परिच्छेद -४
पाब्लोग्रादका हुस्सार सैनिकहरूको शिविर ब्राउनाउबाट दुई माइल टाढा थियो । तिकोलास रोस्तोभ सैनिक प्रशिक्षार्थीका रूपमा सेवारत घोडसवार फौजी दस्ताको मुकाम साल्जेनेक नामक जर्मनेली गाउँमा थियो । अश्वारोही स्क्वाड्रन कमाण्डर कप्तान देनिसोभलाई, जो सम्पूर्ण डिविजनभरिमा भास्का देनिसोभ भनेर चिनिन्थ्यो, यस गाउँको सबभन्दा राम्रो ठाउँमा बस्न दिइएको थियो । रोस्तोभ पोलैण्ड पुगेर यो पल्टनमा हाजिर भएदेखि स्क्वाड्रन कमाण्डर देनिसोभसँगै बस्दै आइरहेको थियो ।
अक्टुबरका दिन प्रमुख सैनिक कार्यालयमा जर्नेल माकको पराजयको खबर आएपछि शिविरमा ठूलो हल्लाखल्ला मच्चिइरहेको थियो तर त्यस स्क्वाड्रनको सैनिक जीवन भने पहिलेजस्तै सामान्य रूपमा चलिरहेको थियो । रातभरि जुवा खेलेर पनि देनिसोभ अझसम्म घर फर्केको थिएन जबकि रोस्तोभ बिहान सबेरै आफ्नो घोडाको दानापानीको व्यवस्था गरेर घर फर्किसकेको थियो । क्याडर (प्रशिक्षार्थी) को बर्दी लगाएको रोस्तोभले आफ्नो घोडा घरको ढोकासम्म ल्यायो, लगाम तानेर घोडालाई रोक्यो, उमेर सुहाउँदो शैलीमा आफ्ना खुट्टा काठीमाथिबाट उचालेर तल झार्यो, घोडाबाट झर्न मन नलागेको जस्तो गरेर केही बेरसम्म रिकाबमा उभियो र अन्त्यमा घोडाबाट ओर्ल्यो र अर्दलीलाई बोलायो ।
“ओहो, वोन्दारेन्को मेरो साथी,” उसले घोडा भएतिर दगुर्दै आइरहेको हुस्सारलाई सम्बोधन गर्यो, “यसलाई घुमाएर, टहलाएर ल्याऊ ।” उसले उक्त हुस्सारलाई आफ्नै भाइलाई जस्तै माया गरेर भन्यो जस्तै असल मन भएका तन्नेरी मानिसहरूले खुसी भएका बेला सबैलाई सम्बोधन गर्ने गर्छन् ।
“हवस् हजूर,” युक्राइनेली अर्दलीले खुसी हुँदै शिर निहुराएर जवाफ दियो ।
“हेर है बाबु, यसलाई राम्रोसँग टहलाएर ल्याउनू ।”
एक जना अर्को हुस्सार पनि घोडा भएतिर दगुर्यो तर बोन्दारेन्कोले पहिले नै नगाम घोडाको टाउको माथिबाट फ्याँकिसकेको थियो । यो स्पष्ट थियो कि क्याडेर रोस्तोभले राम्रो बक्सिस दिन्थ्यो र अर्दलीका लागि उसको कुनै पनि सेवा गर्नु लाभदायक नै ठअर्थ्यो । । रोस्तोभले घोडाको गर्दन र पुट्ठा थप्थपायो । र केही छिन जति ओसारोमा नै हल्लिरह्यो ।
“यो घोडा एकदम सानदार छ,” उसले मुस्कुराउँदै आफूले आफैसँग भन्यो ।
त्यसपछि आफ्नो तरबार हातमा लियो र एँडी बजाउँदै ड्योढीतिर लाग्यो । हातमा बुस्म लिएर गोठको मल सफा गरिरहेको उसको घरवेटीले, जसले वेस्टकोट र चुच्चे टोपी लगाएको थियो, यसो हेर्यो र रोस्तोभलाई देखेर उसको अनुहार उज्यालो भयो । “शुभ प्रभात, शुभ प्रभात,” आँखा मिच्दै उसले भन्यो । उसले धेरै पटक दोहोर्याइ-दोहोर्याई
“शुभ प्रभात’ भन्यो, सायद उसलाई यस नवजवानलाई अभिवादन गर्न पाउँदा मजा लागिरहेको थियो ।
“काममा व्यस्त हुनुहुन्छ ?,” रोस्तोभले पनि दाजुभाइ जस्तै गरेर त्यसै प्रसन्ततापूर्वक मुस्कुराउँदै भन्यो, जुन मुस्कान उसको अनुहारमा धेरैजसो रहिरहन्थ्यो । “अस्ट्रियालीहरूको जय होस् । रसियालीहरूको जय होस् । सम्राट् अलेक्जेण्डरको जय होस् ।” जर्मनेली घरपतिको मुखैमा झुण्डिएका शब्दहरू उद्धररा गर्दै उसले भन्यो ।
त्यो जर्मनेली हाँस्यो । गोठबाट बाहिर आयो । उसले आफूले लगाएको चुच्चे टोपी खोल्यो र टाउको माथि नचाउँदै चिच्यायो :
“सारा संसारको जय होस् !”
