पाभेल पेत्रोभिच किर्सानोभले पनि आफ्ना भाइ निकोलाइले झैँ प्रारम्भिक शिक्षा घरमा नै पाएका थिए र पछि उनी अभिजात्य सैनिक शिक्षालयमा भर्ना गरिएका थिए । बाल्यकालदेखि नै उनी अति सुन्दर थिए । यसको अतिरिक्त उनी आत्मविश्वासी थिए, किञ्चित्‌ विनोदप्रिय पनि थिए र व्यंग्यवाण प्रहार गर्न समेत सिपालु थिए । त्यसैकारण उनलाई कसैले मन नपराउन सक्दैनथ्यो । सैनिक अधिकृत बन्नासाथै उनले सबै ठाउँमा आवतजावत शुरू गरे । उनलाई सबैले हातहातै ग्रहण गरे । उनी आफ्ना सबै लहडहरू पूरा गर्दथे, नक्कलझक्कल र ठाँटबाँट पनि गर्दथे तर यो सब उनलाई बिछट्टै सुहाउँथ्यो । आइमाईहरू उनसँग मन्त्रमुग्ध थिए भने पुरुषहरू उनलाई गुण्डा भन्थे र मनमनै उनको डाहासमेत गर्दथे । माथि भनिएझैं उनी आफ्नो भाइसँग एउटै डेरामा बसेका थिए र भाइलाई उनी भित्री हृदयले नै स्नेह गर्दथे, यद्यपि ती दुवैमा कुनै साम्यता थिएन । निकोलाई पेत्रोभिच अलिअलि खोज्याउँथे, उनको जीउडाल केही सानो थियो -ज्यादै सहाउँदिलो तर केही उदास । उनका आँखा स-साना र काला थिए भने केशचाँहि मसिना र मुलायम । उनी सहर्ष अल्छी मान्दथे तर सहर्ष किताब पनि भेटघाटबाट भयभित रहन्थे । पाभेल पेत्रोभिचचाहिं कुनै साँझ पनि घरमा बिताउँदैनथे । उनी आँट र स्फूर्तिका लागि प्रसिद्ध थिए (कुलीन युवकहरूमा उनले व्यायामको सोख जगाएका थिए) र पाँच वा छ भन्दा बढी फ्रान्सेली पुस्तकहरूसिवाय उनले केही पढेका थिएनन्‌ । अट्ठाईस वर्षकै उमेरमा उनले कप्तानको दर्जा पड्काइसकेका थिए र अझ ठूलो तरक्की गर्न सक्दथे । एकाएक सब कुरा बदलियो ।

