परिच्छेद- ९
नेपोलियन बोनापार्टको कमानमा रहेको एक लाख सङ्ख्याको फ्रान्सेली सेनाद्वारा लखेटिएको, शत्रुताको भावना राख्ने मान्छेहरूका विरुद्ध भिडेको, र आफ्ना मित्र राष्ट्रहरूको विश्वास गुमाएको, रसद-पानीको अभाव भोगेको, पूर्व अनुमान नगरिएको, युद्ध अवस्थाको कल्पना पनि गर्न नसकिएको स्थितिमा शत्रुसँग भिड्न विवश भएको कुतुजोमद्वारा समादेशित पैंतिस हजार रसियाली सेना डेन्युब नदी सँगसँगै द्रुत गतिमा पछाडि हटिरहेको थियो । उक्त कमान त्यहीँ मात्र अड्थ्यो, जहाँ दुस्मनले उसलाई घेर्थ्यो र पृष्ठ रक्षक दल त्यस्तै अवस्थामा जाइलाग्थ्यो, जहाँ आफ्नोतर्फ विशेष हानि-नोक्सानी नबेहोरी पछाडि हट्न जरुरी हुन्थ्यो । लाम्वाख, आम्सतेतेम र मेल्कमा यस्ता झडपहरू, भए तर शत्रुले पनि स्वीकार गरेका रसियाली सैनिकले देखाएको वीरता र दृढताका बाबजुद निस्केको परिणाम यही भयो – सेना पहिलेभन्दा पनि द्रुत गतिमा पछाडि हट्न बाध्य भयो । उल्मनजिक बन्दी हुनबाट बचेको अस्ट्रियाली सेना, जो ब्राउनाउको नजिक कुतुजोभका सेनामा आएर मिलेको थियो, अहिले फेरि उक्त सेनाबाट अलगिगएको थियो, त्यसैले कुतुजोभसँग आफ्नो थकित र दुर्बल सेनामाथि भर पर्नुबाहेक अर्को विकल्प थिएन । यस अवस्थामा भियनाको रक्षा गर्नु भनेको कल्पनाभन्दा पनि बाहिरको कुरा थियो । कुतुजोभ भियनामा भएका बेला उसलाई दिइएको अस्ट्रियाली होफक्रिग्सराथद्वारा निर्मित नवीनतम समर रणनीति उनको सामु एक मात्र र लगभग असम्भव लक्ष्य बाँकी रहेको थियो – “आफ्नो सेनाको कुनै नोक्सानी नगरेर उल्ममा जर्नेल माकले गरेजस्तै जसरी भए पनि रसियाबाट आइरहेका सेनासँग आफ्नो सेना समावेस गराउने ।”
अक्टुबर २८ तारिखका दिन कुतुजोभले आफ्नो सेनासाथ डेन्युबको बायाँ किनार पार गरे र नदीलाई आफ्नो सेना र फ्रान्सेलीहरूको मुख्य सैनिक शक्तिबीच सीमारेखा बनाउँदै पहिलो पटक मोर्चा कसे । अक्टुबर ३० तारिखका दिन उनले डेन्युबको बायाँ ‘किनारस्थित मोर्तेयरको पृतनामाथि आक्रमण गरे र त्यसलाई तहसनहस पारिदिए । यस कार्वाहीमा पहिलोपटक दुस्मनका झण्डा, केही तोप र दुई जना जर्नेलसमेत हात लागे ।
पन्ध्र दिनसम्म पछाडि हटेपछि रसियाली फौज पहिलो पटक रोकिएको थियो र उसले युद्ध क्षेत्रमा विजय प्राप्त गरेको मात्र होइन, फ्रान्सेलीहरूलाई त्यहाँबाट पूर्ण रूपमा लखेटी पनि दिएको थियो । यद्यपि रसियाली फौज अर्धनङ्गा र लखतरान भएको थियो र पछाडि छोडिएका, मरेका, बिरामी परेका र घाइते भएका समेत गरेर एक तिहाइको सङ्ख्यामा कमी पनि भएको थियो यद्यपि कुतुजोभद्वारा केही घाइते र बिरामीहरूलाई नदी आधारमा शत्रुलाई पत्र लेखेर डेन्युब नदीपारि नै छोडिएको थियो । यद्यपि ठूल्ठूला अस्पताल