परिच्छेद ८
पैदल सैनिकको अन्तिम डफ्फा पुलको किनार पुगेपछि गुजमुजिँदै एकै डल्लो भयो र किपबाट तरल पदार्थ निसृत भएजस्तै ल्वार्ल्वाती निस्केर पुलपारि तर्यो । अन्त्यमा सबै घोडागाडीहरू पनि पारि तरे – भीडभाड अलि कम भयो र अन्तिम पल्टन पनि पुल तर्न लाग्यो । पुलवारि देनिसोभको घोडसवार हुस्सार स्क्वाड्न मात्र दुस्मनको अगाडि रह्यो । पहाडको टुप्पोबाट देखिने दुस्मन, यहाँ तलबाट, “पुलबाट अहिले देखिएको थिएन, किनकि जुन उपत्यकाबाट नदी बग्थिन्, त्यस अगाडिको पहाडको क्षितिज आधा किलोमिटर जति टाढा गएर टुङ्गिन्थ्यो । पहाडको फेदीमा’सुनसान पर्ती जग्गा थियो, जहाँ हाम्रो घोडसवार कोजाकसेनाको टुकडी चलफिर गर्दै थियो । अचानक अगाडिको अग्लो जमिनको बाटोमा नीला बर्दी लगाएका सेना र तोपखाना देखिए । यिनीहरू फ्रान्सेली थिए । कोजाकहरूको घोडसवार सैनिक टुकडी पहाडको ओत लाग्यो । देनिसोभका घोडसवार स्क्वाडुनका सबै अफिसर र सैनिकहरू पनि यताउतिका कुरा गर्ने र हेर्ने प्रयास गर्दै थिए तर उनीहरूको ध्यान अनवरत रूपमा त्यो पहाड देखिएको दृश्यमा केन्द्रितै थियो । उनीहरू एकनासले क्षितिजमा प्रकट भएको त्यो टाटोतर्फ हेरिरहेका थिए, जो उनीहरूको विश्वासमा शत्रुको सेनाबाहेक अरू केही हुन सक्तैनथ्यो । दोपहरपछि मौसममा सुधार आएको थियो र देन्युव नदी र त्यसको वरिपरि अँध्यारा पहाडहरूमा चर्को घाम लागिरहेको थियो । वातावरण शान्त थियो । तर बेलाबेला अगाडिको पहाडबाट दुस्मनका बिगुल फुकेको र कर्लेको आवाज सुन्निन्थ्यो । घोडसवार स्क्वाड्न र दुस्मनको बीचमा कोजाक सेनाका सानासाना टुकडीबाहेक अरू कोही थिएन । करिब सात गजको रिक्त मैदानले उनीहरू बीचको दूरी छुट्याएको थियो । दुस्मनले गोला बर्षाउन बन्द गरेको थियो । र यसैकारण उक्त कठोर भयङ्कर, अलंघ्य र अप्रत्यक्ष रेखाको बृहत्तर रूपमा अनुभूति भइरहेथ्यो, जसले दुई शत्रु सेनालाई छुट्याएको थियो ।
“जीवितलाई मृतकबाट छुट्याउने रेखास्वरूप त्यो सीमा रेखाबाट एक पाइला पर, घोर अनिश्चितता, पीडा र स्वयम् मृत्यु विद्यमान छ । त्यहाँ के छ? त्यो चउर त्यो रुख र त्यो घमाइलो छाना पर … त्यहाँ के छ ? कसैलाई थाहा छैन, तर बुझ्ने प्रवल जिज्ञासा भने अवश्य राख्नुपर्छ । यो रेखा नाघ्न डर लाग्छ तैपनि यो रेखा नाघ्न मन लाग्छ । र, तिमीलाई थाहा छ ढिलो वा चाँडो यस रेखालाई नाघ्नै पर्छ र जसरी तिमीले त्यो रेखापारि के छ भनेर थाहा पाउनै पर्छ त्यसरी नै मृत्युको रेखापारि के छ भनेर पनि तिमीले जानकारी राख्नै पर्छ । तर तिमी आफै शक्तिशाली छौँ, स्वस्थ र प्रफुल्ल तथा उत्तेजित छौ र यस्तै किसिमका स्वस्थ, प्रफुल्ल र उत्तेजित मानिसहरूद्वारा घेरिएका छौं ।” शत्रुलाई आफ्नो अगाडि देख्ने कुनै पनि मानिसले यदि यस्तो सोच्दैन भने पनि अनुभव अवश्य गर्ने छ र यस्ता भावनाले, यस्ता क्षणहरूमा हुने हरेक कुरासँग सम्बन्धित अनुभूतिलाई विशेष प्रकारको मोह, लावण्य र फुर्फुरे उत्सुकता प्रदान गर्नेछ ।
