तोल्सतोइको बारेमा केही शब्द

हाम्रो सामाजिक चिन्तनमा लेभ तोल्सतोइले जुन भूमिका खेलेका छन्‌ त्यसबारे रुसी लेखकहरूले बारम्बार जोड दिदै आएका छन्‌ । तोल्सतोइको देहान्त हुनुभन्दा दश वर्षपहिले आन्तोन चेखोभले याल्ताबाट लेखेका थिए: “… तोल्सतोइको मृत्युको कल्पना गर्दा नै डर लागेर आउँछ । कथंकदाचित्‌ उनको निधन हुन गयो भने मेरो जीवनमा एउटा ठूलो खाडल देखा पर्नेछ । — उनको अनुपस्थितिमा हाम्रो साहित्य त गोठालो नभएको बथान जस्तै बन्न पुग्नेछ … ।” यसभन्दा बीस वर्षअगाडि इभान तुर्गेनेभले पनि यस्तै विचार प्रकट गरेका थिए । तोल्सतोइको देहावसान हुनुभन्दा दुई वर्षअघि यस्तै विचार अलेक्सान्द्र ब्लोकले पनि पोखेका थिए । तोल्सतोइको मृत्युबाट प्रगतिशील बुद्धिजीवीहरूले मात्र आफू टुहुरो बनेको वा नेताहीन हुन गएको अनुभव गरेका थिएनन्‌, बरु रूसका सर्वसाधारण जनतालाई पनि यस अपूरणीय क्षतिको यस्तै अनुभूति भएको थियो …। हुन त त्यस समयको परिस्थितिमा अतिप्रसिद्ध साहित्यिक कृतिहरू समेत ज्यादै लामो र बाङ्गोटिङ्गो बाटो पार गरेर मात्रै जनसमुदायसम्म पुग्नेगर्दथे । जीवित लेखकको बारेमा जनसाधारणले आफनो धारणा अक्सर उनको सामाजिक आचरणसम्बन्धी हल्लाहरूको आधारमा नै जनाउने गर्थे । किन्तु तोल्सतोइको सारा जीवन कुनै छलकपटबेगर खुला रुपमा नै जनताकै सामुन्ने बितेको थियो । उनले कहिले आफ्नै नाउँबाट त कहिले चाहिं ओलेनिन, लेभिन वा नेख्ल्यूदोभ भन्ने छद्मनामबाट आफ्नो अन्तरात्माको भित्री तहसम्म पनि उनीहरूको अगाडि खोतलेर राखिदिनेगरेका थिए । उनी सदैव नै हावाको मूल प्रवाह र प्रचलित धाराहरूको प्रतिकूल हिंड्दैरहे । उनले अन्यायद्वारा आर्जित’ धनसम्पत्ति, अकर्मण्यता एवं थिचोमिचोको बिरुद्ध र जर्जर भैसकेको सभ्यताका तमाम विकृतिहरूको विरुद्ध सदैव नै डटेर संघर्ष गरे । तोल्सतोइले दीर्घजीवन पाएका थिए, तसर्थ निम्न वर्गबाट आएका प्रगतिशील मान्छेहरूले ढुक्क भएर कस्तो विचार गर्ने बानी नै बसालिसकेका थिए भने कतै नजिकै एक यस्तो हृदयको धुकधुकी चलिरहेको छ जसलाई कुनै प्रलोभन देखाएर किन्न सकिदैंन, एकजोर सजग आँखाले उनीहरूको असहनीय परिश्रम र अभावहरू पनि देख्नेगरेको छ, एक जोडी सतर्क कानले उनीहरूको मार्मिक सुस्केरा र गीतहरू पनि सुनिरहेको छ र यसैले गर्दा यो सब कुरा अन्ततोगत्वा भविष्यको नयाँ संसारको साझा ढुकुटीमा नम्बरी सुन बनेर सञ्चित हुन जानेछ ।

युगको चिन्तन र प्रेरणा, आशा र विजित सन्देह नै साहित्यको स्वर्णकोष हो र त्यसमा समकालीनहरूको ऐतिहासिक अनुभवलाई कतिसम्म स्थान दिइएको छ भन्ने कुरामा नै त्यसको जीवनशक्ति पनि पूर्णत: निर्भर हुन्छ । ….छोटकरीमा भन्ने हो भने यस्तै साहित्यिक सुन नै समयको कसीमा घोटिंदा खरो निस्कनेगर्छ । तोल्सतोइका कृतिहरू पनि तिनै अल्पसंख्यक रचनाहरूभित्र पर्दछन्‌ जो समयको गर्भमा विलुप्त भएर जानेछैनन्‌ ।

