साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू भाग ५

Chovar Blues Mobile Size


“केही समयसम्म मेरो जिन्दगानी यसैक्रमले चल्दै रहयो । त्यतिञ्जेलसम्ममा मैले नौला नौला ढंगले व्यभिचार गर्न थालिसकेको थिएँ । हे, भगवान्‌ ! यस बर्बर पाशविकताको सम्झना छ, कुनै बेला मेरा साथीभाइहरू मेरो त्यस तथाकथित सूधोपनाको गिल्ला गर्नेगर्थे । ती युवकहरूको त कुरै किन गर्नु र जो धनी थिए र बडो ठाँटिलो जीवन बिताउँथे । ती अफिसरहरू! ती पेरिसका गुण्डाहरू: तीस वर्षको उमेरका मान्छेहरू व्यभिचारमा लग्गू भैसकेका थिए र आइमाईहरूप्रति नाना थरीका सैयौं घोर अपराधहरू उनीहरूबाट भैसकेको थियो । उनीहरूकै बीचमा म पनि थिएँ । हामी तीस वर्ष उमेर पुगेका दुराचारीहरू ठाँटिएर) सिँगारिएर, दाहरी-जुँगा खौरेर, अत्तरको मगमग बास्ना छरेर, फ्रक कोट र वर्दीमा डटेर अतिथिकक्ष र नाचघरहरूमा टमटम कदम चालेर कसरी हिंड्ने गथ्यौं भन्ने पनि मलाई सम्झना छ । त्यतिखेर हामी मनमोहक र आकर्षक देखिन्थ्यौं र पवित्रताको अवतार नै हौं कि भनेजस्ता प्रतीत हुन्थ्यौं !

अलिकति गमेर सोचविचार त गर्नोस्‌ ! स्थिति कस्तो हुनुपर्थ्यो र कस्तो छ ?

कथंकदाचित्‌ यस्तै कुनै सुकूलगुण्डा मेरी बहिनी वा छोरीबेटीलाई भेट्न आयो भने उसको चरित्रको राम्रो जानकारी भैसकेको हुँदा मैले उसलाई एकान्तमा लगेर सुस्तरी यसो भन्नुपर्ने हो : “हेर, भाइ ! तिम्रो जीवन कस्तो छ, तिम्रो रात क-कसको साथमा कहाँ-कहाँ बित्छ भन्ने मलाई पूरापूर थाहा छ । यहाँ तिम्रो लागि कुनै स्थान छैन । भोलाभाला र सच्चरित्रका युवतीहरू मात्र बस्छन्‌ यहाँ त । चूपचाप आफ्नो बाटो तताऊ !” हुनु त यस्तो नै पर्थ्यो । तर वास्तवमा के हुन्छ ? जब कुनै यस्तो मान्छे मेरी बहिनी अथवा छोरीको कम्मरमा हात राखेर नाच्न थाल्छ त हामी मनमनै औधि नै रमाउन थाल्छौं । यदि त्यो मान्छे धनीमानी छ र ठूलाबडा मानिसहरूको साथमा उसको बसउठ पनि छ भने त सोधिरहनुपर्ने कुरै केही भएन । रात त उसले रिगोलबोशमा नै बिताएको थियो, तर अहिले चाहिं मेरो छोरीबेटीसँग हाँसखेल गर्दैछ भने मैले यसलाई आफ्नो अहोभाग्य नै ठान्नुपर्छ ! जताततै त्यसको छि: छि: र दुर्‌ दुर्‌ हुन्छ र त्यो रोगी समेत छ भने पनि केही आपत्ति छैन ! अचेल यस्ता रोगहरूको राम्रो उपचार भैहाल्नेगरेकै छ त ! अरुको त के कुरा गर्नु र स्वयं म समेत यस्ता कैयौ युवतीहरूलाई चिन्दछु जसलाई उनका आमाबाबुहरूले भिरिङ्गीका रोगीहरूसँग खुशीसाथ बिहे गरेर पठाइदिएका थिए । कस्तो नीचता ! कति घिनलाग्दो कुरा ! मलाई विश्वास छ, कुनै समय यस्तो पनि आउने नै छ जब यी सबै नीचता र छलकपटहरूको भण्डाफोड भइछाड्नेछ !”

त्यो अनौठो आवाज उसको मुखबाट कैयौंपल्ट निस्केको थियो । त्यसपछि ऊ चिया खान लाग्यो । चिया ज्यादै कडा थियो र पानी हालेर त्यो फिका पारिएको थिएन । मैले त्यस्तै चिया टन्न दुई गिलास पिएँ । त्यसको असर पनि ममाथि पर्न लागिहाल्यो । उसमाथि पनि असर नपर्ने त कुरै थिएन, किनभने ऊ पनि झन्झन्‌ उत्तेजित हुँदैगइरहेको थियो । उसको स्वर पनि बढी भावपूर्ण हुन पुगेको थियो र लेग्रोतनाइ पनि सुरिलो हुँदैथियो । बेला बेलामा ऊ आफ्नो ठाउँ फेर्नेगर्थ्यो । कहिले टोपी फुकाल्थ्यो त कहिले चाहिँ फेरि टाउकोमा लगाउँथ्यो । त्यस मधुरो उज्यालोमा उसको अनुहारमा पनि नयाँ नयाँ र अनौठा भावहरू देखिन्थे र बिलाएर जानेगर्थे ।