उक्त अग्लो पहाडमा, जहाँ शत्रुसेना थियो, तोप पड्केको धूवाँ उठ्यो र सनसनाउँदै एउटा गोला, हुस्सार स्क्वाड्रनको टाउको माथिबाट गयो । एकै ठाउँमा उभिइरहेका अफिसरहरू आफ्नो-आफ्नो ठाउँमा गए । हुस्सारहरूले सतर्कतासाथ आफ्ना घोडालाई सोझो लाइनमा राख्न लागे । स्क्वाड्रनमा मौनता छायो । सबैले आफ्नो अगाडि दुस्मनलाई देखिरहेका थिए र स्क्वाड्रन कमाण्डरको आदेश पर्खिरहेका थिए । अगिको जस्तै दोस्रो र त्यसै गरी तेस्रो गोला पनि उनीहरूको टाउकै माथिबाट उड्दै गयो । स्पष्टतः उनीहरूले हुस्सारहरूका विरुद्ध आगो वर्षाइरहेका थिए तर गोला एकै किसिमले द्रुत गतिबाट सनसनाउँदै हुस्सारहरूको टाउकोमाथिबाट उड्दै गएर कतै पछाडितिर बज्रिन्थ्यो । हुस्सारहरू कतै हेर्दैनथे, तर आफूहरूतिर आइरहेको गोलाको आवाजको तालमा र त्यो गोला आफूहरू पछाडि गएर भुइँमा बज्रिने बेलासम्म, देख्नमा उस्तैउस्तै भए पनि यथार्थमा फरकफरक अनुहार भएका पूरै स्क्वाड्रन, कुनै आदेश पालना गरेजस्तै गरेर, आफ्नो सासैं रोकेर रिकावमा उभिन्थ्यो र फेरि लगत्तै काठीमा बस्थ्यो । आफ्ना साथीहरूको अनुहारमा परेको प्रभाव हेर्ने उत्सुकताले गर्दा सिपाहीहरू टाउको नघुमाइकन एकआपसमा आँखा मात्र जुधाउँथे । देनिसोभदेखि लिएर बिगुल बजाउने सिपाहीसम्म, चिउँडो र मुखवरिपरि सबैको अनुहारमा द्वन्द्व छटपटि र उत्तेजनाको समान भाव प्रकट भएको देखिन्थ्यो । क्वाटरमास्टर सिपाहीहरूतिर हेर्दै उनीहरूलाई दण्ड दिने धम्की दिइरहेजस्तो गरेर आँखा तर्थ्यो । क्याडेट मिरोबोभ प्रत्येक गोला वर्षिंदा त्यसलाई छल्न लागेजस्तै गरेर निहरी पर्थ्यो । अलिअलि जखमी भए पनि आफ्नो सुन्दर ‘रुक’ घोडामा चढेर बायाँ कोखामा उभिएको रोस्तोभ, एटा यस्तो प्रफु्ल्ल विधार्थी केटाजस्तो लागिरहेथ्यो, जसलाई धेरै दर्शकहरूका अगाडि परीक्षा दिन बोलाइएको होस् र जसलाई पूर्ण विश्वास होस् कि उसले परीक्षामा विशिष्ट स्थान प्राप्त गर्नेछ । ऊ यस्तो मधुर र मोहक दृष्टिले हेर्दै थियो मानौँ उसले सबैलाई त्यति गोलाबारी भइरहँदा पनि ऊ कति शान्त भएर उभिरहेछ भनेर हेर्न उनीहरूलाई अनुरोध गरिरहेको होस् । तर उसको इच्छा नहुँदानहुँदै पनि उसको अनुहारमा पनि एउटा अनौठो र कठोर किसिमको रेखा उत्पन्न भयो ।
पटकपटक घुँडा भाँचेर निहुरिइरहने को हो त्यो ? क्याडेट मिनोरोभ । त्यो तरिका राम्रो होइन । “मलाई हेर यता,” देनिसोभ चिच्यायो । ऊ एक ठाउँमा उभिन सकिरहेको थिएन । र स्क्वाड्न अगाडि घोडामा घरी यता घरी उता गरिरहेको थियो ।
च्याप्टो नाक र कालो कपाल भएको अनुहार, लामालामा रौँ भएका छोटाछोटा औँला र नसा फुलेको हात, जसले नाङ्गो तरबारको बीँड पकडेको थियो र सानोसानो तर गठिलो आकृति भएको मास्का देनिसोभको रूपरेखा पहिलेकै जस्तो थियो ।
