परिच्छेद २८

भोलि साँझ राजकुमार आन्द्रेइ घरबाट बिदा हुँदै थियो । आफ्नो समय तालिकाअनुसार बुढा राजकुमार खाना खाएपछि आफ्नो कोठामा गए । सानी राजकुमारी आफ्नी नन्दको कोठामा बसिरहेकी थिई । स्कन्धाभरणविना यात्रा गर्दा लगाउने फ्रककोट लगाएर राजकुमार आन्द्रेइ नोकरको सहयोगमा कोठामा आफ्नो मालसामान प्याक गर्दै थियो । बग्गी आफैले जाँच गरेर त्यसमा सुटकेश र सन्दुकहरू राम्रोसँग थन्क्याएको देखेपछि उसले घोडा कस्न लगायो । कोठामा तीनै चीजहरू मात्र रहे, जो राजकुमार आन्द्रेइ सधैँ आफूसँग राख्ने गर्थ्यो – एउटा सानो बाकस, भाँडाकुँडा राख्ने चाँदीको ठूलो बाकस, दुइटा तुर्की पेस्तोल र आफ्नो बाबुले उपहार दिएको एउटा खड्ग, जो उनले ओचाकोभको घेराबाट खोसेर ल्याएका थिए । राजकुमार आन्द्रेइका यी सबै यात्राका सामान सुव्यवस्थित तरिकाले नयाँ, सफा र फित्ताले बाँधेको कपडाको खोलभित्र राखिएका थिए ।

आफ्ना क्रियाकलापप्रति चिन्तन मनन गर्ने मान्छेहरू यात्रा गर्ने बखतमा अथवा आफ्नो जीवन पद्धति परिवर्तन गर्ने अवसरहरूमा विशेष गरेर गहिरो सोचविचारमा डुब्छन्‌ । यस्तो बेलामा उनीहरू सामान्यत: अतीतको सम्झना गर्छन्‌ र भविष्यको योजना बनाउँछन्‌ । राजकुमार आन्द्रेइको अनुहार सोचमग्न अवस्थामा शान्त र सौम्य थियो । उ हात पछाडि फर्काएर आफ्नो अगाडितिर हेर्दै कोठाको एउटा कुनाबाट अर्को कुनामा आहोर दोहोर गर्दै थियो र केही कुरा सोच्दै टाउको हल्लाइरहेको थियो । के उसलाई युद्ध मैदानमा जान डर लागिरहेको थियो वा गर्भिणी श्रीमतीलाई छोडेर जान लागेको हुँदा दु:ख लागिरहेको थियो- सायद दुवै । तर सम्भवतः ऊ यस्तो मनस्थितिमा देखिन चाहँदैनथ्यो, त्यसैले दलानमा कसैको पदचापको आवाज सुन्नासाथ उसले हत्तपत्त आफ्ना हात ठीक अवस्थामा ल्यायो र शुङ्गारदानको खोल बाँचेजस्तो गर्दै अनुहारमा सधैँको जस्तो शान्त र स्वाभाविक मुद्रा, प्रदर्शन गर्यो । उसले सुनेको यो पदचाप राजकुमारी मेरीको गरुङ्गा पदचाप रहेछन्‌ ।

“तिमीले घोडा कस्ने आदेश दिइसक्यौ भनेको सुनेँ,” मेरीले स्वाँस्वाँ फुलेको सासैसासले सोधी (सायद ऊ दगुर्दै आएकी हुँदी हो)। तिमीसँग एकान्तमा केही गोप्य कुरा गर्न चाहन्थेँ । हामी फेरि कहिले भेट हुन्छौँ भगवानलाई थाहा होला । म यहाँ आएकोमा तिमीलाई रिस उठेको त छैन ? तिमी धेरै बदलिएका छौ अन्द्रुशा,” आफ्नो प्रश्नको प्रष्टिकरण दिँदै उसले थपी ।

आफ्नो दाइको अन्द्रुशा भनेर बोलाउने नाम काढ्दा मेरी मुस्कुराई । उही कठोर तथा सुन्दर पुरुष, बाल्यकालमा सँगसँगै खेल्ने साथी, उपद्रयाहा र दुब्तो-पातलो केटो, आफ्नो दाइ अन्द्रुशा, कल्पना गर्दा पनि मेरीलाई अनौठो लागिरहेथ्यो ।

लीजा कहाँ छ ? उसले सोध्यो र मुस्कानको रूपमा उसले बहिनीको प्रश्नको उत्तर यसरी नै दियो ।

“यति थाकेकी रहिछन्‌ कि उनी मेरो कोठाको सोफामा नै निदाइन्‌ । अहो, अन्द्रुशा, तिमीले श्रीमती त हीरा नै पाएछौ,” दाइको अगाडि सोफामा बस्दै मेरीले भनी । कति केटाकेटी जस्ती, मायालु र प्रसन्न चित्तकी धनी । मलाई भाउजूको असाध्यै माया लाग्यो ।

