परिच्छेद- ७

पुलमाथिबाट दुस्मनका दुई गोला कटिसकेका थिए, जहाँ किचाकिच मिचामिच चलिरहेको थियो । यो भीडभाडमा राजकुमार नेस्भित्स्कीलाई घोडाबाट ओर्लिनु पर्यो
र आफ्नो भीमकाय शरीर पुलको चौबारमा अड्याउन विवश भएपछि पुलको बीचमा गएर उभियो । उ हाँस्दै टाउको घुमाएर कोजाकलाई हेरिरहेथ्यो, जो दुइटा घोडाको लगाम समातेर भन्दा केही कदम पछाडि उभिएको थियो । राजकुमार नेस्भित्स्की जतिपटक अगाडि बढ्ने प्रयास गर्थ्यो उतिपटक फौज र घोडागाडीहरूले उसलाई धकेलेर पुलको चौवारमा पुर्याइदिन्थे – जसले गर्दा मुस्कुराउनुबाहेक उसका लागि अर्को विकल्प थिएन ।

“गजबको मान्छे रहेछौँ साथी, तिमी त,” पैदलसेनाहरूलाई पेल्दै घोडागाडी लिएर गइरहेको एक जना रक्षादलको सिपाहीलाई कोजाकले भन्यो । पैदलसेना उक्त सिपाहीका घोडा र घोडागाडीका चक्कामा लटपटिएका थिए । “कस्तो मान्छे होला,” एकछिन पनि पर्खन सक्तैनौ । जर्नेल साहेब उता जान लाग्नु भएको देखेनौ ?”

तर उक्त सिपाहीले “जर्नेल” शब्दको पनि मतलव नै राखेन र ऊ आफ्नै बाटो छेकिरहेका सिपाहीहरूलाई हकार्दै चिच्यायो । “ए केटा हो, बायाँ लाग ! एकछिन पर्ख !” तर सिपाही केटाहरू भने काँधमा काँध मिलाएर, आफ्ना सङ्गीनमाथि सङ्गीन खप्टयाएर र, एउटा सघन भीड बनाएर पुल पार गर्दै थिए । चौबारबाट तल नदीतिर हेर्दा राजकुमार नेस्भित्स्कीले एन्स नदीका वेगवत र कोलाहलकारी ससाना लहरहरू देख्यो, जसले आपसमा मिस्सिएर पुलका स्तम्भहरूमा भुँवरी बनाउँथे र गाज निकाल्दै बढ्न आपसमा उछिनाउछिन गर्थे । पुलमा हेर्दा उसले सैनिकहरूको एकै किसिमले चलेको जीवन्त लहर, काँधका लोता, सैनिक टोपी, सैनिक थैला, सङ्गीनहरू, लामालामा बन्दुक र टोपीमुनि उत्साहरहित, कलान्त मनोभावग्रस्त चौडा च्यापु, ख्याउटे गाला भएका अनुहार र च्यापच्याप हिलो टाँसिएका पुलका फलेकहरूमा टेक्दै अगाडि बढेको देख्यो । कहिले सैनिकहरूको पट्यारलाग्दो लहरमा बक्खु लगाएको र सैनिकहरूभन्दा खालको अनुहार भएको कुनै अफिसर, एन्स नदीको लहरहरूमा उठेका सेता पीँजका फटका जस्तै अगाडि हुत्तिन्थे । कहिले नदीको जलावर्तमा घुमिरहेको काठको चपेटाझैँ कुनै पैदल हिँडिरहेको हुस्सार, ‘अर्दली वा नगरवासीलाई फौजको बाढीले ह्वातह्वात अगाडि हुत्याउँथ्यो । कहिले नदीमा बगिरहेको काठको मुढाझैँ सबैतिरबाट सैनिकहरूद्वारा घेरिएकी, माथिसम्म खात लागेको र छालाले ढाकिएको कुनै कम्पनि वा कुनै अफिसरको घोडागाडी पुलबाट सरर्र अगाडि सर्थ्यो ।

“हेर त कुनै एउटा। बाँध फुटेजस्तो छ,” अगाडि बढने आशा मार्दै कोज्जाकले भन्यो । “तिमीहरूका मान्छे अझै आउन बाँकी छन् ?”

