म दौडेर कोठामा गएँ । झुलभित्र छिरेर ओछ्यानमा बसेँ । पछिपछि आउँदै छन् कि भनेर कान थापेँ । अनि ओछ्यानमुनिबाट खैरो खाम निकालेर खोलेँ ।
सय सयका नोट खाममा टन्नै थियो । सत्चालीस वटा रैछन् |
हत्तपत्त खाम ओछ्यानमुनि राखेँ । कोठातिर कोही आउँदै थियो | चारजना ड्राइभर भित्र आए । मेरो चारैतिर उभिए |
“ए पाखे, तँ भन् त कुरा के हो ?”
“के कुरा ?”
“गेटपालेले हामीलाई सबै कुरा सुनाइसकेको छ । यहाँ केही कुरा गोप्य हुँदैन । तँ राति त्यो आइमाईलाई लिएर गएर कतै छोडेर एक्लै फर्केको होइन ? लोग्ने छोडेर गएकी हो त्यो ?”
“तिमीहरू के भन्दै छौ मैले त कुरै बुझिनँ ।”
“हामीलाई थाहा छ उनीहरू लामो समय लडिराखेका छन् । पाखे बजिया | अनि तैँले उनलाई राति कतै पुर्याइदिइस् | एयरपोर्ट पुर्याको हो ? उनी गइन्, होइन त ? यो पारपाचुके हो । आजभोलि सबै धनी मानिसहरू यस्तै गर्छन् । हेर यी धनीहरूको ताल – – ।” उसले टाउको हल्लायो । दारा किटेर पानले कुहिएको रातो भएको कुकुरदाँत देखाउँदै भन्यो, “न यिनलाई भगवानको डर छ, न परिवारको | ठ्याक्कै केही मतलब छैन ।”
“उनी यसो हावा खान गएकी हुन् । मैले लिएरै आएको हो । पाले अन्धो छ कि क्या हो ?”
“साह्रै बफादार । यस्तो नोकर त खोजेरै पाइँदैन ।”
घन्टी बज्छ कि भनेर बिहानभरि कुरेर बसेँ, तर बजेन । दिउँसो १३ औं तलामा गएर घन्टी बजाएर पर्खिरहेँ । उनले ढोका खोले | उनका आँखा राता थिए |
” के हो ?”
“केही होइन हजूर । खाना बनाइदिन आएको ।”
“पर्दैन ।” मलाई झन्डै सिध्याएकोमा माफी माग्छन् कि भन्ने सोचेको थिएँ, तर मागेनन् |
“तपाईले क्यै खानै पर्छ । भोकै बस्नु स्वास्थ्यको हिसाबले पनि राम्रो होइन । कृपया हजूर, त्यसो नभन्नोस् ।”
लामो सास फेरे र मलाई भित्र आउन दिए ।
उनी गैसकेको हुनाले मलाई थाहा थियो कि अब उनको स्वास्नीको काम मैले गर्नुपर्छ । उनले खाना राम्रोसँग खाए कि खाएनन्, सुते कि सुतेनन्, दुब्लाएकी पो छन् कि, सबै कुराको ख्याल राख्नुपर्ने भयो । खाना पकाएर टक्राएँ अनि सफा गरेँ । तल गएर घन्टी पर्खेर बसेँ । ८ बजे फेरि लिफटमा माथि गएँ । ढोकामै कान थापेर सुनेँ ।
क्यै चालचुल छैन भित्र ।
घन्टि बजाएँ, तर जवाफ आएन । म उनको ड्राइभर भएकाले उनी बाहिर पक्कै गा छैनन् भन्ने कुरामा ढुक्क थिएँ | म नभई कता पो जान्थे र ?