रोस्तोभले पनि आफ्नो शिरको टोपी खोल्यो र उक्त जर्मनेलीले जस्तै टाउको माथि नचाउँदै र हाँस्दै भन्यो, “सारा संसारको जय होस् !” हुन त गोठ सफा गरिरहेको जर्मनेली र बिहानबिहान घोडाको लागि दानापानी व्यवस्था गरेर घोडामा फर्केको रोस्तोभको लागि पनि खास खुसीको कुरो केही थिएन तथापि यी दुई जनाले उल्लासपूर्वक र दाजुभाइसरह गरेर एक आपसमा हेराहेर-पारस्परिक प्रेमको प्रतीकको रूपमा शिर हल्लाए र मुस्कुराउँदै आपसमा छ्रुट्टिए । जर्मनेली गोठतिर गयो र रोस्तोभ देनिसोभसँग आफू बसेको घरतिर लाग्यो ।
“तिम्रो हाकिम खोई ?” रोस्तोभले देनिसोभको अर्दली लाब्रुस्कालाई सोध्यो जसलाई, सारा पल्टनमा बदमास मानिस भनेर चिनिन्थ्यो ।
“हिजो रातीदेखि नै घर आउनु भएको छैन । सायद पैसा हार्नु भयो होला,” लाब्रुस्काले उत्तर दियो । मलाई थाहा छ, जित्नु भयो भने उहाँ धाक लगाउँदै छिट्टै फर्कनु हुन्छ तर बिहानसम्म पनि फर्कनु भएन भने यसको अर्थ हुन्छ उहाँले हार्नु भयो । अब कति बेला झोँक्किदै फर्कनु हुन्छ । कफी ल्याउँ हजूर ?”
“हुन्छ, हुन्छ, ल्याऊ ।”
लाब्रुस्का दस मिनेटपछि कफी लिएर आयो ।
“साहेब आउँदै हुनुहुन्छ,” उसले भन्यो । “अब उत्पात मच्चाउनु हुन्छ भनेर बुझे हुन्छ ।”
रोस्तोभले झ्यालबाहिर आँखा लगायो र देनिसोभलाई आउँदै गरेको देख्यो ।
देनिसोभ रातो अनुहार, चमचमाउँदा काला आँखा र खुज्मुजिएको कालो जुँगा र कपाल भएको पुड्को खालको मानिस थियो । उसले टाँक खुला भएको हुस्सार सैनिकको ज्याकेट, चौडा खालको ब्रिचिस र कच्याककुचुक परेको बिर्के सैनिक टोपी लगाएको थियो । उसको अनुहार उदास थियो र शिर झुकाउँदै ओसारो नजिक आइपुग्दै थियो ।
“लाब्रुस्का,” ऊ झोक्किँदै ठूलो स्वरमा गर्ज्यो । “मलाई उतार, उल्लू ।”
“उतार्दै त छु नि हजूर,” लाब्रुस्काले जवाफ दियो ।
“ओहो, तिमी उठिसक्यौ,” कोठाभित्र प्रवेश गर्दै देतिसोभले भन्यो ।
“अहिले हो त,” रोस्तोभले जवाफ दियो, “म त घोडाको लागि दानापानी पनि व्यवस्था गरेर र कुमारी मातिल्दासँग भेट पनि गरेर आएँ ।”
“के कुरा गरूँ यार, म कुकुरको छाउरो, हिजो राती नराम्रोसँग पैसा हारेँ ।” देनिसोभ फत्फताइरह्यो । “आफ्नो त भाग्य नै खराब छ । तिमी हिँड्नेबित्तिकैदेखि गएको गयै भयो । ए, चिया ल्याऊ त ।”
मुस्कुराए पनि अनुहार खुम्च्याउँदै उसले सानासाना, बलिया दाँत देखाउँदै र दुवै हातका छोटाछोटा औँलाले लट्टा परेका कपालका बाक्ला रौँ खजमज्याउत थाल्यो ।
