ऊ बाहिर मात्र के निस्केको हुँदो हो , मानिसहरू थरी थरीका तर्कवितर्क गर्न लागिहाले ।

“पुरानो खालको मान्छे रहेछ ! ”-पसलको कारिन्दाले भन्यो ।

“छ्या ! लोग्नेमान्छे नै घरको स्वामी हो रे ! लोग्ने मान्छे नै हर्ताकर्ता हो रे ! कस्तो पुरानो विचार- नारीहरूको बारेमा र विवाहसम्बन्धको बारेमा पनि !”-आइमाई भन्न लागी ।

“यूरोपको समसामयिक विचारको दाँजोमा त विवाहबारे हाम्रो धारणा नै ज्यादै पुराना लाग्छन्‌ !”-वकिलिले सही थाप्यो ।

“प्रेम नै नभईकन यदि लगनगाँठो बाँधिन्छ भने त्यस्तो विवाहलाई विवाह नै भन्न मिल्दैन । तर यी मान्छेहरू त यो कुरा बुझ्दा पनि बुझ्दैनन्‌ । मायापीर्तिको जगमा गरिने विवाह नै वास्तवमा सच्चा विवाह हो । त्यसैमा पवित्रता पनि हुन्छ ।”

पसलको कारिन्दा कुरा सुन्दै मुस्कुराइरहेको थियो । ऊ त यस्ता घतलाग्दा वाक्यहरू सकभर बढी कण्ठाग्र पार्ने कोशिश गरिरहेको थियो । जसले गर्दा पछि बेलामौकामा तिनको प्रयोग पनि गर्न सकियोस्‌ !

आइमाई पनि बोलि नै रहेकी थिई । त्यत्तिकैमा मैले आफ्नो पछिल्तिर एउटा अनौठो आवाज सुनें, मानौं कसैले आफ्नो हाँसो वा खित्कालाई सकी नसकी रोक्ने जमर्को गरिरहेको होस्‌ । मैले पछिल्तिर फर्केर हेरें । त्यहाँ त्यही तीलचामले कपाल भएको मेरो सहयात्री बसिरहेको थियो जो कुराको सिलसिलामा ऊ ज्यादै वर आइसकेको थियो, यद्यपि हामीले त्यसतर्फ कुनै ध्यान दिएकै थिएनौं । निश्चय नै पनि उसलाई यस विषयमा खूब रुचि हुँदो हो । ऊ सीटको अडेसमा सहारा लिएर उभिइरहेको थियो र ज्यादै नै उत्तेजित पनि देखिन्थ्यो । उसको अनुहार रातै भैसकेको थियो र गालाको मासु पनि थर्थर हल्लिरहेको थियो ।

“आखिर त्यो…अँ , त्यो प्रेम भन्ने कुरा के हो जसले विवाहलाई पवित्र बनाइदिन्छ ?”-उसले खूब जोड लगाएर प्रश्न गर्यो ।

उसलाई यसरी उत्तेजित भएको देखेर आइमाईले बडो विनम्र र बडो गम्भीर हुँदै उसको प्रश्नको उत्तर दिन शुरु गरी-

“सच्चा प्रेम !..यो पुरुष र स्त्रीको आपसी प्रेम हो र विवाह पनि हुन सक्छ ।”

“तर सच्चा प्रेम यही नै हो भनेर कसरी ठम्याउन सकिन्छ नि ?”-चम्किला आँखा हुने मान्छेले संकोच मान्दै भन्यो । उसका ओंठमा अनौठो मुस्कान जडिएको थियो ।

“सच्चा प्रेम कस्तो हुन्छ भन्ने त जसलाई पनि थाहा छ !”-आइमाईले उत्तर फर्काई । ऊ छिटै कुरा टुंग्याउन खोज्दैथिई ।

“मलाई थाहा छैन । तपाई कुन कुरालाई प्रेम भन्नुहन्छ क्या रे ?”-उसले अगाडि भन्ने शुरु गर्यो ।-“त्यसको परिभाषा समेत बताइदिनुभए बेस हुनेथियो !”

