साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

इभान तुर्गेनेभको अनुदित उपन्यास “पिता र पुत्र” भाग २

‘बुबाज्यू ! धूलो झार्न त दिस्योस्‌ न !” -पिताको लाडप्यारको जवाफमा आर्कादीले बाटोको धपेडीले गर्दा केही खस्रो लाग्ने तर युवासुलभ तिक्खर स्वरमा हर्षविभोर हुँदै भन्यो । -“नत्र हजूरको लुगामा समेत फोहर लाग्नेछ !”

“केही छैन ! केही छैन ! ” -प्रशन्न चित्तले मुस्कुराउँदै निकोलाइ पेत्रोभिचले भने र आफ्नो छोराको कोटको कलर र आफ्नै ओभरकोट पनि एक-दुईपल्ट हातले थप्थपाएर धूलो झारेपछि अलि पछिल्तिर हटेर पुत्रतर्फ नजर दिँदै उनले थपे । -“लौ, देखा ! कस्तो लाग्दो रहिछस्‌ ? हेरिहालुँ न !” – त्यसपछि हतारिदै रात्रिनिवासतर्फ पाइला सारेर उनी भन्न लागे: “ए ! यता ल्याओ, यता ! मेरा घोडाहरू छिटै ल्याओ ।”

“बुबाज्यू !” -उसले भन्यो । -“हजूरलाई मेरा आत्मीय मित्र बाजारोभको परिचय दिने अनुमति पाउँ । मैले हजूरलाई पठाएका पत्रहरूमा यिनैको विषयमा नै लेख्नेगरेको थिएँ । उनले कृपापूर्वक हाम्रो पाहुना बन्न स्वीकार गरेका छन्‌ |”

निकोलाइ पेत्रोभिच फनक्क मोडिएर सरासर त्यस अग्लो मान्छेको बगलमै पुगे जो भर्खरै मात्र बग्गीबाट ओर्लेको थियो । उसले फुर्कावाल सफरी लाम्कोट पहिरिराखेको थियो । उसको नाङ्गो, रगत चुहिएला जस्तो हात समातेर निकोलाइ पेत्रोभिचले जोडसित मिचे, यद्यपि उसले चाहि आफ्नो हात तुरून्त अगिल्तिर परसारेको -थिएन |

“ज्यादै खुशी लाग्यो !” -उनले भन्न शुरू गरे । -हामीकहाँ पाहुना बन्ने ठूलो कृपा गर्नुभएकोमा कृतज्ञ छु । आशा छ – अँ, तपाईंको पूरा नाम जान्न पाउँछु कि?”

“येभ्गेनी भासील्येभिच !” -आफ्नो लाम्कोटको कलर तल्तिर झार्दै आलस्यपूर्ण किन्तु पुरूषसुलभ स्वरमा बाजारोभले उत्तर दियो । बल्ल निकोलाइ पेत्रोभिचले उसको सम्पूर्ण अनुहार निहार्ने सम्भावना पाए: लाम्चो र ख्याउटे मुख, फराकिलो निधार, माथि थेप्चिएको तर तल चुच्चिएको नाक, हरिया र हरिया ठूल्ठूला आँखा, लत्रिरहेको मटमैलो लामो गालेजुँगा । सौम्य मुस्कान जडिएको उसको मुहार चहकिलो देखिन्थ्यो र त्यसमा आत्मविश्वास तथा प्रखर बुद्धिको झल्को पाइन्थ्यो ।

“अँ, प्यारा येभ्गेनी भासील्येभिच ! हामीकहाँ तपाईंलाई नियास्रो लाग्ने छैन भन्ने आशा राख्दछु ।” -निकोलाइ पेत्रोमिच भनिरहेका थिए |

बाजारोभका पातला ओठ किञ्चित्‌ चल्मलाए । जवाफको रूपमा उसले केही पनि भनेन्‌, खालि आफ्नो टोपीमात्र केही मास्तिर सार्यो । गाढा कैलो रङ्गको लामो र बाक्लो कपालसमेत उसको घनटाउके खप्परका गाँठाहरू लुकाउन असमर्थ थिए ।

“अँ, तेरो के विचार छ हँ, आर्कादी ?” -आफ्नो छोरोतर्फ फर्किएर निकोलाइ पेत्रोमिचले फेरि प्रश्न गरे । -“घोडाहरूलाई नारेर अहिले नै हिंडिहाल्ने, कि केही बेर यहीँ आराम लिने ?”