ढोका खुल्यो र म भित्र गएँ ।
महगोनीको टेबलमा एउटा बोत्तल राखेर त्यही दुईवटा पोमेरानियन कुकुरको फोटोमुनि आँखा चिम्लेर पल्टेका रहेछन् ।
मैले खाली बोतल सुँघे । हिवस्की रहेछ, तर लगभग खाली | पिँधमा रहेको अलिकता मैले सकिदिएँ |
“ए हजूर” भनेर बोलाएँ, तर उनले आँखा उघारेनन् । यसो घच्घचाएँ अनुहारमा प्याट्ट हाने । ओठ चाटेर लामो सास ताने | उनी बिउँझिन लागेका थिए तैपनि दोस्रो थप्पड हानेँ गालामा । (भाग्यले साथ दिएको नोकरको चाला | निदाएको मालिकलाई चड्कन ! मालिकको नजर बाहिर तकियामा उफ्रेजस्तो वा उनीहरूको पिसाब फेरिदिए जस्तो वा उनीहरूको कुकुरलाई पिटेजस्तो । निर्दोष नोकरको आनन्द लिने तरिका ।)
उनलाई घिसार्दै खाटमा लगेर लडाइदिएँ, ब्लेङ्केट ओढाइदिएँ, बत्ती निभाइदिएँ र तल झरेँ । आज राति गाडी चलाउन नपर्ने पक्का भयो । त्यसैले म सीधै ‘एक्सन’ मदिरालय गएँ । अशोकको हिवस्कीको गन्ध मेरो नाकमा अझै बाँकी थियो ।
अर्को रात पनि त्यस्तै भयो ।
तेस्रो रात उनी माते पनि बिउँझै थिए ।
“ल मलाई लिएर हिँड् त ।” उनले भने । “तँलाई जहाँ मनपर्छ त्यहीँ हिँड, केही छैन। मल गए पनि हुन्छ वा कुनै होटलमा गए पनि हुन्छ ।”
मैले ती उज्याला मलहरू र होटेलहरूको चक्कर लगाइरहेँ । उनी एकपटक पनि फोनसोन नगरी पछाडिको सिटमा डङ्ग्रङ्ग लडिरहे ।
जब मालिकको जीवन समस्यामा पर्छ, अनि नोकरको पनि त्यस्तै हुन्छ । मैले सोचेँ, “दिल्लीदेखि वाक्क भएका पो छन् कि ? अब धनबाद फर्किने त हैनन् ? फर्के भने मेरो के दशा होला ?” मेरो पेट पोल्न थाल्यो । मलाई लाग्यो कि म सिटमै बसीबसी गियर समातेरै मर्ने भएँ ।
“ए गाडी रोक् त ।” उनले भने ।
उनले कारको ढोका खोलेर, पेट अँठ्याएर टाउको तल गरेर छाद्न थाले । हातले उनको मुख पुछिदिएर बाटोको छेउमा लगेर बसाले । सवारीहरू हाम्रो छेउबाटै हुइँअँ जान्थे । मैले उनको ढाडमा प्याट्ट हानेँ र भनेँ- “तपाईं साह्रै धेरै पिउन थाल्नुभयो हजूर ?”
“मान्छे किन पिउँछन् हँ बलराम ?”
“मलार्इ के थाहा हजूर ।”
” हो त तेरो जातको मान्छेलाई के थाहा हुनु र? बलराम म भन्छु मानिसहरू किन पिउँछन्-। मानिसहरू जीवनदेखि वाक्क भएपछि पिउँछन् | म सोच्थेँ आजको संसारमा जात धर्मको कुनै अर्थ नै छैन । बुबाले त त्योसँग बिहे नगर्, किनकि त्यो हाम्रो जातको होइन भनेर भन्नुभएकै थियो, तर म._ _।”
अशोकले सडक छेउतिर फर्किए र मैले फेरि उल्टी गर्छन् कि भनेर ढाडमा ‘माडिदिएँ,’ तर ‘उक्क’ ‘उक्क’ आउन बन्द भो |
“कहिलेकाहीँ मलाई आश्चर्य लाग्छ बलराम । म सोच्छु कि बाँच्नुको के अर्थ छ र । साँच्चै म सोच्छु – -”
डरले मेरो मुटु ढुकढुक गर्यो । “बाँच्नुको अर्थ रे ?” “तेरो जीवनको औचित्य के हो भने तँ मरिस् भने मलाई महिनाको साढे तीन हजार कसले दिन्छ त ?” मनमनै भनेँ ।
“भगवानमा विश्वास गर्नुस् हजूर । किन निराश हुनुभएको | मेरो हजूरआमा भन्नुहुन्छ कि भगवान्मा विश्वास गर्यो भने सबै कुरा राम्रो हुन्छ रे ।”
“त्यो कुरा सही हो | एकदम सही हो । हामीले भगवान्मा विश्वास गर्नै पर्छ ।” उनी सुँक्कसुँक्क गरिरहे |
“यौटा मान्छे थियो जसले भगवानमा विश्वास गर्न छाड्यो, अनि के भो त्यसलाई थाहा छ ?”
