुख धोएर र लुगासुगा फेरेपछि राजकुमार आन्द्रेइ कूटनीतिज्ञको भव्य कोठामा आयो र आफ्नो लागि तयार पारिएको भोजनकुर्सीमा बस्यो । बिलिबिन अगेनाका छेउमा गएर आरामसाथ बस्यो ।

राजकुमार आन्द्रेइले, यात्राबाट थाकेर मात्र होइन, फौजी कूच सुरु भएदेखि यता जुन बखत ऊ सफासुग्घर हुनेदेखि लिएर सम्पूर्ण सुविधासम्पन्न जीवनका हरेक पूर्वाधार र अवसरबाट बन्चित भएको थियो र जुन सुखसुविधाहरूसँग ऊ बाल्यकालदेखि नै अभ्यस्त थियो, आराम र सन्तोषको सास फेर्यो । यसबाहेक अष्ट्रियालीहरूको स्वागतपछि उसका लागि रसियाली भाषामा नभए पनि (किनभने उनीहरू फ्रान्सेली भाषामा कुरा गरिरहेका थिए) एउटा रसियालीसँग कुरा गर्न पाउनु आत्मसन्तोषको विषय थियो, जसले उसका विचारमा अष्ट्रियालीहरूप्रति रहेको सर्वसाधारण रसियालीको घृणाको भावमा हिस्सेदार बनाउनेछ भन्ने भावनाले त्यस बखत बलियोसँग जरा गाडेको थियो ।

बिलिबिन पैँतिस वर्षको अविवाहित युवक थियो । उसको सम्बन्ध राजकुमार आन्द्रेइको जस्तै माथिल्लो वर्गसँग थियो । उनीहरू पिटर्सबर्ग छुँदादेखि नै एक आपसमा परिचित थिए । तर खास गरेर राजकुमार आन्द्रेइ कुतुजोभसँग भियना बस्दा उनीहरूको सम्बन्ध गाढा भएको थियो । सैनिक सेवामा जसरी राजकुमार आन्द्रेइको उच्च ओहदासम्म पुग्न सक्ने लक्षणहरू देखिन्थे त्यसै गरी कूटनीतिक क्षेत्रमा त्योभन्दा पनि धेरै माथि जानसक्ने लक्षणहरू बिलिबिनमा विद्यमान थिए । सोह्र वर्षको उमेरमा सेवा प्रवेश गरेकी बिलिबिनलाई अपरिपक्व कूटनीतिक भन्न मिल्दैनथ्यो यद्यपि उमेरका हिसाबले भर्खरकै युवक भन्न मिल्थ्यो । उसले पेरिस र कोपेनहेगनमा काम गरिसकेको थियो र हाल ऊ भियनामा निकै महत्त्वपूर्ण ओहदामा नियुक्त थियो ।

विदेशमन्त्री र भियनास्थित हाम्रो राजदूत दुवैले उसलाई चिन्थे र सम्मान गर्थे । ऊ ती धेरैजसो कूटनीतिज्ञहरूमध्ये थिएन, जो उनीहरूका नकारात्मक धारणाका कारण सर्वत्र मर्यादित हुन्थे, सकारात्मक काम पनि न सल्टाएर पन्छाइदिन्थे र फान्सेली भाषामा कुरा गर्थे । तर ऊ त्यस्ता व्यक्तिहरूमध्ये एक थियो, जो आफ्नो काममा सधैँ दत्तचित्त रहन्थ्यो, विधि पुर्याएर सम्पन्न गर्थ्यो र आलस्य अनुभव नै नगरेर कहिले-काँही रातभरि एउटै टेबुलकूर्सीमा बसेर काम गर्थ्यो । काम, जस्तोसुकै होस्‌, उसले गम्भीरतापूर्वक सम्पन्न गरेर छोड्थ्यो । उसका लागि “किन होइन” भन्ने प्रश्नले महत्त्व राख्य्यो । कूटनीतिक विषय के थियो, उसलाई मतलव थिएन तर बडो कुशलता, सुन्दरता र सटिकतापूर्वक, परिपत्र, नोट-चिनो अथवा प्रतिवेदन तयार पार्न उसलाई साह्रै मजा लाग्थ्यो । चमत्कारी लेखनशिल्पको लागि मात्र होइन, विभिन्न वर्ग र उच्च क्षेत्रका व्यक्तित्वहरूसँग आदरपूर्वक घुलमिल गर्ने र प्रेमपूर्वक कुराकानी गर्ने उसको कलाको लागि पनि उसको उच्च मूल्याङ्कन गरिन्थ्यो ।

