week 19

“उनीहरूलाई भनिदिऊँ त तपाईँलाई खाना नबनाउनु भनेर ?”
बैरागीले त्यस्तो अचम्भ मानेन । मसिनो स्वरमा उसले इन्द्रसँग भन्यो,“उनलाई अप्ठ्यारो भइरहेको छ । के गरौँ ,न त ?”
“केही गर्नु पर्दैन ।”
“कइँ र लैठा माछा ल्याएको छु ।”
“हामी नै खाउँला । थोरै पानी चाहिएको थियो ।”
“पानी पिउँछौ ?”
“होइन , उनी रक्सी पिउँछन् । रक्सीमा हाल्नलाई ।”
“रक्सी… अर्थात् ..?”
“तपाईँ चिन्ता नगर्नुस् ,बैरागीदा । म छु नि ।”

पानी लिएर इन्द्र गयो । द्वैपायनले आफ्नो ओछ्यान मिलाइसकेको थियो । इन्द्रले पानी दियो । उसको मन रिसले भतभती पोलेजस्तो भइरहेको छ तर पनि द्वैपायनले रक्सी पिओस भन्ने चाहना छ उसको । रक्सी पिएपछि खाँटी कुरो ओकल्ने छ उसले । भेद थाहा हुनेछ । पुलिसको मान्छे त होइन यो । फुटपरस्त दलाल होला– फुट पार्न खटिएको होला । वास्तविकता त पत्ता लगाउनै पर्छ । त्यसपछि गर्नुपर्ने कुरो गरौँला । सामन्तले किन उसको काँधमा यो भारी थोपरिदियो ? यसलाई डुलाउँदै इन्द्र घुमिरहेको छ । यो यहाँ के गर्न आएको हो ? शायद यो निकै गोप्य काममा खटिएको छ । के काम होला ?
द्वैपायनले एउटा चेप्टो बोतल झिक्यो र खोल्यो । सुदूर अतीतमा आवाज कतै नछिर्ने शिशाले बारिएको दिल्लीको कुनै कोठामा यो बोतल उसलाई दिँदै सानी बज्रपाणीले शुभ कामना प्रकट गर्दै भनेको थियो ,“ मेरो आशिर्वाद छ ,तिमीलाई ।”
असहनीय छ । असहनीय छ किसान कार्यकर्ताको यो गरिब कोठा । पुरानो मैलो गुन्द्री । बारको भित्तामा झुण्डिरहेको बङ्गाली क्यालेण्डर । सानीको वातानुकुलित घरमा कहिले पुग्ने होला द्वैपायन ? फेरि कहिले उसले बेन्जिटले बनाएको रिसाहा युगल साँढेको चित्र देख्न पाउला ? छालाको चकटीमा बसेर आरामले स्कच ह्विस्कीको सुर्पो कहिले चप्प चुस्ने होला ? अनि बि–बिचमा रोस्ट गरिएको चित्तलको मासुको चौटा चपाउँदै आनन्दले स्कचको घुटको तान्ने दिन कहिले आउला ? सानीको घरमा आदिबासी डिनरका बेलामा शिशाको भित्ताको पल्लोपट्टि हजारौँ वाटको चिमको उज्यालोमा नयाँ दिल्ली कौतुकमय हाँसो हाँसिरहेको देखिन्छ । घरमा चाहिँ द्वैपायनको परिवार बाइसनको सिङको खोलमा छाङ भरेर पिउँछन् । बाँसको चिङमा बँदेलको मासु भरेर चोउमा माटो पोतेर दाउराको कोइलाको चुल्होमा राखेर पकाउने गर्दछन् । एक चोटी सालको हरियो पातमा बेरेर रोस्ट गरिएको थियो । सानीको घरमा आदिबासी साँझको निम्तो एउटा असामान्य घटना हुन्छ । द्वैपायन त्यहाँ कहिले पुग्ला ?

ह्विस्की पिएपछि बल्ल द्वैपायनले इन्द्रसँग कुरा गर्ने धक फुकेजस्तो मान्यो । भन्यो,“सन्थालहरू पटक्कै लडाकु होइनन भनी म प्रमाणित गरिदिन्छु । बुझ्यौ केटा, सन्थालहरूलाई सजिलै ललाइफकाइ गर्न सकिन्छ । तिनको सोच फेर्न सकिन्छ । त्यसका लागि..”

इन्द्र चुपचाप सुनिरह्यो । सुन्दासुन्दै सबै कुरा स्पष्ट हँुदै गएझैँ लाग्न थाल्यो उसलाई । एकपटक उसले सुस्तरी सोध्यो,“सामन्तदाले यी कुराहरू थाहा पाएका छन् त ?”

”अनि त ..।”
”फेरि भन्नुस त ..।”

”सामन्तलाई सबै कुरा थाहा छ । त्यसैले उसले इन्द्रलाई साथ लगाइदिएको हो ।”
धेरै बेरपछि इन्द्रले भन्यो,“चरसा जानेछु ।”

“किन ?”

“एकताका निकै लडिएको थियो त्यहाँ ।”
“अँ ,ठीक भन्दैछौ ।”

“सन्थालहरूलाई तपाईँले राम्ररी बुझ्नु भएको रहेछ ।”

“तिमीलाई बुझ्न गाहो परेको छ । आदिबासी समाजको आदिम एकता निकै डरलाग्दो छ । ती विभाजित भइरहेभने हामी मौलाउँछौँ, ती एक जुट भएभने हामी सिद्धिन्छौँ ।”

भोलिपल्ट उसले द्वैपायनलाई चरसामा लग्यो – हाट जाने गोरुगाडा,इँट ओसार्ने लरी अनि फेरि पैदल ।
सोरेनको घर । माथिल्लो तलाको कोठाको बसाइ । लामो यात्राको थकाइले लोथ भएको द्वैपायन ओछ्यानमा बस्नासाथै भुसुक्कै निदायो ।

इन्द्र र सोरेन सँगै बाहिरिए । धेरै लामो कुराकानी भयो ती दुईका बिचमा । अन्त्यमा सोरेनलेभन्यो,“बाँकी कुरा मेरो जिम्मामा छाडिदेऊ ।”

“त्यसपछि ?”
“तिमीलाई के लागिरहेको छ ?”
“म जागुला जान्छु ।”

“किन ?”

“सामन्तले जवाफ दिनु पर्दछ । उसलाई थाहा छ कि यो मान्छे यहाँ किन आएको हो ? के प्रमाणित गर्न चाहन्छ यो ?बङ्गाली अखबारमा यसका बारेमा लेख प्रकाशित हुन सक्छ । दुई र दुई जोडेपछि चार हुन्छ । तिमीहरूको मनमा यही कुरो छ । मलाई पनि बेइमान ठानिरहेका छन् ।”

“त्यसपछि ?”
“एक दिन तिमीले जे भनेका थियौ ,त्यही गर्नेछु ।”

“के ?”

