परिच्छेद २७

पाउडर लगाएका र दाह्री सफाचट गरेका बुढा राजकुमार भान्छा कोठामा आए, जहाँ बुहारी लीजा, छोरी मेरी, कुमारी बुर्येन र उसका वास्तुकारहरू उनलाई पर्खेर बसिरहेका थिए । बुढा राजकुमारको अनौठो, खालको सनकका कारण यो वास्तुकार भान्छामा उपस्थित हुन सक्थ्यो यद्यपि उसको तुच्छ सामाजिक स्थितिलाई ध्यानमा राख्दा ऊ कुनै किसिमले पनि यो सम्मान पाउन योग्य थिएन । जीवनमा सामाजिक श्रेणी विभेदका सम्बन्धमा असाध्य कट्टर व्यवहार गर्ने र जतिसुकै ठूलो सरकारी कर्मचारीलाई पनि भान्छा कोठामा प्रवेश नगराउने बुढा राजकुमारले अचानक वास्तुकार मिखाइल इभानोविच (जो सधैँ जसो एउटा कुनामा बसेर नाक निचोरि रहन्थ्यो) लाई बोलाएर मान्छे सबै बरुवा हुन्‌ भन्ने प्रमाणित गरिदिए र आफ्नी छोरीलाई “तिमी, हामी” र मिखाइल इभानोविच बीचमा कुनै अन्तर छैन भनेर धेरै पटक सम्झाउने प्रयास गरे । खाना खाइरहेका बेलामा पनि उनी अरूसँग भन्दा धेरैजसो बोल्दै नबोल्ने मिचेल इभानोविचसँग कुरा गर्न रुचाउँथे ।

यस घरका अन्य कोठाहरू जस्तै अग्लो यो भान्छा घरमा परिवारका सदस्यहरू र प्रत्येक कुर्सीको पछाडि उभिएका एक एक जना नोकरले राजकुमार आउने बाटो हेरिरहेका थिए । हातमा हात पुछ्ने रुमाल लिएको प्रमुख वैठके टेबुल कुर्सी मिलाएको ठीक छ वा छैन भनेर जाँच गरिरहेको थियो, नोकरहरूलाई आवश्यक निर्देशन दिइरहेको थियो र म घडी हेर्दै ढोकातिर आँखा लगाउँथ्यो, जुन ढोकाबाट राजकुमार प्रवेश गर्नेवाला थियो । राजकुमार आन्द्रेइले सुनको जलप लगाएको र आफूलाई नयाँ जस्तो लागेको त्यो ठूलो चित्र हेरिरहेको थियो, जुन चित्रमा वोल्कोन्स्की राजकुमारहरूका वंशावली चित्रित थिए । यस चित्रको ठीक अगाडि उत्तिकै ठूलो चित्रमा राजमुकुट लगाएको एक जना तत्कालीन शासक राजकुमारको नराम्रो खालको (कुनै भूदास-नवसिकुवा चित्रकारले बनाएको हुन सक्छ) तस्वीर झुण्डिरहेको थियो । यो तस्वीर रुरिक र बोल्कोन्स्की कूलको पूर्वजको हुनु पर्थ्यो । राजकुमार आन्द्रेइ टाउको हल्लाइहल्लाई यो तस्वीर हेर्दै र हाँस्दै थियो, जसरी कुनै मान्छे हुबहु नमिले पनि मौलिक रूपसँग मिलेको कसैको तस्वीर देख्यो भने हाँस्छ ।
“यस्तो गर्न सक्ने हाम्रो बुबावाहेक अरू कोही हुन सक्दैन,” राजकुमार आन्द्रेइले त्यसै बखत आफूसँगै भएकी बहिनीलाई भन्यो ।

राजकुमारी मेरीले आश्चर्यचकित्‌ हुँदै दाइको मुखमा हेरी । आफ्नो दाइ हाँसिरहेको कारण उसलाई थाहा थिएन तर आफ्नो बाबुप्रति उसको ठूलो श्रद्धा थियो र बुढा राजकुमारले जे गरे पनि मेरीले त्यस विषयमा कुनै किसिमको टीकाटिप्पणी गर्ने कुरै थिएन ।