काम जस्तै बिलिबिनलाई कुराकारी गर्न पनि मन पर्थ्यो तर तब मात्र, जब त्यस्तो कुराकानी रसिलो र लालित्यपूर्ण होस्‌ । समाज-सभामा ऊ कुनै घतलाग्दो विषय वा प्रसङ्ग उठ्यो भने केही बोल्ने अवसर कुरेर बस्थ्यो । र, त्यस्तो अवसर सम्भव भयो भने मात्र बोल्थ्यो । उसको कुराकानीमा मौलिकता र लालित्य हुन्थ्यो, सबैलाई मन पर्ने खालको समसामयिक रुचिको विषय हुन्थ्यो र माझिएको भाषा प्रयोग गरिएको हुन्थ्यो । उसका यस्ता वाक्यहरू उसको मनको प्रयोगशालामा यति सुन्दर शैलीमा निर्मित हुन्थे कि समाजका जस्तोसुकै वर्गका मानिसहरूको दिमागमा पनि सजिलै अटाउने र जहाँ गए पनि नबिर्सने खालका हुन्थे । र, वास्तवमा बिलिबिनको प्राज्ञत्व भियनाका बैठक कोठाहरूमा रुमल्लिरहेको हुन्थ्यो र अक्सर गरेर महत्त्वपूर्ण ठानिएका विषयहरूमा प्रभाव पार्ने हुन्थ्यो ।

बिलिबिनको दुब्लो-पातलो, क्लान्त र पहँलो अनुहारमा ठूल्ठूला चाउरी परेका थिए, जो रसियाली स्नान गरेपछि कसैका औँलाका टुप्पाझैँ सफा र धोइएका देखिन्थे । खास गरेर यिनै चाउरीका नै उसको अनुहारको भावलाई अभिव्यक्ति दिन्थे । कहिले उसको निधारमा ठूल्ठूला चाउरी पर्थे, आँखीभौँ माथितिर उठ्थे भने कहिले आँखीभौँ तलतिर झर्थे र गालामा चिरा पर्थे । उसका साना-साना, गहिरा-गहिरा आँखा सधैँ चम्किरहेका हुन्थे र सोझै अरूका आँखासँग जुध्थे ।

“लौ, अब तिम्रा बहादुरीका कथाहरू सुनाऊ,” बिलिबिनले भन्यो ।

बोल्कोन्स्कीले पनि अत्यन्त नम्र बोलीमा एक पटक आफ्नो नाम लिएर लडाइँको सबै बेलिबिस्तार सुनायो । र उसले युद्धमन्त्रीले आफूलाई गरेको स्वागत-शैलीको पनि बयान गर्यो ।

“उनीहरूले म र मेरो समाचारलाई त्यसै गरी स्वागत गरे जसोगरी स्किटलको खेले (नौ ठाडा मुग्दल भकुण्डोले लडाउने खेल ) कसैले कुकुरलाई स्वागत गर्छ,” आफ्नो कुरा समाप्त गर्दै उसले भन्यो ।

बिलिबिन मुस्कुरायो र उसको अनुहारको चाउरी बिलायो ।

“तर मेरो प्रिय साथी,” उसले टाढाबाट आफ्ना औँलाका नङ हेर्दै र बायाँ आँखामाथि रेखा पार्दै भन्यो, “इसाई धर्मका पालक रसियाली सेनाप्रति मेरो ठूलो आदरभाव हुँदाहुँदै पनि म भन्छु तिम्रो जित्त खासै ठूलो जित थिएन ।”

उसले फ्रान्सेली भाषामा नै आफ्नो कुरा भन्दै थियो र रसियाली शब्द त्यतिबेला मात्र प्रयोग गर्थ्यो, जब कुनै चिजप्रति तिरस्कारपूर्वक घुणा जनाउन चाहन्थ्यो ।

“जित किन शान्दार थिएन भनेर जान्न खोजौला, होइन ? त्यो जित यसकारण शान्दार थिएन कि तिमीहरू त्यति ठूलो फौज लिएर एउटा अभागी मोर्त्येको एउटा गणमाथि खनियौ । त्यति हुँदा पनि तिमीहरूले मोर्त्येलाई बन्दी बनाउन सकेनौ । त्यस्तो जितलाई पनि के जित भन्ने ?”