पुश्किनले जुन किसिमबाट हामीलाई रुसी भाषाको चमत्कारपूर्ण संगीतको रसास्वादन गराएका थिए त्यसै गरी तोल्सतोइले यसै भाषाको माध्यमद्वारा रुसीहरूका मनोभिलाषित कार्यहरू तथा उनीहरूको सुख-दु:ख मात्र नभएर नेपोलियनको प्रभुत्वमा रहेको बहुभाषी यूरोपसित उनीहरूको अतिवीरतापूर्ण युद्वको पनि अनुपम ढंगबाट अभिव्यक्ति गरिदिएका थिए र ऐतिहासिक उदाहरणहरूको आधारमा न्यायपूर्ण उद्देश्यको लागि गरिएको संघर्षको निम्ति उनीहरूको त्यस वीरतापूर्ण कायाकल्पलाई पनि छर्लङ्ग पारिदिएका थिए जुन राष्ट्रहरू तथा पृथक पृथक शान्तिपूर्ण आत्माहरूमा भएको थियो र जसको अहिलेसम्म कैयौंपल्ट पारख समेत गरिइसकिएको छ । “युद्ध र शान्ति”(वस्तुतः “संग्राम र समाज” अगु०), “कज्जाक”,र “आन्ना कारेनिना” र “पुनर्जन्म” आदिका स्रष्टालाई सबै कुरा छर्लङ्ग देखा पर्नेगर्थ्यो- चाहे घनघोर आँदीबेरी चलेको होस्‌ या अस्पर्श मन्द बतास, चाहे यस्तो विराट्‌ वस्तु होस्‌ जुन सामान्य दृष्टिगोचरभन्दा बाहिर पर्छ या यस्तो सूक्ष्म कुरा जसमा अक्सर नजर नै पर्दैन, चाहे मानवीय व्यक्तित्वको मध्यान्हमा चम्कँदो प्रचण्ड सूर्यको गरिमा होस्‌ या त्यसको सन्ध्या । यति मात्र होइन, तोल्सतोइको असंगतिपूर्ण एवं जटिल जीवनले उनलाई मानव-जीवनका एकदमै अप्रत्यासित उत्थान र पतनको चित्रण गर्नमा खास मद्दत पुर्यायो । निसन्देह नै रुसका उत्तरवर्ती अरु कुनै पनि लेखकले तोल्सतोइले झैँ मानव अन्तरात्मालाई यति हदसम्म खुल्ला रुपमा पाठकहरूसमक्ष प्रस्तुत गर्न सकेको थिएन । तोल्सतोइको देहावसान भएको यतिका वर्ष बितेर गैसकेपछि आज कुनै किसिमको प्रकाशको सहायताबेगर नै उनका उपलब्धिहरूको विराट्‌ रुप मात्र होइन, अपितु उनको धरमर, उनको अतिशयता र उनका भ्रमहरू पनि हाम्रो समक्ष स्पष्ट नै छन्‌ । हुन पनि सत्यको अन्वेषण गर्ने व्यक्तिको निम्ति यस्तो धरमर र भ्रम अनिवार्य नै हुन्छ, किनभने सत्यलाई आजसम्म कसैले पनि त त्यसको विशुद्ध रुपमा भेट्टाउन सकेको छैन ।

तोल्सतोइको व्यक्तित्व सुप्रतिष्ठित साहित्यिक महारथीहरूको परिधिभित्र पनि अटाउँदैन । बेलिन्स्कीले पुशि्कनको विषयमा भने झैँ साधारण गद्यमा उनको चर्चा गर्दा लाज समेत लाग्छ । यसै गरी हाम्रो समयमा तोल्सतोइको नामले उत्सवीय शब्दहरूको अलंकारयुक्त रेखांकनको माग गर्दछ । प्राचीन कालदेखि अहिलेसम्म नै संस्कृतिको इतिहासमा महानतम लेखकहरूको एक दर्जन जति नाम अंकित जुन सूचि छ त्यसमा यो नाम पनि समावेश छ । तोल्सतोइको साहित्य-साधना वास्तवमा नै हेर्कुलसको वीरताको द्योतक झैँ लाग्छ । प्रगतिको मूलबाटोमा उनी त्यस पर्वत झै छन्‌ जसको शिखरबाट मानवीय चिन्तनका युगानुयुग पुराना दूरगामी गोरेटाहरूको झलक पाउन सकिन्छ ।….(लेभ निकोलाएभिच तोल्यतोइको मृत्युको पचासौँ स्मृतिदिवसको सन्दर्भमा सन् १९६० को १९ नभेम्बरका दिन बल्शोइ थिएटरमा आयोजित सभामा सोभियत लेखक लेओनोभद्वारा दिइएको भाषणबाट उद्धृत । अनु)

लेओनिद लेओनोभ

क्रुजर सनेट

…म तिमीलाई भन्छु: जब कुनै पुरुषले कुनै महिलातर्फ लालचपूर्ण आँखा तरेर हेर्छ त उसले मनमनै पहिलेबाटै उसप्रति व्यभिचार गरिसकेको हुन्छ ।”