“तिम्रो बाटो अलग,मेरो बाटो अलग । कहाँबाट अलग छ भन्ने कुरो तिमीलाई पनि थाहा छ र मलाई पनि । तर यो कुरो यतिका दिनदेखि सुनिरहेको छु ।शायद यो मामिला जबर्जस्ती अलग्याइएको हो । अब हामीले हेर्ने र खोजी गर्ने कुरो के हो भने हामी कहाँ कहाँ के केमा एक हुन सक्छौँ र कहाँ कहाँ एक छौँ ? शायद हामी एक छौँ तर आफैँलाई थाहा छैन । थाहा पाउनु पर्छ सोरेन , थाहा पाउनु पर्छ ।”

“त्यसो भए जाऊ न त ।”
“काम गर्नु पर्छ । केही पनि त गरिएको छैन ।”
“छैन ।”
“सबै काम बाँकी छ ?”
“हो ,इन्द्र । तर तिमो पार्टी ?”
“सबै कुरो नयाँ ढङगले सोच्नु पर्छ ।”
“अँ ।”

कुरा गर्दागर्दै उनीहरू नदीको किनारमा पुगेर उभिए । इन्द्रले भन्यो, “शोषणको सम्पूर्ण पुराना ढाँचा यथावत राखेर बाहिरबाट चिल्लो प्लास्टर गरेर मात्र काम चल्दैन ।”

“तिमी बुझ र हेर ।”
“म बुझिरहेको छु र हेरौँला पनि ।”
“अनि त्यो कुराको बारेमा के भन्छौ ?”

इन्द्रको आँखा फुस्रो भएको थियो । हलुका हाँसो हाँस्दै भन्यो, “म भनिदिनेछु कि खोई कता गए गए ,केही भनेनन् । त्यसपछि फर्केर आएछन् भने पनिठीकै छ , फर्केनछन् भने पनि ठीकै छ । मेरो के जाने हो र ?”

”होइन , तिमी म यसमा केही गर्दैनौ ँ।”

“जाऊँ त । माथिल्लो कोठा त मलाई पनि मन परेको हो ।”

इन्द्र हिँड्यो, पछाडि फर्केर हेर्दा पनि हेरेन । निर्णयमा पुग्न जेजति समय लाग्छ लाग्छ , पुगिसकेपछि त ..।
सोरेन फर्केर घर आयो ।

द्वैपायन साँझतिर ब्युँझियो । त्यसपछि चिया पिएर ऊ सोरेन र उद्धवसँगै बाहिर निस्क्यो । नदी तरेर पारिको वन्यभूमिमा पुगे उनीहरू । सोरेनले उसलाई बसाई टुडुको पाँचौँ आश्रयस्थल वरको गुफा देखाउने छ । सोरेनले उसको सबै कुरो चुपचाप सुन्यो । ऊ मनमनै खुसी थियो । द्वैपायनलाई लिएर सोरेन वनभित्र छि¥यो । धेरै बेरसम्म हिँडेपछि उनीहरू एउटा विशाल वटवृक्षनिर पुगे । वरको जटाहरू जमीनमा फिँजिएर गुफाजस्तो आकृति बनेको थियो ।

“उतापट्टि के छ ?”

“ मूल फुटेर कुवाँ बनेको थियो । अहिले खाल्डो बनेको छ ।”

“खाल्डो ?”

“अँ ,इनारजस्तै गहिरो छ । के ऊ यहीँ ..?”

“श्श..!”गर्दै चुप लाग्ने सङ्केत ग¥यो ।

सोरेनले कान थापेर सुन्यो । के अडकल भयो कुन्नि , भन्यो, “उद्धव, खाल्डोमा एउटा डल्लो फ्याँक् त ।”

उद्धवले त्यसै ग¥यो ।
“निकै गहिरो छ । ”
“अँ ,जाऊँ । ”

“एकछिन बसौँ । धेरै हिँडियो नि । यो ठाउँ हेर्नुस् न । काली बाबुलाई यहीँ मारिएको थियो । लास यहीँ मिल्काइएको थियो । उद्धवको बाबु बेतुल काउराले उनको हाडखोर बर्कोमा पोको पारिरहेको थियो । उसलाई पनि मारिदिए ।”

“अँ , त्यसै बेला..अर्थात् ..।”

सोरेनले सुस्तरी भन्यो, “सन्थाल डरपोक छन् । सन्थाल कातर छन् । सन्थालहरूलाई सजिलै किन्न सकिन्छ..के भनेका हौ ,हँ ?”

“मैले ..”

“ धेरै कुरा सुनेको छु तिम्रो । बाबा तिलका माझीको नाम बिस्र्यौ ?सिधू–कानूको हुलको बारेमा थाहा छ ? सन्थालहरूले रगत दिएका छन् । तेभागा आन्दोलन भयो । सन्थालहरूले सबैसँगसँगै रगत दिए त्यो आन्दोलनमा । नक्सलीहरू गाउँ छोडेर शहर पसेनन । पुलिस र सैनिकले गाउँ जलाएर खरानी बनाइदिए । बसाई टुडुले सन्थालहरूलाई साथ लिएर लडाइ लडेका थिए ,त्यो पनि त्यतिकै खेर गयो । अब त लिखित प्रमाण नै पाउनै भयौ कि सन्थालहरू जसरी पनि डरपोक हुन्छन् भन्ने । राम्रो कुरो हो । तर किन ?”

“यही बुझ्न त तिमीहरू गल्ती गरिरहेका छौ ।”

“हजुर,पुलिस मिलिटरीलाई चिन्न सकिन्छ । तिनीहरू बन्दुक बोकेर आउँछन् । तर आदिबासीको मित्र बनेर आएका तिमीहरू को हौ , शिक्षित सन्थाल र नाङ्गा फकिर सन्थालमा विभाजन ल्याउन चाहन्छौ , होइन ? सन्थाल र अरु आदिबासीमा फुट पार्न चाहन्छौ, होइन ? यिनलाई डरपोक प्रमाणित गर ,तिनलाई वीर प्रमाणित गर । आदिबासीहरूको अरु त सबैथोक लुटिसकेकै छौ । अब यिनमा फुट पार्नु आवश्यक ठान्यौ ,होइन ?”

“होइन,होइन । त्यसो होइन ।”
“बसाई टुडुले गिरा पठाइरहेको छ ,थाहा छ ?”
“होइन ,यो के भनिरहेकाछौ ! ऊ त मरिसक्यो ।”

“उनी कहिल्यै मर्दैनन् भन्ने थाहा छैन ? आदिबासीहरूको घाँटीमा जब तिमीहरूको पासो जोडले कसिन्छ अनि त नाङ्गा कङ्कालहरूको ,डुम काउराहरूको घाँटीबाट त्यो गिराभित्र छिर्दछ । नपत्याए हेर त..आँ…देख्यौ ? हो यही गिरा पठाएर उनी फेरि सन्देश दिन्छन् , थाहा छैन ? एऽऽ हजुर ..,उठेर कहाँ जान्छौ? पछि सर ,पछि ..। अझ पछाडि ..मलाई हेर ,राम्ररी हेर । किन रोइरहेका छौ ? हेर ,आँखा खोलेर हेर । मभित्र बसाई टुडु आइसकेका छन् । हेर ,हिँड ।”

र , सोरेनको चित्कार सुनियो –सुङ्गुर भगाउने भीषण गर्जन , हरर्र ऽ ऽ..हरर्र ऽ ऽ..को गर्जन सुनेर द्वैपायन डराएर भाग्न खोज्यो तर अचानक सबैथोक धमिलो देख्यो उसले । आँखाबाट चश्मा पनि झिकिदियो सोरेनले । छातीमा हलुका झस्कोपसेझैँ भान भयो उसलाई । नाईँ..ऽ..ऽ..ऽ…को चित्कारसँगै खाल्डोमा गुडुल्किँदै झ¥यो ऊ ..तल ,अझै तल ..। खाल्डोमा सोझै तल । अचानक झडकालिएर ऊ पल्ट्यो । लडेपछि उठनु सम्भव भएन । तल ढुङ्गा छ याऽऽमानको । कतै अतल गहिराइमा गह्रौँ कुरो खसेको झैँ आवाज सुनियो ।