“यो त सामान्य कुरा हो ।”-आइमाईले झटपट भनी, तर तुरुन्त रोकिएर गौड गर्न लागी ।-“प्रेम !…प्रेम भनेको कुनै एक जनालाई मन पराउनु हो ।”

“कति समयको लागि ? एक महीनाको लागि कि? दुई दिनको लागि कि? वा एकाध घण्टाको लागि ?” -तीलचामले कपाल भएको मान्छेले हाँसेर भन्यो ।

“पर्खनुस्‌ ! सके तपाईं कूनै अर्कै कुराको विचार गर्दैहुनुहुन्छ क्या रे !”

“हैन, म कुनै अर्कै चीजको बारेमा सोचिरहेको छैन!”

“यिनको भनाईको तात्पर्य के हो भने…”-वकिलले आइमाईको समर्थन गर्ने तवरले भन्न शुरु गर्यो ।-“विवाहको मुख्य आधार आकर्षण हुनुपर्छ । तपाई निसन्देह त्यसलाई प्रेमको संज्ञा दिन सक्नुहुन्छ । यदि यो मौजूद छ भने त्यतिखेर गरिएको विवाहलाई… पवित्र भन्न सकिन्छ । साथै जुन विवाहको आधार यो पारस्पारिक आकर्षण (अवश्य पनि तपाईं यसलाई प्रेम भन्न सक्नुहुन्छ) हुँदैन त्यससित कुनै नैतिक जिम्मेदारी पनि त जोडिएको हुँदैन । के तपार्इले भन्न खोज्नुभएको यही होइन त ?”-उसले आइमाईलाई सम्बोधन गर्दै सोध्यो पनि ।

आइमाईले उसको भनाइ सकारी ।

“अनि फेरि …”- वकिल अगाडि भन्दैगयो । उसका आँखा आगोका फिलिङ्का झै टल्किरहेका थिए । साथै ऊ कति उत्तेजित भयो भने अब नबोलीकन चूप लाग्नु त उसको निम्ति सम्भव नै थिएन ।

“हैन, हैन ! म त्यही कुरा गर्दैछु । यदि सबैमध्ये कुनै एक जनालाई मन पराउन नै प्रेम हो भने म फेरि दोहोर्याएर सोध्न चाहन्छु: कति लामो अवधिको लागि ?”

“कति लामो अवधिको लागि ? किन र ? लामै अवधिको लागि ! यहाँसम्म कि जिन्दगीभरकै लागि !”

“तर यस्तो कुरा त दन्त्यकथामा मात्र हुन सक्छ, वास्तविक जीवनमा हुँदैन । जीवनमा त कहिलेकाहीं कसैलाई मन पराइहालियो भने पनि त्यो विरलै केही वर्षसम्म मात्र कायम रहन्छ, नत्र भने केही महीनाभित्रमा नै त्यो टुङ्गिइहाल्छ । अझ कहिलेकाही त केही हप्ता,दिन वा घण्टा पछि नै समाप्त भैहाल्छ !”-उसले भन्यो । उसको विचार सुनेर मानिसहरूलाई वाक्क लागिसक्यो भन्ने उसलाई थाहा थियो तर अरुलाई हैरान तुल्याउनमा नै उसलाई मजा लागिरहेको थियो ।

“वाह रे वाह ! तपाईं एकदमै गलत कुरा भन्दैहुनुहुन्छ ! सुन्नोस्‌ त !”-हामी तिनै जनाले एकै स्वरमा उसको खण्डन गर्यौ । कहाँसम्म भने पसलको कारिन्दा समेत आफ्नो असन्तोष जनाउन भनेर सुस्तसुस्त केही बड्बडायो ।

“हो, हो ! मलाई थाहा छ !” -तीलचामले कपाल भएको मान्छेले कति जोडसित कराएर भन्यो भने हाम्रो स्वर त त्यसै कता बिलायो कता ।-“तपाईंहरू काल्पनिक कुरा गर्दैहुनुहुन्छ, म चाहिँ वास्तविकताको कुरा गर्दैछु । अहिले पनि कुनै मान्छेले कुनै सुन्दरीलाई देख्दा उसको मनमा त्यही भावना उब्जन्छ जसलाई तपाईंहरू प्रेम भन्नुहुन्छ ।”

“तपाईं त बडो भयंकर कुरा पो गर्दैहुनुहुन्छ । आखिर मान्छेमा यस्तो भावना पनि – त पाइन्छ जसलाई हामी प्रेम भन्छौं । त्यसलाई महीना वा वर्षको नापोले नाप्न सकिदैन । त्यो त जीवनभर नै कायम रहन्छ ।”

