परिच्छेद- ६

ब्राउनाउको इन नदी र लिन्जको त्राउन नदीका पुलहरू नष्ट गरेपछि कुतुजोभ भियना फर्के । अक्टुबर २३ का दिन रसियाली सेना एन्स नदी तरिरहेको थियो । मध्य दिउँसोको समयमा रसियाली मालबाहक घोडागाडी, तोपगाडी र सैनिकहरू पुलको दुवै किनारबाट एन्स नगर वारपार गरिरहेका थिए ।

सिमसिमे पानी परिरहेको र न्यानोन्यानो शरद ऋतुको दिन थियो । पुलको सुरक्षार्थ खटिएका रसियाली तोपसेना, जुन उचाइमा तैनाथ थियो र त्यसको सामुको जुन विस्तृत दृश्य देखिन्थ्यो, त्यो कहिले तेर्सो वर्षाधारको पारदर्शी पर्दाले छोपिन्थ्यो र, कहिले अचानक फैलिएर जान्थ्यो अनि घामको उज्यालोमा टाढाटाढाका सबै कुरा यस्तो स्पष्टसँग देखिन लाग्थ्यो मानौँ तिनीहरूमा भर्खरभर्खर जलप लगाइएको होस्‌ । तल हेर्दा राता छानाभएका सेता घरहरू, ठूर्ला गिर्जाघर र एउटा पुल देखिन्थ्यो जसको दुवै किनारबाट रसियाली फौजको बाढी ठेलमठेल गर्दै चलिरहेको थियो । डेन्युब नदीको मोडमा जंहाजहरू, एउटा द्वीप बगैँचा समेत भएको एउटा किल्ला देखिन्थ्यो, जसको नजिक डेन्युब र उसमा आएर समाहित हुने एन्स नदीका हाँगाबिँगाहरू बगिरहेका थिए । र, रहस्यमय पृष्ठभूमिसहितका हरिया बृक्षशिखा, नीला खाँचहरू र सल्लाका वनले ढाकिएको डेन्युब नदीको चट्टानी बायाँ किनार पनि छर्लङ्ग देखिन्थे । सल्लाका अक्षत र निर्जन वनको पछाडि मठका बुर्जाहरू र अलि टाढा, एन्स नदीको अर्को किनारमा दुस्मनका घोडसवार सैनिकहरू. सल्बलाइरहेका देखिन्थे ।

पहाडको टुप्पोमा तैनाथ तोपहरूका माझ पृष्ठरक्षक सेनाको कमान्डिङ्ग जर्नेल आफ्नो दूरबीनबाट वरिपरिको सम्पूर्ण क्षेत्र ध्यानपूर्वक निरीक्षण गर्दै एक जना स्टाफ अफिसरसँग उभिएको थियो । उनीहरूभन्दा केही पछाडि प्रधान सेनापतिले पृष्ठरक्षकहरूको दलमा पठाएको अफिसर नेस्भित्स्की एउटा तोपगाडीको तल्लो छेउमा बसिरहेको थियो । उसँगै आएको एक जना कोजाकले उसलाई छालाको एउटा सैनिक झोला र बोतल दिएको थियो र नेस्भित्स्कीले अफिसरहरूलाई चटामरी ख्वाउँदै र डोपेलक्युमेल रक्सी पिलाउँदै थियो । अफिसरहरू पनि खुसी हुँदै उसलाई वरिपरि घेरेर बसे । कोही घुँडा टेकेर बसेका थिए भने कोही तुर्केली शैलीमा पलेटी मारेर बसेका थिए । ”

“साँच्चै हो, यो किल्ला निर्माण गर्ने अष्ट्रियाली राजकुमार मूर्ख थिएन । कति राम्रो ठाउँ ! किन केही पनि नखाएको तपाईंले ?” नेस्भित्स्की भन्दै थियो ।

“धेरै धेरै धन्यवाद, राजकुमार,” एक जना अफिसरले जवाफ दियो । प्रमुख सैनिक कार्यालयको यति महत्त्वपूर्ण अफिसरसँग कुरा गर्न पाएकोमा ऊ दङ्ग थियो । “साह्रै राम्रो ठाउँ रहेछ । हामीहरू बगैँचातिर घुम्यौँ । त्यहाँ दुइटा हरिन पनि देख्यौँ र त्यो अति सुन्दर महल पनि देख्यौँ ।”

“हेर, राजकुमार,” अर्को अफिसरले भन्यो । उसलाई अर्को एउटा चटामरी खान खूब मन लागेको थियो तर मुखले बोल्न लाज लागेर ऊ यताउतिका दृश्यहरू हेर्ने स्वाइ गरिरहेथ्यो । “हेर त, हाम्रो फौज त्यहाँ पुगिसकेछ । उ… त्यो गाउँपछाडिको चउरमा तीन जनाले कुन्नि के हो, घिसार्दै लगिरहेछन्‌ । उनीहरूले किल्ला नलुटी छोड्दैनन्‌” उसले विश्वस्त हुँदै भन्यो ।

“हो लुट्छन्‌,” नेस्भित्स्कीले भन्यो । “थाहा छ, मलाई के गर्न मन लाग्या छ,” चिल्ला ओंठ भएको मुखमा चंटामरी चपाउँदै उसले थप्यो । “मलाई अहिल्यै त्यहाँ जान मन लाग्या छ ।”

उसले मुस्कुराउँदै भक्तिनीहरूको बुर्जावाला निवासतिर सङ्केत गर्यो । उसका आँखा साँगुरिए र चम्किला भए ।

