-week 24

“चिया पिउने हो ?” – आमाले कम्पित स्वरमा सोधिन् र आफ्नो स्वरको कम्पनको वास्तविक कारण लुकाउने उद्देश्यले छिटोछिटो भन्न थालिन् –

“हे भगवान् ! जाडाले मेरो हातगोडा पनि कक्रक्क पारिसके ।”

पाभेल बिस्तारै आमाको नजिक आयो । उसको टाउको झुकेको थियो । ओठमा अपराधीको जस्तो मुस्कुराहट थियो ।
“आमा मलाई माफ गर्नुहोला ! म अझ ठिटै छु, बिलकुल उल्लू रहेछु .. ।”

“छाड् तँ यी सबै कुरा !” – आमाले उसको टाउको आफ्नो छातीमा टाँसिन् र डाँको छाड्दै रुन थालिन् – “अब अरु केही नभन् ! भगवान्ले तेरो भलो गरुन् । तेरो जिन्दगी तेरो आफ्नै हो, जे चाहन्छस् गर् । तर मेरो चित्त नदुखा ! झन्, कहीँ आमाले आफ्नो छोरालाई माया गर्न छाड्छिन् ? विनाप्रेम त ऊ बाँच्नै सक्दिन, मलाई तिमीहरु सबैको माया लाग्छ । तिमीहरु सबै मेरा लागि प्यारा छौ र तिमीहरु सबै आमाको प्रेम पाउन लायक छौ ! मैले बाहेक कसले पो तिमीहरुलाई माया गर्छ ? तँ जालास्, तेरा पछाडिपछाडि अरु मान्छेहरु लाग्नेछन् – आफ्ना सबै कुरा त्यागेर पाभेल !”

उनको हृदयमा महान् विचारको ज्वाला फैलिँदै थियो । उनको हृदयमा एक दुःखद् उल्लास उर्लदै थियो, जुन उनी शब्दमा व्यक्त गर्न असमर्थ थिइन् र आफ्नो यस अकथनीय व्यथाले पीडित हुँदै छोरालाई तीब्र वेदनाले पोलिएका आँखाले हेरिन् ।
“ठीक छ, आमा ! मलाई माफ गर्नुहोला, अब मैले सबै कुरा बुझेँ ! म यो कुरा कहिल्यै बिर्सिन्नँ, किरिया खान्छु, कहिल्यै बिर्सन्नँ !” – उसले मुस्कुराउँदै टाउको फर्कायो । ऊ खुसी पनि थियो र लज्जित पनि ।
आमा अर्को कोठाको ढोकातिर लागिन् ।

“आन्द्रेइ !” – उनले विनयपूर्ण कोमल स्वरमा भनिन् – “उसलाई यसरी गाली नगर । हुन त तिमी ऊभन्दा जेठा छौ .. ।”
उक्राइनिले आमातिर नहेरिकनै आफू उभिएका ठाउँबाट अनौठो र हास्यास्पद तरिकाले गर्जियो –
“हाँउ–ऊ ! म उसलाई हप्काउने मात्र होइन, गोद्छुसमेत !”
आमा बिस्तारै उसकोनजिक गइन् र हात फैलाउँदै भनिन् –
“कति जाती छौ तिमी .. !”

उक्राइनि फनक्क फक्र्यो र आमाको छेउबाट भान्साकोठातिर लाग्यो । ऊ आफ्ना दुवै हात पछाडि राखेर गोरुजस्तो टाउको झुकाएर जाँदै थियो । आमाले उसको थर्कदो तर ठट्यौला स्वर सुनिन् –

“हट्, पाभेल, नत्र म तेरो टाउको फोडछु । आमा, तपार्य विश्वास नगर्नुहोला, म ठट्टा गर्दैछु ! हट्, म सामोभार बसाल्छु । हँ, हँ, कोइला पनि नम्बरी रहेछ – एकदमै भिजेको !”

ऊ चुप लाग्यो । आमा भान्साकोठाभित्र पस्दा ऊ भुइँमा बसेर सामोभार बसाल्न आगो सल्काउँदै थियो ।
“नडराउनोस् आमा, म उसलाई केही गर्दिनँ !” – उसले टाउको नउठाइकनै भन्यो – “मेरो हृदय त उमालिएको सलगमजस्तै नरम छ ! म त, ए बहादुर, तँ आफ्नो कान बन्द गर् ! यसलाई असाध्यै माया गर्छु । तर जुन इस्टकोट उसले लगाएको छ, त्यो चाहिँ पटक्कै मन पर्दैन । देख्नुभयो नयाँ इस्टकोट किनेछ, आफूलाई बडो राम्रो ठान्छ ! भुँडी फुलाउँदै सहरभरि घुम्दै हिँड्छ र सबैलार्य रोक्दै भन्छ – “हेर त, कति राम्रो इस्टकोट किनेँ मैले !” ठीक छ, इस्टकोट राम्रो छ, तर किन सबैका अगाडि फूर्ति गर्दै हिँड्नुप¥यो र ? त्यसै त कम कठिनाइ छैन !”

