मालिकहरूको स्वागत गर्न भनेर नोकरचाकहरहरूको हुल बाहिर निस्केन । जम्माजम्मीमा वर्ष बाह्र जतिकी एउटी केटी र उसको पछि लाग्दै एक युवा ठिटो घरबाट बाहिर निस्किए । त्यस ठिटोको अनुहार प्योत्रसित काटीकुटी ठ्याम्मै मिल्दथ्यो । उसले कैलो रङ्गको ज्याकेट लगाइराखेको थियो जसमा ठूल्ठूला सेता टाँक थिए | त्यो थियो- पाभेल पेत्रोमिच किर्सानोभको नोकर । उसले चूपचाप घोडागाडीको ढोका खोल्यो र त्रोइका-बग्गीको पर्दा तानिदियो । निकोलाइ पेत्रोभिच आफ्नो छोरो र बजारोभको साथमा एउटा अँध्यारो र झण्डै रित्तो हलबाट अगाडि लम्किए जसको दैलोपछिल्तिर एउटी तरुनीको मुहार झुलुक्क देखापर्यो । त्यसपछि सबै बैठक कोठामा पुगे जुन मेच-कुर्सीहरूद्वारा नयाँ ढङ्गले सजाइएको थियो ।

“लौ, हामी घर आइपुग्यौ !” -टाउकोबाट टोपी झिकेर कपाल झट्कार्दै निकोलाइ पेत्रोभिचले भने । -“अब सबभन्दा गाँठी कुरो हो -खाना खाएर आराम गर्नु ।

“पेट-पूजा गर्नु वास्तवमा नै नराम्रो हुनेछैन ।” -बजारोभले आङ तन्काउँदै भन्यो र सोफामा गएर थचक्क बस्यो ।

“हो, हो ! खाना ल्यायो, छिटै खाना ल्याओ !” -निकोलाइ पेत्रोभिचले अकारण नै भुइँमा खुट्टा थचार्दै आदेश दिए । -“लौ, प्रोकोफियच पनि आइपुगे ।”

कपाल सेतै फुलिसकेको, दुब्लोपातलो र गहुँगोरो वर्ष साठी जतिको एक व्यक्तिले कोठामा प्रवेश गर्यो । उसले पित्तलका टाँक हालिएको फ्रककोट लगाइराखेको थियो भने घाँटीमा गुलाफी रूमाल बाँधिराखेको थियो । उसले निधार चाउरी पार्यो, आर्कादीको नगिचै गएर उसको हात चुम्यो, निहुरेर पाहुनाको अभिवादन गर्यो र पछिल्तिर हात पोको पारेर दैलोनेर गई उभियो ।

“देख्यौ त, प्रोकोफ्रियच !” -निकोलाइ पेत्रोमिचले भन्न शुरू गरे । -“आखिर हामीकहाँ आइहाल्यो -कसो ? कस्तो लाग्यो नि यो ?”

“बिछट्टै राम्रो, हजूर !” -बूढोले जवाफ दियो र फेरि आफ्नो निधार खुम्च्यायो तर तुरून्तै आफ्ना घना आँखाभौँ ठाडो पार्दै प्रभावपूर्ण स्वरमा भन्न लाग्यो ।
“टेबुलमा खाना सजाउने आज्ञा हुन्छ कि ?”

“हो, हो । अवश्य ! तर पहिले आफ्नो कोठामा एकपल्ट जानुहुन्छ कि, येभ्गेनी भासील्येभिच ?”

“पर्दैन ! धन्यवाद ! यसको कुनै आवश्यकता छैन | बरू मेरो सूटकेस र यो लुगाफाटो पनि म बस्ने कोठामा लैजान अह्राइबक्सियोस्‌ !” – उसले आफूले लगाइराखेको सफारी लाम्कोट फुकाल्दै भन्यो ।

“ठीक छ ! प्रोकोफियच, उनकी कोट लैजाउ ल !” (प्रोकोफियचले अकमक्क पर्दै बजारोभको “लुगाफाटो” दुवै हातले समात्यो र त्यसलाई टाउकोमाथि उचाल्दै चाल मारेर बाहिर निस्कियो |) -“अँ, आर्कादी ! तँ एकछिन आफ्नो कोठामा जान्छस्‌ कि ?”

