week 13

हजुरबाका आँखा भित्रसम्म गाडिएका थिए। उनको टाउको पनि काम्दथ्यो र लग-लग हल्लिन्थ्यो। अनि उनका ओँठहरू चाहिँ आवाजबेगर नै चलमलाइरहेथे ।

निक बेरसम्म उनी चुपचाप मिशाको कपाल मुसारिरहे । त्यसपछि ओछ्यानमा लम्पसार परेर पल्टिरहेकि आमातर्फ एक नजर फ्याँकेर उनले खुसखुस गरे,

“हिंड्‌, नाति ! आगनमा जाऔ !….”

उनले मिशाको हात समाते र मूलढोकाको मण्डपसम्म डोर्याउँदै लगे। कोठाको संघार पार गर्ने लाग्दाखेरि उसले आँखा झिम्म गर्यो र एकाएक उ झस्कियो। त्यहाँ अर्को कोठामा टेबुलमाथि उसका बाबु चूपचाप र शान्त भएर पल्टिराखेका थिए। उनको अनुहारको रगत धोएर साफ गरिएको थियो, तर मिशालाई भने बाबुको रगताम्य अनुहार रगत भरिएको. आँखा र त्यसमाथि बसिरहेको बडेमाको हरियो झिंगाकै झझल्को भइरहेको थियो ।

हजुरबाले इनारनेर पानी झिक्ने डोरी फुकाल्न निकै बेर लगाए । अनि उनी तबेलाभितत्र पसे र साभ्रास्कालाई बाहिर ल्याए । त्यसपछि हातको बाहुलाले उसको थुतुनोको फींज पुछिदिए र लगाम कसिदिए। उनी एक छिन उभिएर ध्यान- पूर्वक सुन्न थाले । गाउँमा होहल्ला र खित्काको लहर गुन्जिरहेको थियौँ। दुई जना लुटेराहरू घोडामा चढेर आगननेरबाट जाँदै थिए। अँध्यारोमा उनीहरूले सल्काएको चुरोट मात्न टल्किरहेको देखिन्थ्यो। एउटाले अर्कोलाई भनिरहेको थियो-

“क्या मजाले तिनीहरूलाई बचत अन्नको स्वाद चखाइयो, यार ! . . अब परलोकमा बजियाहरूले थाहा पाउलान्‌ , अर्काको धनसारको अनाज जफत गरेको फल कस्तो हुँदो रहेछ भन्ने कुरा !

घोडाको टापको आवाज सुनिन छोडेपछि हजुरबाले केही निहुरेर मिशाको कानैमा खुसखुस गर्दै भने –

“ज्यादै बूढो भइयो…। घोडामा चढ्न सक्तिनँ अब !… म तँलाई घोडाको पीठमा चढाइदिउँला है, नाति ! तँ सरासर प्रोनिन गाउँमा जा ! बाटो म देखाइदिउँला.! .. हाम्रो गाउँबाट बैण्डबाजा बजाउँदै जाने -सैनिक टुकडी त्यहीं हुनु पर्छ ! .. उनीहरूलाई छिटै यहाँ आउनको निम्ति भन्नू, किनकि हाम्रो गाउँमा लुटेराहरू घुसेका छन्‌ ! बुझिस्‌ त, नाति ? ..”

मिशाले चुप्प लागेर टाउको हल्लायो । हजुरबाले उसलाई उचालेर घोडाको पिठ्युँमा चढाइदिए र उ घोडाबाट नखसोस भनेर उसको खुट्टा डोरीले काँठीमा बाँधिदिए। अनि खलोबाट पोखरी हुँदै लुटेराहरूको नाकाबन्दी पार गरेर साभ्रास्कालाई स्तपीमैदानसम्म डोर्याएर लगे ।

“उ हेर्‌ ! “- हजुरबाले भने। “त्यो खोंचबाट उकालो शुरू हुन्छ। सरासर खोँचैखोंच जा ! यताउति नलाग्‌ ! .. तँ गाउँमा पुग्ने छस्‌ ! लौ त जा, नाति ! ”

हजुरबाले मिशालाई म्वाइ खाए र साभ्रास्काको पिठ्युँमा बिस्तारै थपथपाए ।

जुनेली रात थियो , जताततै छर्लँग उज्यालो थियो । साभ्रास्का ढल्की चालले हिडिरहेको थियो र बेला बेलामा हिनहिनाउने गर्दँथ्यो । अनि पिठ्युँमा ज्यादै हलुका सवार भएको हुँदा सुस्त सुस्त पाइला सार्दँथ्यो। मिशा लगाम तान्दथ्यो, घोडाको गर्दनमा हातले थपथपाउँथ्यो र घोडा,घरी उफ्रन्थ्यो त घरी मन्द गतिले ढल्की ढल्की हिन्दथ्यो ।

पाक्नै आँटेको गहुँको खेतमा कतै हरिया र घना बोटहरूभित्र चराहरू रमाई रमाई चिबिंर चिबिंर गरिरहेका थिए। खोचको पींधमा पानीको मुहान कलकल गर्दै बगिरहेको थियो। शीतल हावा सर सर बहिरहेको थियो।

