पाँचौँ रात
श्रीमान् जियाबाओ,
जब तपाईं यहाँ आइपुग्नु हुन्छ अनि तपाईंलाई भनिने छ कि ब्रिटिसले चोरेर लानुअघि हामी भारतीयले इन्टरनेटदेखि उमालेको अन्डा र अन्तरिक्ष यान जस्ता सबै कुरा आविष्कार गरिसकेको थियौँ ।
वाहियात ! यो देशको १० हजार वर्षको इतिहासमा यो देशले गरेको सबैभन्दा उल्लेखनीय आविष्कार भनेको कुखुराको खोर हो ।
पुरानो दिल्लीको जामा मस्जिद छेउ गएर बजारमा हेर्नुस् त कुखुरा कसरी राखेका छन् | हजारौँ हल्का पहेँला कुखुरीहरू र रङ्गिएका भालेहरू तारको खोरमभित्र, पेटभित्र जुका गुजुल्टिए जस्तै अटसमटस गरेर खाँदेर राखिएका छन् | तिनीहरू एकअर्कालाई ठुङ्छन्,, एक-अर्कामाथि हग्छन् (बिस्ट्याउँछन्) र सास फेर्नलाई गाह्रो भएर ठेलमठेल गर्छन् | पूरै खोर ती त्रसित, प्वाँख भएका प्राणीहरूको गन्धले डुङडुङ गन्हाउँछ | यो खोरको ठीक माथि ङिच्च हाँसेको कसाई भर्खरै काटेको कुखुराको रगताम्य चिप्लो अङ्गप्रत्यङ्ग देखाउँदै बस्छ । खोरका कुखुराले माथिको रगतको गन्ध थाहा पाउँछन् ! तिनीहरूले आफनै दाजुभाइको अङ्ग आफ्नै चारैतिर झुन्डिरहेको देख्छन् । तिनीहरू बुझ्छन् अब मर्ने पालो आउँदै छ, तर विद्रोह गर्दैनन् । तिनीहरू खोरबाट बाहिर आउने प्रयास गर्दैनन् ।
यो देशमा मानिसलाई पनि त्यही कुखुरालाई जस्तै गरिन्छ ।
साँझ दिल्लीको सडकहरूमा गएर हेर्नुस् त । ढिलो चाँडो तपाईंले साइकलमा जोडिएको ठूलो गाडामा ठूलो बिस्तारा (ओछ्यान) वा टेबल लादेर एउटा मानिस सडकमा गइरहेको देख्नुहुन्छ । प्रत्येक दिन मानिसका घरघरमा फर्निचरका सामानहरू पुर्याइदिने मानिस त्यही हो । उसको नाम नै ‘डेलिभरी म्यान’ हो । एउटा पलङलाई सायद पाँच छ हजार पर्छ र कुर्चीहरू र कफीटेबल गरी दस वा पन्ध्र हजार । यति महङ्गो टेबुल, कुर्ची बिस्ताराजस्ता सामान पुर्याइदिने साइकल गाडावाला गरिबले भने महिनामा जम्मा पाँच सय कमाउँछ होला । उसले फर्निचेरहरू लगेर तपाईंको घरमा झारिदिन्छ र तपाई उसलाई एउटा इटाजत्रो नोटको मुठो दिनुहुन्छ । उसले त्यो बगलीमा वा सर्टमा वा भित्री लुगामा राख्छ र फर्केर आउँछ । अनि एक रूपियाँ पनि नचलाइकन जस्ताको तस्तै मालिकलाई दिन्छ । आश्चर्य ! उसको हातमा अहिले उसको २ या ३ वर्षको कमाइ जति पैसा छ, तर उसले कहिल्यै त्यसबाट १ रूपियाँ पनि चलाउँदैन ।
प्रत्येक दिन दिल्लीका सडकहरूमा निजी चालकहरूले पछाडि सिटमा एउटा कालो सुटकेस मात्र राखेर रित्तो कार चलाएको देख्न सकिन्छ । त्यो सुटकेसभित्र दस वा बीस लाख रूपियौं हुन सक्छ जुन रकम त्यो चालकले आफनो जीवनमा कहिल्यै देख्न पाउँदैन । त्यो पैसा लिएर भाग्न सके उ अमेरिका वा अस्ट्रेलिया वा संसारको कुनै पनि ठाउँमा आरामले नयाँ जीवन सुरू गर्न सक्छ । उसको पाँच तारे होटलभित्र पस्ने सपना पूरा हुन सक्छ, जुन होटल उसले आजसम्म बाहिरबाट मात्र देखेको छ । ऊ सपरिवार बेलायत वा गोवा जान सक्छ र पनि उसले त्यो सुटकेस मालिकले जहाँ भन्छ त्यहीँ पुर्याइदिन्छ । एक रूपियाँ नछोइकन जहाँ राख्नुपर्ने हो त्यहीँ राखिदिन्छ । यो किन होला ?