खास गरेर साँझतिर दुई बोतल रक्सी पिइसकेपछि ऊ यस्तो अवस्थामा देखिन्थ्यो, तर अरू बेलाभन्दा बढी रातो देखिन्थ्यो । चराले पानी पिउने बेलामा गरेजस्तै आफ्नो झ्यापुल्ले टाउको माथितिर झट्कार्दै, उसले आफ्नो असल घोडा बेदुइनलाई निर्दयतापूर्वक एँडी हानेर सर्पट दौडाउँदै स्क्वाड्रनको अर्को पाखातिर लग्यो र धोद्रो स्वरमा चिच्याउँदै सिपाहीहरूलाई आ-आफ्ना पिस्तोलतिर ध्यान दिन अह्रायो । त्यसपछि उसले किर्स्तैनतर्फ घोडा बढायो । स्टाफ कप्तान किर्स्तेन पनि आफ्नो चौडा पीठवाला दह्दो घोडीमाथि चढेर टकटक अगाडि बढाउँदै उसलाई भेट्न आउँदै थियो । लामालामा जुँगा भएको उसको अनुहार पहिलेकै जस्तो गम्भीर थियो तर आँखा भने पहिलेका भन्दा अलि तेजिला
देखिन्थे ।
“खै, के चाला हो यस्तो ?” उसले देनिसोभलाई भन्यो । “लडाइँ होलाजस्तो लाग्दैन । हेरिरहनु- हामीहरू फर्किनु पर्छ ।”
“राक्षसलाई मात्र थाहा होला, – के भइरहेछ ।” देनिसोभ बडबडायो । “ओहो, रोस्तोभ,” रोस्तोभको उज्यालो अनुहार देखेर उसले भन्यो । “तिमीले अब धेरै पर्खनु पर्दैन ।”
र ऊ रोस्तोभसँग खुसी हुँदै प्रशंसापूर्वक मुस्कुरायो । रोस्तोभ पनि अति प्रसन्न भयो । यही बेला पुलमा पल्टन कमाण्डर देखियो । देनिसोभ घोडालाई सर्पट दौडाउँदै उसँग पुग्यो ।
“हजूर, आक्रमण गर्ने आदेश पाउँ ! म उनीहरूलाई यहाँबाट लखेटेरै छोड्छु ।”
“कस्तो आक्रमण गर्ने आदेश !” अनुहारमा भन्किरहेका विठ्याहा झिँगा धपाउँदाझैँ नाकमुख बङ्ग्याउँदै दिक्क भएर उसले भन्यो । “र तिमीले यहाँ किन ढिलो गरिरहेछौ ? भीडन्तेहरू फिर्ता आइरहेको देखेनौ ? स्क्वाड्नलाई पछाडि लैजाऊ ।”
स्क्वाड्रनले पुल पार गर्यो । र एक जना सैनिकको पनि ज्यान गएन । उनीहरू सबै तोपगोलाबाट सकुशल फिर्ता भए । यो स्क्वाड्रनको पछिपछि र नजिकनजिक अको स्क्वाड्नले पनि नदी पार गर्यो र अन्त्यमा कोजाकहरूले पनि नदी पार गरे ।
पाव्लोग्रादका घोडसवार पल्टनका दुई स्क्वाड्रन एकपछि अर्को पुल तरेर पहाडतर्फ बढे । पल्टन कमान्डर कार्ल वोग्दानोविच सुबर्ट देनिसोभको स्क्वाड्रनसँग आएर मिल्यो । उसले रोस्तोभको नजिकैबाट आफ्नो घोडा पाइलापाइला अगाडि बढाउँदै लगिरहेको थियो । रोस्तोभतिर कसैले ध्यान दिएको थिएन । यद्यपि तेल्यानिनका कारण उनीहरू बीच भएको झगडापछि उनीहरूको यो नै पहिलो भेट थियो । रोस्तोभ आफू रणमोर्चामा भएको र पूर्णरूपमा त्यस व्यक्तिको अधीनमा भएको अनुभव गर्दै, जुन व्यक्तिको अगाडि अब ऊ आफूलाई अपराधी नै भएको ठान्थ्यो, एकनासले उसको कसरतवाजको जस्तो पीठ, सुनौला रौँ भएको घिँच्रो र एकदम रातो गर्दन हेरिरहेको थियो । “रोस्तोभलाई यस्तो लाग्यो कि बोग्दानोविचले उसलाई नदेखेजस्तो गरेर स्वाँग मात्र पारिरहेछ । उसको एक मात्र उद्देश्य