“कुन दशाले गर्दा मलाई त्यो मुसातिर तानेर लग्यो कुन्नि,” (एउटा अफिसरको उपनाम मुसा थियो) दुवै हातले निधार र पूरा अनुहार मुसार्दै उसले भन्यो ।
“हुन पनि कस्तो भयो भने, उसले मलाई एक हात पनि जित्न दिएन, ल हेर त ।”
देनिसोभले अर्दलीले सल्काएर दिएको सुल्फी हातमा लियो, त्यसलाई एकछिन मुट्ठीमा च्यापिरह्यो र आगोका झिल्का भुइँमा घोप्ट्याउँदै ठूल्ठूला स्वरमा भन्दै गयो ।
“एक हात जित्न दियो भने उसले दुई हात जित्थ्यो, फेरि एक हात जित्न दियो भने फेरि लगत्तै दुई हात जित्थ्यो । तासका पत्तीले पनि मान्छे चिनेझैँ अचम्मै भयो ।”
उसले सल्केको सुल्फीको आगो भुइँभरि फैलाउँदै, सुल्फी पनि फुटाल्यो र एक कोस टाढा हुर्यायो । ऊ त्यसपछि एकछिन चुप लाग्यो र उत्निखेरै आफ्ना चम्किला, कालाकाला आँखाले प्रसन्नतापूर्वक रोस्तोभलाई हेर्न थाल्यो ।
“कमसेकम यहाँ कुनै आइमाईहरू भएको भए पनि कुरा अर्कै हुन्थ्यो । यहाँ त पिउनेभन्दा गर्ने अर्को कुनै काम न्नै भएन । बरु छिटो लडाइँमा जान पाए पनि हुन्थ्यो । त्यहाँ को हो हँ?” उसले गरुङ्गो बुटजुत्ताको पदचाप रोकिएको र कसैले आदरपूर्वक खोकेको आवाज सुनेर ढोकातिर फर्कंदै भन्यो ।
“क्वाटरमास्टर, हजूर,” लाब्नुस्काले जवाफ दियो ।
देनिसोभको अनुहार झन् डल्लो परेर आयो ।
“कस्तो आपत हो छ्या,” सुनका केही सिक्का राखेको थैली फ्याँक्दै, “प्यारो साथी, रोस्तोभ हेर त त्यहाँ कति बाँकी छ ?” गन र त्यसलाई तकियामुनि राखिदेऊ,” ‘उसले भन्यो र क्वाटरमास्टरलाई भेट्न कोठाबाट बाहिर निस्क्यो ।
रोस्तोभले थैली लियो र यन्त्रवत् पुरानो र नयाँ सिक्का अलगअलग छुट्याएर गन्त लाग्यो ।
“ओहो, तेल्यानिन ! के छ हालखबर ! मलाई त हिजो राती लुटे क्यारे !” अर्को कोठाबाट देनिसोभको आवाज सुनियो ।
“कहाँ ? वाइक्योभ मुसाकहाँ ………? मलार्इ थाहा थियो ,” मसिनो खालको अर्को आवाज सुनियो । त्यति भन्दै घोडसवार कम्पनीको पुड्के लेफ्टिनेन्ट तेल्यानिन कोठाभित्र प्रवेश गर्यो ।
रोस्तोभले थैली तकियामुनि राखिदियो र आफूतिर बढेको सानोसानो चिसो हातसँग हात मिलायो । तेल्यानिनलाई प्रस्थान गर्नुभन्दा पहिले कुनै कारणबस गार्ड सेनाको यही पल्टनमा सरुवा गरिएको थियो । पल्टनमा उसको व्यवहार असाध्यै राम्रो थियो तर उसलाई कसैले पनि रुचाउँदैनथ्यो । यस अफिसरप्रति रोस्तोभको पनि घृणाको भावना
