भाग १

“क्या हो, प्योत्र ! अझै कोही देखिएन र ?”

सन्‌ १८५९ को २० मईका दिन धूलाम्य ओभरकोट र चारखाने कपडाको पतलून पहिरेका वर्ष चालीस जतिका एक भलादमीले. सडकमा पर्ने एक रात्रिनिवासको होचो पालीमा मुडुलै निस्केर आफ्नो नोकरसित सोधनी गरे । च्यूँडोमा छुस्स कैलो झुस, चमकहीन स-साना आँखा, हुप्प फुलेका गाला- यस्तो देखिन्थ्यो उनको तरूनो नोकर !

कानमा यूँको मुन्द्री, रङ्गीविरङ्गी चिल्लो कपाल र सुडौल चालढाल- यी सबै कुराले गर्दा नोकर नयाँ र सुसंसकृत पुस्ताको मान्छे हो भन्ने ठम्याउन कत्ति पनि गाह्रो पर्दैनथ्यो । उसले अनिच्छापूर्वक सडंकतर्फ नजर फिरायो र जवाफमा भन्यो:

“खै, हजूर ! कोही देखिएको छैन :

“देखिएन रे ?”- भलादमीले प्रश्न दोहोर्याए ।

“अहँ ! देखिएन, हजूर !”- नोकरले फेरि उत्तर दियो ।

लामो सुस्केरा हाल्दै भलादमी आफ्ना गोडा तल्तिर खुम्च्याएर बेञ्चमा थचक्क बसे र विचारमग्न भई चारैतिर पल्याकपुलुक हेर्न लागे । पाठकलाई उनको परिचय गराइहालौं ।

उनको नाम हो- निकोलाइ पेत्रोभिच किर्सानोभ । रात्रिनिवासबाट पन्ध्र भेर्स्ता जति टाढा उनीसित राम्रै मौजा छ, अथवा किसानहरूलाई मोहीयानी हक दिएर आफनो दुई हजार देस्यातीना जग्गामा, उनले स्वयं भन्ने गरेझैं, दुई सय किसानसहितको एंक विशाल ‘”कृषि-फार्मस” बनाइएको छ ।

