
week 26
अब फेरि मेरो कथातिरै लागौँ ।
दिल्लीको राष्ट्रिय चिडियाखानामा रेतो बाघको खोर नजिकै उउटा साइबाोर्ड छ जसमा लेखिएको छ, “मान कि तिमी आफैँ खोरमा छौ ।’ जब मैले त्यो देखे अनि सोचेँ म त्यो गर्न (बन्न) सक्छु । बिना कुनै झन्झट म त्यो गर्न सक्छु ।
कोठा बाहिर निस्कन डर लाग्यो त्यसैले त्यही तलको गन्हाउने झुलभित्र दिनभरि खाटमा टुक्रुक्क बसिरहे । न त कसैले कार लिएर हिँड् भन्यो न कोही तल कोठामा भेट्न नै आयो |
मेरो भाग्य, लेखिसकेको थियो । आफूले नगरेको हत्या प्रकरणमा जेल जानुनै थियो । म साह्रै त्रसित् थिएँ, तर, पनि भाग्ने भन्ने कुरा मेरो दिमागमा कहिल्यै आएन । “म न्यायाधीशलाई सत्य के हो खोल्दिन्छु” भन्ने सोचाइ पनि कहिल्यै आएन । म कुखुराको खोरमा थुनिइसकेका थिएँ |
“साँच्चै जेल कस्तो हुन्छ होला ? म यही कुरामात्र सोचिरहेँ ।जेलभित्रका ती ठाठाडो कपाल भएका घिनलाग्दा मानिसबाट उम्किन कस्तो, उपाय गर्नपर्ने होला ?
“मर्डरन विक्ली” मा पढेको एउटा कथा याद आयो । जेल परेको एकजना मान्छेले एड्स लागेका बहाना गर्यो र उसलाई कसैले छोएन त्यो पत्रिका कता परेछ कुन्नि ? त्यो अहिले मसँग भइदिएको भए म त्यो कैदीका हरेक शब्द र हाउभाउ नक्कल गर्थे ! तर यदि मैले मलाई एड्स लागेको छ भनेँ झन् यो पेसेवर खेलाडी रैछ भनेर झन् बढी दुःख दिने पो हुन् कि ?
म पासोमा -परेँ । झुलभित्रबाट मेरो कोठामा सेतो प्लास्टर लगाउने ती अज्ञात हातहरूका भित्तामा परेको छाप हेरिरहे ।
“ए पाखे ।”
दुबी-ओठे-मेरो ढोकानिर आइपुग्यो ।
“तेरो मालिक बौलाएछ कि क्या हो घन्टी बजाएको बजायै छ ।” म तकियामा टाउको उड्यायर बसेँ |
ऊ आएर त्यो कालो अनुहार र दुबी-ओठले झुलमै छोएर भन्यो, “ए पाखे ? सन्चो छैन कि क्या हो ? के भयो ? टाइफाइड होकि हैजा कि डेङ्गु। के भो हँ ?” टाउको हल्लाउँदै-भनेँ, “हैन । ठिकै छ क्यै भाछैन ।”
“ए ल ठीक छ। मत केही भयो कि भनेर ।”
दुबीओठेको ठूलो मुस्कान छोडेर ऊ गयो ।
फाँसीमा चढ्न माथि उक्लिनुपर्ने मानिसजस्तै गाह्यो मानीमानी माथि उक्लेर अपार्टमेन्ट बिल्डिङ्गमा पुगेँ । अनि लिफट चढेर १३ औँ तलामा पुगेँ ।
न्याउरीले ढोका खोल्यो । यसपालि उसको अनुहारमा हाँसो थिएन । मेरा लागि उसले के गर्दै थियो भन्ने कुराको सङ्कतसम्म देखिनँ ।
“कति ढिलो गरेको ? बुबा आउनु भएको छ । उहाँ तिमीसँग केही बोल्न चाहनुहुन्छ ।”
मुटुको ढुकढुकी बढ्यो । भुँडीफोर आएछ ! अचम्म ! के उसले मलाई ला त ! ऊ आफ्ना दुई छोराहरू जस्तो कामै नलाग्ने चाहिँ होइन । ऊ पुरानो मालिक (मास्टर) हो । आफ्नो नोकरको संरक्षण गर्नुपर्छ भन्ने उसलाई थाहा थियो ।
ऊ खुट्टा अगाडि तन्काएर सोफामा बसेको थियो । मलाई देख्नेबित्तिकै मुसुक्क हाँस्यो मैले सोचेँ, “यसले मलाई जेल जानबाट जोगाउँछ कि” तर उसले मेरो बारेमा पनि सोधेको थिएन । उसले मेरो जीवनभन्दा महत्त्वपूर्ण अरू नै केही कुराहरू सोच्दै थियो । त्यो दुईवटा महत्त्वपूर्ण कुरा देखाउँदै भन्यो-
“ए बलराम, लामो रेलको यात्राले मेरो गोडा करकर खाएको छ । यसलाई अलि मालिस गर् त ।”
वाथरूममा तातो पानीको धारा ! खोल्दा मेरो हात काम्यो । तातो पानी बाल्टीमा धर्र खस्दा उछिडिएर मेरो गोडाभरि पर्यो । मेरा गोडा थरथरी कामिरहेका थिए । पिसाबको धारो गोडाबाटै बगरिहेको थियो ।
एक मिनेटपछि अनुहारमा हाँसोसहित बाल्टीमा पानी ल्याएर भुँडीफोरको छेउमा राखेँ !