थियो तर उसले यस भावनामाथि न विजय पाउन सक्थ्यो न यो भावना लुकाउन सक्थ्यो ।
“लौ भन, नौजवान घोडसवार, मेरो रुक तिमीलाई कस्तो लागिरहेछ ?” (रूक तेल्यानिनले रोस्तोभलाई बेचेको घोडाको नाम थियो)
लेफ्टिनेन्ट तेल्यानिन आफूसँग कुरा गर्ने मानिससँग आँखा कहिल्यै जुधाउँदैन थियो । उसका आँखा घरी कतातिर घरी कतातिर लागिरहेका हुन्थे ।
“मैले आज बिहान तिमीलाई घोडा चढेर गइरहेको देखेको थिएँ,” उसले थप्यो ।
“ठीक छ, घोडा राम्रै छ,” रोस्तोभले जवाफ दियो । हुन त यो घोडाको मोल सात सय त के यसको आधा पनि पर्ने खालको होइन । “अगाडिको बायाँ खुट्टा लडखडाउन थालेको छ,” रोस्तोभले फेरि थप्यो ।
“टाप फाट्यो होला । यो ठूलो कुरो होइन । म तिमीलाई यस्तो अवस्थामा के गर्नुपर्छ भन्ने सिकाउँछु र कस्तो नाल ठोक्नु पर्छ भन्ने पनि देखाउँछु ।”
“लौ न त त्यति गर्दिनै पर्यो,” रोस्तोभले भन्यो ।
“म सबै कुरा बताइदिन्छु, यो कुनै लुकाउनु पर्ने कुरो पनि केही होइन । तर मैले अवश्य तिम्रो धन्यवाद पाउँछु ।”
“त्यसो भए म घोडा ल्याउन भन्छु,” रोस्तोभले तेल्यानीनसँग पिण्ड छुटाउने आशयले भन्यो र घोडा ल्याउने आदेश दिन बाहिर निस्क्यो । देनिसोभ मुखमा सुल्फी च्यापेर रिपोर्ट पेश गर्न लागिरहेको क्वाटरमास्टरको अगाडि ड्योढीको सँघारमा टुक्रुक्क बसिरहेको थियो । रोस्तोभलाई देखेर उसले अनुहार बिगार्यो र तेल्यानिन बसेको कोठातिर काँधमाथिबाट औँलाले इशारा गर्दै उसले नाकमुख खुम्च्यायो र वितृष्णाको कम्पन प्रकट गर्यो ।
“ओहो, मलाई यो मान्छे विल्कुल मन पर्दैन,” उसले क्वाटरमास्टरको उपस्थितिको पनि वास्ता नगरेर भन्यो ।
“रोस्तोभले पनि काँध जुर्क्याउँदै भन्यो – मलाई पनि मन पर्दैन तर के गर्नु ? ऊ घोडा ल्याउने आदेश दिँदै तेल्यानिनसँग आयो ।” तेल्यानिन रोस्तभले छोडेर गएकै अवस्थामा अलमस्तसँग बसेको थियो र आफ्ना सानासाना सेता हात मलिरहेको थियो ।
“यस्ता निर्लज्ज मान्छे पनि हुँदा रहेछन्,” रोस्तोभले कोठाभित्र छिर्दै सोच्यो ।
“घोडा ल्याउन पठायौ ?” उठेर हेलचेक्राईसाथ यताउति हेर्दै तेल्यानिनले सोध्यो ।
“हो, पठाएको छु ।”
“आऊ त हामी पनि जाउँ । म त देनिसोभसँग हिजोको आदेशबारे सोध्न आएको थिएँ । देनिसोभ, पुग्यो तिमीसँग त्यो आदेश ?”
“पुगेको छैन । तिमी कता जान लाग्यौ त ?”