“जसको पनि आफ्नो आफ्नो भेद्यविन्दु र लहड हुन्छ,” राजकुमार आन्द्रेइ भन्दै गयो । “त्यति ठूलो बुद्धि भएको मानिसको यस्तो फाल्तु लहड ।”

राजकुमारी मेरीले आफ्नो बाबुबारे दाइले यस किसिमको आलोचना गर्नु पर्ने आवश्यकता बुझेकी थिइन, त्यसैले ऊ प्रतिरोध गर्ने पक्षमा थिई तर ठीक त्यही बेला बुढा राजकुमार कोठाबाट बाहिर निस्केर आइरहेको पदचाप, सुनियो । उनी सधैँ जस्तै छिटो छिटो र गमक्क फुल्दै भित्र प्रवेश गरे मानौँ यसो गर्दा उनले घरमा स्थापित कठोर व्यवस्थाको विपरीत जानीजानी भिन्नता देखाउने प्रयास गरिरहेका हुन्‌ । यति बेला दिनको दुई बजेको थियो । बैठक कोठाको सानो भित्ते घडीले पनि सानो आवाजमा दुई बजायो । बुढा राजकुमार टक्क उभिए । उनले आफ्ना घना र तलतिर फर्केका आँखीभौँ मुनिबाट आफ्ना उत्साहपूर्ण, चम्किला र कठोर आँखाले सबैतिर हेरे । बुहारी लिजामा पुगेपछि उनका आँखा स्थिर भए ।, राजकुमारी लिजालाई दरबारमा जारले प्रवेश गर्दा दरबारियाहरूले गरेजस्तै अनुभूति भयो । ऊ बुढा राजकुमारले आफू वरिपरिका सबैप्रति उत्पन्न गर्ने डर र आदरको भावनाले अभिभूत भई । उसले कपाल चिलाई र छन्द न बन्द आफ्नो गर्धनमा ट्यापट्याप हानी ।

“म तिमीलाई देखेर खुसी छु, एकदम खुसी छु,” उनले बुहारीका आँखामा ध्यानपूर्वक हेर्दै भने र त्यसपछि छिटो छिटो आफ्नो ठाउँमा गएर बसे । “बस, मिक इभानोविच बस, बस ।”

उनले बुहारीलाई पनि आफ्नो छेउमा आएर बस्ने आदेश दिए । एक जना नोकरले उनका लागि कुर्सी ल्याएर राखिदियो ।

ओहो, बुढा राजकुमारले बुहारीको फुलेको पेट र चाक्लो भएको कमरतिर दृष्टि दिँदै भने । “छिटो गर्यौ, यो राम्रो काम भएन ।”

“उनी सधैँ जस्तो रुखो, भावशून्य र नमिठो हाँसो हाँसे ………..-तर उनको मुख मात्र हाँस्यो, आँखा हाँसेनन्‌ । ?

“तिमीले जति सक्यो उति हिँड्डुल गर्नु पर्छ । हिँडडुल गरिरहनु पर्छ बुझ्यौ ?” उनले भने ।

सानी राजकुमारीले ससुराका कुरा सुनी वा सुन्ने इच्छा गरिन थाहा भएन । केही बोलिन तर अलि आत्तिए जस्तो देखिन्थी । बुढा राजकुमारले उसको को बाबु (सम्धी) बारे सोधपुछ गर्न लागेपछि वल्ल ऊ अलिकति मुस्कुराउँदै बोल्न लागी । उनले अन्य परिचितजनहरूबारे पनि सोधपुछ गरे- सानी राजकुमारी झन्‌ बढी पुलकित भई र सबैले पठाएको अभिवादनका साथै बुढा राजकुमारलाई मस्कोमा चलेका हल्ला र यताउताका सबै कुरा सुनाउन लागी ।