अहँ ! यस्तो कुनै भावना-सावना छँदैछैन । कुनै व्यक्तिले कुनै विशेष आइमाईलाई जिन्दगीभरि नै अरुलाईभन्दा बढी मन परायो रे भन्ने मानेको खण्डमा पनि त्यस आइमाईले चाहिं कुनै अर्कै व्यक्तिलाई मन पराएको हुनु बढी सम्भाव्य छ । वास्तविक स्थिति यस्तो छ जुन परापूर्व कालदेखि यसरी नै चलेर आइरहेको छ ।”-उसले चूरोट झिकेर सल्काउँदै भन्यो ।

“तर दुवैको भावना एक दोस्रोप्रति एकैनासको हुनु पनि त सम्भव छ ।”-वकिलले भन्यो ।

“अहँ !’यस्तो कदापि हुनै सक्तैन ।”-उसले नकार्दै जवाफ दियो ।-“केराउँका दुर्इ गेडालार्इ हातमा लिएर बोरामा हालियो भने के ती दुवै गेडा एकै ठाउँमा रहन्छन्‌ र ? हो, त्यसै गरी यो यो कुरा असम्भव छ । अझ साँच्चै भन्ने हो भने स्त्री र पुरूषको सम्बन्ध संयोगमा त्यति आधारित हुँदैन जति भोगविलासमा हुन्छ । कसैले जिन्दगीभरि कसैलाई प्रेम गरिराख्न सक्छ भन्ने ठान्नु नै गलत हो । मैनबत्तीले कति नै बेर उज्यालो दिइराख्न सक्छ र ?”-चुरोटको लामो सर्को तान्दै उसले भन्यो ।

“तपाईं फगत्‌ शारीरिक प्रेमको मात्र कुरा गरिरहनुभएको छ । यति त तपाईं जरुर पनि मान्नुहुन्छहोला कि एक अर्कै किसिसको प्रेम पनि हुन्छ जो विचारको साम्यता तथा आन्तरिक तादाम्यतामा आधारित हुन्छ ।”-आइमाईले भनी ।

“आन्तरिक तादात्म्यता ! विचारको साम्यता !”-उसले दोहोर्योयो । उसको मुखबाट त्यस्तै आवाज निस्कियो जुन मैले शुरुमै सुनेको थिएँ । -“यदि कुरा यस्तै हो भने सँगसँगै सुत्नु नै किन पर्यो र (मेरो अशिष्ट भाषाको लागि माफ गर्नुहोला) ! जसको विचार मिल्छ उनीहरूले एक दोस्रोलाई च्यापेर सुत्नैपर्छ भन्ने कतै कसैले कहिल्यै सुनेको छ त ?”-उसले भन्यो र हतासिंदै हाँस्यो ।

“पर्खनोस्‌ त !”-वकिलले भन्न शुरु गर्यो ।-“तपाईंको तर्क बास्तविक जीवनमा लागू नै हुँदैन । जीवनमा पति र पत्नीको नातामा स्थिरता हुने कुरा हामी देख्छौं । सबका सब त नभनौं , तर अधिकांश मान्छेहरू स्थिरतापूर्वक रहन्छन्‌ । अधिकांश दम्पत्ति अन्त्यसम्म नै एक दोस्रोप्रति ईमान्दारीपूर्वक व्यवहार गर्छन्‌ !”

तिलचामले केश भएको मान्छे फेरि हाँस्न लाग्यो ।

“एकातिर त तपाईं विवाहको आधार नै प्रेम हो भन्नुहुन्छ । अनि जब म शारीरिक प्रेमसिवाय अरु पनि कुनै प्रेम छ कि छैन भन्ने कुरामा सन्देह प्रकट गर्छु त तपाईं चाहिं बिवाहको अस्तित्व भएको हुनाले प्रेमको पनि अस्तित्व छ भन्ने तर्क झिक्नुहुन्छ । आजकल जुन बिवाहको रीत पुर्याइन्छ त्यो त धोखा मात्र हो, अरु केही पनि होइन !”