“यो नौजवानलाई घोडाको नाल कसरी ठीक गर्ने भनेर सिकाउन चाहन्छु” तेल्यानिनले जवाफ दियो ।
दुवै जना ओसारो नाघेर घोडाको तबेलामा गए । तेल्यानिनले घोडालाई नाल कसरी ठोक्ने भनेर रोस्तोभलाई सिकायो र आफ्नो घरतिर लाग्यो ।
रोस्तोभ फर्कदा टेबुलमा भोड्काको बोतल र ससेज राखिएको थियो । देनिसोभ बसेर कलम घोटीघोटी केही लेख्दै थियो । उसले उदास अनुहार लगाएर रोस्तोभलाई हेर्यो ।
“म त्यस सुन्दरीलाई चिठी लेखिरहेछु,” उसले भन्यो ।
“उसको हातमा कलम थियो र उसले टेबुलमाथि कृहिना अड्याएको थियो र सम्भवतः पत्रमा लेख्न लागेका कुरा अक्षरमा छिटोछिटो प्रकट गर्ने अवसर मिलेको हुँदा खुसी लागेजस्तै गरेर रोस्तोभलाई चिठीको आशय बतायो ।
“कुरा यस्तो छ प्रिय मित्र,” उसले भन्यो । “जबसम्म हामी कसैलाई प्रेम गर्दैनौँ, सुतिरहेका हुन्छौँ । हामी माटोका सन्तान हौँ ………. तर जसै हामी कसैलाई प्रेम .गर्न लाग्छौँ – भगवान् बन्छौँ । जन्म लिएको दिनमा जस्तै हामी पवित्र हुन्छौँ – फेरि अर्को को आयो हँ ? धपाइदेऊ उसलाई । मलाई अहिले फुर्सद छैन ।” उसले चिच्याउँदै लाब्रुस्कालाई भन्यो, जो नलजाइकन उसँग आएको थियो ।
“को आउँछ ?” तपाईं आफैले उसलाई बोलाउनु भएको हो । क्वाटरमास्टर पैसा लिन आएको छ।”
देसिनोभलाई रिस उठ्यो । ऊ चिच्याएर केही भन्ने सुरमा थियो तर चुप लाग्यो ।
“बडो आपत् पर्यो बा,” उसले आफूले आफैलाई नै भन्यो । “थैलीमा कति पैसा बाँकी छ ?” उसले रोस्तोभसँग सोध्यो ।
“सात रुबल नयाँ र तीन रुबल पुराना ।”
“ओहो, फसाद पर्यो । ए बेकुफ ! उभिँदै के हेरिरहेको हँ? क्वाटर मास्टरलाई बोलाऊ,” उसले लाब्रुस्कालाई आदेश दियो ।
“दिनिसोभ तिमीले मसँग केही पैसा लिए हुन्छ । मसँग पुग्छ, बुझ्यौ ।” रोस्त्तोभलाई रातोरातो मुख लाउँदै भन्यो ।
“म आफ्ना मान्छेहरूसँग सापट लिन चाहन्नँ, म लिंदै लिन्नँ,” देनिसोभ भर्क्यो ।
“तर एउटा साथी भएर तिमीले मसँग पैसा लिन मान्दैनौ भने मेरो चित्त दुख्नेछ । साँच्चै हो, मसँग पैसा छ भन्या,” ,रोस्तोभले आत्तिदै फेरि भन्यो ।
“भनिहाँले नि, तिमीसँग लिँदै लिन्नँ भनेर ।”
देनिसोभ तकियामुनि राखेको थैलीको पैसा लिन पलङ्तिर गयो ।
“रोस्तोभ, थैली कहाँ राखेका थियौ हँ ?”
“तल्लो तकियामुन्तिर ।”
“त्यहाँ त छैन त ।”
देनिसोभले दुइटै तकिया टक्टम्याएर भुइँमा फ्याँक्यो तर थैली भेटिएन ।
“के गजब भयो हँ ।”
“पर्ख, पर्ख, तिमीले कतै अन्तै खसाल्यौ कि ? बिर्सियौ कि ?” एउटा एउटा तकिया उठाउँदै टक्टक्याउँदै उसले भन्यो ।
रोस्तोभले कम्बल पनि उठाएर टक्टक्यायो तर थैली भेटिएन ।
“मैले अन्तै कतै राखेर बिर्सन त बिर्सिनँ । होइन, होइन, मलाई विश्वास छ तिमीले कुनै ठूलै खजाना लुकाएजस्तै जहिले पनि सिरानमुनि नै राख्ने गर्छौ,” रोस्तोभले भन्यो । मैले त खुद यही सिरानीमुनि नै राखेको हुँ तर कहाँ गयो त ? उसले लाब्रुस्कातर्फ फर्कदै सोध्यो ।
“म त त्यो कोठाभित्र पसेको पनि छैन, तपाईंले जहाँ राख्नु भएको थियो त्यहीँ नै हुनु पर्ने हो ।”
“तर यहाँ छैन त ।”
“तपाईंले त सधैँ यस्तै गर्नु हुन्छ, मालसामान एकातिर थन्क्याउनु हुन्छ र राखेको ठाउँ बिर्सनु हुन्छ । एक पटक खल्ती पनि छामेर हेर्नुस् त ।”
“होइन, मैले ठूलै खजाना ठानेको भए त कहीँ अन्तै पनि राख्न सक्थेँ,” रोस्तोभले भन्यो, “तर मलाई राम्ररी याद छ मैले त्यो थैली तकियामुनि नै राखेको हुँ ।”
लाब्रुस्काले सबै बिछ्यौना टकटक्यायो, पलङमुनि हेर्यो, टेबुल-कुर्सीमुनि हेर्यो, पूरा कोठा निरीक्षण गर्यो र हैरान भएर कोठाको बीचमा उभिइरह्यो । देनिसोभले लाब्रुस्काका हरेक गतिविधि नियालिरहेको थियो र जब उसले कहीँ भेटिएन भनेर हातखुट्टा छोड्यो, देनिसोभले रोस्तोभतिर हेर्यो ।
“रोस्तोभ, कतै तिमी स्कूलका केटाकेटीले जस्तै ख्यालठट्वा त गर्दै छैनौ ?”