राजकुमार आन्द्रेइ चुप लाग्यो । तर मेरीले उसको अनुहारमा ब्यङ्ग्य र तिरस्कारको भाव उद्भरण भएको देखी । “सानातिना कमी कमजोरीमा त्यति विघ्न अनुग्रही हुनु हुँदैन । त्यसबाट मुक्त को छ र, आन्द्रेइ ? उच्च घरानिंयाँ वातावरणमा उनको पालनपोषण भयो, त्यसैमा उनी हुर्किन्‌ । फेरि उनको व्यक्तिगत स्थिति अहिले अर्कै छ । हामीले सबैको अवस्था बुझ्ने प्रयास गर्नु पर्छ । जसले सबै कुरा बुझेको हुन्छ, उसमा क्षमा गर्न सक्ने शक्ति पनि हुन्छ । जुन किसिमको पारिवारिक परिवेशमा उनी हुर्किन्‌, बढिन्‌ अलिकति सोचविचार गर त – लोग्नेसँग बिछोड भएर यस्तो स्थितिमा गाउँमा आएर एक्लै बस्नु पर्दा उनलाई कस्तो भएको होला ? वास्तवमा उनको लागि यो धेरै गाह्रो काम हो ।”

राजकुमार आन्द्रेइ बहिनीलाई हेरेर हाँस्यो, जसरी हामी ती मानिसहरूलाई राम्ररी जाने बुझेका छौँ भन्ने सोचेर हाँस्छौँ ।

“तिमी गाउँमा बस्छ्यौ त्यसैले यहाँको जिन्दगी तिमीलाई असहज लाग्दैन,” राजकुमार आन्द्रेइले भन्यो ।

“मेरो कुरा बेग्लै हो । यहाँनेर मेरो प्रसङ्ग उठाउनु नै निर्थकछ। म त यो बाहेक अर्को किसिमको जिन्दगी चाहँदा पनि चाहन्नँ र चाहन पनि सक्तिनँ, किनकि म अर्को किसिमको जिन्दगीसँग परिचित नै छैन । तर आन्द्रेइ उच्च कुलमा हुर्केबढेकी चेलीबेटीलाई आफ्नो जीवनको स्वर्णिम कालपरिच्छेदमा एउटा गाउँमा आएर एक्लै बस्नु पर्दा कस्तो हुन्छ होला, तिमीले विचार गर त ? बुबाज्यूलाई फुर्सत्‌ कहिल्यै हुँदैन र म ……. मेरो कुरा त तिमीलाई थाहै छ …….. यस्ता उच्च समाजमा अभ्यस्त आइमाईहरूका लागि म कति निरस छु ? मसँग केही छैन, विपन्न छु । बाँकी रही- त्यही कुमारी बुर्येन मात्र …….. ।”

“तिम्री कुमारी बुर्येन पनि मलाई त ठ्याम्मै मन परेन,” राजकुमार आन्द्रेइले भन्यो ।

“होइन, होइन, त्यसो नभन । ऊ मनमा ज्यादै नै माया, दया भएकी केटी हो । त्यसबाहेक भन्नु पर्दा ऊ बिचरी दयाकी पात्र हो । संसारमा उसको आफ्नो भन्नु कोही छैन । साँच्चै भनूँ भने मलाई उसको जरुरत नै छैन तैपनि ऊ कवाफमा हड्डी भइदिन्छे । तिमीलाई थाहै छ, म मानिसहरूदेखि टाढा रहन चाहन्छु र ‘मेरो यो बानी आज भोलि त झन्‌ तीव्र भएर गएको छ । मलाई एक्लै बस्न धेरै मन पर्छ । तर …………… बुबाज्यूले उसलाई असाध्यै माया गर्नु हुन्छ । कुमारी बुर्येन र मिचेल इभानोविच दुवै जना उहाँलाई नभई हुँदैन र त्यसै गरी उनीहरू पनि बुबाप्रति आभारी छन्‌ । लरेन्स स्टेर्नको भनाइमा “हामीलाई कसैले भलो गर्यो भनेर हामीले उसलाई माया गर्ने होइन तर हामीले कसैलाई भलो गर्यौँ भने उसलाई हामीले माया गर्नु पर्छ ।” उसको बाबुको मृत्युपछि बुबाले घरबारविहीन अनाथलाई सडकबाट उठाएर ल्याउनु भयो । उसको शीलस्वभाव पनि असाध्यै राम्रो छ । र उसको अध्ययन गर्ने बानी बुबालाई झन्‌ ज्यादा मन पर्छ । उसले राती राती बुबालाई केही न केही पढेर सुनाउँछे । र, उसको पढ्ने शैली पनि गजबको छ ।”

“त ढाँटिकन भन त बैनी, बुबाको आनिबानी देखेर तिमीलाई कहिलेकाँही दिक्क लाग्छ कि लाग्दैन ?” राजकुमार आन्द्रेइले अचानक यस्तो प्रश्न गर्यो ।