मेरो बहादुरीको परीक्षा लिनु हो ।” अतः ऊ तनक्क तन्क्यो र प्रफुल्ल मुद्रामा यताउति हेर्यो । यसपछि उसलाई यस्तो लाग्यो कि बोग्दानोविच, आफ्नो साहस प्रदर्शन गर्ने हेतुले जानीजानी आफ्नो घोडा उसको नजिकबाट लगिरहेछ । यसपछि फेरि उसको मनमा यस्तो खेल्यो कि उसको दुस्मन अर्थात् बोग्दानोविचले अब जानीजानी स्क्वाड्नलाई भयङ्कर हमला गर्न पठाउने छ ताकि उसलाई अर्थात् रोस्तोभलाई सजाय दिन सकियोस् । उसको दिमागमा अर्को यस्तो: विचार पनि आयो कि हमलापछि ऊ आफूसँग आउनेछ र मनको उदारता देखाउँदै ऊतर्फ अर्थात् घाइते रोस्तोभतर्फ मेलमिलाप गर्न हात बढाउने छ ।
अग्लो काँध भएको जेरकोभ, जोसँग पाव्लोग्रादको पल्टनका सबै मान्छेको राम्रो परिचय थियो र जो यो पल्टनबाट केही दिनपहिले मात्र गएको थियो, घोडा दौडाउँदै पल्टन कमाण्डरसँग आयो । कृतुजोभद्वारा प्रमुख सैनिक कार्यालयबाट निकालिएपछि ऊ यस पल्टनमा रहेको थिएन । सैनिक कार्यालयमा बसीबसी त्योभन्दा ठूलो पुरस्कार पाउने भएपछि मोर्चामा गएर ज्यान जोखिममा पार्ने मूर्ख म होइन भन्ने उसको भनाइ थियो । हुन पनि ऊ राजकुमार बुग्रातिओनुको अफिसरस्तरको अर्दली भएको थियो । ऊ अहिले पुष्ठ रक्षादलको कमाण्डरको आदेश लिएर आफ्नो पूर्वप्रमुखलाई भेट्न आएको थियो ।
“कर्णेल,” उसले रोस्तोभको शत्रुलाई सम्बोधन गर्दै र आफ्ना साथीहरूतर्फ दृष्टि दिँदै उदास र गम्भीर मुद्रामा भन्यो, “पल्टनलाई रोक्ने र पुलमा आगो लगाइदिने आदेश दिएको हो यो आदेश छ ?”
“कसले दिएको हो यो आदेश ?” कर्णेलले झोँक्किदै सोध्यो ।
“कसले आदेश दिएको हो, त्यो त मलाई थाहा छैन,” जेरकोभले गम्भीर हुँदै उत्तर दियो, “तर राजकुमार बग्रातिओनले मसँग यसो भनेका छन्, “गएर कर्णेललाई भन्नू हुस्सारहरू छिटो वापस फर्कून् र उनीहरूले पुलमा आगो लगाइदिउन् ।”
जेरकोअको लगत्तै पछाडि अनुचरगणको एउटा अफिसर पनि त्यही आदेश लिएर हुस्सारहरूको कर्णेलकहाँ आयो । उसको पछाडि कोजाक घोडा सर्पट दौडाउँदै मोटो धसुल्ले नेस्भित्स्की पनि आइपुग्यो, जसको वजन थाम्न घोडालाई गाह्रो भइरहेथ्यो ।
“यो के चाला हो, कर्णेल ?,” ऊ आउँदाआउँदै चिच्यायो । “मैले तिमीलाई पुलमा आगो लगाइदिन भनेको थिएँ तर अरू कसैले बिठ्याँइ गरेजस्तो लाग्छ । वहाँ ठूला अफिसरहरू “त्यत्तिकै छट्पटाइरहेका छन्, दिमागमा केही घुसेकै छैन ।”
कर्नेलले जानीजानी पल्टनलाई रोक्यो र नेस्भित्स्कीतर्फ फर्क्यो ।
“तिमीले त मलाई आगो सल्काउने सामानको मात्रै कुरा गरेका थियौ तर पुलमा आगो लगाउने विषयमा केही भनेको थिएनौ,” उसले भन्यो ।
“तर, प्रिय महोदय,” एकदमै नजिक आइसकेपछि शिरबाट टोपी झिकेर मोटामोटा हातका औंलाले पसिनाले भिजेको कपाल तह लगाउँदै नेस्भित्स्कीले भन्यो । “आगो लगाउन् भनेर किन भनिनँ मैले, आगो नलगाउने भए आगो लगाउने सामान किन चाहिन्थ्यो त ?”