र साना ठूला घरहरूसमेत सैनिक अस्पतालमा परिणत भएका थिए तर पनि सबै बिरामी र घाइतेहरू अटाउन सकेका थिएनन् । यति हुँदाहुँदै पनि क्रेम्समा भएको रसियाली फौजको मोर्तेयरमाथि गरेको विजयले रसियाली फौजको हौसला धेरै नै बढाएको थियो । प्रमुख सैनिक कार्यालय र सम्पूर्ण सेनामा ठूलो खुशियालीका साथै, रसियाबाट आएका (काल्पनिक) फौज, नजिकै आइसकेका छन्, अस्ट्रियालीहरूले विजय हासिल गरेका छन्, त्यसकारण डराएको नेपोलियन पुच्छर लुकाएर भागी सक्यो भन्ने झुटो हल्ला पनि व्यापक रूपमा चलेको थियो ।
यस लडाइँमा राजकुमार आन्द्रेइ कार्वाहीमा परेर मारिएको अस्ट्रियाली सिमिटसँगै उसको घोडा पनि घाइते भएको थियो । राजकुमार आइन्द्रेको एउटा सानो आफ्नै पाखुरामा पनि, गोली लागेको थियो । प्रमुख सेनापतिको विशेष कृपाको परिणामस्वरूप उसलाई यो विजयको खबर सुनाउने निहुँमा अस्ट्रियाली दरबारमा पठाइयो, जो हाल भियनामा थिएन र फ्रान्सेलीहरूको धम्कीका कारण ब्रुनमा सारिएको थियो । लडाइँ भएको राती, उत्तेजित र नथाकेको (देख्दा कमजोर लागे पनि राजकुमार आन्द्रेइको अत्यन्त बलियो मान्छेले भन्दा पनि धेरै शारीरिक थकावट सहन सक्ने क्षमता थियो ।) राजकुमार आन्द्रेइ, क्रेम्समा कुतुजोभसँग दोख्तुरोभको सन्देश लिएर आएको थियो । र त्यही रात उसलाई सन्देशवाहकका रूपमा बन पठाइएको थियो । यसरी पठाइनुको अर्थ पुरस्कार दिनु मात्र नभएर पदोन्नति गरिदिने एउटा महत्त्वपूर्ण सङ्केत पनि थियो ।
रात अँध्यारो भए पनि तारा लागेका थिए । अगिल्लो दिन, लडाइँ भएको दिन परेको हिँउका कारण बाटो कालो रेखाजस्तो देखिन्थ्यो । हालै मात्र भएको युद्धको प्रभावबारे पुनरावलोकन गर्दै, आफूले लिएर जाँदै गरेको लडाइँ जितेको समाचारले उत्पन्न गर्ने चतुर्दिक प्रभावबारे प्रसन्नतापूर्वक आफ्नै मनमा चित्र उतार्दै र समकक्षी साथी अफिसरहरू र प्रधान सेनापतिले दिएको बिदाइको क्षण स्मरण गर्दै द्रुतगतिमा डाक घोडागाडीमा गइरहेको राजकुमार आन्द्रेइका मनमा त्यो व्यक्तिका भावनाको अनुभूति भइरहेथ्यो, जुन व्यक्ति धेरै लामो समयसम्म प्रतीक्षा गर्दा गर्दा उसले चिताएको सौभाग्य प्राप्त गर्ने प्रस्थान विन्दुसम्म पुग्न सफल हुन्छ । यसो आँखा बन्द गर्यो कि उसका कानमा घोडागाडीका चक्काका आवाजसँगै बन्दुक र तोपका आवाज गुन्जन थाल्थे र विजयको मात लागेर आउँथ्यो । त्यसपछि तत्काल उसले यस्तो कल्पना गर्थ्यो कि युद्धमा रसियालीहरूको पराजय भयो, ऊ स्वयमले मृत्युवरण गर्यो तर फेरि तत्काल ऊ खुसीले उन्मत्त भएर जाग्थ्यो र उत्साहित हुन्थ्यो मानौँ उसले प्राप्त गरेको ताजा खबरअनुसार रसियालीहरूले हारेका होइन रहेछन्, फान्सेलीहरूले हारेका रहेछन् । उसलाई