रोस्तोभले आफ्नो अनुहारमा देनिसोभको दृष्टि गडेको अनुभव गर्यो, आफ्ना आँखा माथितिर उठायो र फेरि तत्काल भुईँतिर झुकायो । उसको शरीरको सम्पूर्ण रगत, जो घाँटीमुनि कतै अडिएको थियोः, छिटोछिटो अनुहार र आँखामा दगुर्न थाल्यो । उसलार्इ सास फेर्न गाह्रो भयो ।
“कोठामा त लेफ्टिनेन्ट र तपाईंबाहेक अरू कोही छँदै थिएन, होइन, थैली त यहीँ कतै हुनै पर्छ,” लाब्रुस्काले भन्यो ।
“ए तँ राक्षसको सन्तान, अलि फुर्तीफार्ती गर र थैली खोजेर निकाल,” देनिसोभ अचानक रिसाएर रातोरातो अनुहार लगाउँदै अर्दलीतिर झम्टिँदै उसलाई धम्काउन लाग्यो । “खुरुक्क थैली खोजेर ल्या नत्र म तेरो छाला काढ्छु ।”
देनिसोभसँग आँखा जुधाउन नसकेर रोस्तोभले आफ्नो ज्याकेटको टाँक लगाउन थाल्यो । उसले कम्मरमा आफ्नो तरबार भझुण्ड्यायो र टोपी लगायो ।
“मलाई कुनै हालतमा पनि त्यो थैली चाहिन्छ, बुझिस्,” अर्दलीको कठालो समातेर भित्तामा ठोक्याउँदै देनिसोभ गर्ज्यो ।
“देनिसोभ यो विचरालाई नसताङ । थैली कसले लिएको भन्ने कुरा मलाई थाहा छ,” ढोकासम्म गएर आँखा पनि नउघारी रोस्तोभले भन्यो ।
देनिसोभ हच्क्यो । उसले केही सोच्यो र रोस्तोभका भनाइको आशय बुझेजस्तो गरेर उसको हात समात्यो ।
“तिमी फाल्तु कुरा गर्दैछौ” देनिसोभ यसरी चिच्यायो कि उसको गर्दन र निधारका नसा डोरीजस्तै भएर आए । “तिम्रो दिमाग फेल भइसकेको छ । म यस्तो हुन दिन्नँ । थैली यहीँ छ । म यस दुष्टको छाला काढ्छु । अनि थैली पनि फेला पर्नेछ ।
“थैली कसले लिएको छ भन्ने कुरा मलाई थाहा छ,” रोस्तोभले कम्पित आवाजमा फेरि भन्यो र ढोकातिर लाग्यो ।
“मैले तिमीलाई “यस्तो गर्ने साहस नगर भन्दै छु,” देनिसोभ रोस्तोभलाई रोक्न उतिर हुत्तिँदै चिच्यायो ।
तर रोस्तोभले पनि यस्तो रिसाउँदै आफ्नो हात तान्यो मानौँ देनिसोभ उसको सबभन्दा ठूलो दुस्मन होस् । अनि उसको अनुहारमा सोझै र दृढतापूर्वक हेर्दै आफ्नो आँखा नराम्रोसँग गाड्यो ।
“तिमी जे भन्दैछौ, त्यसको अर्थ थाहा छ ?” रोस्तोभले कम्पित आवाजमा भन्यो, “मबाहेक कोठामा अरू कोही थिएन । त्यसकारण ……म….. ।
उसले वाक्य पूरा गर्न पनि सकेन र कोठाबाट बाहिर निस्क्यो ।
“तिमीहरूजस्ता मान्छे जहाँसुकै जाओ र मर,” रोस्तोभका कानमा देनिसोभको यही अन्तिम शब्द गुन्जिरह्यो ।
रोस्तोभ तेल्यानिनको घर पुग्यो ।
“साहेब घरमा हुनुहुन्न । प्रमुख सैनिक कार्यालयमा जानु भएको छ,” तेल्यातिनको अर्दलीले उसलाई भन्यो । “खास कुरा केही छ कि हजूर ?” रोस्तोभको उत्तेजित अनुहार देखेर अर्दलीले आत्तिँदै रोध्यो ।
“होइन, त्यस्तो खास कुरो केही छैन ।”
“भर्खरै जानु भएको हो ।” अर्दलीले भन्यो ।