“तपाईं, गोडा पानीमा राख्नुस् त ।”
आँखा चिम्लेर, “‘आथ्था” भन्दै उसले गोडा पानीमा राख्यो र “मरे” “मरेँ” भन्न थाल्यो । मैले “मरेँ” “मरेँ” भन्ने आवाज सुनेपछि झन् बेस्करी माड्न थालेँ ! माडेको तालमा मेरो
शरीर हल्लिन थाल्यो । घरिघरि मेरो टाउको उसको घुँडामा ठोकिन्थ्यो । न्याउरी र अशोक टिभीअगाडि बसेर कम्प्युटरमा खेलिराखेका थिए ।
सुत्ने कोठाको ढोका खुल्यो र पिङ्की मेडम बाहिर आइन् ! उनले केही शृङ्गारपटार गरेकी थिइनन् । आँखामुनिको छाला कालो र निधारमा चाउरी परेको कालो धर्सोले गर्दा अनुहार डरलाग्दो देखिन्थ्यो । मलाई देखेपछि उत्तेजित भइन् र भनिन्, “ए तिमीहरूले ड्राइभरलाई भनेको छौ कि छैनौ ?”
भुँडीफोर केही बोलेन । अशोक र न्याउरी कम्प्युटरको खेलमै व्यरत रहे ।
“कसैले उसलाई भनेकै छैन ? यो पनि त ठट्टै हो । जेल जाने त ऊ नै हो ।
टिभीमा गेम खेलिरहेको दाजुतिर हेर्दै अशोकले भने, “अब हामीले उसलाई सबै भन्नु पर्छ ।”
“एकदम राम्रो ।” न्याउरीले भन्यो ।
मतिर फर्केर अशोकजीले भने, “हामीले पुलिसलाई सम्पर्क गर्यौ ! कसैले पनि दुर्घटनाको जानकारी गराएको छैन रे । त्यसैले बलराम अब तिम्रो सहयोग चाहिन्न ।”
मलाई यरतो आनन्द भयो कि-हात हल्लेर बाल्टिन खस्यो र पानी पोखीयो । हत्तपत्त लर्खराउँदै बाल्टिन उठाएँ । भुँडीफोरले आँखा खोल्यो अनि मेरो टाउकोमा प्याट्ट हानेर फेरि आँखा चिम्ल्यो |
पिङ्की मेडमले यसो हेरिन् । उनको अनुहार फेरियो । दौडेर आफ्नो कोठाभित्र पसेर ड्याम्म ढोका लगाइन् | (श्रीमान जियाबाओ, यो पूरै परिवारमा छोटो स्कर्ट लगाउने आइमाईको त्यति विवेक छ भन्ने कसले सोचेको थियोर ?)
भुँडीफोरले उनी कोठातिर गएको हेर्यो र भन्यो, “यो आइमाई बौलाएकी रैछ | त्यो बच्चाको परिवारलाई खोजेर क्षतिपूर्ति दिने भन्छे । पागलपन । मानौं कि हामी सबै हत्यारा हौं ।”
ठूल्ठूला आँखाले अशोकलाई हेर्दै भन्यो, “ए छोरा तेरी स्वास्नीलाई अलि सम्हालेर राख है । गाउँमा आइमाईहरू जसरी बस्छन्, त्यसैगरी बस्न भन् यसलाई पनि। ”
अनि टाउकोमा फेरि बिस्तारै प्याट्ट पारेर भन्यो, “ए पानी सेलायो ।”
त्यसपछि तीन दिनसम्म प्रत्येक बिहान मैले उसको गोडा मालिस गरेँ । एकदिन बिहान उसको पेट अलिअलि दुखेछ | अनि न्याउरी र म भएर उसलाई दिल्लीको प्रसिद्ध निजी अस्पताल म्याक्समा लिएर गइयो । न्याउरीले उसलाई सिसैसिसा भएको ठूलो भवनभित्र लिएर गयो, म उभिएर हेरिरहेँ । सेतो कोटको खल्तीमा स्टेथस्कोप राखेका डाक्टरहरू भित्र बाहिर गरेको देखिन्थ्यो । बाहिरबाट चियाउँदा अस्पतालको लबी पाँचतारे होटेलको जस्तै सफा देखिन्थ्यो ।
अस्पताल गएको पर्सिपल्ट मैले भुँडीफोर र न्याउरीलाई गाडीमा रेल स्टेसन पुर्याएँ । बाटोमा खाने खाजा किनिदिएँ । रेल छुट्यो अनि फर्केर आएँ र गाडी पुछपाछ गरेँ । नजिकैको हनुमान मन्दिर गएर भगवानलाई धन्यवाद दिएँ र फर्केर कोठामा आएँ र झूलभित्र लत्रक्क परेर पल्टेँ ।
बिउझिँदा देखेँ कसैले मेरो कोठाको बत्ती बाल्ने निभाउने गरी राखेको थियो । को होला भनेको त पिङ्की मेडम पो रैछन् ।
“ए छिटो तयार हुने । तैँले मलाई लिएर जानुपर्छ ।”
आँखा मिच्दै भनेँ, “हस् हजूर । अहिले कति बज्यो होला ?”