“म तिम्रो प्रिय महोदय होइन श्रीमान् स्टाफ अफिसर र तिमीले मलाई पुलमा आगो लगाउन भनेका पनि होइनौ । मैले काम गर्न जान्या छु र हाकिमको आदेश पालन गर्न त्यत्तिकै अनुशासित छु । तिमीले पुलमा आगो लगाउने हो मात्र भनेका थियौ तर त्यो काम कसले गर्ने हो भनेका थिएनौ, त्यसैले म भगवानको किरिया खाएर भन्छु, मलाई त्यो कुरा थाहा थिएन ।”
“सधैँ यस्तै हो,” नेस्भित्स्कीले हात झट्कार्दै भन्यो । “तिमी किन यहाँ आएको नि ?” उसले जेरकोभलाई सोध्यो ।
“त्यही काम कुरा गर्न आएको हुँ । तर तिमी भिजेका छौ । खै त म पसिना पुछी दिन्छु ।”
“अँ त, श्रीमान् स्टाफ अफिसर, तिमी भन्दै थियौ ……. ” रिसाएजस्तो गरेर कर्नेलले कुरा चालु राख्यो ।
“कर्नेल,” अनुचर अफिसरले भन्यो, “छिटो गर्नु पर्यो नत्र दुस्मन्ले छर्रावाला गोला बर्षाउन थाल्ला जस्तो लाग्छ ।”
कर्नेलले चुपचाप लागेर अनुचर अफिसर, मोटे स्टाफ अफिसर र जेरकोभलाई पनि हेर्यो र नाकमुख खुम्च्यायो ।
“म लगाउँछु पुलमा आगो,” उसले अशुद्ध रसियाली भाषामा सानसँग भन्यो मानौँ उ यो घोषणा गर्दै छ कि अलिकति नरमाइलो किसिमको अपगाल सहनु परे तापनि गर्नै पर्ने यो काम उसले अवश्य गर्ने छ ।
आफ्ना लामालामा मांसल खुट्टाले घोडालाई लात्ती हान्दै, मानौँ यो सबै कामको दोषी नै घोडा हो, कर्नेल अगाडि बढ्यो र सेकेन्ड स्क्वाड्रनलाई पुलतिर फर्कने आदेश दियो, जुन स्क्वाड्रनमा रोस्तोभ देनिसोभको कमानमा काम गर्थ्यो ।
“कुरो उही हो, मैले जे सोचेको थिएँ,” रोस्तोभले आफूसँग आफैले भन्यो । “ऊ मेरो परीक्षा लिन चाहन्छ ।” उसको छाती ढुक्क भयो र रगत अनुहारतिर आयो । म नामर्द रहेछु कि मर्द रहेछु – “उसले राम्रैसँग हेरौस् र थाहा पाओस् ।”
स्क्वाड्नका सबै सदस्यहरूको खुसीले फूलझैँ फुलेका अनुहारमा पुनः त्यही गम्भीरता देखियो, जुन बखत उनीहरूमाथि गोला बर्षिरहेको थियो । रोस्तोभले आफ्नो दुस्मन् पल्टन कमाण्डरलाई यस कारण ध्यानपूर्वक हेरिरहेथ्यो ताकि उसको मनको आशङ्का पुष्टि हुन सकोस् । तर कर्नेलले भने, एक पटक पनि रोस्तोभलाई फर्केर हेरेन र सैँझैँ एकदम उत्साहका साथ आफू अगाडि उभिएको पल्टनलाई मात्र हेरिरहेथ्यो । त्यसपछि उसको आदेश आयो ।
“फूर्ती गर भाइ हो, फूर्ती गर” उसको वरिपरिबाट एकमुष्ठ थुप्रै आवाजहरू घन्किए ।
हुस्सारहरू हत्तपत्त आ-आफ्ना घोडाबाट ओर्ले । उनीहरूका तरबार घोडाका लगाममा जुध्थे । उनीहरू स्वयमलाई अब “हामी के गर्न गइरहेछौँ भन्ने थाहा थिएन । उनीहरू सबैले आफूआफू माथि क्रसको निसाना बनाए । रोस्तोभ पनि यस बखत आफ्नो कमाण्डरलाई हेर्दै थिएन । उसलाई यसो गर्ने फुर्सत नै थिएन । ऊ डराइरहेको थियो । उसको मन धड्किरहेको थियो । हुस्सारहरूभन्दा पछाडि परुँला कि भन्ने उसलाई ठूलो डर थियो । अर्दलीलाई घोडाको लगाम समाउन लगाउँदा उसको हात कामिरहेको थियो र उसलाई आफ्नो मन किन यसरी धड्किरहेछ भन्ने अनुभव भइरहेथ्यो । घोडामा चढेको देनिसोभ पछाडितिर झुक्दै र केही कुरा भन्दै उसकै अगाडिबाट गयो । “हुस्सारहरू उसको चारैतिर दौडिरहेका थिए । उनीहरू चढेको घोडाको एँडी बल्झिन्थ्यो र तरबारको आवाज झन्किन्थ्यो । यो बाहेक उसले केही पनि देखेको-सुनेको थिएन ।”
“छिटो स्ट्रेचर लिएर आऊ,” पछाडिबाट कोही चिच्यायो ।
“किन स्ट्रेचर ल्याउन भनेको हो रोस्तोभले यसको अर्थ बुझ्न सकेन । उसलाई त खाली आफू कसरी हुस्सारहरूभन्दा अगाडि जान सकूँ भन्ने मात्र चिन्ता थियो । तर भुईतिर नहेरेको हुँदा पुलमा लागेको हिले माटोमा चिप्लेर ऊ हातको भरमा पछारियो । अरूहरू उसलाई उछिनेर अगाडि बढे ।