विजयको सम्पूर्ण विवरण र लडाइँमा। आफूले देखाएको शात्तिपूण साहस र वीरता फेरि एकएक गरेर सम्झना हुन्थ्यो अनि शान्त भएर ऊ फेरि उँघ्न थाल्थ्यो । तारैताराले भरिएको अँधेरी रातपछि उज्यालो र रमाइलो प्रभातको आगमन भयो । घाम लागेर बरफ पग्लिरहेथ्यो । घोडा द्रुतगतिमा दौडिरहेथे । र दायाँबायाँ लगातार नयाँनयाँ तथा विविधतापूर्ण वनजङ्गल चउरचरन गाउँबेसी देखिन्थे र ओझेल पर्थे ।
घोडागाडीको एउटा चौकीमा ऊ रसियाली घाइते सैनिकलाई लिएर जाने घोडागाडीसँग पुग्यो । यी घोडागाडीको इन्चार्ज रसियाली अफिसर, सबभन्दा अगाडिको घोडागाडीमा मज्जाले सुतेको थियो । र-उसले सिपाहीहरूलाई फोहोर शब्द प्रयोग गर्दै गाली गरिरहेको थियो । जर्मनेली शैलीको प्रत्येक लामालामा घोडागाडीमा पहेँला अनुहार भएका र अनुहारमा पट्टि बाँधेका तथा फोहोरी र मैला छ जनाभन्दा बढी घाइते सैनिक ढुङ्ग्यान बाटोमा जोल्टिङ (झट्का) खाँदै गइरहेका थिए । उनीहरूमध्ये कोही गफ गरिरहेका थिए, (उसले रसियाली भाषा बोलेको सुन्यो ।) कोही रोटी खाइरहेका थिए । जो नराम्रोसँग घाइते थिए – उनीहरू बिरामी परेका बालबालिकाहरूले जस्तै विनीत र क्लान्त रुचिसाथ आफूनजिकबाट द्रुत गतिमा अगाडि बढिरहेको सन्देशवाहकलाई हेरिरहेका हुन्थे ।
राजकुमार आन्द्रेइले चालकलाई गाडी रोक्ने आदेश दियो र एक जना सैनिकसँग उनीहरू कहिले र कुन युद्धमा घाइते भएका हुन् भनी जिज्ञासापूर्वक सोध्यो ।
“दुई दिन पहिले भएको डेन्युबको लडाइँमा,” उक्त सैनिकले जवाफ दियो । राजकुमार आन्द्रेइले खल्तीवाट एउटा थैली निकाल्यो र उसलाई सुनको तीन रुबल दियो ।
“यो पैसा सबैका लागि हो,” उसले आफूसँग आउने अफिसरलाई भन्यो । “छिटो सन्चो होऊ, जवानहरू हो । अफ्नै धेरै काम गर्नु छ ।”
“समाचार के छ हजूर ?” स्पष्ट रूपमा कुरा गर्न इच्छुक अफिसरले सोध्यो ।
“शुभ समाचार छ, धेरै राम्रो छ …….. गाडी हाँक !” उसले गाडीचालकलाई भन्यो र उनीहरू ओझेल भए ।
राजकुमार आन्द्रेइ ब्रुन पुग्दा रात परिसकेको थियो । उसले आफूलाई अग्लाअग्ला भवन, पसलका बत्ती, घरका उज्याला झ्याल, सडकमा बत्तीका लट्ठा, पक्की सडकमा गाडीका चक्काले आवाज उत्पन्न गर्ने सुन्दर बग्गीहरू र एकदम धेरै चहलपहल भएको एउटा ठूलो सहरको वातावरणमा पायो, जो सैनिक शिविरको जीवनपछि जुनसुकै फौजी मानिसलाई सधैँ र धेरै रमाइलो लाग्नु स्वाभाविकै हुन्छ । द्रुत गतिको यात्रा र अनिँदो रातका बाबजूद महलको नजिक पुग्दा राजकुमार आन्द्रेइ गत रातका तुलनामा धेरै उत्साहित थियो । उसका आँखाका नानी छिटोछिटो चलिरहेका थिए । आँखा तेजिला थिए र उसका विचार झन् छिटोछिटो र स्पष्टतासँग बदलिरहेका थिए । उसले लडाइँको सम्पूर्ण विवरण झलझली सम्झिरहेथ्यो । ती सम्झनाहरू धूमिलतारहित थिए । र उसको आँखाअगाडि स्पष्ट रूपमा गोचर भइरहेका थिए, जो उसले सम्राट् फ्रान्सिसका सामु वर्णन गर्न गइरहेथ्यो । प्रसङ्गवस आफूलाई सोधिन सक्ने प्रश्नहरूको उत्तर के र कसरी दिनुपर्छ भन्ने पनि उसले कल्पना गरिरहेथ्यो । उसको विचारमा उसलाई तत्काल सम्राट्सामु प्रस्तुत गराइनेछ झैँ लागि रहेथ्यो । तर दरबारको मूल ढोकाबाट एक जना अफिसर दगुर्दै उसका सामु आयो र ऊ सन्देशबाहक हो भन्ने बुझेपछि उसलाई अर्को ढोकातिर पठाइ दियो ।
“हजूर, तपाईंसँग दलानको दाहिनेतिर ड्युटीमा बसेको सहायक भेटिनेछ,” उक्त अफिसरले भन्यो । उसले तपाईंलाई युद्धमन्त्रीकहाँ लिएर जानेछ ।”
ड्युटीमा बसेको सहायकले राजकुमार आन्द्रेइलाई भेटेपछि उसलाई केही छिन पर्खिन भन्यो र आफू युद्धमन्त्रीको कोठामा गयो ।
ऊ पाँच मिनेटपछि फर्क्यो । शिष्टतापूर्वक शिर झुकाउँदै राजकुमार आन्द्रेइलाई आदरपूर्वक आफ्नोअगाडि लाग्न अनुरोध गर्दै दलानबाट हिँडालेर युद्धमन्त्री व्यस्त रहेको उसको कोठामा लाग्यो । ड्युटीमा बसेको सहायकले रसियाली दूतले कुनै किसिमको अनादर महसुस नगरोस् भनेर भरमग्दुर प्रयास गरेको जस्तो प्रष्ट रूपमा देखिन्थ्यो । युद्धमन्त्रीको कोठाको ढोकामा पुग्दासम्म राजकुमार आन्द्रेइको खुसीको मात्रा धेरै घटिसकेको थियो । उसलाई आफ्नो अपमान भएको महसुस भयो र अपमानको यो भावना उत्निखेरै तिरस्कारको भावनामा परिणत भयो, जसको कुनै आधार थिएन अर्थात् जो नचाहिँदो थियो । उसको तीक्ष्ण बुद्धिले तत्काल उसका सामु यस्तो दृष्टिकोण प्रस्तुत गर्यो जसअनुसार उसलाई ड्युटीमा बसेको सहायक र युद्ध मन्त्रीलाई तिरस्कारपूर्वक हेर्ने अधिकार प्रदान गरेको थियो । “सायद उनीहरू बारुदको गन्ध नसुँघिकन विजय हासिल हुन्छ भन्ने ठान्दा हुन्” उसले -सोच्यो । उसका आँखा तिरस्कारले खुम्चिए र ऊ अचम्मसँग मन नलागीनलागी युद्धमन्त्रीको कोठामा प्रवेश गर्यो । यो तिरस्कारको भावना झन् प्रबल भएर गयो, जब उसले युद्धमन्त्रीलाई एउटा ठूलो कुर्सीमा बसेर केही कागजपत्र पढ्दै र पेन्सिलले चिनो लगाइरहेको देख्यो । मन्त्रीले दुई तीन मिनेटसम्म त मुसो आयो कि बिरालो आयो केही वास्तै गरेन । उसका कन्चटका रौँ पाकेका थिए । तालु खुइलिएको उसको टाउको झुकेको थियो । ऊ बसेको कुर्सीको दुवै छेउमा मोमबत्ती बलिरहेका थिए । आफ्नो कोठाको ढोका खुलेको र आगन्तुकको पदचापको आवाज सुनेर पनि उसले पढेर नसिध्याउन्जेल ऊतिर हेर्दै हेरेन ।
“लौ यो लगेर देऊ,” आफ्नो सहायकका हातमा कागजपत्रहरू थमाउँदै उसले भन्यो । तर उसले यो विशेष दूतलाई अझै पनि केही वास्ता गरेन ।
