अनि आनिकेइले आफ्नो पतलून झटपट फुकाल्यो र उल्टो पारेर काठको एउटा घोचामा झुण्ड्याइदियो । उसले गोजीबाट सिंगरेटकेश झिक्यो र एउटा चुरोट पनि सल्कायो। उ एउटा गोडा अगिल्तिर पसारेर, चुरोटको सर्को तान्दै थियो र हावामा धुँवाको चक्का पार्दै फुरे धुँवा छोड्थ्यो र भित्ता नाघ्ने गरीकन प्याच्च प्याच्च थुक्दै पनि थियो… । सेम्योनलेः चाहिँ आफूलाई नागै तुल्याएको थियो। उसले त आफ्नो पातलो पाइजामा समेत फुकालिसकेको थियो, तर टोपी भने फुकाल्न बिर्सेको थियो क्यारे ! सके के गर्ने के नगर्ने भन्ने पनि उसलाई होशहवास रहेन …। म भने घरी जाडोले कढ्याङग्रिए झैँ हुन्थेँ, घरी गर्मीले गर्दा खलखलती पसीना काढ्थें। मैले निधारमा छोई हेरेको त पसीना किन हो कुन्नि एकदमै चीसो लाग्यो, मुहानको पानी जस्तै …। दुबै जना दाजुभाइ संगसंगै उभिएका थिए . . . । सेम्योनको छातीभरि बाक्लो रौं उम्रिरहेको देखिन्थ्यो । उ नांगेझार भएर ठिंग उभिइरहेको थियो र टाउकोमा चाहिँ टोपी…। आनिस्या आइमाई न ठहरी ! उसले आफ्नो खसमलाई टोपी मात्न लगाएर यसरी नाँगै उभिइरहेको देख्ने बित्तिकै दौडेर उसको बगलमा पुगी र बाँझको रूखमा लहरा बेह्विए जस्तै गरी उसको काँधमा आँगालो हालेर झुण्डिई । सेम्योन उसलाई आफूबाट पल्तिर धकेल्दै थियो।
“जा, हट् , नकच्चरी . . ! लाज त मान्नु पर्छ मानिसहरूको अगाडि …। देखिनस्, म नांगै छु! शरम लाग्दैन तँलाई , चाण्डात्नी? ! ”
तर आनिस्या भने टसको मस नगरेर टाँस्सिइरही ! उसको झाँक्रो छ्याल्लब्याल्ल भइरहेको थियो र उ चाहिँ जोडले चिच्याइरहेकी थिई-
“लौ, मारिदे ! हामी दुबैलाई संगसंगै ! ”
मालिकले आफ्नो सानो कैची खल्तीमा घुसारे। अनि उनले सोधे-
“के मर्ने मन लाग्यो र?”
“लौ, हान् गोली ! ज्यानमारा पापी! ”
मालिकलाई यस्तो अपशब्द बोली उसले ।
“बाँध , यस फुँडीलाई पनि लोग्नेकै साथमा ! ”- मालिकले आडर दिइहाले ।
आनिस्यालाई बल्ल आफ्नो गल्ती थाहा भयो र उ पछि हटी ! तर यो ज्यादै नै ढीलो भैसकेको थियो । काजाकहरू दंग परेर खित्का छोड्दै थिए । उनीहरूले आनिस्यालाई सेम्योनको आङमा डोरीले बाँधिदिए…। बेकूफ आइमाई! आफू त भुइँमा लडी लडी, लोग्नेलाई समेत लडाइदिई ! मालिक उनीहरूको नजीक आए र रीसले दाह्वा किट्दै सोध्न थाले
“सके, आफ्नो एक मात्र दुधे बालकको निम्ति त माफी मागौला कि?”
“माफी पाउँ ! ”- सेम्योनले रुन्चे स्वरमा भन्यो ।
“ठीक छ! अब त ईश्वरसंग मात्रै माफी माग् ! .. मसंग माफी माग्नु त ज्यादै ढीलो भैसक्यो ! ..”