“तीस वर्षको उमेरसम्म नै मेरो जीवन यसै ढर्रामा चलिरहयो ।” – उसले आफ्नो कथा फेरि शुरु गर्यो । – “तर बिहे गर्ने र बिहे गरिसकेपछि चाहिं सत्यनिष्ठ र पवित्र जीवन व्यतीत गर्ने मनसाय चाहिं मैले एक क्षण पनि त्यागेको थिइनँ । यसै इच्छा पूर्तिको लागि म कुनै राम्रो शीलस्वभावकी कन्याकेटीको खोजी समेत गर्न लागें ।” – उसले अगाडि थप्यो । – “एकातिर त म आफै नै व्यभिचारको धापमा फसिरहेको थिएँ, अनि अर्कोतिर चाहिं म नै त्यतिखेर एउटी यस्ती युवतीको खोजतलाश पनि गर्दैथिएँ जो आफ्नो पवित्रताको कारणले गर्दा मेरी पत्नी बन्न सुयोग्य हुन सक्थी । कति जनालाई त मैले के भनेर अस्वीकार गरिदिएको थिएँ भने ती युवतीहरूमा त्यस पवित्रताको गन्ध समेत छैन जुन म चाहन्थें । अन्त्यमा एउटी कन्याकेटी मेरो नजरमा परी । उसलाई मैले आफ्नो निम्ति योग्य ठाने । त्यो पेन्जानिवासी एक बिर्तावालकी छोरी थिई । त्यस बिर्तावालका दुई जना छोरीहरू थिए । त्यो कुनै जमानामा खूबै धनाड्य पनि थियो । तर अब भने उसको टाट उल्टिसकेको थियो ।

sagarmani mobile size

एकपल्ट साँझपख नौकाविहारबाट हामी घरतिर गइरहेका थियौं । टहटह जून चम्किरहेको जुनेली रात थियो । म उसको बगलमा नै बसिरहेको थिएँ र उसको सुडौल शरीरको सन्धी हेर्दैथिएँ |; जसले एउटा उनी जर्सि लगाइराखेकी थिई । उसको घुम्रिएको केश ज्यादै मनमोहक थियो । अचानक मेरो मनमा के विचार उब्जियो भने यो सुन्दरी त्यही नै हो खोजमा म लागिपरेको छु । त्यस साँझ मलाई के लागिरहेको थियो भने उसले मेरा सबै भावना र विचारहरू पनि एक-एक बुझेकी छे र तिनको महत्ता समेत ठम्याइसकेकी छे । वास्तविकता चाहिँ के थियो भने उसले लगाइराखेको जर्सी र उसको केशका जर्कनहरू उसको जिउडाललाई सुहाउँदो खालका थिए । उसको सान्निध्यमा निकै समय बिताइएपछि उसको अझ निकट हुने मेरो चाहना बढिरहेको थियो ।

सौन्दर्य मङ्गलमयी हुन्छ भन्ने हाम्रो भ्रमले कति अनौठो किसिमबाट हाम्रो मनमा प्रभाव पार्न सक्दो रहेछ ! एउटी सुन्दरी नारीले जस्तोसुकै बकमफुस कुरा गरे पनि तपाईं त्यसलाई सुनेर मख्ख पर्नुहुन्छ र उसले फोस्रो कुरा गरिरहेकी छैन, बरु बुद्धिमत्तापूर्ण कुरा गरिरहेकी छरे भन्ठान्नुहुन्छ ! उसले नचाहिँदो कुरा गरेकी होस्‌, वा मूर्खतापूर्ण काम नै किन नगरेको होस्‌, तपाईं त उसले ज्यादै राम्रो काम गरिरहेकी जस्तो पो त देख्नुहुन्छ । संयोगवश न भद्दा, न त छिचरो नै कुनै प्रकारको कुरा नगरेर ऊ चूपचाप बसिरहेकी छे भने त तपाईं तुरुन्त नै के विश्वास गरिहाल्नुहुन्छ भने त्यो सर्वगुणसम्पन्न छे र बुद्धिमत्ताकी त मानौं मूर्ति ने बन्न पुगेकी छे ।

म आल्हादित हुँदै घर पुगें । त्यो युवती सदाचारकी त प्रतिमूर्ति नै हो भन्ने मलाई पक्का विश्वास भैसकेको थियो । यसै कारण भैले उसलाई आफ्नो अर्धाङ्गिनी हुन योग्य भएकी ठानें । भोलिपल्ट मैले उसको सामुन्ने विवाहको प्रस्ताव पनि राखिहालें ।