दुबै हात फैलाएर सोरेन शिलाझैँ ठडिइरह्यो ,ठडिइरह्यो । “यो मैले के गरेँ ,हँ ? के गरेँ ,हँ ??” भित्रैबाट कम्प छुटेजस्तो भयो उसलाई ।

अब ऊ पूर्णतः अर्कै मान्छेझैँ लाग्न थाल्यो । अब ऊ अर्को भूमिकामा छ । अर्को जिम्मेवारी छ त्यो भूमिकाको । बसाई टुडुको लडाइ जुन प्रतिपक्षीसँग थियो त्यो शत्रुलाई चिन्न सजिलो थियो । त्यो प्रतिपक्ष आज पनि छँदैछ । अब अरु नयाँ नयाँ प्रतिपक्ष देखापर्दैछन् । अनेक मोर्चामा एकैसाथ लडनु पर्नेछ । लडाइ जारी राख्नु पर्दछ । सङ्ग्राम कहिल्यै नसकिँदो रहेछ । बसाई टुडुको गिरा ? पातपतिङ्गरहरूको मर्मर आवाजले त्यही कुरा भनिरहेझैँ लाग्दछ ।

सोरेनले हात तल झा¥यो । चश्मा खाल्डोमा फ्याँकिदियो । उद्धवसँग भन्यो, “सामान भोलि यहीँ ल्याएर फ्याँकिदिउँला ।”
“यहाँ होइन ,उतै कतै ।”

ती दुई वनबाट फर्किन लागे । द्वैपायन बेपत्ता भएकोमा झैझमेला हुन सक्छ । त्यसबाट बचाउको बाटो खोज्नु पर्छ । इन्द्र फर्किआएपछि कामको योजना बनाउनु पर्छ । आफ्ना मानिसहरूलाई सङ्गठित पार्नुपर्छ । सिधू–कानूको हुलको गीत अझ पनि मनले खाएजस्तो बन्न सकेको छैन ।

ती दुई नदीको बगरमाझरे । बालुवाको बिचबाट हिँडदै सोरेनले घृणाप्रकट गर्दै भन्यो,“साले, खुफियागिरी गर्न आएको थियो !”

बालुवापछि पानी । टाउको उठाएर हेर्नासाथै आकाशसँगै टाँसिएको चरसा गाउँ आँखामा नाच्न थाल्यो । हिँडदाहिँडदै सोरेनले भन्यो,“तिमीलाई थाहा छैन ,उद्धव । हुलको बेलामासिधू–कानूसँगै सारा डुम,बाउरी साना जातका मान्छेहरूपनि सामेल भएका थिए ।”

०००समाप्त ०००

यसरी भयो अक्लान्त कौरवको यो अनुवाद

महाश्वेता देवी नेपाली पाठकहरूका लागि बिरानो नाम होइन । पश्चिम बङ्गाल (अब त बङ्गाल मात्र भने पनि हँुदो हो )मा सत्तरीको दशकमा सशक्त रूपमा चलेको नक्सलवादी आन्दोलनको दमनको पृष्ठभूमिमा आधारित यिनको औपन्यासिक कृति हाजार चुराशीर माँ ( हिन्दी अनुवाद ः १०८४ की माँ ) को नेपाली अनुवाद १०८४औँकी आमा चालिसकै दशकमा नेपाली बजारमा आइसकेको हो । तिनताकै मैले त्यसको हिन्दी संस्करण नयाँ सडकको नेपाल भारत सांस्कृतिक पुस्तकालयमा बसेर पढिसिध्याएको थिएँ । महाश्वेता देवीसँगको मेरो पहिलो पुस्तक साक्षात्कार त्यही कृति मार्फत् भयो । नक्सलवादी आन्दोलनको कख..केही नजानेको नसुनेको र नबुझेको भएतापनि त्यस उपन्यासले मेरा मनमा केही भावनात्मक प्रभाव पनि छाडिदियो । यसका पछाडि अर्को पनि एउटा कारण थियो – त्यो थियो थ्याङ्क यू मिस्टर ग्लाड नामक मराठी उपन्यासको हिन्दी अनुवाद पठनको प्रभाव । र , यी दुबै उपन्यास त्यसैेबेलामा नेपालीमा अनुवाद पनि भएका थिए । त्यसपछि म महाश्वेता देवीको पाठक बनेँ । यही क्रममा एकदिन मैले यिनको उपन्यास अक्लान्त कौरव देखेँ ,भोटाहिटीको प्रगतिशील पुस्तक पसल हामो साहित्य सदनमा । यो २०३९ सालतिरको कुरो हो । त्यसताका यो पुस्तक भर्खरै प्रकाशित भएको थियो । यो कृति मूल रूपमा बङ्गाली भाषामा लेखिएको थियो । र , तात्तातै हिन्दी भाषामा अनुवाद भइहाल्नुले पनि यसको महत्ता र लोकप्रियताको अनुमान गर्न सकिन्छ । यो उपन्यास पढिसकेपछि यसमा चित्रित वाम आन्दोलन अन्तःसंघर्षको द्वन्द्वले मलाई छोयो । हाम्रो वाम आन्दोलनको चित्रसँग मिल्दोजुल्दो पनि लाग्यो मलाई र मैले यसलाई अनुवाद गर्ने अठोट गरेँ । तर पनि मेरो अठोट अठोटमै रहिरह्यो । पछि २०४६–४७को आन्दोलन भयो । पञ्चायती व्यवस्था ढल्यो । प्रजातन्त्रको पूनस्र्थापना भयो । त्यसपछिको समयमा वामपन्थी सरकार पनि बन्यो । अनि त यस उपन्यासको विषयबस्तु र हाम्रो सामाजिक राजनीतिक अवस्थाले मलाई झनझन कुत्कुत्याउन थाल्यो । मलाई लाग्यो – अब अनुवाद गर्न ढिलो गर्नुहुन्न । र , मैले अनुवाद गरेँ नै । तर प्रकाशनको चाँजोपाँजो मिलेन र यो अनुवाद त्यतिकै थन्किएर बसिरह्यो । अहिले नेपालका क्रान्तिकारी भनिएका वामपन्थीहरूमा देखिएको विचलनले यसको सान्दर्भिकता झनै बढेको छ भन्ने मलाई लाग्दछ । त्यतिमात्र होइन , यस उपन्यासकी लेखिका महाश्वेता देवीको २०१६ जुलाईमा ९० वर्षको उमेरमा निधन भएको छ , त्यसैले पनि दिवङ्गत लेखिकाको कृतिकै प्रकाशनबाट उनको सम्झनालाई नेपाली भाषाका पाठकमाझ चीरस्थायी पार्ने अकिञ्चन प्रयास पनि हो यो ।

