week 22

“मलाई त लाग्छ अब छिटै सबै छुट्नेछन् ! इसाईको बयानबाहेक उनीहरुसँग अरु कुनै प्रमाण छैन । इसाईलार्य थाहा नै के थियो र ?”

आमा यताउता गर्दै थिइन् र बराबर छोरालाई हेर्थिन् । आन्द्रेइ हात पछाडि राखेर झ्यालनेर उभिएको थियो र पाभेलको कुरा सु्न्दै थियो । पाभेल कोठामा ओहोरदोहोर गर्दै थियो । पाभेलले दाह्री पालेको थियो । उसको गालामा कमलो घुँघ्रिएको दाह्रीको लट्टा पर्न थालेको थियो, जसले गर्दा उसका अनुहारको गहुँगोरोपना अलि घट्न गएको थियो ।

आमाले टेबुलमा खानेकुरा राख्दै भनिन् – “लै बस !”

खाना खाँदै आन्द्रेइले पाभेललाई रिबिनबारे बतायो । आन्द्रेइको कुरा सुनिसकेपछि पाभेलले दुःखित हुँदै भन्यो –
“म घरमा भैदिएको भए उसलाई कदापि जान दिने थिइनँ ! के कुरा साथ लिएर गयो उसले ? केही अल्झिएका विचारहरु र केही काटु भावनाहरु ।”

“केही छैन, जब मान्छेले चालीस वर्ष नाघिसकेको हुन्छ र त्यसमाथि यदि उसले आफ्नो सम्पूर्ण जीवन आफ्नो जङ्गली भालुजस्तो आत्मासँग सङ्घर्ष गर्नमै बिताएको छ भने त्यस्तो मान्छेलाई बदल्न एकदम मुस्किल पर्छ – ।” – उक्राइनिले हाँस्दै भन्यो ।

त्यसपछि उनीहरुको बीचमा बहस सुरु भयो । धेरैजसो शब्दहरु आमा बुझ्दिनथिन् ।

खाना पनि खाइसके, तर उनीहरु यथावत् एक–दोस्रामाथि जटिल शब्दहरु प्रहार गर्दै थिए । कहिलेकाहीँ उनीहरु सिधासादा शब्दमा पनि कुरा गर्थे ।

“हामीले आफ्नै बाटामा अगाडि बढ्नुपर्छ । एक पाइलो पनि यताउता गर्नुहुन्न ।” – पाभेलले दृढतापूर्वक भन्यो ।

“अनि गएर करोडौं त्यस्ता मानिसहरुसँग टकराउनेछौं, जसले हामीलाई आफ्नो शत्रु ठान्छन्, होइन ?”

उनीहरुका बहसबाट आमाले बुझिन्, पाभेल किसानहरुलाई मन पराउँदैन । उक्राइनिचाहिँ किसानहरुको पक्षमा छ र ठान्छ, किसानहरुलाई पनि उचित बाटो देखाउनुपर्छ । आमा आन्द्रेइको कुरा बढी राम्ररी बुझ्थिन् र उनलाई लाग्थ्यो यही ठीक कुरा गर्दैछ, तर जब उक्राइनि पाभेललाई केही कुरा भन्थ्यो, उनी कान ठाडो पारेर ध्यानपूर्वक सुन्न थाल्थिन्, कहीँ उसले पाभेलको चित्त दुख्ने केही कुरा त गरेन । तर चिल्लाउँदै कुरा गरे तापनि उनीहरु एक–दोस्रासँग रिसाउँदैनथे । कहिलेकाहीँ आमा छोरालाई सोध्थिन् –

“यस्तै हो र, छोरा ?”

“हो आमा, यस्तै हो !” – पाभेल मुस्कुराउँदै जवाफ दिन्थ्यो ।

“महाशय ।” – उक्राइनिले मित्रतापूर्ण व्यङ्ग्यसहित भन्यो – “तपाईले खान त टन्नै खानुभयो, तर राम्ररी पचाउनु भएन । तपाईको घाँटीमा अझ पनि केही कुरा अड्केकै छ । पानी पिउनोस्, सबै ठीक हुन्छ !”