-मैथ्यु, ५-२८ ।

“उसका अनुयायीहरूले उसलाई भन्न थाले : पत्नीप्रति पतिको सम्बन्ध यस प्रकारको छ भने यस्तो विवाह अनुचित हुन्छ ।

तर उसले भन्यो : यो कुरा हरेक पुरुषमाथि लागू हुँदैन । फगत्‌ तिनैसाथि मात्र यो लागू हुन्छ जसको स्थिति यस्तो हुन्छ ।

यस्ता व्यक्तिहरू पनि हुन्छन् जसलाई जन्मजात नै नंपुसक बनाइन्छ फेरि यस्ता पनि हुन्छन्‌ जो स्वर्गको राज्यको खातिर आफूलाई नंपुसक पार्छन्‌ । प्रत्येक परुषलाई त्यस्तै परामर्श दिइयोस जपको र अधिकारी हुन्छ ।”

-मैथ्यु, १९-१० ११,१२ ।

वसन्त भर्खरै शुरु भएको थियो । हामी सफरमा हिंडेको झण्डै दुई दिन पूरा हुनै आँटेको थियो । नजिकको यात्रा गर्नेहरू रेलगाडीमा चढ्ने र उत्रने गरिरहन्थे । परन्तु तीन जना अन्य यात्रुहरूको साथमा म चाहिँ पहिलो स्टेशनमा नै गाडीमा चढेको थिएँ र हामी अहिलेसम्म पनि यात्रा गर्दैथियौं । हाम्रो माझमा एउटी अधबैंसे आइमाई पनि थिई जो ज्यादै कुरुप र थाकेर लस्त देखिन्थी र एकपछि अर्को गरेर अविरल चुरोटको सर्को तान्दैथिई । उसले मर्दाना कोट र टोपी लगाइराखेकी थिई । उसको बगलमा उसले चिनेजानेको एक अर्को मान्छे बसिराखेको थियो जसको उमेर करिब चालीस वर्षको हुँदो हो । ऊ बडो गफी थियो र उसले जिउमा खूब मिल्ने नयाँ सुकिलो लुगा लगाएको थियो । तेस्रो चाहि मझौला कदको भलादमी थियो र जब ऊ हिंडडुल गर्थ्यो त ज्यादै भद्दा लाग्दथ्यो । त्यो उति बूढो त भैसकेको थिएन, तर उसको घुम्रिएको कपाल समय नहुँदै तीलचामले देखिन्थ्यो । उसका आँखामा पनि असाधारण चमक झल्कन्थ्यो । ती ज्यादै चञ्चल पनि थिए र जहिले पनि कुनै न कुनै चीजमा पर्याकपुलक नजर परिरहन्थ्यो । भेडाको छालाको कलर भएको एउटा पुरानो ओभरकोट उसले आफ्नो जिउमा लगाइराखेको थियो । टाउकोमा पनि भेडाकै छालाको भुवादार टोपी थियो । उसको ओभरकोट कुनै नामूद सुजिकारले सिएको जस्तो प्रतीत हुन्थ्यो । जतिखेर ऊ ओभरकोटको टाँक फुकाल्दथ्यो त्यति बेला चाहिं भित्र लगाइराखेको रुसी फैशनको ज्याकेट र कमीज पनि देखिन्थ्यो । कमीजको कलरमा बेलबुट्टा भरिएको थियो । त्यस मान्छेमा एउटा विचित्र कुरा के थियो भने त्यो बेला बेलामा यस्तो अनौठो आवाज निकाल्नेगर्थ्यो, मानौं घाँटी सफा गरिरहेको होस्‌ अथवा आफ्नो हाँसो रोक्ने प्रयास गरिरहेको होस्‌ ।

त्यो मान्छेले यात्राकालभरि नै, मुख खोल्दै नखोल्ने र कसैसँग पनि हिमचिम नगर्ने कोशिश गरेको थियो । कसैले उससँग कुरा गर्न खोज्यो भने ऊ बडो रुखो पाराले छोटो जवाफ
दिन्थ्यो । जहिले पनि त्यो कि त पढिमात्रै रहन्थ्यो, कि त झ्यालबाट बाहिरतिर हेरिरहन्थ्यो या चुरोटको सर्को तानिरहन्थ्यो । कहिलेकाही आफ्नो पुरानो सफरी थैलोमा खानेकुरा खोज्थ्यो र झिक्तै खाँदै चिया पिउन थाल्थ्यो ।