“कप्तान, दुबैतिर” उसले पल्टन कमाण्डरको आवाज सुन्यो, जो घोडा दौडाउँदै सबभन्दा पहिले पुगेर उत्साह र प्रसन्न अनुहार लाएर पुलनजिकै घोडा रोकेर बसेको थियो ।
रोस्तोभले हिलोमा लत्पतिएको हात व्रिचीसले पुछ््यो, मुन्टो घुमाएर आफ्नो शत्रुलाई हेर्यो अनि जति अगाडि जान सक्यो त्यति नै राम्रो हुन्छ भन्ने ठानेर दगुर्न खोज्यो । तर बोग्दानोविचले रोस्तोभलाई देख्दैनदेखी र चिन्दैनचिनी उसलाई बोलाएर भन्यो- “पुलको बीचमा दगुरिरहेको को हो ? दाहिने लाग्नू ।” वापस फर्क, क्याडेट” उ रिसाउँदै देनिसोभतिर फर्कदै चिच्यायो, जो फुर्ती देखाउँदै घोडा चढेर पुलमा गएको थियो ।
“किन बेकारमा खतरा मोल्ने, कप्तान ? घोडाबाट ओर्ल,” कर्नेलले भन्यो ।
“मर्नै लेख्या रहेछ भने मरौँला,” देनिसोभले घोडैबाट टाउको पछाडि फर्काएर जवाफ दियो ।
त्यसै बीचमा नेस्भित्स्की, जेर्कोभ र अनुचर अफिसर गोला बर्सिरहेको ठाउँको सीमादेखि केही टाढै एकै ठाउँमा उभिएर घरी पहेँला रङका फौजी टोपी र गाढा हरियो रङको कबरी भएको ज्याकेट र घोडा चढ्दा लगाउने नीलो रङको ब्रिचिस लगाएका हुस्सारहरूलाई हेरिरहन्थे, जो पुलमा मौरीको गोलाजस्तो जम्मा भइरहेका थिए, भने उत्तीखेरै फेरि निलो बर्दी लगाएका फ्रान्सेली सैनिक तथा घोडावालाहरूको दललाई हेरिरहन्थे, जसलाई तोप समूहको दल भनेर सजिलै चिन्न सकिन्थ्यो ।
“पुलमा आगो लगाउन सक्ने हुन् वा होइनन् ? पहिले को पुग्ने हुन् खै ? उनीहरू पहिले पुगेर पुलमा आगो लगाउने हुन् वा त्योभन्दा पहिले फ्रान्सेलीहरू पुगेर उनीहरूलाई सिध्याउने हुन् ?” नचाहँदा नचाहदै पनि भयभीत र आशङ्कित हृदय लिएर पुलभन्दा टाढा पहाडमा रहेको सेनाका प्रत्येक सदस्यले आफूले आफैलाई प्रश्न गरिरहेका थिए, जसले सन्ध्याकालीन प्रकाशमा पुल र हुस्सारहरू तथा अर्कोतिर सङ्गीन तथा तोपहरूका साथ नीलो बर्दी लगाएर अगाडि बढिरहेका फ्रान्सेली सेनाहरूलाई हेरिरहेका थिए ।
“ओहो, हुस्सारहरूको अवस्था खराब हुने भयो,” नेस्भित्सकीले भन्यो । अहिले उनीहरू तोपका छर्राका गोलाले भेट्ने सीमाभित्र छन् ।
“करर्नेलले, बेकारमा त्यति मान्छे- त्यहाँ पठाए,” अनुचर अफिसरले राय प्रकट गर्यो ।
“तेस्भित्स्कीले पनि सही थाप्दै भन्यो,” मात्र दुई जना मान्छेको काम थियो त्यो ।”
“ओहो हजूर,” हुस्सारहरूतिर आँखा लगाउँदै सोझो पारामा जेरकोभ पनि गफमा सामेल भयो । तर उसले ठट्टा गरिरहेथ्यो वा अन्तर हृदयले उत्सुकतापूर्वक विचार प्रकट गरिरहेथ्यो यसै भन्न सक्दैनथ्यो । “तपाईं कस्तो कुरा गर्नु हुन्छ, हजूर ।” दुई जना मात्र पठाउने ? त्यस्तो अवस्थामा रिवन र लादिमिर पदक हामीलाई कसले दिने नि ? दुई चार जनाको ज्यानै जान्थ्यो होला रे तर पूरा स्क्वाड्न सम्मान प्राप्त गर्न योग्य हुने थियो र कर्णेल पनि सम्मान हात थाप्न योग्य हुने थिए । हाम्रो बोग्दानोविचलाई के-कसो गर्नुपर्छ भन्ने कुरा सबै थाहा छ ।”
“हेरौँ है, छर्रावाला तोप पड्किँदै छ,” अनुचर अफिसरले भन्यो ।
छिटोछिटो तोपगाडीहरूबाट उतार्दै र गोला भर्दै गरेका फ्रान्सेली तोपहरूतिर इशारा गर्दै उसले सङ्केत गर्यो ।
फान्सेलीहरूको तोपवाला दलमा सँगसँगै जस्तो गरेर पहिलो, दोस्रो तथा तेस्रो तोपबाट धूवाँ निस्क्यो र पहिलो तोप पड्केको आवाज उनीहरूको कानसम्म आइपुग्दा चौथो तोपबाट पनि धूवाँ निस्केको देखियो । एवम् रीतले दोस्रो र तेस्रो तोप पड्केको आवाजका साथ पाँचौँ र छैठौँ तोपबाट पनि धूवाँ निस्केको देखियो ।
“ओहो, ओहो, लौन,” अनुचर अफिसरको हात च्याप्प समाउँदै असाध्य पीडा भएझैँ नेस्भित्सकी कन्यो । “हेर त, एउटा ढल्यो ! हरे शिव बिचरा सिपाही ढल्यो !”