“घरमा पुगेर आराम गरौंला, बाबुज्यू ! अहिले घोडाहरू नार्ने नै आज्ञा होस्‌ !”

“अहिले भने अहिले नै सही !” -पिताले सहमति जनाए । -“ए, प्योत्र ! सुनिस्‌ ? लौ, भाइ, फूर्तिसाथ अह्रोटपह्रोट गर्‌ !”

प्योत्रचाहिँ सभ्य नोकरको हैसियतले युवा बाबुसाहेबको हात चुम्न आएको थिएन, बरू टाढैबाट उसले शिर झुकाएर अभिवादन गरेको थियो । आफ्ना मालिकको आज्ञा पाउनासाथै ऊ फेरि फाटकको पछिल्तिर ओझेल भइहाल्यो ।

“म आफ्नै घोडागाडीमा आएको छु |” -निकोलाइ पेत्रोभिचले व्यग्र हुँदै भने । तर तेरो बग्गीका लागि पनि तीन घोडा छन्‌ । घोडागाडीमा त दुई जनालाई मात्र ठाउँ छ । खै, थाहा छैन, तेरो साथीलाई कहाँ _”

“उ बग्गीमा जानेछ !” -बीचैमा कुरा काटेर आर्कादीले खासखुस गर्यो । ‘हजूरले ऊसित उतिसारो विनम्र व्यवहार गरिबक्सनु पर्दैन । ऊ ज्यादै असल छ । एकदमै सज्जन मान्छे- स्वयं देखिबक्सिनेछ ।”

त्यतिखेर आर्कादी रात्रिनिवासकी मालिक्नीले ल्याएको फलामे भाँडोबाट पानी घुट्क्याउँदै प्यास मेटिरहेको थियो भने बाजारोभचाहिं पाइप सल्काएर त्यस गाडीवानको. नजिक पुगिसकेको थियो जरो घोडाहरूको जुआ फुकाल्दै थियो ।

निकोलाइ पेत्रोमिचको सईसले पनि घोडालाई डोर्याउँदै ल्यायो ।

“लौ, अलि छिटो गर्नुपर्यो, ए मोटे-दाह्वीवाल !” -बाजारोभले गाडीवानलाई सम्बोधन गर्दै भन्यो ।

“सुनिस्‌, ?” -अर्को गाडीवानले कराउँदै भन्यो जो तुलुफ्को पछिल्तिरका गोजीमा दता नजिकै उभिइरहेको थियो- “बाबुसाहेबले तेरो क्या मिल्दो, नाउँ राखिबक्सियो ? तँ मोटे-दाह्रीवाल नै होस्‌ ।”

मित्यूखाले टोपीमात्र हल्लायो र पसिनाले निशुक्क भिजेको मूलघोडाको लगाम तान्न थाल्यो |

“छिटो गर, ठिटा हो ! छिटो गर !” -निकोलाइ पेत्रोमिचले ठूलो स्वरले आदेश दिए । -“भोद्काको लागि बक्सिस पनि पाइनेछ !”

तत्काल नै घोडाहरू जोतिए | बाबु-छोरा दुवै घोडागाडीमा सवार भए | प्योत्रले उक्लेर कोचवानको आसन ओगट्यो । बाजारोभ लपक्क लम्केर बग्गीमा चढ्यो र छालाको तकियामा टाउको बिसाएर बस्यो । अनि दुवै गाडीहरूले प्रस्थान गरे ।

प्रतिक्रिया
Loading...