पटमैदानमा एक्लै हिंड्नु पर्दा मिशालाई डर लागिरहेको थियो । दुबै हातले साभ्रास्काको गर्दनमा अँगालो हालेको थियो उसले। उ घोडाको न्यानो जिउमा कुक्रुक परेर टाँसिएको थियो ।

केही उकालो शुरू भयो, अनि ओरालो आयो र फेरि उकालो चढ्नु पर्यो। मिशा फुसफ्‌साउँदै थियो, पछिल्तिर हेर्न उसलाई डर लाग्दथ्यो र कुनै कुराको विचार समेत नगर्ने प्रयास गर्दै थियो। उसले आँखा चिम्म गर्यो र उसका कानहरूमा पनि सन्नाटा बाहेक अरू केही थिएन ।

अकस्मात्‌ साभ्रास्काले टाउको हल्लायो, हिनहिन गर्यो र छिटो छिटो कदम चाल्यो। मिशाको आँखा खुल्यो। उसले तल डाँडोमुनि बत्तीहरू पिलपिल गर्दै चम्किरहेको, देख्यो । कतै निकै टाढा कुक्कुर भुकेको आवाज हावाले तानेर ल्यायो ।

एक छिनको लागि मिशाको हृदय आनन्दले न्यानो भएर आयो । साभ्रास्कालाई आफ्ना दुबै गोडाले दुईतिरबाट ठेल्दै ऊ करायो–।

“ हैट-हैट-हैट ! ..”

कुक्कुरको भुकाइ नजिकिंदै आयो र पर थुम्कोको डीलमा हावाघट्टको फिक्का आकृति देखा पर्यो।

“को हो त्याँ? ” – हावाघट्टबाट आवाज आयो ।

मिशाले चूपचाप साभ्रास्कालाई अगाडि बढायो । निदाइरहेको गाउँमा भाले कुखुरा बास्न थालेको सुनियो ।

“हल्ट ! को हो आउने ? . . पख्‌ ! नत्न गोली चलाउँला ! …”

मिशा डरले तर्सेर लगाम तान्न पुग्यो, तर नजीकै अरू घोडाहरू पनि छन्‌ भन्ने अनुभव गरेर साभ्रास्का जोडले हिनहिनायो र लगामको वास्तै नगरी अगाडितिर दौडियो ।

“ह्ल्ट ! …”

हावाघट्टनेर कतैबाट गोली चलेको आवाज आयो । मिशाको चित्कार घोडाका टापहरूको आवाजमा नै विलीन भयो। साभ्रास्का हिनहिनायो , अगाडिका खुट्टा माथि उठाएर खडा
भयो र जोडले दायाँतर्फ धड्याम्म ढल्न पुग्यो ।

मिशाले तुख्न्तै गोडा दुखेको अनुभव गर्यो। त्यो दुखाइ यति बिघ्न असह्य थियो कि जोडले कराउन समेत उसको बक फुटेन। साभ्रास्काले उसको गोडा जोडले किचिराखेको थियो र त्यो बोझ झन्‌ झन्‌-भारी हुँदै गइरहेको थियो ।

घोडाको टापको आवाज नजिकिंदै आयो । दुई जना घोडचढीहरु देखा परे। तरवार उजाउँदै उनीहरू घोडाबाट ओर्लिए र मिशातर्फ लम्किए ।

“हे भगवान ! योत बच्चो पो रै’छ !”

“मर्यो कि क्या ?!”

कसैले मिशाको काखीमुनि हात घुसारेर छाम्यो र उसको मुखनेर तमाखु गन्हाउने गरी सास फेर्यो।

“ज्यूँदै छ…।”-पहिलो चाहिँ घोडचढीको आवाज सुनियो ।- “बरू घोडाले पो यसको गोडा किचिदियो क्या रे ?

बेहोस हुनै आँटिसकेको मिशाले फुसफुसाउँदै भन्यो –

“गाउँमा लुटेराहरू घुसेका छन्‌ .:.। उनीहरूले बालाई त मारि नै दिए। सोभियत-घर पनि जलाइदिए। हजुरबाले तपाईंहरूलाई छिट्टै आउनु पर्यो भन्नु भा छ !”

मिशाको आँखा धमिलिंदै गयो र तिमिर तिमिंर गर्ने थाल्यो । उसले अगिल्तिर तिरमिराउने रंगीबिरंगी टाटो मात्रै देख्न थाल्यो ,

बा नजीक आराइरहेका थिए, उनी हाँस्दै आफ्नो खैरो जुँगा तह्‌ ; लगाइरहेका थिए र उनको आँखामा चाहिं बडेमाको हरियो झिंगा पखेटा फट्फटाउँदै बसिरहेको थियो । अनि हजुरबा पनि नफरतपूर्वक टाउको हल्लाउँदै | त्यहीँबाट अगाडितिर लम्किए। अनि आमा ! त्यसपछि ठूलो निधार भएको होचो मान्छे। उ आफ्नो हातले सोझै मिशालाई देखाउँदै थियो ।

“साथी लेनिन ! ..”-मिशा मधुरो स्वरमा करायो र उसले मस्किलसाथ आफ्नो टाउको उठायो । अनि अगाडितिर हात पसारेर उ मुस्कुरायो ।