“हो, हातमुख धुनै पर्ला !” -दैलोतिर लम्कँदै आर्कादीले उत्तर फर्कायो तर ठीक त्यतिखेर नै कालो बेलायती सूट, फेशनदार छोटो टाई र पालिशदार गजबको जुत्ता लगाइराख्ने मझौला कदको एक ठाँटिला व्यक्ति बैठककोठामा दाखिल भए । ती थिए- पाभेल पेत्रोभिच किर्सानोभ । सर्सर्ती हेर्दा उनी वर्ष पैतालीस जतिका लाग्थे । छोट्याएर तलासिएका उनका फुलेका केशमा अलिअलि कालो चमक देखिन्थ्यो । उनको मुहार केही झडङ्गी देखिए तापनि चाउरीका रेखाहरूको नामनिशाना थिएन । उनको मुखमण्डल असामान्य तवरले चुस्तदुरूस्त र हिसी परेको थियो, मानौं छिनोले सूक्ष्म र हलुका रूपमा त्यसलाई कपिएको होस्‌ । त्यस अनुहारमा अद्भुत सौन्दर्यको चिन्ह अझै पनि मौजूद थियो । चम्किला, काला र लाम्चिला आँखा नै विशेष आकर्षक थिए । आर्कादीका ठूल्बाको सम्पूर्ण जिउडालमा कुलीनता एवं झर्रोपनको झलक पाइन्थ्यो र किशोरसुलभ सुडौलता तथा पृथ्वीबाट निकै माथि उठ्ने आकांक्षाको भाव पनि अझै यथावत्‌ नै थियो जुन बीस वर्षको उमेरपछि सामान्यतया बिलाएर जान्छ ।

पाभेल पेत्रोमिच पतलूनको खल्तीबाट हात बाहिर झिकेर आफ्नो भतिजातर्फ लम्किए | लामा गुलाफी नङहरूले सज्जित उनको हात ज्यादै सुन्दर थियो । हिउँजस्तै निक्खर सेतो कमेजको बाहुलामा एउटा सेतै पत्थरको ठूलो टाँक लगाइएको कफले गर्दा त्यो हातको सौन्दर्य अझ बढ्न गएको थियो । यूरोपेली पाराले शुरूमा “Shake hands” गरिसकेपछि उनले रूसी पाराले तीनपल्ट चुम्बन गरे अर्थात्‌ अत्तरको बास्ना आउने आफ्नो जुँगाले तीनपल्ट आर्कादीको गालामा स्पर्श गरेर भने

“स्वागतम्‌ !”

निकोलाइ पेत्रोभिचले बाजारोभसित उनको परिचय गराए । पाभेल पेत्रोभिचले आफ्नो लचिलो जीउ अलिकति झुकाए र ओठमा मृदु मुस्कान भरेर उसको अभिवादन गरे तर आफ्नो हात भने अघिल्तिर पसारेनन्‌, बरू उल्टै पतलूनको खल्तीमा पो घुसारे ।

“आज तिमीहरू आइपुग्दैनौं पो भन्ठानेको मैले त !” -अनुग्रहपूर्वक आफ्नो जीउ हल्लाउँदै, कुम झटकार्दै र आफ्ना सुन्दर र सेता दाँतको चमक प्रदर्शन गर्दै उनले सुमधुर स्वरमा भने- “के बाटोमा कुनै गडबडी त भएन ?”

“अहँ, कुनै गडबडी भएन ।” -आर्कादीले उत्तर दियो । -“त्यसै अलि ढिलो भइहाल्यो । जे होस्‌, अहिले हामी भोकाएका ब्वाँसासमान छौं । बुबाज्यू, प्रोकोफ्यिचलाई चाँडो गर्न अह्वाइबक्सियोस्‌ ! म छिटै आइहाल्छु ।”

“पर्ख ! म पनि तिमीसँग आउँछु !” -सोफाबाट जुरूक्क उठेर बाजारोभले एकाएक भन्यो ।

दुवै युवकहरू निस्किए ।

“को हो यो ?” -पाभेल पेत्रोमिचले सोधनी गरे ।

“आर्कादीको साथी । उसको भनाइअनुसार यो ज्यादै बुद्धिमान्‌ छ रे ।”

“के उ हामीकहाँ पाहुना बन्नेछ ?”

“हो ।”

“यो झूयापुल्ले ?”

“हो त नि !”