उनले मलाई चुप लाग्न इसारा गरिन् |
छिटोछिटो गरी (हतारहतार) सर्ट भिरेर कार निकालेर घरअगाडि लगें । उनको हातमा यौटा झोलामात्र थियो ।
“कहाँ जाने हजूर ?” मैले सोधेँ । बल्ल बिहानको २ बजेको थियो ।
उनले जाने ठाउँ बताइन्, अनि मैले सोधेँ, “सर जानुहुन्न ? तपाई एक्लै ?”
“तलाइँ अरू किन चाहियो । तेरो काम गाडी चलाउने मात्रै हो ।”
मैले केही नसोधीकन एयरपोर्ट (विमानस्थल) पुर्याएँ ।
एयरपोर्टमा गाडीबाट ओर्लेपछि मेरो झ्यालबाट एउटा खैरो रङको खाम दिइन्, ढोका ड्याम्म लगाइदिइन् र गइन् ।
महामहिम,
यसरी मेरो मालिकको दाम्पत्य जीवनको अन्त्य भयो ।
अरू ड्राइभरले त आफ्नो मालिकको दाम्पत्य जीवन लम्ब्याइदिने तरिका जान्दछन् । मलाई एकजनाले भनेको थियो कि जब श्रीमान् श्रीमतीको लडाइँले सीमा नाँघ्थ्यो, उसले झन् तीव्र गतिमा उनीहरूलाई घर पुर्याइदिन्थ्यो रे र जब उनीहरू खुसी मुडमा हुन्थे ऊ कार बिस्तारै चलाउँथ्यो रे । जब उनीहरू झगडा गर्थे उसले उनीहरूसँग बाटो सोध्थ्यो रे, जब उनीहरू चुम्बन गर्न थाल्थे, उसले म्युजिक चर्को पारिदिन्थ्यो रे । अलिअलि दोष त पक्कै मेरो पनि छ, किनकि म ड्राइभर छँदा नै उनीहरूको सस्बन्ध विच्छेद भयो ।
भोलिपल्ट बिहान अशोकले मलाई अपार्टमेन्टमा बोलाए । ढोका ढकढक के गरेको थिएँ कठालो समातेर भित्र ताने ।
“मलाई तैँले किन नभनेको हँ ? ल भन् त ? मलाई तैँले किन नउठाइदिएको ?” भन्दै सर्टको कलर यसरी समाते कि घाँटी कस्सिएर सासै फेर्न गाह्रो भो ।
“तपाईं वहाँले त _ _ – वहाँले – – .. वहाँले भन्नुभो —”
मलाई घिसार्दै अपार्टमेन्टको बाल्कोनीतिर लिएर गए । जे भए पनि रगत त उनमा जमिनदारकै छ | (उनीभित्रको जमिनदारी रबाफ त जिउँदै रैछ)
“तैँले उनलाई एयरपोर्ट किन पुर्याएको भन् त सिमाझ्याँक्ने ?”
टाउको फर्काएर पछि हेरेँ । गुडगाँवका अग्ला टावर र मलहरू छर्लङ्ग ‘ देखिन्थे ।
“के तँ मेरो परिवारको इज्जत मेटाइदिन चाहन्थिस् ?”
लछार्दै बालकोनीमा पुर्याए । रेलिङ्मा घोप्टो पारेर अँठ्याए । म यति छेउमै पुगिसकेको थिएँ कि अलि बढी धेकेलेको भए म खस्थेँ । रेलिङको आड लागेर दुवै खुट्टाले छातीमा भुक्क बजाइदिएँ । ढुनमुनाउँदै उनी कोठा र बाल्कोनीको बीचको सिसाहरूको ढोकामा ठोक्किन पुगे । म बोल्कोनीबाट तल चिप्ले । उनी सिसाको अडेस लागेर बसे । दुवै स्वाँस्वौँ गर्दै थियौँ ।”
“तपाईले मलाई दोष लगाउन मिल्दैन हजूर” म चिच्च्याएँ । “श्रीमानको भलाइका लागि लोग्ने छोडेर जाने पनि आइमाई हुन्छन् भन्ने मैलै आजसम्म सुनेको छैन ! यस्तो टिभीमा मात्र देखिन्छ, वास्तविक जीवनमा देखिन्न । वहाँले जे भन्नु भो मैले त्यही गरेको हो बढी केही पनि गरेको छैन ।”
बाल्कोनीमा बसेर एउटा कौवा काँकाँ गर्यो । हामी दुवैले कौवालाई हेर्यौ ।
अनि उनको पागलपन सकियो । दुवै हातले मुख छोपेर सुँक्कसुँक्क गर्न थाले ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ माघ २०८२, शुक्रबार 