उनका बुबा सन्‌ १८१२ को युद्धमा जर्नेल थिए । अर्धशिक्षित र खस्रा मिजासका भए तापनि उनी उदारहृदयी रूसी मान्छे थिए । जीवनभर उनी कठोर काममा खटि नै रहे | शुरूमा एक ब्रिगेडको तर पछि चाहिँ पूरै डिभिजनको कमान उनले सम्हालेका थिए | उनी स्थायी रूपमा मोफसलतिर नै रहे र त्यहाँ आफ्नो ओहोदाको कारणले गर्दा उनको भूमिका पनि महत्त्वपूर्ण नै थियो । निकोलाइ पेत्रोभिचको जन्मचाहिँ रूसको दक्षिणमा भएको थियो । त्यही उनका दाजु पाभेल पनि जन्मेका थिए जसको विषयमा भविष्यमा चर्चा गरिनेछ । चौध वर्षको उमेरसम्म घरमा नै उनले शिक्षा-दीक्षा पाए । सस्ताखाले शिक्षकहरू, भ्रष्ट तर चाकरबाज ऐटनहरू र यस्तैउस्तै पल्टनियाँ तथा स्टाफका अन्य व्यक्तिहरूको माझमा नै उनको जीवन बित्यो । उनकी आमा कोल्याजिन परिवारकी छोरीबेटी थिइन्‌ । कन्या केटी छँदा उनको नाम Agathe थियो भने जर्नेल्नी बनेपछि चाहिं अगाफोक्लेया कुज्मीनिश्ना किर्सानोभा भनिन्‌ थालिन्‌ । उनी तिनै “सैनिक-नारी” मध्येकी एक थिइन्‌ जसको धाकरवाफ के घरभित्र र के घरबाहिर जताततै उत्तिकै हुन्छ । भडकिला टोपीहरू र सरसर गर्ने रेशमी लुगा लगाउन उनी मन पराउँथिन्‌ । गिर्जाघरमा उनी सधैं नै सबभन्दा पहिले क्रसनेर पुग्दथिन्‌ | उनी जोडले बोल्ने मात्र नभई फतुरी पनि थिइन्‌ । हरेक बिहान केटाकेटीहरूलार्इ उनी आफ्नो हात चुम्न दिन्थिन भने रातिचाहिँ उनीहरूलाई आशीर्वाद, दिएर सुताउँथिन्‌ । संक्षेपमा भन्ने हो भने उनी आनन्दपूर्वक नै बसेकी थिइन्‌ । जर्नेलको छोरोको नाताले दाजु पाभेललाई जस्तै निकोलाइ पेत्रोभिच्चलाई पनि सैनिक सेवामा लगाउने निश्चय गरिएको थियो, यद्यपि उनमा साहसको ज्यादै कमीमात्र भएको होइन, बरू डरछेरूवा भन्ने उपनाम समेत पाइसकेका थिए । जे होस्‌, ठीक त्यसै दिन उनको गोडा पनि भाँचियो जतिखेर सेनामा नियुक्तिसम्बन्धी पूर्जी पाइएको थियो । दुई महिनासम्म उनी ओछ्यानमा थलिए र बिसेक भएपछि पनि जीवनभर ‘”लङ्गंडो” नै रहे । उनका बुबाले निराश भएर उनलाई निजामती सेवामा लगाउने निधो गरे र अठार वर्ष पुगेपछि पेतेरबुर्गमा लगेर विश्वविद्यालयमा धर्ना गरिदिए । के पनि बताइहालौं भने त्यसैताका उनका दाजु पाखेल गारद पल्टनको अफिसर बनेका थिए । दुवै युवकहरू सँगसँगै एउटै डेरामा बस्न थाले । उनीहरूलाई तिनका मामा इल्या कोल्याजिनको दूरवर्ती निगरानीमा राखिएको थियो जो निकै महत्त्वपूर्ण ओहोदामा बहाल थिए | त्यसपछि बुबाचाहिं आफ्नै डिभिजन र आफ्नै पत्नीकहाँ फर्किए । यदाकदा उनी आफ्ना दुवै छोराहरूलाई खैरो कागजको एक चौथाई ताउमा बाङ्गाटिङ्गा काइते अक्षरमा चिट्ठी लेखि पटाउँथे । चिट्ठीहरूको पुछारमा ज्यादै मेहनतसाथ अक्षरलाई “श्रृङ्गार–पटार” गरेर उनी आफ्नो नाम अङ्कित गर्दथे: “पिओत्र किरसानोफ, मेजर-जनरल” | सन्‌ १८३५ मा निकोलाइ पेत्रोभिचले विश्वविद्यालयबाट स्नातकको उपाधि प्राप्त गरे । त्यसै साल एक सैनिक परेडको असफल प्रदर्शनवापत्‌ खोसुवामा परेका जर्नेल किर्सानोभ पनि आफ्नी पत्नीका साथ पेतेरबुर्गमै बस्न भनी आए ।ताभ्रीचेस्की बगैचानेरै एउटा घर उनले बहालमा लिए र बेलायती क्लबको सदस्यता पनि प्राप्त गरे । तर अचानक हृदयशूलले गर्दा उनको ईहलीला समाप्त हुन गयो । त्यसको केही समयपछि नै अगाफोक्लेया कुज्मीनिश्ना पनि उनैको बाटो पछ्याउँदै मास छर्न गइन्‌ । राजधानीको उराठलाग्दो र एकान्त जीवनमा उनी अभ्यस्त हुनै सकिनन्‌ । अवकाशप्राप्त जीवनको उदासीनताले उनको ज्यान नै लियो । आफ्ना जन्मदाताहरूको जीवनकालमै निकोलाइ पेत्रोभिच आफना भूतपूर्व घरधनी एवं सरकारी अधिकृतकी छोरीको प्रेममा चुर्लुम्म डुबिसकेका थिए । यसले गर्दा उनका आमाबाबुको हृदयमा ठूलो चोट पर्न गएको थियो । उ ज्यादै हिसी परेकी त छँदैथिई, साथै, जस्तो कि भनिन्छ, प्रगतिशील विचारकी केटी पनि थिर्इ र पत्रपत्रिकामा “विज्ञान” स्तम्भ अन्तर्गत छापिने “गम्भीर लेखहरू, खोजीखोजी पढ्थी । बर्खी फुक्नेबित्तिकै निकोलाइले ऊसित लगनगाँठो जोडिहाले र आफ्ना बाबुको भनसुनबाट पाइएको जागीर समेत छोडेर आफ्नी पत्नी माशाको साथमा आनन्दपूर्वक दिन बिताउन लागे । नवदम्पत्ति शुरूमा वनविद्या अध्ययन संस्थान नजिकैको एउटा सानो बङ्गालमा बसेका थिए तर पछि शहरमै एक सानो चिटिक्क परेको डेरामा बहाल तिरेर बस्न थाले । त्यस घरको भरेङ असाध्य सफासुग्घर थियो भने बैठक कोठाचाहिं निकै चिसो थियो । अन्त्यमा उनी स्थायी रूपमा नै गाउँतिर बसाइँ सरे | केही समयपछि त्यहीँ नै उनको छोरो आर्कादीले जन्म लियो । युवा दम्मपत्तिको जीवन ज्यादै सुख र शान्तिको वातावरणमा बितिरहेको थियो । प्रायः कहिल्यै पनि उनीहरूले एक दोस्रोबाट छुट्टिएर बस्नु परेको थिएन: दुवै नै सँगसँगै किताब पढ्दथे, सँगसँगै पियानो बजाउँथे र सँगसँगै युगलगीत गाउँथे । माशालाई फूलका बोटहरू रोप्ने र चराचुरूङ्गी पाल्ने पनि सोख थियो भने निकोलाइ कहिलेकाहीं शिकार खेल्न निस्कन्थे र खेतीपातीको पनि हेरचाह गर्दथे । सपनामा झै दस वर्ष बितेको पत्तै भएन | सन्‌ ४७ सालमा निकोलाइ किर्सानोभकी पत्नीले कहिल्यै नफर्कने बाटो तताई । यो आघात खप्नु उनको निम्ति असह्य नै भयो र केही हप्ताभित्र नै उनको कपाल फुलेर सेतै देखिन थाल्यो । मन थाम्न भनेर विदेशतर्फ लाग्ने उनले तरखर मात्र के गरेका थिए.. त्यतिकैमा सन्‌ ४८ सालको विप्लव छिडिहाल्यो र उनले फेरि गाउँतिरै फर्कन बाध्य हुनुपर्यो । लामो समयको यस्तो निष्कर्मण्यतापश्चात्‌ उनी आफ्नो मौजाको सुधारकार्यमा संलग्न भए । छोरोलाई सन्‌ ५५ सालमा विश्वविद्यालयमा भर्ना गरिदिएर तीन हिउँदसमेत उनले पेतेरबुर्गमा नै गुजारे । उनी प्रायः कतै पनि जाँदैनथे र आर्कादीका युवा मित्रहरूसित चिनापर्ची बढाउनमै प्रयत्नशील रहे । पोहोर सालको हिउँदमा भने उनी छोरोकहाँ पुग्न असमर्थ रहे । त्यसैकारण हामी उनलाई सन्‌ १९५६ को मई महिनामा आफ्नो छोरोको बाटो हेरिरहेको अवस्थामा देख्दछौं । उनको कपाल अब एकदमै फुलिसकेको छ, गाला पनि फितलो देखिन्छ र कम्मर पनि केही कुप्रिएको छ । उनको छोरोचाहिँ कुनै समयमा उनले प्राप्त गरेकै जस्तो स्नातकको उपाधि धारण गरेर घर फर्किरहेको छ ।