भारतको बङ्गाल राज्यको आदिबासी ग्रामीण सन्थाल समाजको फलकमा यस उपन्यासको कथाबस्तु कुँदिएको छ । पश्चिम बङ्गालमा साठीकै दशकदेखि वामपन्थी सरकार सत्तासिन छ । यो उपन्यास प्रकाशित हँुदाताका माकपाले राज्यसत्ता सम्हालेको अवस्था थियो । सन् १९७७ देखि २०११ सम्म ३४ वर्षसम्म माकपाको एकलौटी सत्ता कायम रहेको थियो त्यहाँ र त्यस बेलासम्म झण्डै ५० वर्ष वाम सरकार रहेको अवस्था रह्यो । र ,त्यसपछि अहिले २०१८ सम्म तृणमुल काङ्ग्रेसले राज्य सरकार सम्हालेको अवस्था रहेको छ । पूँजीवादी राज्य संरचनामा वाममोर्चाले र माकपाले सत्ता सम्हालेपछिका आरम्भिक दिनहरूमा केही सुधारात्मक कार्यक्रमहरू पनि लागु ग¥यो तर पनि उक्त दलले वाचा गरेका आधारभूत कुराहरू समेत गर्नतिर ध्यान दिएन ,त्यसैले त्यसका नेताहरू,कार्यकर्ताहरू सन्तुष्ट थिएनन । जनतामा पार्टीको छवि दिनानुदिन बिग्रँदै गयो । जनतामा पार्टीको छवि किन राम्रो हुन सकेन ? सत्ता पाएर पनि किन सन्तुष्ट छैन संस्थापन पार्टी ?वामपन्थी भनी चिनिने बुद्धिजीवीहरूको चरित्र कस्तो छ ? यिनै र यस्तै फलकमा उनिएको छ अक्लान्त कौरवको कथानक । मूलतः चरसाजस्तो विकट ग्रामीण क्षेत्रका आदिबासीहरूको दुरावस्था र द्वैपायन सरकारजस्ता दक्षिणपन्थी अवसरवादी वाम बुद्धिजीवी अनुसन्धाता र सानी बज्रपाणी जस्ता अन्तर्राष्ट्रिय एजेण्टहरूको चलखेल तथा सामन्तजस्ता वाम नेताको प्रतिक्रियावादी पूँजीवादी सत्ताप्रतिको मोह तथा दिलीप सोरेन र इन्द्र प्रामाणिकजस्ता जुझारु लडाकु कार्यकर्ताको पृष्ठभूमिमा उपन्यास केन्द्रित रहेको छ । ठाउँ बङ्गालको छ तर कथा हाम्रैजस्तो पनि छ ।समस्या उस्तै छ ,पीडा उस्तै छ । ग्रीसेली दार्शनिक सोक्रेटसको संवादात्मक शैलीमा लेखिएको यस उपन्यासमा यथास्थान व्यङ्ग्यको पुट पनि प्रशस्तै देख्न सकिन्छ ।
यो उपन्यासई.१९८१मा भारतको राधाकृष्ण प्रकाशनद्वारा प्रकाशित यस उपन्यासलाई हिन्दीमा कञ्चन कुमारले अनुवाद गरेका थिए । कञ्चन कुमार जनवादी क्रान्तिका पक्षधर हिन्दी भाषाका स्थापित प्रगतिवादी कवि औ साहित्यकार हुन् । हिन्दी संस्करणको नेपाली अनुवाद भएकोले कतिपय सन्दर्भमा हिन्दी शब्दहरूले हस्तक्षेप गरेजस्तो लाग्न सक्छ । हिन्दीबाट अनुवाद गर्दा हाम्रा लागि यो कमजोरी पनि र सुविधा पनि हुन गएको छ । तथापि त्यसले पाठको निहितार्थमा अन्तर पारेको छैन जस्तो लाग्छ । पुस्तकमा प्रयोग गरिएको कतिपय आञ्चलिक र राजनीतिक पदावलीबारे यथास्थान पाद टिप्पणी दिने प्रयास गरिएको छ । यो उपन्यासले नेपाली पाठकलाई बङ्गालको आदिबासी ग्रामीण जनजीवन र त्यहाँको वाम आन्दोलनको छनक दिनुका साथै नेपाली पाठकहरूलाई अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेकी भारतीय बङ्गाली लेखिकाको लेखन प्रवृतिसँग परिचित हुने अवसर पनिे प्रदान गर्नेछ भन्ने मलाई लागेको छ । अन्त्यमा , यस अनुदित उपन्यासको प्रकाशनमा रुचि राखी यसलाई पाठकहरू समक्ष पु¥याउनु हुने प्रकाशक महोदयप्रति आभार र हार्दिक धन्यवाद ।
२०७५जेठ इस्माली
पुष्पनगर,वानेश्वर,काठमाडौँ

 

 

 

महाश्वेता देवी ः जीवनी , व्यक्तित्व र कृतित्व
“आमी ऋत्विक घटकोर भग्नी,विजोन भट्टाचार्योर अर्धाङ्गिनी ,आमोर किसेर भोय ? आमरा भोय बोले किछु जानी ना ?” अर्थात् म ऋत्विक घटकको भतिजी, विजन भट्टाचार्यको पत्नी, मलाई केको डर ? डर भन्ने के चिज हो मलाई थाहा छैन …। (२९ जुलाइ २०१६को द इन्डियन एक्सप्रेसमा प्रकाशित अन्तर्वार्ता ) । यिनको छोरा नवारुणले पनि ‘आमर कोनो भोय नाइ तो’ (मलाई कुनै डर छैन ) शीर्षकको कथा नै लेखेका छन् । कसैसँग डर नमान्ने महाश्वेता देवीका आख्यानका नायकनायिकाहरू पनि कसैको डर मान्दैनन् , निडर छन् । ‘हाजार चुराशीर मा’को व्रती होस वा अरण्येर अधिकारको बिरसा मुण्डा वा बसाइ टुडुको बसाइ वा दोपदीको द्रौपदी , कोही पनि डर मान्दैनन् , निडर भएर अधिकारप्राप्तिको आन्दोलनमा हेलिन्छन् । संघर्षमा दबाइएर पनि दब्दैनन् , उठछन् ,लडछन् र फेरि उठछन् । पटकपटक उठछन् र मुक्ति संघर्षलाई निरन्तरता दिन्छन् ।
यस्तो सशक्त र संघर्षशील पात्रहरू र तिनको आन्दोलनलाई जीवन्तता दिने विश्वप्रसिद्ध बङ्गलाभाषी आख्यानकार महाश्वेता देवीको जन्म बेलायती शासनको संयुक्त भारत (अहिलेको भारत,पाकिस्तान र बंगलादेश) को ढाकाको सुशिक्षित र सम्पन्न परिवारमा सन् १९२६ जनवरी १४ सोमबारका दिन भएको थियो । यिनी आफ्ना आमाबाबुका पाँच सन्तानमध्ये जेष्ठ सन्तान थिइन् । ढाकाको जिदावहार लेनको मावली घरमा यिनको जन्म भएको थियो ।यिनका बुबा मनिष घटक तिनताका सरकारी जागिरमा कर अधिकृत थिए । बुबा जागिरे भएकाले स्थायी बसोबासको ठेगान थिएन, त्यसैले यिनको बाल्यकाल मावलीमै बित्यो । प्रारम्भिक शिक्षादीक्षा ढाकाको इडेन मन्टेश्वरी विद्यालयमा सम्पन्न भयो । त्यसपछि १९३६ मा दश वर्षको उमेरमा यिनलाई आमाबुबाले कलकत्ताको शान्ति निकेतनमा भर्ना गरिदिए । यो विद्यालय प्रख्यात बङ्गाली कवि रविन्द्रनाथ टैगोर(ठाकुर)ले १९०१ मा स्थापना गरी सञ्चालन गरिरहेका थिए । यस विद्यालयमा रविन्द्रनाथले त पढाउँथे नै , हिन्दीका प्रसिद्ध कवि औ साहित्यकार हजारीप्रसाद द्विवेदी पनि पढाउने गर्दथे । तीन वर्ष यहाँ पढेपछि आमाबाबुले यिनलाई कलकत्ताकै बेलतलाको कन्या विद्यालयमा भर्ना गरिदिए । यही बालिका विद्यालयबाट यिनले १९४२ मा म्याट्रिक (प्रवेशिका) उत्तीर्ण गरिन् । यही विद्यालयको छात्रा हँुदा यिनले पहिलो साहित्यिक रचना लेखिन् । उक्त रचना रविन्द्रनाथको छेलेबेला कविताको विद्यार्थी तहको समालोचना थियो । यिनको त्यो रचनाउनीसमेत सम्पादक रहेको विद्यालयको हस्तलिखित पत्रिका छनाछाडामा प्रकाशित भएको थियो ।