“कहाँ एक जना, दुई जना जस्तो लाग्छ ।”
“यदि म जार हुँदो हुँ त गर्ने थिइनँ, युद्ध बेकार,” नेस्भित्स्कीले कवितात्मक वाक्यमा भन्यो र मुख अन्तैतिर मोड्यो ।
उता फ्रान्सेली तोपहरूमा पुनः हतारहतार बारूद भरिँदै थिए ।- नीला बर्दी लगाएका फ्रान्सेली सैनिक दगुर्दै पुलतिर बढ्दै थिए । पहिले जस्तै फेरि पनि धूवाँको मुस्लो देखिन थाल्यो । तर अनियमित विश्वासमा छर्रावाला गोला सनसनाउँदै ठूलो आवाजका साथ पुलमा गएर बज्जन्थे । तर घना धूवाँको बादलका कारण नेस्भित्स्कीले त्यहाँ के भइरहेछ भनेर देख्न पाएन । हुस्सारहरू पुलमा आगो लगाउन सफल भइसकेका थिएर फ्रान्सेलीहरूले उनीहरूमाथि तोपका गोला वर्षाइरहेका थिए । किनभने हुस्सारहरूलाई रोक्न होइन भरेको तोप कसैमाथि पड्काउने मात्र उनीहरूको उद्देश्य थियो ।
हुस्सारहरूले पुलमा आगो लगाएर आ-आफ्नो घोडामा फर्कुन्जेल फ्रान्सेलीहरूले तीन पटकसम्म गोला वर्षाउने अवसर पाएका थिए । त्यसमध्ये दुइटा तोपका निसाना चुकेको हुँदा गोला धेरै उचाईँबाट उडेर गयो तर तेस्रो गोला भने हुस्सारहरूको बीचमा नै आएर खस्यो र तीन जना हुस्सारहरूको तत्काल ज्यान गयो ।
बोग्दानोविचसँगको आफ्नो सम्बन्धका विषयमा शोचमग्न रोस्तोभ के गर्ने ? कसो गर्ने ? भनेर ठहर गर्न सकिरहेको थिएन । ऊ पुलमा नै रोकियो । उसलाई छिमल्ने पनि उसको अगाडि कोही थिएन (लडाइँको विषयमा उसले यस्तै मात्र कल्पना गर्थ्यो) र अरू हुस्सारहरूले जस्तो पुलमा आगो लगाउन चाहिने फुसका डोरीहरू पनि नल्याएको हुँदा पुलमा आगो लगाउने काममा पनि उसले सहृयोग गर्न सकेन । उ त्यत्तिकै उभिएर हेरिरहेथ्यो, अचानक उसले पुलमा हाडे ओखरहरू फुटेर छित्रिए जस्तो चटचट गरेको आवाज सुन्यो र उसले आफू नजिकैको एक जना हुस्सार “ऐया” भनेर रन्थनिँदै पुलको छेकबारमा ठोक्किएर ढलेको देख्यो । अन्य हुस्सारहरूका साथ रोस्तोभ पनि दगुर्दै घाइते हुस्सारछेउ पुग्यो । फेरि कसैले “स्ट्रेचर” भन्दै आवाज दियो । घाइतेलाई चार जनाले समातेर स्ट्रेचरमा राख्न लागे ।
घाइते हुस्सार, मलाई छोडिदिनू म मर्छु भन्दै छटपटाइरहेको थियो । तैपनि उसलाई चार जनाले उठाएर स्ट्रेचरमा राखेर सुताए ।
निकोलास रोस्तोभले अर्कोतिर मुख फर्कायो र केही खोजे जस्तो गर्दै, टाढा डेन्युब नदिको पानी, आकाश र सूर्यतिर हेर्ने लाग्यो । आकाश अति सुन्दर देखिन्थ्यो नीलो शान्त र अन्नत गहिरो । अस्ताचलतिर लागेको सुर्य अति प्रखर र तेस्वी थियो । टाढा डेन्युब नदीको नीलो पानी पनि त्यत्तिकै कोमल र चम्किलो थियो । नदीभन्दा पर , निकै टाढा नीला आभामा लुटपुटिएका पर्वत , मठ हस्यमय खोच र ध्धौरालीको मध्यमा घुम्टो लुकेको सल्लाका रूखहरू थिए । त्यहाँ शान्ति थियो र थियो सुख-सन्तोष पनि । “हो च त्यहाँ भएको भए , मलार्इ केही पनि चाहिँदैनथ्यो र मेरा सबै इच्छाहरू स्वत पूरा हुने थिए,” रोस्तोभको भावुक मनले यस्तै सोचिरहेको थियो । “स्वयम मभित्र र त्यो सूर्यको प्रकाशमा मात्र त्यति धेरै सुख र शान्ति छ – तर यहाँ भने, रोदनक्रन्दन, यातना, भय, अनिश्चितता, व्यग्रता र धपेडी मात्र छ ……….. लौ फेरि त्यहाँ के भयो ? सबै कोलाहल गरिरहेछन् – फेरि कोही चिच्याउँदै पछाडितिर कतै दगुरिरहेछन्, उनीहरूसँगै म पनि दगुरिरहेछु र मृत्यु यहीनिर, मेरो शिरमाथि र मेरा चारैतिर मडारिइरहेछ ।