त्यसताका पेतेरबुर्गको उच्च समाजमा यदाकदा झुल्किने एक महिला थिइन्‌ जसको सम्झना अझै पनि गरिन्छ । ती थिइन्‌ – कन्यागीन्या रजौटाकी पत्नी) । उनका पति शिष्ट र सभ्य भए पनि अलि मूर्ख खालका थिए तर बालबच्चाचाहिँ थिएनन्‌ । उनी केही अनौठो जीवन बिताउँथिन्‌ -कहिले अचानक विदेशतर्फ लाग्दथिन्‌ त कहिले अचानक नै रूस फर्कन्थिन्‌ । उनी छिचरी नखरमाउली ठानिन्थिन्‌ । हरेक किसिमको मोजमज्जामा उनी मस्त रहन्थिन्‌, लस्त भएर नढलुञ्जेल नाच्दथिन्‌, ती नवयुवकहरूसित मस्किएर हँसीठट्टा गर्दथिन्‌ जसलाई दिउँसोको खाना खानुभन्दा अगाडि अँध्यारो न अँध्यारो बैठककोठामा स्वागतसत्कार गर्दथिन्‌ तर रातिचाहि उनी रून्थिन्‌ र प्रार्थना गर्दथिन्‌ । कतै पनि उनी शान्ति पाउँदिनथिन्‌ र विरक्त भएर हात माड्दै बिहान नहुञ्जेलसम्म कोठामै ओहोरदोहोर गरिरहन्थिन्‌ अथवा स्तोत्रावली खोलेर रक्तहीन र चिसो अनुहार लगाएर बसिरहन्थिन्‌ | दिन बितेर जान्थ्यो, अनि फेरि उनी चल्तापूर्जा महिलामा परिणत हुन्थिन्‌ – कतै डुल्न निस्कथिन्‌, हाँस्थिन्‌, गफ छाँट्थिन्‌ र दिल बहलाउने सानोतिनो अवसरसमेत उम्कन दिँदैनथिइन्‌ । उनको जीउडाल ज्यादै मनमोहक थियो उनको सुनौला र सुन जत्तिकै गह्रौं चुल्ठो घुँडाभन्दा पनि तलसम्म लत्रिरहन्थ्यो तर उनलाई कसैले पनि सुन्दरी भन्दैनथ्यो होला । उनको अनुहारमा केवल आँखामात्र राम्रा थिए, अझ आँखा पनि होइनन्‌ – ती साना र कैला थिए – बरू उनको नजर जो चञ्चल र गहन थियो, विरक्तिको हदसम्म निर्लिप्त र विषादको हदसम्म चिन्तामग्न थियो – बडो रहस्यमय नजर ! त्यतिखेर पनि त्यसमा एक अनौठो चमक झल्किन्थ्यो जब उनी फोस्रो गफको भूमिका बाँध्नमा तल्लीन रहन्थिन्‌ । उनको पहिरन ज्यादै आकर्षक हुन्थ्यो । पाभेल पेत्रोमिचले उनलाई एक नृत्यसमारोहमा भेटेका थिए, उनीसित माजुर्कानाच नाचेका थिए । नाचको क्रममा ती महिलाको मुखबाट्‌ एउटै पनि सारगर्भित शब्द निस्केको थिएन तर पाभेल पेत्रोमिचले दिलोज्यानले उनलाई प्रेम गर्न थालेका थिए । विजयप्राप्तिमा उनी अभ्यस्त नै थिए र यहाँ पनि उनले छिटै नै आफ्नो लक्ष्य प्राप्त गरिहाले । परन्तु सफलताको सहजताले गर्दा उनको उत्साह कति पनि चिसो हुन पाएन । यसको विपरीत त्यस महिलाप्रति उनको आसक्ति अझ बढी प्रबल र बढी मार्मिक हुन गयो । पूर्ण आत्मसमर्पणको क्षणमा पनि त्यस महिलामा कुनै यस्तो कुरा बाँकी, नै रहन्थ्यो जो चिरवाञ्छित तर पहुँचबाहिर प्रतीत हुन्थ्यो र त्यसको अन्तरकुन्तरसम्म कोही पनि पुग्न सक्तैन्थ्यो । उनको अन्तरात्मामा कुन कुरा लुकिराखेको थियो – दैव नै जानोस्‌ ! लाग्दथ्यो, उनमा कुनै यस्तो रहस्यमय शक्तिको बास थियो जसको भेउ स्वयं उनले समेत पाउन सकेकी थिइनन्‌ । त्यस शक्तिले उनलाई आफ्नो इशारामा नचाउने गरेको थियो र त्यसको मनपरीको समक्ष उनको तुच्छ बुद्धिको केही जोड पनि चल्दैनथ्यो । उनको सम्पूर्ण व्यवहार नै असंगतिहरूको गजुल्टोसमान थियो । आफ्ना पतिको मनमा न्यायसंगत सन्देह उत्पन्न गर्न सक्ने एक मात्र जुन पत्र उनले लेखेकी थिइन्‌ त्यो एक यस्तो व्यक्तिको नाउँमा थियो जो उनको निम्ति झण्डै अपरिचित थियो । उनको प्रेममा दुःखानुभूति सन्निहित रहन्थ्यो । जसलाई उनले प्रेमपात्र रोजेकी हुन्थिन्‌ उससति न उनी कहिल्यै हाँस्दथिन्‌, न त ठट्टा नै गर्दथिन्‌, बरू चुपचाप उसको कुरा सुनिरहन्थिन्‌ र अकमक्क परेर उसलाई ताकि मात्र रहन्थिन्‌ । यदाकदा, अक्सर अनायास नै यस्तो अकमक्कताको भाव भयमा परिणत हुन्थ्यो । उनको अनुहारमा मरणासन्न र बर्बर भाव प्रकट हुन्थ्यो । उनी आफूलाई शयनकक्षमा थुन्दथिन्‌ र उनकी नोकर्नी साँचो घुसार्ने प्वालमा कानलगाएर उनको दबेको सुँक्क-सुँक्कमात्र सुन्न सक्दथी । कैयौंपटक मृदु प्रेममिलनपश्चात्‌ घर फर्केर आएपछि किर्सानोभ आफ्नो मनमा त्यस्तै विषादपूर्ण
र तिक्त हताशाको अनुभव गर्दथे जस्तो पूर्ण असफलतापश्चात्‌ अनुबोध हुन्छ । ‘आखिर मैले अरू के खोजेको हुँ ?’ – उनी आफैँसित प्रश्न गर्दथे र उनको हृदय विदीर्ण हुन्थ्यो । एकपल्ट उनले एउटा औंठी उनलाई उपहार जसको पत्थरमा स्फिन्क्स अङ्कित थियो, दिए ।