“अहँ , होइन ! बिल्कुलै होइन !”-वकिलले भन्यो ।-“मैले त के मात्रै भनेको हुँ भने विवाह आज पनि सम्पन्न गरिँदैछ र सदासर्वदा नै सम्पन्न गरिँदैआएको छ ।”

“ठीक छ । तर त्यसको आधार के हो? तिनै मान्छहरूको विवाहमा स्थिरता हुन्छ जो विवाहलाई पवित्र ठान्छन्‌ । यस्तो वैवाहिक पवित्रता अन्तर्गत कर्तव्य पनि पर्न जान्छ र त्यसको लागि उनीहरू ईश्वरको समक्ष आफूलाई उत्तरदायी ठान्न पुग्छन्‌ । यस्ता मान्छेहरूको विवाहमा स्थिरता हुन्छ, तर हामीकहाँ यस्तो हुँदैन । हामी त फगत्‌ इन्द्रिय सुखभोगको लागि मात्रै बिहे गछौँ । यसै कारण हाम्रो परिणाम कि त हिंसा हुन्छ, कि त धोखा । यी दुई खरावीहरूमध्ये कुनै एकलाई रोज्नु पर्यो भने धोखा नै बढी बेस मानिनेछ । एक-पत्नी या एक-पति विवाहको सूत्रले बाँधिएको जस्तो देखाएर पति र पत्नी दुवै नै मानिसहरूको आँखामा छारो हाल्छन्‌ , जब कि उनीहरू वास्तवमा बहु-पत्नी वा बहु-पति विवाहको जीवन बिताइरहेका हुन्छन्‌ । यो बहुतै घुणित कुरा हो, परन्तु यसलाई स्वीकार गर्न सकिन्छ । तर जतिखेर पति र पत्नी आजीवन सँगसँगै रहने दायित्व आफुमा लिन्छन्‌, जस्तो कि सामान्यतया हुन्छ पनि, र विवाह सम्पन्न भएको एक महीना बित्न पाउँदा नपाउँदै एक दोस्रोलाई घृणा गर्न थाल्छन्‌ र एक अर्काबाट छुट्टिन चाहँदा चाहँदै पनि सँगसँगै रहने गर्छन्‌ भने यसको नतीजा कस्तो हुन्छ ?यसको परिणाम हुन्छ- त्यही घोर यन्त्रणा जसले मानिसलाई टन्न रक्सी खाएर मात्तिन, आत्महत्या गर्न, अरुलाई मार्न र विष दिन बाध्य गराइदिन्छ ।”-उसको उत्तेजना बढ्दैगइरहेको थियो र ऊ चर्को स्वरमा भन्दै पनि गइरहेको थियो । सके कसैले बीचैमा कुरा नकाटिदेओस्‌ भनेर ऊ डराएको हुँदो हो । उसको बोली रोकिनेबित्तिकै त्यहाँ एउटा अनौठो मौनता छाएको थियो ।

“हो, ठीक हो ! निसन्देह नै कहिलेकाही लोग्ने-स्वास्नीको बीचमा निर्णायक घडी आउँछ !”-वकिलिले यो कुरा-के आशा राखेर भनेको थियो भने उसको यस कथाबाट त्यो उत्तेजनापूर्ण र अप्ठेरो कुराकानी त्यत्तिकैमा टुक्गिइहालोस्‌ ।

“के तपाईंले मलाई चिनिहाल्नुभो त।”-तिलचामले केश भएको मान्छेले विस्तारै भन्यो, मानौं उसको उत्तेजना केही साम्य भएको होस्‌ ।

“अहँ ! मलाई यो सौभाग्य प्राप्त भएको छैन !”

“यसमा सौभाग्यको त कुनै कुरा नै छैन । मेरो नाम पोज्दनिशेभ हो । जुन निर्णायक घडीको तपाईंले चर्चा गर्नुभयो त्यसलाई मैले पार गरिसकेको छु । त्यही घडीलाई पार गर्ने बेला नै मैले आफ्नी पत्नीको हत्या गरिदिएको थिएँ।”-एक एक गर्दै हामी सबैतर्फ नजर दौडाएर उसले भन्यो ।