यसरी एक्लै बस्दाबस्दा नराम्रोसँग नै उसलाई पट्यार लागिसकेको होला भन्ने म बारम्बार सोच्न पुग्थेँ । उससँग कुनै कुरा गर्नुपर्यो भन्ने कति हो कतिपल्ट मेरो मनमा विचार उब्जेको थियो, परन्तु जब हाम्रा आँखा जुध्न पुग्थे (यस्तो अक्सर भइ पनि रहन्थ्यो, किनभने हामी एक दोस्रोको सम्मुख बसेका थियौं) त्यतिखेर ऊ अर्कैतिर मुख फर्काउँथ्यो वा किताब हातमा लिन्थ्यो वा फेरि झ्यालबाट बाहिर चियाउन थालिहाल्थ्यो ।

दोस्रो दिन साँझपख एउटा स्टेशनमा हाम्रो रेलगाडी निकैबेरसम्म रोकियो । जहिले पनि हतासिएको जस्तो गरेर बसिरहने त्यो मान्छे झटपट बाहिर निस्क्यो र भतभत उम्लिरहेको पानी ल्याएर उसले आफ्नो लागि चिया तयार पार्यो । थोरबहुत सामान हुने मान्छे (त्यो एक वकिल हो भन्ने पछि मात्र मलाई थाहा हुन गयो) स्टेशनको रेष्टुराँमा चिया खान गयो ।
उसैको पछिपछि लागेर त्यो मर्दाना कोट लगाइराख्ने अधबैंसे आइमाई पनि बाहिर निस्की जो त्यतिञ्जेलसम्म चुरोटमाथि चुरोट सल्काउँदै थिई ।

ती दुवैजना बाहिर निस्केर जानेबित्तिकै कैयौं नयाँ यात्रीहरू हाम्रो डब्बामा आएर बसे । तिनीहरूमध्ये एक जना चाउरी नै चाउरी परेको बृद्ध थियो जसले दाह्वीजुँगा केही पालेको थिएन । उसले तकुवा भित्री हालिएको कोट र टाउकोमा चाहिं अग्लो उठेको कानेटोपी लगाइराखेको थियो । ऊ कुनै व्यापारी होला भन्ने ठम्याउन गाह्रो थिएन । त्यो मान्छे वकिल र उसको साथकी आइमाईको ठीक अगिल्तिरको सीटमा गजधम्म परेर बसिहाल्यो र तत्कालै एक जना युवकसँग कुराकानी गर्न थाल्यो । युवकको चालढालबाट नै त्यो कूनै पसलको कारिन्दा होला भन्ने पत्ता लागिहाल्थ्यो र ती दुबैजना सँगसँगै गाडीमा पनि चढेका थिए । जुन ठाउँमा म बसिरहेको थिएँ त्यो उनीहरूको अगिल्तिर नै पर्थ्यो तर ठीक सामुन्ने चाहिँ होइन । त्यतिखेर गाडी रोकिएकै हुँदा उनीहरूको कुराकानीको केही अंश म पनि सुन्न सक्थें, खास गरी त्यस बेला जब आवत-जावत गर्ने कोही यात्रु हुँदैनथे । व्यापारीले आउने अर्को स्टेशनमा नै उत्रने कुरा गर्यो । त्यस गाउँमा उसको बङ्गला पनि रहेछ । कुरै न ठहत्यो ! कुराको मेसो शुरु भैहालेपछि कुरामा कुरा थपिन लागिहाल्यो । बजारको मोलभाउ, मास्कोका पसल-ससल र निज्जी-नोभ्गोरोदको मेला इत्यादिको चर्चा चल्यो । पसलको कारिन्दाले कुनै धनी व्यापारीको कुरा झिक्यो जसलाई ती दुबै जना राम्ररी नै चिन्दथे । उसले बताएअनुसार त्यो धनी व्यापारी एउटा मेलामा गएको थियो जहाँ उसले सारा समय नै सुरा र सुन्दरीको फेरमा परेर बिताएको थियो । परन्तु बूढोले बीचमा नै उसको कुरा काटिदियो र स्त्रीलम्पटताको कुनै अर्को कथा सुनाउन लाग्यो । त्यो घटना कुनाभिनोमा घटेको थियो जसमा उसले स्वयं पनि भाग लिएको थियो । त्यसमा भाग लिएकोमा बूढालाई ठूलो गर्व लागेको छ भन्ने पनि छर्लङ्ग भैरहेको थियो । कसरी उसले र त्यही धनी व्यापारीले रक्सीको मात लागेको बेला एउटा यस्तो काम पनि गरे जसको बारेमा सुट्ट कानमा मात्र भन्न सकिन्छ भन्ने कुरा ऊ बडो मज्जा मान्दै सुनाइरहेको थियो । त्यतिखेर पसलको कारिन्दा यसरी खित्का छाडेर हाँस्यो जसले गर्दा सारा डब्बा नै गुञ्जायमान भयो । बूढो पनि मजासँग हाँस्न थाल्यो र उसका दुर्इ ओटा सुनका दाँत पनि देखा परे ।

कुनै रोचक कुरा सुन्न पाइएला भन्ने विचार थियो, तर त्यो आशा चकनाचूर भएपछि मैले गाडीबाट उत्रेर केही बेर प्लेटफार्ममा घुम्ने अठोट गरें । डब्बाको ढोकैनेर वकिल र उसको साथकी आइमाईसँग मेरो भेट भयो । दुवै जना एक दोस्रोसँग गरमागरम बहस गर्दैथिए ।

“केही गर्न भ्याउनुहुने छाँट छैन !”- वकिलले मलाई भन्यो । ऊ निकै मिलनसार ” होला जस्तो थियो । – “दोस्रो सिट्टी बज्न अब कुनै ढीला हुनेछ्लैन !”