“के हो यो ?” – उनले सोधिन्‌ । – “स्फिन्क्स ?”

“हो ।” -उनले जवाफ दिए । -“अनि यो स्फिन्क्स तिमी नै हौ ।”

“म ?” -उनले प्रश्न गरिन्‌ र बिस्तारै आफनो रहस्यमय नजर उनीतर्फ फ्याँकिन्‌ । अनि कटाक्षले त्यसरी नै हेर्दै हलुका व्यंग्यको स्वरमा उनले थपिन्‌ ।

“यो त अचाक्ली नै भयो, बुझ्नुभो ?”

पाभेल पेत्रोभिच त्यतिखेर पनि व्याकुल नै रहन्थे जुन बखत क्थागीन्या उनलाई प्रेम गर्दथिन्‌ तर जब उनीप्रति क्न्यागीन्याको प्रेम सेलायो -र यो घटना छिट्टै नै घट्यो – उनी बहुलाएजस्ता भए । उनी व्यथित र ई्ष्यालु बने । क्न्यागीन्यालाई सताउन लागे, जताततै उनको पिछा गर्न थाले । उनले यसरी पिछा गरिरहेको देखेर क्न्यागीन्यालाई वाक्क लाग्यो र उनी विदेशतिर गइन्‌ । पाभेल पेत्रोभिचले मित्रहरूकी अनुरोध र अफिसरहरूको सरसल्लाहको कुनै वास्ता नै नगरेर अवकाश लिए र क्न्यागीन्याको अनुशरण गरे । परदेशमा उनले चार वर्ष जति बिताए । कहिले उनी क्यागीन्याको पिछा गर्थे त कहिले जानाजान उनलाई आफ्नो आँखाबाट ओभेल हुन दिन्थे । उनी आफूलाई आफ्नै नजरमा गिरेको देख्दा लाज मान्दथे, आफ्नो यस्तो कमजोरीमा उनलाई रीस पनि उठ्थ्यो – तर आफूलाई विवश पाउँथे । उनको मानसपटमा क्न्यागीन्याको छवि, त्यो अबोगम्य र झण्डै निर्रथक तर मुग्धकारी छवि, ज्यादै गहिरोसित कुँदिएको थियो । बाडेन शहरमा कसरी हौ कुन्नि ती दुवै फेरि एक अर्काको निकडमा आए । उनलाई यतिबिध्न दिलोज्यानले प्रेम गरेकै थिइनन्‌ .. परन्तु एक महिनापछि नै सब कुरा समाप्त भयो – प्रेमको ज्वाला मानौं अन्तिमपटक दन्केर सदासर्वदाको लागि निभेको होस्‌ । बिछोड अवश्यम्भावी छ भन्ने बुझेर पाभेल पेत्रोभिचले कम्पनीमा पनि क्न्यागीन्याको मित्र बनिरहने चाहना गरे, मानौं ती जस्ती नारीसँग मित्रता सम्भव होस्‌ उनी बाडेनबाट सुटुक्क हिँडिन्‌ र त्यसपछि किर्सानोभसितको जम्काभेटलाई लगातार पन्छ्याउँदैरहिन्‌ । पाभेल पेत्रोमिच रुसमै फर्किए । उनले पुरानो जीवनको फेरि शुरूआत गर्ने प्रयत्न नगरेका होइनन्‌ तर पुरानो गोरेटो समातेर हिँड्नु सम्भव भएन । अभिशप्तझै उनी यत्रतत्र भौतारिदै हिंडिरहे । उनी अझै पनि उच्च समाजमा आवतजावत गर्दथे, उनको पुरानो बानी बेहोरा पनि कायमै थियो, दुई तीनपटक नयाँ विजयको गुड्डी हाँक्न पनि उनी समर्थ बने तर उनी न आफूबाट, न अरू कसैबाट कुनै विशेष आशा राख्दथे, न त कुनै प्रयास नै गर्दथे । उनी बूढा भए र उनको कपाल पनि फुलेर सेतै भयो । साँझपख क्लबमा गएर बस्नु, नियास्रो मानेर झोक्राउनु, अविवाहितहरूको समाजमा उत्साहहीन वादविवाद गर्नु उनको लागि अनिवार्य भइसकेको थियो । निश्चय नै यो कुनै शुभलक्षण थिएन | विवाहबन्धनमा बाँधिने त उनले विचारसम्म पनि गरेका थिएनन्‌ । यसप्रकार दस वर्ष बितेर गए- निरस, बेकार र छिटो, भयङ्कर
गतिले छिटो । रूसमा जति छिटो समय बित्दछ त्यति छिटो अन्यत्र कतै पनि बित्दैन । भनिन्छ, झयालखानामा मात्र अझ बढ्ता द्रूत गतिले समय बित्छ रे । एकपल्ट क्लबमा दिउँसोको खाना खाइरहेका बखत पाभेल पेत्रोमिचले क्न्यागीन्या र को मृत्युबारे समाचार सुने । झण्डै बौलाहाको स्थितिमा पेरिसमा उनको देहान्त भएको थियो | पाभेल पेत्रोभिच मेचबाट जुरूक्क उठे र निकै बेरसम्म क्लबका कोठाहरूमा ओहोरदोहोर गरिरहे । ताशको खेलमा तल्लीन मान्छेहरूको छेउमा पुगेर उनी मूर्तिवत्‌ ठिङ्ग उभिन्थे तर सधैंभन्दा छिटो घर भने फर्केनन्‌ । केही दिनपछि आफ्नो नाउँमा पठाइएको एउटा सानो पुलिन्दा उनले पाए | त्यसमा त्यही औंठी थियो जुन उनले क्न्यागीन्यालाई दिएका थिए | त्यसमा अङ्कित रिफन्क्सको चित्रमा क्रसको चिन्ह कुँदिएको थियो र त्यही क्रस नै पहेलीको उत्तर हो भनेर क्व्यागीन्याले पाभेल पेत्रोमिचलाई जवाफ पठाएकी थिइन्‌ ।