प्रमुख सैनिक कार्यालय सार्वजनिक ठाउँबाट तीन माइल जति टाढा पर्थ्यो । रोस्तोभ घर फर्केन र घोडा चढेर उतैतिर लाग्यो । प्रमुख सैनिक कार्यालय रहेको गाउँमा एउटा रक्सीभट्टी थियो, जहाँ फौजी अफिसरहरू जाने गर्थे । रोस्तोभ त्यहीँ पुग्यो र ढोकैमा उसले तेल्यानिनको घोडा देख्यो ।
लेफ्टिनेन्ट तेल्यानिन एउटा कोठामा बसेर ससेज खाँदै रक्सीको बोतलअगाडि राखेर मस्तसँग पिउँदै थियो ।
“ओहो, तिमी पनि आयौ नौजवान, तेल्यानिनले मुस्कुराउँदै र आँखीभौँ माथितिर उठाउँदै भन्यो ।
“आएँ त ति,” बोल्न पनि साह्रै ठूलो कष्ट भएझैँ गरेर रोस्तोभले उत्तर दियो र नजिकैको एउटा कुर्सीमा गएर बस्यो ।
दुवै जना केही बोलेनन् । कोठामा एक जना जर्मनेली र अर्को रसियाली अफिसर बसेका थिए । तर ती सबै जना चुपचाप थिए । ससेज खाँदा चलाएको लेफ्टिनेन्ट तेल्यानिनको काँटाचम्चाको आवाज मात्र आइरहेको थियो । खानपिन गरिसकेपछि तेल्यानिनले खल्तीवाट थैली निकाल्यो र आफ्ना सानासाना र सेतासेता औँलाले तुना खोलेर उचाल्यो । त्यसबाट सुनको एउटा सिक्का निकाल्यो र आँखीभौँ माथितिर उठाउँदै वेयरालाई बोलाएर उसको हातमा थमायो ।
“बाँकी पैसा फिर्ता लिएर छिट्टै आइज है, “उसले वेयरालाई भन्यो ।”
सुनका सिक्का नयाँ थिए । रोस्तोभ आफू बसेको ठाउँबाट यसो उठ्यो र तेल्यानिन भए ठाउँमा गयो।
“मलाई त्यो थैल्ली हेर्न दिनु पर्यो,” उसले मसिनो स्वरमा सुन्न पनि गाह्रो आवाजमा भन्यो ।
तेल्यानिनले छिटोछिटो यताउति हेर्यो तर माथितिर उठाएको आफ्नो आँखीभौँ जस्ताकोतस्तै अवस्थामा राख्दै, त्यो थैली रोस्तोभलाई दियो ।
“कति राम्रो थैली रहेछ हगि – हो त नि, असाध्यै राम्रो छ” उसले भन्यो । तर यत्तिकैमा उसको अनुहारको रङ उडेर गयो । “राम्रोसँग हेर है नौजवान, बल्लबल्ल उसले यति शब्द थप्यो ।
“रोस्तोभले थैली हातमा लियो र ओल्टाइपल्टाइ हेर्यो, त्यहाँ भित्र बाँकी भएका सिक्काहरू गन्यो र फेरि तेल्यानिनतर्फ दृष्टि दियो । लेफ्टिनेन्ट तेल्यानिनले आफ्नो बानीअनुसार यताउति दृष्टि घुमायो । तर उसले यसो गर्दा यस्तो लाग्दथ्यो कि ऊ एक प्रकारको प्रसन्तताको भाव अनुभव गरिरहेछ ।
“भियना पुगेपछि बाँकी पैसा त्यहीँ खर्च गरौँला तर यस्तो जाबो ठाउँमा यत्रो पैसा खर्च गर्ने कुरै भएन,” उसले भन्यो । “खै मेरो थैली फिर्ता देऊ मलाई, नौजवान म अब यहाँबाट हिँड्न लागेँ ।”
रोस्तोभ केही बोलेन ।
तिमी पनि यहाँ खानपिन गर्नकै लागि आएका हौ क्यारे, होइन ?” यहाँका खाने कुरा राम्रै छन्,” तेल्यानिन बोल्दै गयो । “तिमी त केहीछिन बसेर खानपिन गरौला क्यारे । म त जान लागेँ । मेरो पैसाको थैली मलाई देऊ ।”