“विचरी काउन्टेस अप्राकसिनाको लोग्नेको मृत्यु भयो । रूँदारूँदै उनको हालत एकदम खराब भइरहेको थियो,” अरू बढी चहकिली हुँदै उसले भनी ।

“सानी राजकुमारी जति जति जोसिँदै जान्थी बुढा राजकुमार उसलाई उति उति कडा नजरले हेर्दै जान्थे र अचानक उसका बारेमा प्रशस्त अध्ययन गरिसकेको र एउटा निश्चित धारणा बनाइसकेको जस्तो गरेर उनी अर्कोपष्टि फर्के र मिचेल इभानोविचलाई संस्बोधन गर्न लागे ।

“लौ हेर मिचेल इभानोविच, हाम्रो बोनापार्टको त नराम्रा दिन आउन लागेजस्तो छ । राजकुमार आन्द्रेइ त (उनले अरू मान्छेहरूको अगाडि छोरालाई यसै गरी सम्बोधन गर्थे) मलाई उसका विरुद्ध ठूलो फौज जम्मा गरिँदैछ भनेर सुनाउँदै छ । तर हामीले त उसलाई काम नलाग्ने मान्छेको रूपमा गणना गरेका थियौँ ।”

बाबुछोराका बीचमा बोनापार्टका बारेमा यस्तो कुरा कतिखेर भयो, मिचेल इभानोविचलाई केही थाहा थिएन तर बुढा राजकुमारलाई उनले मन पराएको विषयमा कुरा गर्न ऊ नै चाहिन्छ भन्ने बुझेको र अब परिस्थितिले कस्तो मोड लिने हो भन्ने नबुझेको हुँदा उनले प्रश्नसूचक दृष्टिले राजकुमार आन्द्रेइतर्फ हेरे ।

“उनी नामी र ठूला युद्धशास्त्रविद हुन्‌,” वास्तुकारतर्फ सङ्केत गर्दै बुढा राजकुमारले छोरालाई भने ।

त्यसपछि फेरि कुराकानीको विषय युद्ध, बोनापार्ट, जर्नेलहरू र वर्तमानकालका राजनेताहरूतर्फ मोडियो । बुढा राजकुमार, आजका मान्छेहरू, राजनीति र युद्धकलाका बिषयमा क ख ग पनि नजानेका बालकजस्ता मात्र भएका र सुभोरोभ्स र पोटेम्किन्सजस्ता, बहादुर विरोधी नभएका कारण विजय प्राप्त गर्न सफल भएको बोनापार्ट एउटा मामुली र चुत्थो फ्रान्सेली भएको कारणले मात्र सन्तुष्ट देखिएका होइनन्‌ बरु उनी युरोपमा राजनीतिक सङ्कट-नभएको र वास्तविक युद्ध पनि नभएको तर मान्छेहरू साँच्चै नै केही महत्त्वपूर्ण काम गर्न लागेजस्तो बहाना गरेर एक किसिमको पुतलीको खेल मात्र खेलिरहेका हुँदा सन्तुष्ट भए जस्ता देखिन्थे । राजकुमार आन्द्रेइझैँ आफ्नो बाबुले नयाँ मान्छेहरूका बारेमा प्रकट गरेका हास्यास्पद कुरा सुनेर खुसी हुँदै र उनलाई यसो गर्न झन्‌ उकास्दै आनन्दसँग उनका कुरा सुनिरह्यो ।

“विगत जहिले पनि रमाइलो हुने गर्छ,” राजकुमार आन्द्रेइले भन्यो “तर सुभोरोभ मोरोले उसलाई फँसाउन थापेको जालमा आफै परेको र त्यसबाट बाहिर उम्कन नजानेको होइन ?”

