भोलिपल्ट बिहान उनी न तल आए न मलाई कोठामा बोलाए | लिफटमा माथि गएर ढोका छेउ उभिएँ । हिजो राति आफैँले गरेको काम सम्झेर नमज्जा लागिराखेको थियो । आफ्नो गल्ती उनको अगाडि स्वीकार गर्ने पो हो कि जस्तो पनि लाग्यो । धेरैपटक घन्टी बजाउन हात उठाएँ, तर साहस आएन | अनि लामो सास फेर्दै त्यो विचार त्यागिदिएँ ।
एकछिन भित्रबाट हल्का आवाज आयो । ढोकैमा कान थापेर सुनेँ ।

“म त परिवर्तन भएको छु ।”
“माफी माग्नुपर्ने केही पनि छैन ।”
चार वर्षको वैवाहिक जीवनमा भन्दा मलाई हिजो राति धेरै रमाइलो भयो ।

“जब तिमीले न्युयोर्क छोड्यौ, म त अब तिमीसँग कहिल्यै भेट हुन्न कि जस्तो लागेको थियो, तर आज भेटेँ | मेरा लागि त्यही कुरा ठूलो हो ।”

मैले एकातिर फर्केर पुर्पुरोमा पड्काएँ । मेरो दोषानुभूति झन्‌ बढ्यो आफैँलाई भनेँ, “मूर्ख त्यो पेसेवर केटी नभएर पुरानी प्रेमिका पो रैछ ।”

साँच्चै उनले वेश्या आइमाईसँग कहिल्यै सङ्गत गरेनन्‌ । मैले जानेसम्म उनी मभन्दा अलि माथिल्लो दर्जाका असल मानिस थिए ।

सजायस्वरूप मैले आफ्नै देब्रे हत्केलामा चिमोटेँ र फेरि ढोकामा कान थापेँ ।

भित्र फोनको घन्टी बज्यो । एकैछिन आवाज आएन अनि उनको स्वर सुनियो, “त्यो पुडल हो । त्यो कुडल हो । तिमीलाई सम्झना होला, छैन र ? तिनीहरू सधैँ मलाई भुक्छन्‌ । ए त्यो फोन उठाऊ त – – -”

“नराम्रो समाचार हो ?” एक मिनेटपछि उनी बोलेको सुनियो |

“तिम्रो अनुहार अलि अर्कै (Upset) त्रसित देखिन्छ त ।”

मलाई एउटा क्याबिनेट मन्त्री भेट्न जानु छ । मलाई यो पटक्कै मन पर्दैन । यिनीहरू यति चिप्ला छन्‌ कि के भन्नु । मैले गरेको व्यवसाय अलि नराम्रो छ । कहिलकाहीँ यो छोडेर अरू नै केही गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । अलि सफा खाले । बाहिर निर्यात गर्ने काम जस्तै | म दिनदिनै यही चाहन्छु ।”

अनि किन तिमी अरू कुनै काम नगर्ने त ? तिम्रा आफन्तले तिमीलाई मसँग बिहे नगर्नु भन्दा पनि तिम्रो ताल यस्तै थियो । तिमीले त्यति बेला पनि “होइन, म गर्छु’ भन्न सकेनौं ।”

“उमा यो त्यति सजिलो छैन । उनीहरू मेरो बुबा र भाइ हुन्‌ ।”

“खोइ, मलाई त तिमी परिवर्तन भएजस्तो लाग्दैन, अशोक । एक कल फोन के आएको थियो धनबादबाट, तिम्रो फेरि उही पुरानै चाल छ ।”

“अब फेरि लडाइँ गर्ने होइन है | म तिमीलाई कारमा पठाइदिन्छु ।”

“अहँ हुँदैन । म त्यो ड्राइभरसँग जाँदिनँ । उसको पूरै गाउँले पारा छ । यिनीहरू ठान्छन्‌ कि उनीहरूले देखेको प्रत्येक अविवाहित महिला वेश्या हो । अनि मेरो आँखाले गर्दा उसले मलाई नेपाली ठान्छ । तिमीलाई थाहा छ उसले नेपाली भन्नेबित्तकै के बुझ्छ ? म एक्लै जान्छु ।”