“तर गम्भीरतापूर्वक कुरा गर्ने हो भने,” राजकुमार आन्द्रेइले जवाफ दियो, “जे भए तापनि गफ नलाइकन भन्ने हो भने यति त भन्नै पर्ने हुन्छ कि उल्मको लडाइँभन्दा यो लडाइँ माथिल्लो दर्जाको थियो ……….. ।”

“तिमीहरूले कमसेकम एउटा बाहिनीपतिलाई त पकडेर ल्याउन सक्नुपर्ने हो । तर किन यति पनि गर्न सकेनौ ?”

“किन सकेनौँ भने सबैथोक भनेजस्तो नहुँदो रहेछ । कवाज खेलेजस्तो नियमबद्धता नहुने रहेछ । मैले भनेँ नि, हामीहरू बिहानको सात बजेसम्ममा उनीहरूको पछाडि घुसिसक्छौँ जस्तो लागेको थियो तर बेलुकीको पाँच बजेसम्म पनि घुस्न सकेनौँ ।”

“किन घुस्न सकेनौ बिहानको सात बजे ? बिहानको सात बजे घुस्नै पर्थ्यो,” बिलिबिनले मुस्कुराउँदै भन्यो, “बिहान सात बजे घुस्नै पर्थ्यो ।”

“तिमीले पनि आफ्नो कूटनीतिक चालबाट बोनापार्टको दिमागमा जेनोआबाट टाढै बस्न राम्रो छ भनेर किन घुसाउन सकेनौ ?” बिलिबिनको जस्तै शैलीमा राजकुमार आन्द्रेई
ले पनि ऊसँग प्रश्न गर्यो ।

“मलाई थाहा छ,” बिलिबिनले कुरा काट्यो, “तिमीलाई लाग्दो हो, सोफामा बसेर आगो ताप्दै दुस्मनका अफिसरहरूलाई समात्न सजिलो होला । त्यो सही कुरा हो तर किन त्यसो गर्न सकेनौ त ? त्यसैले युद्धमन्त्री मात्र होइन हाम्रा महामान्य सम्राट् र राजा फ्रान्सिस पनि तिम्रो यो जितबाट त्यति खुसी भएनन्‌ भने आश्चर्य नमाने हुन्छ । अरूको त कुरै छोडौँ म जस्तो रसियाली दूताबासको जाबो एउटा सचिवलाई पनि तिम्रो यो जितबाट खुसी लागिरहेको छैन ।” मेरो नोकर फ्रान्जलाई एक रुपयाँ दिन पनि मन लागेन । उसलाई कतै गएर गफ लगाएर आइज भन्न पनि मन लागेको छैन । हुन त यहाँ गफ गर्न पनि कोही छैन …….. ।”

उसले राजकुमार आन्द्रेदसँग आँखा जुधायो । उसका निधारका चाउरी स्वाट्टै हराएर गए ।

“मित्र, अब तिमीसँग प्रश्न सोध्ने मेरो पालो आयो,” बोल्स्कीन्स्कीले भन्यो । म यो भन्छु कि म यो कुरा बुझ्न असमर्थ छु र हुन सक्छ यसमा मेरो तुच्छ बुद्धिभन्दा टाढा केही राजनीतिक तुच्छता लुकेको होस्‌, तर म यो कुरा बुझ्न असमर्थ छु – जर्नेल माकले पूरा फौज नै सखाप पार्यो – ठूलो ड्युक फर्डिनाण्ड र कार्लले जीवनको अस्तित्वको सङ्केतसम्म दिदैनन्‌ र एकपछि अर्को भूल गर्दै जान्छन्‌ । अन्त्यमा वास्तविक विजय प्राप्त गर्ने त एक्लो कुतुजोभ मात्र रहेछन्‌ । उनले नै फ्रान्सेलीहरूको दुर्जयताको शृङ्खला नै नष्ट गरिदिने रहेछन्‌ र युद्धमन्त्रीले भने यससम्बन्धी समाचार, ध्यान दिएर सुन्न पनि चाहँदैन ।”