“अहँ, छैन ! साँच्चै के भयो ?”
“तुरून्तै उसको भैँसी मर्यो ”
“होर ?” उनी हाँसे । “होर ? ”
“हो हजूर यो सत्य घटना हो ।” अनि भोलिपल्ट भन्यो, “भगवान् मलाई क्षमा गरिदिनोस् । म तपाईंमाथि विश्वास गर्छु । अनि अनुमान गर्न सक्नुहुन्छ के भयो ?
“उसको मरेको भैंसी बिउँतियो, होइन त ?”
“ठीक भन्नु भो”
उनी फेरि हाँसे । मैले उनलाई अलि हसाउँन अर्को कथा पनि सुनाएँ ।
मालिक नोकर बीचको यस्तो सम्बन्ध कहिल्यै थियो कि थिएन होला ? उनी यस्तो शक्तिहीन र अलमल्ल भएका थिए कि त्यो देखेर मेरो मन पग्लियो । पिङकी मेडमले गरेको सडक दुर्घटनामा मलाई फसाउन खोज्दा उनीप्रति जुन रिस थियो, त्यस साँझ त्यो सबै मरेर गयो । दोष त पिङ्कीको थियो । अशोकको त्यो घटनाप्रति कुनै सङ्लग्नता थिएन । मैले उनलाई पूरै माफ गरिदिएँ ।
केही हजुरआमाले भनेको सम्झिँदै र केही उत्ति नै खेर बनाउँदै मैले छ उनलार्इ मेरो गाउँको बुद्धिमानीको खुप बढाइचढाई गरेर गफ लगाएँ र उनी सहमतिको टाउको हल्लाइरहे । भागवन् गीतामा सम्झिनै पर्ने एउटा अध्याय छ जसमा कृष्ण, जो एउटा ऐतिहासिक कुशल ड्राइभर नै हुन्, ले आफैँ रथ हाँकेर पछि बस्ने यात्रीलाई जीवन र मृत्युको बारेमा राम्रो सल्लाह दिन्छन् । कृष्णले जस्तै मैले उनलाई खुसी पार्न दर्शन छाँटेँ, जोक सुनाएँ, गीता भनेँ र कहिल्यै नगाउने मान्छेले गीत पनि गाएँ |
उनले रमाइलो माने ।
उनले फेरि एकपटक ह्वाक्क गरेर छादे | मैले ढाड अँठ्याइदिँदै मनमनै । सोचेँ, “तिमी दिन खाएको, तर दयालाग्दो बच्चा नै रहेछौ ।”
ओठमा लागेको बान्ता हातले पुछिदिँदै मैले उनलाई सान्त्वनाका धेरै शब्दहरूले फकाएँ । उनलाई यस्तो अवस्थामा देखेर मेरो मुटु चसक्क दुख्यो ।म भन्न सक्दिनँ कति बेला उनीप्रतिको मेरो शुभेच्छा अन्त्य भएर स्वार्थ सुरू भयो । कुनै पनि नोकरले मुटुभित्र के स्वार्थ लुकेको छ भन्नै सक्दैन ।
के हामी हाम्रा मालिकहरूलाई प्रेमको छद्ममा घृणा गर्छौं ? वा के हामी उनीहरुलाई घृणाको छद्स प्रेम गर्छौं ?
हामीलाई कुखुराको खोरमा थुनेर राखेर आफ्नो बारेमा आफैँलाई सहस्यमय हुने पारिएको छ ।
भोलिपल्ट गुरगाउँको एउटा सडक छेउको मन्दिरमा गएँ । एक जोडी देवी नितम्बमा एक रूपियाँ चढाएर प्रार्थना गरेँ कि पिङ्की मेडम र अशोकजीको फेरि पुनर्मिलन होस् र दिल्लीमा उनीहरूको जीवन लामो समय सुखमय होस्
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।