यिनको परिवार साहित्यिक र कलाधर्मी थियो । बुबा मनिष घटक कवि तथा उपन्यासकार थिए । आमा धारित्री देवी समाजसेवी थिइन् । काका ऋत्विक घटक चलचित्र निर्माता थिए । मामाहरूमध्ये कान्छा शङ्ख चौधरी मूर्तिकार थिए भने जेठा सचिन चौधरी लेखक सम्पादक थिए । उनी अङ्ग्रेजी पत्रिका इकोनोमिक एण्ड पोलिटिकल विक्ली अफ इन्डियाका संस्थापकसम्पादक थिए । मावली हजुरामा समाजसेविका थिइन् । यसरी साहित्य र समाजसेवा यिनको पारिवारिक नासोजस्तो भएको थियो । त्यसैले होला यिनी १८४३ को बङ्गालको महाअनिकालमा स्कूल र कलेजका सहपाठीहरूसमेतको महिला आत्मरक्षा समिति बनाएर सेवाकार्यमा जुटिन् । यिनका बुबा मनिष घटक वाम विचारका अभियन्ता थिए । घरमा वाम अभियन्ता र कार्यकर्ताको जमघट भइरहन्थ्यो । साथीहरू पनि प्रायशः वामप्र्रभावकै थिए । त्यसैले यिनी पनि कम्युनिष्ट पार्टीको सहयोगी शुभेच्छु बन्नु स्वभाविक थियो । यिनी पनि पार्टीलाई पार्टीको मुखपत्र ‘पिपुल्स वार’ र ‘जनयुद्ध’ बेच्ने काममा हकर बनेर सहयोग गर्नेगर्थिन् । तर यिनी आफूभने पार्टीको सदस्य कहिल्यै पनि बनिनन् ।

कलकत्ताको आशुतोष कलेजबाट १९४४मा इन्टरमिडियट (प्रवीणता तह वा उच्च माध्यमिक) तह उत्तीर्ण गरेपछि यिनी फेरि शान्ति निकेतनमा स्नातक तहमा भर्ना भइन् ।१९१३ को नोबेल पुरस्कार प्राप्त गरेका भारतका सुविख्यात कवि गुरुदेव रविन्द्रनाथ ठाकुरद्वारास्थापित शान्तिनिकेतनलाई बिस्तार गरी उनले कलेज बनाएका थिए । नोबेल पुरस्कारको सबै रकम उनले यही संस्थामा खन्याएका थिए ।यिनताका विश्वभारती कलेज बनेको थियो र भारतको स्वतन्त्रतापश्चात यो विश्वभारती विश्वविद्यालयबन्यो ।

१९४६मा अङ्ग्रेजी साहित्यमा अनर्स उपाधिसहित स्नातक तह उत्तीर्ण भएपछि पिताको छनोटको वामविचारको सांस्कृतिक अभियन्ता विजन भट्टाचार्यसँग १९४७ मा यिनी वैवाहिक सम्बन्धमा गाँसिइन् । यतिञ्जेल मावली र आमाबाबुको थाप्लोमा गिर खेलिरहेकी अब यिनी आफ्नो जिम्मेवारीले बाँधिइन् । कलकत्ताको टालीगञ्जको विजनको डेराबाट बल्ल यिनको आफ्नो नयाँ जीवन शुरु भयो । पति विजन भट्टाचार्य वाम सांस्कृतिक आन्दोलनका प्रतिवद्ध अभियन्ता तथा इप्टा (इन्डियन पिपुल्स थिएटर एसोसएिसन) का संस्थापक तथा संचालक थिए । ‘नवान्न’ उनको प्रख्यात नाटक इप्टाले प्रदर्शन गरिसकेको थियो र बेलाबेलामा पूनः प्रदर्शन पनि गरिरहेको थियो । त्यसैले पनि वाम आन्दोलनका समर्थक शुभेच्छुहरूका बिच उनको राम्रो छवि बनेको थियो । आन्दोलनको अभियन्ता हुनु कुनै नियमित आयमूलक काम त होइन, यो त जनजागरणका लागि गरिएको स्वैच्छिक सेवा हो र अझ त्यसका लागि कतिपय अवस्थामा उल्टै खर्च पनि हाल्नु पर्दछ । त्यसैले वैवाहिक जीवनसँगै जीविकोपार्जनको समस्याले घेरिइन् यिनी । कामको खोजीमा लागिन् यिनी । १९४८ मा कलकत्ताको पदमपुकुर इन्स्टिच्युटमा ट्युसन पढाउन थालिन् र घरखर्चको थोरबहुत जोहो भयो ।

बेरोजगार सांस्कृतिक अभियन्तापतिकी नवविवाहिता महाश्वेताले दुःखका दिनमा परिवार चलाउन घरदैलोमा गई साबुन,पत्रिका आदि पनि बेचिन्,ट्युसन पढाइन् तर आफ्नो सम्पन्न माइती गुहार्न गइनन् । दुःखका ती अविष्मरणीय दिनको स्मरण गर्दै पंकज सिंहसँगको कुराकानी (समकालीन तीसरी दुनिया,अक्टुबर,१९९८) मा यिनले भनेकी थिइन् ,“जीवन निकै संघर्षमय भयो..पहिलो पटक गरिबीसँग चिनजान हुँदै थियो..त्यसैबेला (१९४८मा)नवारुण जन्म्यो..भोकै बस्नु कस्तो हुन्छ ..यिनै दिनमा भोगेँ..तेलाङ्गना आन्दोलन चलिरहेको थियो..भोकैप्यासै धेरै दिन बित्यो..खान नपाएकोले ग्लैण्ड टि.बि.भयो..तर बिस्तारै सम्हालेँ मैले ..र ती दिनप्रति म आभारी छु किनकि दुःखका तिनै दिनले मेरो निर्माण भयो ।”