“यो मान्छे ठीक छ के । उ हाम्रै परिवारको सदस्य हो ।”

“यति बढी विश्वास गर्नु हुँदैन, अशोक । दिल्लीका सबै ड्राइभरहरू खत्तम छन्‌ । यिनीहरू लागूपदार्थ, वेश्या अनि राम जाने केकेको व्यापार गर्छन्‌ ।”

“यसले चाहिँ गर्दैन । यो मूर्ख छ, तर इमानदार छ । तिमीलाई उसैले पुर्याइदिन्छ ।”

“हुँदैन अशोक | म ट्याक्सीमा जान्छु । म तिमीलाई साँझ फोन गर्छु । हुन्छ ?” मैले बुझेँ उनी ढोकातिर बढ्दै थिइन्‌ अनि लुसुक्क भागेँ ।

साँझसम्म उनको बोली नै सुनिएन । साँझ परेपछि तल झरेर कार मगाए । घरि यो बैङ्क लिएर हिँड घरि त्यो बैङ्क । ड्राइभरको सिटमै बसेर यसो छड्के आँखाले हेर्दा देखेँ उनले फसक फरक खालका स्वचालित मसिनबाट पैसा निकाल्दै थिए । पैसो झोलामा लिएर आएपछि भने, ‘बलराम, अब सहर जाने । एकपटक हामी मुकेशसँगै गएका थियौँ नि त्यो अशोका रोडको ठूलो घर, याद छ ?”

“छ हजूर । मैले सम्झेँ । त्यहाँ ठूल्ठूला दुईवटा एलसेसन कुकुर ढोकैमा बस्छन्‌ । हैन त हजूर ?”

“ठीक भन्यौ । तिम्रो स्मरणशक्ति राम्रो छ ।”
जासुसी ऐनामा देखेँ उनी मोबाइलको बटन थिच्दै थिए । सायद मन्त्रीको नोकरलाई “म पैसा लिएर आउँदै छु” भनेर खबर गर्दै थिए होलान्‌ । दिल्ली छिचोलेर जाँदै गर्दा अन्तिममा बल्ल मैले बुझेँ उनी के गर्न जाँदै थिए ।

मन्त्रीको महलमा पुगेपछि भने, “बलराम म बीस मिनेटमा फर्कन्छु है ?” रातो झोला हातमा लिएर बाहिर निस्केर ढोका ड्याम्म लगाए |

सुरक्षागार्ड बस्ने पर्खाल माथिको फलामको बुथबाट हातमा राइफल लिएको एउटा गार्डले मलाई बडो ध्यान दिएर हेरिरह्यो । कम्पाउन्डभित्रका २ वटा एलसेसन कुकुर,

घरिघरि भुक्दै यताउता गरिरहे !
घाम डुब्नै लागेको बेला थियो । आआफ्नो गुँडतिर उडेका चराहरूले ठूलै खैलबैला मच्चाए । महामहिम, दिल्ली ठूलो छ तर पनि मानवबस्ती नभएका ठाउँहरू पनि छन्‌ । ठूलाठूला पार्कहरू, संरक्षित जङ्गल, ठूल्ठूला बाँझो जमिन र यी निर्जन ठाउँहरूबाट केही चिज अप्रत्यासित बाहिर आउन सक्छ । म मन्त्रीको घरको रातो पर्खाल हेरिरहेको थिएँ, एउटा मयुर उडेर आयो र गार्ड बस्ने बुथको छानोमा बस्यो ! अस्ताउँदो सूर्यको रातो प्रकाशमा त्यसको निलो घाँटी र लामो पुच्छर पनि सुनौला रङ्गको भयो । अनि हरायो । एकैछिनपछि अँध्यारोले ढाक्यो ।

कुकुरहरू भुक्न थाले । गेट खुल्यो । मन्त्रीको घरबाट अशोकजी एउटा मोटो मान्छेसँग बाहिर निस्किए । त्यो त्यही मान्छे थियो जुन पहिले एक दिन राष्ट्रपतिको निवासबाट बाहिर निस्केको थियो । मैले अनुमान: गरेँ कि ऊ मन्त्रीको पि.ए हो । उनीहरू कारअघि उभिएर केही बेर बोले |