पाभेल पेत्रोभिचले आफ्नो नङले टेबुलमा ट्वाकट्वाक गरे ।

“मेरो विचारमा त आर्कादी “s’est degourdi.” निर्धक्क बनेछ) -उनले भने- “ऊ घर फर्ककोमा म खुशी छु ।”

भोजनका बखत कुराकानी कमै भयो । खास गरी बाजारोभ प्रायः मौन नै रह्यो तर खान भने प्रशस्त खायो । निकोलाइ पत्रोमिचले, उनकै शब्दअनुसार, कृषिफार्मको आफ्नो जीवनमा घटेका विभिन्न घटनाहरूको बेलीबिस्तार लगाए, छिटै लागू गरिने सरकारी योजनाहरूबारे, समितिहरूबारे, प्रतिनिधिहरूबारे चर्चा गरे, यन्त्रहरूको उपयोगको आवश्यकताबारे जोड दिए । पाभेल पेत्रोभिच भोजनकक्षमा विस्तारै ओहोरदोहोर गर्दै थिए (उनी साँझको खाना कहिल्यै खाँदैनथे) । यदाकदा उनी लाल मदिराले भरिएको गिलास उठाएर एक-दुई चस्को लगाउँथे । उनको मुखबाट कुनै टिप्पणी अथवा, वास्तवमा भन्ने हो भने, “अँ ! अहो ! हुँ !” जस्ता उद्गारहरू कमै निस्कन्थे । आर्कादीले पेतेरबुर्गका केही समाचारहरू सुनायो तर र यस्तो एक अप्ठ्यारोपना अनुभव गर्दै थियो जुन सामान्यतया नवयुवकले त्यस बेला अनुभव नगर्न सक्तैन जतिखेर उसले बाल्यकालको संघार भने नाघिसकेको हुन्छ परन्तु त्यसै स्थानमा फर्कर आएको हुन्छ जहाँ उसलाई सदैव नै बालककै रूपमा हेरिन्छ र ठानिन्छ | ऊ अनावश्यक रूपमा आफ्नो भनाइ लम्ब्याउने चेष्टा गर्दै थियो र ‘बुबाज्यू’ शब्दद्वारा सम्बोधन नगर्ने जमर्को गर्दै थियो र एकाधपल्ट यस शब्दको सट्टा उसले “पिताजी” शब्दको प्रयोग पनि गरेको थियो | हुन त उसले यसको स्पष्ट उच्चारण गरेन, खालि गुनगुनाएर मात्र काम चलाएको थियो । अलिक उत्ताउलोपनाको प्रदर्शन गर्दै उसले आफ्नो गिलासमा अलि बढ्तै मदिरा खन्यायो र त्यो सब घुट्क्यायो पनि प्राकोफ्यचले उसकै चालामालाप्राति ओँख। नै झिमिक्क नगरेर निगरानी राखेको थियो र खालि ओठ चलाएर गुनगुनाइरहेको थियो । खाना खाईवरी सबका सब तुरून्तै छुट्टिए !

“तिम्रा ठूल्बा केही अनौठा लाग्दछन्‌ ।” -बाजारोभले आर्कादीलाई भन्यो | ऊ उपर्ना लगाएर अर्कादीको पलङकै छेउमा बसेको थियो र छोटो सुल्पाबाट कश तान्दै थियो । “गाउँघरमा पनि त्यस्तो ठाँटबाँट ! के प्रयोजन त्यसको ? उनका नङको त के बयान ! प्रदर्शनीमा राख्न लायक पो छन्‌ ए !”

“उनको बारेमा तिमीलाई केही थाहा नै छैन ।” -आर्कादीले भन्यो । “आफ्नो समयमा उनी सिंहझैँ पो थिए त ! कुनै दिन उनको कहानी सुनाउँला ! उनी खूब मनमोहक थिए र आइमाईहरू त उनको रूपलावण्य देखेर त्यसै मौहित हुन्थे ।”

“ए ! कुरो यस्तो पो ! याने पुरानै अनीबानी । तर, अपसोच ! यहाँ कसलाई मोहनी लगाउन सकिन्छ र ! मैले सब निरीक्षण गरें: उनको अचम्मलाग्दा ठर्रो कलर र एकदमै चिल्लो च्यूँडो ! यो सब हास्यास्पद छ है, आर्कादी निकोलायेभिच !”

“हुन त हो ! तर, सत्ते ! उनी ज्यादै असल छन्‌ !”

“पुरातनको छाप । तिम्रा पिताजी पनि निकै असल रहेछन्‌ । उनको कवितापाठ त व्यर्थको छँदैछ, अनि कारोबारमा समेत उनी पोख्त छन्‌ जस्तो लाग्दैन । जे होस्‌, उनी दयालु छन्‌ !”

“मेरा पिताजीलाई नम्बरी सुन नै ठाने हुन्छ !”

