परिच्छेद ५
त्यही रात देनिसोभको डेरामा स्क्वाड्रन अफिसरहरूका बीच गरमागरम बहस चलिरहेको थियो ।
“म भन्छु रोस्तोभ, तिमीले पल्टन कमाण्डरसँग माफी माग्नै पर्छ,” अग्लो, पाकेका केश, विशाल अनुहारभरि चाउरी परेको एक जना जुँगेमुठे स्टाफ कप्तानले भन्यो, जो उत्तेजनाले रातोरातो भएको थियो ।
किर्स्टेन नामक उक्त कप्तान अनुशासनको कार्वाहीमा परेर दुइ पटक सिपाहीमा घटुवा भएर पनि दुवै पटक पुनः पदोन्तति भएको व्यक्ति थियो ।
“मलाई कसैले पनि झूट बोलेको आरोप लगाएको मन पर्दैन” रोस्तोभले पनि प्रतिवाद गर्यो । “उसले मलाई झूट बोलेको आरोप लगायो; मैले उसलाई झूट बोलेको आरोप लगाएँ । कुरै खतम भयो । मलाई उसले दिनदिनै ड्युटी लगाइदिन सक्छ । थुनाउन सक्छ । तर मलाई माफ माग्न कसैले करकाप गर्न सक्तैन । यदि उसले पल्टन कमाण्डरका हैसियतले द्वन्द्रयुद्धका लागि मेरो चुनौती स्वीकार गर्दा आफ्नो सान घट्ने ठान्छ भने…. तब ।”
“तर भाइ, तिमी एकछिन पर्ख र मेरो कुरा सुन,” स्टाफ कप्तानले गम्भीर भएर आफ्ना लामालामा जुँगा मुसार्दै ठूल्ठूलो आवाजमा रोस्तोभको कुरा काट्यो । “तिमीले अरू अफिसरहरूका अगाडि फलाना अफिसरले चोरी गर्यो भनेर पल्टन कमाण्डरलाई भन्यौ ।”
“तर अरू अफिसरहरूका सामु यस्ता कुरा गरेँ भने पनि त्यसमा मेरो केही दोष छैन । उसको अगाडि सायद भन्न नहुने थियो होला तर म कुनै कूटनीतिज्ञ त होइन नि । हुस्सारहरूको पल्टनमा यस्ता छक्कापन्जा गर्ने कुराहरूमा ध्यान दिनु पर्दैन होला भन्ने ठानेर म यस पल्टनमा आएको थिएँ तर ऊ मैले झूट बोलेँ भनेर उल्टै अभियोग लगाउँदैछ – ठीकै छ, उसले मसँग द्वन्द्वयुद्ध गरोस्: ……..।”
“त्यो त ठीक छ, तिमीलाई नामर्द कसैले भनेको छैन तर कुरो त्यो होइन । आफ्नो पल्टन कमाण्डरसँग द्वन्द्वयुद्ध गरिमाग्नु कतिसम्म उचित कुरा हुन्छ भनेर तिमी आफैले देनिसोभसँग सोध त ?”
देनिसोभ मलिनो अनुहार लाएर आफ्नो जुँगा चाट्दै उक्त वादविवाद सुनिरहेको थियो । तर उसलाई यस विषयमा सहभागी हुने इच्छा थिएन भन्ने प्रष्ट थियो । उसले टाउको हल्लाएर स्टाफ कप्तानको तर्क अस्वीकार गरेको उत्तर दियो ।
तिमीले अन्य अफिसरहरूको अगाडि पल्टन कमाण्डरसँग यस्तो अभद्र कुरा गर्यौ,” स्टाफ कप्तान बोल्दै गयो । बोग्दानिच (पल्टन कमाण्डरको नाम यही थियो) ले तिमीलाई चुप लाग्न भनेका छन् ।”
“मलाई चुप लाग्न भनेको होइन । मैले झूट बोलिरहेछु भनेका हुन् ।”
“त्यसो भए त्यही सही, तर तिमीले ऊसँग धेरै अन्टसन्ट कुरा गर्यौ, त्यसकारण तिमीले माफी माग्नै पर्छ ।”
“म कुनै हालतमा पनि माफी मागिदनँ,” रोस्तोभ आक्रोसित भयो ।
“मैले तिमीबाट यस्तो अपेक्षा गरेको थिइनँ,” गम्भीर र कडा हुँदै स्टाफ कप्तानले भन्यो ।” तिमीले माफी माग्न चाहँदैनौ तर हेर भाइ, पल्टन कमाण्डरको सामु मात्र होइन पूरै पल्टनको सामु र हामीहरू सबैको सामु तिमी कसूरदार ठहरिने छौ । कसरी भनौला ? सुन, तिमीले केही सोचविचार गरेको भए र यस्तो स्थितिमा कसरी समस्या हल गर्ने भनेर सरसल्लाह गरेको भए स्थिति अर्कै हुन्थ्यो तर तिमीले सोझै गएर सबै अफिसरहरूका सामु सबथोक भनिदियौ । पल्टन कमाण्डरले अब के गरुन् ? यस अफिसरलाई सैनिक अदालतमा पेश गरिदिनेछन् र फलस्वरूप