“मलाई ? मलाई दिक्क लाग्ने ?” उसले भनी ।

“एक त तेसै पनि उहाँ सधैँ कडा स्वभाव भएको मानिस हुनुहुन्थ्यो तर आज-भोलि त त्यो मात्रा झन्‌ बढेर गएजस्तो लाग्यो,” राजकुमार आन्द्रेइले भन्यो । “उसले सम्भवत- बहिनीलाई रनभुल्ल पार्न वा उसले के भन्ने रहिछ भनेर उसको विचार बुझ्ने आशयले बुबाका विषयमा यस्तो प्रश्न सोधेको हुनुपर्छ ।”

“हरेक कुरामा तिमी ठीक छौ, आन्द्रेइ………… …. तर तिमीमा अलिकति बौद्धिक अहङ्कार पलाएछ,” कुराकानीको सिलसिलाभन्दा आफ्नै निजी, विचार तरङ्गको पक्षपोषण गर्दै राजकमारीले जवाफ दिई । “कुनै बाबुका छोराछोरीले यस्तो पाप चिताउन सक्छन्‌ ? तर कसैले चितायो भने पनि मेरो बुबाजस्तो पवित्र आत्माप्रति मेरो मनमा त श्रद्धा र सम्मानबाहेक अरू भावना कसरी उब्जन सक्छ ? बुबाको काखमा बस्न पाएकी भएर अति भाग्यशालिनी छोरी हुँ । मैले भनेर हुने भए त तिमीहरू पनि त्यस्तै खुसी र त्यत्तिकै सुखी हुने थियौ, जस्तै म छु ।”

दाइले उसका कुरामा विश्वास नलागेजस्तो गरेर टाउको हल्लायो ।

“एउटै कुरा छ दाइ, जो मलाई मजा लाग्दैन – त्यो हो धर्म सम्बन्धमा बुबाको बिचार ।” मैले ढाँटेकी होइन । उहाँजस्तो बुद्धिमान मानिसले घामजस्तो छर्लङ्ग विषय पनि बुझ्न नसकेर यताउति भट्केको देख्दा मेरो दिमागले काम गरेको छैन र मलाई दु:ख लागेको विषय नै यही हो । तर यस विषयमा पनि केही दिनदेखि उहाँको विचारमा परिवर्तन आएजस्तो लगेको छ । उहाँका शब्दव्यङ्ग्यहरू केही मत्थर हुँदै गएका छन्‌ । एक जना साधुसँग उहाँले भेट पनि गर्नु भएको थियो र लामो कुराकानी पनि गर्नु भएको थियो ।”

“तर हेर, बहिनी तिमी र तिम्रो साधुजस्ता मान्छेले निरर्थक रूपमा आफ्नो शक्ति खेरा फालिरहेका छौ,” राजकुमार आन्द्रेइले खेलवाड गर्दै तर सस्नेह बहिनीलाई भन्यो । तर दाइ, मलाई त भगवान्ले मेरो प्रार्थना सुन्नु होला जस्तो लाग्छ । “आन्द्रेइ,” एकैछिन चुप लागेपछि मेरी डराइडराई भन्न लागी, मैले तिमीसँग एउटा ठूलो कुरा गर्नु छ ।”

“के कुरा हो भनन् त ?” मेरी प्यारी बहिनी !

“तर पहिले मलाई बचन दिनु पर्यो । अस्वीकार गर्न पाइने छैन । तिमीलाई यसमा कुनै किसिमको दु:ख पनि हुने छैन, बरु आनन्द नै हुने छ र तिम्रो मानमर्यादामा कुनै हानिनोक्सानी पनि हुने छैन । वाचा गर, अन्द्रुशा,” उसले हातेझोलामा हात घुसारी, त्यो वस्तु हातमा लिई, आफूले मागेको वचन पूरा नहुन्जेल देखाउन नहुने जस्तो गरेर झोलाबाट हात बाहिर पनि निकालिन । उसले डराइडराई मुखमा हेरी ।

“मैले दुःखकष्ट वा हानिनोक्सानी ब्यहोर्नै पर्ने भए पनि म….” बहिनीले भन्न खोजेको कुरा बुझेजस्तै गरेर राजकुमार आन्द्रेइले जवाफ दियो।

“तिमीले जेसुकै सोच, सोच । तर तिमी मेरो बुबासमानका श्रेष्ठ हौ, म मान्छु । तर मेरो लागि यति अवश्य गर । हाम्रो बाबुको बाबुले, र हाम्रो बाबुको बाबुको बाबुले लडाइँमा जाँदा यो लगाउने गर्थे । (झोलाभित्र हातमा के समातिरहेकी थिई उसले अझै देखाएकी थिइन) वचन पूरा गर्छौं, होइन त ?”

“अवश्य पूरा गर्छु । त्यो के कुरा हो अब भन ?”

“दाइ, म तिमीलाई ईश्वरको यो प्रतिमा दिँदैछु, तर तिमीले आजीवन यसलाई घाँटीबाट फुकाल्ने छैनौ । प्रतिज्ञा गर्न सक्छौ ?”