सन्‌ १८४८ सालको आरम्भतिर नै यो घटना घटेको थियो जतिखेर निकोलाई पेत्रोभिच आफ्नी पत्नीको देहावसानपश्चात्‌ पेतेरबुर्ग पुगेका थिए । आफ्नो भाई गाउँमा बसाइँ सरेदेखि नै पाभेल पेत्रोभिचको भेटघाट उनीसित प्रायः भएको थिएन । क्यागीन्यासित पाभेल पेत्रोमिचको चिनजान भएकै पहिला दिनहरूमा निकोलाइ पेत्रोभिचको विवाह भएको थियो । विदेशयात्राबाट फर्केपछि उनी भाइकहाँ एक दुई महिना पाहुना लाग्ने र उनको सुखको छहारीमा समय गुजार्ने उद्देश्य लिएर गाउँमा पुगेका थिए तर त्यहाँ एक हप्ताभन्दा बढी वस्न सकेनन्‌ । दुवै दाजुभाइको स्थितिमा अत्यन्तै ठूलो अन्तर थियो । सन्‌ ४८ सालमा यो अन्तर कम भयो । निकोलाइ पेत्रोभिच पत्नीविहीन बने भने पाभेल पत्रोभिच पनि अतीतको स्मृतिबाट वञ्चित भएका थिए । क्न्यागीन्याको मृत्युपश्चात्‌ उनलाई बिर्सिदिने उनले चेष्टा गरे । जे होस्‌, निकोलाइ पेत्रोभिचलाई जीवन सही ढङ्गले बिताइएको सन्तोष थियो र छोरो पनि उनले देख्दादेख्दै हुर्किरहेको थियो भने पाभेल पेत्रोभिचचाहिं यसको विपरीत एक्लो जीवनको त्यस धुमिल र अँध्यारो समयमा प्रवेश गर्दैथिए जब आशा दिक्दारीझै हुन्छ, अनि दिक्दारीचाहिं आशाझै जब युवावस्था त बितिसकेको हुन्छ तर वृद्धावस्था अझै शुरू भएको हुँदैन ।