अनि उनीहरूले ती दुबै जोइपोइलाई त्यसै ठाउँमा गोलीले उडाइदिए . . . । त्यसपछि उनीहरूले आनिकेइमाथि पनि गोली चलाए। उ गोडा लड्खडाउँदै उभिइरह्यो र निकै बेरसम्म ढलेन। शुरूमा उ घुँडाले भुइँमा टेकेर उठिरह्यो, अनि एक्कासि जुखूक्क उठ्यो र उत्तानो परेर पल्टियो। मालिक चाहिँ उसको छेउमा पुगेर मायालु स्वरमा भन्न थाले-
“बाँच्न चाहन्छस्, हैन त बाँच्ने इच्छा भए माफी माग् ! म तँलाई जम्मा पचास कोर्रा लगाएर छोडिदिउँला र फौजमा समेत भर्ती गरिदिउँला ! ”
आनिकेइले मुखभरि थुक जम्मा गर्यो , तर त्यो थुक्ने समेत उसले तागत बटुल्न सकेन र उसको दाह्वीभरि थुक बग्न थाल्यो …। रीसले गर्दा उसको अनुहार सेतै भैसकेको थियो र.. तीन ओटा गोली लागेर उसको जिउ छियाछिया र रगतपच्छे भैसकेको थियो… ।
“यसलाई बीच सडकमा फ्याँकिदेओ ! ” — मालिकले आडर दिए।
काजाकहरूले उसलाई तान्दै घिसारेर लगे, अनि हात र गोडामा समातेर पर्खालबाहिर सडकमा हुत्त्याइदिए । त्यसै बेला काजाकहरू तोपोलेभ्काबाट बाहिर निस्कन थाले । उनीहरूको साथमा दुई ओटा तोपगाडी पनि थियो। मालिकले बुर्लुक्क उफेर तगारो नाघे र जोडले कराउँदै भने –
“सोझै हाँक घोडाहरूलाई ! छेउ लाग्नु पर्दैन ! ”
मेरा रौं ठाडा ठाडा भए। मैले सेम्योनको लुगाफाटो र बूट समातिराखेको थिएँ, तर मेरा गोडाहरू लुला भए तिनले मलाई थाम्न सकेनन् …। घोडाहरू, थाहा भएकै कुरा हो, ईश्वरको अंश लिएर जन्मेका हुन्छन् । उनीहरूले मेरो आनिकेइलाई आफ्नो टापले कुल्चँदै कुल्चेनन्, बरू नाघेर पार भए…। म पर्नि दौड्दै तगारोनेर पुगें। न म आँखा चिम्म गर्ने सक्थेँ, न त मुख बाउन नै। त्यहाँ तोपगाडीको पांग्राले मेरो आनिकेइको खुट्टा कच्याक्क किचिदिएको थियो… । शुरूमा सुकेको रोटीको टुक्रा दाँतले चपाउँदा जस्तै गरेर कटकट
आवाज आयो , त्यसपछि आनिकेइको गोडा पेलिएको उखु जस्तै गरी च्याप्टियो . .- । असह्य पीडाले गर्दा आनिकेइ मर्ने छ भन्ने मलाई लागेको थियो, तर उसले ऐय्यासम्म पनि भनेन, न त कुनै चीत्कार नै गर्यो…। उ मुण्टो निहुराएर लम्पसार परिरहेको थियो र हातले सडकको माटो सोह्रोरेर मुखमा हालिरहेको थियो…। माटो चपाउँदै उसले आँखा झिम्म पनि नगरेर एक टकसित मालिकतर्फ हेर्यो। उसका आँखा निर्मल र चम्किला देखिन्थे, नीलो स्वच्छ आकाश जस्तै … . ।
त्यस दिन हाम्रा मालिक तोमिलिनले बत्तीस जनालाई त्यहाँ गोलीले उडाइदिए। एक जना मात्न जिउँदो रहेको थियो आफ्नो आत्माभिमानले गर्दा। त्यो थियो – आनिकेइ…। ”
बृढा जाखारले गोल्फुबाट घटघट पानी खाए। अनि कलेंटी परेका ओठहरू पुछे र नचाही नचाही आफ्नो कथा टुंग्याए-