यदि यसको तौल सय “पाउण्ड छैन र यो लगाउँदा मेरो घाँटी भाँचिदैन भने म तिम्रा लागि यो लगाउन तयार छु,” राजकुमार आन्द्रेइले भन्यो ।

तर आफ्नो ठट्टाले गर्दा बहिनीको अनुहारमा मलीनता देखेर उसले पछुतो मान्दै तुरुन्तै थप्यो, “मलाई ज्यादै खुसी लागेको छ बहिनी, म हर्षविभोर छु ।”

तिम्रो इच्छा नहुँदानहुँदै पनि उनले तिम्रो रक्षा गर्ने छन्‌ । तिमीलाई क्षमा गर्ने छन्‌ र तिमीलाई आफ्नो नजिक राख्ने छन्‌, “किनभने केवल उनीमा मात्र शान्ति निहित छ,” उत्तेजित भएर काम्दै मेरीले भनी । कुनै समारोहमा जस्तै उसका दुबै हातले कालो अनुहार भएको यिशूको पुरानो खालको सानो सुनको अण्डाकार प्रतिमा समाइरहेका थिए । प्रतिमाको सिक्री चाँदीको थियो र यसको कालीगढी बयान गरिसक्नु थिएन् । राजकुमारी मेरीले आफूमाथि क्रसको निसाना बनाई । देवताको प्रतिमालाई चुमी र दाइलाई हस्तान्तरण गर्न लागी ।

“दाई, कृपा गरेर मेरा लागि …………..।”

राजकुमारी मेरीका स्नेहपूर्ण र ठूल्ठूला आँखा मृदु किरणहरूका साथ चम्किरहेका थिए । तिनै दुई आँखाले उसको दुब्लो, पातलो र बिरामीको जस्तो अनुहारलाई धपक्क बालेका थिए र सुन्दर तुल्याएका थिए । उसको दाइले प्रतिमा लिनै लाग्दा उसले झट्ट रोकी । दाइले पनि कुरा बुझिहाल्यो । उसले पहिले आफूमाथि क्रसको निसान बनायो र प्रतिमालाई चुम्यो । उसको अनुहारमा स्नेह पनि थियो र उपहासको गन्ध पनि थियो । उसको मर्मलाई भेदन गरिएको थियो ।

“धन्यवाद छ, प्यारो दाइ ।”

राजकुमारी मेरीले आफ्नो दाइको निधार चुमी र त्यसपछि फेरि सोफामा गएर बसी । दाजुबहिनी दुवै केहीछिन चुप लागे ।

“हो दाइ, मैले भन्दै थिएँ-। तिमी जस्तो पहिले थियौ त्यस्तै भइरहनू । त्यस्तै दयालु र त्यस्तै उदार । लिजालाई त्यस्तो कडा रूपमा नहेर्नु” उसले बोल्न सुरु गरी । “ऊ धेरै माया लाग्दी छ । उसको स्वभाव ज्यादै असल छ । र, उसको अवस्था अहिले गाह्रो हुँदै गएको छ ।”

मैले त तिमीसँग लिजाका विषयमा कुनै गुनासो गरेजस्तो लाग्दैन । माशा ! म ऊसँग खुसी छैन, मैले भनेकै छैन । किन तिमी मलाई यस्ता कुरा गछ्यौं ?”

दाजुका कुराले राजकुमारीका गाला लाजले राता भए, त्यसैले अपराध बोध गर्दै उ चुप लागी ।

“मैले त केही पनि भनेको छैन । सायद तिमीलाई कसैले कुरा लगाइ दियो । मलाई असाध्य दु:ख लाग्यो,” राजकुमार आन्द्रेइले अगाडि भन्यो ।

राजकुमारी मेरीको निधार, गर्दन र गाला झन्‌ राता भएर गए । उ केही बोल्न खोजी तर सकिन । दाजुचाहिँको अनुमान सही सावित भयो – सानी राजकुमारी दिउँसोको खाना खाएपछि रोइरहेकी थिई । उसलाई प्रसव पीडाको नतिजा नराम्रो हुने पूर्वाभास भइरहेको थियो । ऊ डराइरहेकी थिई र आफ्नो भाग्यलाई दोष दिइरहेकी थिई, साथै आफ्नो ससुरा र लोग्नेका विरुद्ध गुनासो पनि पोढ्दै थिई । रुँदा रूँदा ऊ झपक्क निदाई । राजकुमार आन्द्रेइलाई आफ्नी बहिनीप्रति दया जागेर आयो ।

“माशा, तिमीले यति बुझ कि म मेरी श्रीमतीलाई कुनै किसिमको खोट लाउन सक्तिनँ, खोट लगाएको पनि छैन र कहिल्यै खोट लगाउने पनि छैन । र, उसका सम्बन्धमा म आफूलाई पनि कुनै प्रकारको दोष दिन सक्तिनँ । र, म जहाँ जस्तोसुकै अवस्थामा रहे पनि मेरो व्यक्तिगत-धारणा यही नै हुनेछ । तर यंदि तिमी सत्य कुरा जान्न चाहन्छ्यौ भने……..म सुखी छु वा दुःखी छु भन्ने जान्न चाहन्छयौ भने ………. म सुखी छैन । हो, लीजा सुखी छ त ? त्यो पनि छैन । तर यस्तो किन भएको हो – म आफूलाई नै थाहा छैन ।”