… अर्को क्षण – मैले फेरि त्यो सूर्य, त्यो नदीको पानी, त्यो खोँच र ती सबैथोक कहिल्यै देख्न पाउने छैन……… ।”
त्यही बेला सूर्य बादलभित्र लुक्न लाग्यो र रोस्तोभका आँखा अगाडि अरू स्ट्रेचरहरू पनि देखा परे । र, एकातिर मृत्यु र स्ट्रेचरहरूको भय र अर्कोतिर सूर्य र जीवनप्रतिको मोह, सबै मिलेर घिनलाग्दो र भयावह अनुभूतिमा एकाकार भए । “हे ईश्वर ! तिमी स्वर्गमा छौ भने मलाई बचाऊ मलाई क्षमा गर र त्यहाँ अरू कोही छौ भने पनि मलाई त्यसै गर,” रोस्तोभ मन्द स्वरमा बोल्यो ।
हुस्सारहरू घोडाअर्दलीहरू भए ठाउँमा पुगे । उनीहरूको आवाज ठूल्ठूलो हुँदै मसिनो भएर गयो, स्ट्रेचर पनि देखिन छोडे ।
“भन भाइ, बारुदको स्वाद चाखेनौ ?” उसको कानैमा आएर मास्का देनिसोभ चिच्यायो ।
“जे हुनु थियो भयो तर म नामर्द रहेछु – हो म एकदम नामर्द मानिस रहेछु,” रोस्तोभले विचार गर्यो र लामो सास फेर्दै आफूभन्दा एक फुटअगाडि उभिइरहेको आफ्नो घोडा “रुकको” लगाम अर्दलीको हातबाट लिएर उसमाथि चढ्न लाग्यो ।
“के त्यो छर्रावाला गोला थियो ? “उसले देनिसोभसँग सोध्यो ।
“ठीक भन्यौ, त्यही हो तर भयङ्कर थियो,” देनिसोभले उत्तर दियो ।
“गर्नु पर्ने काम तिमीले मज्जाले गर्यौ । शत्रुमाथि आक्रमण गर्नु पनि निकै रमाइलो हुन्छ । भुस्याहा कुकुरलाई मारेजस्तै मार्दै अगाडि बढ । तर यो काम राक्षसले गर्ने काम हो निसाना ताक र मार ।”
अनि देनिसोभले रोस्तोभनजिक जम्मा भएका कर्नेल, नेस्भित्स्की, जेरकोभ र अनुचर अफिसर भएतिर आफ्नो घोडा बढायो ।
“ठीकै छ, कसैले पनि थाहा पाए जस्तो छैन,” रोस्तोभले सोच्यो । र यो नै सत्य थियो र सही थियो । कसैले पनि देखेको वा ख्याल गरेको थिएन किनभने त्यसबेला सबैको मनमा त्यही भावना थियो, जुन भावना युद्धमा शत्रुद्वारा गोलाबारी भएका बखत पहिलोपटक एउटा क्याडेटलाई अनुभव हुन्छ ।
“तिमीलाई एउटा कुरा भन्नु छ,” जेरकोभले भन्यो । हेरिराख ! म अब महासेनानीमा पदोन्नति भइनँ भने ।”
“मैले पुलमा आगो लगाएँ भनेर राजकुमारलाई भनिदिनू,” उत्साह र प्रसनताका साथ कर्नेलले भन्यो ।
“हाम्रा मान्छे कति मरे भनेर सोधे भने नि?”
“सामान्य” कर्नेलले धोद्रो आवाजमा भन्यो । “दुई जना हुस्सार घाइते भए र एक जनाको ज्यान गयो,” उसले थप्यो । ऊ खुसीको मुस्कान थाम्न असमर्थ थियो । अत “एक जनाको ज्यान गयो भनिदिनू,” उसले स्पष्टरूपमा प्रसन्नता प्रकट गर्दै भन्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