बेलायती औपनिवेशक शासनबाट भारत स्वतन्त्र भएपछि यिनको माइती पनि कलकत्तामा बसाइँ स¥यो ।
१९४९मा यिनले केन्द्रीय सरकारको डिप्टी एकाउन्टेन्ट जनरल पोस्ट एण्ड टेलिग्राफ अफिसमा क्लर्कको जागिर पाइन् । उनी केन्द्रीय सरकारको कारिन्दा बनिन् तर कम्युनिस्ट पृष्ठभूमिकी भएकीले तत्कालीन ब्युरोक्रेसीलाई उनको जागिर सह्य भएन र यिनलाई क्लर्कको त्यो जागिरबाट निकालीदियो । यिनी फेरि अन्यायपूर्वक बेरोजगार बनाइन् । यस अन्यायका विरुद्ध यिनी अदालतमा गइन् । मुद्दा चल्यो र अन्ततोगत्वा अदालतले यिनलाई जागिरमा वहाल गर्ने आदेश दियो । बर्खास्तीदेखि वहालीसम्मको यिनको आर्थिक पीडा निकै कष्टप्रद रह्यो । माइतीमावलीको भरथेग पनि रुचाइनन् यिनले । बेरोजगारीका यिनै दिनमा यिनले कहिले साबुनबेचिन् त कहिले पत्रिका । ट्युसन पनि पढाइन् । मुद्दा त जितिन् ,वहाली पनि भइन् तर सरकारलाई यिनको वहाली रुचिकर भएन फेरि यिनलाई निकाल्ने तानाबाना बुन्न थाल्यो । एकदिन अफिस पुग्दा त उनीभन्दा पहिले पुलिसको टोली पुगेको रहेछ र छापामार्न तम्तयार भएर बसेको रहेछ । कार्यालयको उनको दराज र टेबिलमा माक्र्स –एङ्गेल्स र लेनिनका पुस्तकहरू खाँदेर राखिसकेको रहेछ । यिनी पुग्नासाथ छापामा¥यो । र, वामपन्थी भएको आरोप लगाई उनलाई सरकारले जागिरबाट फेरि पनि बर्खास्त गरिदियो र यिनी फेरि बेरोजगार भइन् ।
बेरोजगारीको यही समयमा हिन्दीका प्रख्यात साहित्यकार र चलचित्रकर्मी अब्बासले विजनलाई बम्बई बोलाए । यिनी पनि काखे छोरा नवारुणलाई च्यापेर पति विजनसँगै बम्बई गइन् । बम्बईमा ख्वाजा अहमद अब्बासले विजनलाई चलचित्र नागिनको पटकथा लेख्ने काम दिए । बम्बईको त्यही बसाइमा यिनले एकदिन जेठा मामा सचिनकहाँ १८५७ को विद्रोहउपर लेखिएको इतिहाससम्बन्धी सामग्रीसँगै रानी लक्ष्मीबाईको बारेमा पढिन् । मावलीमा हजुरामाले पनि बेलाबेलामा लक्ष्मीबाईको वीरगाथा सुनाउनु भएको थियो । त्यसैले पनि लक्ष्मीबाईको वीराङ्नापूर्ण जीवनले यिनमा तिनीबारेको भोक जगाइदियो । कलकत्ता फर्केर आएपछि यिनी विभिन्न सामग्री बटुलेर त्यसको अध्ययन गरेपछि लक्ष्मीबाईका बारेमा लेखिन् , ३०० पृष्ठजति लेखिसकेपछि पढिन् , चित्त बुझेन , च्यातेर फालिन् अनि लक्ष्मीबाईबारे लोकभावना बुझ्नका लागि अनुसन्धानमा भौँतारिन थालिन् – झाँसी,बुन्देलखण्ड,दतिया, ओरक्षा,अहमदाबाद,कालपी,ग्वालियर.., लक्ष्मीबाईका निकटस्थ तत्कालीन पात्रहरूको खोजीमा ।
विद्यालय जीवनदेखिनै अलिअलि लेख्न थालेकी थिइन् । ‘देश’लगायत विभिन्न पत्रिकामा कथाहरू प्रकाशित हुन थालेको थियो । झाँसीकी रानी लक्ष्मीबाईका बारेमा उनले खोजमूलक ऐतिहासिक उपन्यास ‘झाँसेर रानी’ (हिन्दी संस्करण ः झाँसीकी रानी) लेखिन् । उक्त उपन्यास ‘देश’ पत्रिकामा पहिले धारावाहिक रूपमा प्रकाशित भयो र पछि १९५६ मा पुस्तकाकार रूपमा । ५०० रुपियाँ पारिश्रमिक पनि पाइन् ।बङ्गाली लोकभाषामा झाँसेर रानीको प्रकाशनले यिनलाई चर्चित बनायो । त्यतिमात्र होइन, यस ऐतिहासिक औपन्यासिक कृतिको सफलताले यिनमा लेखनप्रति आत्मविश्वास पनि बढाइदियो र कविता लेख्दै साहित्यिक यात्रामा हिँडिरहेकी यिनलाई अब म कविताभन्दा आख्यान राम्रो लेख्न सक्छु भन्नेलाग्न थाल्यो ।

तर परिवारको आर्थिक सङ्कट त यथावत थियो । यसै बिचमा औषधिहरूको परीक्षणका लागि विजनले अमेरिकामा १५,००० बाँदर आपूर्तिको ठेक्का पाए तर बाँदरहरू जम्मा पारेर बम्बई पु¥याएर जहाजमा लोड गरेपछि प्राविधिक गडबडीका कारण बेलामा ती बाँदर ठाउँमा पु¥याउन नसकेकाले ठेक्का टुट्यो र बाँदरलाई फेरि जङ्गलमा छोडनु प¥यो । यसले आर्थिक नोक्सानी भयो र परिवारको आर्थिक दुरावस्था झन बढदै गयो । त्यसैले १९५७ मा यिनी एउटा विद्यालयमा पढाउन थालिन् । पार्टीका पूर्णकालिक अभियन्ता थिए विजन तर आर्थिक भरथेग थिएन केही पनि । यिनी पनि जिद्दी स्वभावकी थिइन् । कता के मिलेन जोईपोइमा मनमुटाऊ बढदै गयो र अन्ततोगत्वा डेढ दशकमै वैवाहिक सम्बन्ध दुर्घटित भयो १९६२ मा विवाहविच्छेद भयो । चौध वर्षे किशोर छोरा थियो, बाबु विजनसँग बस्यो । विजनसँगको वैवाहिक सम्बन्ध टुटेपछि त्यही साल लेखक असित गुप्तासँग यिनको दोश्रो विवाह भयो तर यो विवाह पनि टिकाऊ भएन , १९७५ मै टुट्यो । विवाहविच्छेद भएतापनि दुबै पतिहरूसँग यिनको सम्बन्ध सौहार्दपूर्ण नै रहेको थियो ।

१९६४मा कलकत्ता विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तह उत्तीर्ण गरेपछि यिनी कलकत्ता विश्वविद्यालयको सम्बन्धनमा रहेको विजयगढ ज्योतिष राय कलेजमा अध्यापन गर्न थालिन् । र १९८४मा प्राध्यापन सेवाबाट निवृत्ति लिई यिनी लेखन र समाजसेवामा पूर्णरुपेण समर्पित भएर लागिन् ।

करोडौँ भारतीय जनताकी दिदी र करोडौँकी आमा भनी स्नेह पाएकी संघर्षशील बङ्गाली लेखिकाका रूपमा प्रख्याति कमाएकी यिनी बङ्गाल, बिहार, झारखण्ड, उडिसा, मध्यप्रदेश,छत्तिसगढ आदिका पिछडिएका र पीडित अवहेलित आदिबासीहरूको र शोषितहरूको अभिभावक जस्ती थिइन् यिनी ।