“उनी अलि व्याकुल देखिन्थे । तिमीले चाल पायौ कि पाएनौ, कुन्नि ?”

आर्कादीले मुन्टो हल्लाएर स्वीकृति जनायो, मानौं स्वयं उसले चाहिँ कुनै व्याकुलताको अनुभव गरेको नहोस्‌ ।

“अनौंठै छ !” -बाजारोभ भन्दै थियो । -“यी रोमान्टिक बूढाहरू ! आफ्नो स्नायुप्रणालीलाई खूब तन्क्याएर उद्धेलित गर्दछन्‌ _ अनि स्वभावतः: सन्तुलन भङ्ग हुन्छ । छोडौं यी कुरा ! सुतौं अब ! मेरो कोठामा बेलायती छाँटको हात धुने टब भने छ तर दैलोमा चुकुलचाहिं छैन । जे होस्‌, यसलाई प्रोत्साहित गर्नुपर्छ – मतलब, बेलायती टबहरूको प्रयोगलाई ! यो प्रगतिको चिहन हो ।”

बाजारोभ गएपछि आर्कादी हर्षोल्लासको भावनामा चुर्लुम्म डुब्यो । आफ्नै घरमा, परिचित पलङमा, प्यारा हातहरूद्वारा सजाइएको सिरकमुनि घुस्रेर निदाउनु कति आल्हांदक हुन्छ ! सके ती सुकोमल, दयालु र परिश्रमी हात उसैकी प्यारी धाईआमाका हुँदा हुन्‌ । आर्कादीलाई आफ्नी धाई येगोरोभ्नाको सम्झना भएर आयो, अनि उसले एक लामो सुस्केरा काढ्यो र उसको आत्माको चिरशान्तिको कामना गर्यो | _ आफ्नो निम्ति चाहिँ उसले कुनै प्रार्थना गरेन ।

ऊ र बाजारोभ छिटै निदाए परन्तु घरका अन्य मानिसहरू अझै निकै बेरसम्म सुत्न सकेनन्‌ | पुत्रको घुनरागमनद्वारा निकोलाइ पेत्रोमिच उत्तेजित हुन पुगेका थिए | नबिछियौनामा पल्टिए तापनि उनले बत्ती निभाएनन्‌ । हत्केलामा टाउको अड्याएर उनी लामो चिन्तनप्रवाहमा गोता लगाउन थाले । उनका दाजु आधा रात बितिसक्दा पनि आफ्नै अध्ययनकक्षमा गाम्ब्यनिरमिति फराकिलो आरामकुर्सीमा बसिरिहेका थिए | उनको सामुन्ने आतशखानामा कोइला विस्तारै खाक हुँदै थियो । पाभेल पेत्रोभिचले लुगासमेत फेरेका थिएनन्‌ । हो, पालिशदार जुत्ताको बदलामा भने उनले गोडामा रातो रंगको चिनियाँ चप्पल लगाइराखेका थिए | उनको हातमा “Galiganani” पत्रिकाको ताजा अङ्क थियो तर त्यसलाई उनी पढिरहेका थिएनन्‌ । उनी एकटक लगाएर आतशसखानातर्फ क्वार्क्वार्ती हेरिरहेका थिए जहाँ आगोको नीलो लप्का कहिले मधुरो हुन्थ्यो त कहिले झ्वाल्ल चम्किएर काम्न थाल्दथ्यो .. उनको चिन्तनप्रवाह कहाँ चक्कर काटिरहेको छ भन्ने त भगवानलाई मात्र थाहा होला । तर त्यो अतीतमा मात्र भौतारिइरहेको चाहिँ कदापि थिएन | उनको मुहारमा एकाग्रता र उदासिनताको भाव झल्किरहेको थियो र यस्तोचाहि अतीतको स्मृतिमा मात्र रूमल्लिरहेको मान्छेको निम्ति स्वाभाविक हुँदैन । अनि पछिल्तिरको सानो कोठामा नीलो ज्याकेट पहिरेकी एक तरूनी आइमाई बडेमानको सन्दुसमाथि बसिरहेकी थिई । उसले कालो कपाल सेतो रूमालले बाँधेकी थिई । त्यो थिई -फेनेच्का । कहिले र हाई काढ्थी भने कहिले उँग्न थाल्थी, अनि कहिले चाहिं खुल्ला दैलोतिर पुलुक्क हेर्थी जहाँबाट भित्रपट्टि बच्चाको सानो खाट देखिन्थ्यो र सुतिरहेको शिशुको क्रमवद्ध सासफेराइ पनि सुनिन्थ्यो ।