फैक्ट्रीबाट दोस्रो सिटीको आवाज सुनियो, तर यसपल्ट सिटीको आवाज त्यति तीखो थिएन – सिटीको एकनासे आवाजमा एक हलुको कम्पन थियो । आमालाई लाग्यो आज सिटी सधैंभन्दा धेरैबेर बज्दैछ ।
अर्को कोठाबााट उक्राइनिको सुसाउँदो स्पष्ट आवाज सुनियो ।
“सुन्यौं पाभेल ?”
कसैले नाङ्गा खुट्टाले भुइँमा टेकेको आवाज सुनियो, अनि अर्कोले मीठो निद्रापछि हाई ग¥यो ।
“सामोभार तात्यो !” – आमाले ठूलो स्वरमा भनिन् ।
“उठ्यौं !” – पाभेलले उत्साहपूर्ण स्वरमा भनिन् ।
सूर्य निस्किसकेछ !” – उक्राइनिले भन्यो – “बादल पनि देखा पर्न थालेछ ।
बादल चाहिँ आज बेकार छ … ।”
यति भनेर अझ पनि राम्ररी निदले नछोडेको उक्राइनि अस्तव्यस्त अवस्थामा भान्साकोठाभित्र पस्यो । ऊ निकै प्रसन्न देखिन्थ्यो ।
“आमा नमस्कार ! राती कस्तो सुत्नु भो त ?”
आमा उठिन् र उसको नजिक आइन् ।
“आन्द्रेइ, तिमी ऊसँगसँगै जानु है !” – उनले बिस्तारै भनिन् ।
“अवश्य !” – उसले पनि सानो स्वरमा जवाफ दियो – “आमा, तपाई विश्वास गर्नोस्, जबसम्म हामी एकसाथ हुन्छौं, सधैं एक–दोस्रासँग काँधमा काँध मिलाएर हिँड्नेछौं !”
“त्यहाँ के कानेखुसी हुँदैछ हँ ?” – पाभेलले सोध्यो ।
“केही होइन, पाभेल !”
“आमा भन्दै हुनुहुन्थ्यो आज राम्ररी हातमुख धुनू ! आज सबै केटीहरुका आँखा ममाथि नै पर्नेछ !” – उक्राइनिले मुख धुन बरन्डामा निस्कँदै भन्यो ।
“लाग, लौ उठ ए मजदुरगण !” – पाभेल गुनगुनाउन थाल्यो ।
मौसम सफा हुन थाल्यो, हावाले बादलमा डल्लाहरु उडाउँदै लग्यो ।
आमाले चिया पिउनका लागि कपप्लेट बटुल्न थालिन् । उनी टाउको हल्लाउँदै सोच्दै थिइन् – “कस्तो अनौठो कुरा त, अहिले दुवै जना हाँसोठट्टा गर्दैछन्, तर दिउँसो भएर के हुने हो ? कसैलाई थाहा छैन ।” किन हो कुन्नी, उनको आफ्नै हृदय पनि शान्त थियो र एक विचित्र उल्लासले भरिएको थियो ।
चिया पिउन धेरैबेर लगाए । उनीहरु चाहन्थे सकेसम्म छिटो समय बितोस् । पाभेल सधैंजस्तो बिस्तारै आफ्नो गिलासमा चिनी मिसाउँदै थियो । उसले बडो सावधानीपूर्वक आफ्नो रोटीको टुक्रामा नुन छर्कियो, कहीँ ुन बढ्ता त हुने होइन । उसले सधैंजस्तो आज पनि पाउरोटीको छेउको टुक्रा लिएको थियो, उसलाई यही टुक्रा मन पथ्र्यो । उक्राइनि टेबुलमुनि आफ्नो खुट्टा हल्लाउँदै थियो – ऊ कहिल्यै आफ्नो खुट्टा हल्लाउँदैन थियो – ऊ कहिल्यै आफ्नो खुट्टा एकै ठाउँमा राख्न सक्दैनथ्यो र चियामा प्रतिबिम्बित भएर भित्ता र सिलिङमा परिरहेको सूर्यको किरण हेर्दै थियो ।
