“अँ, म पनि यसरी नै यी जर्सीहरू, यी घुम्रिएको केशका लर्कनहरू र यी फेर उठेका लुगाहरूको जालमा परिहालें । मलाई फसाउनु सजिलो थियो, किनभने मलाई जे जस्तो परिस्थितिमा हुर्काइएको थियो त्यो त त्यस्तै सीसाघर समान थियो जहाँ काँक्रो फलाइन्छ । परिस्थितिहरूमा नै त युवकहरूको कामवासना पनि झ्याङ्गिन्छ । शारीरिक ऐशआरामको साथसाथै कामोत्तेजक खुराकले कामवासना जगाउनु त स्वाभाविकै भयो । म एकदमै साँचो कुरा गर्दैछु, चाहे तपाईं अचम्म मान्नोस्‌ वा नमान्नोस्‌ ! मलाई पनि त केही समयअघिसम्म यसको ज्ञान पटक्कै थिएन । तर अब मैले यो राम्ररी नै बुझ्न थालेको छु । यसै कारणले गर्दा नै जतिखेर कसैले यो कुरा बुझेको हुँदैन, तर त्यस आइमाईले जस्तै उटपटाडका कुराहरू गर्न थाल्छ, त्यसबेला मेरो कन्सरी तातेर आउँछ र म बौलाउन थाल्छु ।

यसै साल त हो, वसन्तयाममा केही किसानहरू रेलमार्गमा काम गर्दैथिए । त्यो ठाउँ मेरो छिमेकमै थियो । सामान्यतया एक जना लाठे किसानको खुराक साधारण नै हुन्छः रोटी, क्बासी(सुकेको रोटीबाट तैयार पारिने एक रूसी पेय ।) र प्याज । यत्तिकैको भरमा ऊ बाँचेको पनि हुन्छ, हट्टाकट्टा एवं स्फूर्तिलो पनि रहन्छ र खेतीपातीको सामान्य काम पनि गर्छ । जब र रेलमार्गमा काम गर्न जान्छ, त्यस बेला उसको दैनिक खुराक हुन्छ-लिटो र एक पाउण्ड मासु । परन्तु उसले दिनको सोह्र घण्टा काम गर्छ र तेह्र पुद(किलोग्राम) गह्रौ ठेला तान्छ । यसरी उसले जे जति खान्छ त्यो सब हजम भैहाल्छ । यो खुराक ठीक उसको जरुरतबमोजिम नै छ । परन्तु हाम्रो के हाल छ ! हामी दिनहुँ दुई-दुई पाउण्ड माछामासु, चराको फूल र नाना थरीका कामोत्तेजक परिकारहरू खान्छौं, रक्सी पनि घुटक्याउँछौँ । यो सब खुराक कसरी हजम पाछौं त ? भोगविलास गरेर ! यदि हामी यसलाई त्यसमा उपयोग गछौँ भने ठीकै छ, किनभने अतिरिक्त उत्तेजनाबाट मुक्ति पाउने साधन सदैव नै हामीसँग हुनेछ । किन्तु यदि यस्तो हुन सकेन भने मान्छेको कामुकता नै अति सुकोमल प्रेममा अभिव्यक्त हुन थाल्छ । कहिलेकाही त निष्काम प्रेममा समेत त्यसको अभिव्यक्ति हुन्छ । सबैले जस्तै मैले पनि प्रेम गर्न थालेको हुँ । मेरो प्रेममा पनि सबै कुरा विद्यमान थिए : उन्माद, भावुकता, कविता ! परन्तु वास्तविक कुरा चाहिं के थियो भने यो प्रेम एकातिर त उसकी आमा र उसको निम्ति लुगा सिउने सुजिकारले मेरो मनमा उत्पन्न गरिदिएका थिए भने अर्कोतिर चाहिं यो मेरो कामोत्तेजक खुराक र मेरो ऐयासी जीवनको उपज थियो । यदि हामीहरू नौकाविहारमा नजाँदा हौं, यदि उसले बारुले कम्मर र पुष्ट जिउ देखिने छाँटको लुगा नलगाएकी हुँदो हो, यदि मेरी भावी पत्नीले एउटा मामुली जम्फर मात्र पहिरेकी हुँदो हो र ऊ घरमै मात्र बस्न रुचाउँदी हो, यदि मेरो खानपीन पनि आफ्नै कामकाजको निमित्त चाहिने किसिमको मात्र हुँदो हो, यदि मेरो दिनचर्या पनि एक सामान्य मान्छेको जस्तै हुँदो हो र यदि अतिरिक्त उत्तेजनाबाट मुक्ति पाउने साधन पनि मसित हुँदो हो ( तर त्यतिखेर संयोगवश त्यो साधन थिएन) त म कदापि पनि प्रेमपाशमा फस्नेथिइनँ र यस्तो कुनै दुष्परिणाम पनि निस्किने थिएन ।”