“दस लाखमा एक जना कम,” आँखा झिम्क्याउँदै च्यातिएको कोट लगाएको एउटा ठट्यौलो सिपाहीले जवाफ दियो र अगाडि बढ्यो । उसको पछिपछि अर्को एक जना बुढो सिपाही थियो ।

“उसले” (अर्थात्‌ शत्रुले) “पुलमा नै भुट्न थाल्यो भने, अँध्यारो मुख लगाउँदै बुढो सिपाहीले आफ्नो साथीलाई भन्यो, “तिमीले आफ्नो घिँच्रो चिलाउन पनि बिर्सने छौ ।”

त्यो सिपाही पनि ओझेल पर्यो । ऊपछि घोडागाडीमा बसेर अर्को सिपाही आयो ।

“मोराले खुट्टामा बाँध्ने पट्टि कहाँ घुसारिदियो थाहा नै भएन ?” घोडागाडी पछिपछि दुगुर्दै सबैथोक ओल्टयाइपल्टयाइ हेर्दै अर्दलीले भन्यो । र यो अर्दली पनि घोडागाडीसँगसँगै अगाडि बढ्यो ।

त्यसपछि मस्त भएर खुसी मनाउँदै केही अरू सिपाहीहरू आए । उनीहरूले पक्का पनि रक्सी धेरै धोकेका थिए।

“र त्यो मान्छेले, जसै यसका दाँतमा बन्दुकको कुन्दाले हान्थ्यो ……:” एक जना सिपाही जसले आफूले लगाएको ठूलो कोटको बाहुला खुम्च्याएको थियो र हात हल्लाइरहेको थियो, खुसी हुँदै यो कुरा बताइरहेको थियो ।

“हो, सपेटो एकदम स्वादिलो थियो,” अर्कोले ठूल्ठूलो आवाजमा हाँस्दै जवाफ दियो । त्यसपछि तिनीहरू पनि गायब भए । नेस्भित्स्कीले बन्दुकको कुन्दाले दाँतमा क्सलाई हानियो र मासुको सपेटोको यसमा के सम्बन्ध थियो बुझ्न सकेन, ।

“ओहो, यिनीहरू किन यसरी उत्ताउला भएका होलान्‌ ! उसले त खाली एउटा ब्यङ्ग्य हानेको हो, तर यिनीहरू सबैको ज्यानै जान लागेझेँ ठान्छन्‌,” एक जना सार्जन रिसाउँदै निन्दापूर्वक भन्दै थियो ।

“काकाश्री, जब त्यो गोला मेरो टाउकै माथिबाट उड्दै गयो नि,” मुशिकलले हाँसो रोक्दै ठूलो मुख भएको एक जना सिपाहीले भन्दै थियो, “म त मरेँ भन्ने ठान्याथेँ । भगवान्‌ कसम, म त ज्यादै डराएको थिएँ, मैले सोचे अब बाँच्नु यत्तिसम्म मात्र रहेछ ।” तर यो सिपाहीले यो कुरा यसरी गर्यो मानौँ ऊ म डराइनु,भनेर गुड्डी हाँकिरहेको होस्‌ ।

यो पनि अगाडि बढ्यो । यसपछि एउटा यस्तो घोडागाडी आयो जो यसअगि आएका घोडागाडीभन्दा एकदमै फरक थियो । यो एकजोडा घोडाले तानेको र एक जना जर्मेनिलीले हाँकेको जर्मनेली घोडागाडी थियो । र, यस गाडीमा कुनै एउटा परिवारको सम्पूर्णा घरेलु सामान लादेजस्तो देखिन्थ्यो । यो गाडी पछाडिपट्टि ठूल्ठूला कल्चौँडा भएकी एउटी असाध्यै राम्री गाई बाँधिएकी थिइन्‌ । भुवाको गद्दामा काखमा एउटा दूधे बालक लिएकी एक जना महिला, एउटी बुढी अनि चम्किला र राताराता गाला भएको एउटी खाइहाल्दी जर्मनेली युवती, बसेका थिए । यो स्पष्ट थियो यिनी विस्थापितहरूलाई पुलबाट पारी जान विशेष अनुमति दिइएको थियो । भएभरका सिपाहीहरूको नजर यी महिलाहरूमाथि पर्यो र, जसै यो घोडागाडी खुट्टाको छेउबाट अगाडि बढ्दै थियो सबै सिपाहीहरूको चर्चा-परिचर्चा यिनै दुई जना तरुणीहरूका सम्बन्धमा केन्द्रित भयो। सबैको अनुहारमा यिनीहरूका बारेमा उत्पन्न अश्लील विचारहरूबाट प्रस्फुटित मुस्कान झण्डै उस्तै जस्तो थियो ।

