६
“हैन ! जे भयो सो राम्रै भयो । यही नै ठीक थियो !” – उसले जोडले कराएर भन्यो । – “आफ्नै करतूतको फल पाएँ मैले ! तर गाँठी कुरो यो होइन । मैले भन्न खोजेको के त भने यस्तो छलकपटको शिकार त बिचरा युवतीहरू मात्रै बन्न पुग्छन् । उनका आमाहरूलाई सब कुरा यथार्थ थाहा हुन्छ, खास गरेर ती आमाहरूलाई जसले आफ्ना पतिहरूबाट यी कुराहरू थाहा पाइसकेका हुन्छन् । उनीहरूलाई पुरुषहरूको इमान्दारितामा पक्का विश्वास भएको जस्तो उनीहरू स्वाङ्ग पार्दछन्, तर कामकुरो चाहिँ यसको बिल्कुलै उल्टो गर्दछन् । आफ्नो निम्ति र आफ्ना छोरीबेटीहरूको निम्ति लोग्नेमान्छेहरूलाई फसाउन के कस्तो बल्छी चाहिन्छ भन्ने उनीहरूलाई थाहा हुन्छ ।
हामी, पुरुषहरू मात्रै केही पनि थाहा पाउँदैनौं । हामी थाहा पाउने पनि त चाहना राख्तैनौं, त्यसैले थाहा पनि पाउँदैनौं । आइमाईहरूलाई चाहिं कुन कुराको राम्रो बोध हुन्छ भने उच्चातिउच्च, जस्तो कि हामी भन्ने गछौँ, कवित्वपूर्ण प्रेम पनि नैतिक गुणहरूमा आधारित हुँदैन । त्यो त आधारित हुन्छ- शारीरिक सन्निकटतामा, केशविन्यासमा, लुगाको छाँट र रङ्गमा ! कुनै लोग्नेमान्छैलाई फसाउन खोज्ने जुनसुकै अनुभवी नखरमाउलीसँग सोधिहेर्नोस्- कुन स्थिति तिमीलाई ग्राहय हुनेछ : आफ्नो प्रियपात्रको अगाडि कुलटा, कपटी र अझ वेश्या भनेर कसैले तिम्रो हुर्मत लिएको रोज्छयौ कि आङमा नमिल्ने गरी भद्दा किसिमले सिइएको नसुहाउँदो जम्फर लगाएर उसको सामुन्ने देखा पर्नुपरेको रोज्छयौ ? कुलटा भनेर भर्त्सना गरेको नै बरु उसलाई ग्राह्य हुनेछ, किन्तु भद्दा जम्फर लगाउन ऊ कदापि राजी हुनेछैन । कुनै लोग्नेमान्छेले आफ्नो अगाडि उच्च भावनाहरूको विषयमा कुरा गर्न लागेको छ भने त्यो फटाहा कुरा गर्दैछ भनेर त्यस आइमाईले बुझिसकेकी हुन्छे । पुरुषको चाहना त उसको शरीरसित मात्र हुन्छ, तसर्थ उसका सबै दुष्कर्महरूलाई उसले क्षमा गरिदिनेछ, परन्तु उसको नसुहाउँदो,छाँट नपरेको भद्दा जम्फरको लगि भने कदापि उसले माफ गर्नेछैन भन्ने उ तुरुन्त नै बुझिहाल्छे । जुनसुकै नखरमाउलीले पनि चेतनशील रुपमा यो कुरा बुझेकी हुन्छे । अनि जुनसुकै सूधीसाधी युवतीले पनि यो अचेतन रुपमा कुनै जीवजन्तुले झैं अन्तप्रेरणाद्वारा यो कुरा बुझनेगर्छे ।
यो तिनै घृणित जसौहरू, नाङ्गा पाखुरा र कुम,झण्डै झण्डै नाङ्गो पुष्ट छातीहरूको कारण हो, साथै ती पोशाकहरूको कारण हो जसको फेर माथि उठेको देखिन्छ । आइमाईहरू, खास गरी ती आइमाईहरू जसले लोग्नेमान्छेहरूबाट सारा ज्ञान हासिल गरिसकेका हुन्छन्, उच्च आदर्शको कुरा फोस्रो गफ हो भन्ने निकै राम्रोसँग बुझ्दछन् । पुरुषलाई त वास्तवमा नारीको शरीर मात्रै चाहिएको हुन्छ । जुन प्रकारले त्यसलाई आकर्षण र रुचिकर पारेर सिँगारिनेछ त्यत्तिकै बढ्ता त्यो उसलाई मन पनि पर्नेछ । आइमाईहरू यही नै गर्छन् पनि । हाम्रा उच्च वर्गहरूको हाम्रो स्वभावको अभिन्न अङ्ग बनिसकेको र जे हेरे पनि राम्रो मात्रै देखिने रङ्गीन चश्मा लगाएर होइन,बरु वास्तवमा त्यो जस्तो छ त्यस्तै देखिने आँखाले हेर्ने हो भने त्यस जीवनलाई हामी वास्तवमा नै लाजभाँड पचाइसकेको एक वेश्यालयको रुपमा पाउनेछौं । के तपाईंलाई यो कुरा मान्य छैन? आउनोस्, म सत्य साबित गरेर देखाइदिन्छु ल !” -मलाई केही भन्ने मौका नै नदिएर उसले अगाडि भन्यो ।-“तपाईं के भन्न खोज्नुहुन्छ होला भने हाम्रो समाजमा आइमाईहरूको अभिरुचि वेश्यालयमा बस्ने आइमाईहरूको भन्दा बेग्लै प्रकारको हुन्छ । तर तपाईंको भनाइ सही होइन ।म यो कुरा प्रमाणित गरेर देखाइदिन सक्छु । यदि जीवनमा मानिसहरूको लक्ष्य बेग्लाबेग्लै छ र उनीहरूको आन्तरिक जीवन पनि भिन्दाभिन्दै छ भने यो अन्तर उनीहरूको जीवनको बाह्य रुपमा समेत देखा पर्नेछ । परन्तु ती अभागी नारीहरूलाई हेर्नोस् जसलाई हामी छि: छिः दुर दुर् गर्छौ र ती भद्र महिलाहरूलाई पनि हेर्नोस् जो उच्चातिउच्च समाजमा रहन्छन् । त्यही नाङ्गा पाखुरा, कुम र छाती, त्यही माथि उठेको फेर हालेको लुगा, त्यही चम्किला मणिमाणिक्यको हार र महँगा गरगहनाको सोख,त्यही आमोद-प्रमोद,त्यही नाच-गान र त्यही संगीत ! पुरुषहरूलाई फसाउने जुन साधनहरूको प्रयोग वेश्याहरू गर्छन् तिनैको प्रयोग यी पनि गर्छन् । यी दुवै थरीका आइमाईहरूमा कत्ति पनि अन्तर छैन । सृक्ष्म अन्तरको कुरा गर्दा के भन्न सकिन्छ भने हामी ती आइमाईहरूलाई घृणाको दृष्टिले हेर्नेगछौं जो अल्प समयको लागि वेश्या बन्न पुगेका हुन्छन्, तर ती आइमाईहरूको चाहिँ आदर र मानमनितो गर्दछौं जो जीवनभरि नै वेश्यावृत्ति गर्दछन् ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।