परन्तु यो सब कति छलकपटपूर्ण छ ! बिहे गर्ने एक हजार पुरुषहरूमध्ये सके एक जना पनि यस्तो भेट्टाउन मुश्किल पर्नेछ जसले डोन-जुआँ झैँ यसभन्दा पहिले नै कम्तीमा पनि दसपल्ट, अझ साँच्चै भन्ने हो भने सय वा हजारपल्ट नै बिहे गरिसकेको नहोस्‌ ! दुर्भाग्यवश यस्तो कुरा हाम्रो वर्गको लागि मात्र लागू हुँदैन, तल्लो वर्गको समेत यही नै हालत छ । (हो, मैले आफैले के देखेको र सुनेको छु भने अचेल यस्ता तन्नेरीहरू पनि यदाकदा भेट्टाइहालिन्छन्‌ जो साँचो अर्थमा ईमान्दार हुन्छन्‌, जो यसलाई विषयभोग होइन, बरु एक महान्‌ र पवित्र कुरा मान्छन्‌ र यसलाई तुच्छ ठान्दैनन्‌ । भगवानले उनीहरूको भलो गरुन्‌ ! परन्तु मेरो जमानामा त दस हजार मान्छेहरूमा एक जना पनि यस्तो मान्छे पाउन सक्दैनथ्यो ।) यो कुरा सबैलाई थाहा छ, तर थाहै नभएको जस्तो बहाना गरिटोपल्छन्‌ । सबै उपन्यासहरूमा नायकका भावनाहरूको बडो सूक्ष्म ढंगले वर्णन गरिएको हुन्छ । कहाँसम्म भने जुन पोखरीको किनारामा ऊ घुम्न निस्कन्छ त्यहाँकै एक-एक बोटविश्वाको समेत बयान गरिन्छ । अनि त्यस महान्‌ प्रेमको पनि वखान गरिन्छ जुन कुनै युवतीप्रति त्यस नायकले अनुभव गर्छ । तर त्यस सुन्दर नायकले पहिले कुन किसिमबाट समय बिताउनेगरेको थियो भन्ने विषयमा चाहिं चर्चासम्म पनि गरिएको हुँदैन । न त ती कोठीहरूको नै वर्णन गरिन्छ जहाँ त्यो नायक पुग्नेगर्थ्यो, न त नौकर्नी, भान्सेनी वा अरु कुनै आइमाईहरूको नै उल्लेख गरिन्छ । कथंकदाचित्‌ यस प्रकारका अश्लील उपन्यासहरू लेखिइ नै हालेछ भने पनि ती मानिसहरूको हातमा त्यस्ता उपन्यासहरू पर्नै दिइँदैन जसलाई यो सब कुरा थाहा पाउनु सबभन्दा बढी आवश्यक हुन्छ । तिनको सबभन्दा बढी खाँचो हुन्छ- युवतीहरूलाई । शुरुमा ती युवतीहरूलाई कस्तो भ्रममा पारिन्छ भने व्यभिचार भन्ने कुनै कुरा छँदैछैन, यद्यपि हाम्रा शहरहरूको समाजीक जीवनमा र अझ गाउँघरतिरको जीवनमा समेत त्यसको बिगबिगी हुन्छ । पछि त उनीहरूलाई यस्तो स्वाङ्ग पार्ने त बानी नै परिहाल्छ र अन्त्यमा उनीहरू स्वयं नै अंग्रेजहरूले जस्तै कुन कुरामा पक्का विश्वास गर्न थाल्छन्‌ भने उनीहरू त उच्च नैतिकताले सम्पन्न मान्छे हुन्‌ र उच्च नैतिकताले परिपूर्ण संसारमा नै उनीहरू जरछन्‌ पनि । बिचरा सूधा-साधा युवतीहरू यसलाई वास्तवमा नै सत्य मान्दछन्‌ । मेरी अभागिनी पत्नी पनि यस्तै एक युवती थिई । मलाई सम्झना छ, उसको भावी दुलहा बनिसकेपछि मैले उसलाई आफ्नो डायरी पढ्न दिएँ । त्यस डायरीबाट उसलाई मेरो विगत जीवनको केही न केही बोध अवश्य हुन सक्थ्यो । कम्तीमा पनि उसले मेरो अन्तिम प्रेमबारे थाहा पाइहालोस्‌ भन्ने मेरो इच्छा थियो । यसबारे अरुहरूको मुखबाट पनि त उसले थाहा पाइहाल्ने सम्भावना थियो । यसैउसले मैले आफैले यो सब बताइदिनु नै आवश्यक र उचित ठानेको थिएँ । डायरी पढिसकेपछि मेरो प्रेमलीलाको बारेमा थाहा पाउँदा उसको मनमा ठूलो चोट पर्यो । मलाई सम्झना छ, ऊ एकदमै निराश र हतोत्साही भएकी थिई । त्यतिखेर नै उसले मसँग सम्बन्धविच्छेद गरिदिन चाहेकी छे भन्ने समेत मलाई भान पर्यो । हरे ! उसले किन यस्तो नगरेकी होली !”

फेरि उसको मुखबाट त्यही अनौठो आवाज आयो । ऊ चूप लागिहाल्यो र उसले चियाको एक चुस्को लियो ।

 

प्रतिक्रिया
Loading...