“हेर, हेर, जर्मनेली ससेज (तिरस्कारपूर्वक जर्मनहरूलाई सम्बोधन गर्ने पनि जाँदै छन्‌ ।”

“तिम्री श्रीमती हामीलाई बेचेर जाऊ,” अर्को सिपाहीले मुख छोड्यो । जर्मनेली विचरा रिस र भयले अत्तालिँदै भुईँतिर आँखा झुकाउँदै न्वारानको बल झिकेर गाडि हाँकिरहेको थियो ।

“अहा, कति राम्रो सिँगारपटार गरेकी ! हरे दैव !”

“फेदोतोभ, यिनीहरूसँग जान पाए त तिमीलाई खूब मजा हुन्थ्यो हगि !”

“छोड यार, मैले यिनीहरूभन्दा पनि राम्री कति देखेको छु !”

“तिमीहरू कहाँ जाँदै छौ ? स्याउ खाँदै गरेको एक जना पैदल सेनाको अफिसरले मुस्कुराउँदै त्यो राम्री केटीमाथि आँखा गाडेर गाडीवानलाई सोध्यो।

उसलाई केही थाहा छैन भन्ने अर्थमा उक्त जर्मनेलीले आँखा चिम्म गर्यो ।

“मीठो लाग्छ भने खाउ क्यारे,” राम्री केटीलाई एउटा स्याउ दिँदै अफिसरले भन्यो ।

युवती मुस्कुराई र स्याउ हातमा लिई । नेस्भित्स्कीले पनि उनीहरू ओझेल नपरुन्जेल पुलमा भएका अरू मान्छेहरूले जस्तै एकटक ती महिलाहरूलार्इ हेरिरह्यो । उनीहरू गइसकेपछि पनि उस्तै किसिमका पहिलेका जस्तै गर्दै सिपाहीहरूको उही बाढी चलि नै रह्यो र, अन्त्यमा सबै जना थाकेजस्तै गरेर चुप लागे । जस्तो कि धेरैजसो हुन्छ, कुनै फौजी कम्पनीको सामान बोकेको घोडा पुलको मुखैमा पुगेपछि टक्क रोकिए, जसले गर्दा सम्पूर्ण भीडलाई पनि रोकिन कर लाग्यो ।

“उनीहरू किन रोकिए हँ ? त्यस्तो आदेश भए जस्तो त लाग्दैन !” सिपाहीहरूले भने ।

“तिमीहरू कहाँ पेस्सिन खोजेका नि ? राक्षसहरू । एकछिन पर्खन सत्तैनौ ! उसले पुलमा आगो लगाइदियो भने खतम छ । हेर, त अफिसरहरूले समेत बाटो पाइराखेका छैनन्‌,” रोकिएको भीडका मान्छेहरू टाउको घुमाइघुमाई एक-अर्कालार्इ हेर्दै, चारै दिशातिरबाट भन्दै थिए र साथै अगाडि बढ्न बल गर्दै हरूलार्इ धकेलिरहेका थिए ।

पुलमुन्तिर एन्स नदीको पानीमा हेर्दा नेस्भित्स्कीले अचानक नजिकैबाट कुनै ठूलै चिज पानीमा खसेर छयाप्लाङ्ग गरेको आवाज सुन्यो ।

“हेर त उसले कहाँ फ्याँक्यो ?” आवाज आएतिर फर्कदै नजिकै उभिएको एक जना सिपाहीले कड्किँदै भन्यो ।

“उसले हाम्रो हौसला बढाएको होला ताकि हामीहरू छिटोभन्दा छिटो पुलपारि जान सकौँ,” अर्को सिपाहीले असजिलो मान्दै भन्यो ।

भीड पुन: अगाडि बढ्यो । नेस्भित्स्कीले तोपको गोला खसेको रहेछ भन्ने कुरो बुझ्यो ।

“ए कोजाक, मेरो घोडा यता ल्याऊ” उसले भन्यो “ल:..ल:..ल:: अव तिमीहरू एकातिर हट ! छिटो गर ! बाटो छोड !”