विद्यालय जीवनदेखिनै कलम चलाउन थालेकी महाश्वेताले आरम्भमा कविताबाट साहित्यिक जीवनको थालनी गरिन् । तर झाँसेर रानी लेखेपछि भने त्यसबाट आर्जित चर्चाले यिनी आख्यानतिर लहसिइन् । त्यसपछि उनलाई तान्यो बिरसा मुन्डाको बलिदानले । आदिबासी विद्रोही बिरसा मुन्डालाई अङ्ग्रेज सरकारले सन् १९०० मा २५ वर्षकै उमेरमा जेलमा बिना उपचार मारिदिएको थियो । राँचीमा बिरसा मुन्डा चोकमा उसको शालिक छ । बिरसा मुन्डालाई केन्द्रीय पात्र बनाएर आदिबासी विद्रोहको कथा लेखिन् उनले –अरण्येर अधिकार । ऐतिहासिक मुक्तिसंघर्षहरू र लोकनायकको बलिदानलाई लिपिवद्ध गर्ने उनको जाँगरले अमेरिकी आख्यानकार हावर्ड फास्टको स्पार्टाकसको झझल्को दिलाउँछ । १९५६ मा प्रकाशित अरण्येर अधिकारले उनलाई चर्चामात्र होइन प्रसिद्धि दिलायो । राज्यले अनि हुनेखाने तत्कालीन समाजले ‘अपराधी जाति ’(क्रिमिनल ट्राइव)को रूपमा श्रेणीकृत गरेको आदिबासी जनजातिको जीवनसंघर्षमा केन्द्रित रही लेखिएको त्यो उपन्यासले उनलाई राष्ट्रिय ख्याति दिलायो । १९७९ को राष्ट्रिय पुरस्कार साहित्य एकेडेमी पुरस्कारबाट सम्मानित गरिइन् उनी । त्यतिमात्र होइन , आदिबासी समाजले आफ्नो समाजको इज्जतिलो पहिचान लिपिबद्ध गरिदिएकोले ठाउँठाउँमा बाजागाजासहित ¥याली निकालेर उत्सव मनाएर उनको महिमागान गायो । भारतको इतिहासमा आदिबासी जनजातिको पहिचान स्थापित भयो र यसरी उनी पनि तिनैसँग र तिनले गरेको संघर्षसँग गाँसिइन् । त्यसपछि त उनको सम्पूर्ण जीवन नै तिनै आदिबासीहरूका लागि समर्पित भयो । १९९६मा उनलाई ज्ञानपीठ पुरस्कार दिइयो । उनलाई यो पुरस्कार दक्षिण अफ्रिकाका मुक्तिकामी रङ्गभेदविरोधी नेता नेल्सन मण्डेलाका हातबाट दिइएको थियो । पुरस्कारमा पाएको पाँच लाख भारतीय मुद्राको त्यो सम्पूर्ण रकम उनले बङ्गालको पुरुलिया आदिबासी समितिलाई अर्पण गरिदिइन् । उनको यो समर्पणले १९८२ का साहित्य तर्फको नोबेल पुरस्कार विजेता गार्सिया माक्र्खेजको स्मरण गराउँदछ । भनिन्छ , मार्खेजले पुरस्कारको आधि रकम कोलम्बियाली कम्युनिष्ट पार्टीलाई अर्पण गरेका थिए ।तिनताकासम्म सीमित हिन्दीभाषी समुदायसम्म मात्र चिनिएकी महाश्वेताको चिनारीले बिस्तार पाउँदै गयो । समकालीन तीसरी दुनियाका सम्पादक आनन्द स्वरुप वर्मा आफ्नो पत्रिकामा छापिएको उनको अन्तरङ्ग कुराकानीको स्मरण गर्दै भन्दछन् ,“उनले शोषणको जटील प्रक्रिया र समाजका तमाम अन्तर्विरोधलाई मसिनोगरी केलाउने र त्यसका विरुद्ध उभिने कुरा गर्दथिन् । उनलाई सुनिरहँदा लाग्दथ्यो हामी जर्मनीका कवि तथा नाटककार ब्रेख्तलाई पढिरहेका छौँ ।” भारतीय कवि मङ्गलेश डबरालका विचारमा तेश्रो विश्वका देशका लेखकहरूका लागि त उनी एउटा उदाहरण नै हुन् । डबराल भन्दछन् ,“बाहिरका देशहरूमा भारतीय साहित्य भनी चिनिएका रचनाहरूमा महाश्वेताका सृजना पनि छन् ।”

१९६० को दशकमा बङ्गालमा उत्कर्षमा रहेको नक्सलबादी आन्दोलन र लोकतान्त्रिक राज्यद्वारा गरिएको यसको निर्मम दमनको पृष्ठभूमिमा उनले हाजार चुराशीर मा लेखिन् । यो उपन्यासले भारतमा निकै चर्चा पायो । यो उपन्यास लेख्दाताका छोरा नवारुण भट्टाचार्य नक्सलवादी राजनीतिसँग नङमासुझैँ गाँसिएका थिए । व्रतीको चित्रणमा यिनको चेतनामा आफ्नो छोरा नवारुणले ढकढक गरिरहेको थियो । यो उपन्यास तात्तातै हिन्दी लगायत विभिन्न भाषामा अनुवाद भयो । चलचित्रकर्मी गोविन्द निहलानीले यस उपन्यासमा चलचित्र पनि बनाए । जया,अनुपम खेर,नन्दिता दास लगायतको अभिनय रहेको उक्त चलचित्र १९९८मा रिलिज भएको थियो । चलचित्रबाट सन्यासै लिएजस्तो गरेकी जया भादुडी बच्चनले यही चलचित्रबाट फेरि उही जगतमा फिर्तियात्रा थालिन् । हिन्दीका चर्चित कवि मङ्गलेश डबराल यस उपन्यासको तागतको चर्चा गर्दै भन्दछन् ,“महाश्वेता देवी पहिली त्यस्ती लेखिका हुन् जसले नक्सलवादी आन्दोलनका क्रममा जजसले राज्यप्रदत्त यातना बेहोरे त्यसलाई१०८४औँकी आमा लेखेर लिपिबद्ध गर्ने काम गरिन् ।” तिनताकै यो उपन्यास नेपालीमा अनुवाद भयो । अहिले शिखा बुक्सले त्यसको पूनर्मुद्रण गरी बजारमा ल्याएको छ । तर उनी आफैँ भने यसलाई कमजोर उपन्यास ठान्दथिन् । १०८४ वेँ की माँ बाहेक उनका रुदाली, संघर्ष, गंगोर,माटी माय लगायतका उपन्यासमा पनि चलचित्र बनेको छ ।
सवा अर्वभन्दा पनि बढी जनसङ्ख्या भएको जनसङ्ख्याको हिसाबले विश्वकै दोश्रो ठूलो देश भारतका अधिसूचित जनजातिहरू,आदिबासी,दलित अनि वञ्चित समुदाय तथा फटके किनारामा पारिएका समुदायको ,खासगरी पश्चिम बङ्गालका लोधास र शबर जनजातिको अनि बिहार, झारखण्ड, उडिसा,मध्यप्रदेश,छत्तिसगढ आदिका पिछडिएका र पीडित अवहेलित आदिबासी र शोषितपीडितहरूको बीच काम गर्न मन पराउने उनी आवश्यकता अनुसार ती क्षेत्रमा पटकपटक जाने गर्दथिन् । सतत संघर्षको परिणामस्वरुप झारखण्डका बाँधा श्रमिकको अवस्थामा सुधार देखिन थालेपछि उनले विभिन्न समितिहरू बनाएर बङ्गालको पुरुलिया क्षेत्रका आदिबासीहरूका लागि संघर्ष गर्न थालिन् । यिनले कतिपय गाउँहरूमा सामुदायिक केन्द्र तथा आदिबासी केन्द्रहरू गठन गरेर जनतामा चेतना जगाउने र आफ्ना हकअधिकारका लागि सङ्घर्ष गर्ने माध्यम बनाउने काम पनि गरिन् । त्यतिमात्र होइन , गुजरातका अङ्ग्रेजी लेखक गणेश दिवी , महाराष्ट्रका मराठी लेखक र सामाजिक अभियन्ता लक्ष्मण गायकवाडसँग मिलेर उनले भारतमा फिरन्ताजीवन बिताइरहेका जनजातिहरूको उत्थानका लागि डिनोटिफाइड एण्ड नोमेडिक ट्राइब्स राइट्स एण्ड एक्सन गु्रप नामक संस्था बनाएर तिनका लागि पनि काम गरिन् । बङ्गालको माक्र्सवादी सरकारले उब्जाऊ भूमि मासेर उद्योग स्थापना गर्न लागेकोमा त्यसको विरोधमा उठेको सिङ्गुर–नन्दीग्राम आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै सङ्घर्षमा सहभागी भइन् । अन्ततोगत्वा राज्य सरकारले आफ्नो निर्णय फिर्ता लियो ।वागवानी र पाक कार्यमा रुचि राख्ने यिनले पत्रकार पंकज सिंहसँगको कुराकानीमा आफू इश्वर नमान्ने तथा कुनै देवीदेवता नमान्ने राय व्यक्त गरेकी थिइन् । उनी आफ्नो कृतिहरूबाट प्राप्त हुने पारिश्रमिकको अधिकांश भाग आदिबासी जनजातिहरूको हकहितका लागि खर्च गर्ने गर्दथिइन् ।