“एकपल्ट, त्यसबेला म करिब दश वर्षको थिएँ होला, सूर्यलाई गिलासभित्र थुन्ने विचार गरेको थिएँ ।” – आन्द्रेइले भन्यो – “म एउटा गिलास लिएर बिस्तारै त्यो भित्तातिर लागेँ, जहाँ घामको एउटा टाटो देखिन्थ्यो । मैले गिलास पल्टाएर ढ्याम्म त्यो ठाउँमा हिर्काएँ । गिलास फुट्यो र हातमा घाउ लाग्यो, अझ त्यसमाथि मार पनि प¥यो । मार खाइसकेपछि म चोकमा निस्केँ । त्यहाँ हिलामा मैले फेरि सूर्यको छायाँ देखेँ । बडो मस्तीले मैले त्यो छायाँलाई लातले हिर्काउन थालेँ । लुगाभरि हिलो लाग्यो, फेरि मार खाएँ, के गर्ने हो ? रिसले चुर भएर मैले सूर्यलाई जिभ्रो देखाउँदै गाली गर्न थाले – “मलाई अलिकति पनि दुखेको छैन कैले चण्डाल ! अलिकति पनि दुखेको छैन । किन हो कुन्नी त्यसपछि घाउ पनि चहराउन छोड्यो ।”
“किन सूर्यलाई कैले भनेर डाक्यौ त ?” – पाभेलले हाँस्दै सोध्यो ।
“हाम्रो घरको सडकपारि रातो मुख भएको एउटा लोहार बस्थ्यो । उसको दाह्री पनि कैलो थियो । ऊ बडो रमाइलो र दयालु मान्छे थियो । मलाई लाग्थ्यो, सूर्य पनि ऊजस्तै हुनुपर्छ … ।”
आमाले अरु बढी सहन सकिनन् र भनिहालिन् –
“किन तिमीहरु आजको जुलुसबारे कुरा गर्दैनौ ?”
“जुन कामको बन्दोबस्त भैसकेको छ, त्यसबारे कुरा गर्नुको अर्थ हो त्यो काम बिगाुर्न !” – उक्राइनिले बिस्तारै भन्यो – “आमा, केही भएर हामी सबै समातियौ भने तपाईकहाँ निकोलाइ इभानोभिच आउनेछन् । अगाडि के गर्ने हो सबै कुरा बताउनेछन् ।”
“ठीक छ !” – आमाले लामो सास फेर्दै भनिन् ।
“सडकमा निस्के कस्तो होला ?” – पाभेलले यस किसिमले भन्यो, मानौं ऊ कुनै अर्कै संसारमा घुम्दैछ ।
“होइन, अझै निस्कने बेला भएको छैन !” – आन्द्रेइले जवाफ दियो – “किन अगाडि नै पुलिसलाई जिस्क्याउने ? त्यसै त उनीहरुलाई तिमीबारे सबै कुरा थाहा छ !”
फ्योदर माजिन दौड्दै आइपुग्यो । जसको अनुहार चम्किँदै थियो र गाला रातोपिरो थियो । उसको उल्लासपूर्ण उत्साहले निरन्तर प्रतीक्षाले गर्दा कोठामा फैलिएको उराठलाग्दो वातावरण हटाइदियो ।
“सुरु भयो !” – ऊ चिल्लाउँदै थियो – “मान्छेहरु तात्तिन थालेका छन् ! सबै सडकमा निस्कन थालेका छन् ! सबैको अनुहार बन्चरोजस्तो तन्किएको छ । भेसोभसिकोभ, भासिली गुसभे र सामोइलोभ फैक्ट्रीको ढोकाअगाडि उभिएर भाषण गर्दैछन् । धेरै मजदुरहरु घर फर्किसके ! आऊ हिडौं, दस बजिसक्यो .. !”
“लौ हिँड !” – पाभेलले दृढतापूर्वक भन्यो ।
“हेर्नू, हाफ टाइमपछि सबै मजदुरहरु बाहिर निस्कनेछन् !”– फ्योदरले भन्यो र दौड्दै बाहिर निस्क्यो ।
“कस्तो चञ्चल केटो त हँ, सधैं किभ्न लागेको मैनबत्तीको लौजस्तो काँपिरहेको हुन्छ !” – आमाले भनिन् । यति भनेर उनी उठिन् र लुृगा फेर्न भान्साकोठाभित्र पसिन् ।
“आमा, तपाई कता नि ?” – आन्द्रेइले सोध्यो ।
“तिमीसँगै !” – आमाले जवाफ दिइन् ।
आन्द्रेइले आफ्नो जुँघा मुसार्दै बिस्तारै पाभेलतिर हे¥यो र पाभेल आफ्नो कपाल सुमसुम्याउँदै आमातिर आयो ।
“आमा, म तपाईलाई केही भन्दिनँ । तपाई पनि मलार्य केही नभन्नुहोला, ठीक छ ?”