उसले ठीकै भनेको थियो । म गाडीको हाराहारी हिंडेर अर्को पुछारसम्म पुगनमात्र के पुगेको थिएँ, आखिरी सिद्दी पनि बजेको सुनियो । म तुरुन्तै फर्किहालें । त्यो आइमाई र वकिल भने अझै पनि निकै जोश झिकेर आपसमा बहस गर्दैथिए । बूढा व्यापारी उनीहरूको अगिल्तिर चूपचाप बसिराखेको थियो र एकटक लगाएर आफ्नो अगाडि हेरिरहेको थियो । कुनै कुनै बेला चाहिं ऊ आफ्नो दाँतले केही चबाउँथ्यो पनि । यसैबाट नै उसलाई यो बहस मन परिरहेको छैन भन्ने स्पष्ट भैहालेको थियो ।

म भित्र पस्दाखेरि वकिल मुसुक्क हाँसेर भन्दैथियो-

“अनि त्यस आइमाईले आफ्नो लोग्नेलाई ठाडै के भनिदिई भने अब उसको साथमा त ऊ एक दिन पनि बस्न सक्तिन र बस्न समेत चाँहदिन, किनभने …”

यसभन्दा बढ्ता मैले सुन्न पाइनँ । मेरो पछि लागेर अरु यात्रुहरू पनि त्यहाँ आइपुगेका थिए । अनि एक कण्डक्टर आयो र त्यसपछि एक जना मिस्त्री पनि दगुर्दै आएर नजिकैबाट लम्केर गयो । त्यहाँ एक छिनसम्म कति होहल्ला र गुञ्जागोल भइरहयो भने मैले उनीहरूको कुरा पटक्कै सुन्न सकिनँ । केही बेरपछि होहल्ला कम भयो र त्यस वकिलको आवाज फेरि सुनिन थाल्यो । कुराकानीको विषय बदलिइसकेको थियो र अब त्यहाँ सामान्य चर्चा चलिरहेको थियो ।

वकिल के भन्दैथियो भने यूरोपतिरका मान्छेहरू पारपाचुकेको समस्याले ज्यादै नै चिन्तित छन्‌ र रुसमा पनि पारपाचुके बढेर जाँदो छ । आफूले मात्र एक्लै बोलिरहेको अनुभव गरेर उसले बूढालाई सम्बोधन गर्दै मुस्कुराएर भन्यो-

“पुरानो जमानामा त यस्तो थिएन क्यारे, हैन त ?”

बूढाले जवाफ फर्काउन आँटेको मात्र के थियो गाडी पनि चल्न थालिहाल्यो । त्यति बेला बूढाले आफ्नो टोपी फुकाल्यो, छातीनेर क्रसको चिन्ह बनायो र सुस्तसुस्त प्रार्थनाको स्तोत्र गुनगुनाउन थाल्यो । वकिलले शिष्टताको ख्याल राखेर अर्कैतिर नजर दियो र कहिले बूढोको प्रार्थना सकिएला भन्ने प्रतीक्षा गर्न थाल्यो । प्रार्थना समाप्त भएपछि बूढोले फेरि तीनपल्ट क्रसको चिन्ह बनायो, अनि टोपी टाउकोमा राख्यो र सोझै थ्याच्च थिचेर मिलाईसकेपछि आफ्नो सीटमा आरामपूर्वक बसेर बिस्तारै जवाफ दिन लाग्यो ।

“पुरानो जमानामा पनि यस्तो कुरा हुँदै नहुने त कहाँ हो र ? हो, बरु धेरै हुँदैनथ्यो । अचेल त यस्तो हुने नै भयो जब कि मान्छेहरू खूब पढैया भएर निस्कँदैछन्‌ ।” बूढोले भन्यो ।

रेलगाडीले लाइन बदल्न थालेको थियो र त्यसको गति तेज भयो । यसैले म कुराकानी पनि राम्रोसँग सुन्न पाउँदिनथें । कुराकानी ज्यादै रोचक थियो, त्यसैले म आफ्नो सीट छोडेर उनीहरू बसेकै ठाउँतिर लागें । मेरो त्यो सहयात्री, जसको आँखा चम्किला थिए र जसको सारा चालढाल नै अनौठो र हतासिएको जस्तो लाग्नेगरेको थियो, अब त यस कुराकानीमा मजा लिइरहेको देखिन्थ्यो] । ऊ आफ्नो आसनबाट उसु त उठेन, तर उसले आफ्नो गर्दन चाहिं अगिल्तिर तन्काएको थियो र बडो ध्यानपूर्वक उनीहरूको कुरा सुन्दैथियो ।