“ठीक, यस कारण कि प्रिय मित्र, त्यो जार, रसिया र धर्मको लागि एउटा नाद हो । ठीक छ यो राम्रो कुरा हो तर हाम्रो लागि अर्थात्‌ मैले भन्न खोजेको कुरा के हो भने अस्ट्रियाली राजदरबारका लागि तिम्रो जितसँग के मतलब छ ? हाम्रो लागि तिमीले आर्कडयुक कार्ल या फर्डिनाण्डद्वारा गरिएको विजयको खबर लिएर आऊ (तिमीलाई थाहै छ एउटा आर्कडयुक अर्को जत्तिकै असल छ) चाहे बोनापार्टको अगिन नियन्त्रक ब्रिगेडमाथि मात्र गरिएको विजय नै किन नहोस्‌, त्यो अर्कै कथा बन्नेछ हामी तोप पड्काएर सलामी दिने छौँ । तर यस्ता कुराहरूले हामीलाई चिढाउन मात्र खोजे जस्तो हुन्छ । आर्कडयुक कार्लले केही गर्दैन । आर्कडयुक फर्डिनाण्ड आफ्नो अपमान आफै गरिरहेछ । तिमीले भियैनालाई त्याग गरिदियौ । “भगवान्ले हाम्रो भलो गरुन्‌ र अस्ट्रिया र अस्ट्रियाको राजधानी भियनाको पनि रक्षा गरुन्‌ भन्दै तिमीले उसको रक्षा गर्ने काम त्यागी दियौ । हामी सबैले माया गर्ने एउटा जर्नेल स्मिथ थियो, उसलाई शत्रुको गोलीको सिकार बनाई दियौ, तैपनि तिमी हामीसँग बधाई दिन र लिन यहाँ आउछौ । मित्र….. तिमीले यो स्वीकार गर कि योभन्दा रिस उठ्ने अर्को कुनै खबर नै हुन सक्तैन । यो खबर त यस्तो खबर हो जुन खबरमा जानीजानी प्रपञ्च रचिएको छ । हो, यस खबरको आसय केही अर्कै हुनुपर्छ । यदि तिमीले साँच्चै नै विजय प्राप्त गरेका हुँदा हौ, ड्युक कार्ल नै पनि विजय प्राप्त गरेका हुँदा हुन्‌ त, परिस्थितिले त्यस अवस्थामा अर्कै रूप लिन्थ्यो त ? अब, जब कि भियनामाथि फ्रान्सेली फौजको कब्जा जमिसकेको छ यस्तो परिवर्तनको अपेक्षा गर्नु धेरै ढिलो भइसकेको छ ।”

“के भन्यौ ?”

“कब्जा भइसक्यो र ? भियनामाथि कब्जा भइसक्यो ?”

“भियनामाथि कब्जा भएको मात्र होइन, बोनापार्ट सेनब्रुनमा नै छ । काउन्ट, हाम्रो प्यारो काउन्ट भ्रबना आदेश लिनको लागि ऊसँग गइरहेछ ।”

एकातिरको थर्काइ र अर्कोतिरको थकाइबाट पर्न गएको प्रभाव, दरबारमा भएको स्वागत र त्यसबाहेक विशेष गरेर भोजनपश्चात्‌को क्षणमा बोल्स्कीन्स्कीले यस्तो अनुभव गरिरहेको थियो कि उसले सुनेका शब्दहरूको यथार्थ महत्त्व उसले बुझिरहेको थिएन ।