यति भन्दै राजकुमार आन्द्रेइ उठ्यो, बहिनीसँग गयो र झुक्दै उसको निधारमा चुम्बन गर्यो ।

उसका आँखा गम्भीर सुझबुझ अत्यन्त दया र असाधारण ज्योतिका साथ चम्किरहेका थिए तर ऊ बहिनीतिर होइन, आफ्नो शिरमाथि खुला रहेको ढोकाको अँध्यारोतिर हेरिरहेको थियो ।

आऊ, उसँग जाऊ, बिदा हुने बेला भयो । कि तिमी मात्र एक्लै जाऊ र उसलाई उठाऊ । म एकैछिनमा आउँछु । “पेत्रुश्का, उसले आफ्नो नोकरलाई बोलायो । “यहाँ आर, यी सामानहरू बग्गीको सिटमुनि लगेर राख र योचाहिँ सिटको दाहिनेतिर राख ।”

राजकुमारी मेरी उठेर ढोकातिर गई । त्यहाँ पुगेर उभिई र उसले भनी, “आन्द्रेइ, तिमीमा धार्मिक आस्था र विश्वास भएको भए त्यो प्रेम पाउँ, भनेर भगवान्‌को प्रार्थना गर्ने थियौ, जुन प्रेम अनुभव गर्न तिमी असमर्थ भएका छौ । भगवान्‌ले तिम्रो प्रार्थना अवश्य स्वीकार गर्ने थिए ।”

“तर कुरा यतिमा मात्र सीमित छैन,” राजकुमार आन्द्रेइले जवाफ दियो । तिमी गइहाल माशा, म पनि आइहाल्छु”।

बहिनीको कोठातिर लाग्दा एउटा घरलाई अर्को घरसँग जोड्ने दलानमा मुस्कुराइरहेकी कुमारी बुर्येनसँग राजकुमार आन्द्रेइको जम्काभेट भयो । मोहक र कलाविहीन मुस्कानका साथ कुमारी बुर्येनको आज तेस्रो पटक राजकुमार आन्द्रेइसँग सुनसान दलानमा भेट भएको थियो ।

“ओहो, मैले त तपाईं आफ्नै कोठामा हुनु होला भन्ने ठानेकी थिएँ,” कारणवश लजाउँदै आँखा भुइँतिर गाड्दै उसले भनी ।

राजकुमार आन्द्रेइले उसलाई कडा नजरले हेर्यो र अचानक उसको अनुहारमा रिसको भाव प्रकट भयो । उसले कुमारी बुर्येनलाई केही पनि भनेन तर उसको आँखामा हेर्दै नहेरी अत्यन्त ठूलो उपेक्षासाथ उसको निधार र कपालमा यसरी हेर्यो कि फ्रान्सेली महिला लाजले रातो अनुहार लाउँदै एक शब्द नबोलेर त्यहाँबाट हिँडी । राजकुमार आन्द्रेइ आफ्नो बहिनीको कोठामा पुग्दा उसकी श्रीमती उठिसकेकी थिई र खुला ढोकाबाट उ खुसी हुँदै बोलिरहेका शब्दहरू एकपछि अर्को गर्दै, आइरहेका थिए । उ सदाफझैँ फ्रान्सेली भाषामा बोल्दै थिई । ऊ यसरी बोलिरहेकी थिई मानौँ धेरै लामो समयसम्म नबोलेर बसेकी हुँदा त्यसको क्षतिपूर्ति गरिरहेकी होस्‌ ।

“होइन, तिमी नक्कली घुम्रिएका- कपाल र नक्कली दाँत हालेकी बुढी काउन्टेस जुवोभाको कल्पना गर त । उसले आफ्नो बुढ्यौलीको ढाकेछोप गरिरहेजस्तै लाग्छ हा…हा…हा… हगि मेरी ।” !

काउन्टेस जुवोभाका बारेमा राजकुमार आद्रेईले मान्छेहरूका अगाडि आफ्नी स्वास्नीको मुखबाट यही कुरा पाँच-छ पटक सुनिसकेको थियो । ऊ विस्तारै कोठाभित्र छिर्यो । भकुल्ली र राता राता गाला भएकी र हातले केही बुनिरहेकी सानी राजकुमारी आरामकुर्सीमा बसेकी थिई । र पिटर्सबर्गका सम्झनाहरू नवीकरण गर्दै र त्यहाँका विशेष वाक्यांशहरू उपयोग गर्दै लगातार बोलिरहेकी थिई । राजकुमार झसँग पुग्यो, उसको कपाल सुमसुम्यायो र यात्रापछिको थकाइ मर्यो कि भनेर सोध्यो । राजकुमारी लिजाले, आवश्यक जवाफ दिई र फेरि तुरुन्तै बोल्न थाली ।