“शिक्षामा खराबी नै के छ र ?”- अलि अलि मुस्कुराएर त्यस आइमाईले सोधी । – “के त तपाईंले त्यो विवाहप्रथा बढी राम्रो ठान्नुहुन्छ, जब बिहे हुनुभन्दा पहिले दुलाहा-दुलहीले एक अर्कालाई देखेका समेत हुँदैनथे ?”- त्रस आइमाईको कुरागराई पनि त्यस्तै नै थियो जस्तो प्रायशः सबै आइमाईहरूको हुन्छ । कुरा के त भने असली सवाल राम्ररी सुन्नु त कता कता, आफैं नै के कस्तो भनिनेछ भन्ने पहिलेबाटै अजमाएर उनीहरू जवाफ दिन थालिहाल्छन्‌ ।- “जो पायो उसैसँग बिहे गरिदियो, बस्‌, भैहाल्यो । उनीहरू एक दोस्रोलाई प्रेम गर्छन्‌ कि गर्दैनन्‌, या प्रेम गर्नै पनि सक्छन्‌ कि सक्तैनन्‌ भन्ने कसैले पनि चासो लिँदैन । अनि ठूलो दुःख भोगेर जिन्दगी गुर्जाछन्‌ । के त्यो प्रथा बढी राम्रो थियो त ?”- उसले हामीतर्फ फर्केर थपी, मानौं उसलाई त्यस बूढोको सहमतिभन्दा हाम्रो सहमतिको बढी खाँचो होस्‌ ।

यस प्रसङ्गमा बूढो व्यापारीले ज्यादै घृणाले भरिएको नजर त्यस आइमाईतर्फ फ्याँक्यो र उसको प्रश्नको कुनै पनि जवाफ नदिएर फेरि आफ्नै कुरा दोहोर्योयो-

“आजकाल मान्छेहरू ज्यादा पढैया भएर निस्कँदैछन्‌ !”

“तपाईंको दृष्टिमा शिक्षा र असफल विवाहबीच के कस्तो सम्बन्ध छ नि ?”- हलुका मुस्कान भर्दै वकिलले सोध्यो ।

व्यापारीले जवाफ फर्काउन मात्रै के आँटेको हुँदो हो त्यो आइमाई नै बीचमा बोल्न थाली-

“अहँ , अब त्यो पुरानो जमाना त कुनै हालतमा पनि फर्केर आउँदैन !”

“पर्ख ! पहिले यिनको कुरा त सुनिहालौं !”- वकिलले भन्यो ।

“पढाईले थरी थरीका चाहिने-नचाहिने कुराहरू मथिंगलमा भरिदिन्छ !”- बूढाले दुढतापूर्वक भन्यो ।

तर त्यो आइमाई फेरि झटपट बोली-

“उनीहरू त यस्तो बिहे गरिदिन्छन्‌ जहाँ ठिटा-ठिटीको आपसमा मायापीर्ति नै बसेको हुँदैन । जब दुवैजना दुःखी हुन पुग्छन्‌ त उनीहरू नै यस्तो कसरी हुन गयो भनेर चिन्ता पनि गर्छन्‌ ।” – त्यस आइमाईले मतिर, अनि वकिलतिर र त्यसपछि पसलको कारिन्दातिर पुलुक्क हेरी । त्यो कारिन्दा चाहिँ सीटको अडेसोमा सहारा लिएर उभिएको उभियै मुस्कुराइरहेको थियो ।

“फगत पशुहरूलाई मात्र मालिकको हुकुमबमोजिम जबरजस्ती मिलाइदिन सकिन्छ, मानिसहरूलाई कदापि सक्दिन । मानिसहरूको त आफ्नै रुच र इच्छा भन्ने कुरा पनि हुन्छु ।” – त्यो आइमाई जानाजानी नै बूढोलाई तीतो कुरा भन्न खोज्दैछै भन्ने स्पष्ट भइसकेको थियो ।

“तपाईं गलत कुरा भन्दैहुनुहुन्छ, हा ! पशु त पशु नै भैहाल्यो । तर मान्छेले चाहिँ नियम र मर्यादाको पनि त ख्याल राख्नुपर्छ ।”

“के त तपाईंको विचारअनुसार प्रेम नै नगरेर पनि मान्छेहरू लोग्ने-स्वास्नी बनेर एकै ठाउँमा बस्न सक्छन्‌ ?” -आइमाईले प्रश्न गरी ऊ आफ्ना विचारहरूलाई निकै मौलिक
ठान्दैथिई र त्यसलाई प्रकट नगरेर बस्नै सकिरहेकी थिइन ।