नेस्भित्स्की बडो मुश्किलले घोडा भए ठाउँसम्म पुग्यो । लगातार रूपमा कराउँदै ऊ अगाडि बढ्यो । उसलाई बाटो दिन सैनिकहरू एकआपसमा टाँसिए र फेरि उसलाई दाबे । त्यसो गर्दा उसका खुट्टा अड्किए । तर ऊसँग नजिक भएकाहरूलाई दोष दिन मिल्दैनथ्यो किनभने उनीहरू आफै पनि पछाडिका साथीहरूद्वारा झन्‌ जोडसँग घचेडिएका थिए ।

“नेस्थित्स्की, ए नेस्भित्स्की ! हे लण्ठू !” उसको पछाडिबाट एउटा ठूलो र धोद्रो आवाज आयो ।

नेस्मित्स्कीले फर्केर हेर्यो र पैदल सेनाको गर्तिमान र जीवन्त भीडमा आफूभन्दा प्रन्ध वीस पाइलाको दूरीमा उसले रातो अनुहार, अस्तव्यस्त भाव र कालो कपालवाला मास्का देनिसोभलाई देख्यो, जसको सैनिक टोपी घिँच्रोतिर ढल्केको थियो र, जसले गमक्क पर्दै हस्सार ज्याकेट काँधमा राखेको थियो ।

“यी राक्षसहरू, यी भूतहरूलाई तिमीले भन कि उनीहरूले मलाई बाटो दिउन्‌,” देनिसोभले सायद रिसको झोँकमा रातोरातो धर्सा भएका कोइलाजस्ता काला आँखा पम्काउँदै र यताउति घुमाउँदै अनि -अनुहारजस्तै रातो र नाङ्गो हातमा म्यानमा बन्द तरबार हल्लाउँदै चिच्याएर भन्यो ।

“ओहो, मास्का,” खुसी हुँदै नेस्भित्स्कीले जवाफ दियो । “तिमीलाई के समस्या पर्यो ?”

“मेरो स्क्वाड्रन पुलपारि जान सकिराख्या छैन,” रिसले आफ्ना सेता दाँत देखाउँदै अभिजातवर्गको अरबी घोडालाई एँडी हान्दै मास्का देनिसोभ गर्ज्यो । उसको घोडाले आफ्नोसामु छोड्ने सङ्गीनहरूका कारण कान फर्फप्याउँथ्यो, नाक फुत्कार्थ्यो, लगाम टोक्दै मुखबाट सेतो गाज झार्थ्यो, पुलका फलेकमा टाप बजार्थ्यो र, उसको मालिकले अनुमति दिएको खण्डमा पुलको चौबारबाट उफ्रेर तल झर्नु तयार भएजस्तो गर्थ्यो ।

“यो के गर्या हो ? भेँडाको बथानजस्तै ! ठयाक्कै भेँडाको बथानजस्तै ! बाटो छोड । हामीलाई जान देऊ ! गाडीसहित जहाँको तहीँ उभिराख ! म तिमीलाई मेरो यही तरबारले काट्छु !” साँच्चै नै म्यानबाट तरबार झिकेर नचाउँदै ऊ गर्ज्यो ।

डराएर सातो गएका सिपाहीहरू एकआपसमा डल्लो परे । र, देनिसोभ्न नेस्भित्स्कीसँग पुग्यो ।

“क्या हो, आज धेरै नशा लाग्या छैन ?,” देनिसोभ नजिक आइपुगेपछि नेस्भित्स्कीले सोध्यो ।

“मोराहरूले धीत मारेर पिउने फुर्सत पनि कहाँ दिन्छन्‌ र ?” देनिसोभले उत्तर दियो । पल्टनलाई दिनभरि कहिले यता कहिले उता हल्लाइरहन्छन्‌ । “लड्नै परेपछि जमेर लडौँ न । मर्नै परे खुट्टै तानेर मरौँ न ।” तर यो के तमाशा गरिराखेको हो राक्षसलाई नै थाहा होला ।”

“आज त तिमी खूब झिल्के भा’छौ नि,” उसले लगाएको नयाँ ज्याकेट र नीनपोश हेर्दै नेस्भित्कीले भन्यो ।

देनिसोभ मुस्कुरायो । उसले झोलाबाट अत्तर चोपेको एउटा अति सुगन्धित रुमाल निकाल्यो र नेस्भिस्त्कीको नाकमा लगेर सुँघाइदियो ।