उनको लेखन मूलतः बङ्गाली भाषामा भयो । नाटक,निबन्ध,संस्मरण, बालसाहित्य आदि विधामा पनि उनले कलम चलाएको भएतापनि मूलतः उनको लेखनको विधा आख्यान नै रह्यो । उनको आख्यानमा भारतको आदिवासी , शोषितपीडित जनताको जीवन र तिनले गरेको सङ्घर्षको प्रभावकारी चित्रणका साथै वाम आन्दोलनको सुकृति तथा विकृतिको आलोचनात्मक चित्र पनि मुखरित भएको हुन्छ । पिछडिएका र पीडित अवहेलित आदिबासीहरूको र शोषितहरूको कथाव्यथा लेख्ने उनी सदैव सक्रीय सामाजिक हस्तक्षेपको पक्षधर रहिन् । उनका कतिपय कृतिमा बिरसा मुन्डा,बसाइ टुडु,द्रौपदी जस्ता संघर्षशील पात्रहरूको पूनरावृति भइरहेको पाइन्छ । उनका १०० उपन्यासहरू तथा २० वटा कथासङ्ग्रहहरू प्रकाशित छन् । अग्नीगर्भ,क्षुधा,चोट्टी मुण्डा और उसका तीर,टेरोडक्टिल, अक्लान्त कौरव,अमृत सञ्चय, भटकाव, मास्टरसाहेब,ईँट के उपर ईँट,उन्नीसवीँ धाराका आरोपी,उम्रकैद, जङ्गलके दावेदार आदि हिन्दी भाषामा अनुवाद भइसकेका उनका चर्चित उपन्यासहरू हुन भने ढोली , श्री श्री गणेश महिमा, घहराती घटाएँ, प्रेम कहानियाँँ आदि हिन्दीमा अनुवाद भएका कथासङ्ग्रहहरू हुन । गायत्री स्पीभाकले बेस्ट स्टोरिज,इन अदर वल्र्ड्सःएसेज इन कल्चरल पोलिटिक्स, इमेजनरी म्याप्स लगायत उनका केही कृतिहरूको अनुवाद र सम्पादन अङ्ग्रेजीमा गरेकी छन् । यिनका प्रायजसो कृतिहरू हिन्दी लगायत विभिन्न भारतीय भाषामा तथा अङ्ग्रेजी,नेपाली लगायत विश्वका विभिन्न भाषामा अनुवाद भएका छन् ।

एसियाको नोबेल पुरस्कार मानिने गरेको रोमन म्यागसेसे जस्तो अन्तर्राष्ट्रिय पुरस्कारबाट १९९७ मा यिनी सम्मानित हुँदा यिनका छोरा नवारुण पनि साहित्य एकेडेमी पुरस्कारबाट सम्मानित भएका थिए । भारतका विभिन्न राष्ट्रिय पुरस्कारहरू पद्मश्री (१९८६), भारतीय ज्ञानपीठ पुरस्कार (१९९६), यास्मिन स्मृति पुरस्कार (१९९८) ,बङ्ग विभूषण(२०११) आदि लगायत दर्जनौँ पुरस्कार र सम्मानबाट सम्मानित भएकी थिइन् यिनी । सन् २००६मा जर्मनीको फ्र्याङ्कफर्टमा भएको अन्तर्राष्ट्रिय पुस्तक मेलामा सहभागी भई त्यहाँको सभालाई सम्बोधन पनि गरेकी थिइन् यिनले । भारतको जयपुर साहित्य उत्सव (२०१३) लाई पनि यिनले सम्बोधन गर्दै आम मान्छेले पनि सपना देख्न पाउनु पर्दछ भनी आम नागरिकप्रतिको आफ्नो प्रतिवद्धता दोहो¥याएकी थिइन् ।

यसरी आदिबासी जनजातिको जनजीवन,सङ्घर्ष र वाम आन्दोलनकी सम्यक चित्र कोर्ने बङ्गाली आख्यानकार महाश्वेता देवी बङ्गाल र भारतको मात्र नभएर एसिया महादेश हँुदै सिङ्गो विश्वको साझा लेखिका बन्न पुगेकी छिन् ।

दोश्रो पतिबाट यिनका कुनै सन्तान थिएनन् । दुबै विवाह सफल रहेन । एक्लो छोरा नवारुणसँग पनि यिनको सौहाद्र्र सम्बन्ध रहेन । यिनको छोरा नवारुण भट्टाचार्य बङ्गाली भाषाका स्थापित कवि,उपन्यासकार ,क्रान्तिकारी सौन्दर्यशास्त्री तथा नाट्यकर्मी थिए । विभिन्न विधाका उनका ९ कृतिहरू प्रकाशित छन् । उनको उपन्यास हर्बर्टलगायत तिनवटा कृतिमा चलचित्र पनि बनेको छ ।उनको मृत्यु आन्द्राको क्यान्सरका कारण २०१४ मा भयो । यिनका नाति तथागत भट्टाचार्य पत्रकार हुन् ,दिल्लीमा पत्रकारिता गर्छन् , भाषाबन्धन पत्रिका चलाउँछन् । यिनको पहिलो पति विजन पनि यिनीभन्दा पहिले नै बिते । उनको निधनमा यिनी दिनभरि उनको साथमा रहिन् । आफ्नो एकमात्र छोरा नवारुण र पारपाचुकित पति विजनलाई अघि लाएर यिनी तिनका पछि लागिन् । २०७३ साउन १३ (२८ जुलाई २०१६) बिहिबारका दिन कलकत्ताको बैले भ्यू नर्सिङ होममा उपचारको क्रममा दिउँसो ३ ः१६ मा उनको देहावसान भयो । २३ जुलाई शनिबारका दिन गम्भीर हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । झण्डै महिनादिनदेखि उपचाररत साढे नब्बे वर्षिया आख्यानकार महाश्वेताको निधन मुटु लगायत विभिन्न अङ्गहरू बढदो उमेरका कारण निष्काम हुँदै गएकोले भएको भनिएको थियो । पार्थिव रूपले यिनको निधन भएको भएतापनि यिनका सवा सयभन्दा बढी कृतिहरूका माध्यमबाट पछिपरन्तुसम्म समाजले उनलाई सम्झिरहने छ ,तीबाट प्रेरणा प्राप्त गरिरहने छ र विभेदहीन साम्य र न्यायपूर्ण समाजको स्थापनाको अभियानमा जागृत भइरहने छ ।
सर्वहारा वर्गकी यिनै महामना लेखिकाको लोकप्रिय उपन्यास अक्लान्त कौरवको नेपाली अनुवाद तपाईँको हातमा छ । बाँकी कुरो यही उपन्यासले बताउनेछ ।

इस्माली , काठमाडौँ ।