सबै चूपचाप बसिरहे । कसैले पनि केही भन्नै सकेन ।

“केही छैन !”-उसले नै मौनता भंग गर्दै भन्यो । फेरि त्यही अनौठो आवाज उसको मुखबाट निस्कियो ।-“तर माफ गर्नुहोला ! तपाईंहरूलाई तकलीफ पुर्याउने मेरो कुनै इरादा थिएन ।”

“हैन, हैन ! कृपया भन्दैजानोस्‌ !”-वकिल बोल्यो । तर “हैन, हैन” भन्नुमा उसको के अभिप्राय थियो त्यो त स्वयं उसैलाई समेत थाहा थिएन ।

उसतर्फ कत्ति पनि ध्यान नदिएर पोज्दनिशेभ फनक्क फर्केर बस्यो । वकिल र त्यो आइमाई आपसमा खासखुस गर्न लागे । म पोज्दनिशेभको बगलमा नै बसिरहेको थिएँ, तर मैले पनि केही बोलिनेँ। के भन्ने भनेर नै म ठम्याउन सकिरहेको थिइनँ । अँध्यारो भैसकेको हुँदा केही पढ्न पनि सक्दिनथ्यो । मैले आँखा चिम्म गरेर उँघ्न लागेको बहाना गरेँ । अर्को स्टेशनसम्म नै हामी चूप्पी साँधेँर यसरी नै सफर गर्दैरहर्यौ ।

अर्को स्टेशन आइपुगेपछि वकिल र त्यो आइमाई कुनै अर्कै डब्बातिर लागे । टिकटबाबूसँग उनीहरूले यसको लागि कुरा मिलाइसकेका थिए । पसलको कारिन्दा बेन्चमा पल्टियो र पल्टिएको पल्ट्यै भुसुक्क निदाइ पनि हाल्यो । पोज्दनिशेभ चाहिँ एकपछि अर्को चुरोट सल्काएर सर्को तान्दैथियो र अगिल्लो स्टेशनमा तयार पारिएको चिया पनि खाँदैथियो । जतिखेर मैले आँखा खोलेर उसतर्फ पुलुक्क हेरेँ, त्यस बेला एकाएक ज्यादै क्षुब्ध तर दृढ स्वरमा मलाई सम्बोधन गर्दै उसले भन्यो-

“अब त म को हुँ भन्ने तपाईंलाई थाहा भैहाल्यो । हुन सक्छ, म यहाँ बसेको नै तपाईंलाई नराम्रो लागिरहेको होला? कुरा यस्तै हो भने म यहाँबाट उठेर अन्तैतिर गैहाल्छु !”

“होइन ! बिल्कूलै होइन !”

“के तपाईं चिया खान चाहनुहुन्छ ? तर ज्यादै कडा छ नि !”-मेरो निम्ति चिया खन्याउँदै उसले भन्यो ।-“फोस्रा र बकमफुस कुराहरू !…अनि सबमा सब झुठ !”

“कसको बारेमा तपाईं भन्दैहुनुहुन्छ ?”-मैले जिज्ञासा देखाएँ ।

“त्यही कुरा ! उनीहरूको प्रेमको कुरा ! वास्तवमा कुन चीज हो यस्तो यो? के तपाईं थाक्नु त भएको छैन ?”

“एकदमै थाकेको छैन !”

“तपाईं अनुमति दिनुहुन्छ भने म तपाईंलाई आफ्नो रामकहानी सुनाउँछु । यही प्रेमद्वारा प्रेरित भएर त्यो कर्म कसरी गर्न पुगें भन्ने बताउँछु !”

“हुन्छ ! यदि तपाईंलाई कुनै आपत्ति छैन भने !”

चूप लागेर बस्नुपर्दा मलाई ज्यादै आपत पर्छ । ल, चिया पिउनोस्‌ ! तपाईंको लागि त्यो ज्यादै कडा त होओईन?”

चिया वास्तवमा नै बीयर जस्तै तीतो थियो, परन्तु मैले पूरै एक गिलास चिया खाइदिएँ । त्यतिखेर नै कन्डक्टर हाम्रो बगलबाटै अगाडि लम्कियो । मेरो सहयात्रीले खूब क्रुद्ध भएर उसतर्फ आँखा तरेर हेर्यो र त्यो कहिले त्यहाँबाट जाला र आफ्नो कथा शुरु गर्न पाइएला भन्ने प्रतीक्षा गर्न लाग्यो ।