जीवनको यस्तो समय सबैको लागि कठिन हुन्छ तर पाभेल पेत्रोभिचको लागि त अझ बढी कठिन हुन गयो । आफ्नो अतीतको साथै उनले सब कुरा गुमाएका थिए ।

“तपाईंलाई अब म मार्यिनो आउने निम्तो दिन्नँ ।” -निकोलाइ पेत्रोभिचले एकपल्ट दाजुलाई भने (उनले आफ्नी दिवंगत पत्नीको स्मृतिमा नै आफ्नो गाउँको नामकरण गरेका थिए) | -‘मेरी पत्नी जीवित छँदै त तपाईंलाई त्याँ नियास्रो लागेको थियो भने अब त, मलाई लाग्छ, उराठ लागेर खपिनसक्नु हुनेछ ।’

“त्यतिखेर म लठ्ठक र चञ्चल पनि थिएँ ।” -पाभेल पेत्रोभिचले उत्तर दिए । “अझै समझदार त भइसकेको छैन तर चनाखोचाहिँ अवश्य भएको छु । उल्टै अब त, यदि तिमीलाई कुनै आपत्ति हुँदैन भने, म सधैंका लागि तिम्रै साथमा रहन तयार छु ।“

निकोलाइ पेत्रोभिचले दाजुलाई अङ्कमाल गरेर यसको जवाफ दिए | तैपनि यस वार्तालापको पूरै डेढ वर्ष बितेपछि मात्र पाभेल पत्रोभिचले आफ्नो मनसायलाई कार्यान्वित गर्ने निर्णय गरे । जे होस्‌, एकपल्ट गाउँमा बसाइँ सरेपछि चाहिँ उनी त्यहाँबाट कहिल्यै कतै गएनन्‌, अझ ती तीन हिउँदहरूमा पनि जतिखेर निकोलाइ पेत्रोभिच पेतेरबुर्ग गएर आफ्ना छोराकहाँ बसेका थिए | पाभेल पेत्रोभिच खूब पढ्न लागे, खासगरी अंग्रेजी किताबहरू । उनले वास्तवमा आफ्नो सम्पूर्ण जीवन नै अंग्रेजी साँचोमा ढालिसकेका थिए । उनी आफ्ना छरछिमेकीहरूसँग विरलै भेटघाट गर्दथे, खालि चुनावको समयमा मात्र शहरतिर जान्थे र त्यहाँ पनि आम रूपमा मौन नै रहन्थे, खालि कहिलेकाहीं मात्रै आफनो उदार विचारहरूको अभिव्यक्तिद्वारा पुराना ढर्राका जिमिन्दारहरूलाई चिढाउँथे र तर्साउँथे तर -नयाँ पुस्ताका प्रतिनिधिहरूसित पनि हेलमेल बढाउँदैनथे । यी दुवै खालका व्यक्तिहरू उनलाई अहंकारी ठान्दथे तर दुवै थरी नै उनको निष्कलङ्क कुलीन व्यवहार र उनका विजयहरूको ख्यातिका लागि उनको सम्मान गर्दथे, अनि उनको पहिरन रवाफिलो हुन्थ्यो भने-उनी संधै सर्वश्रेष्ठ होटलमा कोठा लिएर बस्दथे । फेरि उनको भोजन सदैव नै उत्कृष्ट हुन्थ्यो र एकपटक त उनले ल्युडभिक फिलिपकहाँ बैलिङ्कटनको साथमा समेत भोजन गरेका थिए र उनी निक्खर चाँदीको श्रृङ्गारबट्टा र सफरी टब पनि सदासर्वदा आफ्नो साथमा -राख्दथे, उनीबाट विशेष खालको ज्यादै अभूतपूर्व ‘सुगन्धदार’ अत्तरको बास्ना आउँथ्यो, उनी हि्वष्ट तासको खेल) खेल ज्यादै निपुणताका साथ खेल्दथे र सदैव खेलमा हार्दथे पनि । यी सबैको अतिरिक्त उनको कदर गरिनुको एक अर्को कारण के पनि थियो भने उनी वचनका पक्का थिए । महिलाहरू उनलाई विषादग्रस्त एक आकर्षक व्यक्ति ठान्दथे तर उनी भने महिलाहरूसित ज्ञानपहिचान बढाउने प्रयत्न गर्दैनथे –