किनभने, हाम्रा प्रमले तपाईंलाई दिने बुकलेट (सानो किताब) मा भनिए जस्तै भारतीयहरू यो संसारको सबैभन्दा इमानदार मानिस हुन् ।
त्यसो होइन । यो किनभने ९९.९ % भारतीयहरू त्यही कुखुरा बजारका असहाय प्राणीजस्तै खोरमा थुनिएका छन् । आफ्नो निजी चालकलाई एक वा दुई रूपियौँले विचार (परीक्षण) नगर्नुहोला, उसले त्यो चोर्न सक्छ, तर दसौँ लाख डलर नोकरको अगाडि छोडिदिनुस्, उसले त्यहाँबाट एक पैसा पनि छुँदैन । नपत्याए विचार गरी हेर्नोस् न । मुम्बईको कुनै ट्याक्सीमा दस लाख डलर भएको कालो झोला छोडेर जानुस् । ट्याक्सी चालकले पुलिसलाई खबर गरेर साँझसम्ममा त्यो पैसा तपाईंलाई फिर्ता पठाइदिन्छ । म यो ठोकुवा गर्न सक्छु । (तर पुलिसले तपाईंलाई त्यो फिर्ता दिन्छ दिन्न, कुरा अर्कै हो, हजूर |) यो देशमा मालिकहरूले नोकरहरूलाई हीरामाथि पनि विश्वास गर्छन्, पैसाको त के कुरा । यो सत्य हो । संसारकै सबैभन्दा ठूलो हीरा काट्ने र पालिस गर्ने व्यवसाय भएको सुरतबाट प्रत्येक साँझ बाहिरिने रेलमा हेर्नुस् त सुटकेसभरि हीरा बोकेका नोकरहरू मुम्बईमा कसैलाई हीरा पुर्याइदिन हिँडेका हुन्छन् । त्यो नोकरले त्यो सुटकेसभरिको हीरा बोकेर किन भाग्दैन? ऊ पनि म तपाईं जस्तै मान्छे हो, गान्धी त होइन, तर छ कुखुराको खोरमा छ, त्यसैले भाग्न सक्दैन । भारतको अर्थतन्त्रको आधार भनेको नोकरहरूको विश्वासनीयता हो !
