रक्तरंजित स्तपी

दोन नदीको किनारामाथि घामले डढेर नांगिएको ढिस्कोमा एउटा जंगली चुत्रोको झ्याङमुनि बूढाबा जाखार र म पल्टिरहेका थियौं। बादलको कत्लादार पंक्तिमुनि एउटा खैरो: चील मडारिंदै थियो । चुत्रोका पातहरू चराचुरूगीका बिष्टाले छिरबिर छिरिबिर रंगिएका थिए र त्यसको सियाँलमा समेत शीतल थिएन । प्रचण्ड गर्मीले गर्दा मेरा कानहरू सुसाइरहेका थिए। तल दोन नदीको सतहमा चलिरहेका लहरहरूमा दृष्टि पर्दा अथवा मेरो गोडानेरै मिल्किइरहेका खरबूजाका बोक्राहरूलाई देख्दा चाहिँ मुखमा थुक भरिएर आउँथ्यो र चिप्लो राल चुहिन थाल्थ्यो। तर खकार थुकेर फ्याँक्न समेत अल्छी लाग्दथ्यो।

सुक्नै आटिसकेको तलाउनजिकै खोल्सोमा भेडाहरू एक ठाउँमा झुम्मिन्छन्‌ । असाध्यै थाकेकोले आफ्नो पृष्ठभाग झुकाउँदै उनीहरू झ्यापुल्ले पुच्छर हल्लाउँछन्‌. र धूलोले गर्दा जोडले छिंक छिंक गर्छन्‌ । तलाउमा बनेको बाँधनेरैं भेडाको एउटा मोटोघाटो पाठो पछिल्ला खुट्टाहरूले आड लिँदै एउटा घिनलाग्दो पहेँलो भेडीको थुन चृस्तै छ। आफ्नो टाउकोले उ बेला बेलामा माउ चाहिंको थुनमा घुच्चा दिन्छ । यस्तो घुच्चाको पीडाले भेडी चाहिं म्या म्या कराउँछ र आङ कुप्रो पारेर थुनमा बढी दूध पुर्याउँछ र उसको आँखामा पीडाको झलक देखा परिरहेको जस्तो लाग्छ ।

बूढाबा जाखार चलमलाएर उठ्छन्‌ र मेरो बगलमा बस्छन्‌ अनि घरबुना झनी कमीज फुकालेर त्यसलाई आँखा नजीक लगेर चियाउँछन्‌, र त्यसको जोर्नी र सिलाईमा केही कुरो छाम्न थाल्छन्‌ । तीन बीसी र दशको उमेरमा पुग्न बूढा जाखारले अब एक साल मात्नै पर्खिनु पर्ने छ। उनको नाँगो पिठ्युँगा छाला चाउरी परेको डोब देखिन्छ, कुमको पाटो चाहिँ छालाभित्र चुच्चे कोण परेर उठेको हुन्छ, तर उनका आँखा भने अझैं पनि नीला र तन्नेरीका जस्तै चम्किला छन्‌ र खैरा: आँखीभौं मुन्तिरबाट फ्याँकिने कटाक्ष पनि निकै चनाखो र तीखो छ।

जुम्रा फेला पारेर उनी त्यसलाई आफ्ना काँपिरहेका कडा औलाहरूले च्याप्दछन्‌ । जुम्रालाई उनले खूब जतनसाथ हलुकासंग च्यापिराखेका हुन्छन्‌ । उनी त्यसलाई आफु बसेको ठाउँबाट निकै पर भुइँमा राखिदिन्छन्‌ , अनिः हातका औंलाहरूले हावामा क्रसको चिन्ह बनाउँछन्‌ र बिस्तार गुनगुनाउँछन्‌ –

“घिस्री घिस्री, पाजी ! जिउने त तँलाई पनि चाहना होला, हैन? कसो ? किन हुँदैनथ्यो र! .. अर्काको रगत चुस्न पह्केर मोटाएकी छेस्‌ . . . रानीसाहेब ! ”

खोक्दाखोक्दै बूढाबा कमीज लगाउँछन्‌, अति टाउको अलि पछिल्तिर फ्याँकेर काठको गोल्फुबाट तात्तिएको पानी घुटघुट पिउँछन्‌ । हरेक घुट्कोमा उनको रूद्रघण्टी तलमाथि
सदैछ। उनको चिउँडोदेखि घाँटीसम्म कमलो छालाको दुई तह लुत्नुक्क झुण्डिरहेको देखिन्छ। उनको दाह्वीमा पानीका थोपाहरू बग्न थाल्छन्‌ र अर्धमुदित आँखाका पहेँला पटलहरू पनि सूर्यको प्रकाश परेर राता देखिन्छन्‌ ।

