श्रीमान्‌ जियाबाओ, यो म जान्दछु कि प्लास्टिकले बेरिएका व्यवसाय सम्बन्धी किताबहरूमा ससाना ‘साइडवार’हरूको फोटो हुनु भनेको सामान्य कुरा हो । कथाको यही ठाउँमा पुगेर तपाईंलाई पट्यारबाट मुक्ति दिन म यो आधुनिक उद्यमीको वृद्धि र विकासको कथामा आफ्नो ‘साइडवार’ को कथा थप्न चाहन्छु ।

उद्यमी ड्राइभरले कसरी तलब बाहेक अलिकति पैसा जोगाउँछ ?

१. मालिक नजिकै छैन भने ड्राइभरले नली लगाएर निकालेको पेट्रोल बेच्न सक्छ ।

२. मालिकले कार मर्मत गर्न भन्यो भने ऊ सबैभन्दा भ्रष्ट मिस्त्रीकोमा जान सक्छ । मिस्त्रीले मूल्य बढाएर नक्कली बिल बनाउँछ र ड्राइभरले त्यसबाट कमिसन पाउँछ । तल केही उद्यमी ड्राइभरहरूलाई सहयोग गर्ने उद्यमी मिस्त्रीहरूको नाम छ-

लक्की मेकानिक्स, लाडो सेराई कुठुबनिनार नजिकै आर. भी रिपेयरस ग्रेटर कैलाश, पार्ट टु, निलोफर मेकानिक्स, डिएलएफ फेज वन, गुरगाँउ ।

३. उसले मालिकको बानी अध्ययन गर्नुपर्छ र आफैँलाई सोध्नुपर्छ- “के मेरो मालिक बेहोसी छ ? यदि छ भने म उसको बेहोसीको कसरी फाइदा लिन सक्छु ?” उदाहरणका लागि मालिकले विदेशी मदिराको खाली बोतल कारभित्रै छोड्छ भने, उसले त्यो खाली सिसीवालालाई बेच्न सक्छ । “जोनी वाकर ब्ल्याका”को राम्रो मूल्य पर्छ ।

४. अनुभव र आत्मविश्वास बढ्दै गएपछि यदि ऊ केही खतरा मोल्न पनि तयार छ भने, उसले मालिकको निजी गाडीलाई ट्याक्सीमा बदल्न सक्छ । दिल्लीदेखी गुरगाँउको सडक यस कामका लागि उपयुक्त छ । कल सेन्टरमा काम गर्ने तरूनी केटीहरू भेट्न थुप्रै रोमियोहरू निस्कन्छन्‌ । जब सिपालु ड्राइभरलाई थाहा छ कि अब मालिकले कार देख्दैन र उसका साथीहरू पनि यति बेला सडकमा हुँदैनन्‌, त्यो खाली समय उसले पैसा दिने ग्राहकलाई यता र उता पुर्याउन सक्छ ।