बुढाले बडो गम्भीर स्वरमा यसरी जवाफ दियो-

“उहिले कसैको मथिंगलमा पनि यस्तो विचार सुझ्दैनथ्यो ऊ यो त अचेलकै नयाँ फैशन हो । उहिले कुनै पत्नीले पनि आफ्नो पतिलाई ‘म तिमीलाई छोडेर हिंडिदिन्छु’ भनेर कदापि फैशन हो । अञ्चल त गाउँका किसान कामदारनीहरूमा समेत नयाँ जमानाको रङ्गढुँङ्ग देखा पर्न थालेको छ । उनीहरूले समेत भन्न थालिसकेका छन्‌ : ‘लौ, लेऊ आफ्नो लुगाफाटो ! म त हिंडे अब भान्याको साथमा ! उसको कपाल तिम्रोभन्दा ज्यादा घुम्रिएको छ !’ हेर, कस्तो छ चाला ? केही डरत्रास त हुनुपर्छ कि आइमाईहरूको मनमा !”

पसलको कारिन्दाले शुरुमा वकिलतिर नजर दगुरायो, अनि मतिर हेर्यो, त्यसपछि चाहिं त्यस आइमाईतिर दृष्टि दियो । व्यापारीको तर्कले हामीउपर के कस्तो प्रतिक्रिया उत्पन्न गरिरहेको छ भन्ने ऊ थाहा पाउन इच्छुक थियो । किनभने उसका विचारहरूको समर्थन गर्ने कि गिल्ला गर्ने भन्ने कुरा हाम्रो प्रतिक्रिया अनुरुप नै निधो गरेर ऊ टाउको हल्लाउने ताकमा थियो । उसको ओंठमा मुस्कुराहट देखिन्थ्यो जसलाई दबाउने ऊ प्रयास गरिरहेको थियो ।

“कसको डरत्रास नि ?”- आइमाईले सोधी ।

“कसको ? लोग्नेको । अरु कसको र ?”

“अरे, महाशय ! त्यो जमाना अझै कायमै छ र सदैव नै कायम रहनेछ । हेवा त आदमको करङबाटै उत्पन्न भएकी न हो । जबसम्म संसार रहनेछ त्यतिञ्जेल हेवा हेवा नै रहली, आदम आदम नै रहला ।” – बूढाले दृढतापूर्वक र पूर्ण विश्वासका साथ टाउको हल्लाएर भन्यो । यसबाट पसलको कारिन्दाले वादविवादमा जीत चाहिं बूढाकै हुने छाँट देख्यो र तुरुन्त नै उ खितिखिति हाँस्न थाल्यो ।

“यस्तो त तपाईं लोग्नेमान्छेहरुको सोचाई हुने नै भयो ।” – आइमाईले भनी । उसको अनुहारको भावमा हारको किञ्चित्‌ मात्र पनि छाप पाइँदैनथ्यो । – “तपाईंहरू आफू त स्वतन्त्र भएर बस्नुहुन्छ, तर हामी आइमाईलाई चाहिं चारदिबारभित्र बन्द गरेर गुम्स्याइराख्न खोज्नुहुन्छ । आफ्नो मनपरी गर्नलाई नै त तपाईंहरूले सारा अधिकार हत्याउनुभएको छ !”

“अधिकार त हामीलाई कसैले दिएको हो र ! लोग्नेमान्छेबाट घरगृहस्थीलाई कुनै हानि हुँदैन तर आइमाईहरूको स्थिति नै अर्को छ । चुहिने गाग्रो न, हुन्‌ उनीहरू !” -बूढाले
रवाफिलो पाराले भन्यो ।

उसले कस्तो तरीकाले कुरा गर्यो भने सबै मान्छेहरूले हाँमा हाँ मिलाइहाले । आइमाईले आफ्नो तर्कशक्तिको कुनै असर नपरेको चाल पाई । तैपनि उसले आफ्नो कुरामा अड्डी
लिइ नै राखी ।

“तपाईं यति त अवश्य पनि मान्नुहुन्छ होला कि आखिर आइमाई पनि त मान्छे नै हो र उसको छातीभित्र पनि त मुटु भन्ने कुरा छ । यंदि उसको हृदयमा लोग्नेप्रति एक फुट्टी पनि प्रेम छैन भने उसले के गर्ने नि ?”

“प्रेम छैन !”- व्यापारी बूढोले घुरेर आफ्ना ओंठ लेब्य्राउँदै गम्भीरतापर्वुक दोहोर्योयो । – “उसले प्रेम गर्न सिक्नुपर्नेछ !”