विशाल भारतीय कुखुराको खोर । तपाईंको चाइनामा पनि यस्तो छ ? श्रीमान् जियाबाओ, मलाई त शङ्कै छ । नत्र त तपाईंलाई गोलीले मार्ने कम्युनिस्ट पार्टी र जनताको घरमा गोप्य रूपमा छापा मारेर जेल हालिदिनें विशेष प्रहरी नै चाहिने थिएन । मैले तपाईंको देशमा यस्तो छ रे भन्ने सुनेको छु । हाम्रो भारतमा तानाशाहीवाद छैन । विशेष प्रहरी पनि छैन ।
त्यो किनभने हामी कहाँ ,खोर चाहिँ छ ।
श्रीमान् जियाबाओ, मानव् इतिहासमा आज अघि कहिल्यै पनि (थोरै) त मुठ्ठीभरको ऋणी अनिगन्ती मानिस हुने भन्ने कुरा भएकै छैन् । हाम्रो देशका मुठ्ठीभर मानिसले बाँकी ९९.९ % लाई बलियो, बाठो र योग्य दासको तालिम त सधैका लागि दासत्वमै जिउन बाध्य पारेका छन् । यो दासत्व यति बलियो छ कि तपाई दास उन्मुक्तिको साँचो उसको हातमा राखिदिनोस्, उसले तपाईलाई श्राप गर्दै साँचो तपाईंतिरै फ्यालिदिन्छ ।
यो कुरा पत्याउनलाई तपाईं आफैँ यहाँ आएर हेर्नुपर्छ वास्तविकता के हो ? प्रत्येक बिहान लाखौं मानिस सबेरै उठ्छन्, भिडभाडयुक्त पुराना बसहरूमा चढेर उभिन्छन् र अनि आआफ्ना मालिकका महँगा (झलमल्ल) घर अघि झर्छन् अनि थोरै (नगन्य) पैसाका लागि बढार्ने, भाँडा माझ्ने, बगैँचाको घाँस काट्ने, बच्चाको (केटाकेटीलाई) स्याहार गर्ने र खुट्टा मालिस गर्ने गर्छन् । श्रीमान् जियाबाओ, म कहिल्यै पनि अमेरिका र बेलायतको धनीको ईर्ष्या गर्दिनँ, किनकि उनीहरु नोकर राख्दैनन् । (सुखी जीवन के हो तिनीहरूले कहिल्यै बुझ्न सक्दैनन् ।)
महामहिम्
अब, तपाईं जस्तो सोच्नसक्ने व्यक्तिले पक्कै पनि २ वटा प्रश्न सोध्नै पर्छ ।
पहिलो,
कुखुराको खोर किन र कसरी सफल छ ? यसले लाखौँ, करौडौ मानिसलाई बडो असरदार॒ पारामा कसरी थुनेर राख्छ ?
दोम्रो,
के एउटा मानिस यो खोरबाट भाग्न (उम्किन) सक्छ ? उदाहरणका लागि, कुनै चालकले आफ्नै मालिकको पैसा लिएर भाग्यो भने के हुन्छ ? अब उसको जीवन कसरी बित्ला ?
श्रीमान्, म दुवै प्रश्नको उत्तर दिन्छु ।
पहिलो त उत्तर के हो भने हाम्रो राष्ट्रको गर्व र गौरव, सबै प्रेम र बलिदानक्रो प्रतिफलको थुप्रो, जुन कुराले हाम्रो प्रेमले तपाईलाई दिने पर्चामा ठूलै ठाउँ ओगटेको हुनेछ, त्यो भनेको ‘भारतीय परिवार’ हो । हामी कुखुराको खोरमा थुनिएर ‘बाँधिनुको कारण भारतीय परिवार नै हो।
दोस्रो प्रश्नको उत्तर के हो भने त्यो व्यक्ति जसले आफ्नै मालिकद्वारा आफ्नो परिवार सिद्धिएको, सिकार गरिएको, पिटिएको र जिउँदै जलाइएको हेर्ने साहस गर्छ, ऊ मात्र त्यो खोरबाट भाग्न सक्छ । त्यो सामान्य मानिसले गर्न सक्दैन । त्यो गर्न एउटा पागल र उल्टो बुद्धि भएको चाहिन्छ ।
साँच्चै यो गर्न ‘सेतो बाघ’ नै चाहिन्छ । श्रीमान्, तपाईंले एउटा सामाजिक उद्यमीको हुनुहुन्छ, कुनै भारेभुरेको होइन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