शिष्टाचारको भवानाले हो वा सम्भवतः मालिकको दृष्टिबाट बच्ने उद्देश्यले हो फाटकनेर गएर नोकरले आफ्नो सुल्पा सल्कायो | निकोलाइ पेत्रोभित्र शिर झुकाएर खड्गेलीका भत्केबिग्रेका खुड्किलाहरूको निरीक्षण गर्न लागे । एउटा ढब्बु रङ्गीचङ्गी चल्लो आफ्नो ठूल्ठूला पञ्जा बजार्दै बिस्तारै खुड्किलाहरू पार गर्दै थियो । अडेसोमै झोक्राएर बसिरहेको एक फोहोरी बिरालो वैरभावले ऊतर्फ ताक्दै थियो । घामको राप निकै चर्को थियो । रात्रिनिवासको आँगनपट्टिको अँध्यारो पालीबाट उवाको तात्तातो रोटीको मगमग बास्ना आइरहेको थियो । हाम्रा निकोलाइ पेत्रोभिच ध्यानमग्न बन्न पुगे | ‘मेरो छोरो.. विश्वविद्यालयको स्नातक- मेरो आर्काशा- उनको मथिङ्गलमा बारम्बार यही विचारले चक्करै काटिरहेको थियो । कुनै अरू नै कुराको सोचविचार गर्न उनले खूब चेष्टा नगरेका होइनन्‌ तर आफूलाई उनी फेरि त्यसै विचारले पछ्याइरहेको पाउँथे । आफ्नी दिवँगती पत्नीको पनि उनलाई सम्झना भएर आयो । ‘कठैबरी !’ उसले आजको दिन देख्नै पाइन ! उच्छवासपूर्वक उनी गुनगुनाए । एक मोटोघाटो र तगडा परेवा उडेर आई सडकमा उत्रियो र तिर्खा मेट्न भनी हतारिदै इनारनेरको एक छिपछिपे खालतर्फ लम्कियो । निकोलाइ पेत्रोभिच त्यसैलाई गढेर ताक्न लागे | यतिकैमा नजीकिदै आइरहेको बग्गीका पाङ्ग्राको आवाज उनको कानमा पर्यो

“सवारी हुँदैछ, शायद !”- नोकरले फाटकतर्फबाट लम्केर आई खबर दियो । निकोलाइ पेत्रोभिच जुरुक्क उभिएर सडकतर्फ चियाउन लागे । तीनवटा हुलाकी घोडाहरू जोडिएको एउटा क्रोइकाबग्गी परबाट आइरहेको देखियो | अनि स्नातकको टोपीको नीलो फित्ता पनि झल्कियो र प्यारो अनुहारका चिरपरिचित रूपरेखाहरू स्पष्ट हुँदै गए _

“आर्काशा ! आर्काशा !” -किर्सानोभ हात हल्लाउँदै र कराउँदै फटाफट अगाडि लंम्किए । एकै छिनपछि त उनका ओठहरू युवा स्नातकका दाह्रीरहित, धूलाम्य र घामले डढेका गाला चुम्नमा तल्लीन भइसकेका थिए |