मोटो मान्छेले अशोकजीसँग बिदाइको हात मिलायो । अशोक चाँडो फुत्किन खोज्दै थिए, तर राजनीतिज्ञ र तिनका आसेपासेलाई त्यति सजिलै कहाँ छोड्न पाइन्छ र ? म कारबाट बाहिर निस्कँ र टायर हेरेजस्तो गरेर सुलसुलेले सुन्न सक्ने दूरीसम्म गएँ ।

“अशोक चिन्ता नलिनू । म मन्त्रीज्यूलाई भोलि जसरी पनि तपाईंको बुबासँग फोनमा कुरा गर्न लगाउँछु !”

“धन्यवाद । हाम्रो परिवारले तपाईको सहयोगको उच्च मूल्याङ्कन गर्छ ।” यसपछि तपाईं के गर्दै हुनुहुन्छ ?

“मेरो केही काम छैन । घर फर्कने हो, गुरगाँव ।”

“तपाईंजस्तो ठिटो मान्छे यति चाँडै घर जाने ? यसो क्यै रमाइलो गरौँ न ।”

“तपाईंलाई चुनावको काम गर्नुपर्दैन ?”

“चुनाव रे ? सबै कुरा ठीकठाक छ । सबैलाई पोको पारिसकियो । यो पहिरो जस्तो चिज हो । आज बिहान मन्त्रीज्यू त्यही भन्दै हुनुहुन्थ्यो । साथी, भारतमा चुनाव मिलाउन सकिन्छ । अमेरिकामा जस्तो होइन ।”

अशोकले नाइँ भनेर रोक्दारोक्दै पनि मोटो मान्छे जबरजस्ती कारमा बस्यो ।

अलिकति तल के झर्दै थियौं उसले भन्यो, “अशोक, म एउटा ह्विस्की लिन्छु ।”

“यहाँ कारमा ? मसँग त छैन नि ।”

मोटो मान्छेले आश्चर्य मान्दै भन्यो, “दिल्लीमा प्रत्येकको कारमा ह्विस्की हुन्छ, अशोक । तिमीलाई यति पनि थाहा थिएन ?”

उसले मलाई मन्त्रीको बङ्गला फर्कन भन्यो । ऊ भित्र गएर २ वटा गिलास र एउटा बोत्तल लिएर आयो । ढोका ड्याम्म लगाएर ठूलो सास फेर्दै भन्यो, “बल्ल यो कार सबै सुविधासम्पन्न भयो ।”

अशोकजी झिँझो मानेर ओठ बिगार्दै हातमा बोतल लिएर मोटो मान्छेको गिलासमा ह्विस्की खन्याउन तयार भए । मोटेले भन्यो, “ए मूर्ख । तिमीले होइन, रक्सी ड्राइभरले खन्याउँछ ।”

म फरक्क फर्केर बारम्यान भएँ ।

“यो ड्राइभर बडो चलाख रैछ ।” मोटेले भन्यो । “कहिलेकाँही त रक्सी खन्याउँदा सबै बर्बाद पारिदिन्छन्‌ ।”

“यो कहिल्यै रक्सी नखाने जातको हो भनेर तपाईं मान्नुहुन्छ त ?”

मैले रक्सीको बोतलको बिर्को बन्द गरेर गियरको छेउमा राखेँ । मेरो पछि दुईवटा गिलास ठोक्किएपछि आवाज आयो, “चियर्स ।”

“अबजाऔँ ।” मन्त्रीको चम्चाले भन्यो । “ए ड्राइभर अब सेराटन जाने, बुझिस्‌ ? अशोक, त्यहाँ भुइँमुन्तिरको तलामा गजबको रेस्टुरेन्ट छ । त्यो शान्त पनि छ । त्यहाँ अलिकति रमाइलो गरौँ न ।”

मैले स्टार्ट गरेर अँध्यारो अन्डाजस्तो होन्डा सिटीलाई नयाँ दिल्लीको एउटा गल्लीमा पुर्याएँ । .