“जो हुनु थियो सो भयो । खालि ट्रेन्चहरू मात्नै त्यहाँ बाँकी रहन गएका छन् अब जहाँ हाम्रा किसानहरूले आफ्नो निमित्त अलिकति जग्गा जित्नको लागि लडेका थिए। अहिले त्यहाँ झारपात र नरकटको झाडी उम्रेको छ… । आनिकेइले आफ्ना गोडा काटेर मिल्काउनु पर्यो । अहिले उ पाखुराको आड लिएर आफ्नो धड भुइँमा घिसार्दै यताउति हिँडडुल गर्छ। तैपनि उ हँसिलो देखिन्छ । हरेक दिन उ घरको दैंलोनेर सेम्योनको सानो छोरोसंग आफ्नो अग्लाइ दाँज्ने गछ । भतिजो चाहिले काकालाई अग्लाइमा उछिन्न थालिसकेको छ… । हिउँदमा कहिलेकाहीं उ गल्छेडोमा पनि निस्कन्छ। मानिसहरू आफ्ना गाईवस्तुलाई पानी ख्वाउन खोलातर्फ धपाउँदै लगिरहेका हुन्छन्, उ चाहिँ बाटो छेउमा बसेर हात उठाउँदै हल्लाउने गछ । गोरूहरू तर्सेर बरफमाथि दगु्ने थाल्छन् र चिप्लेर लड्नै समेत आँटेका हुन्छन्, तर उ भने पेट मिचीमिची हाँस्छ…। एक पटक मात्र मैले यस्तो दृश्य देखें …। यो यसै वसन्तको घटना हो। हाम्रो कम्युनको ट्र्याक्टरले काजाक सीमापारि जग्गा जोतिरहेको थियो। उ पनि घिस्रँदै त्यसको पछि पछि लाग्यो। म पनि त्यतैतिर भेडा चराउँदै थिएँ। मेरो आनिकेइ जोतिएको खेतमाथि घिस्रिरहेको मैले देखें “के गर्ने चाहन्छ उ त्यहाँ? “- मैले सोचें । आनिकेइले चारैतर्फ एक नजर दौडायो र वरिपरि कोही पनि छैन भन्ने उसलाई पक्का भएपछि उसले निहुरेर जमीनबाट एक डल्लो, माटो हातमा लियो जुन भर्खरै मात्र ट्र्याक्टरको फालीले जोतेर पल्टाएको थियो। उसले माटोको त्यस डल्लोलाई छातीमा बेसरी च्याप्यो, अनि हातले बिस्तार मसार्यो र ओठनेर लगेर चुम्यो…। उसको उमेर पच्चीस वर्ष पनि पूरा भएको थिएन) तर उसले जीवनमा अब कहिल्यै पनि खेत जोत्न नपाउने भयो । यसले गर्दा नै उ असाध्यै खिन्न थियो
नीलो स्तपीमैदान धँवासे कुहिरोभित्र निदाउन थालेको थियो । बनतुलसीको ओइलाउन आँटेका फूलहरूबाट माहुरीहरू त्यस दिनको अन्तिम मह बटुल्दै थिए। कल्कीघाँसका सुनौला र पहेँला कल्कीका झुप्पाहरू हावामा लहराइरहेका देखिन्थे । भेडाको बथान ढिस्कोबाट तोपोलेभ्कातिर ओरालो लाग्दै थिए। बूढा जाखार पनि आफ्नो लौरो टेक्दै चूपचाप त्यसका पछि लागे । बाटोमा जताततै फैलिएको मसिनो धूलोका कणहरूद्वारा जतनसाथ बनिएको तन्नामा दागहरू देखिन्थे । एउटा चाहिं ब्वाँसोका -पन्जाहरूको दाग थियो जुन थ्याच्च परेको थियो र समान अन्तरमा पाइलैपिच्छे दोहोरिएको थियो । अर्को चाहिं दाग छड्के धर्सोको रूपमा थियो जसद्वारा पूरै बाटो नै टाटेपाटे देखिन्थ्यो । त्यो दाग तोपोलेभ्काको ट्र्याक्टरले बाटोमा छोडेको डोब थियो।
जहाँनेर गर्मीयापमा गाडाको पांग्राले बनाएको डोब र बेचल्तीको हुँदा झरपात उम्रिसकेको -पुरानो मूलबाटो एकै ठाउँमा मिल्न पुगेका थिए त्यहाँ पुगेपछि दुबै चिन्हहरू अलग्गिए । ब्वाँसोको पन्जाको दाग चाहिँ तल भिरालोतर्फ मोडियो जुन नरकटको झाडी र चुत्रोका झ्याङहरू उम्रिरहेको दुर्गम खोल्सोमा बिलायो । बाटोमा चाहिँ एउटा मात्रै दाग बाँकी रहन गयो, जुन एकैनासको र नियास्रोलाग्दो देखिन्थ्यो र त्यसबाट मट्टीतेलको कसरमिश्चित गन्ध पनि आइरहेको थियो ।
सन् १६२६
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।