छवटा घोडावाला बग्गी घरको ढोकाअगाडि नै खडा थियो । शरद ऋतुको अँध्यारो रात थियो । सवारी चालकले अँध्यारोका कारण केही देखिरहेको थिएन । नोकरचाकरहरू लालटिन लिएर ओसारोमा ओहोरदोहोर गरिरहेका थिए । विशाल महल ठूल्ठूला झ्यालबाट निस्केका प्रकाशले जगमगाइरहेको थियो । घरमा काम गर्ने चाकरीदार र करियादासहरू राजकुमारसँग बिदा हुन ड्योढीमा जम्मा भएका थिए । र, परिवारका सदस्यहरू मिचेल इभानोविच, कुमारी बुर्येन, राजकुमारी मेरी र राजकुमारी लिजा, प्रतीक्षालयमा बसिरहेका थिए । बुढा राजकुमारले छोरालाई आफ्नो कोठामा बोलाउन पठाएका थिए । उनी छोरासँग एक्लै बिदा लिन चाहन्थे । तर सबैले उनी बाहिर आउने प्रतीक्षा गरिरहेका थिए । राजकुमार आन्द्रेइ आफ्नो बाबुको कोठामा जाँदा उनी बुढाबुढीले लाउने पावरदार॒ चश्मा र सेतो ड्रेसिङ्ग गाउन लगाएर, जुन मेशमा उनले छोरालाई बाहेक अरूलाई भेट्दैनथे, केही लेख्दै कुर्सीमा बसिरहेका थिए । उनले यसो नजर घुमाए ।

“जान लागेको हो ?” उनी फेरि लेख्न थाले ।
“हो, बुबा ।”
“म बिदा हुन आएको हुँ ।”
उनले आफ्ना गाला देखाउँदै भने, “लौ यहाँ चुम्बन गर ।” धन्यवाद ।

“के का लागि धन्यवाद, बुबा ?” मलाई कारण भन्नुहोस्‌ ।

“यस कारणले धन्यवाद कि ठीक समयमा जान लाग्यौ, तरुणी स्वास्नीसँग टाँस्सिएर बसेनौ । हेर बाबै, सैन्य सेवा जस्तो ठूलो अरू केही छैन ।” उनले यति छिटोछिटो लेख्दै थिए कि कलमसमेत चीँचीँ गरेर कर्कश आवाज निकाल्दै थियो । “केही भन्नु छ भने, भन । यी दुइटै काम सँगसँगै गर्न मज्जाले सकिन्छ,” उनले थपे ।

“बुबा, श्रीमतीलाई हजूरको हातमा छोडेर जाँदै छु । म यसको लागि अत्यन्त शर्मिन्दा छु ।”

“बाहियात कुरा किन गर्ने हँ ? भन्न खोजेको खास कुरा के हो ? त्यो मात्र भन ।”

“बच्चा जन्मिने बेला नजिक आएपछि मस्कोबाट स्त्रीरोग विशेषज्ञ झिकाउनु होला । त्यसबेला ऊ यहाँ हुनु जरुरी छ ।”

बुढा राजकुमारले लेख्न बन्द गर्दै छोराको कुरा नसुनेझैँ गरेर उसको अनुहारमा कडा दृष्टि दिए ।

“मलाई पनि थाहा छ, यदि प्रकृतिले साथ दिएन भने कसैले पनि उसको सहयोग गर्न सक्ने छैन? एकदम । आत्तिँदै रजिकुमार। आन्द्रेइले भन्यो । “म मान्छु- हजारौं-लाखौँ
गर्भिणीहरूमध्ये एउटी-दुइटीको …………….. । तर उसको र मेरो इच्छाको कुरा हो । लिजालाई उल्टा-सुल्टा कुरा लगाइदिएका रहेछन्‌ । उसले नराम्रो सपना देखेकी छ र त्यसैले ऊ एकदम डराइरहेकी छ ।”
“हुँ”……” उनले लेख्न बन्द गर्दै आफूले आफैलाई भने । “म गरिहाल्छु नि ।”

उनले लिखतमा हस्ताक्षर गरे, अचानक छोरातिर फर्केर हाँस्न थाले ।

“खराब कुरा छ नि त ।”

“कस्तो खराब कुरा, बुबा ?”