“कार भनेको आफ्नै दरबार हो | तिमीले यस्तो कहिल्यै पनि गरेका छैनौ भनेर मैले कसरी पत्याउनु ?”

“ठीकै हो । अमेरिकामा भएको भए तपाईं यस्तो कहिले पनि गर्नु हुन्थेन, होइन त?”

“दिल्लीमा हुनुको रमाइलो यही हो बाबु !” अशोकको साँप्रामा पड्काउँदै मोटेले भन्यो ।

चुस्की लिँदै मोटेले सोध्यो, “तिम्रो अहिलेको अवस्था के छ अशोक ?”

आजभोलि कोइलाको व्यापार छ, तर मानिसहरू सबैले ठान्छन्‌ कि नयाँ प्रविधिको व्यवसायमात्र फस्टाउँछ, तर कोइला व्यवसायलाई पत्रपत्रिकाले पनि त्यति वास्ता गर्दैन, गर्छ र ? चिनियाँहरूले नपत्याउने पारामा कोइला उपभोग गर्दै छन्‌ । त्यही भएर चारैतिर मूल्य बढ्दै छ । देब्रे, दाइने र बीचमा, चारैतिर लखपतिको सङ्ख्या बढ्दै छ ।”

“हो, हो” मोटेले भन्यो । “यो सबै चाइनाको कारणले हो !”

उसले गिलास सिनित्त पार्यो र भन्यो, “तर केटा, दिल्लीमा हामीले जस्तो बुझेका छौँ, त्यस्तो अवस्था चाहिँ त्यहाँ छैन ।”

मन्त्रीको चम्चाले हाँस्दै भन्यो, “खासगरी मैले सोधेको के हो भने, त्यहाँ तल तिमीलाई कसले सेवा दिन्छ ?” उसले अशोकको देखाउनै नहुने ठाउँमा देखाउँदै सोध्यो ।!

“म त एक्लै हो । अब छोडपत्र हुँदै छ ।”

“मलाई बडो दुःख लाग्यो” मोटेले भन्यो “विवाह भनेको एउटा राम्रो संस्था हो ! यो देशमा सबै कुरा अलग अलग हुँदै छ- परिवार, विवाह, सबै कुरा, अचम्म ।”

ह्विस्कीको फेरि चुस्की लिँदै भन्यो, “अशोक तिमी मलाई भन त | तिम्रो विचारमा यो देशमा गृहयुद्ध होला त ?”

“तपाईं यो किन सोध्दै हुनुहुन्छ ?”

“चार दिन अघि म गाजियाबादको यौटा अदालतमा थिएँ । न्यायाधीशले गरेको निर्णय वकिलहरूलाई मन परेन । वकिलहरू पूरै त्यसको विरूद्धमा उभिए । रिसले बौलाएर उनीहरूले न्यायाधीशलाई घिसारेर तल झारे र अदालतभित्रै पिटे । त्यो, घटनाको बारेमा कुनै पत्रपत्रिकालाई जानकारी गराइएन । यो प्रत्यक्ष मैले देखेको कुरा हो । उसकै कार्यकक्षमा मान्छेले न्यायाधीश पिट्न सक्छन्‌ भने अब भन यो देशको भविष्य के होला ।”

मेरो घाँटीमा कुनै चिसो चिजले छोयो । त्यो मोटेले आफ्नो गिलास मेरो घाँटीमा दलेको रहेछ ।

“ड्राइभर, एक पेग थप्‌ त”

“हस्‌ हजूर ।”

महामहिम, तपाईले यस्तो कला देख्नुभएको छ ? एक हातले स्टेरिङ समातेर, अर्को हातले बोतल उचालेर कार गुड्दा गुड्दै पछि बसेको मान्छेको गिलासमा आफनो कुममाथि बोतल उठाएर एक थोपा नपोखी रक्सी दिने कोही छ ? यो सिप भारतीय ड्राइभरमा हुनैपर्छ । रातमा पनि राम्रो देख्न सक्ने, धैर्यवान र उच्च सहनशीलता ड्राइभरमा-हुनुपर्छ; तर बेलाबेलामा पोख्त बारम्यान पनि बन्नुपर्छ ।