“तिमीलाई कसले भन्यो यो कुरा? कसले भन्यो भन त ? बुढा राजकुमार गर्जिए । “सुभोरोभ !” उनले एउटा प्लेट उठाएर हुत्त फ्याँके, जसलाई तिखोनले फुर्तीसाथ पक्डयो। “सुभोरोभ !” विचार गर त तिमीले, राजकुमार आन्द्रेइ । उनीहरू दुई थिएँ फ्रेडरिक र सुभोरोभ … मोरो ! सुभोरोभका हात स्वतन्त्र भएका भए मोरो उसको कैदी हुने थियो । तर सुभोरोभका हात “होप्स-क्रिग्सवुर्स्ट-स्नाप्स-राथले बाँधेको थियो (अस्ट्रियाको सर्वोच्च सैनिक संस्था) नत्र यसले त राक्षसको पनि सातो खेलाउने थियो । तिमी त्यहाँ कूनै बेला पुग्यौ भने होप्स-क्रिग्स-बुर्ट-राथहरूको रहेछन्‌ भनी बुझ्ने छौ । उनीहरूसँग । सुभोरोभको त केही चलेन भने मिखायल कृतुजोभको के कुरा ? “होइन, मेरो प्यारो छोरा,” बुढा राजकुमारले भने, “तिमीझैँ र तिम्रा जर्नेलहरूले बोनापार्टका विरुद्ध केही लछारपाटो लगाउन सक्ने छैनौ । तिमीहरूले फ्रान्सेलीहरूकै सहयोग नलिई हुँदैन, लिनै पर्दछ एउटै किसिमको पखेटा भएका चराहरू आपसमा मज्जाले लडुन् न ! हीराले हीरा काट्छ बुझ्यौ । जर्मनेली पालेनलाई फ्रान्सेली मोरोलाई फिर्ता ल्याउन भनेर न्यूयोर्क, अमेरिका पठाएका छन्‌”। उनले मोरोलाई रसियाली सेनामा भित्र्याउनका लागि पठाएको निम्तातर्फ सङ्केत गर्दै भने ।” “गजब छ,” के पोटेम्किन्स र ओर्लोभ्सहरू जर्मनेली थिए ? होइन बाबै, तिमीहरूको बुद्धि बिग्य्रो कि मैले होस हराएँ । भगवानले तिमीहरूको रक्षा गरुन्‌ ! तर हामी पनि हेर्दै जाउँला के के हुँदोरहेछ ! बोनापार्ट उनीहरूबीच महान्‌ सेनापति भएको छ, बाह !”

“हाम्रा सबै योजना ठीक छन्‌ भनेर त म पनि भन्दिनँ,” राजकुमार आन्द्रेइले भन्यो । “तर बोनापार्टको बारेमा तपाईंले किन यस्तो नकारात्मक अभिमत प्रकट गर्नु हुन्छ, मलाई आश्चर्य लागेर आउँछ ? तपाईंले उसलाई जति होच्याए पनि ऊ एउटा महान्‌ सेनापति त हुँदै हो नि ।”

“मिचेल इभानोविच” वास्तुकारलाई सम्बोधन गर्दै बुढा राजकुमार चिच्याए । पोलेको मासुतिर ध्यान दिँदै गरेको मिचेल इभानोविचले उनीहरूले आफूलाई बिर्सिसके भन्ने ठानेको थियो । “मैले तिमीलाई बोनापार्ट एक महान्‌ रणनीतिज्ञ हो भनेको होइन के ? ल सुन, अहिले राजकुमार आन्द्रेइ पनि त्यही भन्दैछ ।”

“ठीक हो हजूर, एकदम ठीक हो,” वास्तुकारले जवाफ दियो ।

बुढा राजकुमार फेरि एउटा निःस्वाद हाँसो हाँसे ।

“बोनापार्ट भाग्यमानी पुरुष हो । उसका सैनिकहरू ज्यादै बहादुर छन्‌ । त्यसबाहेक उसले सबभन्दा पहिले जर्मनेलीहरूलाई नै आक्रमण गर्न सुरु गर्यो । जर्मनेलीहरूलाई दनक नदिनेहरू त नामर्द र अल्छी मात्र हुन्‌ । यो संसारको रचनाकालदेखि नै जर्मनेलीहरूलाई सबैले पिट्दै आएका छन्‌ । तर उनीहरूले भने कसैलाई बिझ्याइँ गरेका छैनन्‌ । तर हो, उनीहरूले एकआपसमा भने धेरै पिटापिट गरेका छन्‌ । र बोतनापार्टले नाम कमाएको पनि त्यसै गरेर हो ।”