यस्तो अप्रत्याशित उत्तर सुनेर पसलको कारिन्दा चाहिं विशेष गदगद भयो र उसले उत्तेजित हुँदै चर्को स्वर निकालेर यस कथनको अनुमोदन गर्यो ।

“किन उसले यस्तो गर्नुपर्ने है ?” – आइमाईले बोली । – “यदि उ प्रेम गर्दिन भने कसरी उसलाई बलजफ्ती प्रेम गर्न बाध्य तुल्याउन सकिन्छ ?”

“अनि कोही आइमाई पतिव्रता छैन भने के नि?” – वकिलले सोध्यो ।

“यस्तो हुनु नै हुँदैन । त्यसैले त आइमाईहरूमाथि कडा निगरानी रहनुपर्छ भनेको!” – बूढोले जवाफ दियो ।

“तर यदि क्यै गरे पनि उसलाई तह लगाउन सकिएन भने नि ? आखिर यस्तो पनि त नहुन सक्ने कहाँ होर ?”

“कतै कतै यस्तो हुन पनि सक्ला र हुन्छ पनि होला तर हामीकहाँ यस्तो कुरा हुन्न !” – बूढाले भन्यो ।

कसैले पनि केही बोलेन । पसलको कारिन्दाले गोडा हल्लायो र केही नजिक सरेर मुसुमुसु हाँस्दै कुरा गर्न लाग्यो, मानौं यस बहसमा कतै आफूले पछि पर्न नपरोस्‌ भन्ने उसलाई ठूलो पीर परेको होस्‌ ।

“हो, मेरा मालिकको घरमा पनि एकपल्ट यस्तै काण्ड मच्चिएको थियो ।”-
उसले बताउन शुरु गर्यो । – “दोष कसको हो भन्ने ठम्याउन समेत गाह्रो परेको थियो । साहुजी चाहिंकी बुहारी ज्यादै मापाकी निक्ली उसले आफ्नो चर्तिकला देखाउन शुरु गरी । उसको पति बडो सज्जन र सुयोग्य युवक थियो । त्यो आइमाई पहिले एक खजान्चीको आँखामा परी । पतिले सम्झाई-बुझाईकन उसलाई ठीक बाटोमा ल्याउने अनेक कोशिश गर्यो, तर सबै व्यर्थ भयो । त्यो त निर्लज्ज भएर पो निस्की । पतिको पैसा समेत चोर्न लागी । उसले पनि रीसको झोंकमा एकपल्ट सापसँग पिटिदियो । त्यसपछि त ऊ काबूबाहिर भइहाली । यत्तिकैमा एक विधर्मीसँग उसको लसपस शुरु भयो । नराम्रो मान्नुहुन्न भने भनिदिइहालौं- त्यो एक यहृदी थियो । अब, भन्नोस्‌, उसको पतिले के गरोस्‌ ? उसले घरबाट नै निकालिदियो स्वास्नीलाई । अझैसम्म ऊ चाहिँ नांगो नै रहेको छ । त्यो नकच्चरी चाहिं नाठो खेलाएर हिंड्छै र टोलको रौनक नै बढाउने गर्छे !”

“त्यो त महाबुद्दू पो रहेछ ।”-बूढाले भन्यो ।-“उसले आफ्नी स्वास्नीलाई शुरुमा नै तह लगाउनुपर्थ्यो र आफ्नो टाउकोमा नाच्न दिनुहुन्नथ्यो । शुरुदेखि नै आफूले चाहेको झैँ गरी उसको लगाम हातमा लिनुपर्थ्यो । खेतमा घोडाको र घरमा स्वास्नीको भर कदापि पर्नु हुँदैन ।”

ठीक त्यसै बेला कन्डक्टर अगिल्ला स्टेशनको टिकट जम्मा गर्न आइपुग्यो । बुढाले आफ्नो टिकट उसको हातमा थमाइदियो…

“हो, आइमाईहरूलाई शुरुदेखि नै काबूमा राख्नुपर्छ । नत्र भने सब कुरा बरबाद हुन्छ !”

“विवाहित हुँदाहुँदै पनि कुनाभिनो मेलामा के के हो कुन्नि रसरङ्गहरू गरेको जो तपाईं एउटा कथा सुनाउँदैहुनुहुन्थ्यो सोको बारेमा तपाईंको विचार सुन्न पाइन्छ कि ?”-मैले आफूलाई रोक्नै नसकेर एक्कासि प्रश्न तेस्याइदिएँ ।

“यो कुरा त बेग्लै हो !”-व्यापारीले भन्यो र चूप लागेर बस्यो ।

रेलगाडीको सिट्टी बज्नेबित्तिकै बूढो उभियो र सीट मुन्तिरबाट आफ्नो ब्याग तान्यो, आफ्नो ओभरकोट पनि काँधमा हाल्यो र बिस्तारै बिदाबारी भएर बाहिर निस्किहाल्यो ।