“तिम्री स्वास्नी,” बुढा राजकुमारले संक्षिप्त तर महत्त्वपूर्ण ढङ्गमा जवाफ दिए ।

“मैले त बुझ्नै सकिनँ,” आन्द्रेइले भन्यो ।

“यसमा केही गर्न सकिँदैन बाबै,” बुढा राजकुमारले भने । “उनीहरू सबै उस्तै हुन्छन्‌ । विवाह गरिसकेपछि पुनः विवाह गर्न मिल्दैन क्यारे । तिमीले कुनै किसिमको चिन्ता लिनु पर्दैन । म कसैलाई केही भन्दिनँ । तर तिमी आफै जानिफकार छौ ।”

उनले आफ्ना बलिया ह्वातले छोराको हात समाते, बेसरी झटकारे-र मान्छेलाई अगाडि र पछाडि दुवैतिरबाट देख्न सक्ने जस्ता तेजिला आँखाले छोराको अनुहारमा एक टक लगाएर हेरे र फेरि आफ्नो भावशून्य हाँसो हाँसे ।

छोराले लामो सास फेर्यो र यसरी आफ्नो बाबुले आफ्नो मनको स्थिति बुझेको कुरा स्वीकार गर्यो । बुढा राजकुमारले चिठी पट्याउँदै खाममा हालेर छाप लगाउँदै मैन, छाप र कागज हातमा लिएर तलतिर फ्याँक्न थाले ।

“के गर्न सकिन्छ ?” ऊ राम्री छ । म छोराले अह्राएका काम कुरा सबै गर्छु ।

“जे गर्न सकिएला, सकिएला ।” तिमी निश्चिन्त भएर बस्नू,-त्यत्ति हो । बरू मेरो कुरा ध्यान दिएर सुन ।” यो चिठी मिखाइल इलारिओनोभिच कृतुजोभलाई दिनू । मैले उसलाई, मेरो छोरालाई राम्रो ठाउँमा राम्रो काम दिनू उसलाई धेरै दिन सहायक बनाएर नराख्नू भनेर लेखेको छु । यो जागिर त्यस्तै,खालको हुन्छ । उसलाई मुखले पनि भनिदिनू- म उसलाई धेरै धेरै सम्झन्छु र, उसलाई असाध्यै रुचाउँछु । र, उसले तिमीसँग कस्तो व्यवहार गर्दो रहेछन मलाई लेखेर पठाउनू । उसले तिमीलाई राम्रो व्यवहार गर्यो भने, तिमीले पनि उसको राम्रो सेवा गर्नू र उसले त्यस्तै व्यवहार गर्यो भने बोल्कोन्स्कीको छोराले कसैको कुपापात्र भएर कसैको मुनि बसेर काम गर्नु पर्दैन । ल अब यता आऊ ।”

उनी यति छिटोछिटो बोल्दै थिए कि उनका शब्दहरू आधा आधामै दुङ्गिन्थे । तर छोरा भने आफ्नो बाबुका हरेक शब्दहरूको अर्थ बुझ्न अभ्यस्त थियो । बुढा राजकुमारले छोरालाई एउटा डेस्कमा लिएर गएं । डेस्कको घर्रा खोले र त्यसभित्रबाट आफूले लेखेको ठूल्ठूला, लामालामा र गहिरो अर्थ लाग्ने एउटा कागज निकाले ।

“यो त थाहा। भएकै कुरा हो कि म तिमीभन्दा पहिले नै यो संसारबाट बिदा, लिएर जाने छु । यी मेरा संस्मरण अर्थात्‌ आत्मकथाका केही अंश हुन्‌ । मेरो मृत्युपछि यी पत्रहरू सम्राट्को हातमा दिनू । यो एउटा बैङ्कको चेक हो र, यसमा सम्बन्धित कागजपत्रहरू पनि सङ्लग्न छन्‌ । यो रकमबाट सुवारोभको लडाइँका विषयमा इतिहास लेख्ने मान्छेलाई पुरस्कार दिनु पर्छ । यसलाई विद्वत्‌ परिषद्मा पठाइ दिनू । यसमा मैले आफ्ना केही भनाइहरू लिपिबद्ध गरेको छु । मेरो मृत्युपछि यो पढ्नू – यसभित्र तिमीलाई काम लाग्ने केही कुराहरू पनि पाउने छौ ।”

आन्द्रेइले आफ्नो बाबुलाई अझै निकै बर्ष बाँच्नु हुन्छ भनेको थिएन त्यसैले यस्तो कुरा गर्न उसले आवश्यकता नै ठानेको थिएन ।

“हवस्‌ बुबा, सबैथोक तपाईंले भनेबमोजिम नै हुनेछ,” उसले भन्यो ।

“त्यसो भए ठीक छ, अब तिमी जाउ छोरा,” बुढा राजकुमारले चुम्बनका लागि आफ्नो हात छोरातिर बढाए र उसलाई अँगालो मारे । “यति कुरा याद गर्नू, राजकुमार आन्द्रेइ ! यदि उनीहरूले तिमीलाई मारे भने मेरो आत्मा रुने छ…..” उनी एक्कासि चुप लागे र फेरि अप्रत्याशित रूपमा ठूल्ठूला स्वरमा बोल्न थाले । “तर यदि तिमीले निकोलास बोलस्कोन्स्कीको छोरालाई सुहाउने खालको व्यवहार गरेनौ भने ……….. लाजले मेरो शिर झुक्नेछ,” उनी बेपत्तासँग चिच्याए।