“क्या मजा हुन्थ्यो हगि, भलादमी हो ।”

“अफिसरहरू मस्तसँग हाँसे ।”

“जोगिनीहरूलाई अलिअलि तर्साउन हुँदैन ? तर्साउँ हैँ । त्यहाँ इटालियाली केटीहरू पनि जोगिनी भएर बसेका छन्‌ रे भनेको सुनिन्छ । गाई खाने पाँच-दस वर्ष उमेर नै घट्छ भने पनि मान्थेँ म त ।”

“उनीहरूलाई पनि रमाइलो गर्न त मन लागेकै होला नि ।” एक जना अलि साहसी खालको अफिसरले हाँस्दै भन्यो ।

त्यही बेला अगाडि उभिइरहेको स्टाफ अफिसरले जर्नेललाई केही कुरा देखायो, जसले दूरबीन लगाएर हेर्न थाल्यो।

“हो, यस्तै हो, यस्तै हो, गर्ने नै यस्तै हो,” उसले रिसाउँदै दूरबीन तलतिर झार्यो र काँध जुर्क्याउँदै भन्यो, “यस्तै हो । चौबाटोमा पुग्दा उनीहरूमाथि गोलाबारी वर्षिन पनि सक्छ । हाम्रा मान्छे किन ढिलासुस्ती गरिरहेछन्‌ ?”

दुस्मन र उनीहरूका तोपखाना दूरबीनविना पनि नदीको अर्को किनारातिर खुला आँखाले देख्न सकिन्थ्यो । तोपखानाबाट सेतो दुधिलो धूवाँ निस्किरहेको थियो । अलि परतिर गोलाबारी भएको आवाज आयो र हाम्रो फौज पनि चौबाटोतिर हुर्हुराउँदै दौडेको देखिन्थ्यो ।

नेस्भित्स्की स्वाँस्वाँ गर्दै उठ्यो र मुस्कुराउँदै जर्नेल भए ठाउँमा गयो ।

“हजूर, केही हल्का नास्ता गर्नु हुन्छ कि ?” उसले सोध्यो ।

“यो राम्रो काम भएन क्या,” जर्नेलले नेस्भित्स्कीको प्रश्नको उत्तर नै नदिएर भन्यो, “हाम्रा मान्छेले धेरै ढिलो गरिरहेछन्‌ भन्या ।”

“म घोडा दौडाउँदै त्यहाँ पुगौँ त हजूर ?” नेस्भित्स्कीले सोध्यो ।

“साह्रै राम्रो कुरा गर्यौ,” जाऊ जर्नेलले जवाफ दियो । र पहिले नै विस्तारपूर्वक दिइसकेको आदेश दोहोर्योयो । “र हुस्सारहरूलाई भन उनीहरूले सबभन्दा पछि पुल तरुन्‌ र मैले दिएको आदेशबमोजिम पुलमा आगो लगाइदिउन्‌ । तर आगो सल्काउने सबै सामानहरू राम्रोसँग दोहोर्याएर जाँच गरुन्‌ नि ।”

“ठीक-छ हजूर,” नेस्भित्स्कीले जवाफ दियो ।

उसले कोजाकलाई घोडा लिएर आउनू भनेर बोलायो । आङमा भिर्ने कुम्लो र जल्दान पनि राख्ने आदेश दियो र फुर्तीसाथ आफ्नो भीमकाय शरीर गतिमान गराउँदै घोडा चढ्यो ।

“म ती तरुणी जोगिनीहरूलाई पनि अवश्य भेटेर आउँछु,” उसले मुस्कुराउँदै आफूलाई हेरिरहेका अफिसरहरूलाई भन्यो र हावाको वेगमा पहाडबाट ओरालो लाग्यो ।

“कप्तान, तोपले कति टाढासम्म मार हान्न सक्ने रहेछ, हेरौँ है,” तोपखानाका अफिसरहरूलाई सम्बोधन गर्दै जर्नेलले भन्यो । अलिअलि रमाइलो गरौँ न, समय पनि कट्छ ।”

“तोपकर्मीहरू हो, तयार होऊ,” कप्तानले आदेश दिएको सुनियो ।

“छिनभरमा तोपकर्मीहरू खुसी हुँदै आगोको धुनी छोडेर दगुर्दै आए र तोपमा गोला भर्न लागे ।

“पहिले एउटा तोप पडकाऊ” आदेश आयो ।

पहिलो तोप जोडसँग पछाडि हट्यो । अनि कानका जाली नै फुटलान्‌ जस्तो गरेर पड्क्यो ऐ एउटा गोला पहाडतल जम्मा भएका हाम्रा फौजका टाउका माथिबाट उड्दै गयो तर दुस्मन भए ठाउँबाट निक्कै वर खसेको ठाउँ धूवाँले देखाउँदै भुइँमाथि विष्फोट भयो ।

यस विस्फोटनको आवाजसँगै हाम्रा मान्छे र अफिसरहरूको अनुहार उज्यालो भएर आयो । सबका सब जराकजुरुक्क उठे र पहाडतल बसेका हाम्रा सेना र नजिकनजिक आउँदै गरेका शत्रुका सेनाको गतिविधि हेर्न लागे, जुन दृश्य छर्लङ्ग रूपमा देख्न सकिन्थ्यो । ठीक त्यहीबेला सूर्य पनि बादलबाट पूर्ण रूपमा बाहिर निस्केर तोपको एक मात्र गोलाको आवाज र तेजिलो सूर्यको प्रकाश एउटा प्रफुल्लित तथा उल्लासित प्रभावका रूपमा आपसमा समाहित भए ।