“हुन्छ, हुन्छ ! ईश्वरले तिमीहरुको रक्षा गर्नेछन् !” – आमाले भनिन् ।
जब आमा बाहिर निस्किन् र चारैतिरबाट उत्तेना र उत्सुकताले भरिएका मानवआवाजहरुको गुन्जन सुुनिन्, मान्छेहरुले आफ्ना झ्याल र ढोकाहरुबाट पाभेल र आन्द्रेइलाई कौतुहलपूर्ण दृष्टिले हेरिरहेका देखिन् । उनका आँखाअगाडि हरिया, खैरा अस्पष्ट आकृतिहरु घुम्न थाले ।
बाटामा उभिएका मान्छेहरु पाभेल र आन्द्रेइलाई नमस्कार भन्थे । आज उनीहरुको यस अभिवादनमा एक विशेष अर्थ लुकेको थियो । मान्छेहरु मन्द स्वरमा टीकाटिप्पणी गर्थे र ती शब्दहरु यदाकदा आमाको कानमा पर्थे ।
“ऊ, आइपुगे नेताहरु … ।”
“हामीलाई के थाहा को नेता हो … ।”
एउटा चोकबाट कसैको चिढिएको आवाज सुनियो ः
“पुलिसले समातेर लगेपछि थाहा पाऊलान्, खत्तम पारिदिनेछन् … ।”
“एकपल्ट समातिसकेका छन् !”
माथि झ्यालबाट एउटी आइमाईको तीखो, त्रस्त स्वर सुनियो –
“याद राख् ! तँलाई आफ्नो परिवार पाल्नु छ !”
अहिले उनीहरु लँगडो जोसिमोभको घरनेर पुगेका थिए । फैक्ट्रीमा काम गर्दा उसको खुट्टा काटिएको थियो र उसले फैक्ट्रीबाट पेन्सन पाउँथ्यो ।
“पाभेल !” – उसले झ्यालबाट टाउको निकालेर डाक्यो – “बदमास्, यसपल्ट तेरो टाउको फोडिदिनेछन् !”
आमा तर्सिन् र टक्क अडिन् । उनका नशानशामा क्रोधको लहर दौड्यो । आमाले माथितिर हेरिन् र लँगडोको मोटो, थलथले अनुहार देखिन् । उसले गाली गर्दै झ्यालबाट आफ्नो टाउको हटायो । आमा छिटोछिटो हिँड्न थालिन् र छोराको छेउमा पुगेपछि ऊसँगसँगै हिँड्न थालिन् । उनी पछि पर्न चाहन्नथिन् ।
पाभेल र आन्द्रेइले कुनै पनि कुरामाथि ध्यान दिइरहेका छैनन्, चारैतिरबाट आइरहेका यी आवाजहरु उनीहरुले सुनेकै छैनन् जस्तो लाग्थ्यो । उनीहरु बिस्तारै शान्तिपूर्वक हिँड्दै थिए । बाटामा मिरोनोभले उनीहरुलाई रोक्यो । त्यो पाको, विनम्र मान्छेलाई उसको गम्भीर स्वभाव र इमानदारीले गर्दा सबैले आदर गर्थे ।
“दानिला इभानोभिच, तपाई पनि आज काममा जानुभएन ?” – पाभेलले सोध्यो ।
“मेरी पत्नी सुत्केरी हुनेवाला छे । फेरि यस्तो गडबडीपूर्ण दिन छ !” ऊ बडो ध्यानपूर्वक दुवै जनालाई हेर्दै थियो र विस्तारै सोध्यो –
“सुन्छु, तिमीहरु आज डाइरेक्टरको दिमाग खराब गर्ने दाउ हेरेर बसेका छौ । भन्छन्, झ्यालढोका तोडफोड गर्ने विचार छ रे तिमीहरुको, साँचो हो ?”
“हामी थोरै रक्सीबाजहरु हौं र ?” – पाभेलले भन्यो ।
“हामी खालि झण्डा लिएर सडकमा जुलुस निकाल्नेछौं र गाना गाउँदै जानेछौं ।” – उक्राइनिले भन्यो – “हाम्रो गाना सुन्नुहोला, त्यसैमा हामीले आफ्ना सबै कुरा बताएका छौ !”
“मैले बुझेको छु तिमीहरुको कुरा !” – मिरोनोभले विचारमग्न हुँदै भन्यो – “तिमीहरुको पर्चाहरु पढ्ने गरेको छु । ए, पेलागेया निलोभ्ना !” उसले चकित हुँदै भन्यो । उसका तीखा आँखाहरु चम्कँदै थिए – “त्यसो भए तिमी पनि विद्रोह गर्न हिँड्यौ ?”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