र बुढा राजकुमारले ती ठूल्ठूला गल्तीहरू एक एक गरेर कोट्याउन लागे, जो उनका अनुसार आफ्नो युद्ध अभियान र राजनीतिमा समेत बोनापार्टले, गरेको थियो । छोरो राजकुमारले त्यसको प्रतिवाद गरेन । तर यस विषयमा जतिधेरै तर्कहरू प्रस्तुत गरिए तापनि आफ्नो विचार बदल्न न राजकुमार आन्द्रेइ तयार थियो न बुढा राजकुमार । राजकुमार आन्द्रेइ कुनै किसिमको आपत्ति नजनाई आफ्नो बाबुको कुरा सुनिरहेथ्यो र अनायास यस कुराले गर्दा आश्चर्यचकित भइरहेथ्यो कि उसको बाबु, जो यतिका वर्षदेखि कहीँ आवतजावत नै नगरी एक्लै गाउँमा बसिरहेका थिए, कसरी यति विस्तार तथा सूक्ष विश्लेषणसाथ युरोपका पछिल्ला वर्षहरूको सम्पूर्ण सैनिक र राजनीतिक परिस्थिति र गतिविधिहरूको मूल्याङ्कन गर्न सक्षम भएका थिए र उत्तिकै सटिक रूपमा विचारविमर्श गर्न पनि पछि हट्दैनथे ।

“तिमीले सोचेका हौला कि म बुढाले वर्तमान राजनीतिक परिस्थितिका बारेमा केही जानेबुझेकै छैन, होइन ?” तर मेरो मन पोल्छ । मलाई रातभरि निद्रा लाग्दैन । लौ, मलाई, बताऊ तिम्रो यस महान्‌ सेवापतिले आजसम्म कहाँनिर आफ्नो बुद्धिको खेल देखाएको छ ?” बुढा राजकुमारले आफ्नो कुरा टुङ्ग्याए ।

“त्यो सबै बेलिविस्तार लगाउन त धेरै समय लाग्छ, बुबा,” राजकुमार आन्द्रेइले जवाफ दियो ।

“त्यसो भए तिमी आफ्नै बोनापार्टसँग जाउ । कुमारी बुर्येन, लौ हेर तिम्रो कमारो सम्राट्को एउटा अर्को भक्त सेवक,” उनी विशुद्ध फ्रान्सेली भाषामा बोल्दै गर्जे ।

“तिमीले यति बुझ राजकुमार कि म बोनापार्टको पक्षधर मानिस होइन ।”

“भगवान्‌ नै जानून्‌, ऊ कहिले फर्किन्छ”……………. बुढा राजकुमार बेसुरा तालमा गीत गाउन लागे र त्योभन्दा पनि बेसुरा तालमा हाँस्दै कुर्सीबाट उठेर गए ।

सानी राजकुमारी बाबुछोराको बीचको सम्पूर्ण वादविवाद सुन्दै खाना खाने बेलासम्म चुपचाप लागेर बसी । ऊ भयभीत अनुहार लाएर कहिले ससुरा बुढालाई हेर्थी त कहिले नन्द मेरीलाई हेर्थी । खाना खाइसकेपछि भान्छाकोठाबाट उठ्ने बेलामा उसले नन्दको हात समातेर उसलाई अर्को कोठामा लिएर गई ।

“तिम्रो बुबा त साह्रै चलाख मानिस हुनुहुँदो रहेछ बा,” उसले भनी, “म उहाँसँग डराउने कारण पनि यही हो।”

“उहाँको मन साह्रै कमलो पनि छ,” राजकुमारी मेरीले उत्तर दिई ।