“अझ कति बकबक गर्ने विचार छ हँ ?” – पाभेलले मुसुक्क हाँस्दै भन्यो – “मरमत गर्नुसम्म गरिहाल्यौ, अब त चुप लाग !”
उक्राइनि सामोभारको दुवैतिर खुट्टा फैलाएर बसेको थियो र पाभेलतिर हेर्दै थियो । आमा ढोकानेर उभिएकी थिइन् र प्रेमपूर्ण उदासीनतासहित उक्राइनितिर हेर्दै थिइन् । आन्द्रेइले दुवै हातले जमिनमा अडेस लाउँदै आफ्नो पिठुयूँ पछाडितिर झुकायो र राताराता आँखाले आमाछोरातिर हेर्दै, आँखा झिम्काउँदै बिस्तारै भन्यो –

“असाध्यै जाती छौ, तिमीहरु !”
पाभेलले झुकेर उसको हात समायो ।
“नचला, म लोट्छु ..” – उक्राइनिले भन्यो ।

“किन लाज मान्छौ ?” – आमाले उदासीनतापूर्वक भनिन् – “किन तिमीहरु एक–दोस्रालार्य म्वाइँ खान्नौ र अँगालो मार्दैनौं ?”
“चाहन्छौ ?” –पाभेलले सोध्यो ।
“आइज !” – उक्राइनिले उभिदै भन्यो ।

उनीहरुले जोडले एक–दोस्रालार्य अँगालो मारे – दुई शरीर, तर दुवैमा मित्रताको ज्योतिले जगमगाइरहेको एउटै आत्मा । आमाका गालामा आँसु बग्न थाल्यो, तर यो खुसीको आँसु थियो ।
“आइमाईहरु रुन मन पराउँछन् ।” आमाले लाज मान्दै आँसु पुछिन् र भनिन् –
“उनीहरु सुख भए पनि रुन्छन्, दुःख भए पनि रुन्छन् .. !”
उक्राइनिले बिस्तारै पाभेललाई हटायो र औंलाले आँखा मिच्दै भन्यो –
“पुग्यो ! धेरै रमाइलो गरिसक्यौं । अब हलाल हुने बेला भयो । गजबको कोइला रहेछ । फुक्दाफुक्दा मेरा आँखा पनि सुनिइसके .. ।”

पाभेल टाउको झुकाउँदै झ्यालमा बस्यो र बिस्तारै भन्यो –

“यस्तो आँसुमा लाज मान्ने केही कुरा छैन ।”
आमा गएर ऊसँगै बसिन् । उनको हृदय एउटा नयाँ न्यानो र मीठो भावनाले भरिँदै थियो । उदास भए तापनि उनी शान्त र सन्तुष्ट थिइन् ।

“आमा, तपाई बस्नोस्, म कपप्लेट लिएर आउँछु ।” – उक्राइनिले कोठाबाट निस्कँदै भन्यो – “रुदारुँदै एकदमै थाकिसक्नुभएको छ, अब एकछिन आराम गर्नोस् .. ।”
कोठामा उसको सुरिलो स्वर सुनियो –

“भर्खरै हामीले जीवनको एक सानदार अनुभव पायौं, मानिसको जीवन वास्तवमा सधैं यस्तै प्रेमपूर्ण हुनुपर्छ !”
“हो !” – पाभेलले बिस्तारै आमातिर हेर्दै भन्यो ।

“सबै कुरा बदलियो !” उनले भनिन् – “अब त दुःख पनि अर्कै देखिनछ, सुख पनि अर्कै .. ।”
“हुन पनि यस्तै पर्छ !” उक्राइनिले भन्यो – “प्यारी आमा, एक नयाँ हृदय जन्मँदैछ । मानिस अगाडि बढ्दैछ, उसले सम्पूर्ण विश्वमा ज्ञानको ज्योति फैलाउँदैछ र अगाडि बढ्दै भन्दैछ – “ए संसारभरिका मान्छेहरु हो, एकै परिवारमा भेला होऊ !” र, उसको यस आह्वानको उत्तरमा सबै सबल हृदयहरु मिलेर एक विशाल हृदयको रुप लिँदैछन्, जुन चाँदीको ठूलो घण्टाजस्तो मजबुत र सुरिलो छ .. ।”

आमाले बेस्सरी आफ्नो ओठ बन्द गरिन् – कहाँ नफडफडाउन्, बेस्सरी आँखा बन्द गरिन् – कहीँ आँसु नझरोस् ।
पाभेलले आफ्नो हात उठायो, मानौं केही भन्न चाहन्छ, तर आमाले उसको हात समाउँदै बिस्तार्रै भनिन् –
“उसलाई नरोक .. ।”

उक्राइनि आएर ढोकामा उभियो अनि भन्यो – “मानवजातिले अझ धेरै कठिनाइको सामना गर्नु ाछ, अझ धेरै रगत बग्न बाँकी छ, तर मेरो हृदय र दिमागमा अहिेले जेजति कुरा लुकेर रहेका छन्, तिनको मोल चुकाउन मेरा सारा कठिनाइ र मेरा सारा रगत पनि काफी छैन, म एक जगमगाउँदो ताराजस्तो प्रकाशले भरिएको छु । म जे पनि सहन सक्छु, किनभने मेरो हृदयमा एक असीम उललास छ, जुन कुनै पनि कुराले र कुने पनि मान्छेले मसँगबाट खोस्न सक्दैन । यही उल्लास मेरो शक्ति हो !”

उनीहरु आधा रातसम्म चिया पिएर बसिरहे र अत्यन्त हार्दिक वातावरणमा जीवनबारे, मानिसहरुबारे र भविष्यबारे कुरा गर्दै थिए ।

जब आमा कुने कुरा स्पष्ट रुपमा बुझ्थिन्, तर उनी लामो सास फेर्थिन् र आफ्नो अतीतबाट कुनै कटु र अरुचिकर स्मृति खोजेर निकाल्थिन्, जसले यस विचारलाई सहारा दिने पत्थरको काम गर्न सकोस् ।