“यस्तो गर्नै पर्ने थियो क्या । आखिर युद्धमैदानमा न जाँदै छु होइन ! मैले दाह्री बनाएँ, दाँत माझेँ र शरीरभरि अत्तर छर्केँ ।”

नेस्भित्स्कीको प्रभावशाली व्यक्तित्व, उसको सेवामा उपस्थित कोजाक अर्दली अनि नाङ्गो तरबार हावामा नचाउँदै गरेको जोडदार गर्जन र उसको दृढताले यस्तो उत्पात मच्चायो कि उनीहरू सलत्त पुलको पल्लो किनार पुगे अनि उनीहरूले पैदल सेनालाई अगाडि बढ्नबाट रोकिदिए । पुलको किनारामा नेस्भित्स्कीसँग त्यही कर्नेल भेट भयो, जसलाई उसले जर्नेलको आदेश दिनु थियो । आफ्नो कर्तव्य पूरा गरेपछि ऊ फिर्ता आयो ।

पुलमा बाटो खुला गराएपछि देनिसोभले पुलको किनारामा आफ्नो घोडा रोक्यो । स्क्वाड्नका अरू घोडाहरूसँग जाने उत्सुकता प्रकट गर्दै खुट्टा बजारिरहेको र हिनहिनाइरहेको आफ्नो घोडाको लगाम लापर्वाहीपूर्वक समातिरहेको देनिसोभले आफूतिर बढ्दै आइरहेको आफ्नो स्क्वाड्रनतिर हेर्न लाग्यो । त्यसपछि पुलका फलेकहरूमा सर्पट दौडिरहेझैँ कैयौँ घोडाका टापको आवाज प्रतिध्वनित हुन थाल्यो, अगाडिअगाडि अफिसरहरू र पछाडिपछाडि चारचार, जना घोडसवारहरूको डफ्फा पुलको वारिपारि विस्तारित भएर पुलको अर्को किनारतर्फ बढ्न लागे ।

पुलमा रोकिएका र किचिमिचि भएको हिलोमा भीड लागेको पैदल सैनिकले शत्रुवत्‌ व्यङ्ग्यात्मक र विभेदकारी भावनाले, जुन भावना सामान्यतः सेनाको विभिन्न दलमा पाइन्छ सफासुग्घर र छरिछाँट परेका हुस्सारहरूलाई सोझो पंक्तिमा उभिएर आफ्नो नजिकबाट हिँडेको हेरिरहेथ्यो ।

खूबै तीक्ष्णमति भएका फुर्तीवान्‌ केटा रहेछन्‌ ! खेल तमाशाको प्रतिस्पर्धामा भाग लिन पठाउने खालका !” एक जनाले प्रतिक्रिया जनायो । “यिनीहरू हेर्नका मात्रै हुन्‌, केही कामका छैनन्‌,” अर्को पैदल सेनाले भन्यो ।

ए, मित्र, धूलोमाटो नउडाऊ !” हुस्सारले ठट्टा गर्यो, जसको घोडाले पछाडिका खुट्टा उचालेर उफ्रिँदा केही पैदल सेना रोपाइँ गरेर फर्केझैँ हिलाम्य भएका थिए ।

“तेरो पीठमा सैनिक सामान लादेर दुई दिनसम्म लगातार: हिँडाउन पाए बल्ल थाहा पाउँथिस्‌ ! तेरा यी राम्रा डोरीहरू यसरी चम्कन पाउने थिएनन्‌” लुगाको बाहलाले मुखमा लागेको हिलो पुछ्दै एउटा पैदल सेनाले भन्यो । “घोडाको पीठमा बसे पनि तँ मान्छे होइन, चरा नै होस ।”

“जीकिन, तँलाई उनीहरूले अहिले घोडामाथि बसाल्नु पर्ने हो । तँलाई खूब सुहाउँछ । सैनिक समानको भारीले थिचेर कुप्रो परेको एउटा दुब्लो पातलो सैनिकलाई गिज्याउँदै एक जना कर्पोरलले भन्यो ।

“दुर्इ खुट्टाका बीचमा चट्ट एउटा लट्ठी राख, घोडा चढेझैँ भइहाल्यो नि,” हुस्सारले जवाफ दियो ।