“देख्यौ त, येभ्गेनी !” -आफ्नो वर्णन टुङ्ग्याउँदै आर्कादीले भन्यो । –
“ठूल्बाको सम्बन्धमा तिम्रो धारणा कति अन्यायपूर्ण छ ! कति हो कतिपल्ट उनले मेरा बुबाज्यूलाई आपदबाट बचाए र आफ्नो सम्पूर्ण श्रीसम्पत्ति पनि सुम्पिदिए, त्यसको त मैले अझै चर्चा गरेकै छैन । तिमीलाई सके थाहा छैन होला, मौजाको अंशबण्डा नै भएको छैन । उनी जोसुकैलाई पनि सदैव सहर्ष मद्दत गर्दछन्‌ र सधैं नै किसानहरूको पक्षमा बोल्दछन्‌ । साँचो हो, उनीहरूसँग कुरा गर्दा भने उनी आँखीभौं खुम्च्याउँछन्‌ र अत्तर सुँघ्दछन्‌ -”

“स्पष्ट नै छ, नाटीकुटी !” -बाजारोभले बीचैमा कुरा काटेर भन्यो । “हुन सक्छ ! जे होस्‌, उनको हृदयमा दयाभाव छ । उनी मूर्ख पनि छैनन्‌ । उनले मलाई कतिकति उपयोगी सरसल्लाह दिएका छन्‌ .. खासगरी – मुख्यतया आइमाईहरूसितको सम्बन्धबारे ।”

“अहो ! आफूलाई दूधले पोलेपछि अरूको लागि पानीमा पनि फुक्ने कुरा ! यो सब हामीलाई थाहा छ !”

“छोटकरीमा भन्छु ।” -आर्कादीले कुरा जारी राख्दै भन्यो । “विश्वास गा ! उनी अति नै अभागी छन्‌ । उनलाई घृणा गर्नु पाप हो ।”

“कसले उनीप्रति घृणा गरेको छ र ?” -बाजारोभले प्रतिवाद गर्यो । “तैपनि मैले यति त भन्नै पर्दछ, जुन व्यक्तिले नारीको प्रेमको दाउमा आफ्नो जीक्न बाजी थाप्यो र त्यो दाउ हार्नेबित्तिकै यतिसम्म उदास र हताश भयोकिं कुनै कामको निम्ति पनि लायक रहेन, त्यो व्यक्ति लोग्नेमान्छे होइन, मर्द होइन । उनी अभागी हुन्‌ भनी तिमी भन्छौ । यो त तिमीलाई नै राम्रो थाहा होला । त उनको सारा सनक अझै उनबाट बिमाख भइसकेको छैन । मलाई विश्वास छ उनी आफूलाई साँच्चै नै समझदार मान्छे ठान्दछन्‌, किनभने उनी “गालिगनानी” पढ्छन्‌ र महिनामा एकाधपल्ट कुनै किसानलाई कोर्रा ठोक्नुबाट बचाउँछन् ।

“तर उनको शिक्षादीक्षा र त्यो युगको पनि त हेक्का राख जसमा उनले बाँच्नुपरेको थियो ।” -आर्कादीले टिपणी गर्यो।

‘शिक्षादीक्षा ?’ -बाजारोभ बीचैमा बोल्यो । -‘हरेक व्यक्तिले स्वयं आफूलाई सुशिक्षित गर्नुपर्दछ । उदाहरणको लागि, जस्तो म गर्दछु । _ जहाँसम्म युग भन्ने कुरा छ त्यसको हकमा – किन म त्यसमा निर्भर रहूँ ? बरू त्यो नै ममाथि निर्भर होस्‌ न ! अहँ, भाइ ! यो सब निचता हो, खोक्रोपना हो ! अनि पुरूष र स्त्रीको बीचमा रहस्यमय सम्बन्ध के हो ? हामी, शरीरविज्ञानविद्हरूलाई यस सम्बन्धको बारेमा सब कुरा थाहा छ । लौ, आँखाको संरचनाबारे अध्ययन गर त ! रहस्यमय कटाक्ष, जस्तो कि भनिन्छ, त्यो खै कता गयो ? यो सब रोमान्सवादी कुरा हो, बकबासा हो, कसिंगर हो, रङ्गरोगन हो ! हिंड, बरू गोब्रेकीराको निरीक्षण गर्न जाऔं ।”

अनि दुवैजना बाजारोभको कोठातर्फ गए । त्यहाँ शल्यचिकित्साका औषधीहरू र सस्तो तमाखुको कस्तोकस्तो मिश्रित गन्ध व्याप्त भइसकेको थियो ।