त्यो साँझ उनलाई मल पुर्याइदिनुपर्ने भयो । उनी कारबाट निस्केपछि म कारभित्रै बसिरहेँ । म अरू ड्राइभरहरूसँग मिसिन गइनँ !
गुरगाउँमा रातमा पनि निर्माणको काम भइ नै रहन्छ । अग्ला टावरहरूमा ठूला बत्तीहरू बलिरहन्छन् । खाल्टोबाट धुलो उडिरहन्छ । सेन्ट्रिङ्गका टेकाहरू उठाइन्छ । निद्राबाट बिउँझाइएका मानिस र जनावरहरू आँखा मिच्दै मसला र इँटा बोकिरहन्छन् |
निर्मीण स्थलको एकजना कामदारले गधा डोर्याइरहेको थियो । गधामाथि रातो काठी र काठीको दुवैपट्टि ढुङ्गा माटोले भरिएका दुइवटा ड्रम झन्डिएका थिए । त्यसको पछि उस्तै रङ्गका तर साना २ वटा गधाहरूमा पनि त्यसैगरी भारी लादिएको थियो । ती साना गधाहरू अलि बिस्तारै हिँड्दै थिए । अघिल्लो गधा घरिघरि रोकिँदै पछि फर्केर हेर्दै थियो । हेर्दा लाग्थ्यो त्यो साना गधाहरूको आमा हो ।
अचानक मैले मेरो चिन्ताको कारण बुझेँ ।
म कुसुमले भनेको मान्नेवाला थिइनँ । उनले मलाई ब्ल्याकमेल गर्दै थिइन् | न्याउरीसँग उनले त्यो चिठी किन पठाको मैले बुझेँ । मैले नमाने त फेरि उनले जानेकी थिइन् मलाई तर्साउन | मैले घरमा पैसा पठाइरहेको थिइनँ भनेर अशोकलाई पोल लगाइदिन्छिन् होला ।
श्रीमान्, मानसिक तनाव बढ्दो थियो किनकि आइमाईसँग नसुतेको धेरै भइसकेको थियो | मेरा लागि भनेको केही त पक्कै पनि १७-१८ वर्षकी तरूनी छ होला र तपाईंलाई थाहा छ तरूनीहरू तर्बुजाभन्दा पनि रसिला हुन्छन् | कुमारीको सिल तोड्न पायो भने त कुनै पनि शारीरिक वा मानसिक रोग निको हुन्छ । यो कुरा त सर्वविदितै छ | कुसुमले केटीपट्टिकालाई ढाड भाँचेपछि पाइने दाइजो पनि छँदै थियो ! शुद्ध २४ क्यारेटको सुन अनि बैङ्कबाट निकालेको ताजा नयाँ नोट । कम्तीमा पनि अलिकति त मै राख्थे । यी सबै बिहेको समर्थनमा उचित तर्कहरू थिए ।
तर बिहेका बेफाइदाहरू कति छन् हेर्नुस् त । बिहे गरेको भए म अहिले त्यही गधाजस्तै हुन्थे | मेरा बच्चा हुन्थे भने म अहिले तिनीहरूलाई म जस्तै गधा बनेर धनीहरूको ढुङ्गा माटो बोक्न सिकाइरहेको हुन्थेँ ।
मैले स्टेरिङ्मा हात राखेँ र मेरा औँलाहरूले त्यसलाई दह्रोसँग च्याप्प समाते !
अशोकजीको खुट्टा देख्ने बित्तिकै कसरी दौडेर म उनको गोडा माड्न पुगेँ जबकि उनले मलाई अह्राएकै थिएनन् ! किन मलाई दौडेर गएर उनको खुट्टा समातेर मालिस गरिदिन मन लागेको होला ? किनभने नोकर बन्ने चाहना मभित्रै हुर्काइएको थियो। जसरी औद्योगिक प्रदूषण र फोहोर नाली पवित्र गङ्गामा मिसाइन्छ, त्यसैगरी नोकर मानसिकता एकएक गर्दै मेरो खप्परमा ठोकेर रगतमै मिसाइएको थियो ।
एउटा पहेँलो र दह्रो खुट्टालाई कसैले आगोमा धकेलिरहेको जस्तो लाग्यो । “हुँदैन !” मैले भनेँ ।
खुट्टा तानेर सिटमाथि राखेर कमल आसनमा बसेर पटक पटक ‘ओहँम’ भनेँ। त्यो साझँ म कति बेर आँखा चिम्लेर बुद्धको आसनमा बसेँ मलाई थाहा छैन | हाँसो र सर्याकसर्याक आवाजले म बिउँझिएँ । सबै ड्राइभरहरू मेरो वरिपरि जम्मा भएका थिए । एकजनाले नङले सिसा कोतर्दै थियो | कुनै एकजनाले म बन्द गाडीभित्र कमल आसनमा बसेको देखेछ । कहिल्यै नदेखेको अचम्मको जनावर चिडियाखानामा हेरेजस्तो उनीहरूले मलाई आश्चर्य मानेर हेरिरहेका थिए ।
झस्केर कमल आसन छोडेर सीधा बसेँ । हाँसेजस्तो गरेँ । बाहिर निस्केको त सबैजना मूर्छा परेर हाँस्दै मलार्इ धाप मार्दै घरि यता घचेटन थाले । लाज मानीमानी सबै सहँदै मनमनै बोलेजस्तो गरी भने “योगा सिकेको के । सधैँ टिभीमा देखाउँछ नि , हो त्यही गरेको ।”
महाशय, यो दुःखद सत्य हो ।
खोरभित्रै पनि निगरानी हुन्छ ।
महामहिम,
माफ गर्नुहोला । फोनको घन्टी बजिराखेको छ । म एक मिनेटमा आउँछु ।
दुर्भाग्य, यो कथा मैले एकैछिन यही रोक्नुपर्ने भयो । बिहानको १ः३२ बज्यो तर हामीले आज यतिमै छोड्नुपैने भयो ।
श्रीमान्, अकस्मात केहि आएजस्तो छ । विश्वास गर्नुस् । म छिट्टै फर्किन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।