काठको गोल्फुको बिर्को बन्द गरेर उनी कर्के नजरले मतर्फ चियाउँछन्‌ र मेरो दृष्टि एक टकसित आफूमाथि परिरहेको चाल पाएर आफ्ना सुक्खा ओठहरू चलाउँदै स्तपीमैदानतिर हेर्दछन्‌ । खोल्सोको अर्कोपट्टि धमिलो चमक टमटमाइरहेको देखिन्छ । डढेको जमीनतिरबाट बगेर आउने हावाले बनतुलसीको मगमग मीठो बास्ना ल्याइरहेको हुन्छ। बूढाबा जाखार निकै बेरसम्म चूप लागेर बस्छन्‌ । अनि आफ्नो गोठाले लौरी पर सारेर चुरोटको पहेंलो दाग लागेको औंलाले मेरो छेवैबाट पल्तिर संकेत गर्छन्‌ ।

“देख्यौ, त्यो खोल्सो पारिपट्टि वनपीपलका रूखहरूको टुप्पो? त्यो तोमिलिनहरूको मौजा हो -तोपोलेभ्का । त्यहाँ रहेको गाउँ पनि तोपोलेभ्का नै भनिन्छ। पहिले त्यहाँ बस्ने सबै किसानहरू भूदास थिए। मेरा बाबु पनि तिनैमध्येका एक जना थिए । उनी बाचुन्जेलसम्म नै एभ्ग्राफ तोमिलिनका सयस रहेका थिए। जब म फुच्चे केटो नै, थिएँ त्यस बेला उनले के बताउने गरेका थिए भने उनका मालिकले छिमेकका अर्का जिमिन्दारबाट एउटा घरपालुवा सारस दिएर उनलाई किनेका थिए रे। बाबुको मृत्युपछि मैले उनको ठाउँमा सयसको काम गर्न थालें । त्यस बेला मालिकको उमेर पनि साठी ‘वर्ष पुग्दै थियो । उनी ज्यादै मोटाघाटा थिए र रातापीरा पनि देखिन्थे । जवानीमा उनले जारको अङगरक्षक बनेर सेवा गरेका थिए। पछि, जब उनले सेवाबाट अवकाश पाए , दोनमा आएर आफ्नो दिन गुजार्ने थाले। दोनमा रहेको तोमिलिनहरूको पु्र्खेउली मौजाको जग्गाजमीन सब काजाकहरूले लिएपछि उनीहरूलाई सारातोभ जिल्लामा ६ हजार एकड’ जग्गा सट्टाभर्ना दिइयो । तोमिलिनले त्यो जग्गा चाहिँ सारातोभका किसानहरूलाई कुतमा कमाउन दिएका थिए र आफू चाहिँ तोपोलेभ्कामा नै बसेका थिए।

उनी अनौठो खालका मान्छे थिए। उनी सधैं मिहीन कस्मीराको लामो कोट लगाउने गर्थे र कमरपेटीमा चाहिँ तरवार झुण्डिरहेको हुन्थ्यो। कतै पाहुना बन्न जाँदा, जब हामी तोपोलेभ्काबाट बाहिर पुग्दथ्यौं , उनी आदेश दिने गर्थे –

“अलि तोडले दगुरा न, पाजी, तेरा बाबुहरूलाई ! ”

म घोडाहरूलाई कोर्रा लगाउँथे र घोडाहरूले हामीलाई कति छिटो तानेर लान्थे भने हावाले हाम्रो आँसु नै सुकाउन भ्याउँदैनथ्यो। बाटोको बीचबीचमा खाल्टाखुल्टीहरु थिए। वसन्तमा पानीको भल बगेर यी खाल्टाखुल्टीहरू बनेका हुन्थे । गाडाको अगिल्ला पांग्राहरू ठीकैसंग चलिरहेका हुन्थे, तर पछिल्तिरका पांग्राहरू चाहिँ अचानक घ्याच्च आवाज निकाल्थे र खाल्टोमा धसिन्धे । हामी त्यसपछि आधा माइल जति मात्रै अगाडि बढ्न सक्थ्यौं। मालिक जोडले कराउँथे- पछाडि फर्का ! ” अनि हामी तोडले पछाडि फर्कन्थ्यौं र फेरि त्यसै खाल्टोमा जाकिन्थ्यौं । त्यस अलिच्छिन ठाउँमा हामी तीन पल्ट जति ओहोर-दोहोर गर्दा कि त बग्गीको कमानी नै टुट्थ्यो, कि त पांग्रा नै धुराबाट फुस्केर हराउँथ्यो । त्यसपछि चाहिँ मेरा मालिक जोडले कराउँथे र बग्गीबाट उत्रेर पैदलै बाँकी बाटो पार गर्दथे। म चाहिं उनको पछि पछि घोडा डोर्याउँदै हिँडिरहेको हुन्थेँ। उनी एउटा अर्को तमाशा पनि खुब रुचाउँथे। मौजाबाट बाहिर निस्किसकेपछि उनी मेरो सीटनेरै बस्न आउँथे र मेरो हातबाट कोर्रा खोसेर लिन्थे। “मुख्य घोडालाई बेस्मारी दौडा ल! ”-उनी कड्केर भन्दथे। म पनि न्वारानदेखिको बल झिकेर मुख्य घोडालाई पैयाँ छोड्न लगाउँथे ।