राजकुमार आन्द्रेइलाई यस्तो लाग्यो कि युद्धमन्त्रीलाई या त ऊ सम्बन्धित सबै काममा कुतुजोभका सैनाको गतिविधिबारे कुनै चाख थिएन या उसले सन्देशबाहकलार्इ यस्तो महसुस होस् भन्ने देखाउन चाहन्थ्यो । “तर मेरो लागि यो ठूलो अपमान हो, उस्ले सोच्यो । युद्धमन्त्रीले,बाँकी भएका सबै कागजपत्र एकातिर पन्छायो र तिनीहरूलार्इ मिलाएर राख्यो । त्यसपछि बल्ल टाउको उठाएर विशेष दूतलाई हेर्यो । उसको टाउको गौरवशाली र बुद्धिमत्तापूर्ण थियो । तर राजकुमार आन्द्रेइलाई देख्नासाथ उसको बुद्धिमत्तापूर्ण र दृढ भाव यसरी परिवर्तित भयो मानौं उसको बानीव्यहोरा नै यस्तै हो र उसले जानीजानी यस्तो गरिरहेछ । उसको अनुहारमा एउटा यस्तो मान्छेको कृत्रिम र मूर्खतापूर्ण मुस्कान प्रकट भयो (जसले त्यस्तो कृत्रिमता लुकाउने प्रयास पनि गर्दैन), जोसँग यस्ता याचकहरू एकपछि अर्को गरेर लगातार रूपमा आइरहेका हुन्छन् ।
“जनरल फिल्ड मार्सल कुतुजोभ कहाँबाट आएका हौ ?,” उसले सोध्यो । पक्कै पनि शुभ-सन्देश लिएर आएका होउला ? मोर्त्येसँग भीडन्त भयो ? विजय हात लाग्यो ! हुनै पर्ने कुरा थियो, भयो !”
उसले आफ्नो नाममा आएको चिठी खोल्यो र अँध्यारो मुख लाएर पढ्न थाल्यो ।
हे भगवान्, हे ईश्वर ! सिमिट मारिए ! ऊ जर्मनेली भाषामा चिच्यायो । यो त ठूलो दूर्भाग्य भयो । ज्यादै ठूलो बज्रपात ।
चिठीमा छिटोछिटो आँखा दौडाउँदै उंसले त्यसलाई टेबुलमाथि राख्यो र स्पष्ट रूपमा केही घोत्लिँदै राजुकुमार आन्द्रेइतिर हेर्यो ।
ओहो, कस्तो आपत पर्यो ! तिमी त निर्णायक लडाइँ लडियो भन्छौ । तर मोर्त्येयर भने समातिएन,” ऊ फेरि घोत्लियो । तिमीले शुभ समाचार ल्यायौ, त्यसको लागि म तिमीसँग ज्यादै खुसी छु तर यस विजयमा सिमीटको मृत्यु भने हाम्रो लागि धेरै महँगो पर्न गयो । हाम्रा सम्राट्ले पनि अवश्य तिमीलाई भेट्न चाहनु हुनेछ तर आज होइन । तिमीलाई धन्यवाद छ । धेरै धेरै धन्यवाद छ । थाकेका पनि होउला । अब आराम गर । भोलिको कवाजपछि दरबारमा आउनू । म पनि तिमीलाई सूचना दिउँला ।”
ऊ बोलिरहँदा उसको अनुहारबाट हराएको मूर्खतापूर्ण मुस्कान पुन: प्रकट भयो ।
“फेरि भेटौँला । तिमीलाई धेरै-धेरै धन्यवाद । सम्भवतः हाम्रा सम्राट्ले पनि तिमीलाई भेट्न चाहनु हुनेछ,” उसले उही कुरा फेरि दोहोर्यायो र शिर निहुर्यायो।
राजकुमार आन्द्रेइलाई दरबारबाट बिदा हुने बेलामा यस्तो महसुस भयो कि युद्ध जितेवापत् उसलाई प्राप्त भएको सम्पूर्ण खुशियाली र स्वाद, उसले अशिष्ट युद्धमन्त्री र उसको शिष्ट सहायकको हातमा बुझाएर जाँदै छ । उसका सम्पूर्ण विचारधाराहरू तत्काल परिवर्तित भए । उक्त युद्ध उसको मस्तिष्कमा धेरै पुरानो, धेरै पहिलेको स्मृतिझैँ प्रतीत भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।