सम्पूर्ण पल्टनमाथि एउटा कलङ्कको टीका लाग्ने छ ? एउटा दुष्टका कारण पूरा पल्टनको शिर निहुरिने भयो । तिमी त आफ्नो अडान छोड्नेवाला छैनौ । तर हामी यस्तो मान्दैनौँ । वोग्दानिच त पत्थर हो, उसले तिमीलाई झूट बोलिरहेछौँ भन्यो । तिमीलाई नमजा लागेको होला तर के गर्ने ? यो अवस्था तिमी आफैले निम्त्याएका हौ । र, अहिले जब यस घटनालाई दबाउने प्रयास गरिँदै छ तैपनि तिमीभित्र कुनै तुष छ, जसले गर्दा तिमी माफी नमाग्ने अड्डी कसेर बसेका छौ र सबै कुरा सार्वजनिक गर्ने धम्की दिँदैछौ । आफूसँग फाल्तु ड्युटी लिइयो भनेर तिमीलाई नराम्रो लागिरहेको होला तर तिमी एउटा इमान्दार बहादुर र यस्तो बढ्दो उमेरका कर्णेलसँग माफी माग्न चाहँदैनौ । वोग्दानिच चाहे जस्तोसुकै मान्छे हुन् तर उनी बहादुर, इमान्दार र उमेरले धेरै जेष्ठ अफिसर हुन् । तिमीलाई यो सब ज्यादै नराम्रो लागिरहेको होला । तर सम्पूर्ण पल्टनको नाममा कलङ्कको टीका लाग्दा तिमीलाई नराम्रो लागिरहेको छैन ?” स्टाफ कर्नेलको आवाज काँप्न लाग्यो ।
“हेर भाइ, तिमी पल्टनमा आएकै पनि कति दिन भएको छ र ?”
“तिमी आज यहाँ छौ । भोलि कुनै ठूलो अफिसरको सहायक हुन सक्छौ । तिम्रो कारणले गर्दा मान्छेहरूले यही त भन्लान् नि – पाब्लोग्रादको पल्टनका अफिसरहरू चोरैचोर छन् । तर हामीहरूलाई यो बात लाग्ने छैन, होइत त देनिसोभ ! के मैले गलत गरेँ त ? हामीहरूले के बिराएका छौँ र ?”
देनिसोभले अहिलेसम्म मौन धारण गरेको थियो । उसले हलचल पनि गरेको थिएन । खाली आफ्ना चम्किला र कालाकाला आँखाले घरीघरी रोस्तोभलाई हेर्थ्यो मात्र ।
“तिमीले आफ्नो घमण्ड नछोड्ने नै भयौ, माफी नमाग्ने नै भयौ,” स्टाफ कप्तान बोल्न छोडेन । तर हामी बुढाहरू त यही पल्टनमा यत्रो उमेर बितायौँ र भगवान्ले इच्छा गरे भने यही पल्टनमा नै मर्ने छौँ । त्यही कारण हो, जसले गर्दा हामीलाई यो पल्टनको इज्जत प्यारो लाग्छ । बोग्दानिचलाई यो कुरो थाहा छ । हरे, हामीलाई यो पल्टनको इज्जत कति प्यारो लाग्छ, कति ठूलो लाग्छ । तर तिमीले जे गर्यौ ठीक गरेनौ- बिलकुल ठीक गरेनौ । तिमीले राम्रो मान या नराम्रो मान तर म त सही कुरा बोल्ने मान्छे हुँ । म आमाको किरिया खाएर भन्छु तिमीले गरेको काम ठीक हुँदै होइन ।”
त्यति भनेर स्टाफ कप्तान उठ्यो र रोस्तोभतिरबाट आँखा अन्तै लगायो ।
“अहिलेसम्म भएका कुरा ठीकै हुन् । यो कुरा मान्छेले बुझ्न सक्तैन” एक्कासि उफ्रिँदै देनिसोभ कराउन थाल्यो । “लौ भन त रोस्तोभ, तिम्रो इच्छा के छ ?”
रोस्तोभको आँखाले घरी रातो र घरी पहेँलो देख्न थाल्यो । उसले घरी एउटा अफिसरलाई र घरी अर्को अफिसरलाई हेर्न थाल्यो । ”
“होइन, तपाईं हाकिमहरू, होइन, तपाईंहरूले यस्तो नसोचिदिनुहोस् – मलाई सबै कुरा राम्ररी थाहा छ, तपाईंहरूले मेरो बारेमा अनावश्यक रूपमा नराम्रो धारणा राख्नुभयो । म……..मेरा लागि………पल्टनको प्रतिष्ठाको लागि …………. तपाईंहरूले के बुझ्नु भएको छ? म..,….. यो विषय म आफैँले युद्धमैदानमा सावित गरेर देखाउने छु …….. र मेरो लागि झण्डाले बोक्ने इज्जत, तर जे होस्, ……….म साँच्चै नै …..कसुरदार मान्छे हुँ ……… मैले पल्टनको इज्जत गुमाएँ ……. तर तपाईंहरूले मबाट खोजेको कुरा के हो ?”