“बसवास नगर ।” – पाभेलले भन्यो ।

“नरिसाऊ, मैले त खुला हृदयले भनेको थिएँ ।”

आमा मुसुक्क मुस्कुराइन् र टाउको हल्लाउन थालिन् ।

वसन्त ऋतु पनि आइपुग्यो । हिउँ पग्लन थाल्यो र हिउँमुनि लुकेर रहेका फोहोर र हिलो देखा पर्न थाले । दिनप्रतिदिन हिलो बढ्दै गयो, बस्ती एकदमै फोहोर र मैलो देखिन थाल्यो । दिउँसो हिउँ पग्लेर छानाबाट झथ्र्यो, तर रातीचाहिँ अझै पनि सेता हिमकणहरु चम्किरहेका हुन्थे । अब आकाशमा सूर्य बढी देखा पथ्र्यो र धापतिर बग्न थालेका जलस्रोतहरुको कलकल ध्वनि स्पष्ट सुनिन्थ्यो ।

मे दिवस मनाउने तयारी हुँदै थियो ।

फैक्ट्रीमा र पूरा बस्तीमा नै यस दिवसको महत्व बुझाउन पर्चाहरु बाँडिदै थिए । ती युवकहरु पनि जसमाथि प्रचारको प्रभाव परेको थिएन, यी पर्चाहरु पढेर भन्थे –

“हामीले पनि भाग लिनुपर्छ ।”

“लौ अब बेला भयो ।” – भेसोभसिकोभले उदासीनतापूर्वक मस्कुराउँदै भन्यो – “पुग्यो अब लुकामारी खेल्न !”
फ्योदर माजिन दङ्ग पर्यो र ऊ निकै दुब्लाएको थियो । ऊ कति बेचैनीसाथ बोल्थ्यो र कसरी हिँडडुल गथ्र्यो भने पिञ्जडाभित्र बन्द भएको चरोजस्तो लाग्थ्यो । योकोभ, सोमोभ सधैं ऊसँग हिँड्थे । योकोभ अब सहरमा काम गथ्र्यो । सामोइलोभ – जसको कपाल जेलमा बसेर अझ रातो भएको थियो । भासिली गूसेभ, बूकिन, दागुनोभ र अरु केही युवकहरु हतियार लिएर जुलुस जानुपर्छ भन्थे तर पाभेल, उक्राइनि, सोमोभ तथा अरु केही व्यक्तिहरु उनीहरुसँग सहमत थिएनन् ।
एगोर, जो सधैँजस्तो थकित र पसिनाले निथ्रुक्क थियो, स्वाँस्वाँ गर्दै लामोलामो सास फेर्दै थियो र उनीहरुको हाँसो उडाउँदै भन्दै थियो –

“साँचो हो, कमरेडहरु ! वर्तमान सामाजिक व्यवस्था बदल्ने हाम्रा प्रयासहरु सराहनीय छन्, तर कामरेडहरु ! वर्तमान सामाजिक व्यवस्था बदल्ने हाम्रा प्रयासहरु सराहनीय छन्, तर कामरेडहरु यो काम सफल तुल्याउनका लागि मैले एक जोर नयाँ बुट किन्नेपर्छ ।” – उसले आफ्ना फाटेका र भिजेका बुटतिर देखाउँदै भन्यो – “मेरो रबरको जुत्ताको पनि यही हालत छ र प्रत्येक दिन चिसो खुट्टा लिएर हिँडुने मेरो इच्छा छैन । पुरानो व्यवस्था उल्टिनुअघि नै चिहानमा गएर पल्टने मेरो विचार छैन । त्यसैले कमरेड सामोइलोभको सशस्त्र जुलुस निकाल्ने प्रस्तावको विरोध गर्दै यसको ठाउँमा मलाई एक जोर नयाँ बुट किनिदिने प्रस्ताव राख्छु । मलाई पूरा विश्वास छ, कुनै ठूलो मारपिटभन्दा यो काम समाजवादको विजयका लागि बढी उपयोगी ठहरिनेछ ।”

यस्तै अलङ्कारपूर्ण भाषामा उसले मजदुरहरुलाई भन्ने कुरा बतायो । आमा उसको भाषण सुन्न खृुब मन पराउँथिन् । उसका यी भाषणहरुबाट उनी यस्तो निष्कर्ष निकाल्थिन् – जनताका सबैभन्दा धूर्त शत्रुहरु, जो सबैभन्दा क्रूर हुन्छन् र अक्सर जनतालाई धोका दिने गर्छन्, उनीहरु मोटा, हो । र रातोरातो अनुहार भएका, निर्लज्ज र लोभी, धूर्त र क्रूर मानिसहरु हुनुपर्छ । जब देशका शासकहरु उनीहरुमाथि अत्याचार बढाउँथे तब यिनीहरु आम जनतालाई यी शासकहरुविरुद्ध भिडाइदिने र जब जनताले आफ्नो शासकको तख्ता उल्टाउँथे तब यिनै होचामोटा मान्छेहरु गद्दारीपूर्वक सत्ता आफ्नो हातमा लिन्थे र जनतालाई फेरि उनीहरुका फोहोर छाप्राहरुभित्र धकेलिदिन्थे र जब उनीहरु विरोध गर्थे तब सयौं हजारौं मानिसहरुको हत्या गर्थे ।