“काउन्ट लिचेनफेल्स्‌ आज बिहान यहाँ थियो,” बिलीबिनले भन्दै गयो, “र उसले मलाई त्यो चिठी देखायो, जुन चिठीमा फ्रान्सेलीहरूले भियनामा खेलेको कवाजको सविस्तार वर्णन गरिएको थियो । राजकुमार मुराट र अरू सबै कुराहरू तिमीले देखिरहेकै छौँ – कि तिम्रो जितले खास खुसी दिन सकेजस्तो लाग्दैन र त्यसै कारणले गर्दा रक्षकको रूपमा तिम्रो आदर-सत्कार हुन सक्तैन………. ।”

“म साँच्चै भन्छु, मलाई यसको कुनै चिन्ता छैन – अहँ कुनै चिन्ता छैन” राजकुमार आन्द्रेइले भन्यो । उसले अब यो बुझ्न थालेको थियो कि अष्ट्रियाको राजधानी भियनामा फ्रान्सेलीहरूको आधिपत्यजस्तो महत्त्वपूर्ण घटनाहरूलाई ध्यानमा राख्दा क्रेम्सको नजिक भएको लडाइँको खबरले वास्तवमा कुनै विशेष महत्त्व राख्दैनथ्यो ।

“भियनामाथि कसरी कब्जा भयो ? पुल, शत्रुतर्फबाट सुरक्षित हुनुपर्ने – पुलको मुख बन्द र राजकुमार आउएरस्पेर्गका बारेमा के भयो ? हामीले सुनेको उडन्ते खबरअनुसार राजकुमार आउएरस्पेर्गले भियनाको रक्षा गरिरहेको छ,” उसले भन्यो ।

“राजकुमार आउएरस्पेर्ग डेन्युब नदीको यसपारि, हाम्रो क्षेत्रमा छ र हाम्रो रक्षा गरिरहेको छ । मेरा विचारमा उसले धेरै नराम्रोसँग रक्षा गरिरहेछ, तैपनि रक्षा गरिरहेको छ । तर भियना त नदीको पारिपट्टि छ । जे भए पनि पुलमा अहिलेसम्म दुस्मनको कब्जा भएको छैन र मेरा विचारमा उसको कब्जा हुने पनि छैन किनभने त्यहाँ विष्फोटक तारहरू बिछ्याइएका छन्‌ र पुल उडाइदिने आदेश दिइसकिएको छ । यदि यस्तो नहुँदो हो त यति बेला हामी बोहोमियाको पहाडमा हुने थियौँ । तिमी र तिम्रो फौजले दुईतर्फी गोलावर्षाको सामना गर्दै कष्टकर पन्ध मिनेट जति बिताइसकेका हुने थियो ।”

“तर यसको मतलब लडाइँ खतम भएको त होइन” राजकुमार आन्द्रेइले भन्यो ।

“मेरा विचारमा त लडाइँ खतम भएजस्तो लाग्छ । यहाँका बुज्रुकहरूले पनि त्यस्तै सोच्छन्‌ तर मुखले यस्तो भन्ने आँट गर्दैनन्‌ । लडाइँको सुरुमा मैले जे भनेथेँ त्यही हुन्छ । डयुरेन्स्टेनमा तिम्रो भीडन्त हुँदैन – गोला-बारुदको काम छैन – तर निर्णय तिनीहरूले नै गर्ने छन्‌, जसले यसको आविष्कार गरेका हुन्‌,” आफ्नो एउटा चुट्किला थेगो उद्धरण गर्दै, निधारका चाउरीका रेखा हटाउँदै र यसो अडकिँदै बिलिंबिनले भन्यो । “प्रश्न के छ भने सम्राट्‌ अलेक्जेन्डर र प्रसियाका राजाको वर्लिनमा हुने भेटवार्तामा के हुन्छ ? यदि प्रसिया मित्रराष्ट्रहरूसँग मिल्छ भने, ऊ पनि बाध्य हुन्छ र त्यस्तो अवस्थामा लडाइँ हुन्छ । यदि मिल्दैन भने शान्ति सन्धिका पूर्व धाराहरू अस्ट्रिया र फ्रान्सको सन्धि १९९७ ? कहाँ बसेर लेख्ने भन्ने कुरा मात्र बाँकी रहनेछ ।”

“कस्तो असाधारणा प्रतिभाशाली व्यक्ति हो ऊ ?” राजकुमार आन्द्रेइ अचानक आफ्ना साना-साना हातका मुठी बजार्दै र टेबुलमाथि ठोक्दै चिच्यायो, “होइन, कति भाग्यशाली रहेछ त्यो मान्छे ?”