“बल्ल तिम्रो बुद्धि पलायो, काउन्ट,” चारैतिर टाउको घुमाउँदै र आफ्नो दाहिने हातले रोस्तोभलाई अङ्गालो मार्दै स्टाफ कप्तान उठ्यो ।
“म तिमीलाई भन्दैछु उहाँ ज्यादै असल मान्छे हुनु हुन्छ,” देनिसोभ भयङ्करसँग कड्क्यो ।
“यो अलिकता बुझ्नु पर्ने कुरा छ,” स्टाफ कप्तानले रोस्तोभलाई काउन्ट” भनेर सम्बोधन गरेको र उसको प्रशंसा गरेको शब्द नै दोहोर्याउँदै उसले भन्यो । “काउन्ट रोस्तोभ, तिमी जाऊ र माफी मागेर आऊ, लौ गइ हाल ।”
“महानुभावहरू, तपाईंहरूले भनेको म सबै थोक गर्न तयार छु । तर म माफी माग्न तयार छैन । म भगवानको किरिया खाएर भन्छु । म माफी माग्न सक्तिनँ । बरु भन्नुहुन्छ भने म मर्न पनि तयार छु । के म एउटा बालक हुँ र जथाभावी माफी माग्दै हिडूँ ?” देनिसोभ हाँस्न थाल्यो ।
“तर तिम्रो लागि यो राम्रो हुँदैन नि । बोग्दानिच प्रतिहिंसाशील मान्छे हुन् । तिम्रो यो जिद्दीले गर्दा नराम्रो प्रतिफल भोग्नुपर्ला,” किस्तेनले भन्यो ।
“होइन, मैले जाने-बुझेसम्म मैले गल्ती गरेको छैन । यो कुरा म कसैलाई सम्झाउन पनि सक्तिनँ । म कसैलाई सम्झाउन सक्ने स्थितिमा पनि छैन …… ।”
“ठीकै छ, तिमी जे चाहन्छौ त्यही हुन्छ,” स्टाफ कप्तानले भन्यो । “होइन, यो मूर्खलाई के गर्ने हो ?” उसले देनिसोभसँग सोध्यो ।
“सन्चो छैन भन्छ, उसलाई भोलिदेखि नै पल्टनबाट निकाल्ने आदेश दिइँदैछ,” देनिसोभले भन्यो ।
“होला जस्तै लाग्छ, नत्र………. । त्यसैले ऊसँग अर्को स्पष्टिकरण लिने कुरा पनि आएन,” स्टाफ कप्तानले राय प्रकट गर्यो ।
“बिरामी होस् कि मरोस् । तर ऊ मेरोअगाडि कहिल्यै आउन पाउने छैन, मैले उसलाई मार्न पनि बेर लाउने छैन,” देनिसोभ हत्या गर्न तम्सिएको मान्छेझैँ चिच्यायो ।
त्यही बेला जेरकोभ कोठामा प्रवेश गर्यो ।
“तिमी यहाँ यति बेला, कहाँबाट, कसरी आयौ हँ ?” अफिसरहरू सबैले उसलाई एउटै प्रश्न सोधे ।
“युद्धमैदानमा जाने बेला भयो, साथीहरू हो ! जर्नेल माक र उसका सम्पूर्ण फौजले आत्मसमर्पण गर्यो ।” “हे…….. , होइन होला, है ।”
“मैले उसकै मुखबाट सुनेको ।”
“के रे ?” सक्कली माकलाई नै भेटे कै हो के ? “नाकमुख र् हातखुट्टासहित ?”
“तयार होऊ, साथीहरू हो तयार हुनु पर्यो ।” यस्तो खबर ल्याउने तिमीलाई एक बोतल रक्सी पिलाउनै पर्छ । तर तिमी यहाँ कसरी आयौ ?”
“त्यही बेकुफ माकको कारणले गर्दा मलाई यहाँ, यस पल्टनमा फिर्ता पठाइयो । एक जना अस्ट्रियाली जर्नेलले मेरो विरुद्ध चुकली लगाइदिएछ । मैले उसलाई माक फर्केर आएको उपलक्ष्यमा भनेर बधाई दिएको थिएँ ………….. तिमीलाई के भएको छ रोस्तोभ ? तिमी त भर्खरै तातो पानीमा नुहाएर आए जस्तो देखिन्छ ।”
“के कुरा गर्ने मित्र, यहाँ स्तो हुँडलो चलिरहेछ कि ।”
पल्टन कमाण्डरको सहायक भित्र आयो र उुले जेरकोभले ल्याएको समाचारको पुष्टि गर्यो । उनीहरूलाई यसको भोलिपल्ट कुच गर्नुपर्ने आदेश दिइएको थियो ।
“अब हामी युद्धमैदानमा जाँदैछौं, साथी हो !”
“परमेश्वरलाई धन्यवाद छ, हामीहरू यहाँ बिनाकाम धेरै दिन बस्यौँ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।