एकपल्ट आमाले साहस बटुलेर एगोरलाई भनिन्, उसका भाषणहरुले उनको कल्पनामा कस्ता चित्रहरु बनाउँछन् ।

“के यो ठीक हो, एगोर इभानोभिच ?” – आमाले असजिलो मान्दै र अलिकति मुस्कुराउँदै सोधिन् ।

ऊ खितित्त हाँस्यो र सास फेर्न गाह्रो भएकाले आफ्नो छातीमा हात राख्दै उसले भन्यो –

“हो, आमा, बिलकुल ठीक कुरा हो । तपाईले इतिहासको गुदि भेट्टाउनुभएको छ । कतैकतै अलि बुट्टा अवश्य भरिउको छ, पृष्ठभूमिमा कल्पनाले अलि जाली बुनिएको छ, तर वास्तविकता ठीक ठाउँमा परेको छ ! यी नै ठूलठूला भुँडी भएका मानिसहरु सबैभन्दा पापी हुन् र सबैभन्दा विषालु जुका हुन् जो जनताको रगत चुस्छन् । फ्रेन्चहरुले यिनीहरुको नाम बुर्जुवा राखेर ठीकै गरेका छन् याद राख्नुहोला, आमा यिनीहरुलाई बुर–जु–वा भन्छन्, किनभने यिनीहरु साँच्चीकै जुकाजस्तै हुन्छन् । उनीहरु हामीलाई निल्छन् र हाम्रो रगत चुस्छन् .. ।”

“त्यसो भए तपाईको विचारमा यो सबै काम पैसावालहरुको हो ?” – आमाले सोधिन् ।

“त्यस्तै हो र पैसावाल बन्नुमा नै उनीहरुको दुर्भाग्य छ । यदि केटाकेटीको खानामा अलिअलि तौवा मिसाउँदै जाने हो भने उनीहरुको हाड बढ्न छोड्छ र उनीहरु बाउन्ने हुन्छन्, तर जब कुनै मान्छेलार्य सुनको विष दिइन्छ तब उसको आत्मा बाउन्ने हुन्छ – सानो, फोहोर र निर्जीव, रबरको भकुन्डोृजस्तो, जसलाई केटाकेटीहरु पाँचपाँच कोपेकमा किन्छन् ।”

एक दिन एगोरबारे कुरा गर्दै पाभेलले भन्यो –

“आन्द्रेइ, थाहा छ ? जसको हृदय सबैभन्दा बढी पीडित हुन्छ, उनीहरु नै सबैभन्दा बढी ठट्टा मन पराउँछन् .. ।”

आन्द्रेइ एकछिन चुप लाग्यो र त्यसपछि आफ्ना आँखा खुम्च्याउँदै भन्यो –

“यदि तिम्रो कुरामा विशवास गर्ने हो भने त पूरा रुसले नै हाँसोको लुडीबुडी खोल्नुपर्ने हो .. ।”

नातासा पनि देखा पर्न थालिन् । उनी पनि जेल परेकी थिइन्, कुनै अर्कै सहरमा । जेलमा बसेर उनी अलिकति पनि बदलिएकी थिइनन् । आमा देख्थिन्, नातासाको उपस्थितिमा उक्राइनि अर्कै मान्छे हुन्थ्यो, प्रसन्न रहन्थ्यो र खुब ठट्टा गैर्थ्यो । सबैलाई उडाउँथ्यो र सबैलार्इ हँसाइरहन्थ्यो । तर जब नातासा निस्कन्थिन् ऊ बडो उदासीनतापूर्वक सिटी बजाउन थाल्थ्यो र बडो नैराश्यपूर्वक खुट्टा घिसार्दै कोठामा ओहोरदोहोर पथ्र्यो ।

सासा पनि अक्सर पस्ने गर्थिन्, तर धेरैबेर बस्दिनथिन् । उनी सधैं हतारोमा हुन्थिन्, सधैं झर्किएकी हुन्थिन् र किन हो कुन्नी पछिल्लो समय दिन प्रतिदिन उनको व्यवहार रुखो हुन थालेको थियो र बोलन पनि कम थालेकी थिइन् ।

एकपल्ट पाभेलले उनलाई मूलढोकासम्म पुर्याउन गयो र जाँदा उसले आफ्नो पछाडि ढोका बन्द गर्न बिस्र्यो । आमाले उनीहरुले छिटोछिटो करा गरेको सुनिन् –

“के तपाई नै झण्डा बोकेर जानुहुन्छ ?”

“हो ।”

“के यो मेरो अधिकार हो ।”

“फेरि जेल जान चाहनुहुन्छ ?”

पाभेलले केही जवाफ दिएन ।

“के तपाई यसो नगर्न सक्नुहुन्न .. ?” उसले भन्न थालिन् र बीचैमा थामिइन् ।