“बुबा, तपाईंले यी कुराहरू भन्नै नपर्ने हो,” छोराले मुस्कुराउँदै भन्यो ।

बुढा राजकुमार चुप लागे ।

“तपाईंसँग मेरो एउटा अर्को बिन्ती छ,” राजकुमार आन्द्रेइले भन्यो, “यदि म मारिएँ भने र मेरो छोरा जन्मियो भने उसलाई तपाईंबाट अलग कहिल्यै नराख्नु होला । तपाईंलाई यो कुरा मैले पहिले पनि भनेको छु, मेरो इच्छा छ कि ऊ तपाईंकै काखमा हुर्केर ठूलो मान्छे हुन सफल होस्‌ । कृपा गरेर यस्तै गर्नु होला ।”

“ए, त्यसो भए तिम्रो छोरा तिमो श्रीमतीलाई पनि दिन नहुने ?,” बुढा राजकुमारले भने र मज्जासँग हास्न थाले ।

बाबु छोरा दुवै जना चुपचाप लागेर एकअर्कोका सामु उभिएका थिए । बुढा राजकुमारका तेजिला आँखा छोराका आँखामा गाडिएका थिए । त्यत्तिकैमा बुढा राजकुमारको तल्लो च्यापुमा कहीँ कतै एक प्रकारको कम्पन जस्तो भयो ।

“मैले त बिदा दिइसकेको छु, तिमी अब छिटो जाऊ न,” बुढा राजकुमार एक्कासि ठूलो र रिसाएजस्तो स्वरमा ढोका खोल्दै चिच्याए ।

“के भयो हँ ?, होइन, के भयो भन्या ?,” राजकुमारी मेरी र राजकुमारी लिजाले सेतो ड्रेसिङ गाउन र बुढाबुढीको जस्तो चश्मा लगाएर च्याँठ्ठिदै गरेका बुढा राजकुमारको आकृतिको सूक्ष्म झलक पाउने बित्तिकै राजकुमार आन्द्रेइलाई सोधे ।

राजकुमार आन्द्रेइले लामो सास फेर्यो तर उसले कुनै जवाफ दिएन । “यस्तै हो, ठीक छ,” राजकुमार आन्द्रेइले ओफ्नो श्रीमतीतर्फ फर्कँदै भन्यो ।

तर यो “यस्तै हो” भन्ने शब्द यस्तो भावनाहीन उपहास जस्तो भएर ध्वनित भयो मानौँ उसले भनिरहेको होस्‌, “अब तिमीले आफ्नो खेल देखाऊ ।”

“राजकुमार, तिमी जाने नै भयौ होइन ?,” सानी राजकुमारीले डराइडराइ आफ्नो लोग्नेतिर हेर्दै सोधी । उसको अनुहारको रङ्ग फुङ्ग उडेको थियो ।

राजकुमार आन्द्रेइले श्रीमतीलाई अँगालो मार्यो । ऊ अलिअलि कराई र लोग्नेको काँधमा बेहोस भएर पछारिई ।

राजकुमार आन्द्रेइले ठूलो होसियारी साथ आफ्नी श्रीमती बेहोस भएर झुण्डेको काँध मुक्त गर्यो । ध्यानपूर्वक उसको अनुहार हेर्यो र उसलाई लगेर आराम कुर्सीमा बसाल्यो ।

“बिदा भएँ, मेरी,” उसले बहिनीलाई मसिनो स्वरमा सम्बोधन गर्यो । उसका हात आफ्ना हातमा लिएर चुम्बन गर्यो । र, छिटोछिटो पाइला चाल्दै कोठाबाट बाहिरियो । राजकुमारी लिजा आरामकुर्सीमा पल्टिरहेकी थिई । कुमारी बुर्येन उसका कन्पटी सुम्सुम्याइरहेकी थिई । आफ्नी भाउजूलाई आड्‌ दिइरहेकी राजकुमारी मेरी आँखाभरि आँसु लिएर आफ्ना सुन्दर आँखाले त्यो ढोकातिर हेरिरहेकी थिई, जुन ढोकाबाट राजकुमार आन्द्रेइको महाभिनिष्क्रमण भएको थियो । “त्यस ढोकामा उसले आफ्नो दाजु गएको । दिशातर्फ क्रसको निसान बनाउँदै गइरहेकी थिई । बुढा राजकुमारको कोठाबाट पेस्तोल पड्केको आवाज जस्तै उनले रिसाएर नाकबाट निकालेको आवाज लगातार आइरहेको थियो । राजकुमार आन्द्रेइ प्रस्थान गर्नेबित्तिक्कै बुढा राजकुमारको कोठाको ढोका तत्काल खुल्यो र सेतो ड्रेसिङ्ग गाउन लगाएका ती बुढा मान्छेको त्यो कठोरतम सिङ्गो स्वरूपले
बाहिरतिर नियाल्दै हेर्यो ।

“उ गयो, ठीकै छ,” उनले बेहोस अवस्थामा रहेकी राजकुमारी लिजालाई रिसाएर हेर्दै भने, तिरस्कारस्वरूप टाउको हल्लाए र ढ्याम्म ढौका थुने ।