“बोनापार्ट ?” बिलिबिनले निधार खुम्च्याउँदै प्रश्नवाचक अर्थमा भन्यो । ऊ कुनै रसिलो ठट्टा गर्न गइरहेको सङ्केत गर्दै थियो । “बोनापार्ट ?” उसले बोनापार्टको फ्रान्सेली उच्चारण गर्दा …ऊ” (बोनापार्टको न्वारनको नाम बुनार्पाट थियो ) शब्दमा विशेष जोड दिँदै उसले भन्यो मलाई लाग्छ अहिले ऊ शेनब्रुनमा बसेर आष्ट्रियाको कानुन बनाइरहेछ भने उसलार्इ “ऊ”बाट मुक्त गरिदिनु पर्छ । म एउटा नयाँ आविस्कार गर्छु र उसलाई बोनापार्ट मात्र भन्छु ।”

“खैर, धेरै ठट्टा नगरौँ,” राजकुमार आन्द्रेइले भन्यो, “तिम्रो विचारमा लडाइँ समाप्त भएकै हो त ?”

“मैले बुझेको कुरा यस्तो छ । आष्ट्रियालाई उल्लू बनाइयो – तर ऊ यसको आदि छैन (थाहा छैन) त्यसैले उसले अवश्य बदला लिने छ । पहिलो कुरो, उसलाई उसका नम्बरका लुटेरा हुन्‌ । उसको सेना नष्ट भयो । राजधानी खोसियो । र सबै सार्डिनियाली सम्राट्का सुन्दर आँखाका लागि भयो । त्यसकारण हेर मित्र, यो हामी दुईबीचको कुरा सामान्य बुद्धिले यही भन्छ कि फ्रान्ससँग शान्ति-सन्धि गोप्य-सन्धि, र गोप्य ढङ्ले गरिने सन्धिको कुरा चलिरहेको,छ ।”

“बाँचियो भने देखौँला,” बिलिबिनले उत्तर दियो । उसको अनुहारको चाउरी फेरि हरायो – यसको अर्थ थियो सायद दुई जना बीचको विवाद समाप्त भयो ।

राजकुमार आइन्द्रे जब सुत्नका लागि तयार गरिएको कोठामा गयो र सफा स्लिपिङ सुट लगाएर भुवादार नरम-नरम बिछ्यौनामा पल्टियो अनि। मगमगाउँदो र न्यानो तकियामा टाउको स्थित गर्यो, उसले महसुस गर्यो कि उसले खबर लिएर आएको लडाइँबाट ऊ टाढा धेरै टाढा थियो । प्रसियासँग गठबन्धन , अष्टियाले गरेको गद्दारि ,बोनापार्टको अभिनव विजय, भोलिपल्टको कवाज, सलामी र सम्राट्‌ फ्रान्सिससँग हुने भेट- यी सबै कुराहरू मात्र उसको दिमागमा घुमिरहेका थिए ।

जसै उसले आँखा बन्द गर्यो, तत्काल उसका कानमा तोप र बन्दुकका गोलाबारी,तोप र बन्दुक चलाउने सिपाही र बग्गीका चक्काहरूका आवाज गुन्जिए । उसलाई यस्तो लाग्यो बन्दुक र तोपधारी सिपाहीहरूको एउटा मसिनो पंक्ति पहाडबाट तलतिर धडकन बढिरहेछ्न । र ऊ घोडामा चढेर स्मितको अगाडि-अगाडि गइरहेछ । उसको चारैतिर प्रफुल्लित गोलाबारी सनसनाउँदै उडिरहेछ । र उसले बालककालदेखि जीवनमा कहिल्यै अनुभव गर्न नपाएको आनन्द अहिले दस गुना बढिरहेछ ।

उसका आँखा अनायास खुले ।

“हो त, यी सब भएकै कुरा हुन्‌,” उसले मनमनै भन्यो । र, आफूसँग आफै खुसी हुँदै, मुस्कुराउँदै एउटा बालकजस्तै यौवनको गहिरो निद्रामा पर्यो ।