तेल्यानिनले हात अगि सार्दै थैली समात्यो । रोस्तोभले पनि उसलाई थैली दियो । थैली हातमा लिएपछि तेल्यानिनले ब्रिचिस सुरुवालको खल्तीभित्र घुसार्न लाग्यो । उसका आँखीभौँ माथिमाथि उठ्न थाले र उसको मुख अलिकति खुल्यो मानौँ ऊ भनिरहेको होस् – हो, म यो थैली मेरो खल्तीभित्र घुसार्दै छु । कुरो एकदम सफा छ । लुकाउनु ढँटाउनु यसमा केही छैन – र, अरू कुराभन्दा पनि यस थैलीको विषयमा कसैले केही चासो राख्नु पर्ने मतलब पनि छैन ।”
“लौ त तन्नेरी”, उसले लामो सास फेर्यो र भन्यो । अनि आँखीभौँ तलतिर झार्दै रोस्तोभतिर हेर्यो । क्षणभरमा नै बिजुलीको गतिमा एउटा प्रकाशपुञ्ज तेल्यानिनको आँखाबाट रोस्तोभका आँखामा गएर ठोक्कियो – पौराणिककालको वाणसरी फिर्ता आयो- फेरि गयो फेरि आयो………….. फेरि गयो………….. ।
“यता आऊ,” तेल्यानिनका हात पकडदै रोस्तोभले भन्यो । रोस्तोभले उसलाई बलपूर्वक तान्दै ढोकासम्म लग्यो । “यो पैसा देसिनोभको हो र तिमीले चोरेका हौ” उसले विस्तारै तेल्यानिनको कानमा भन्यो ।
“के रे ? के भन्यौ ? यस्तो कुरा गर्ने साहस कसरी आयो तिमीमा ?,” तेल्यानिन बम्क्यो ।
तर उसका यी शब्दहरू दया, क्षमा र समर्पणको याचनास्वरूप उसको मुखबाट प्रस्फुटन भइरहेका थिए । रोस्तोभलाई यस्तो अनुभूति हुनासाथ उसको मनमा भएको सानोतिनो शङ्का र ठूलो बोझ हटेर हल्का भयो । ऊ खुसी भयो, तर आफूसामु उभिएको अभागी मानिसलाई देखेर उसलाई अपशोच पनि लाग्यो । जे भए पनि यसरी सुरु गरेको काम पूरा नगरी छोड्न भएन, जसरी पनि पूरा गर्नै पर्ने थियो ।
“मलाई यहाँ देख्नेसुन्ने मान्छेले के भन्लान्,” तेल्यानिन टाउकोबाट टोपी झिकेर एउटा सानो खाली कोठातिर लाग्दै भुत्भुतायो ।
“यो कुरोको छिनोफानो नगरी हुँदैन ।”
“म…………….।”
तेल्यानिनको पहेँलो र भयभीत अनुहारको नसानसा काँप्न थाले, उसका आँखा अझ्नैसम्म पनि यताबाट उता र उताबाट यता घुम्दै थिए । तर रोस्तोभलाई हेर्न सक्तैनथे र उँधो मात्र हेर्दै थिए । ऊ सुँक्कसुक्क गर्न थालेको सुनियो ।
“काउन्ट रोस्तोभ ! ..:, …. मेरो जिन्दगी बरबाद नगरिदेऊ ……….– यो अलच्छिना पैसा लैजाऊ ………… ।” उसले पैसा टेबुलमाथि फ्याँकिदियो । “मेरा बाबुआमा बुढा छन् ।”
तेल्यानिनसँग आँखै नजुधाई रोस्तोभले पैसा लियो र केही नबोलेर कोठाबाट बाहिर निस्क्यो । तर ऊ ढोकानिर पुगेर टक्क रोकियो र फेरि फर्क्यो ।
“हे भगवान्” उसले आँखाबाट बर्रर आँसु झार्दै भन्यो । “तिमीले यो के गर्यौ र कसरी गर्यौ ?”
“काउन्ट,” रोस्तोभ नजिक आएर तेल्यानिनले बिलौना गर्यो ।
“मलाई छुने होइन है,” उसलाई धकेल्दै रोस्तोभले भन्यो । “साँच्चै नै आवश्यक छ भने बरु यो पैसा लिए हुन्छ, लौ ।” रोस्तोभले पैसाको थैली उसको अगाडि फ्याँक्दैँ भट्टीबाट बाहिर निस्क्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।