“परन्तु के हुन पुग्यो भने सबै कुरा ठ्याक्क मिल्न गयो: मेरो मन: स्थिति, उसको श्रृङ्गारपटार र साथै नौकाविहार ! पहिले बीसौंपल्ट यसको कुनै असर परेको थिएन, तर त्यस बखत पर्यो । म पासोमा परिहालें । मैले ठट्टा गरिरहेको होइन । अचेल वास्तवमा पासो थापेर नै त बिहेबारी पनि गरिन्छ । हुनुपर्ने चाहिँ के हो ? छोराछोरी हुर्केपछि उसको बिहे गरिदिनैपर्छ । लाग्छ, यो कुनै गाह्रो कुरै होइन । यदि केटी कुरुप छैन र बिहे गर्न इच्छुक केटो पनि छँदै छ भने सजिलै छ । प्राचीन कालमा यस्तै हुन्थ्यो पनि । कन्याकेटी उमेरदार हुनेबित्तिकै आमाबाबुले उसको बिहेको लागि कुमारकेटो खोज्नेगर्थे । जताततै यस्तै चलन थियो । आज पनि सबै मान्छेहरू यस्तै गर्छन्‌- चिनियाँ , हिन्दुस्थानी, मुसलमान र हाम्रै सर्वसाधारण मानिसहरूमा पनि यस्तै हुन्छ । संसारका उनन्सय प्रतिशत जति हामी व्यभिचारीहरूले यो प्रथा राम्रो होइन भन्ने फैसला गरिदियौं र एउटा नयाँ चलन पत्ता लगायौं । हुन त यसमा नयाँ के नै छ र ? नयाँ कुरा केही छभने त्यो यही नै छ कि केटीहरू लहरै बसिरहन्छन्‌, तर केटाहरू चाहिं मेलाबजारमा जस्तै उनीहरूको वरिपरि झुम्मिएर आफूलाई मनपरेकी एउटीलाई रोज्दछन्‌ । पालो पर्खेर बसिरहेका केटीहरू मनमनै भन्छन्‌: “हजूर, म यहाँ बसेकी छु, मलाई लिइहाल्नोस्‌ ! त्यसलाई होइन, मलाई रोज्नोस्‌ ! हेर्नोस् न, मेरा कुम कति सुडौल छन्‌ । … मेरा अन्य अङ्प्रत्यङ्घ पनि सुन्दर छन्‌ !…” उनीहरू यो सब मुख खोलेर भन्ने चाहि आँट गर्दैनन्‌ । अनि हामी पुरुषहरू चाहिँ उनीहरूको वरिपरि ढल्कीढल्की हिंड्छौं, एकटक लगाएर उनीहरूलाई निहाछौँ र मनमनै रमाएका हुन्छौं । “थाहा छ, यस्ता पासोमा पर्नेवाला नठान मलाई !”- हामी मनमनै सोच्छौं, मक्ख परेर निरीक्षण गर्छौ र हाम्रो लागि यस्तो रमाइलो प्रदर्शनीको आयोजना गरिएकोमा ज्यादै खुशी हुन्छौं । परन्तु हामीले अलिकति पनि सतर्क हुन छाड्यौं कि त स्वाट्ट पासोमा फसिहाल्छौँ ।”

“त्यसो भए के गर्ने नि ?” – मैले सोधेँ । – “के त, आइमाईहरूले विवाह-प्रस्ताव आफैँ नै ल्याऊन्‌ भन्ने तपाईं चाहनुहुन्छ ?”

“के हुनुपर्ने हो त्यो त मलाई पनि थाहा छैन । यदि समानाधिकार हुनुपर्छ, यदि आमाबाबुले वर खोजिदिएको अपमानजनक ठान्ने हो भने अहिले जुन किसिमको चलन छ त्यो त हजार गुना बढ्ता अपमानजनक छ । पहिलो अवस्थामा कमसेकम अधिकार र अवसर त समान छन्‌ । तर यहाँ त नारी या त यस्तो दासी हो जसलाई बजारमा बेच्न राखिन्छ, या त कसैलाई पासोमा फसाउने प्रलोभन मात्रै ! परन्तु तपाईंले साहस बटुलेर कथंकदाचित्‌ कुनै युवतीलाई अथवा उसकी आमालाई उसको एक मात्र काम नै पतिलाई जालमा फसाउनु हो भनेर सत्य कुरा भन्दिइहाल्नुभयो भने ऊ हुनसम्म रिसाउली । हे भगवान्‌, उसलाई कत्तिको मर्म पर्ला ! परन्तु उनीहरू वास्तवमा त यही नै गरिरहेका हुन्छन्‌ र उनीहरूसित अर्को गर्ने काम पनि त केही हुँदैन । यी सूधसाधा र कलिलै उमेरका बिचरी युवतीहरूले यस्तो गर्नुपरिरहेको देख्दा साह्रै चित्त दुख्छ ! कम्तीमा पनि यदि यो सब खुल्लमखुल्ला गरिंदो हो त कुरै अर्कै हुनेथियो । तर यहाँ त सब गुपचुपसित गरिन्छ । “अहो ! तपाईंले जीवजन्तुहरूको उत्पत्ति पढ्नुभएको छ ? बहुतै रूचिकर छ ! ओ ! लीजा त चित्रकलामा खूब सोख लिन्छिन्‌ ! के प्रदर्शनी हेर्न जाने होइन त ? अहो, तपाईंको रुचि त निकै राम्रो रहेछ ! त्रोइकाको(तीनवटा ङोडाले हाँकिएको बग्गी ) सफर गर्नुहुन्छ, नाटक हेर्नुहुन्छ, सिंफनी संगीत सुन्नुहुन्छ । रूचिको कस्तो विविधता ! मेरी लीजा त संगीत बिछ्ट्टै मन पराउँछिन्‌ । … तपाईं यस विचारसित किन सहमत हुनुहुन्न हँ ? अनि नौकाविहार ! …. उसको मनमा चाहिँ एउटै विचार मात्र रन्थनिइरहेको हुन्छ : “लौ, लिनोस्‌ ! मलाई लग्नोस्‌ ! अथवा मेरी लीजालाई नै लिएर जानोस्‌ ! हैन, मलाई नै लग्नोस्‌ ! मात्र लगेर त हेर्नोस्‌ ! … ” उफ्‌ ! कस्तो छलकपट ! कति घिनलाग्दो कुरा !” यति भनेर उसले चियाको अन्तिम चस्को लियो । अनि गिलास र चियादानी उठाएर एकातिर पन्छयाउन थाल्यो ।